आर्थिक आत्मनिर्भरताको माग र कार्यबोझको थिचाइ

Share this :

– पुष्पा घिमिरे (सह–प्राध्यापक)

अहिलेसम्मको विश्वमा पुरुषको मात्र दिमागले काम गर्दा मानव विकासलाई उचाइमा पुर्‍याउन सकिएन, सङ्कटहरू बढ्दै र चुलिँदै गए भन्ने कुराले अर्थशास्त्रीहरूको ध्यान तानिरहेको छ । महिलाको दिमागलाई सार्वजनिक क्षेत्रमा ल्याएर उपयोग गर्नका लागि नीतिगत ढोकाहरू पनि खोलिँदै आएका छन् । नेपालमा पनि यस खालको अभ्यास हुँदै आएको छ । विभिन्न क्षेत्रको रोजगारीमा छिरेका अधिकांश महिलाहरू कार्यबोझको थिचाइमा परेका छन् ।

कामकाजी महिलाहरूमा आफ्नो जीवन र कामको सन्तुलन कसरी मिलाउने भन्ने चिन्ता पनि थपिएको छ । महिलाहरूको दिमागको उपयोग गर्ने बृहत्तर उद्देश्यले सबैजसो सार्वजनिक क्षेत्रमा सेवा प्रवेशका बेला महिलाको निश्चित सङ्ख्या हुनैपर्ने व्यवस्था पनि गरिएको छ । महिलाहरू पनि आआफ्नो व्यक्तित्व विकास र आर्यआर्जनको अनिवार्यताका कारण कुनै न कुनै सार्वजनिक क्षेत्रको रोजगारीमा संलग्न हुने गरेका छन् ।

राजनीतिमा सहभागिताको अनिवार्य प्रावधानले नेपाली महिलालाई घरायसी क्षेत्रबाट सार्वजनिक क्षेत्रमा देखिने गरी काम गर्ने बाटो खुला गरेको छ । त्यहाँ महिलाका लागि निश्चित स्थान पनि सुरक्षित गरिएका कारण वडास्तरसम्मै एक खालको दृश्यमयता छ । राजनीति जस्तै सार्वजनिक एजेन्डा बोक्ने सञ्चार क्षेत्रमा पनि महिलाहरूको संलग्नता छ । यद्यपि, त्यहाँ महिलाहरूको दिमागले कत्तिको भाउ पायो र पाउने गरेको छ त भन्ने प्रश्न पनि उल्लेखनीय छ ।

देशमा राजनीतिक व्यवस्थाले फड्को मारेर लोकतान्त्रिक गणतन्त्रको नाम पाए पनि परम्परागत चिन्तन हावी हुन छाडेको छैन । त्यसमाथि दण्डहीनता मौलाउँदै गएका कारण विभेदकारी चिन्तन बोकेका विषाक्त वृत्तिका नेतृत्वहरू पनि विभिन्न संरचनामा हावी हुने गरेका छन् । तिनको अदृश्य सञ्जालले बौद्धिक क्षेत्रमा काम गर्ने सुशासन पक्षधर सक्षम महिलाहरूलाई समेत काम गर्न सहज वातावरण दिएको छैन । यस्तो अवस्थामा राज्यका विभिन्न अङ्ग, निकाय, विभाग, प्रतिष्ठान, संस्थान जस्ता सार्वजनिक संरचनाहरूमा कामकाजी महिलाको वास्तविक हालत एकाधमा बाहेक आमरूपमा बाहिर आउन सक्तैन, सकेको पनि छैन ।

कामकाजी महिलाको कार्यस्थलको वातावरणजन्य भोगाइलाई गहिराइमा गएर खोज्न र व्यवस्थित तरिकाले अभिलेखन गर्नै बाँकी छ । दोहरो तेहरो कामको बोझका बिच सबैभन्दा पहिले महिलाहरूको घर र कार्यस्थलको वातावरण नै ठोकिन आइपुग्छ । कसैको काम कार्यस्थलभित्रै सीमित हुन्छ त कसैको काम समाजसित पनि प्रत्यक्ष जोडिएको हुन्छ । राजनीतिकर्मी र पत्रकारहरूको पेसागत कामप्रति समाजको विशेष अपेक्षा र आग्रह जोडिएको हुन्छ । राजनीतिकर्मी र पत्रकार महिलाका पेसागत कामलाई समाजले बाहिरबाटै पनि नियाल्न र प्रश्न गर्न सक्छ ।

सामाजिक दायित्वसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीमा रहेको अवस्थामा महिलाहरूको अर्थपूर्ण काम र जीवनको सन्तुलनका कुरा महत्त्वपूर्ण हुन आउँछन् । घरदेखि कार्यालयसम्मका कामको चापमा महिलाको जीवन कसरी चलिरहेको छ ? महिलाको काम र जीवनको सन्तुलनको सवाल कत्तिको महत्त्वपूर्ण छ ? वडा सदस्यदेखि पत्रकार महिलाहरूसम्मको अनुभव के छ ? अवस्था कस्तो छ ? अञ्जली शर्मा र पवित्रा गुरागाईंले गरेका शोधहरूको सार्वजनिक प्रस्तुति कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विषयका सहप्राध्यापक पुष्पा घिमिरेले आर्थिक दृष्टिकोणबाट महिलावादी विश्लेषण गर्नुभएको थियो ।

महिला तथा लैङ्गिक अध्ययन विषयको पठनपाठनमा समेत लामो संलग्नता रहेकी पुष्पाले त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन केन्द्रीय विभाग र द स्टोरी किचनको सहकार्यमा २०८२ जेठ १६ मा आयोजित ‘राजनीतिज्ञ र मिडियामा क्रियाशील महिलाहरूको कामको सन्तुलनमा चुनौती’ विषयक कार्यक्रममा यस्तो विश्लेषण गर्नुभएको हो ।

उक्त कार्यक्रममा पवित्रा गुरागाईंले नेपालमा पत्रकार महिलाको कार्य–जीवन सन्तुलन र अञ्जली शर्माले ललितपुर महानगरपालिकाका निर्वाचित महिला स्थानीय जनप्रतिनिधिहरूको अर्थपूर्ण प्रतिनिधित्व विषयमा प्रस्तुति दिनुभएको थियो ।

नेपालको महिलावादी आन्दोलन र आन्दोलनको सवालका विविध विषयमा सहकार्यात्मक अन्तरक्रिया हुँदा ‘सन्धान’ ले त्यसबाट प्राप्त ज्ञानात्मक अन्तर्वस्तुलाई शृङ्खलाबद्धसमेत गरी प्रकाशन–प्रसारण गर्ने गरेको छ । कार्यक्रमको भिडियो रेकर्डका आधारमा सन्धान सम्पादन समूहले यो सहकार्यात्मक लिखित पाठ तयार गरेको हो ।

अहिलेका अधिकांश कामकाजी महिलाले जीवनमा उठाइरहेको कार्यबोझ अबको पुस्ताका महिलाले उठाइरहन सक्तैनन् । महिलाले मात्रै यस्तो बोझ उठाइरहनुपर्छ भन्ने सोच्नु पनि जायज हुँदैन । त्यसले विश्वव्यापीरूपमै अझै धेरै खालका सङ्कट बढाउन सक्छन् । यसर्थ आमरूपमा कामकाजी महिलाको ठाउँमा उभिएर राज्यले पनि सोच्नु–बुझ्नुपर्ने र समन्यायिक व्यवहार सुधारका लागि पहल गर्नुपर्ने बेला भइसकेको छ ।

मानव विकासको उच्चतम बिन्दु हासिल गर्नका लागि महिलाहरूले मात्र एकतर्फीरूपमा सन्तुलित रही सार्वजनिक स्थानमा योगदान गरेर पुग्दैन, राज्यले पनि बेलैमा कार्यस्थलको वातावरणलाई विषाक्त हुन नदिनेदेखि घरायसी कामको बाँडफाँडका लागि प्रेरित गर्ने र परिआएमा नीतिगत हस्तक्षेप गर्नसमेत पछि पर्नुहुन्न भन्ने भावबोधका साथ आजको ‘सन्धान’ मा प्रस्तुत छ, अर्थशास्त्र र लैङ्गिक अध्ययन केन्द्रीय विभागमा प्राध्यापनरत त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पुष्पा घिमिरेको महिलावादी अर्थसामाजिक विश्लेषणमा आधारित टिप्पणी ।

अहिलेका कामकाजी महिलाको लागि घरभित्रको काम र घरबाहिरको सार्वजनिक जिम्मेवारीको कामलाई समय मिलाएर गर्नु र सन्तुलित गर्नु एकदमै गाह्रो कुरा हो । जागिरे महिलाहरूले धेरै अप्ठ्यारो अवस्थाको सामना गर्नु परिरहेको छ । कार्यालयको काम सकेर घर फर्किंदा घरभित्रका हरेक कामले ती महिलालाई पर्खिरहेका हुन्छन् ।

हाम्रो सामाजिकीकरणको ढाँचा (सोसलाइजेसन प्याटर्न) ले घरलाई महिलाको एउटा मुख्य भूमिका भएको क्षेत्र वा ‘मेजर डोमेन’ हो भन्छ, जहाँ बालबच्चाको स्याहार, वृद्धवृद्धाको हेरविचार, खाना बनाउने, घर सफा गर्नेदेखि सारा यस्ता तलबविनाको स्याहारसम्भारका काम (अनपेड केयर वर्क) लाई महिलाको भागमा पारिएको हुन्छ ।

अझ कहिलेकाहीँ आफन्त, छरछिमेक, साथीहरूकोमा विवाह, व्रतबन्ध, पूजाआजा आदि भए सहभागी हुन र बिरामी भए भेट्न जानुपर्छ । घरमा छोरी, ज्वाइँ, नन्द–आमाजू, आउनेजाने पाहुनाको पनि हेरचाह गर्नुपर्छ । यस्ता सबै कामको जिम्मेवारी महिलाकै हो भनी ठानिएको हुन्छ र महिला अफैले पनि त्यसरी नै आत्मसात गरेका हुन्छन् । अहिलेका महिलाहरू घरभित्र मात्र होइन, घरबाहिर गएर पुरुषले जस्तै गरी आयआर्जनका काम गर्छन् । यो क्रम बढ्दो छ र काम गर्ने क्षेत्र पनि फराकिलो हुँदै आएको छ ।

महिलाले आर्थिकरूपमा आत्मनिर्भर बन्न पाउनुपर्ने, आफ्नो क्षमता देखाउन पाउनुपर्ने, रोजगारीको अवसर लिन, र आफ्ना भनाइ राख्न पाउनुपर्ने माग छ । यो महिला अधिकारको मुद्दा हो र यसलाई मानव अधिकारको दृष्टिकोणबाट हेर्नुपर्छ ।

राजनीतिमा तथा अन्य कतिपय सार्वजनिक क्षेत्रमा राज्यले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । जसले गर्दा महिलाको प्रतिनिधिमूलक भूमिका बढेको छ । यसरी महिलाहरूले घरभित्र र घरबाहिरका विभिन्न प्रकारका भूमिका (मल्टिपल रोल) निभाउनुपर्छ । त्यस्तो हुँदा यसो सोचौँ त, हरेक दिन ती महिलाहरुले कसरी कामको समन्वय गरिराखेका होलान् ? कामको अत्यधिक बोझका कारण उत्पन्न हुने तनावले उनीहरूको घरभित्रको कामदेखि घरबाहिर गरिरहेको काममा कस्तो प्रभाव परिरहेको होला ?

घरभित्रदेखि घरबाहिरको काम गर्दागर्दै पनि महिलाका अधिकांशतः कामहरू तलबविनाको सेवामूलक भएकाले उनीहरू आर्थिक दृष्टिले आत्मनिर्भर भने हुन सकेका छैनन् । आर्थिक आत्मनिर्भरता मानिसको जीवनमा नभई नहुने पक्ष हो । यो महिला आन्दोलनको माग पनि हो । महिलाले आर्थिकरूपमा आत्मनिर्भर बन्न पाउनुपर्ने, आफ्नो क्षमता देखाउन पाउनुपर्ने, रोजगारीको अवसर लिन, र आफ्ना भनाइ राख्न पाउनुपर्ने माग छ । यो महिला अधिकारको मुद्दा हो र यसलाई मानव अधिकारको दृष्टिकोणबाट हेर्नुपर्छ ।

महिलावादले पनि आर्थिक समानताको अधिकार भनेको छ । माक्र्सवादीहरूको विचारमा घरायसी कामको जिम्मेवारी भनेको पुँजीवादको उत्पादन हो । उनीहरू भन्छन् पुँजीवाद (क्यापिटलिज्म) मा मानिसको सार्वजनिक र निजी जीवन अथवा ‘पब्लिक र प्राइभेट’ भनेर छुट्याइएको हुन्छ तर समाजवाद वा कम्युनिज्ममा निजी जीवनका लागि वा ‘प्राइभेट लाइफ’ का लागि व्यक्तिले यतिका धेरै समय खट्नु पर्दैन । शिशु वा बच्चा, बृद्ध तथा बिमारीको स्यहारसुसारको जिम्मेवारी राज्यले वहन गर्छ ।

बालबच्चाको स्याहार, वृद्धवृद्धा र बिरामीको हेरचाह राज्यले गर्ने हुँदा मार्क्सवादीहरू समाजवाद वा साम्यवादमा महिलाहरूलाई सन्तान जन्माउने वा ‘बायोलजिकल रिप्रोडक्सन’ को काम बाहेक अरु भूमिका निर्वाह गर्नु पर्दैन भन्छन् । उनीहरू सामाजिक पुर्नउत्पादनको काममा महिलालाई त्यति समस्या छैन भन्छन् तर वास्तविक जीवनमा सबै खालका उत्पादन प्रणालीमा महिलालाई यो समस्या छ भन्ने बुझ्नुपर्छ । त्यसको समाधानका लागि महिलामा आर्थिक आत्मनिर्भरता हुनु जरुरी छ ।

हाल महिलालाई आर्थिक आत्मनिर्भरता नभै भएको छैन तर राज्यले त्यसका लागि अनुकूल व्यवस्था गर्न सकेको छैन । सन् २०६०–७० को दशकतिर ‘वन अर्नर फ्यामिली’ अर्थात पुरुष कमाउने व्यक्ति वा घरमूलीको अवधारणा थियोे । पुरुषको कमाइ उसको घर खर्च टार्न र परिवार पाल्न पुग्ने हुनुपर्छ र त्यति आम्दानी पुरुषले पाउनुपर्छ भन्ने अवधारणा थियो ।

अबको समय भनेको ‘वन अर्नर फ्यामली’ को होइन, ‘टु अर्नर फ्यामलीको’ को हो । यो भनेको परिवारमा पुरुषले मात्र होइन, महिला पुरुष दुबैले रोजगारी गरी कमाउनुपर्ने अवधारणा हो ।

अहिले आर्थिक उदारीकरणको समयमा पुरुषको मात्र कमाइले घर खर्च पुग्दैन र परिवार पालिँदैन । राज्यले अहिले शिक्षा, स्वास्थ्य आदि विभिन्न सार्वजनिक सेवामा खर्च कटौती गर्दै लगेको छ । एउटा सानो परिवारमा पनि दुई जनाले कमाए मात्र घरव्यवहार चलाउन सम्भव छ । आज हामीले स्वास्थ्य, शिक्षा, स्याहार सुसार (‘केयर वर्क’) लगायत सबै कुरा किन्नुपर्ने अवस्था छ । त्यसैले महिलाले पनि घरबाहिर गएर रोजगारी गरी कमाउनुपर्ने आवश्यकता छ । नत्र उनको घर खर्चै पुग्दैन, परिवार पनि सहज ढङ्गले चल्न सक्तैन ।

अबको समय भनेको ‘वन अर्नर फ्यामली’ को होइन, ‘टु अर्नर फ्यामलीको’ को हो । यो भनेको परिवारमा पुरुषले मात्र होइन, महिला पुरुष दुबैले रोजगारी गरी कमाउनुपर्ने अवधारणा हो । विश्वमै यस्तो सोचाइ छ- जबसम्म ५० प्रतिशतको दिमागलाई मात्र आर्थिक, सामाजिक तथा राजनैतिक नीति निमार्णमा अर्थात ‘पब्लिक स्पेस’ मा ल्याइन्छ, तबसम्म अहिले जे भैरहेको छ, त्यही रिजल्ट मात्र आउछ । अर्थात आर्थिक विकासका नयाँ नयाँ समस्याहरू वा चुनौतहरूलाई ५० प्रतिशतको मात्र ज्ञान (नलेज) ले समाधान गर्न सक्तैन । यसैले अब आर्थिक, समाजिक विकास र समग्र मानव विकासकै लागि शतप्रतिशत मानिस अर्थात महिला, पुरुष तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक सबैको दिमागलाई सार्वजनिक उपयोगमा ल्याउनैपर्छ ।

नत्र आर्थिक सङ्कट, वातावरण सङ्कट, युद्ध, द्वन्द्व आदिलाई चुनौती दिन सकिँदैन । यी र यस्ता समस्यालाई चुनौती दिन र यस्ता सङ्कट समाधान गर्नका लागि पनि अबका दिनमा सबैखाले महिला र अल्पसंख्यक व्यक्ति र समूहका ज्ञान र सोचलाई सार्वजनिक क्षेत्रमा ल्याउनुपर्ने र आर्थिक नीति तथा कार्यक्रमसँग जोड़नुपर्ने समय आएको छ ।

हाम्रो जस्तो देश, जहाँ राज्यले नागरिकलाई सबै सेवा सुविधा दिन सक्दैन, त्यहाँ शिक्षा, स्वास्थ्यदेखि सबै कुरा किन्नुपर्छ । सबै चिजमा पैसा लाग्छ । त्यसकारण पनि महिलाले रोजगारीमा लागेर नकमाई सुखै छैन । परम्परागत (घरघरायसी) सोच बोकेर अबको परिवार टिक्न सक्ने र अघि बढ्न सक्ने अवस्था छैन ।

पुरातनवादी घरपरिवारको अवधारणा (‘ट्रेडिशनल हाउसहोल्ड कन्सेप्ट’), जसमा सम्पूर्ण तलबविनाका सेवामूलक कार्य महिलाले गर्नुपर्ने हुन्छ, अब यस्ता तलबविनाका कामको बोझ महिलाले मात्र थामेर थामिँदैन र त्यो अब टिक्न पनि टिक्दैन । अहिले सतहमा देखिन थालेका समस्याहरू त्यसैका छिटफुट सङ्केत हुन् । तिनलाई बेलैमा बुझेर समाजलाई समतामूलक ढङ्गले रूपान्तरण गर्दै समृद्धिको बाटो समाउनुपर्ने अवस्था छ ।

सबैखाले भूमिका एकै समयमा निर्वाह गर्नुपर्दा एउटी महिलालाई काम र जीवन को सन्तुलन (‘वर्क-लाइफ ब्यालेन्स’) मिलाउन निकै गह्रो हुन्छ । हाल महिलालाई यो एउटा ठुलो चुनौती वा समस्याको रूपमा देखापरेको छ ।

बुझ्नुपर्ने आधारभूत कुरा के भने अहिलेको जवान पुस्ता वा ‘योङ जेनेरेसन’ र खासगरी महिलालाई विवाह गर्नुपर्ने, बच्चा जन्माउनुपर्ने, घर चलाउनुपर्ने, पढाइ सकिसक्नुपर्ने, रोजगारी थाल्नुपर्ने आदि सारा काम उमेरको एउटा समय सीमाभित्र गर्नुपर्ने हुन्छ । यो भनेको ३० देखि ३५ वर्षको समयभित्र हो । त्यसै समयभित्र महिलाले सारा काम गर्नुपर्ने हुन्छ ।

त्यस्तै, विदेशमा छात्रवृत्तिका लागि निवेदन गर्नुपरे पनि उमेरको हद हुन्छ, ‘एजबार’ लागु हुन्छ । उमेर बढदै गएपछि जवान उमेरमा जसरी पढ्न सकिँदैन, जागिर पनि खान सकिँदैन । यसरी सबैखाले भूमिका एकै समयमा निर्वाह गर्नुपर्दा एउटी महिलालाई काम र जीवन को सन्तुलन (‘वर्क–लाइफ ब्यालेन्स’) मिलाउन निकै गह्रो हुन्छ । हाल महिलालाई यो एउटा ठुलो चुनौती वा समस्याको रूपमा देखापरेको छ ।

पत्रकारिता र राजनीतिक क्षेत्रमा त झनै बढी चुनौती छ, किनभने त्यो पब्लिक एजेन्डा बोक्ने क्षेत्र पनि हो । शिक्षण पेसामै पनि हामीले कति चुनौती भोगियो । एउटी आमा कर्मचारीले गरेको जस्तो ‘गिल्ट’ मैले पनि अनुभव गरेकी छु । महिलाले समयमै बाहिर पढ्न नजाउँ भने हुँदैन, पढ्न जानुपर्छ । त्यो पनि मातृवात्सल्यपूर्ण स्याहार र हरदम रेखदेख गर्नुपर्ने बच्चा छोडेर जानुपर्छ । कतिपय ठाउँमा बच्चा लिएर गएर पढ्न पाइँदैन ।

पारिवारिक साथ, सहयोग र समर्थनको कुरामा, हामीकहाँ दुई–तीन थरी परिवार छन् । मुख्यतः संयुक्त, एकल दम्पती र एकल महिला वा पुरुषका परिवार । संयुक्त परिवारमा बच्चा हेर्ने काम प्रायः वृद्धवृद्धा अर्थात हजुरआमा, हजुरबुवा वा काकाकाकी, फुपू आदिले गर्ने गर्छन् । त्यस्तो अवस्थामा महिलालाई जागिर खान, बच्चा छाडेर पढ्न जान सहजै हुन्छ तर एकल दम्पती परिवारमा वा एकल महिलाका परिवारमा महिलालाई त्यो किसिमको सहजता वा सुविधा प्राप्त हुँदैन । त्यसैले एकल दम्पती परिवारका महिलालाई आफ्नो ‘वर्क–लाइफ ब्यालेन्स’ गर्न झनै गाह्रो हुन्छ ।

बच्चाको स्याहार गर्ने तरिका पनि अहिले नयाँ छ । पहिले जस्तो परिवारका पाका सदस्यहरूको साथ, सहयोग र समर्थनमै सीमित रहेर काम हुनेवाला पनि छैन । मलाई लाग्छ, अहिलेका कामकाजी महिलाका लागि ‘वर्क–लाइफ ब्यालेन्स’ सबैभन्दा ठुलो चुनौती हो । यो भनेको एकातिर ‘गिल्ट’ र अर्कोतर्फ अत्यधिक कामको बोझले उत्पन्न हुने तनाव झेल्नुपर्ने अवस्था हो ।

जब महिलालाई जागिरमा वा अन्य सार्वजनिक पदमा सकारात्मक अनुभव हुन्छ, तब उनको घरमा पनि सकारात्मक वातावरण निर्माण हुन्छ । कार्यस्थलमै नकारात्मक अनुभव हुने वा महिला भएकै कारण दुव्र्यवहार भोग्नुपर्ने वातावरण भयो भने त्यहाँ तिक्तता थपिन्छ । त्यस्तो बेला महिलाले भोग्नुपर्ने समस्या झनै चर्को हुनजान्छ । सङ्कुचित सोच भएको नेतृत्वले चलाएको कुनै पनि कार्यालयमा रोजगारी गर्ने महिलालाई एक किसिमको मानसिक बोझ वा ‘मेन्टल बर्डेन’ अनुभव भइरहन्छ ।

कार्यस्थलको मानसिक बोझले घरको वातावरणमा पनि नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ । राज्यका नीति तथा कार्यक्रमहरूले पनि यस्ता समस्यालाई समाधान गर्ने दिशातर्फ खासै पहल गर्न सकेको देखिँदैन । यसैले कामकाजी महिलाले आफ्नो परिवार तथा समुदायलाई यसतर्फ सचेत गराउने, सचेतना कार्यक्रमहरू सञ्चालन गरेर, बहस पैरवी गरेर सार्वजनिक दबाब दिने वातावरण सिर्जना गर्नुपर्छ ।

हामी महिलाहरूले आफूलाई एउटा ‘स्ट्यान्डप्वाइन्ट’ मा राख्ने प्रयास गर्नुपर्छ । म यतिसम्म काम गर्छु भन्ने सीमा निर्धारण गरी राख्ने, चाहे त्यो सार्वजनिक जब सेक्टरको होस् कि प्राइभेट सेक्टरको वा घरको काम नै किन नहोस् !

जिम्मेवारीका हिसाबले पत्रकार र राजनीतिकर्मी महिलाहरू सार्वजनिक एजेन्डा बोक्ने ठाउँमा हुनुहुन्छ । मानिसहरूले उहाँहरूलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । हाम्रो जस्तो समाजमा उहाँहरूलाई कार्यक्षेत्रमा डटिरहेको देखे भने धेरैजसोका मनमा यी महिलाहरू सार्वजनिक क्षेत्रमा किन आए, कसरी आए वा कसको आड़भरोसामा आए भन्ने प्रश्नहरू उठ्न सक्छ ।

महिला भएकै आधारमा यसरी प्रश्न उठ्ने भएपछि युवा उमेरमा आफ्नो कार्यक्षेत्रमा लगनशील र इमानदार भएर काम गर्दै अघि बढिरहेका महिलालाई आफ्नो कार्यक्षमताको प्रमाण दिन गाह्रो हुन्छ । यस्ता धेरै संरचनागत तथा पछौटे सोचले ग्रस्त सामाजिक समस्याबाट कामकाजी महिलाहरू गुज्रिरहेका हुन्छन् । त्यसको समाधान तत्काल अरू कसैले गरिदिने वाला छैन । यसैले म त भन्छु, सबैभन्दा पहिले महिलाले आफैँभित्रबाट समाधान खोज्न थाल्नुपर्छ ।

हामी महिलाहरूले आफूलाई एउटा ‘स्ट्यान्डप्वाइन्ट’ मा राख्ने प्रयास गर्नुपर्छ । म यतिसम्म काम गर्छु भन्ने सीमा निर्धारण गरी राख्ने, चाहे त्यो सार्वजनिक जब सेक्टरको होस् कि प्राइभेट सेक्टरको वा घरको काम नै किन नहोस् ! मलाई लाग्छ, अहिले घरदेखि कार्यस्थलसम्मको वातावरण महिलामैत्री भनिए पनि वास्तवमा त्यो त्यस्तो भइसकेको छैन । यसैले अहिलेको जस्तो दोहोरो चरित्रले प्रश्रय पाइरहेको अवस्थामा कामकाजी महिलाले धेरैतिर विचार पुर्‍याएर अघि बढ्न सक्नुपर्छ ।

महिलाले सबैभन्दा पहिले आफ्ना लागि उपयुक्त हुने काम छनोट गर्ने र त्यो कामको लागि पनि आफूले कतिसम्म योगदान गर्न उपयुक्त छ भनी आफूले नै सीमा निर्धारण गर्नुपर्छ भन्ने मलाई लाग्छ । घरमा होस् वा कार्यालयमा आफ्नो कामको ‘लिमिट’ राख्ने, चित्त नबुझेको कुरा बोल्ने, वृहत्तर हितका लागि सोचेर काम गर्ने बानी गर्ने, अनि आफ्नो व्यक्तिगत हेरविचार वा ‘सेल्फ–केयर’ मा ध्यान दिने गर्नुपर्छ ।

प्रकाशन मिति : २०८२ भदाै ३१ गते, मङ्गलवार

Share this :