हाम्रा कुनै पनि माग पूरा भएनन्

Share this :

– सुनिता घर्ती मगर

स्वास्थ्य स्वयंसेविका सुनिता घर्तीको जन्म २०३७ माघमा हालको कर्णाली प्रदेशस्थित सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको पुनगाउँमा भएको थियो । उहाँले कक्षा १० सम्म स्थानीय स्यानीखालस्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो । १७ वर्षको उमेरमा सोही पालिकाको वडा नम्बर ६ मा रहेको गर्चेगाउँका गणेशकुमार घर्तीसँग उहाँको विवाह भयो ।

विवाहअघि पढ्दै र घरायसी काम गर्दै दिनहरू बितिरहेका थिए । अहिले जस्तो २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने चेतना त्यतिबेला सुनितामा थिएन । उहाँका अभिभावकमा पनि त्यो खालको चेतना आइसकेको देखिएन । आफ्नो मागीविवाह भएको, उमेर नपुगी विवाह गरिएकाले पहिलो गर्भको बच्चा सफल नभएको र त्यसले दुःख दिँदा आफ्नो स्वास्थ्यमा नराम्रो असर परेको उहाँले बताउनुभयो ।

सानो उमेरको मान्छे विवाह गरेर ठुलो परिवारमा परेपछि केही वर्ष घरकै काममा सीमित हुनुभयो । पढाइ अघि बढ्न सकेन । कक्षा ११ सम्मको अध्ययन गरेका उहाँका श्रीमान्‌ले नेपालमा रोजगारीको बाटो भेट्न सक्नु भएन । त्यसैले घरखर्च चलाउनकै लागि उहाँ वैदेशिक रोजगारीमा जानुभयो । केही वर्षसम्म उहाँ देश र विदेश आउजाउ गर्दै रहनुभयो ।

डेढ दशकअघि आफ्नै घर भएको वडामा सुनितालाई ‘स्वास्थ्य स्वयंसेविका हुने हो ?’ भनी सोधियो । उहाँले श्रीमान्‌सँग सल्लाह लिएपछि उक्त कामको जिम्मेवारी लिने निर्णय गर्नुभयो । श्रीमान्‌काे सकारात्मक सोच, सहयोग र हौसलाकै कारण आफूले घरव्यवहार चलाउनेदेखि स्वास्थ्य स्वयंसेविकासम्मको काममा सक्रिय हुन पाएको उहाँको भनाइ थियो ।

काम गर्ने क्रममा भएका सकारात्मक र नकारात्मक अनुभवलाई सुनिताले सिकाइका रूपमा लिनुभयो । यद्यपि, त्यो त्यति सहज थिएन । त्यसको अन्तर्यमा महिलामाथि राज्यले गरेको र गर्दै आएको असमानता पनि थियो ।

ग्रामीण क्षेत्रका आमा तथा बच्चाको स्वास्थ्य स्तरमा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक र प्रवर्धनात्मक सेवा पुर्‍याउने उद्देश्यले २०४५ सालमा २७ जिल्लाबाट सुरु गरिएको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई पछि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा रूपान्तरण गरियो ।

अहिले यो कार्यक्रम ७७ जिल्लामै सञ्चालित छ । कार्यक्रम सञ्चालनका लागि २०६७ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले एउटा रणनीति बनायो । त्यसको आठ वर्षपछि पहिलोपटक त्यसलाई संशोधन गरियो । अहिले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६) अनुसार सो कार्यक्रम चलिरहेको छ ।

देश सङ्घीय संरचनामा गएपछि तय भएको सङ्घ, प्रदेश र स्थानीय तहको भूमिकाअनुरूप पालिकाहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासम्बन्धी कार्यविधि निर्माण गरी लागु पनि गर्ने गरेका छन् । देशभर ५० हजारभन्दा बढी महिलाहरू स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत छन् । उनीहरूको काम स्थानीय स्तरमा महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन योगदान गर्ने हो । यसमा पोलियो थोपा, भिटामिन ए, परिवार नियोजन, प्रजनन स्वास्थ्य सेवासम्बन्धी जनचेतना जगाउने आदिसँग सम्बन्धित विभिन्न कार्यक्रम पर्दछन् ।

कार्यक्रमका लागि स्वयंसेवी महिलाको खटाइ र योगदान कुनै राष्ट्रसेवकको भन्दा कम नभए पनि त्यसले उचित मूल्य पाउनसकेको छैन । अहिलेसम्म राज्यले नियमित दिने भनेको पोसाक र यातायात खर्च मात्र हो । तालिमका बेला पाएको केही रकम सम्झँदै उमेर छउन्जेल राष्ट्रसेवा गरेर पनि ‘अवकाश’ हुँदा उनीहरू लगभग रित्तो हात बिदाइ गरिने वर्गमा पर्ने गरेका छन् ।

समानताको युग भनिए पनि महिलामाथि यस्तो विभेद कहिलेसम्म ? स्वयंसेविकाका नाममा महिलालाई देशले पनि अरू राष्ट्रसेवकभन्दा सेवासुविधामा फरक व्यवहार गर्न मिल्छ ? महिलालाई विभेदित गरेर सित्तैमा कहिलेसम्म यसरी काममा लगाइरहने हो ? यस्ता प्रश्नहरू पटक पटक उठ्ने गरेका छन् ।

‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६)’ मा ‘नेपालले स्वास्थ्य क्षेत्रको सहस्राब्दी विकास लक्ष्यमा गरेको प्रगतिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय’ रहेको जनाइएको छ ।

‘जनताको स्वास्थ्य स्थितिमा देखिएको क्रमिक सुधार मुख्यतः मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरमा आएको कमीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय भूमिकालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको’ पनि उल्लेख छ ।

साथै, राष्ट्रिय स्वास्थ्य क्षेत्र सुधार कार्यान्वयन योजनामा सङ्गठित र सुव्यवस्थित स्वास्थ्य क्षेत्रबाट उपलब्ध गराइने अत्यावश्यक स्वास्थ्यसेवामा उपयोगिता वृद्धि गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने प्रतिबद्धता कायम राखिएको छ । प्रतिबद्धता पूरा गर्नका लागि समुदायमा खट्दै आइरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई एक आधारभूत स्तम्भको रूपमा लिइएको छ ।

सरकारी दस्ताबेजहरूमा त्यस्तो लेखिएको भए पनि व्यवहारमा उनीहरू विभेदित छन् । आर्थिक कोणबाट महिलाहरू श्रमशोषणमा परिरहेका छन् । उनीहरूको आवाजको सुनुवाइ पनि हुने गरेको छैन । कहिले हुने हो त्यो पनि थाहा छैन ।

स्वास्थ्य स्वयंसेविकाको नाममा समुदायमा महिलाले गरेका योगदान र सेवाको आर्थिक पाटो समानताको सिद्धान्त विपरीत छ । यसैले उनीहरूमाथि भइरहेको आर्थिक विभेदको यथार्थलाई दस्तबेजीकरण गर्नुपर्ने भावनाका साथ ‘सन्धान’ ले सोधीखोजी गरेर विभिन्न समयमा प्रकाशन र प्रसारण गर्दै आएको हो ।

आज पनि हामीले स्वास्थ्य स्वयंसेविका सुनिता घर्ती मगरले कर्णाली प्रदेशको सल्यान जिल्लास्थित छत्रेश्वरी गाउँपालिकाका केही निश्चित स्थानमा गरेका काम, जीवनभोगाइ र समानतामा आधारित सारभूत अपेक्षालाई ल्याएका छौँ ।

सुनितासँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८२ भदौमा टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा सन्धान सम्पादन समूहले तयार गरेको सुनिता घर्ती मगरको स्वकथन :

मेरो जन्म सल्यान जिल्लामै भएको हो । सल्यान जिल्लामै कक्षा १० सम्म पढेँ । १७ वर्षमा मेरो विवाह भयो । घरबाटै मागेर बिहे भएको हो । ठुलो परिवारमा विवाह भएपछि घरकै काममा व्यस्त भएँ । मेरो पढाइ छुट्यो ।

श्रीमान् विदेश जानुभयो । केही वर्षमा फर्केर आउनुभयो । पढेलेखेका महिला त्यति नपाइने । मैले केही पढेकी थिएँ । गाउँमा स्वास्थ्य स्वयंसेविका हुने कुरा चल्यो । श्रीमान्‌ले पनि गर न भन्नुभयो । त्यहाँका स्वास्थ्य इन्चार्जले काम गर्न सक्ने नसक्ने सोध्नुभएको थियो । मैले श्रीमान्‌सँग सल्लाह गरेर काम गर्न सक्ने कुरा बताएँ ।

अनि सुरु भयो, मेरो स्वास्थ्य स्वयंसेविकाको यात्रा । २०६८ साल असारदेखि स्वास्थ्य स्वयंसेविकाको लागि आधारभूत तालिम भएको थियो । सुरुको चरणमा नौ दिनको तालिम सम्पन्न भयो । मैले पनि त्यो तालिम लिएँ ।

हामीलाई तालिममा दिनको चार सय रुपैयाँ भत्ता र खाजा दिइएको थियो । त्यो भत्ता डेढ दशकसम्म पनि बढेन । अहिले पनि चार सय नै छ ।

हामीले गाउँमा के के काम गर्नुपर्ने हो, ती सबै कुरा तालिममा सिकाउनुहुने रहेछ । हामीले त्यही तालिममा सिकेको अनुसार काम गर्नुपर्ने रहेछ । त्यसरी काम गर्दा सुरुमा मलाई केही गाह्रो पनि भएको थियो । पछि पछि भने सहज हुँदै गयो ।

केही महिनाको फरकमा दुई पटक तालिम भयो । नौ–नौ दिन गरेर जम्मा १८ दिनको तालिम भएको थियो । ती तालिममा शिशु हेरचाह, गर्भवतीको हेरचाह, रेखदेख, पाँच वर्षसम्मको बच्चाको हेरचाह कसरी गर्ने लगायतका कुरा सिकाइएको थियो । ती काममा हाम्रो धेरै जिम्मेवारी हुन्छ ।

हामीलाई तालिममा दिनको चार सय रुपैयाँ भत्ता र खाजा दिइएको थियो । त्यो भत्ता डेढ दशकसम्म पनि बढेन । अहिले पनि चार सय नै छ । तालिम दिइसकेपछि औषधि राख्नका लागि भनेर हामीलाई झोला दिइएको थियो । अनि सेवा सुविधा भनेर वर्षमा एकपटक १० हजार रुपैयाँ खातामा हालिदिन्छ ।

हामीले वर्षमा दुई पटक भिटामिन र जुकाको औषधि खुवाउँछौँ । त्यो काम कात्तिक र वैशाखमा हुन्छ । ती औषधि खुवाएको बापत वर्षमा चार दिनको १६ सय रुपैयाँ पाइन्छ । हामीलाई नयाँ नयाँमा मात्र आधारभूत तालिम दिइएको हुन्छ । पुरानो हुँदै गएपछि तालिमहरू पनि हुँदैन । पहिलेकै तालिमको भरमा काम गर्ने हो ।

हामीलाई हजार रुपैयाँवाला मोबाइल सेट दिइएको थियो । त्यो सेटबाट आफूले जिम्मेवारी पाएको ठाउँका गर्भवती महिलाको सङ्ख्या, उमेर, कति महिना भयो भन्ने अवधिदेखि लिएर सबै ‘डिटेल्स डाटा’ लेखेर जिल्ला अस्पतालमा ‘म्यासेज’ पठाउनुपर्ने हुन्छ ।

महिना पुगेपछि गर्भ जाँच गराउन जानुभयो कि भएन त्यसको अपडेट पनि गराउनुपर्ने हुन्छ । यसका लागि मोबाइल खर्च भनेर भर्खरबाट दुई सय रुपैयाँ दिन सुरु गरेको छ । वर्षमा एक पटक हाल्दिन्छन् । त्यो जम्मा २४ सय रुपैयाँ हुन्छ ।

महिनाको दुई सय रुपैयाँको दरले दिन्छ तर काम गर्ने बेलामा यो रकमभन्दा पनि धेरै पैसा हाम्रो आफ्नो खर्च भइसकेको हुन्छ । यो मेरो स्वयंसेविकातिरको कामको कुरा भयो ।

घरपरिवारको कुरामा हाम्रो परिवार ठुलै थियो । गाउँ, समाजमा बुहारी भनेको घरकै काम गर्नुपर्छ भन्ने सोच थियो । त्यो सोच आज पनि कायमै छ । घरमा काम पनि धेरै हुन्थ्यो । पहिले मैले घरको काम सकेरै स्वयंसेविकाको काममा हिँड्थेँ ।

पछि एकै परिवारमा बसेर मलाई दोहोरो जिम्मेवारी धान्न सम्भव जस्तै भएन । यसैले म स्वयंंसेविका भएको केही समयपछि हामी छुट्टियौँ । परिवारबाट छुट्टिन पर्दा मलाई सुरुमा त म स्वयंसेविकाको काममा किन लागेँ हुँला भन्ने पनि भयो । श्रीमान् विदेश जाने आउने गर्नुहुन्थ्यो । बिहे गरेपछि लगत्तैबाटै उहाँ विदेश जान थाल्नुभएको हो ।

श्रीमान्‌ले कक्षा ११ सम्म पढ्नुभएको थियो । उहाँ घरमा आएका बेला सल्लाह गरेरै मैले स्वास्थ्य स्वयंसेविकाको काम गरेको हुनाले उहाँले पछिसम्म साथ दिनुभयो । विशेष कारणवश विदेशबाट फर्केपछि उहाँले घरकै काम गर्ने, बस्ने गर्न थाल्नुभयो । त्यसले मलाई स्वयंसेविकाको काम जारी राख्नमा केही सहयोग र हौसला मिल्यो ।

आफ्नो घर भएकै ठाउँमा काम गरेको हुनाले हामीलाई काम गर्न सजिलै होला भन्ने हुन्छ तर सबैतिर त्यस्तो हुँदैन । ठाउँले धेरै असर गर्छ । त्यो बुझ्नुपर्छ । पहाडका घर बसाइ टाढा टाढा हुन्छन् । हामीले ती घरमा पुग्न धेरै डाँडाकाँडा हिँड्नुपर्ने हुन्छ । मैले हेर्ने क्षेत्रमा घरहरू टाढा टाढा भएकाले पनि समय अलि बढी नै लाग्थ्यो ।

एक घरबाट अर्को घर पुग्नका लागि एक घण्टाको डाँडो काटेर पनि हिडेँ । त्यो पनि रित्तै होइन, एक्लै पनि होइन्, बच्चा र औषधिको झोला बोकेर हिँडेको । मेरो छोरा दुई वर्षको थियो । बाबुलाई बोक्ने, बाबुको लागि झोलामा पानी, नास्ता राख्ने अनि स्वास्थ्य साम्रगी राख्ने । ती सबै आफैँले बोकेर जान्थेँ । दिनभरि बच्चालाई र सामानको झोला बोकेर फिल्डमा गएर बेलुका घर आउने । त्यसरी आएर घरमा पनि आफैँले गर्नुपर्‍यो ।

पहिले र अहिलेको अवस्थामा धेरै कुरा परिवर्तन भएका छन् । गाउँघरका मानिसहरूमै धेरै चेतना आयो तर पनि हामीलाई नयाँ ज्ञान र सिपले ‘अपडेट’ भइरहनुपर्ने हुन्छ । त्यसका लागि नयाँ खालको तालिम जति दिनुपर्ने हो, त्यो त्यति दिइएको छैन ।

घरमा गोरु, गाई, बाख्रा पालेको थियो । बाहिर जानुपर्ने दिनमा राति नै उठेर घरको काम गरेर सकेर जान्थेँ । बाहिर स्वयंसेविकाको काम सकेर फर्केपछि पनि घरको काम गर्थें । मैले घरको र बाहिरको कामको व्यवस्थापन त्यसरी गरेको थिएँ । घरको काम धानेर घरबाहिरको पनि काम गर्न कसैलाई पनि सजिलो हुँदैन । दुबैतिर सन्तुलन मिलाएर गर्नुपर्ने हुन्छ ।

पोलियो थोपा खुवाउने बेलामा हामीले आफ्नो क्षेत्रमा प्रचारप्रसारको काम गर्नुपर्ने हुन्छ । बोलाएको मितिमा तोकिएको ठाउँमा नआएका र छुटेकालाई उनीहरूको घरमै गएर पनि खुवाउनुपर्ने हुन्छ । पहिले पहिले अलिकति चेतनाको कमीले पनि र कामले गर्दा समय नभएर पनि केही मानिस बोलाएको ठाउँमा नआउने गरेको जस्तो लाग्थ्यो ।

कतिपयलाई त्यो किन खुवाउने हो र ? बच्चा राम्रै र स्वस्थ नै छ नि भन्ने पनि लाग्ने रहेछ । त्यही सोचेर भनेको दिन भनेको ठाउँमा नआउनेहरूको पनि घर घरमा गएर हामीले कुरा बुझाएर पोलियो थोपा खुवाउँथ्यौँ । त्यो काम कति महत्त्वपूर्ण हो भन्ने कुरा मैले अहिले भनिरहनु पर्दैन ।

हाम्रोतिर पहिले पहिले बच्चालाई ‘निमुनिया’ पनि धेरै हुन्थ्यो । घरमै बच्चा जन्माउने, न्यानो पारेर नराख्ने, उतिबेलै नुहाइदिने गरिन्थ्यो । त्यस्ता कारणले पनि बच्चालाई बढी निमुनिया हुन्थ्यो । निमुनिया भइसकेपछि बच्चालाई जोगाउन पनि निकै गाह्रो हुन्थ्यो । गर्भवती र सुत्केरी आमाको स्वास्थ्यको त झन् के कुरा गर्नु र ?

सबैभन्दा गाह्रो त गर्भवतीलाई नियमित चेक गराउने कुरा नै सम्झाइरहन पर्ने । आइरन चक्की खान अनि चेक गराउने दिन यो हो है भनेर सम्झाइरहन पर्ने हुन्थ्यो । पहिलेका महिलाले जस्तै पछिकाले पनि बच्चा घरमै जन्माउँथे । हस्पिटलमा गएर सुत्केरी हुँदा आफू र बच्चा दुबै सुरक्षित भइन्छभन्दा पनि त्यहाँ सबैले देख्छन् भनेर जाँदै नगइदिने । यस्तो पनि थियो ।

अरूले देखे लाज हुन्छ भन्ने सोच बनाएर घरमै सुत्केरी हुने हुन्थ्यो । बरु त्यस्तै खालको समस्या पर्‍यो भने स्वयंसेविकालाई घरमै बोलाउने तर स्वास्थ्य संस्थामा सुत्केरी हुन नजाने । स्वास्थ्यचौकी गएपछि सबैले देख्छन्, लाज हुन्छ भन्ने । त्यतिबेला सबैको त्यही सोच हुन्थ्यो ।

समस्या पर्दा अन्तिम अवस्थामा स्वयंसेविकालाई बोलाउने गर्नुहुन्थ्यो । हामीलाई त नाभी काट्न मात्र सिकाएको हुन्छ अरू त केही सिकाइएकै हुन्न । अनि हामीले कसरी काम गर्ने ? त्यस्तो बेला आमा र शिशुलाई कसरी सुरक्षित गर्ने ? तर अहिले त्यस्तो छैन । सबैजसोले कुरा बुझ्न थाल्नुभएको छ । सुत्केरी हुन सकभर बेलैमा स्वास्थ्यचौकी जान खोज्नुहुन्छ ।

समयसँगै सबै कुरामा परिवर्तन आयो । परिवर्तन ल्याउनका लागि स्वयंसेविका भएर निकै मिहिनेत पनि गरियो । सरसफाइमा ध्यान दिने, बच्चालाई समयमा भिटामिन र जुकाको औषधि खुवाउने, गर्भवती हुँदा नियमित चेकजाँच गर्ने सबै कुरा सबैलाई थाहा भयो । अहिले महिलाहरू पनि धेरै शिक्षित भैसके । अहिले बच्चा जन्माउन पर्दा उनीहरू जिल्ला अस्पताल जान्छन् । खलङ्गा हस्पिटलमा जान्छन् । सुत्केरी अवस्थामा हुने जोखिमबाट सुरक्षित पनि हुन्छन् ।

पहिले र अहिलेको अवस्थामा धेरै कुरा परिवर्तन भएका छन् । गाउँघरका मानिसहरूमै धेरै चेतना आयो तर पनि हामीलाई नयाँ ज्ञान र सिपले ‘अपडेट’ भइरहनुपर्ने हुन्छ । त्यसका लागि नयाँ खालको तालिम जति दिनुपर्ने हो, त्यो त्यति दिइएको छैन । अहिले परिवर्तन भइरहेका नयाँ नयाँ कुरामा तालिमबाट अपडेट हुन पाए हामीलाई काम गर्न सहज हुन्थ्यो जस्तो लाग्छ ।

हामीले विभिन्न माग पनि राख्ने गर्छाैं । अहिले पनि हामीले झोलामा औषधि राख्ने गर्छाैं । त्यसलाई अलि व्यवस्थित गरेर राख्नका लागि दराजहरू भए हुन्थ्यो भनेर डाक्टर, इन्चार्जलाई कुरा राख्छौँ । हामीले भन्ने उहाँहरूलाई नै हो । उहाँहरूले भन्नुपर्ने ठाउँमा कुरा नराखेपछि के गर्नु त ? हामीले जे जस्ता माग राखे पनि केही पूरा हुन्न ।

हामीलाई कार्यालयको वातावरण समयअनुसार जे जस्तो हुनुपर्ने हो, त्यो छैन । तोकिएको काम नियमित रूपमा खटिएर गर्नुपर्छ तर हामीलाई तलब भने दिने गरिएको छैन । तलब नै नभए पनि हाम्रो लागि समय समयमा तालिम दिने र कामका लागि हामीले आफ्नो खर्च गर्नु नपर्ने गरी भत्ता बढाइदिने व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।

सबैभन्दा ठुलो कुरा त श्रीमान् बुझ्ने हुनु नै हो । घरमा उहाँ बुझ्ने र सहयोगी भावनाको भएपछि मलाई निकै सहज महसुस भयो । भारी जतिसुकै गह्रौँ र बाटो समथर नभए पनि घरबाहिरको काममा हिँड्न मलाई अप्ठेरो भएन ।

हामी स्वास्थ्य स्वयंसेविकाले काम गर्ने उमेर हद भनेको ६० वर्षसम्म मात्र हो । त्यतिबेला बिदाइ भएर जाँदा पनि हामीले रित्तै हात जाने हो । अहिलेसम्म बिदाइ भएर जानुभएका स्वास्थ्य स्वयंसेविकाहरू सबै रित्तै हात जानुभयो । लामो समय सेवामा समर्पित भएकालाई जाने बेलामा केही रकम र बाँकी जीवनलाई सहज बनाउने सेवासुविधा हुनुपर्ने हो जस्तो लाग्छ ।

पहिले पनि भनेँ, हामीले गर्ने काम त्यति सजिलो छैन । बेला बेलामा गर्भजाँच गराउने, हस्पिटलमा गएर बच्चा जन्माउने अनि भिटामिन खुवाउने, सफा हुने लगायतका धेरै कुरा सम्झाउँदा गाली पनि खाइन्छ कहिलेकाहीँ त । गाली पनि तलब, भत्ता र पोसाकसँग जोडिएको हुन्छ तर त्यो सत्य होइन भन्ने कुरा कसरी बुझाउने जस्तो लाग्छ ।

कतिपय व्यक्तिलाई महिना महिनामा तलब खान्छे, त्यही भएर हामीलाई यी कुरा भन्न आउँछे भन्ने लाग्ने रहेछ । स्वयंसेविकाको ‘ड्रेस’ लगाएर काममा हिँडेपछि आज भत्ता लिएर आउँछे भनेर भन्नुहुन्छ तर हामीले पाउने त केही होइन । हाम्रा लागि जिम्मेवारी भनेर तोकिएको काम चाहिँ हामीले खटिएर गर्नुपर्‍यो भन्ने मात्र हो ।

जे जस्ता अप्ठेरा र असमझदारीसँग ठोकिनुपरे पनि र आफूले तलब र सेवा सुविधा केही नपाए पनि खटिनुपर्ने ठाउँमा राम्रो काम गरेको छु जस्तो लाग्छ । जीवनमा आफूले सिक्नुपर्ने, आफूलाई पनि काम लाग्ने स्वास्थ्यका धेरै कुरा सिकेँ । कामकै सिलसिलामा ठुला डाक्टर, नर्स र गाउँ, समाजका धेरै मानिससँग चिनजान भयो भन्ने पनि लाग्छ ।

मेरो ठाउँमा उभिएर भन्नुपर्दा घरको काममा मात्र रुमल्लिनुपर्ने हामी महिलाले घरबाहिर निस्केर सरकारी सेवा गर्ने मौका पायौँ जस्तो लाग्छ । विभिन्न कार्यक्रम, तालिममा जाने अवसर पाउँदा आफ्नो जीवनका लागि पनि उपयोगी हुने धेरै कुरा सिक्न पाइयो । अरूको अगाडि गएर बोल्न पनि सिकियो । स्वयंसेविका भएर काम थाल्नुभन्दा पहिले त मलाई अरूसँग बोल्नै पनि डर लाग्ने हुन्थ्यो ।

काम गर्दै जाँदा बिस्तारै आत्मविश्वास पनि बढ्दै आयो । अरूसँगै आफूलाई पनि काम लाग्ने धेरै कुरा सिकियो । यसले आफूमा पनि सकारात्मक परिवर्तन ल्याएको महसुस मलाई भएको छ । यो कुराबाट चाहिँ सबै महिलाले घरभित्रै मात्र रुमल्लिने होइन, यसो घरबाहिर पनि निस्कने र समाजका लागि उपयोगी हुने केही न केही काम गर्नुपर्ने रहेछ जस्तो पनि लाग्छ ।

सबैभन्दा ठुलो कुरा त श्रीमान् बुझ्ने हुनु नै हो । घरमा उहाँ बुझ्ने र सहयोगी भावनाको भएपछि मलाई निकै सहज महसुस भयो । भारी जतिसुकै गह्रौँ र बाटो समथर नभए पनि घरबाहिरको काममा हिँड्न मलाई अप्ठेरो भएन । हुन त काम गर्दै जाँदा समाजमा केही राम्रो र केही नराम्रो कुरा गर्ने मानिस हुने रहेछन् भन्ने पनि थाहा भयो । कसैले नराम्रो कुरा पनि गरे । राम्रो काम गर्‍यौँ भन्ने मानिस पनि यही समाजमा हुने रहेछन् ।

स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा आमा समूह गठनको कुरा पनि आउँछ । हामीले आमा समूह पनि गठन गरेर विभिन्न काम गर्‍यौँ । आमा समूहमा हामी २८ जना छौँ । समूहमा आबद्ध भएर विभिन्न काम गर्दा र छलफलमा सहभागी हुँदा महिलाहरूले केही कुरा सिक्न पाउनुभएको होला भन्ने लाग्छ ।

आमाहरूले समूहमा मासिक बचत पनि गर्नुहुन्छ । आफूलाई आवश्यक परेका बेलामा त्यही बचत रकम झिकेर काम चलाउने गर्नुहुन्छ । रकमको सदुपयोग गर्ने र बचतको सही व्यवस्थापनमा जोड दिने काम हुन्छ । यस्ता कुरामा सबै दिदीबहिनी एक ठाउँमा हुन्छन् ।

समूहमा हामीले स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाउँछौँ । खानेपानी स्वच्छ हुनुपर्ने, हातधुने अवस्था र तरिका नबिर्सने अनि व्यक्तिगतदेखि सामुदायिक सरसफाइका बारेमा कुरा हुन्छन् । छलफलको माध्यमबाट यी कुरामा चेतना जगाउने र सिकाउने काम हुन्छ । यो पनि हामीले गर्ने कामबाट प्राप्त भएको एउटा उपलब्धि हो जस्तो मलाई लाग्छ ।

प्रकाशन मिति : २०८३ असार १७ गते, बुधवार

याे पनि पढ्नुहाेला

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *