भूमा शर्मा पाण्डेको जन्म २०२१ वैशाखमा स्याङ्जा जिल्ला हालको वालिङ नगरपालिका वडा नम्बर ९ मा भयो । उहाँको शैक्षिक यात्रा भारतको आसाम डिगबोइ भन्ने ठाउँबाट सुरु भयो र कक्षा १२ सम्मको पढाइ त्यहाँ सक्नुभयो । बुबा आसाममै व्यापारव्यवसाय गर्ने भएकाले उहाँको विद्यालय शिक्षा भारतमै भएको थियो ।
छ दशकभन्दा अघि उहाँ जन्मेको गाउँठाउँमा छोरीहरूलाई पढाउन हुन्न भन्ने मानसिकता नै बलियो थियो । उहाँको आमाको सोच भने त्यो रुढीवादी समाजभन्दा अलि फरक थियो । भूमाका अनुसार, आफूले पढ्न नपाए पनि छोरीहरूले पढ्नुपर्छ भन्ने सोच आमामा थियो । त्यही भएर आमा पनि आसाम नै बसेर भूमालाई विद्यालय गएर पढ्न सहज बनाइदिनुभयो ।
विद्यालयमा गरिब, असह्य, पीडितहरू पनि हुन्थे, उनीहरूका लागि आवाज उठाउनुपर्दा आफूले बोल्दिने गरेको र आफूमा आठ–नौ कक्षा पढ्दादेखि नै देखिएको समाजसेवाको भावना अहिले पनि रहेको उहाँको भनाइ थियो ।
यस्तैमा सन् १९८० मा आसाममा एउटा आन्दोलन भयो । यो २०३७ सालतिरको कुरा हो । आसामका स्थानीय बासिन्दाले आफ्ना माग राखेर गरेको आन्दोलन थियो त्यो । आन्दोलनका कारण एक वर्ष विद्यालय बन्द भयो ।
विद्यालय बन्द हुनाले भूमाको औपचारिक पढाइमा असर गर्यो तर उहाँ यत्तिकै बस्नु भएन, अर्को खालको आन्दोलनमा सहभागी हुनुभयो । भूमाका अनुसार, नेपालबाट पढ्न गएका अग्रज ‘दाइदिदीहरू’ ले आन्दोलन चलिरहेका समयमा नेपाली भाषालाई भारतको संविधानमा लेख्नुपर्छ भन्ने आवाज उठिरहेको हुनाले त्यसलाई साथ दिँदै तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई प्रतिवेदन पठाउने, ज्ञापनपत्र बुझाउने जस्ता काम भए । त्यसमा आफू पनि सहभागी भएको उहाँले बताउनुभयो ।
भूमाले भारतमै कक्षा १२ को पढाइ सक्नुभयो । त्यसपछि भने छोराछोरीलाई नेपालमै पढाउने र नेपालमै केही गर्ने सोचले भूमाका बुबा नेपाल फर्किनुभयो । नेपाल आएपछि २०४२ सालमा भूमा पद्मकन्या क्याम्पस काठमाडौँमा स्नातक तह अध्ययनका लागि भर्ना हुनुभयो । पढाइसँगै खेलकुद, नाटक जस्ता अतिरिक्त क्रियाकलापमा पनि उहाँ सहभागी हुन थाल्नुभयो ।
अतिरिक्त क्रियाकलापमा देखिएको आफ्नो सक्रियताले गर्दा नै त्यति बेला क्याम्पसमा गोमा जीसी, कमला पन्त, किरण पन्थी, मीना पाण्डे, समा शाही, अनार बस्नेत, महालक्ष्मी (डिना) अर्याललगायतका विद्यार्थी नेताको नजरमा आफू परेको भूमाले बताउनुभयो । आफूलाई राजनीतिमा लाग्नुपर्छ भनेर प्रेरित गर्ने अग्रज तत्कालीन विद्यार्थी नेताहरूलाई नै मान्नुहुन्छ उहाँ ।
तत्कालीन विद्यार्थी नेताहरूसँगको भेटघाट र सल्लाहले आफू पनि २०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रहमा सहभागी भएको उहाँले सम्झनुभयो । सत्याग्रहमा पद्मकन्या क्याम्पसमै अध्ययनरत धेरै महिला सहभागी भएका र आफू पनि पक्राउ परेको उहाँले बताउनुभयो ।
सत्याग्रहपछि पनि अग्रज महिला नेताहरूले बोलाएपछि उहाँ बैठक, छलफलहरूमा जाने, कुरा सुन्ने र अवस्था बुझ्ने गर्नुहुन्थ्यो ।
स्नातक तह अध्ययन पूरा गरेर भूमा २०४४ सालतिर आफ्नो गृह जिल्ला स्याङ्जा फर्किनुभयो र गाउँकै सरकारी स्कुलमा अङ्ग्रेजी विषय पढाउन थाल्नुभयो । केही गर्नुपर्छ भन्ने सोच रहेकाले भूमाले साथीसाथी मिलेर केही हजार रुपैयाँ रकम उठाएर स्याङ्जामा नीजि विद्यालय पनि खोल्नुभयो । त्यसपछि २०४५ सालमा उहाँ स्नातकोत्तर तहको अध्ययनका लागि काठमाडौँ आउनुभयो ।
कीर्तिपुरमा विश्वविद्यालयकै होस्टेलमा बसेर पढ्दै गर्दा २०४६ सालको जनआन्दोलन सुरु भयो । भूमा पनि निर्दलीय पञ्चायती व्यवस्था अन्त्यको आन्दोलनमा लाग्नुुभयो । आन्दोलनका बेला आफूले सञ्चारको काम गर्दा विशेष गरी चिठीपत्र गोप्य तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने गरेको उहाँको भनाइ थियो । होस्टेलमा बस्दा पक्राउ पर्ने डर भएकाले साथीहरूसँगै आफू पनि केही समय चोभारडाँडातिर हुदैँ साथीहरूको डेरातिर बसेको उहाँले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदा भूमा नेपाल विद्यार्थी संघबाट कोषाध्यक्ष पदमा उम्मेदवार भएर निर्वाचित पनि हुनुभयो । त्यसपछि उहाँ सङ्गठन विस्तारका क्रममा काठमाडौँलगायत विभिन्न जिल्लामा पुग्नुभयो । विश्वविद्यालयमा आफूले निर्वाह गरेको त्यो भूमिका नै उहाँलाई अहिले सबैभन्दा महत्त्वपूर्ण थियो जस्तो लाग्छ ।
भूमा सन् १९९४ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा बेलायतमा ‘वुमन इन्टरप्रेनरसिप’ विषय पढ्न जानुभयो । यो २०५१ सालतिरको कुरा हो । बेलायतमा पढेर फर्केपछि उहाँले महिलाका लागि विभिन्न आयमूलक कार्यक्रम, पीडित महिलाको न्याय र सशक्तीकरणका लागि सामाजिक संस्थाबाट स्याङ्जामै विभिन्न कार्यक्रमहरू गर्न थाल्नुभयो । त्यसै क्रममा नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सदस्य पनि हुनुभयो ।
भूमाले २०६०/६१ सालतिर त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगको परीक्षा खुलेको थाहा पाउनुभयो र उपप्राध्यापक पदका लागि आवेदन दिनुभयो । सो आयोगको परीक्षामा सहभागी भएर उत्तीर्ण भएपछि २०६१ सालदेखि पाटन संयुक्त क्याम्पसको अर्थशास्त्र विभागमा पढाउन थाल्नुभयो । हाल पाटन क्याम्पसमा प्राध्यापनरत उहाँ ‘नेपाल प्राध्यापक सङ्घ’ मा कोषाध्यक्ष पनि हुनुहुन्छ ।
भूमाले २०६२/६३ को जनआन्दोलनमा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सहभागी भएर अन्ततः राजतन्त्र अन्त्य गर्ने आन्दोलनमा पनि योगदान गर्नुभयो । त्यो आन्दोलनमा हजारौँ महिलाहरू सहभागी भएका र त्यो आन्दोलनले पनि धेरै महिला नेताहरू उत्पादन गरेको उहाँको भनाइ थियो । त्यस्ता धेरै महिलाहरू अहिले पार्टीका आँखामा पर्न नसकेका र नियतवश ओझेलमै पारिएको विसङ्गत अवस्थाप्रति उहाँको असन्तुष्टि पनि देखियो ।
देशमा राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिसँगै सरकारी जागिरदेखि राजनीति र अन्य विभिन्न क्षेत्रमा महिला सहभागिता बढेको तर समानुपातिकका नाममा भएको त्यो बृद्धि न्यायपूर्ण नरहेको र अझै नेतृत्वदायी भूमिकामा पुग्न बाँकी रहेको उहाँको विश्लेषण थियो । अहिलेसम्म सङ्ख्यात्मक रूपमा महिला सहभागिता बढ्दै छ, अब नेतृत्व तहमा, निर्णय गर्ने ठाउँमै महिला पुग्नुपर्ने कुरामा उहाँको जोड रह्यो ।
नेपाल सरकारले चलाएको महिला जागृति तथा आयआर्जन कार्यक्रमको अध्यक्षसमेत रहिसकेकी भूमाको त्यति बेलाको अनुभवमा पार्टीगत हिसाबले केही पुरुषले कार्यक्रमलाई साँघुरो दृष्टिले हेरेर महिलाहरूलाई पछाडि खिच्न खोजे पनि महिलाहरू भने महिलाकै कित्तामा उभिन चाहनुभयो । महिलाका सवालमा महिलाहरू पार्टीको घेराभन्दा बाहिर गएर एक हुन खोजेको देखियो ।
सामाजिक कार्यमा सहभागी हुँदै राजनीति र प्राध्यापन पेसालाई सँगसँगै अघि बढाइरहेकी भूमाको विचारमा अबको महिला आन्दोलनले महिलालाई अझ सशक्त बनाउने, आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै राजनीतिक दलको संरचनादेखि राज्यका सबै तहहरूको निर्णायक ठाउँमा महिला सहभागिता बढ्ने गरी काम गर्नुपर्ने छ ।
भूमा २०५३ सालमा योजना आयोगको विज्ञ सदस्य पनि हुनुभयो । आयोगमा उहाँले गरिबी निवारणमा महिलासम्बन्धी शीर्षकमा काम गर्नुभयो, परामर्श दिनुभयो । अहिले गाउँको अर्थतन्त्र धेरै हदसम्म महिलाले धानेको, संरक्षण र व्यवस्थापन गरेको हुनाले महिलाले गर्दै आएका सबै खालका कामको मूल्याङ्कन गरी योगदानको कदर पनि हुनुपर्ने उहाँले बताउनुभयो ।
अबको महिला आन्दोलन गरिबीविरुद्ध र दिगो विकासका लागि हुनुपर्ने र यसैमा धेरै कुरा समेटिने विचार राख्ने भूमासँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८२ जेठमा पाटन क्याम्पसमा भेटेर कुराकानी गर्नुभएको थियो ।
कुराकानी उहाँको शैक्षिक, सामाजिक र राजनीतिक यात्रासँग जोडिएको जीवनभोगाइ, महिला सहभागिता, अर्थतन्त्रमा महिलाको योगदान र मूल्याङ्कनका साथै महिला आन्दोलनका अबका मुद्दामा केन्द्रित थियो ।
प्रस्तुत छ, भूमा शर्मा पाण्डेसँग गरिएको सोही कुराकानीको भिडियो अंश :
प्रकाशन मिति : २०८२ असार २३ गते, साेमवार





