Home Photo Feature काठमाडौँमा ‘विश्व सामाजिक मञ्च’ (फोटो फिचर)

काठमाडौँमा ‘विश्व सामाजिक मञ्च’ (फोटो फिचर)

353
0

‘अर्को विश्व सम्भव छ’ । यही नाराका साथ आज काठमाडौँमा विश्व सामाजिक मञ्च २०२४ (World Social Forum 2024) को अन्तर्राष्ट्रिय कार्यक्रम सुरु भएको छ । आज २०८० फागुन ३ देखि ७ गतेसम्म पाँच दिन चल्ने उक्त कार्यक्रममा ९२ देशका प्रतिनिधिको सहभागिता रहेको आयोजकको भनाइ छ ।

विश्व सामाजिक मञ्च नेपालले प्रेस विज्ञप्ति जारी गर्दै पाँचदिने कार्यक्रमभर विभिन्न विषयमा तीन सयभन्दा बढी सत्रको सञ्चालन हुने जनाएको छ । ती सत्रमा महिलावादी मञ्च, आर्थिक असमानता, कृषि श्रम, दासत्व, जाति तथा वंशमा आधारित भेदभाव र छुवाछुत, सञ्चार, जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट, पितृसत्ता, शिक्षा, कला र संस्कृति, डिजिटल समानता, लोकतन्त्र, मानव अधिकार र अधिनायकवाद, सामाजिक सुरक्षा र समानता आदि विषयमा प्रस्तुति र छलफल हुनेछ । सत्रहरूको सञ्चालन भृकुटीमण्डप, वाल्मीकि क्याम्पस, राष्ट्रिय सभागृह आदि स्थानमा हुने व्यवस्था मिलाइएको छ ।

विश्व सामाजिक मञ्चको सुरुआत सन् २००१ मा ब्राजिलबाट भएको थियो । नेपालमा पहिलो पटक अहिले भइरहेको कार्यक्रम सो मञ्चको सोह्रौँ संस्करण भएको आयोजक पक्षले जनाएको छ ।

नेपालमा कार्यक्रम सहआयोजनाका लागि करिब चार सय सङ्घसंस्था अग्रसर रहेका बुझिएको छ । कार्यक्रमको पहिलो दिन आज ‘सोलिडारिटी मार्च’ (ऐक्यबद्धता र्‍याली) गरियो । र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्कको पश्चिम, उत्तर र दक्षिण हुँदै भृकुटीमण्डपमै पुगेर सभामा परिणत भयो ।

कार्यक्रममा भौतिक रूपमा उपस्थित भएर सहभागिता जनाउन सकिने र भर्चुअल माध्यम (https://www.facebook.com/wsf2024nepal) बाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था रहेको पनि जनाइएको छ ।

सन्धान, प्रकाशन मिति : २०८० फागुन ३ गते, बिहीबार


Previous articleओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू
Next articleधन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ