द स्टोरी किचेनले सुरु गरेको वेबपोर्टल ‘सन्धान’ का लागि अनुसन्धानमूलक आलेख लेखनको आवश्यकता भएकाले त्यसका लागि फेलोसिपको आवेदन प्रकाशित गरिएको छ । ‘महिलाहरूका नलेखिएका कथा, नसुनिएका आवाज र दबाइएका विचारहरूलाई बुलन्द गर्नुपर्छ’ भन्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको द स्टोरी किचेनले सन् २०२२ मा सन्धान प्रकाशन तथा प्रसारण सुरु गरेको हो ।
वर्गीय र जातीय व्यवस्थामा आधारित पितृसत्तात्मक सामाजिक व्यवस्थाले महिला र पिँधमा पारिएका वर्गको ज्ञान, बोली र विचारलाई मौन बनाइरहेको अवस्थामा ती मौन बनाइएका मानव समूहको ज्ञान, बोली र विचारलाई साझा गर्ने थलोको रुपमा सन्धानले स्थान दिँदै आएको छ ।
सन्धान, नेपाली महिला आन्दोलनको इतिहास, त्यो इतिहासका पात्र तथा उनीहरूको योगदान र उपलब्धिहरूलाई सहखोजी, सहकार्य, सहलेखनको माध्यमबाट एकीकृत गरी महिलावादी दृष्टिकोणबाट साझा गर्ने विचारप्रधान अनलाइन पोर्टल हो । यसमा नेपालमा विभिन्न कालखण्डमा भएका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक व्यवस्था परिवर्तनसमेतका आन्दोलन, अभियान र घटनाक्रम आदिमा महिला र महिलाभित्रका विविध महिलाहरूको सहभागिता, नेतृत्व र योगदानको इतिहासलाई महिलावादी दृष्टिकोणबाट अनुसन्धान गरी तयार गरिएका सामग्रीहरू प्रकाशन/प्रसारण गरिँदै आएको छ ।
सन्धानले महिलावादी अनुसन्धान पद्धतिलाई अवलम्बन गरी महिला सवालसँग जोडिएका विभिन्न विषयमा अनुसन्धानात्मक आलेख तयार गर्नका लागि पत्रकार, अनुसन्धाता तथा लेखक महिलाहरुका लागि फेलोसिप पनि प्रदान गर्दै आएको छ । आवेदन पत्रसहितको यो जानकारी सन्धान फेलोसिपको तेस्रो शृङ्खलामा सहभागी हुन चाहनेहरूका लागि हो ।
पहिलो र दोस्रो शृङ्खलाको फेलोसिपमा लेखिएका आलेखहरुको सङ्ग्रह ‘महिला आन्दोलनको सहखोजी : भाग १’ प्रकाशित भइसकेको छ । गत वर्ष साउनमा प्रकाशित सो सङ्ग्रहमा २१ जना सन्धान फेलोका आलेख समेटिएका छन् । यस पटकको फेलोसिपपछि तयार भएका आलेखहरूलाई ‘महिला आन्दोलनको सहखोजी : भाग २’ मा प्रकाशन गरिनेछ ।

आवेदन दिनका लागि गुगल फाराम प्रयोग गर्ने र त्यसमा तोकिएका विवरणहरु भरेर इमेल गर्न सकिनेछ । आवेदन फाराममा प्रस्तावित आलेखको विषय शीर्षक खुलाई सोको बारेमा दुई सय शब्दसम्मको प्रस्ताव पनि लेख्नुपर्ने छ । आवेदनकर्ताले अध्ययन, अनुसन्धानमा आफ्नो रुचि भएको, प्रस्तावित आलेखको सामग्री सङ्कलन र लेखनको क्रममा सम्पादक र मेन्टरले दिने सल्लाह र निर्देशनमा निरन्तर काम गर्न तत्पर रहेको भनी स्पष्टरुपमा लिखित प्रतिबद्धता पनि व्यक्त गर्नुपर्नेछ ।
आवेदन साउन ११ गते (२७ जुलाई २०२५) आइतबारसम्म सन्धानमा उपलब्ध हुने गरी पठाउन वा दिन सकिनेछ ।





