सरिता बोहरा कर्णाली प्रदेशको हुम्ला, सिमकोटस्थित हुम्ला जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ । झन्डै डेढ दशकदेखि सो अस्पतालमा कार्यरत सरिता नर्सिङ इन्चार्ज (सिनियर अनमी) का साथै लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) को सम्पर्क व्यक्ति (फोकल पर्सन) हुनुहुन्छ । सिमकोट गाउँपालिका वडा नम्बर २ मा स्थायी बसोबास भएकी उहाँ २०५९ सालदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
सरिताका अनुसार, अहिले गाउँमा सबैले आफ्ना छोरीहरूलाई पढ्न पठाउँछन् । “हाम्रो गाउँमा नपढेका केटी नै छैनन्,” उहाँले भन्नुभयो । उहाँको जन्म २०३३ सालमा भएको थियो । उहाँको अनुभवमा त्यति बेला छोरीलाई पढाउनै हुँदैन भन्ने मान्यता बलियो थियो । यसैले उहाँको परिवार र घर वरपरका अरू छोरीहरूले पढ्न पाएनन् । उहाँले भने एक्लै भए पनि स्कुल गएर पढ्न पाउनुभयो ।
सरिताले भन्नुभयो, “हामी छोरी नै छोरी जन्मिएपछि बुबाआमाले मलाई स्कुल पठाउनुभएको थियो ।” पाँच जनामध्ये उहाँ माइली छोरी हो । आमाबुबाले उहाँलाई पढाएपछि छोराले जस्तै काम गर्ने, घरव्यवहार हेर्ने र आफूहरूलाई पाल्ने आशा गर्नुभएको थियो । स्कुलमा उहाँको पढाइ राम्रो हुँदै गएको थियो ।
राम्रो पढेर पुरस्कार पाएपछि केही केटाहरूले सरितालाई सताउन थाले । स्कुल जानेआउने बेलामा बाटामा उनीहरूको हेपाइ र पिटाइ सहेरै पनि उहाँले स्कुल तहको शिक्षा पार गर्नुभयो । २०५१ सालमा एसएलसी उत्तीर्ण गरेपछि स्वास्थ्य क्षेत्रमा काम गर्न थाल्नुभयो ।
लोकसेवा परीक्षा पास गरी उहाँले मातृशिशु स्वास्थ्यको क्षेत्रमा जाजरकोट र हुम्लाका गाउँगाउँमा पुगेर सेवा दिनुभयो । काम गरेर राष्ट्रियलगायत विभिन्न तहका सम्मान तथा पुरस्कार प्राप्त गर्नुभयो । आफूले २०७८ सालमा राष्ट्रपतिका हातबाट ‘जनसेवाश्री पाँचौँ’ पाएको र त्यसको झन्डै एक दशकअघि स्वास्थ्य मन्त्रालयबाट ‘स्वास्थ्य सेवा पुरस्कार’ पाएको कुरा उहाँले सगर्व बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको आयोजनामा २०८१ कात्तिकमा काठमाडौँमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) को दुइदिने प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । त्यसमा सहभागी हुन हुम्लाबाट सरिता राजधानी आएको बेला ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले सरिता बोहरासँग सम्मेलनस्थलमै कुराकानी गर्नुभयो ।
कर्णाली प्रदेशका जाजरकोट र हुम्लामा दुई दशकभन्दा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा संलग्न सरितासँगको कुराकानीमा उहाँको व्यक्तिगत र कार्यगत जीवनभोगाइसँगै विशेष गरी हुम्लाका महिलाको प्रजनन तथा मातृशिशु स्वास्थ्य अवस्थाको सन्दर्भ जोडिएको छ । प्रस्तुत छ, सोही कुराकानीको अंश :
तपाईं स्कुल जाने उमेरमा कर्णालीका गाउँघरमा छोरीहरूलाई पढाउने चलन थियो ?
मेरो आमा राइकोसा बोहरा र बुबा ढोली बोहरा दुवै किसान । उहाँहरू अहिले त हुनुहुन्न, बितिसक्नुभयो । उहाँहरूबाट पाँच जना छोरी नै छोरी जन्मियौँ । म माइलो सन्तान । पाँच छोरी जन्मिँदा पनि छोरा नजन्मिएपछि आमाबुबाले मलाई स्कुल पठाउनुभएको रे ! हाम्रो भाइ नजन्मिएको हुनाले मैले पढ्न पाएको जस्तो भयो । नत्र त्यतिखेर हाम्रोतिर छोरी पढाउने चलन नै थिएन नि !
म स्कुल जान थालेपछि समाजले आमाबुबालाई धेरै नराम्रो गर्यो । उनीहरूले ‘लाज नभएकोे’, ‘कहीँ नभएको यो’, ‘यसले छोरी पढायो’ भन्थे । छोरीले पढेर को–कोसँग बिहे गर्छ, बेइज्जत गर्छ भनेर नजिकका आफन्तहरूको पनि बेस्सरी गाली खानुभयो बुबाआमाले ! अनेक लाञ्छनाहरू खेप्नुभयो तर मैले चाहिँ पढ्ने अवसर पाएँ ।
छोरी भए पनि मलाई पढ्न पठाउनुभयो । ‘पढाएपछि छोराले जस्तै काम गर्छ, घरव्यवहार हेर्छ । आमाबाउलाई पाल्छ भनेर पढाएको’ भन्नुहुन्थ्यो । त्यति बेला स्कुल जाने केटी म एक्लै थिएँ । म एक्लै हुन्थेँ । यसरी स्कुल जाँदाआउँदा मलाई धेरै अप्ठ्यारो भयो । गाउँका त्यस्तै खाले केटाहरूले मलाई पिट्थे कहिलेकाहीँ त !
मेरो पढाइ भने राम्रै थियो, कहिले पहिलो, कहिले दोस्रो हुन्थेँ । त्यसरी ‘फस्ट, सेकेन्ड’ हुनेलाई स्कुलमा कहिलेकाहीँ पुरस्कार दिन्थे । पुरस्कार पाएपछि स्कुलबाट घर जाँदा ‘तैँले पुरस्कार पाउने, हाम्ले नपाउने’ भनेर स्कुलमा सँगै पढ्ने केटाहरूले पिटेको मलाई !
भिरको बाटोमा कहिले माथिबाट ढुङ्गा खसाल्दिने, तर्साउने गर्थे । मैले कति कुटाइ खाएँ, आफ्नै स्कुलकै केटाहरूबाट ! मलाई त्यो बेला कुट्ने, लडाउने, तर्साउने केटाहरू अहिले पनि गाउँतिरै छन् । कतिले छ–सात पढ्दापढ्दै छोडे, माथिल्लो कक्षासम्म खासै पढेर जागिर खान सकेनन् । यो छ कक्षासम्मको कुरा ।

सँगै पढ्ने केटाहरूले मलाई पिटेको कुरा म घरमा भन्दिनथेँ । भन्यो भने स्कुल पठाउनु हुँदैन भनेर पनि नभन्ने । म त अहिले पनि त्यस्तै छु । सानैदेखि जे कुरा पनि सहने, केही पनि कम्प्लेन नगर्ने । अहिले लाग्छ, मेरो स्वभाव नै यस्तै रहेछ ।
बिचमा एकचोटि त स्कुल छोडेको पनि थिएँ । यस्तैमा एक दिन एक जना दिदीले राम्रो लुगा लाएर हिनेको आमा र मैले देख्यौँ । आमाले ‘तँ पनि पढेको भए त्यस्तै हुन्थिस्’ भन्नुभयो । त्यसपछि मलाई फेरि पढ्न मन लाग्यो । स्कुल जाँदाआउँदा जे भए पनि होस् भनेर आँट गरेँ र पढ्न गएँ ।
कक्षा ६ देखि त होस्टेल बसेर पढ्न थालेँ । मानसरोवर उच्च माध्यमिक विद्यालय थियो । घरबाट हिँडेर त्यहाँ पुग्न दुई–तीन घन्टा लाग्थ्यो । स्कुलमा एउटा गर्ल्स होस्टेल थियो, मैले त्यहीँ होस्टेलमा बसेर पढेको ।
एसएलसी दिइसकेपछि स्वास्थ्यसेवामै जाने सोच कसरी आयो ?
म स्कुल पढ्दै हो । हाम्रो मावली घरमा एक जना माइजू हुनुहुन्थ्यो । उहाँको ‘डेलिभरी’ हुँदा साल अड्कियो । बच्चा जन्मिएको तीन दिनसम्म साल निक्लिएन । गाउँलेले डोरी बाँध्ने, ढुङ्गा झुन्डाउने जस्ता घरेलु विधि गरे । त्यसो गर्दा साल टुक्राटुक्रा भएर निस्कियो तर हेभी ब्लिडिङ (अत्यधिक रक्तस्राव) भएर माइजू बित्नुभो ।
माइजू बितेको पाँच/छ महिनापछि हाम्रो जेठोबुबाको छोरी पनि सुत्केरी अवस्थामा ‘हेभी ब्लिङिङ’ भएरै बितेको । त्यो देखेर मलाई हाम्रो पनि घरपरिवार आफन्तमा कोही स्वास्थ्यकर्मी भएको भए उहाँहरूलाई बचाउन सकिन्थ्यो होला भन्ने मनमा लागिरह्यो । त्यसैले एसएलसी दिएपछि म अनमी पढ्न दिपायल गएँ ।
लक्ष्य नै त्यही थियो कि ?
लक्ष्य त पाइलट बन्छु भन्ने थियो तर दुई जना आफन्त प्रसव अवस्थामा बितेको घटना आफ्नै आँखाले देखेको भएर म स्वास्थ्यसेवातिर लागेँ ।
अनि ?
हामी पाँच दिदीबहिनीपछि हाम्रा दुई जना भाइ जन्मिए । जेठो भाइ चार वर्ष र कान्छो भाइ दुई वर्षको हुँदा बुबा बितिहाल्नुभो । बुबा बितेको नौ–दस वर्षमा आमा पनि बित्नुभो । त्यसपछि भाइहरूलाई पढाउने काम मैले नै गरेँ । मैले भाइहरूलाई आमाबाले जस्तै माया गरेँ । मैले उनीहरूलाई सक्ने जति गरेँ । एचए (स्वास्थ्य सहायक) पढ्यो एउटा भाइले, अहिले मसँगै काम गर्छ । एउटा भाइले आइए पास गर्यो । उसले चाहिँ जागिर गर्दैन । दिदी र बैनीहरूले चाहिँ पढेनन् ।
आजभन्दा २२ वर्ष पहिले स्वास्थ्य क्षेत्रमा काम सुरु गर्दाको अनुभव सम्झिदिनुस् न !
आफ्नो घर भएको जिल्ला हुम्लाबाहिरको जिल्लामा काम गर्न गएकी थिएँ । लोकसेवामा नाम निकालेर जागिरमा स्थायी भएर जाँदा सुरुमा मेरो नियुक्ति जाजरकोटमा भएको थियो । सुरुमा गाउँतिर त हाम्रो कामलाई सारै नराम्रो गरी भन्थे । हेपेर बोल्थे । ‘आइमाइहरूको तल हेर्ने, सालनाल निकाल्ने, रगत सोहोर्ने’ आदि भनेर एकदम नराम्रो रूपमा लिन्थे । यो २०५९ सालतिरको कुरा हो ।

जाजरकोटमा म छ महिना जति बसेँ । अरूकै घरमा डेरा गरेर बसेको । दिउँसो म अरूको डेलिभरी गराएर आएँ भने मैले ननुहाइन्जेलसम्म घरबेटीले मलाई कोठामा जान दिँदैनथे । काम सकेर कोठामा पस्नै पाउन्नथेँ । पहिला त्यस्तो दुःख पाएको थिएँ मैले ।
अहिलेको अनुभव कस्तो छ नि ?
अहिले पनि गाउँतिर त डेलिभरी गराएर गयो भने घर छिर्न दिँदैनन् । ‘नुहाएर आइज’ भन्छन्, भन्छन् । सदरमुकाममा रहेको क्वाटरमा बस्दाको अनुभव अलि फरक छ । म अहिले बस्ने सदरमुकाममा क्वाटरमा हो । त्यही भएर डेलिभरी गराए पनि हामीले आफ्नै कोठामा गएर आफ्नै ओछ्यान (बेड) मा सुत्न पाउँछौँ ।
गाउँ जाँदा पनि प्याड लगाउने हो अनि महिनावारी (मिन्स) भएको भनेर पनि कसैलाई भन्दैनौँ, अनि पो घरमा बास बस्न पाउँछौँ । थाहा पाए बास बस्न दिन्नन् । दही दुध खान दिँदैनन् । किचनमा लाँदैनन् । मलाई मिन्स भएको छ भनेपछि छुट्टै राखिहाल्छन् । यस्तो गाउँमा मात्रै होइन, सदरमुकाममै पनि हुन्छ ।
नर्सिङ क्षेत्रमा लागेर काम सुरु गर्दा तपाईंलाई कत्तिको चुनौती थियो र अहिले के परिवर्तन भयो जस्तो लाग्छ ?
पहिला त मेरो बच्चा पनि सानो थियो । सुरुमा म गइसकेपछि प्रसूति सेवाको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम भन्ने कार्यक्रम थियो । त्यसलाई हामी डेलिभरीको आमा सुरक्षा कार्यक्रम भन्छौँ । त्यसैमा काम गर्न म जाजरकोट गएको थिएँ । त्यतिखेर १५ सय रुपैयाँ तलबबाट काम सुरु भएको थियो मेरो ।
आमा सुरक्षा कार्यक्रम भनेपछि डेलिभरीका लागि महिलाहरू आउने, अनि हामीले एक मिनेट पनि ढिला गर्यो भने गाली गर्ने । ‘तँ हाम्रो तलब खाएर बाँचेकी’, ‘हाम्ले गर्दा त तेरो तलब पाक्या छ’, ‘तँ यस्ती’ भनेर गाली गरिन्थ्यो । हामीमाथि अनेक लाञ्छना पनि आउँथ्यो ।
पहिलो गाली जहाँ पनि हामी नर्सिङ स्टाफलाई हुन्छ । सबैभन्दा अगाडि स्टेसनमा नर्सिङ स्टाफ नै हुन्छन् । बिरामीका आफन्तले पहिला भेट्ने भनेको नर्सिङ स्टाफलाई नै हो । त्यसपछिको गाली मात्र अरूलाई जाने हो । च्यालेन्ज त धेरै थिए, अहिले पनि छन् तर म यो जागिरमा सन्तुष्ट नै छु ।
परिवर्तनको कुरा भन्ने हो भने आजकल त मान्छे पनि धेरै बुझ्ने भएका छन् । काम गर्न पनि पहिला जस्तो गाह्रो छैन ।
तपाईंले हुम्ला जिल्ला अस्पतालमा लामो समय रहेर सेवा दिइरहँदा स्थानीय महिलाको प्रजनन स्वास्थ्य तथा मातृशिशु स्वास्थ्य अवस्थामा के कस्तो परिवर्तन भएको पाउनुभएको छ ?

पहिला र अहिले त धेरै परिवर्तन भएको छ । पहिला मैले यो काम सुरु गर्दा एक वर्षमा आठ–नौ जना गर्भवती मात्र प्रसूति हुनका लागि अस्पताल आउँथे । त्यो पनि एकदमै गाह्रो भए मात्र आउने । अहिले त्यस्तो छैन, डेलिभरीका लागि सबै महिला अस्पताल आउन चाहन्छन् ।
धेरै आउने भनेको साउन भदौ महिनातिर हो । त्यो बेला ३०–३५ जनासम्म आउँछन् । कम आउँदा छ–सात जना हुन्छन् । महिलाहरूलाई सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुर्याउनु नै ठुलो चुनौतीको कुरा हुन्थ्यो त्यो बेला । त्यसरी गर्दै आएको तर अहिले त सबै जना अस्पताल गएर बच्चा जन्माउनुपर्छ भन्ने भएका छन् । समय समयमा गर्भ जाँच गराउँछन् ।
प्रसूतिका लागि अहिले पालिकाहरूले पनि एम्बुलेन्स पठाउँछन् । कोही आउँदाआउँदै बाटैमा बच्चा जन्मिए पनि त्यत्तिकै घर फर्किंदैनन् । ब्लिडिङ रोक्ने औषधीको लागि र बच्चा के कस्तो छ भनेर देखाउन पनि अस्पतालमै आउँछन् । त्यो हिसाबले अहिले एकदमै फरक भएको छ । अब हुम्लालाई ‘जिरो होम डेलिभरी’ जिल्ला बनाउने लक्ष्य छ ।
घरपरिवार सम्हाल्दै जागिर खानुभयो । परिवार र समाजले तपाईंको कामलाई कसरी हेरेको छ भन्ने लाग्छ ?
चौध वर्षको उमेरमा मेरो बिहे भयो । अहिले जस्तो हो भने बालविवाह पर्ने ‘केस’ हो (हाँस्दै) । बिहे हुँदा म दस कक्षामा जान लागेकी थिएँ । १५ वर्ष हुँदा त मेरो बच्चा जन्मिसकेको थियो । २०५१ सालमा एसएलसी दिँदा मेरो पहिलो बच्चा जन्मिसकेको थियो । त्यो भएर पढेर पनि जागिर खाइरहेको छु अहिलेसम्म ।
मेरा तीन छोरा छन् । सबै काठमाडौँ नै बसेर क्याम्पस पढे, पढ्दैछन् । मैले पढ्नलाई मेरो श्रीमान् मानबहादुर थापाको एकदमै सपोर्ट रह्यो । श्रीमान्ले मेरो पढाइ र काम जेको लागि पनि एकदमै साथ दिनुभयो, सपोर्ट गर्नुभयो ।
मैले लोकसेवा परीक्षा दिएर पास भई जागिर सुरु गरे पनि जागिरभन्दा बढी सेवा गर्नुपर्छ भनेर काम गर्दै आएको छु । मैले गाउँगाउँमा पुगेर पनि सुत्केरी गराएँ । त्यो भएर समाजले पनि यो सरिता भनेर मान्छ । सिडिओले पनि मेरो कुरा सुन्नुहुन्छ । अस्पतालमा कोही ‘ब्लिडिङ केस’ लिएर आउँछन्, कोही एबर्सन (गर्भपात) भएर आउँछन्, कोही आधा बच्चा पेटमा, आधा बाहिर निस्केको अवस्थामा आउँछन् । यस्तो अवस्थाको केस आउँदा मैले सरसफाइ गर्ने काम पनि गर्छु ।
प्रत्येक महिनाको २० गते लगाउने भ्याक्सिन मैले लगाइदिएँ भने बच्चा रुँदैनन् । बच्चाका आमाहरूले के भन्छन् भने अरूले लगाइदिए भने डल्लो आउँछ, दुःखेर बच्चा रुन्छ, सरिताले सुई लगाइदिए राति पनि रुँदैन ! मेरो हात शीतल छ भन्छन् । पहिला पत्रिकाहरूमा ‘हुम्लाकी एक्लो आमा’ भनेर पनि मेरो बारेमा लेखिएको थियो ।

सरकारी सेवामा रही स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भनेर मैले राष्ट्रपतिबाट पनि अवार्ड पाएको छु । २०७८ सालमा जनसेवाश्री पाँचौँ पाएको छु । स्वास्थ्य मन्त्रालयले २०६८/६९ सालको ‘स्वास्थ्य सेवा पुरस्कार’ मलाई दिएको थियो । जिल्लामा पनि थुप्रै सम्मानहरू पाएको छु ।
तपाईंले लोकसेवा पास गरेर स्वास्थ्य क्षेत्रमा जागिर खान थालेका बेला त यहाँका कार्यालयमा महिला थिएनन् होला, होइन ?
लोकसेवा पास गरेर निजामती सेवामा जागिर खाने म नै पहिलो महिला हुँ भन्ने छ हुम्लाबाट । मैले २०५९ सालमा पहिलोचोटि लोकसेवा दिएँ, तीन ठाउँमा । सबैमा म पास भएँ । शिक्षक सेवा आयोगमा निमावि शिक्षकमा, खरिदार अनि स्वास्थ्य क्षेत्र (अनमी) तिर मेरो नाम निस्किएको थियो ।

मलाई स्वास्थ्य क्षेत्रतिर मन परेको, मेरो श्रीमान्ले पनि यही क्षेत्रमा जागिर खानु भनेपछि मैले नर्सिङ क्षेत्र स्वास्थ्य सेवामा प्रवेश गरेँ । यो कामलाई जागिरभन्दा पनि बढी सेवा हो भन्छु म ।
तपाईंलाई देख्दा गाउँघर, जिल्लाका दिदीबहिनी, आफन्तहरूले के भन्छन् ?
मबाट केही प्रभावित भए होलान् भन्ने लाग्छ । अहिले त घरघरमा सबैले छोरी पढाएका छन् । पहिला त मेरा आमाबुबालाई ‘यसले नपढाउनुपर्ने छोरी पढायो, पढेपछि अब छोरी पोइला जान्छे, आफ्नो जात मिल्नेसँग यसले बिहे गर्दिन, हाम्रो नाक काट्छे, बङ्गुर खान्छे, सुँगुर खान्छे । यसले जे पनि खान्छे’ भन्थे ।
बुबाआमालाई पनि नराम्रो गरेको कुरा अघि पनि भनिहालेँ । मलाई त्यस्तो भन्ने मेरै गाउँले थिए । अहिले गाउँका घरघरैले छोरी पढाएका छन् । पढेपछि जागिर खाने र’छन् । आमाबाबुलाई हेर्ने रहेछन्, भाइबैनीलाई हेर्ने रहेछन्, छोरी पढाउनु राम्रो रहेछ’ भन्ने सोच आएर अहिले सबैले आफ्ना छोरीहरूलाई पढ्न पठाउँछन् । हाम्रो गाउँमा नपढेका केटी नै छैनन् ।





