स्वास्थ्य स्वयंसेविका : गर्वको आडमा बेतलबी खटाइ

Share this :

रेणु गौतम कार्कीले स्वास्थ्य स्वयंसेविका भएर काम गरेको दुई दशकभन्दा बढी भयो । केही वर्षयता साठीबर्से उमेर हदले उहाँका केही सहकर्मीले नियमानुसार बिदाइ पाए । २०३१ सालको जन्मले २०९१ सालमा उहाँको पनि बिदाइ हुनेछ । उमेर छँदासम्म गर्वका साथ खटेरै सेवा गरेको छु भन्ने लागे पनि ‘अवकाश’ हुँदा खासै केही पाइँदो रहेनछ भन्ने कुराले उहाँलाई पनि छोएको छ ।

ग्रामीण क्षेत्रका आमा तथा बच्चाको स्वास्थ्य स्तरमा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक र प्रवर्धनात्मक सेवा पुर्‍याउने उद्देश्यले २०४५ सालमा २७ जिल्लाबाट स्वास्थ्य स्वयंसेवक कार्यक्रम सुरु गरियो । पछि यसलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा रूपान्तरण गरियो । अहिले यो कार्यक्रम ७७ जिल्लामै सञ्चालित छ । कार्यक्रम सञ्चालनका लागि २०६७ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले एउटा रणनीति बनायो ।

रणनीति बनाएको आठ वर्षपछि पहिलोपटक त्यसलाई संशोधन गरियो । अहिले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६ं) अनुसार सो कार्यक्रम चलिरहेको छ । देश सङ्घीय संरचनामा गएपछि तय भएको सङ्घ, प्रदेश र स्थानीय तहको भूमिकाअनुरूप पालिकाहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासम्बन्धी कार्यविधि निर्माण र लागु पनि गर्ने गरेका छन् ।

देशभर ५० हजारभन्दा बढी महिलाहरू स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत छन् । उनीहरूको काम स्थानीय स्तरमा महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन योगदान गर्ने हो । यसमा पोलियो थोपा, भिटामिन ए, परिवार नियोजन, प्रजनन स्वास्थ्य सेवासम्बन्धी जनचेतना आदिसँग सम्बन्धित विभिन्न कार्यक्रम पर्दछन् ।

कार्यक्रमका लागि स्वयंसेवी महिलाको खटाइ र योगदान राष्ट्रसेवकको भन्दा कम नभए पनि त्यसले उचित मूल्य पाउनसकेको छैन । अहिलेसम्म राज्यले नियमित दिने भनेको पोसाक र यातायात खर्च मात्र हो । तालिमका बेला पाएको केही रकम सम्झँदै उमेर छउन्जेल राष्ट्रसेवा गरेर पनि ‘अवकाश’ हुँदा उनीहरू लगभग रित्तो हात बिदाइ गरिने वर्गमा पर्छन् ।

समानताको युग भनिए पनि महिलामाथि यस्तो विभेद कहिलेसम्म ? स्वयंसेविकाका नाममा महिलालाई देशले पनि अरू राष्ट्रसेवकभन्दा सेवासुविधामा फरक व्यवहार गर्न मिल्छ ? महिलालाई विभेदित गरेर सित्तैमा कहिलेसम्म यसरी काममा लगाइरहने हो ? सचेत समाजमा यस्ता प्रश्नहरू पटक पटक उठ्ने नै भए ।

‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६) मा ‘नेपालले स्वास्थ्य क्षेत्रको सहस्राब्दी विकास लक्ष्यमा गरेको प्रगतिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय’ रहेको र ‘जनताको स्वास्थ्य स्थितिमा देखिएको क्रमिक सुधार मुख्यतः मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरमा आएको कमीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय भूमिकालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको’ उल्लेख छ ।

साथै, राष्ट्रिय स्वास्थ्य क्षेत्र सुधार कार्यान्वयन योजनामा सङ्गठित र सुव्यवस्थित स्वास्थ्य क्षेत्रबाट उपलब्ध गराइने अत्यावश्यक स्वास्थ्यसेवामा उपयोगिता वृद्धि गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने प्रतिबद्धता कायम राखिएको छ । यसका लागि समुदायमा खट्दै आइरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई एक आधारभूत स्तम्भको रूपमा लिइएको छ ।

नेपालको समग्र स्वास्थ्य स्तरमा सुधार ल्याउनका लागि आधारस्तम्भ मानेर महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकाको उच्च मूल्याङ्कन गरेर सरकारी दस्ताबेजहरूमा लेखिएको भेटिए पनि व्यवहारमा आर्थिक कोणबाट हेर्ने हो भने महिलाहरू श्रमशोषणमा परेका देखिन्छन् । समुदायमा महिलाले गरेका योगदान र सेवाको आर्थिक पाटो विभेदित छ । समानताको सिद्धान्त विपरीत छ ।

स्वास्थ्य स्वयंसेविकाहरूले आआफ्नो समुदायमा दुई–तीन दशकसम्म काम गर्दा सँगालेको अनुभव र उनीहरूमाथि भइरहेको आर्थिक विभेदको यथार्थलाई दस्तबेजीकरण गर्नुपर्ने भावनाका साथ ‘सन्धान’ ले सोधीखोजी गरेर विभिन्न समयमा प्रकाशन र प्रसारण गर्दै आएको छ । यसै क्रममा आज स्वास्थ्य स्वयंसेविका रेणु गौतम कार्कीले कोशी प्रदेशको मोरङ जिल्लास्थित विराटनगरका केही निश्चित स्थानमा गरेका काम, जीवनभोगाइ र समानतामा आधारित सारभूत अपेक्षालाई ल्याएका छौँ ।

म्याग्दीस्थित बेनीको देवीप्रकाश माध्यमिक विद्यालयमा २०४६ सालमा कक्षा १० मा पढ्दै गर्दा पाँचथर जिल्लाको फिदिममा स्थायी घर भएका जागिरे विनोद प्रकाश गौतमसँग उहाँको बिहे भयो । १६ वर्षको उमेरमै पहिलो सन्तान जन्मियो । श्रीमान् म्याग्दीमै जागिर खाने व्यक्ति भएकाले रेणुले बिहेपछिका छ वर्ष छोराको स्याहारसुसारमै बिताउनुभयो । अर्काे गर्भ रहेपछि स्वास्थ्य चेकजाँचका लागि उहाँ विराटनगर पुग्नुभयो ।

पहिलो सन्तानलाई पढाउने सोचले रेणु विराटनगरमै बस्नुभयो । उहाँ टोलको अध्यक्ष बनेपछि योग्यता के छ र पढाइ कति हो भन्ने कुरा उठ्यो । त्यसपछि २०७४ सालमा उहाँले विराटनगरबाटै एसएलसी दिनुभयो । पास पनि गर्नुभयो । उहाँका अनुसार, खाना बनाउने, यताउता काम गर्ने गर्दै प्लसटुसम्मको अध्ययन गरेको हो । यो सबैमा श्रीमान्‌काे सहयोग थियो ।

रेणुसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८२ असारमा टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा सन्धान सम्पादन समूहले तयार गरेको रेणु गौतम कार्कीको स्वकथन :

मेरो नाम रेणु गौतम कार्की हो । मेरो जन्म २०३१ सालमा म्याग्दीको गलेश्वरमा भयो । राधिका कार्की र बिल बहादुर कार्की हो। उहाँहरूको म साइली औँ सन्तान हो । पर्वतमा जागिर गर्ने पाँचथरको व्यक्तिसँग २०४६ सालमा विवाह भयो । उहाँ जागिर गर्न आउँदा मसँग भेट भएको थियो । हाम्रो छोरा जन्मिएपछि श्रीमान् पाँचथर गएर छ वर्ष बस्नुभयो । पछि छोरालाई पढाउन र मेरो पेटमा रहेको अर्काे बच्चाको राम्रो स्वास्थ्यका लागि उहाँ मसँगै विराटनगरमा बस्न थाल्नुभयो ।

विराटनगरमा बस्ने क्रममा म टोलको अध्यक्ष पनि भएँ । शान्ति चोक टोल सङ्गठनको अध्यक्ष भइरहँदा समाजका विभिन्न मान्छेसँग चिनजान हुने नै भयो । २०६१ सालदेखि मैले स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरेँ । काम गर्न सक्छु भन्ने विश्वासका साथ मैले यो काम सुरु गरेको हो । विराटनगर–१ को शान्ति चोक, नौरङ्गी क र ख टोल, राधाकृष्ण टोल, रिद्धिसिद्धि टोल, पानीट्याङ्की र गंगाटोल गरेर नौ वटा टोलमा म स्वास्थ्य स्वयंसेविका छु । यी मैले सेवा दिने क्षेत्र हुन् ।

सुरुको तालिममा हामीलाई भत्ताबापत चार सय रुपैयाँ अनि ‘ड्रेस’ का लागि पैसा दिइएको थियो । त्यही पैसाले ‘ड्रेस’ किनेर सेवामा लाग्यौँ ।

स्वास्थ्य स्वयंसेविका छनोट भएपछि सुरुवातमा हाम्रो समूहलाई दुई चरणमा तालिम दिइएको थियो । तालिम केही वर्षको अन्तरालमा भएको थियो । पहिलो चरणको तालिम २०६१ सालमा भयो । त्यो नौ दिनको थियो । दोस्रो चरणको तालिम २०७२ सालमा भयो । त्यो पनि नौ दिनकै थियो र त्यो एउटा पुनर्ताजगी तालिम थियो । सुरुको तालिममा हामीलाई भत्ताबापत चार सय रुपैयाँ अनि ‘ड्रेस’ का लागि पैसा दिइएको थियो । त्यही पैसाले ‘ड्रेस’ किनेर सेवामा लाग्यौँ ।

स्वास्थ्य स्वयंसेवक भएर के के काम गर्ने भनेर हामीलाई सबै कुरा त्यही नौ दिनको तालिममा जानकारी गराइएको थियो । हामीले गर्ने काममा जन्मेदेखि पाँच वर्षसम्मको बच्चालाई विशेष ध्यान दिनुपर्ने, पाँच वर्षदेखि किशोरकिशोरी अवस्थादेखि वृद्धा अवस्थासम्मका व्यक्तिलाई पनि हेर्नुपर्ने र विशेष गरी गर्भवती महिलाको खोजी गरी तिनलाई खोप पूरा गर्ने भन्नुपर्ने थियो ।

गर्भ रहेको अवस्थामा कसरी बस्ने हो ? आइरन चक्की कति खाने ? जुकाको औषधी कहिले खाने ? अनि हेरचाह पनि कसरी गर्नुपर्ने ? भन्ने हो । शिशुको सेवा, सुत्केरी महिलाको सेवा, तिनको सङ्रख्या, सुत्केरी अवस्थामा महिलाले कस्तो पौष्टिक खाना खाने, कुपोषित बच्चाको खोजी र हेरचाह गर्नुपर्ने हुन्छ भन्ने हो । किशोर अवस्थामा किशोरीले आफ्नो ध्यान कसरी राख्ने भन्ने कुरा पनि हामीले गर्ने हो ।

सेवा नै धर्म हो भन्ने मानसिकताका साथ लागियो । घरमा आफू मात्रै बिहान सबेरै उठेर खाना बनाएर, बच्चालाई विद्यालय जान तयार बनाएर घरको सबै व्यवस्थापन गरेर निस्कन्थेँ ।

पौष्टिक आहार पुगेको नपुगेको हेर्ने पनि हाम्रो काम हो । कडा कुपोषणमा कति छन् र कुपोषित बच्चा कति छन् भनेर ‘डिटेल्स’ मा डाटा बुझाउनुपर्ने हुन्छ । हामीले टोल टोलमा गएर आमा समूह पनि बनाउनुपर्ने हुन्छ । सन्तान जन्माएका र जन्माउने उमेरका महिलाहरूलाई छनोट गरेर विभिन्न टोलमा आमा समूह बनायौँ । त्यसको नाम राधाकृष्ण आमा समूह छनोट गरेर राखिएको छ ।

टोलमा यसरी काम गर्दा मेरा साना साना बच्चाहरू थिए । श्रीमान् पनि जागिरे हुनुहुन्थ्यो । उहाँको जागिर विराटनगरबाट बाहिर पनि थियो । सेवा नै धर्म हो भन्ने मानसिकताका साथ लागियो । घरमा आफू मात्रै बिहान सबेरै उठेर खाना बनाएर, बच्चालाई विद्यालय जान तयार बनाएर घरको सबै व्यवस्थापन गरेर निस्कन्थेँ ।

आफूले हेर्नुपर्ने टोलमा भएका पाँच–छ सय बच्चालाई औषधी खुवाउँथेँ । त्यसरी त्यो पोलियो थोपा खुवाउँदा मलाई यो पनि धर्म हो भन्ने लाग्थ्यो । अहिले त्यतिबेलाको त्यो घरको र बाहिरको कामको व्यवस्थापन एक्लै गर्न सकेको सम्झँदा धेरै खुसी छु । म काम गर्न पाउँदा खुसी हुने मान्छे हो । त्यसैले बिहान ४ बजे उठ्दा पनि गाह्रो लागेन ।

प्रायः बिहान घरको सरसफाइ गर्ने, खाना बनाउने, बच्चालाई खानेकुरा खुवाएर ७ बजे नै काममा निस्कनुपर्ने हुन्थ्यो । श्रीमान् तेह्रथुममा जागिरे । सडक विभागमा काम गर्नुहुन्थ्यो । कहिले काठमाडौँ, कहिले पश्चिमतिर उहाँको सरुवा भयो । धेरैजसो घरबाहिरै बस्नुभयो । धेरैपछि मात्र उहाँले घरैतिर जागिर गर्ने गरी सरुवा मिलाउनुभयो । श्रीमान् सँगै भएको बेला उहाँलाई यो खाना यहाँ छ भनेर अनि बच्चाको स्कुल ड्रेस सबै रेडी बनाएर काममा जान्थेँ । यो मेरो घरको कुरा भयो ।

म पोलियो, भिटामिन खुवाउने काममा खट्थेँ । खोप कार्यक्रमहरू भइरहन्छन् । खोप केन्द्र सञ्चालन हुँदा बच्चा उचाल्ने, तौल लिने, बच्चालाई मनाउन, बच्चाको आमालाई कुरा बुझाउन, गर्भवतीलाई यसो उसो गर्ने भनेर बुझाउन र मनाउन हामी अघि सर्नुपर्छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हामी खोप केन्द्रमा बस्छौँ । खट्छौँ । त्यसका लागि त्योभन्दा पहिले नै तयारी गरेर घरबाट हिँड्नुपर्‍यो अनि खोप केन्द्रको सबै काम सकिएपछि घर फर्किनुपर्‍यो । समय त लागि हाल्छ ।

स्वयंसेविका भएर हामीले पहिले गर्भवती महिला र सुत्केरी महिलाको सङ्ख्या कति छ भनेर डाटा सङ्कलन गरेर मोबाइलबाटै स्वास्थ्य चौकीमा पठाउने गर्थ्याै‌ । त्यहीअनुरूप उहाँहरूले काम गर्नुहुन्थ्यो । यसरी काम गर्दा मलाईभन्दा पनि मेरा केही सहकर्मीहरूलाई सुरु सुरुमा विभिन्न किसिमका अप्ठेरा भए ।

मुख्यतः भाषाको अप्ठेरो थियो । यहाँ धेरै जातजातिका मानिसको बसोबास छ । जनजातिहरू, मैथिलहरूको आफ्नै भाषामा बोल्ने बानी थियो । नेपाली नबुझ्ने भएपछि आफूले उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो भयो । सबैलाई होइन, केहीलाई स्वास्थ्य शिक्षाका बारेमा नेपाली बोलेर बुझाउन खोज्दा कठिन पनि भयो ।

कतिपय पढेलेखेकाको घरमा गएर स्वास्थ्यसम्बन्धी केही सल्लाह, सुझाव, सूचना दिँदा वास्ता नगर्ने व्यवहार हुन्थ्यो । घरमा गएर बोलाउँदा ढोका नखोलिदिने, कसैले खोले पनि हामीसँग कुरा नगरिदिने गर्नुहुन्थ्यो ।

डेढ दशक अगाडिको कुरा हो, अशिक्षाका कारण टोल टोलमा गएर स्वास्थ्य संस्थामा जाने, सरसफाइ गर्ने बारेमा बुझाउन पनि गाह्रो पर्‍यो । तर, म पहिल्यैदेखि टोलको पनि अध्यक्ष भएर काम गरेर हिँडेको थिएँ । त्यसबाट धेरै अनुभव बटुलेको र चिनजान पनि भएकाले मलाई स्वयंसेविका भएर काम गर्दा अलिकति सहज पनि बन्यो ।

कतिपय पढेलेखेका शिक्षित भन्नेका घरमा हामी गएर स्वास्थ्यसम्बन्धी केही सल्लाह, सुझाव, सूचना नै दियौँ भने पनि हामीलाई वास्ता नगर्ने व्यवहार हुन्थ्यो । घरमा गएर बोलाउँदा ढोका नखोलिदिने, कसैले खोले पनि हामीसँग कुरा नगरिदिने गर्नुहुन्थ्यो । यस्तो गरे पनि हामीलाई हामीले लगाएको स्वयंसेवी पोसाकप्रति गर्व लाग्छ ।

पोसाककै कारणले पनि होला, कतै भेट भयो भने पहिले हामीले पोलियो खुवाएका बच्चाहरूले अहिले ठुलो भएर ‘अन्टी’ भनेर बोलाउनुहुन्छ । उहाँहरू समूहमा भएको बेला ‘अन्टी हामीलाई चिन्नुभयो ?’ भन्नुहुन्छ । अनि ‘तपाईंले पोलियो खुवाएर हामी यत्रो भएको’ भन्नुहुन्छ । पहिले आफूले पोलियो र भिटामिन खुवाएका बच्चाहरूले ठुलो भएपछि हामीलाई त्यसरी सम्झिइरहँदा खुसी पनि लाग्छ ।

स्वयंसेविका भएर प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा र चेतना फैलाउने काम गर्दा मलाई आफ्नो कामप्रति गर्व लाग्छ ।

अनि हामीले काम गर्ने क्रममा घरघरमा गएर कन्डम, पिल्सहरू पनि बाँड्नुपर्ने हुन्थ्यो । त्यतिबेला उहाँहरू लजाउनुहुन्थ्यो । पुरुषहरूलाई मैले ‘नलजाउनुस्, म पनि साथीभाइ जस्तै हो’ भन्थेँ । त्यसपछि केही समस्या भएन । महिलाहरूलाई परिवार नियोजनका साधनका बारेमा सल्लाह दिँदा ‘धेरै पिल्स नखानू, सुई पनि लामो समय लगातार नलगाउनू, चेञ्ज गर्नू’ पनि भन्थेँ ।

स्वयंसेविका भएर प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा र चेतना फैलाउने काम गर्दा मलाई आफ्नो कामप्रति गर्व लाग्छ । आफूले जानेको र बुझेको सबै कुरा उहाँहरूलाई सिकाउने, बुझाउने गर्थें । अहिले पनि परिवार नियोजनका साधन कन्डम र पिल्स चक्कीहरू महिनैपिच्छे, ९०–९५ वटा बाँडेकै हुन्छु । काम गर्दै आउने क्रममा अहिले धेरै सहज हुन थालेको छ । भाषाको समस्या पनि भएन । मलाई सबैले चिनी पनि सक्नुभयो ।

अहिले हामी घरघरमा जाँदा खुसी हुनुहुन्छ । बिस्तारै उहाँहरूले आफ्ना समस्या सबै हामीलाई बताउन थाल्नुभयो । घरायसी समस्या पनि बताउनुहुन्छ । मैले सुरुदेखि नै टोल टोलमा मजाले हिँडेरै सेवा सुविधा दिँदै आएको छु । मेरो आफ्नो सवारी साधनको कुराभन्दा पनि रिक्सामा हिँडेर पनि साध्य नलाग्ने भएर पैदल नै हिँडेर काम गर्ने गरेको छु । घरघरमा पस्नुपर्ने हुनाले पनि पैदलै राम्रो छ ।

आमा समूहमा हामीले सुरुमा सय रुपैयाँबाट बचत गर्न सुरु गरेका थियौँ । बचत गर्दा १० रुपैयाँ जगेडा कोषमा राख्न थाल्यौँ । पहिले विपद् परेको अवस्थामा सहयोगका लागि जगेडा कोषको पैसाबाट केही सामान किनेर लैजाने गर्छौ ।

धेरैले राम्रो कुरा गर्नुहुन्छ तर कत्तिले त कुरा पनि बुझ्नुहुन्न । कतिपय पढेलेखेकैले फेरि कुरा बुझ्दैनन् । केही मानिसले भनेको कुरा मनमा गाँठो परेर बसेको पनि छ । जे भए पनि मैले तलबमा काम गरेको पनि होइन । यस कामले मलाई खान पुग्ने पनि होइन । पैसाको लोभले काम गरेको पनि हैन, समाजसेवाका लागि मात्रै काम गरेको पनि हैन ।

काम विशेषले जर्मनी गएका बेलामा त्यहाँका स्वास्थ्य स्वयंसेवीका बारेमा पनि बुझेर आएँ । त्यहाँको स्वास्थ्य र त्यहाँ महिलालाई गर्ने सम्मान राम्रो हुनेरहेछ । त्यो देख्दा झनै महिलाले आफ्नो लागि आफैँ काम गर्नुपर्छ र काम गर्नेको पहिचान गराउने गर्नुपर्छ जस्तो लाग्यो । महिलाले पनि आफ्नो नाम, आफ्नो पहिचान आफैँ बनाउनुपर्छ जस्तो लाग्यो ।

हाम्रो यहाँ आमा समूहका कारण धेरै महिलामा परिवर्तन आएको छ । घरभित्र भएका महिलाले घरबाहिरको कुरा सुन्न र बुझ्न सक्ने हुनुभएको छ । आमा समूहमा सहभागी सङ्ख्या ४३ जना छ । यो समूहको बैठक पहिले प्रत्येक महिनाको शनिवार हुन्थ्यो । स्वास्थ्य संस्थाबाट आमा समूहमा आएर केही कुरा भन्ने इच्छा भएको भनियो । त्यसो भनेपछि हामीले बैठक बस्ने दिन परिवर्तन गर्‍यौँ ।

प्रत्येक महिनाको ९ गते बैठक गर्ने भनेर त्यही मितिमा बस्न थाल्यौँ । वडामा हामी सात जना स्वास्थ्य स्वयंसेविका थियौँ । एक जना ६० वर्ष पुगेर ‘रिटायर्ड’ हुनुभयो । आफ्नो आफ्नो एरियामा प्रत्येक महिनाको ९ गते बैठक बस्ने गरेको छ । आमा समूहमा हामीले बचत पनि गर्ने गरेका छौँ । सुरुमा सय रुपैयाँबाट बचत गर्न सुरु गरेका थियौँ ।

बचत गर्दा १० रुपैयाँ जगेडा कोषमा राख्न थाल्यौँ । पहिले विपद् परेको अवस्थामा सहयोगका लागि जगेडा कोषको पैसाबाट केही सामान किनेर लैजाने निर्णय गर्‍यौँ । विवाह, व्रतबन्ध आदिमा पनि पैसा जम्मा गरेर केही सामग्री लैजाने निर्णय गर्‍यौँ ।

आमा समूहमा शिक्षा, स्वास्थ्यका कुरा मात्र पनि सधैँ हुँदैन । अब बत्ती कातौँ र प्रत्येक महिनाको बैठकमा एक जनाले एक हजार बाती लिएर आउने गर्दा के होला भनेर छलफल गर्‍यौँ । योजना बनायौँ तर यो सफल भएन । योजनामा बत्ती बेचेर कोषमा पैसा राख्ने र आवश्यक पर्दा चलाउने कुरा थियो ।

समूहमा भएका कसैले बत्ती कात्ने, कसैले नकात्ने भएकाले दुई चार वर्ष चल्यो पछि त्यो योजना चल्न सकेन । बचत गर्ने रकम एक सयबाट बढाएर पाँच सय रुपैयाँ राख्यौँ । यति पैसाबाट पनि राम्रो ब्याज पनि आउन सकेन भन्ने भयो । पछि मासिक हजार रुपैयाँ बचत गर्ने कुरा भयो । अहिले त्यही गरेका छौँ । करिब एक दशकदेखि मासिक हजार रुपैयाँ नै बचत गर्ने गरिएको छ ।

समूहमा शिक्षा, स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा छलफल गर्छौं । हामी कहिले हात्तीपाइले, कहिले भिटामिन ए, कहिले जुकाको बारेमा, कहिले पोषणसम्बन्धी, कहिले डेङ्गी, कहिले बच्चाको खोप अनि कहिले रमाइलो कुराकानी गर्छौं । स्वास्थ्य र सरसफाइको बारेमा पनि कुराकानी गर्छौं । यसरी माहिलाहरू एक ठाउँमा जोडिएर गरिने कुराकानीबाट धेरै कुरामा राम्रो हुने रहेछ ।

कति जना महिला घरबाट बाहिर निस्कन नपाएका हुन्छन् । समूहको बैठकका लागि बाहिर निस्केर आफ्नो मनमा लागेका, आफूलाई भन्न मन लागेका कुरा पनि शेयर गर्नुहुन्छ । एकछिन भए पनि घरभित्रको कहिल्यै नसकिने र नदेखिने कामलाई एकातिर थाती राखेर समूहमा आउँदा त्यो उहाँहरूका लागि एक किसिमले रमाउन पाउने समय पनि बनेको छ ।

बैठकमा स्वास्थ्यसम्बन्धी अनेक समस्याका बारेमा सोधखोज हुन्छ, छलफल हुन्छ । यसरी हामीले महिलालाई आमा समूहमा आबद्ध गरेपछि अनि स्वास्थ्य स्वयंसेविका भएपछि राम्रो गर्‍यौँ भन्ने कुरा पनि सुन्न सकिन्छ ।

स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधाका बारेमा के भनौँ ? सुरुमा हामीलाई निःस्वार्थ रूपमा काम गर्नुपर्छ, यसमा पैसाको लोभ गर्नु भएन भनिएको हुन्छ । यस्तो कुरा हामीसँग पहिल्यै भएको हुन्छ । पहिले पहिले काम त्यति धेरै पनि हुँदैन थियो तर अहिले हामीले धेरै काम गर्नुपर्छ । अहिले सरकारी कर्मचारी सरह हामीले काम गरेका छौँ ।

समाजमा भने नबुझ्ने मानिस पनि हुने रहेछन् । स्वास्थ्य स्वयंसेविकाको ड्रेस लगाएर दिनै घरबाट निस्केर हिँड्छे । तलब भत्ता नभएको भए, यो यसरी खटेर हिँड्थी ? यसको तलब भत्ता हुन्छ भन्नेहरू पनि हुन्छन् । यस्तो भनेको सुन्दा कता कता कस्तो कुरा नबुझेको होला जस्तो लाग्छ । जसका बच्चालाई हेरेको छुु, भिटामिन खुवाएको छु, टाउको दुख्दा दबाई लिएर खुवाएको छु, राम्रा कुरा सिकाएको छु तर उसकै मुखले तलबमा हिँडिकी छेस् भनेको पनि सुनेको छु । अरूले पनि सुनाए ।

हाम्रा गुनासा पनि छन् । ६० वर्ष उमेर पुगेर ‘रिटायर्ड’ हुँदा कसैलाई केही वर्षको २०–२५ हजार दिनुभएको थियो भने कोही त जम्मा १० हजार रुपियाँमा मात्र ‘रिटायर्ड’ हुनुभएको थियो । हाम्रो भनाइ भनेको हामीले काम गरेको तलब पाएनौँ, ठिक छ, उमेर हुँदासम्म निःस्वार्थ रूपमा सेवा गर्‍यौँ तर हामी ‘रिटायर्ड’ भएर जाँदा बुढेसकालका लागि जीवन धान्न पुग्ने सेवा सुविधा त दिइयोस् न भन्ने हो ।

हामीले आफ्ना गुनासा पनि राख्यौँ । अर्काे कुरा, आफूसँगै काम गरेका साथीलाई उमेर पुगेपछि यत्तिकै छोड्न पनि नसकिने रहेछ । रित्तो हात घर पठाउँदा त अब कसरी गुजारा गर्ने ? यही सोचेर सरकारसँग हामी सबै स्वास्थ्य स्वयंसेविकाले हाम्रो सेवा सुविधामा ध्यान दिन माग पनि राखेका हौँ । हामी अहोरात्र स्वास्थ्य सेवाका काममा खट्छौँ तर पनि हामीलाई नै सेवा सुविधा छैन भनेर पनि कुरा राखेका छौँ ।

हामीलाई वर्षमा एक पटक भए पनि पुनर्ताजगी तालिमको व्यवस्था गर्नुपर्ने भनेका छौँ । यो तालिमले नयाँ कुराको ‘अपडेट’ दिन्छ, पुराना कुरा सम्झन सहयोग गर्छ । दुई दशकको अवधिमा मैले तीन पटक मात्र त्यस्तो तालिम लिन पाएको छु ।

हामीले सेवा गरे, काम गरे अनुसारको पारिश्रमिक हामीलाई दिइएको छैन । हामीले तालिम पनि त्यति पाएका छैनौँ । स्वास्थ्यका क्षेत्रमा नयाँ नयाँ परिवर्तन आइरहेको हुन्छ । यसैले हामीलाई वर्षमा एक पटक भए पनि पुनर्ताजगी तालिमको व्यवस्था गर्नुपर्ने भनेका छौँ । यो तालिमले नयाँ कुराको ‘अपडेट’ दिन्छ, पुराना कुरा सम्झन सहयोग गर्छ । दुई दशकको अवधिमा मैले तीन पटक मात्र त्यस्तो तालिम लिन पाएको छु ।

अहिलेसम्म सेवा सुविधाका नाममा नियमित रूपमा पाएको भनेको पोसाक खर्च र यातायात खर्च हो । वर्षमा एक पटक पोसाकका लागि भनेर पहिला सात थियो अहिले १० हजार रुपैयाँ हातमा पर्छ । वर्षको दुई पटक यातायात खर्च आउँछ । एक पटकमा छ महिनाको छ हजार रुपैयाँ आउँछ ।

कहिलेकाहीँ तालिम परेका बेलामा दिनको चार सय रुपैयाँ भत्ता आउँछ । हामीले पाउने सेवा सुविधाका कुरामा ठाउँ हेरी भिन्नता पनि छ । गाउँपालिका र नगरपालिकामा दिइने सेवा सुविधा भिन्न भिन्न छन् । कुनै गाउँपालिकामा साइकल र मोबाइल दिएका छन् रे ! कतै छ–छ महिनामा कामको मूल्याङ्कन पनि हुने रहेछ तर हाम्रो विराटनगरमा त्यस्तो छैन ।

प्रकाशन मिति : २०८२ कार्तिक १० गते, साेमवार

Share this :