भोको पेटमा गाह्रो काम र अवकाशमा रित्तो हात

Share this :

– कलावती नौन्याल

भोको पेटमा गाह्रो काम र अवकाशमा रित्तो हात हुनुपर्ने जीवन कसैले भोगेको छ भने त्यो महिलाले नै भोगेका छन् । नेपालमा अहिले ५० हजारभन्दा बढी महिलालाई स्वास्थ्य स्वयंसेविकाको रूपमा खटाइएको छ । २७ वर्षअघि खोजी खोजी छनोट गरेरै काममा खटाइएका महिलालाई स्वयंसेविका भनियो र जीवनभर राष्ट्रसेवा गराइयो ।

साठीबर्से उमेर हद पुगेपछि रित्तो हात अवकाश दिने काम पनि भयो । २०४५ सालमा २७ जिल्लामा सुरु गरिएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई पछि क्रमशः ७७ जिल्लामै विस्तार गरियो । कार्यक्रमको महत्त्वका बारेमा शङ्का गर्ने ठाउँ छैन तर कुरा त्यति महत्त्वपूर्ण काममा खटाइएका महिलालाई राज्यले जोडिदिएको ‘स्वयंसेविका’ शब्दबाटै सुरु भएको फरक र रकमी व्यवहारको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले बनाएको ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६) मा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम २०४५ साल (सन् १९८८/१९८९) देखि सुरु गरिएको उल्लेख छ ।

नामबाट नै सो कार्यक्रमको भुइँ तहको महत्त्वपूर्ण जिम्मेवारी महिलाले उठाउँदै आएको स्पष्ट हुन्छ । तिनै महिलालाई राज्यले अहिलेसम्म पनि नामदेखि सेवासुविधासम्ममा अरू राष्ट्रसेवकभन्दा फरक हुने गरी व्यवहार गर्दै आइरहेको छ ।

पञ्चायतकालमा सुरु भएको सो कार्यक्रम २७ वर्षमा चलिरहँदा देशको राजनीतिले विभिन्न उतारचढावका साथ लोकतान्त्रिक गणतन्त्रको संविधान ल्याइसकेको छ । समानताको प्रत्याभूतिसहितको सो संविधान संविधानसभाबाट बनाएर जारी भएको १० वर्ष भइसकेको छ । अहिलेसम्म महिलाका हकमा भने घरायसी काममा मात्र होइन, सरकारी काममा लगाउँदा पनि स्वयंसेवाका नाममा रित्तो हात अवकाश दिने प्रचलन रोकिएको छैन ।

महिलालाई जीवनभर श्रम–रोजगारीमा लगाएर स्वयंसेवा भन्दै सेवासुविधामा शोषण गर्ने काम बन्द हुनुपर्छ । ग्रामीण क्षेत्रका आमा तथा बच्चाको स्वास्थ्य स्तरमा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक र प्रवर्धनात्मक सेवा पुर्‍याउने उद्देश्यले खटाइएका महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका आधा लाख महिलाहरूले राज्यबाट सामाजिक समन्यायिक व्यवहार पनि नपाइरहेको अवस्थाले निरन्तरता पाउनु हुँदैन ।

महिला स्वास्थ्य स्वयंसेविकाको कामको खटाइलाई बाहिरबाट हेर्दा पनि महिला तथा बालबालिकाको स्वास्थ्यका क्षेत्रमा योगदान गर्ने गरी तोकिएको र ठेकिएको देखिन्छ । यसमा पोलियो थोपा, भिटामिन ए, परिवार नियोजन, प्रजनन स्वास्थ्य सेवा सम्बन्धी जनचेतना आदिसँग सम्बन्धित विभिन्न कार्यक्रम पर्दछन् ।

कार्यक्रमका लागि स्वयंसेवी महिलाको खटाइको कुरा भुक्तभोगीलाई मात्र होइन, स्थानीय तहका प्रत्यक्षदर्शीलाई पनि थाहा छ । उनीहरूले भुइँ तहमा रहेर पुर्‍याएको योगदान कुनै राष्ट्रसेवकको भन्दा कम छैन । यसैले पनि महिलालाई त जहाँ पनि सित्तैमा काम लगाउने त हो नि भन्ने जस्तो सोच र व्यवहार रोकिनुपर्छ ।

स्वयंसेविकाको बिल्ला भिराएर महिला स्वास्थ्यका काममा गाउँस्तरमा खटाएबापत ती महिलालाई राज्यले दिने गरेको भनेको अति नै नगन्य भत्ता मात्र हो । नाम मात्रको भत्ता लिएर उमेर छउन्जेल राष्ट्रसेवा गर्ने अनि अवकाश हुँदा रित्तो हात बिदाइमा पर्ने महिलाका सार्वजनिक जीवनभोगाइ र सोचाइ निकै महत्त्वपूर्ण र मार्मिक छन् ।

स्वास्थ्य स्वयंसेविका बनेर गाउँठाउँको सार्वजनिक काम गरेर एक प्रकारले रमाइरहेका महिलाहरू पनि अवकाश हुने उमेरमा पुगेपछि आफूहरूलाई रित्तो हात बिदाइ गरिने रहेछ भन्ने देखेपछि झस्किएका छन् । भोको पेटमा सेवा गर्ने भनी आफूहरूलाई गाह्रो काममा खटाइएको रहेछ भनी बुझ्न थालेका छन् ।

देशभर छरिएर रहेका महिला स्वास्थ्य स्वयंसेविकाका कुरा सुन्ने, दुःख बुझ्ने, उनीहरूको कामलाई राष्ट्रसेवासँग जोड्ने र समानताको प्रत्याभूति दिनुपर्छ भन्ठान्नेहरू मुखर पनि भइदिने हो भने राज्यका आँखा खुल्न सक्छन् । किनकि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई उसले भरपुर उपयोग गरेको देखिन्छ ।

‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६) मा उल्लेख छ, “नेपालले स्वास्थ्य क्षेत्रको सहस्राब्दी विकास लक्ष्यमा गरेको प्रगतिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय छ ।” उनीहरूको भूमिकालाई मुख्यतः मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरमा आएको कमीसँग जोडिएको छ ।

सो रणनीतिमा यो पनि उल्लेख छ, “जनताको स्वास्थ्य स्थितिमा देखिएको क्रमिक सुधार मुख्यतः मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरमा आएको कमीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय भूमिकालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको छ ।”

राज्यले राष्ट्रिय स्वास्थ्य क्षेत्र सुधार कार्यान्वयन योजनामा सङ्गठित र सुव्यवस्थित स्वास्थ्य क्षेत्रबाट उपलब्ध गराइने अत्यावश्यक स्वास्थ्यसेवामा उपयोगिता वृद्धि गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने प्रतिबद्धता कायम राखेको छ । त्यसका लागि समुदायमा खट्दै आइरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई एक आधारभूत स्तम्भको रूपमा लिएको पनि छ ।

नेपालको समग्र स्वास्थ्य स्तरमा सुधार ल्याउनका लागि आधार स्तम्भ मानेर महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकाको उच्च मूल्याङ्कन गरेर सरकारी दस्ताबेजहरूमा लेखिएको भेटिए पनि व्यवहारमा आर्थिक कोणबाट तिनै महिलाहरू श्रमशोषणमा परेका छन् । राज्यबाटै महिलामाथि हुँदै आइरहेको यस किसिमको श्रमशोषण र विभेदलाई उचित क्षतिपूर्तिसहित तत्काल रोक्नु जरुरी छ ।

महिलाहरूले समुदायमा प्रदान गर्दै आइरहेका सेवाका सन्दर्भमा त्यसको आर्थिक पाटो भने विभेदित रहेको यथार्थ र स्वयंसेविकाहरूले आआफ्नो समुदायमा दुई–तीन दशकसम्म काम गर्दा सँगालेको ज्ञान र अनुभवलाई सँगसँगै दस्तबेजीकरण गर्नुपर्ने भावनाका साथ ‘सन्धान’ ले उनीहरूको कार्य अनुभव र त्यससँग जोडिएका जीवनभोगाइलाई सोधीखोजी गरेर विभिन्न समयमा प्रकाशन/प्रसारण गर्दै आएको छ ।

यसै क्रममा बिगत तीन दशकदेखि स्वास्थ्य स्वयंसेविका भएर काम गर्दै आएकी डोटी जिल्लाकी कलावती नौन्यालसँग सुदूरपश्चिम क्षेत्रमा रहेर स्वयंसेविका हुँदाका व्यक्तिगत र कार्यगत अनुभव र समानतामा आधारित सारभूत अपेक्षालाई ल्याएका छौँ । उहाँसँग २०८१ मङ्सिरमा टेलिफोनमार्फत् ‘सन्धान’ को कुराकानी भएको थियो ।

सुदूरपश्चिम प्रदेशस्थित डोटीको शिखर नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकी स्वास्थ्य स्वयंसेविका कलावतीले सरकारसँग अरू त्यस्तो विशेष केही माग्नुभएको छैन । उहाँको भनाइमा छ त केबल समान अधिकार र समान व्यवहारको अपेक्षा । आशा छ, समुदायमा रहेर राष्ट्रको सेवा गरेवापत अवकाश हुने बेलामा रित्तो हात नभई आफूसरहका राष्ट्रसेवकलाई दिइने जस्तै सेवासुविधाको व्यवस्था भइदिए हुन्थ्यो भन्ने उहाँको अपेक्षालाई सरकारले समयमै सम्बोधन गर्ने छ ।

प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको टेलिफोन कुराकानीबाट प्राप्त जानकारीमा आधारित कलावती नौन्यालको स्वकथन :

मेरो नाम कलावती नौन्याल । मेरो घर डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर ९ मा पर्छ । मेरो जन्म २०३१ साल चैतमा बैतडी जिल्लामा भएको हो । मैले कक्षा ७ सम्म सिद्धनाथ निम्न माध्यमिक विद्यालयमा पढ्ने अवसर पाएँ । त्यसपछि पढ्न पाइनँ ।

मेरो घर नजिक विद्यालय थिएन । एउटा खोला तरेर जानुपर्ने । त्यो खोलामा पुल पनि थिएन । मेरा केटी साथीहरू पनि थिएनन् । एक्लै जान–आउन नसक्ने भएर पनि मैले विद्यालय छोड्नुपर्ने बाध्यता भयो ।

पन्ध्र वर्षमा मागेर मेरो बिहे भयो । १८ वर्षमा छोरी जन्मियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । बिहे भएपछि मैले स्वयंसेविका भएर गाउँघरमा सेवा गर्न थालेँ । २०५१ सालदेखि जुन बेलाबाट डोटीमा यो कार्यक्रम सुरु भयो, त्यही समयदेखि मेरो पनि स्वास्थ्य स्वयंसेविकाको यात्रा सुरु भयो ।

म स्वास्थ्य स्वयंसेविका हुनुभन्दा पहिला गाउँकै एक जना महिला हुनुभएको रहेछ । उहाँले आफ्नो नाम लेख्न, पढ्न पनि नजान्ने । त्यही भएर उहाँले नै मलाई ‘तिमी लेखेको पढेको, धेरै अनुभव होलान्, म छोड्छु’ भनेर छोड्नुभयो अनि मैले पनि ‘ठिकै छ, केही कुराहरू सिकिएला’ भनेर यो काममा लागेँ ।

स्वयंसेविका चयन भएपछि हामीलाई १८ दिनको आधारभूत तालिम दिइएको थियो । तालिममा गर्भावस्थादेखि लिएर पाँच वर्षमुनिका बच्चाहरूको स्याहारसुसार कसरी गर्ने र अरू खालका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाउनुभयो । मैले त्यो तालिम लिएँ अनि काम गर्दै गएँ ।

सुरुसुरुका वर्षहरूमा हामीहरूका लागि वर्षमा दुई पटक ‘रिफ्रेसर’ तालिम हुन्थ्यो । त्यो पुनर्ताजगी तालिम हुन्थ्यो । त्यसमा पहिले दिएको तालिम जस्तै बिचमा दोहर्‍याएर पोषणसम्बन्धी, निमोनियासम्बन्धी तालिम पनि दिने गर्नुहुन्थ्यो ।

हामीलाई निसासिएको बच्चाको कसरी उपचार गर्ने जस्ता खालका कुरा पनि सिकाइन्थ्यो । स्वास्थ्य स्वयंसेविका भएर काम गर्नलाई आवश्यक पर्ने यस्तै अरू कुराहरू पनि सिकाउनुहुन्थ्यो । त्यसरी बिचबिचमा तालिम हुँदा काम गर्नका लागि हामीलाई सहज पनि हुन्थ्यो । कहिलेकाहीँ भुलेका कुराहरू सम्झनका लागि पनि मद्दत पुग्थ्यो ।

सिकाइको वातावरण सहज थियो । त्यही बिचमा कति नयाँ कुरा सिक्दा काम गर्ने क्रममा सहज हुन्थ्यो तर पछिपछि बिस्तारै सबै हराउँदै गयो । अहिले त्यस्ता तालिमहरू केही पनि हुँदैनन् । तालिम पहिले नेपाल सरकार र गैरसरकारी सङ्घ, संस्थाहरूले पनि दिन्थ्यो । पछि सब हरायो ।

पहिलो पटक हामीलाई तालिमपछि साडी, ब्याग, परिचयपत्र दिइएको थियो । त्यो कुरा अहिले पनि याद छ । सुरुमा हामीले एक दिनको तालिमबापत ७५ रुपैयाँ पाउथ्याैँ । अनि केही वर्षपछि एक दिनको तालिम बापत दुई सय रुपैयाँ दिन थाल्यो । अहिले चार सय रुपैयाँ भएको पनि धेरै वर्ष भयो ।

हामीलाई नेपाल सरकारले पोसाक भत्ता भनेर वर्षमा एक पटक १० हजार रुपैयाँ दिन्छ अनि मासिक बैठकमा आतेजाते (बाटो खर्च) भनेर महिनाको हजार दिन्छ । नगरपालिकाले पनि पाँच सय रुपैयाँ दिन्छ । हामीलाई निःशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध गराइएको छ । हामीहरूले अहिलेसम्म पाइरहेको सुविधा यही हो ।

तीन दशकअघिका कुरा गर्नुपर्दा मलाई के भन्न मन लाग्छ भने म स्वयंसेविका भएको सुरुको अवस्था एकदमै नाजुक थियो । महिलाहरू सुत्केरी व्यथा लाग्दा पनि स्वास्थ्य संस्थामा जान नमान्ने, हामीले जाऊँ भन्दा पनि नजाने, गर्भावस्थामा चेकजाँचका लागि पनि नजाने ।

गर्भ अन्तरका लागि परिवार नियोजनको साधन पनि प्रयोग नगर्ने, बच्चालाई खोप लगाउन पनि नलैजाने, आमा समूहको बैठकमा आउन भनेर घरघरमा गएर बोलाउनुपर्ने अनि सरसफाइमा पनि ध्यान नदिने अवस्था थियो । महिलाहरू आमा समूहको बैठकमा आउन भनेर बोलाउँदा पनि नआउने गर्नुहुन्थ्यो ।

पछि आमा समूहको बैठक गर्नलाई खाजाको व्यवस्था गरिदियो । त्यसपछि बल्ल अलिकति बैठक नियमित हुन थाल्यो । महिलाहरू आउन थाल्नुभयो । हामीले महिलाका सरसफाइदेखि, प्रजनन स्वास्थ्यसँग सम्बन्धित कुरामा धेरै सम्झाउन पर्‍यो ।

हामीले धेरै पटक भन्दा पनि कसै कसैले मतलब नै नगर्ने गर्नुहुन्थ्यो । त्यस्तो हुँदा काम गर्नका लागि पनि अप्ठेरो भएको थियो । एउटै मानिसलाई तीन–चार पटकसम्म एउटै कुरा सम्झाउँदा पनि मान्नु हुन्थेन । खोप लगाउनका लागि बच्चाहरू लिएर यो दिन आउनू भन्दा पनि बच्चाहरू नल्याइदिने । घरघरमा गएर भन्दाभन्दै पनि बच्चाहरू घरमा थुनेर आफू कतै काममा जाने गर्थे ।

मलाई लाग्छ, मानिसमा खोप लगाउनुपर्छ भन्ने खालको जनचेतना नभएर त्यति बेला उहाँहरू त्यस्तो गर्नुहुन्थ्यो । आउजाउ गर्न गाडीको व्यवस्था नहुने, स्वास्थ्य संस्था टाढा भएका कारणले बाटैमा बच्चा जन्माउने अवस्था पनि थियो । हाम्रै ठाउँमा अहिले भने त्यस्तो छैन ।

गर्भावस्था भएपछि हामीले चेकअपका लागि स्वास्थ्य संस्था जानुपर्छ भन्दा नजाने अनि घरमै बच्चा जन्माउने । त्यसले गर्दा आमा र बच्चाको मृत्यु पनि हुन्थ्यो । मेरो सासूहरूको पालामा पनि सहज थिएन । छ वटा बच्चा जन्मे भने दुई वटा बच्चा मात्र बाँच्थे रे ! उहाँहरू हामीलाई त्यस्ता कुराहरू सुनाउने गर्नुहुन्छ ।

स्वयंसेविका भएर लगभग तीन दशक काम गरियो । सेवा गर्ने हाम्रो उमेर हद ६० वर्षसम्म हुन्छ । पारिवारिक अवस्था मध्यम खालको छ । हामी जस्तो काम गरेर खाने मान्छेलाई, भोको पेटमा सेवा गर्ने ठाउँमा परियो, त्यो पनि ग्राहो काम रहेछ भन्ने बुझाइ भएको छ ।

मलाई लाग्छ, यो तीन दशकको अवधिमा धेरै परिवर्तनहरू आए । गर्भवती भएपछि अहिले चेकअपका लागि डाक्टरकोमा जाने, बच्चा जन्माउनका लागि पनि हेल्पपोष्ट नै जाने गर्नुहुन्छ । त्यसकारण अहिले जन्मिएका बच्चा र आमाहरू स्वस्थ नै हुन्छन् ।

अहिले महिनावारी रोकिने बित्तिकै हामीसँग सल्लाह लिनुहुन्छ । स्वास्थ्य संस्थामा बोलाएका बेलामा जानुहुन्छ । बेलाबेलामा चेकअपका लागि जाने गर्नुहुन्छ । आफैँ सोधखोज गरेर पनि बच्चाहरूलाई खोप लगाउन लिएर जानुहुन्छ ।

बच्चाको जन्मदर पहिले धेरै थियो । अहिले बच्चाहरूको जन्मदर पनि कम छ । बच्चाहरूको अवस्था पनि स्वस्थ छ । अहिले मेरो वडामा कोही गर्भवती पनि छैनन् । दुई वर्षमुनिका बच्चा पनि छैनन् । भए पनि एकदम कम होलान् जस्तो लाग्छ । धेरै बच्चा जन्माउन हुँदैन भन्ने बारेमा अहिले धेरै बुझ्ने हुनुहुन्छ । यसैले गाउँघरमा धेरै परिवर्तन आएको छ ।

सरकारले हाम्रो दुःख देखेन, हामी जस्ता स्वयंसेविकाको योगदानको मूल्याङ्कन पनि गरेन भन्ने मेरो भोगाइ हो । मेरो घरमा पनि गाईबस्तु पालेको थियो । मेरा आफ्ना बालबच्चा थिए । सधैँ अरूको सेवा गरेर मात्र घरमा आफूहरूलाई खानलाई पुग्दैन । यस्तो अवस्थामा घरको काम छोडेर गएर काम गर्दा पनि हामीलाई सेवा सुविधा पनि केही छैन ।

घरमा ‘हामीले दिन मात्र काटेर के फाइदा छ ? आफूले के खाने ?’ जस्ता कुरा पनि गर्नुहुन्थ्यो । एक त आफू बुहारी मान्छे, त्यसमाथि पाँच–छ जना केटाकेटीको आमा, घरमा बुढी सासू, भैँसी पनि पालेको थियो । त्यही भएकाले घरको कामको व्यवस्थापन गरेर गाउँघरको सेवामा हिँड्न पनि गाह्रै थियो ।

मैले सेवा गर्नुपर्ने वडामा ३०–३४ जति घरधुरी छन् । पहिले बस्तीहरू छरिएर बसेका हुन्थे । यसैले मैले धेरै टाढासम्म पनि हिँड्नुपर्थ्यो । कहिले काहीँ त रातिमा पनि हिँड्नुपर्थ्यो । अहिले त्यस्तो छैन ।

हामीले आफूले काम गरेका कामकुराहरू रजिस्टरमा लेखेर राखेका हुन्छौँ मासिक बैठकमा त्यही कुरा भन्छौ, रिपोर्ट पनि बुझाउँछौँ । हामी हिँडेरै एक–दुई घण्टाको बाटो लगाएर हेल्थपोस्टमा जानुपर्छ । आमा समूहको बैठकमा महिलाहरूलाई स्वास्थ्यसम्बन्धी शिक्षा दिन्छौँ । गाउँमा प्राथमिक उपचारका लागि जति बेला आवश्यक पर्छ त्यति बेला हामी हिँड्नुपर्छ ।

गर्भवती महिलालाई घरेलु उपचार गर्ने र सल्लाह दिने काम गर्छौँ । पहिले बच्चाहरूलाई निमोनिया धेरै हुन्थ्यो पछि हामी आफैँले त्यसको उपचार पनि गर्‍यौँ । अहिले खोप आएपछि निमोनिया भएको बच्चा त्यति फेला परेका छैनन् ।

हामीले एक दिन खोपमा सहयोग गर्ने, एक दिन गाउँघर क्लिनिकमा काम गर्ने गर्नुपर्छ । घरधुरीको स्वास्थ्य अवस्था बुझ्नका लागि अनुगमन हुन्छ । गर्भवती अवस्थामा कति बेला व्यथा लाग्छ थाहा हुँदैन । यसैले कहिलेकाहीँ आपत्कालीन अवस्थामा रातिमा पनि हिँड्न पर्छ । त्यसरी रातिमा हिँडेको पनि हो ।

स्वंयसेविका भनेको सेवा गर्नु हो, गरियो यसमा खुसी पनि लाग्छ । गाउँघरका बुढापाका, बालबच्चा, महिलाहरूको सेवा गरियो । यसो गर्दा कति कुराहरू अरूलाई सिकाउनेसँगै आफूले पनि जान्नेबुझ्ने मौका मिल्यो तर सेवा र सिकाइसँगसँगै हामीले गरेको कामअनुसारको सुविधा नेपाल सरकारले नदिएका कारण नराम्रो पनि लाग्छ ।

हामीलाई वर्षमा दुई पटक ‘रिफ्रेसर’ तालिम भनेर सिकाउने काम हुन्थ्यो । अहिले त एक पटक पनि हुँदैन । जे जानेको छ, त्यही मात्र गर्ने हुन्छ । हामीले गर्नुपर्ने नयाँ कुरा जान्न नपाउँदा दुःख लाग्छ ।

स्वयंसेविका भएर लगभग तीन दशक काम गरियो । सेवा गर्ने हाम्रो उमेर हद ६० वर्षसम्म हुन्छ । पारिवारिक अवस्था मध्यम खालको छ । हामी जस्तो काम गरेर खाने मान्छेलाई, भोको पेटमा सेवा गर्ने ठाउँमा परियो, त्यो पनि ग्राहो काम रहेछ भन्ने बुझाइ भएको छ ।

काम गर्ने क्रममै कति जना साथीहरूले बिचमा पनि छोडिदिनुभयो । कतिले पूरा अवधि काम गरेर जानेहरू पनि खालि हात जानुपर्‍यो । धेरै वर्षसम्म काम गरेर पनि उहाँहरू खाली हात जानुपरेको देख्ता आफूलाई पनि पछि त्यही गर्ने हुन् र त्यसरी नै बिदा गर्ने हुन् भनी दुःख लाग्छ ।

थाहा छ, हाम्रो पनि छोड्ने बेलामा त्यही अवस्था हुने हो । हामीले जीवनभर दायाँबायाँ नसोची आफूले सकेको, बुझेको सेवा गरेका छौँ । हामीले यतिका वर्षसम्म सेवा गरेपछि सुविधामा पनि केही हेरफेर र थपथाप गरिदिए हुन्थ्यो जस्तो लाग्छ । हामीले छोडेर जाने बेलासम्ममा हाम्रो सुविधाका लागि सरकारले केही सोचिदिए र गरिदिए हुन्थ्यो भन्ने छ ।

प्रकाशन मिति : २०८२ साउन २० गते, मङ्गलवार

Share this :