मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा जन्मेकी मीना किसान परिवारकी छोरी हुनुहुन्थ्यो । बाबुआमा अशिक्षित भए पनि शिक्षाप्रति सकारात्मक सोच राख्नुहुन्थ्यो । छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भावना थियो । तर पनि पहाडबासी किसान परिवार भएकाले छोरीका लागि केही सीमाहरू थिए । पढ्नकै लागि भनेर छोरीलाई घर छोडेर टाढा पठाउने आँट भने उहाँहरूले गर्नसक्नु भएन । मीनाले गाउँमै भएको कुशेश्वर प्राथमिक विद्यालयबाट प्राथमिक तहको पढाइसम्म पूरा गर्न पाउनुभयो । त्यसपछि नजिकका गाउँमा पनि हाइस्कुल नभएकाले मीनाको पढाइ रोकियो । छोरीलाई हाइस्कुल त नपढाए पनि फरक पर्दैन भन्ने सोच मीनाको परिवारमा पनि थियो । यसैले उहाँको हाइस्कुल पढ्ने रहर केही समय अधुरै रह्यो ।
कक्षा ५ सम्मको पढाइ सकेर केही समय घरमा त्यसै बिताउनुपर्दा मीनाको मनमा ‘पढेर समाजका लागि केही गर्नुपर्छ’ भन्ने सोचाइ आइरह्यो । हाइस्कुल पढ्ने र उच्च शिक्षा लिने रहरले उहाँलाई छोडेन । झन् झन् पढ्न पाए हुन्थ्यो भन्ने लाग्दै गयो । तर के गर्ने ? तत्काल उहाँसँग त्यस्तो केही उपाय पनि थिएन । यसैले २०२५ सालमा उहाँ घरपरिवार छोडी भागेर काठमाडौँ आउनुभयो ।
मीनाको सक्रिय राजनीति २०३३ सालमा सुरु भयो । उहाँ २०३६ सालमा जेल पनि पर्नुभयो । मीनासँगै उहाँका दाइ शिव र भाइ रामचन्द्र पनि जेल पर्नुभएको सम्झना उहाँले गर्नुहुन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनको क्रममा एक वर्ष जति मीनालाई केन्द्रीय कारागारमा राखिएको थियो ।
रामेछापबाट काठमाडौँ आएपछि मीनाले आफन्तसँग बसेर एकै पटक कक्षा ९ मा भर्ना भई अध्ययनलाई अघि बढाउन थाल्नुभयो । त्यतिबेला उहाँकी सानीमा (आमाको बहिनी) कक्षा ९ मा पढ्दै हुुनुहुन्थ्यो । सानीमासँगै उहाँकै किताब पढेर पढाइ अघि बढाउन सकिने देखेर आफू पनि ९ कक्षामै भर्ना भएको मीनाको भनाइ थियो । यसरी कक्षा ५ बाट फड्किएर कक्षा ९ मा पढ्न थाल्नुभएकी मीनाले दोस्रो पटक परीक्षा दिएर एसएलसी उत्तीर्ण गर्नुभयो । एसएलसी पास गरेपछि उहाँले हालको पद्मकन्या बहुमुखी क्याम्पसमा स्नातक तहसम्मको अध्ययन गर्नुभयो ।
राजनीतिमा प्रवेश
राजनीतिमा लागेको विगतको क्षण सम्झँदै मीना भन्नुहुन्थ्यो, “नसोचेको क्षेत्रमा आएँ कि जस्तो लाग्थ्यो ।” उहाँका अनुसार, काठमाडौँ आएर पढ्दै गएपछि उहाँमा राजनीतिक सोच जन्मिएको हो । त्यसो त उहाँका दाइ शिवबहादुर खड्का पहिलेदेखि नै निरकुंश शासनविरोधी हुनुहुन्थ्यो । यसले गर्दा मीनाको परिवारमा पुरुषप्रधान राजनीतिक वातावरण चाहिँ थियो । २०७१ सालमा मीनाले भन्नुभएको थियो, “दाइ शिवबहादुर खड्का त त्यस बेलाको शासन सत्ताको खुलेरै विरोध गर्नुहुन्थ्यो भने भाउजू दुर्गा पनि राजनीति बुझेकै मान्छे भएकाले मैले पनि नजानिँदो ढङ्गले राजनीतिमा प्रवेश गरेर निरन्तरता समेत दिएको हो ।”
राजनीतिमा लाग्न परिवारले सहयोग गरे नगरेको बारेमा राखिएको जिज्ञासामा मीनाको जवाफ थियो, “अहिले त कसैले आफ्ना छोराछोरी र आफन्तलाई राजनीतिमा लगाउँदैन, प्रतिबन्धित कालमा राजनीतिक विचार राखेकै कारण दाइ जेलमा भएको बेला मैले सहयोग पाउने भन्ने कुरा त सोच्नै सकिँदैनथ्यो, त्यो पनि छोरी मान्छेले !” जे होस्, परिवारमा सानैदेखि राजनीतिक वातावरण पाएकाले काठमाडौँ आएर पढाइलाई अघि बढाउन पाएको बेलादेखि नै उहाँको राजनीतिक जीवन सुरु भएको मान्न सकिन्छ । राजनीतिक दल नै प्रतिबन्धित भएको त्यो बेला कुनै विद्यार्थी सङ्गठनमा संलग्न हुने अवस्था नै नभए पनि आफू ‘डेमोक्रेटिक लाइन’ का राजनीतिज्ञहरूसँग नजिक भएको अनुभव मीनाले गर्नुभयो । “राजनीति नै गर्नुपर्छ भनेर त होइन, नागरिक स्वतन्त्रता, दलमा लागेको प्रतिबन्धको अनुभव र विपी कोइराला तथा गणेशमान सिंह जस्ता व्यक्तित्वसँग नजिक हुँदै मैले राजनीतिलाई निरन्तरता दिएको हो,” उहाँले भन्नुभएको थियो ।
मीना २०५४ साल मङ्सिर २३ गतेदेखि २०५५ पुस ७ गतेसम्म महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुनुभयो । त्यसअघि क्रमशः लीला कोइराला र सहाना प्रधानले मन्त्रीका रूपमा महिला मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको थियो ।
मीनाको सक्रिय राजनीति २०३३ सालमा सुरु भयो । उहाँ २०३६ सालमा जेल पनि पर्नुभयो । मीनासँगै उहाँका दाइ शिव र भाइ रामचन्द्र पनि जेल पर्नुभएको सम्झना उहाँले गर्नुहुन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनको क्रममा एक वर्ष जति मीनालाई केन्द्रीय कारागारमा राखिएको थियो । यस्तै, २०५९ सालको राजनीतिक घटनादेखि जनआन्दोलनसम्म आइपुग्दा उहाँले पटक पटक प्रहरी हिरासतमा बस्नुपर्यो । त्यस कालखण्डमा लामो समयसम्म प्रहरी हिरासतमा बस्नेहरूमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।
मीनाका अनुसार, आफूले लामो समयदेखि राजनीतिक जीवनलाई निरन्तर सक्रिय बनाउँदै लगे पनि नेपाली कांग्रेसमा औपचारिक रूपमा पार्टी सदस्यता लिएको भने २०४६ सालको जनआन्दोलनको सफलतापछि पुनर्बहाल भएको प्रजातन्त्र कालमा मात्रै हो । उहाँ २०४८ सालमै नेपाली कांग्रेस पार्टीको महासमिति सदस्य हुनुभएको थियो । त्यसलाई निरन्तरता दिँदै कांग्रेसको एघारौँ महाधिवेशनबाट निर्वाचित हुनुभएपछि उहाँ नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य पनि हुनुभयो ।
महिला सवालमा योगदान
मीनाको पहिचान काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसकी पहिलो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिको रूपमा समेत छ । २०३६ सालको विद्यार्थी आन्दोलन सफल भएपछि भएको स्ववियु चुनावबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकालमा ज्योति प्याकुरेल उपसभापति, इन्दिरा श्रेष्ठ सचिव, प्रतिभा मुडभरी (पाठक) सहसचिव तथा कुसुम शाक्य कोषाध्यक्ष हुनुहुन्थ्यो । सहकर्मीहरूमध्ये केहीले राजनीति नै छोडिसकेको अवस्थामा पनि मीनाले निरन्तरता दिनुभयो । “राजनीति नै निर्णायक शक्ति भएकाले मैले निरन्तरता दिइरहेकी हुँ,” उहाँ भन्नुहुन्थ्यो ।
नेपाल महिला संघकी अध्यक्ष पनि भइसकेकी मीना प्रतिबन्धित अवस्थादेखि नै सो संघमा आबद्ध हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनको सफलतापछि पार्टीहरूमाथि लगाइएको प्रतिबन्ध खुला भयो । त्यसपछि उहाँ नेपाली कांग्रेस पार्टीको अलावा त्यसको महिला संघमा पनि सक्रिय हुनुभयो । पञ्चायतकालमा प्रतिबन्धित अवस्थामा रहेको महिला संघलाई २०४६ सालपछि मंगलादेवी सिंहको अध्यक्षतामा पुनर्गठन गरिएपछि मीना पनि सक्रिय हुनुभएको थियो ।
मीना २०५४ साल मङ्सिर २३ गतेदेखि २०५५ पुस ७ गतेसम्म महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुनुभयो । त्यसअघि क्रमशः लीला कोइराला र सहाना प्रधानले मन्त्रीका रूपमा महिला मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको थियो ।
मीनाले करिब एक वर्ष मन्त्री हुँदा ‘आफूले भने जति गर्न नसके पनि नीतिगत केही काम गरेको’ बताउँदै भन्नुभएको थियो, “बेइजिङ सम्मेलनको १२ वटा सरोकारका विषयलाई कार्यान्वयन तहमा लैजानका लागि कार्ययोजना सहित किताब निकालेँ, राष्ट्रिय महिला आयोग गठनका लागि पहल गरेँ, बेचिएर फर्किएका महिलाहरूलाई बस्ने व्यवस्था नभएकाले एक गैरसरकारी संस्था (माइती नेपाल) लाई आर्थिक सहयोग दिएर बेचिएका चेलीहरू राख्ने व्यवस्थाको सुुरुआत गरेँ ।”
महिलालाई राजनीतिमा आउन प्रेरित गर्ने उद्देश्य राखेर मीनाले महिला जागृति कार्यक्रमका लागि अवधारणा पत्र पनि तयार गर्नुभएको थियो । उहाँ ‘आफ्नै कार्यकालमा त्यो कार्यक्रम सुरु गर्न नसकिए पनि अवधारणा पत्र तयार गरेर कार्यक्रम सुरु गर्न मात्र बाँकी रहेको’ बताउनुहुन्थ्यो । सो कार्यक्रम ‘चुलोचौकाकै काममा सीमित महिलालाई सदनसम्म ल्याउनुपर्छ भन्ने दीर्घकालीन लक्ष्य राखेर ७५ वटै जिल्लामा सञ्चालन गर्ने योजना रहेको’ पनि उहाँले बताउनुभएको थियो ।
मीनाका अनुसार, उक्त कार्यक्रम उहाँपछि अर्को सरकारको पालामा कांंग्रेसबाटै महिला मन्त्री बनेकी कमला पन्तले २०५६ सालमा कार्यान्वयनमा ल्याउनुभयो । जिल्ला स्तरमा समितिहरू गठन गरेर महिलालाई राजनीतिक चेतना दिने गरी कार्यक्रम सुरु भएको थियो । पछि अर्को सरकार आएपछि सोही कार्यक्रमलाई केही परिमार्जित गरी महिला विकास शाखा भनेर गठन गरियो । सबै जिल्लामा रहेको महिला विकास शाखाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको मातहतमा रहेर काम गरिरहेको पनि उहाँ बताउनुहुन्थ्यो ।
पद्मकन्या बहुमुखी क्याम्पसको पहिलो स्ववियु सभापति भएको इतिहासलाई हेर्ने हो भने पनि कांग्रेसभित्र मीनाको राजनीतिक इतिहास कम छैन । लामो अनुभव र इतिहास बोकेकी उहाँले कांग्रेस पार्टीकै समानुपातिक तर्फबाट संविधानसभामा प्रतिनिधित्व पनि गर्नुभयो । पञ्चायतकालदेखि आफूले गरेको राजनीतिले देशमा लोकतन्त्र आएपछि समानुपातिक प्रतिनिधित्व गर्दै संविधान निर्माणमा सहभागी भएको अनुभव गर्न पाउनुभयो ।
लामो समयदेखि राजनीति र त्यसभित्र पनि महिलासँग सम्बन्धित थुप्रै सवाललाई अघि बढाउन मीनाले पहलकदमी लिनुभयो । त्यसको प्रभावकारिताका सम्बन्धमा उहाँको जवाफ थियो, “तर त्यो कति प्रभावकारी भयो भएन मूल्याङ्कन भने मैले गर्ने होइन, अरूले गरेका होलान् वा नहोलान् !” उहाँ महिलावादी आन्दोलनका क्रममा भएका सडक आन्दोलनहरूमा पनि संलग्न हुनुहुन्थ्यो । महिला भएकै कारण आफ्नै पार्टीभित्र बसेर पनि पुरुष नेताहरूले गरेभन्दा आफूले थप काम गर्नुपरेको उहाँको अनुभव छ । हरेक ठाउँमा महिलाहरूको दोहोरो भूमिकालाई सामान्य रूपमा लिइने गरिएकाले आफूले मात्र नभएर अरू महिलाहरूले पनि थप काम गर्नुपरेको उहाँ बताउनुहुन्थ्यो ।
पद्मकन्या बहुमुखी क्याम्पसको पहिलो स्ववियु सभापति भएको इतिहासलाई हेर्ने हो भने पनि कांग्रेसभित्र मीनाको राजनीतिक इतिहास कम छैन । लामो अनुभव र इतिहास बोकेकी उहाँले कांग्रेस पार्टीकै समानुपातिक तर्फबाट संविधानसभामा प्रतिनिधित्व पनि गर्नुभयो । पञ्चायतकालदेखि आफूले गरेको राजनीतिले देशमा लोकतन्त्र आएपछि समानुपातिक प्रतिनिधित्व गर्दै संविधान निर्माणमा सहभागी भएको अनुभव गर्न पाउनुभयो । तर प्रत्येक महिलाले आफ्नो घरभित्र समेत लोकतन्त्रको अनुभव गर्न कहिले पाउने हुन् भन्ने प्रश्नले उहाँलाई बारम्बार घेर्ने गर्थ्यो र त्यो त्यति सहज नभएको उहाँ ठान्नुहुन्थ्यो । तैपनि घरभित्रैदेखि महिलाहरू आफ्नो कुरा भनेर बाहिर निस्कन सुरु गरे भने महिलाले अनुभव गर्ने लोकतन्त्र सम्भव हुने विचार उहाँ राख्नुहुन्थ्यो । समान सहभागिता र समावेशीका आवाजहरू बाहिर आउन थाले पनि उहाँ त्यतिले सन्तुष्ट हुनुहुन्थेन । संविधान बनाउने ठाउँमा १९७ जना महिला पुगेका बेला त्यसले पनि धेरै महिलाहरूको लुकेको आवाज बोलिदिने विश्वास भने उहाँ आम नेपाली महिलालाई दिलाउन चाहनुहुन्थ्यो ।
‘आफ्नो कुरा आफैँले मात्र भन्न सकिन्छ र दुखाइको पीडा त भोग्नेलाई मात्रै थाहा हुन्छ’ भन्ने मीना महिला अधिकारका लागि महिलालाई नै अगाडि आउन आग्रह पनि गर्नुहुन्थ्यो । यद्यपि यसमा पुरुषहरूको साथ र सहयोगको अपेक्षा पनि गर्नुहुन्थ्यो । महिला मन्त्री भएर समेत अनुभव सम्हालेको पृष्ठभूमिमा महिला मन्त्री पुरुष हुनु वा महिला हुनुमा फरक पर्छ कि पर्दैन ? यस प्रश्नमा उहाँको प्रतिप्रश्न थियो, “यो उत्तर त सबैले दिन्छन् मैले किन भन्नुपर्यो र ?” उहाँको स्पष्ट सङ्केत थियो, महिला नै हुनुपर्छ ! यसमा उहाँले तर्क गर्दै भन्नुभएको थियो, “महिला मन्त्रालय हुनुअघि कुनै मन्त्रालय मार्फत महिला सवालसँग सम्बन्धित कुनै महत्त्वपूर्ण नीति नियम बनेनन् । जो भए पनि हुने भए घरेलु हिंसासम्बन्धी विधेयक दशकौँ अघि संसद्मा महिला एक–दुई जना हुँदा र महिला मन्त्रालय स्थापना नभए पनि आउनु पर्थ्यो तर त्यो त हुन सकेन । यिनै उदाहरणबाट पनि बुझ्न सकिन्छ नि !”
सङ्घर्ष र बोध
मीनाको बुझाइमा सङ्घर्ष के हो त ? “व्यक्तिगत रूपमा आफ्नै काम गरेर मात्र जीवन गुजारा गर्नेहरूलाई आफ्नै किसिमको सङ्घर्ष बोध हुन्छ भने विभिन्न क्षेत्रमा लाग्नेहरूको पनि त्यस्तै । यसरी हेर्दा मलाई जीवन नै सङ्घर्ष हो जस्तो लाग्छ । यसलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेर्न सकिन्छ,” उहाँको भनाइ थियो । खासगरी २०१७ सालपछिको राजनीतिलाई नजिकबाट नियालेको बताउने उहाँले पटक पटकको राजनीतिक अवस्थामा जस्तै व्यक्तिगत जीवनमा पनि विभिन्न किसिमको सङ्घर्ष गर्नुपरेको थियो । जीवन नै सङ्घर्ष बताउने उहाँ भन्नुहुन्थ्यो, “यो लामो राजनीतिक तथा व्यक्तिगत जीवनमा सङ्घर्षलाई पनि आफूले त्यसै अनुसार परिभाषित गर्ने गरेकी छु ।”
मीनाका अनुसार, २००७, २०१७, २०३६, २०४६ र पछिल्लो पटक २०५९ असोज १८ गतेको राजनीतिक घटनाक्रम अनुसार नै राजनीतिमा लागेकाहरूले सङ्घर्ष गर्नुपरेको थियो । “तर सङ्घर्षलाई म अवसरको रूपमा बढी लिन्छु,” उहाँ भन्नुहुन्थ्यो । त्यस्तै सङ्घर्षबाट खारिएरै आफू लोकतन्त्रको अनुभवसम्म गर्ने ठाउँमा आइपुगेको भन्ने उहाँलाई लाग्थ्यो ।
पञ्चायतकालमा राजनीति गर्दा आधा पेट खाएर बसेका थुप्रै दिन र रातहरू पनि मीनाको सम्झनामा ताजै थिए । त्यतिबेला राजनीतिमा लागेकाले जागिर खान पाउने अवस्था थिएन । अझ जेल परेकालाई त सरकारी नोकरी गर्नै नपाइने गरी कालो सूचीमा राखिन्थ्यो । मीना र उहाँका दाइभाइले पनि जेल परेकाले सरकारी जागिर पाउन सम्भव थिएन ।
सङ्घर्षको अलि फरक र दुःखदायी अनुभव भने मीनाले पञ्चायतकालमा दलहरू प्रतिबन्धित रहेको अवस्थामा गर्नुभयो । उहाँले त्यतिबेला दलीय राजनीतिमा लाग्नेलाई एकरातको बास पाउन पनि गाह्रो भएको अवस्था देख्नुभयो र झेल्नुभयो । “नचिनेकाले मात्र होइन आफन्तले पनि दलीय राजनीतिमा लागेकालाई त्यतिबेला आफन्त भन्दैनथे/भन्न चाहँदैनथे,” उहाँ सम्झनुहुन्थ्यो । त्यतिबेला शासन सत्ताको विरुद्ध आवाज उठाउन, खुला कुनै अजेन्डामा बहस गर्न, चार–पाँच जना भेला हुन समेत नपाइने, पत्रिका पढ्यो भने तीन वर्ष जेल र तीन हजार रुपियाँ जरिवाना लाग्ने कुरा उहाँले लोकतन्त्रमा पनि बिर्सन सक्नुभएन । उहाँका अनुसार, अहिले तीन लाख जस्तै हुन्थ्यो त्यो बेलाको तीन हजार !
“भन्ने हो भने त प्रतिबन्धित कालमा राजनीतिकदेखि, आर्थिक, सामाजिक, भौतिक, मनोवैज्ञानिक सङ्कटका साथै आफन्तहरूले समेत विश्वास नगर्ने थुप्रै सङ्कटहरू आइपर्थ्यो,” पुराना कुरा सम्झँदै मीनाले परिवर्तनलाई यसरी व्यक्त गर्नुभएको थियो, “२०४६ सालदेखि भने हामी दलीय राजनीति गर्नेका लागि सहज हुँदै गयो ।” त्यसो त २०६० सालको आन्दोलनमा पनि बैशाख ५ गते राजधानीमै भएको एक कार्यक्रममा सहभागी भएको बेला टाउकोमा लागेको चोट र २०६२ सालमा बाँकेमा पार्टीको निर्देशन अनुसार आन्दोलनमा गएको बेला गोडामा लागेको चोटले पछिसम्म असर पारिरहेको घटना उहाँले बिर्सन सक्नुभएको थिएन । त्यसैले पनि विभिन्न चरणको राजनीतिक परिवर्तनसँगै राजनीतिमा लाग्नेहरूले पनि निरन्तर सङ्घर्ष गर्नुपर्ने उहाँको बुझाइ थियो ।
पञ्चायतकालमा राजनीति गर्दा आधा पेट खाएर बसेका थुप्रै दिन र रातहरू पनि मीनाको सम्झनामा ताजै थिए । त्यतिबेला राजनीतिमा लागेकाले जागिर खान पाउने अवस्था थिएन । अझ जेल परेकालाई त सरकारी नोकरी गर्नै नपाइने गरी कालो सूचीमा राखिन्थ्यो । मीना र उहाँका दाइभाइले पनि जेल परेकाले सरकारी जागिर पाउन सम्भव थिएन । त्यसैले बाबुआमाले पठाएको खर्चको भरमा आधा खाएर आधाले अरू खर्च पुर्याउने गर्नुहुन्थ्यो । यस्ता सङ्घर्षपूर्ण विगतलाई सम्झँदै गर्दा उहाँ धेरै खुसीको क्षणमा पनि केही दुःखको अनुभव हुने बताउनुहुन्थ्यो । उहाँ सारमा यसो पनि भन्नुहुन्थ्यो, “तर त्यो सङ्घर्षलाई अवसरकै रूपमा मैले लिएकी छु ।”
योगदानको मूल्याङ्कन
मीनाको विचारमा पार्टीको टिकट पाउनु, केन्द्रमा आउनुलाई एक खालको मूल्याङ्कन भन्न सकिएला तर नीतिगत रूपमा हेर्ने हो भने योगदानको मूल्याङ्कनको व्यवस्था नै छैन । नीतिगत व्यवस्था नेपाली कांग्रेस पार्टीमा मात्रै होइन कुनै पनि पार्टीमा नभएको, ठुलामध्ये समान सहभागिताको नारा दिने एकीकृत नेकपा माओवादीमा पनि शीर्ष नेता भन्यो भने पुरुषकै नाम आउने, एमालेको पनि त्यस्तै देखिने, अरू पार्टी नेतृत्वमा पनि पुरुष नै पुरुष रहेको अवस्थामा नीतिगत रूपमा महिलाले नेतृत्वमा पुग्ने व्यवस्था हुन नसकेसम्म मूल्याङ्कन भएको मान्न नसकिने उहाँको तर्क थियो ।
वि.सं. २०३७ मा मीनाको विवाह भयो । राजनीति बुझेकै परिवारमा विवाह भएको थियो । उहाँका दुई छोरा छन् । श्रीमान्काे भने २०६० सालमा मृत्यु भयो । उहाँलाई वैवाहिक जीवनले राजनीतिमा लाग्नमा अवरोध त पुर्याएन तर महिला भएकैले घरव्यवहारदेखि बच्चा जन्माउने र हुर्काउने जस्ता कामको जिम्मेवारी भने उहाँमाथि थपियो ।
मीनाका अनुसार, कांग्रेस पुरानो पार्टी भएकाले त्यतिबेला एक–दुई जना महिला राजनीतिमा आए पनि निरन्तर रूपमा लाग्ने अवस्था नभएकाले पार्टी हाँक्नेमा पुरुष नै रहे । अन्य राजनीतिक दलहरूको नेतृत्वमा पनि पुरुष नै हाबी रहेकाले ‘अझै पनि नेपालका राजनीतिक दलहरू धेरै समयसम्म पुरुष नेतृत्व र लैङ्गिक रूपले असंवेदनशील नै रहने’ उहाँ ठान्नुहुन्थ्यो ।
साथै, पितृसत्तात्मक मानसिकता परिवर्तन हुन सजिलो नभएको र अपवादबाहेक गराउन चाहने पनि नभएका, समावेशी र समान सहभागिताको सिद्धान्त कांग्रेसले पनि उठाएको भए पनि बोली र व्यवहारमा फरक भएकाले पार्टी नेतृत्व र निर्णय तहमा महिला नभएका र आफू जस्तै राजनीतिमै सक्रिय जीवन बिताइसकेका अरू महिलाको अवस्था पनि विभेदित रहेकोमा मीना चिन्तित देखिनुहुन्थ्यो । यस्तो अवस्थामा ‘पार्टीमा महिलाको योगदानको मूल्याङ्कन भएको मान्न नसकिने’ उहाँको ठहर थियो ।
त्याग र समर्पण नै राजनीति
राजनीति भनेको धन कमाउने ठाउँ होइन, न त जागिर खाने ठाउँ नै हो । गर्दै जाँदा कुनै बेला जिम्मेवारी सम्हाल्नका लागि लाभको पद पाउनु अर्कै कुरा हो तर राजनीति भनेको समर्पण हो भन्ने बुझेर आउनुपर्ने बुझाइ मीनाको थियो । त्यसो भए मात्रै दुःख र पीडालाई भुल्दै राजनीतिलाई निरन्तरता दिएर अघि बढ्न सकिने उहाँको ठम्याइ पनि थियो । राजनीति भनेको त्याग र समर्पण अनि देश चलाउने ठाउँ हो भन्ने बुझेर राजनीतिमा आउन उहाँले नेपाली महिलालाई आग्रह गर्नुहुन्थ्यो ।
वि.सं. २०३७ मा मीनाको विवाह भयो । राजनीति बुझेकै परिवारमा विवाह भएको थियो । उहाँका दुई छोरा छन् ।
श्रीमान्काे भने २०६० सालमा मृत्यु भयो । उहाँलाई वैवाहिक जीवनले राजनीतिमा लाग्नमा अवरोध त पुर्याएन तर महिला भएकैले घरव्यवहारदेखि बच्चा जन्माउने र हुर्काउने जस्ता कामको जिम्मेवारी भने उहाँमाथि थपियो । “यसबाट केही असर त परिहाल्यो,” उहाँ भन्नुहुन्थ्यो । ‘त्यसैले कुनै पनि महिला राजनीति होस् वा अन्य कुनै क्षेत्रमा, बच्चा जन्माउने र हुर्काउने तथा घरभित्रको कामले थप बोझ त हुन्छ नै तर त्यसलाई पहिले नै सामना गर्छु भनेर आउनुपर्छ’ भन्ने उहाँको तर्क हुन्थ्यो । यस सन्दर्भमा व्यावहारिक चाँजोपाँजो महिला आफैँले पनि मिलाउन सक्नुपर्छ भने त्यहाँ परिवारका सदस्यहरूको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने उहाँलाई लाग्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “एउटा पुरुषलाई भन्दा हरेक क्षेत्रमा आउन महिलालाई गाह्रो हुन्छ । यो कुरा परिवारभित्रको पुरुषले पनि बुझ्नुपर्छ । किनकि एउटा महिला अगाडि बढ्नु उसको लागि मात्रै नभई घर, समाज र राज्यकै लागि हो ।”
(प्रस्तुत आलेख लक्ष्मी बस्नेतले नौ वर्षअघि नेत्री मीना पाण्डेसँग कुराकानी गरी तयार गर्नुभएको सामग्रीमा आधारित छ । वि.सं. २०८० जेठ १६ गते मीना पाण्डेको निधन भएकाले उहाँप्रति श्रद्धाञ्जलिस्वरूप ‘सन्धान’ ले सामान्य सम्पादनसहित यो आलेख प्रस्तुत गरेको हो ।)
सन्धान प्रकाशन मिति : २०८० जेठ १७ गते, बुधवार