सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ५ की चन्द्रा परियारलाई बाल क्लबले आफ्नो धारणा परिवर्तनमा सघाएको र व्यक्तित्व निखारेको महसुस हुन्छ । चिङ्गाडकै भैरव माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गर्दा उहाँ सोही विद्यालयमा गठित अविच्छिन्न ‘बाल क्लब’ को अध्यक्ष हुनुहुन्थ्यो । उहाँका अनुसार, बाल क्लबले बालविवाह, छुवाछुत जस्ता सामाजिक कुरीति, कुप्रथाको अन्त्य र महिला, किशोरी तथा बालिकामाथि हुने लैङ्गिक हिंसा र भेदभावका विरुद्ध चेतनामूलक कार्यक्रमहरू गर्ने गर्छ ।
आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भए पनि पढाइमा आफू अब्बल भएको बताउने चन्द्रा आफ्नो समाजमा हुने जातीय छुवाछुत तथा लैङ्गिक भेदभावबारे जानकार हुनुहुन्छ । उहाँले त्यस्ता कतिपय भेदभावका घटनालाई देख्नु, सुन्नु र भोग्नुभएको छ । सामाजिक अवचेतनले त्यस्ता कुरालाई बोकेको हुनाले आफू प्रभावमा रहे पनि उहाँको अन्तर्मनले तिनलाई आलोचनात्मक दृष्टिले ग्रहण गर्छ र तिनलाई अन्धविश्वास, विकृति, कुप्रथा र कुरीतिका रूपमा बुझ्छ ।
समाजमा विभिन्न स्वरूपमा रहेका अन्धविश्वास, विकृति, कुप्रथा, कुरीति आदिलाई हटाउनका लागि चन्द्राले आफूलाई विद्यालय तहमै सक्रिय बनाउनभयो । उहाँले बाल क्लबको नेतृत्व लिनुभयो र त्यसमार्फत चेतनामूलक कार्यक्रमहरू पनि गर्नुभयो । उहाँसँग २०८० पुसमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘सन्धान’ को भेटघाट र कुराकानी भएको थियो ।
कुराकानी मूलतः बाल क्लबमार्फत चन्द्राले गर्दै आएका सामाजिक काम, समाजमा रहेको कुप्रथा, कुरीति र भेदभावकारी प्रचलनले दलित समुदायका साथै बालिका, किशोरी र महिलामाथि गरेको हिंसा र दुर्व्यवहारका साथै बाल क्लबको अध्यक्ष भएपछि उहाँको धारणा र व्यक्तित्वमा आएको परिवर्तनका बारेमा भएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको सोही कुराकानीका आधारमा तयार गरिएको चन्द्रा परियारको स्वकथन :
म सुर्खेतको अविच्छिन्न बाल क्लबको अध्यक्ष हुँ । म भैरव माध्यमिक विद्यालयमा अध्ययनरत छु । बाल क्लबको अध्यक्ष छनोट प्रक्रिया हुन्छ, त्यसमा म चुनिएँ । क्लबमा अध्यक्ष हुनका लागि अन्य साथीहरू पनि इच्छुक हुनुहुन्थ्यो तर बहुमतको समर्थनमा म परेँ । त्यसरी म बाल क्लबको अध्यक्ष बनेँ ।
बाल क्लबमा रहेर बाल क्लबमा सदस्य रहेका साथीहरूको हितमा काम गर्नुपर्ने हुन्छ । त्यो भनेको के हो भने हामीमा विद्यालयबाहिर र विद्यालयभित्र हुने हिंसा, गाउँघरमा भएको हिंसा र गुणस्तरीय शिक्षाका लागि पहलहरू चाल्नुपर्ने जिम्मेवारी हुन्छ । हामीले समाजमा हुने महिला हिंसा न्यूनीकरणका लागि पनि पहलहरू चाल्नुपर्ने हुन्छ ।
हामीले क्लबमा रहेर त्यस्तो जिम्मेवारी सम्हाल्नका लागि स्थानीय निकायबाट सल्लाह सुझाव लिने गर्छौं । राम्रा काम पनि कतिपय अवस्थामा गर्न सजिलो हुँदैन । हिंसा र कुप्रथाका विरुद्धमा काम गर्न खोज्दा बाधा अवरोधहरू पनि हुन्छन् । यस्तो कुरा थाहा हुँदै आएको छ ।
बालविवाह गर्न गराउन पाइँदैन भनेर हामीले थाहा पाएसम्म त्यसलाई रोक्न खोज्छौँ तर सबैलाई रोक्न सकिएको छैन । बालविवाहको अहिले स्वरूप फरक भएको पाइन्छ । पहिले परिवारको कारण मागेर जबरजस्तीमा बालविवाह हुन्थ्यो भने अहिले कतिपयले आफ्नै रहरमा बिहे गर्नुहुन्छ । हजारौँ वर्षदेखि चलिरहेको कुप्रथालाई हाम्रो सानो सानो प्रयासले मात्र रोक्न नसकिने रहेछ ।
बाल क्लबले बालविवाह जस्ता कुप्रथाका विरुद्ध सकेको प्रयास गर्छ तर त्यतिले मात्र परिवर्तनहरू असम्भव हुँदोरहेछ भन्ने कुराको अनुभव कामको क्रममा भइरहेको छ । जनप्रतिनिधिको काम समाजमा सबै नागरिकलाई कुप्रथाका विरुद्ध सजग, सचेत बनाउने पनि हो तर हाम्रो वडा अध्यक्षको छोरीले नै १७ वर्षको उमेरमा बालविवाह गर्नुभयो ।
वडा अध्यक्षको मात्र कुरा नगरौँ, हाम्रा स्थानीय तहका नेताहरू बालविवाह भएकै ठाउँमा बिहे भोज खान जानुहुन्छ । यसरी हाम्रो समाजमा बालविवाहलाई बढावा दिने गतिविधिहरू भइरहेका हुन्छन् । बालविवाहलाई रोक्नुपर्ने जिम्मेवार व्यक्ति नै त्यसरी भोजमा सहभागी हुँदा बालविवाहलाई प्रोत्साहन गरे जस्तो लाग्छ । जिम्मेवार निकायमा बसेका व्यक्तिबाटै लापर्बाही हुने गरेको छ ।
बालविवाह रोकिन नसक्नाको विशेष कारणमा विवाह गर्ने बालबालिकाहरूसँग पर्याप्त चेतना नहुनु, उनीहरूको घरको आर्थिक अवस्था पनि कमजोर हुनु हो कि जस्तो लाग्छ । साथै, पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि एउटा कारणको रूपमा देखिएको छ । सामाजिक सञ्जालको माध्यमबाट भेटघाट हुन्छ, कुराकानी हुन्छ अनि भेट्न गयो, माया बस्छ ।
माया बसेपछि अघिपछि नहेरी, कसैका कुरा पनि नसुनी बिहे गर्यो । पछिल्लो समय त्यस्ता धेरै घटनाहरू भएका देखिइरहेको छ । मलाई अन्य ठाउँको अवस्था के छ त्यति धेरै थाहा छैन तर हाम्रो चिङ्गाड गाउँपालिकामा बालविवाह धेरै भएका छन् । बाल क्लबहरू सबै विद्यालयहरूमा, गाउँपालिकामा, वडामा भए पनि ती नामका मात्र बाल क्लब भए जस्तो लाग्छ । तिनले बालविवाह जस्ता कुप्रथालाई रोक्न सकेका छैनन् ।

अहिले धेरैजसो बाल क्लबहरूको काम भनेको सैद्धान्तिक कुराहरू धेरै गर्ने तर व्यवहारमा लागु नगर्ने हो । यस्तै गरेको देखिन्छ । यसले गर्दा बाल क्लबको प्रभावकारिता कम देखिएको जस्तो मलाई लाग्छ । अहिलेको यस्तो अवस्थामा हामीले पनि धेरै काम गर्नुपर्ने छ जस्तो पनि मलाई लाग्छ ।
विद्यालयमा हामीले विभिन्न कार्यक्रमहरू गर्यौँ । बालविवाह गरिसकेपछिका बेफाइदा, भविष्यमा बालविवाहको असर कसरी पर्छ भन्ने खालको सन्देशमूलक नाटक तथा सडक नाटक देखाउने, कविता, गजलहरू सुनाउने र गीतहरू गाउने गथ्र्यौं । बालविवाह न्यूनीकरणका लागि हामीले घरदैलो अभियान पनि गर्यौँ । घरदैलो अभियान गरिरहनुपर्छ जस्तो पनि लाग्छ तर यो काम एक्लैले गर्न सम्भव छैन । सबैको साथ, सहयोग र समर्थन हुनुपर्छ । गाउँपालिकाको पनि साथ आवश्यक हुन्छ । हामी त स्वयंसेवक जस्तै भयौँ ।
म आर्थिक दृष्टिले गरिब परिवारमा जन्मिए पनि सचेत तरिकाले हुर्किएँ । मेरो घरमा बिजुली बत्तीको सुविधा छैन । रात परेपछि मैले टर्च लाइट बालेर पढ्नुपर्छ । पढाइसँगै मैले समय मिलाएर घरको काम पनि गर्नुपर्छ । त्यस्तो अवस्थामा पनि समय मिलाएर पढाइसँगै मैले कविता र गीतहरू लेख्ने गर्छु । मेरो गीत, कविता पनि बालविवाहका विरुद्धमा हुन्छ ।
साहित्य सिर्जनामा मेरो रुचि छ । मैले आफ्नै गाउँठाउँमा महिला तथा किशोरीमाथि हुने गरेका भेदभाव, हिंसा र दुर्व्यवहार देखेको छु । त्यस्तो भोगेका महिला र किशोरीको अवस्थाका बारेमा पनि गीत, कविता लेख्ने गर्छु । जातीय विभेदका बारेमा पनि कविता लेख्ने गरेको छु ।
म कक्षा ८ मा पढ्दै थिएँ । यो २०७७ सालतिरको कुरा हो । कोरोना महामारी चलिरहेको बेला थियो । देशभर नै लकडाउन भइरहेका बेलामा मैले कथा लेखेको थिएँ । आर्थिक अभावको कारणले विदेसिएका युवा, जसको विदेशमा नै मृत्यु भएको बारेमा काल्पनिक कथा लेखेको थिएँ ।
आफ्नो सपना एउटा हुन्छ तर समाजमा मानिसहरूलाई छोरीमानिसले १० कक्षा मात्र पढ्यो भने पनि अब पढ्ने होइन, उमेर भयो अब बिहे गर्नुपर्छ भन्ने कुरा गर्छन् । गाउँघरमा १०–११ कक्षा पढिसकिस्, छोरीमान्छेले धेरै पढेर के हुन्छ र भन्ने गरिन्छ । यस्तो भन्ने चलन हाम्रोतिर अहिले पनि छ ।
गाउँघरमा छोरीमानिस माइतमा धेरै बसेको राम्रो होइन भनेको पनि सुनियो । छोरी माइतमा धेरै बस्नु हुँदैन भन्ने मान्यता हाम्रो ठाउँमा अहिले पनि छ । १५ वर्ष पुगेपछि छोरीले बिहे गर्नुपर्छ भन्ने गलत धारणा अझै हटेको छैन हाम्रोतिर । यस्तो मैले पनि सुन्नुपर्छ तर म आफैँ बाल क्लबको अध्यक्ष ! आफैँ बालविवाहविरुद्धको अभियानमा लागेको मान्छे !
जसले जे भने पनि मैले चाहिँ बालविवाहविरुद्धको अभियानमा निरन्तर लाग्नुपर्छ भन्ने मलाई लाग्छ । बिहेका बारेमा भन्नेहरूले जे पनि भनिरहन्छन् तर आफूले समयको महत्त्वलाई बुझ्नुपर्छ जस्तो पनि लाग्छ ।
बिहेको बारेमा त हामीले कति सुन्नुपर्छ, पर्छ । गाउँकै एक जना महिलाले ‘तेरो उमेरमा मैले दुई वटा बच्चा जन्माइसकेको थिएँ, अब बिहे गर्ने उमेर भइसक्यो’ भन्नुभयो । अझै पनि त्यसो भन्ने गर्नुहुन्छ । कसैले छोरीचेलीहरू धेरै माइतमा बसेको राम्रो हुँदैन पनि भन्ने गर्नुहुन्छ । यस्तो सुन्दा सुन्दा कुनै बेला त हो कि जस्तो पनि महसुस हुने हुन्छ ।
कहिलेकाहीँ मलाई पनि त्यस्तो हुन्छ, किनकि त्यस्ता कुराहरू गाउँभरमा धेरै सुनियो । म यस्तै समाजमा हुर्किएँ । यही सामाजिक मान्यता र अवस्थाको छाप नै मेरो बालमस्तिष्कमा पर्यो । त्यस्ता कुराकानीले पनि बालविवाह गर्न प्रोत्साहन गरेको हो कि जस्तो पनि लाग्छ ।
हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई हेर्ने दृष्टिकोण भिन्नै छ, भेदभावपूर्ण छ । कोही पनि महिला एक्लै घरबाहिर र बजारमा जाने हो भने अहिले पनि गलत सोच्छन् । ‘छोरीमान्छे बाहिर, बजारमा एक्लै जानु हुँदैन, घरबाहिर बस्नु हुँदैन’ भन्ने गरिन्छ । छोरीमान्छेले आफ्नो गाउँठाउँ छोडेको राम्रो होइन भन्ने मान्यता छ । यस्तो मान्यता रहेको ठाउँका छोरीमान्छेले विदेश जाने कुरा त निकै ठुलो हो ।
प्रहरीमा जागिर खाने महिलालाई पनि त्यति राम्रो नजरले हाम्रो समाजले हेर्दैन । ‘महिलाहरू शिक्षक हुनु राम्रो’ भन्ने सोचाइ छ । शिक्षकले मात्र राम्रो काम गर्छन् भन्ने बुझाइ छ । यसको मूल कारण भनेको गाउँकै स्कुलमा पढाउने, घरमै बस्ने अवस्था हुन्छ भन्ने हो । रोजगारीका लागि घरबाट टाढा गएर बस्नु पर्दैन । महिलाले घरबाहिर निस्कन पाउँदैनन् भन्ने सोचले गर्दा पनि शिक्षक पेसालाई सकारात्मक दृष्टिकोणमा लिइएको होला जस्तो लाग्छ ।
मैले तीन वर्षसम्म बाल क्लबको अध्यक्ष भएर काम गरिरहँदा विभिन्न खालका चुनौतीलाई मससुस गरेँ । समाज सुधारका काम गर्नका लागि विद्यालयमा पर्याप्त स्रोतसाधन हुँदैन । कहिलेकाहीँ कार्यक्रम गर्न सुरु गर्यो तर रातो टीका लगाइदिनलाई अबिर किन्नेसमेत पैसा हुँदैन । विद्यालयबाट पनि बाल क्लबको अध्यक्ष भएपछि अध्यक्षले नै त्यसको व्यवस्थापन गर्नुपर्छ भन्ने जस्ता कुरा सुनिन्छ ।
रोजगारीविनाको विद्यार्थी जीवनमा क्लबका तर्फबाट काम गर्ने क्रममा त्यस्ता कुरा सुन्नुपर्दा ‘किन म यो काममा लागेँ होला’ भन्ने पनि लाग्छ । यी यस्ता खालका स–साना चुनौती धेरै आउँछन् । यसबाहेक मैले अरू विभिन्न किसिमका चुनौतीहरू आएका अनुभव गरेको छु । यस्ता चुनौतीका बिचमा पनि मैले जीवनमा केही न केही त गर्नैपर्छ भन्ने अठोट लिएर अघि बढिरहेकी छु ।
समाजमा रहेका विभिन्न कुप्रथाका बिचमा पनि मेरो आफ्नै एउटा सपना छ । म भविष्यमा यो देशको एउटा निजामती कर्मचारी बन्न चाहन्छु । देशको अहिलेको अवस्था देख्दा मलाई त्यस्तै लाग्छ । यहाँ जागिर पाउनका लागि पनि योग्यता र क्षमताले हुँदैन, आफ्नो मान्छे हुनुपर्छ । पैसा र पावरको कुरा आउँछ । कहिलेकाहीँ आफ्नो क्षमताले मात्र पनि जागिर खान सकिँदैन जस्तो अहिलेको अवस्थाले देखाउँछ । त्यसैले लोकसेवाको तयारी गरी त्यसमा नाम निकाल्ने सोच बनाएको छु ।
सरकारी जागिर खायो भने त समानता होला भन्ने मेरो सोचाइ हो । त्यस्तो हुँदा जागिर खानका लागि कसैको आस गर्नु पर्दैन, जागिर पाइँदैन कि भन्न पनि परेन जस्तो लाग्छ । त्यसैले मैले अहिलेदेखि राम्रोसँग पढिरहेको छु ।
अहिले देशका आधाभन्दा धेरै युवा उमेरका व्यक्तिहरू बिदेसिएका छन् । सबै नेपालीले स्वदेशमै रोजगार बनेको हेर्ने पाए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्छ । कसैलाई पनि बाध्यताले विदेशमा गएर दुःख गरी परिवार पाल्ने र हातमुख जोर्ने नियति भोग्न नपरोस् ! यसैले पनि म अहिले सरकारी जागिरमा मानिसहरू रमाऊन् भन्ने खालको परिकल्पना गर्छु ।
साथै, मैले सहरको कङ्क्रिट बस्तीभन्दा पनि गाउँको हरियालीमा शान्त बस्तीको कल्पना गर्छु । अहिले बिस्तारै सबै गाउँबाट सहर र सहरबाट पनि विदेशमा मानिसहरू स्थानान्तरण भइरहेका छन् । यो राम्रो अवस्था होइन । मलाई मानिसहरूको आफ्नै गाउँठाउँमा शान्त बस्ती होस् भन्ने लाग्छ, जहाँ हामीले नै अर्गानिक खानेकुराहरू, स्वस्थ खानेकुराहरू फलाउन सकौँ, यस्तो समाज भइदिए हुन्थ्यो जस्तो लाग्छ । मेरो कल्पनाको समाज कहिले बन्ला भन्ने प्रश्न आफूले आफैँलाई गर्ने गर्छु ।
हाम्रो ठाउँमा अहिले पनि अप्रत्यक्षरूपमा छुवाछुत, भेदभाव कायमै छ । दलितका घरमा भएका बिहे, पूजाआजा आदिमा दलितहरूले छोएको, बनाएको खाना खाँदा सुप्दैन भन्ने सोच भएका मानिस पनि समाजमा हुनुहुन्छ । मुखले सिधै अगाडि दलितले छोएको खान्न भन्न नसके पनि व्यवहारमा त्यो कुरा छर्लङ्ग देखिन्छ । मलाई खाना अलग्गै चाहिन्छ, मैले यहाँ पकाएको खाना खाएँ भने कुलदेवता रिसाउँछन् भनेर नखाने गरेको देखिन्छ ।
खानेहरूका लागि पनि दलितहरूका लागि एक ठाउँमा खाना पाक्छ भने अन्य जातका मानिसलाई छुट्टै स्थानमा खाना पाक्छ । एक पटक दलितको घरमा बिहे थियो । उहाँहरू मेरो आफन्त हुनुहुन्थ्यो । एक जना माथिल्लै जातको महिलाले अलग्गै खाना बनाउनुहुँदै थियो । मैले मेरो फुपूलाई ‘किन उहाँले छुट्टै पकाउँदै हुनुहुन्छ’ भनेर सोधेँ । फुपूले पहिलेदेखि चलिआएको चलन हो भनेर भन्नुभयो ।
मैले त्यो छुट्टै खाना बनाइरहनुभएकी हजुरआमालाई पनि सोध्ने आँट गरेँ– साँचिक्कै हामीले छोएको खाना खायो भने देवता रिसाउनुहुन्छ ? मेरो प्रश्न सुनेपछि उहाँले भन्नुभयो, ‘हो नि हाम्रो त देउता रिसाउँछन् । यति उमेर गैसक्यँ, नभएको कुरा किन भन्थे र ?’ यसो भन्दै उहाँ मसँग रिसाउनुभयो ।
हामी पनि अन्य ठुला जात भनेर भनिएकाहरूको बिहेमा जाँदा सबैलाई त भन्न मिल्दैन तर कहीँ कहीँ छुवाछुतको व्यवहार हुन्छ । त्यसरी नै हाम्रो ठाउँमा अहिले पनि छुवाछुत कायम छ । प्रशस्त जग्गाजमिन भएकाहरूले कामको लागि मान्छे लगाउने गर्नुहुन्छ । दलित समुदायका मानिस काम गर्न जानुभयो भने खाना खाने समयमा दही, दुध नदिने चलन छ ।
दलितलाई दही, दुध नदिने कारण बुझ्दा उहाँहरूमा के धारणा रहेछ भने, दलितले दही, दुध खायो भने भैँसी बिग्रिन्छ । यस्ता प्रकारका विभेद भोगिरहँदा मलाई ‘दलितले दही खाएपछि बिग्रने कस्तो भैँसी होला’ भन्ने लाग्छ । हामीले पनि भैँसी, गाई पाल्छौँ र दुध, दही खान्छौँ । तर पनि काम गर्न गएका बेला समान व्यवहार होस् भन्ने लाग्छ । उहाँहरूले खाँदा हामीलाई पनि खानासँग दही दिए हुन्थ्यो जस्तो लाग्ने रहेछ ।
चार, पाँच महिना अगाडि मात्रै पनि मकै छर्ने बेलामा बारीमा मल फाल्न गएका बेलामा त्यस्तो घटना भएको थियो । समाजका मानिसमा त्यस्तो विभेदकारी धारणाले गर्दा दलित भएकै कारण हामीलाई दही नबेच्नेहरू पनि केही व्यक्ति हुनुहुन्छ । शिक्षा दिने स्थानमा समेत मैले त्यस्तो व्यवहार भएको महसुस गरेको छु ।
विद्यालयमा पनि सरस्वती पूजामा मैले प्रसाद बाँड्न पाइनँ । अरूको सोच के थियो थाहा छैन तर मलाई आफू दलित भएका कारणले मलाई प्रसाद बाँड्न दिइएन कि भन्ने लाग्छ । मैले त्यस्तो महसुस गरेँ । अहिले पनि विभिन्न किसिमले यस्ता प्रकारका छुवाछुत र विभेदका घटना विभिन्न ठाउँमा भइरहन्छन् । त्यस्तो हामीले भोगिरहेका छौँ ।
हाम्रो ठाउँमा छाउगोठ नै बस्नु नपरे पनि महिनावारी हुँदा बार्ने चलन छ । यस्तो चलन अहिले पनि कायमै छ । पूर्णरूपमा नभए पनि अहिले पनि देउताकोठा र भान्साकोठामा जान मिल्दैन भन्ने छ । हामी घरका अन्य कोठामा चाहिँ जान्छौँ । यी दुई कोठामा पनि त्यस्तो नियम नभइदिए हुन्थ्यो जस्तो त लाग्छ तर पनि कता कता घरमा भनेको कुरा सही हो कि जस्तो पनि लाग्छ ।
मेरो हुर्काइ र सिकाइ नै त्यसरी भएको हुनाले पनि होला, यस्ता कुराहरू समाजमा कसरी पढाइन्छ भन्ने कुरामा निर्भर हुने रहेछन् जस्तो लाग्छ । ‘देउता रिसाउँछन्’ भन्ने कुरा सुनियो । त्यसले मेरो मानसिकतामा डर पस्यो र त्यस्तै छाप बस्यो । बिस्तारै मैले पनि कुनै नराम्रो कुरा भयो भने देउता रिसाउनुभएको हो कि भन्ने सोच राख्न थालेँ । त्यसरी नै सोच्न थालेँ । सामाजिक मानसिकताले मलाई पनि छोप्यो ।

हाम्रो विद्यालयमा छात्राहरूका लागि पहिले शौचालय व्यवस्थित थिएन रे तर अहिले व्यवस्थित बनेको छ । त्यसले गर्दा र महिनावारी हुँदा स्यानेटेरी प्याडको व्यवस्था भएकाले गर्दा छात्राहरूलाई सजिलो भएको छ । कार्यालय सहयोगीको दाइको सहयोगमा हामीले विद्यालयमा महिनावारी भएको अवस्थामा सहजै स्यानेटेरी प्याड पाउँछौ । विद्यालयमा छात्राहरूका लागि भएको यो महत्त्वपूर्ण पक्ष हो ।
बाल क्लबको अध्यक्ष भएर काम गरिरहँदा मैले त्यस्ता दुई–चार कुरा बुझ्ने मौका पाएँ, जसले गर्दा मेरो धारणा परिवर्तन भयो, आत्मविश्वास पनि बढ्यो । मैले परिवेशअनुसार कसरी बोल्ने भन्ने जानेँ । यो कुरा मेरा लागि पछिसम्मलाई महत्त्वपूर्ण छ । समाजमा छोराले जति छोरीले गर्न सक्दैनन् भनिन्छ । पहिला मलाई ‘यस्तो साँच्चै होला त ? छोराले जति छोरीले काम गर्न सक्दैनन् होला ?’ भन्ने लाग्थ्यो ।
बुझ्दै जाँदा अहिले मेरो धारणा परिवर्तन भयो । अवसर पायो भने छोरीले पनि हरेक कुरा गर्न सक्छन्, छोराले चाहिँ त्यत्तिकै जे पनि सक्छन् भन्ने त अन्धविश्वास मात्र रहेछ । बिग्रिएर हिँड्ने छोरा मान्छे पनि हाम्रै गाउँटोलमा भेटिन्छन् नि भन्ने महसुस भयो । काम गर्दै जाँदा म अचेल मान्छेका अगाडि निर्धक्क बोल्न सक्ने भएँ । आत्मविश्वास बढ्यो ।
बाल क्लबको अध्यक्ष भएर काम गरिरहँदा नेतृत्व गर्दा आउने चुनौतीलाई पनि देखेँ र त्यसलाई कसरी पार लगाउँदै काम गर्न सकिन्छ भन्ने सैद्धान्तिक कुरा पनि जानेँ । सबैभन्दा ठुलो कुरा मैले आफ्नै समाजलाई राम्रोसँग बुझेँ ।
मलाई लाग्छ, अब म बाल क्लबमा नभए पनि समाजमा भएका विभेद, छुवाछुत, कुप्रथा जस्ता विषयमा आवाज उठाउँछु । आफूलाई लागेका कुरा म कवितामा लेख्छु । मैले भनिसकेको छु, मलाई कविता लेख्न मन पर्छ । ठाउँ पाए ती कविता सुनाउँछु पनि । अहिले आफूमा यस्ता खालका धेरै परिवर्तन आए जस्तो मलाई लाग्छ ।
प्रकाशन मिति : २०८२ असार १७ गते, मंगलवार





