Home Stories ‘मनको दृष्टि र आत्मविश्वासले काम गर्न सकेको छु’ – सीता सुवेदी

‘मनको दृष्टि र आत्मविश्वासले काम गर्न सकेको छु’ – सीता सुवेदी

1008
0

झापाको दमकमा जन्मिनुभएकी ४२ वर्षीया सीता सुवेदी दुई दशकदेखि अपाङ्गता अधिकारकर्मी हुनुहुन्छ । स्कुल पढ्दादेखि नै उहाँको आँखाको दृष्टि कम हुँदै गयो । अहिले न्यून दृष्टियुक्त सुवेदी दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका, विशेष गरी दृष्टिविहीन महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र अधिकारको वकालत गरिरहनुभएको छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीका आधारमा नेत्रहीन महिला संघका अध्यक्ष एवम् अपाङ्गता अधिकारकर्मी सुवेदीको कार्यगत अनुभव र जीवनका भोगाइ :

मेरो घर झापा हो । म न्यून दृष्टियुक्त व्यक्ति हुँ । आठ कक्षादेखि मैले आँखा कम देख्दै गएँ तर केही समय लुकाएँ । ‘टीनएज’ मै आँखा कमजोर भयो भन्दा लाज हुने भएकाले पनि मैले कसैलाई भनिनँ । कक्षा १० मा पुगेपछि समस्या बढ्न थाल्यो । साथीहरूलाई थाहा थियो तर मैले घरमा भनिनँ । एक दिन साथीहरूले ‘तिम्रो घरमा जाने’ भने । दिउँसोको खाजा खाने समयमा केही साथीहरू मलाई नै लिएर मेरो घर आए । उनीहरूले नै मेरो आँखाको समस्या भन्दिए । उसलाई एकदम गाह्रो भएको छ, तपाईंहरूलाई थाहा छ कि छैन, ब्ल्याक बोर्डमा पनि सीताले देख्दिनन्, हामीले नै लेख्दिन्छौँ भनेर भन्दिए ।
आमाहरू डराउनुभयो, मलाई हस्पिटलमा लग्नुभयो । पहिला दिदीलाई पनि समस्या देखिइसकेको र परिवारमा यस्तो समस्या अरूमा पनि हुन सक्छ भनिएको थियो । यो जेनेटिक भएकाले ‘नन क्यूरेबल’ समस्या हो, मेडिकल्ली ट्रिटमेन्ट केही पनि हुँदैन भनेर चिकित्सकहरूले भने । त्यसैले आँखाको एक्सरसाइज गरेर आँखाको पावर स्थिर राख्न सक्यो भने मात्रै दृष्टि बाँकी हुने हो, एक्सरसाइज गरेन भने बन्द हुन सक्छ भनेर डाक्टरहरूले भनेका थिए । मेरो दिदीको आँखा पूरै बन्द भएको थियो । मैले लेख्ने, पढ्ने काम निरन्तर गरेको र मोबाइल, कम्प्युटरमै धेरै काम हुने भएकाले मेरो आँखाका लागि यो नै अभ्यास हो भनेर डाक्टरहरूले भन्नुभएको छ ।

नेत्रहीन महिला संघका अध्यक्ष सुवेदी कार्यक्रममा सम्बोधन गर्दै ।

मेरो अहिलेको काम

म अहिले नेत्रहीन संघको केन्द्रीय महिला उपाध्यक्ष, राष्ट्रिय अपाङ्गता महासंघ नेपालको संघीय सदस्य, नेत्रहीन महिला संघको केन्द्रीय अध्यक्षको रूपमा बढी क्रियाशील छु । मेरो मुख्य जिम्मेवारी नेत्रहीन महिला संघ, नेपाल र दृष्टिविहीन महिलाहरूका लागि हो । सँगसँगै अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको प्रवर्धन गर्ने काममा व्यस्त हुन्छु । विशेष गरी नेत्रहीन महिलाहरूको सवालमा अलि बढी काम गर्छु ।
नेत्रहीन महिला संघले कानुनी रूपमा दर्ता भएर १० वर्षदेखि काम गरिरहेको छ । खासगरी नेत्रहीन महिलाहरूको स्वास्थ्य तथा प्रजनन स्वास्थ्य, क्षमता विकास, रोजगारी, सामाजिक न्याय, उनीहरूको न्यायमा पहुँच, शिक्षा तथा आवश्यक पर्नेहरूलाई छात्रावासको व्यवस्थापनलगायत कामहरू गर्दै आएका छौँ ।
समाजमा अपाङ्गता भएकाहरूप्रति हेरिने नकारात्मक दृष्टिकोणले गर्दा भइरहेको विभेदलाई चिर्न ठुलो चुनौती छ । त्यसैले अपाङ्गता भएका व्यक्ति र त्यसमा पनि अझ बालिका र महिलाप्रति घर, परिवारदेखि नै सकारात्मक भावना र दृष्टिकोण प्रवाह गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरू गर्छौँ । राज्यका नीतिहरू अपाङ्गता भएका महिलाहरूका लागि मैत्री छैनन् भने हरेक खालका अपाङ्गता भएका महिलाहरूको पहुँचमा पुग्ने खालका पनि छैनन् । त्यसैले भइरहेका कानुनको कार्यान्वयनका लागि दबाब दिने, कानुन कार्यान्वयन गराएर उनीहरूलाई न्यायको पहुँचमा पुर्‍याउने, उनीहरूका मुद्दाहरू भए हेर्ने, विवाह दर्ता, बच्चाको जन्मदर्ता, नागरिकता जस्ता पञ्जीकरणको काममा समन्वय र सहयोग गर्छौं ।

मनोपरामर्श र न्यायिक सहयोग

न्यायमा पहुँच पुर्‍याउनका लागि जिल्ला तहमा संघको शाखा र पारालिगल कमिटी गठन गरेका छौँ । १५ वटा जिल्लामा नेत्रहीन महिला संघ नेपालको शाखाको रूपमा काम गर्छौं । पारालिगल कमिटीमार्फत दृष्टिविहीन महिला तथा अपाङ्गता भएका महिलाहरूको अधिकारका लागि एड्भोकेसी गर्ने, हिंसा, दुर्व्यवहारका घटना भए प्रहरी, अदालतसम्म लैजाने, पीडितलाई परामर्श दिने जस्ता कामहरू गर्छाैँ । त्यस्तै, लैङ्गिक हिंसामा परेको दृष्टिविहीन तथा अपाङ्गता भएका दिदीबहिनीहरूलाई मनोसामाजिक परामर्श दिनका लागि तालिम प्राप्त व्यक्तिहरू तयार गर्ने र उनीहरूमार्फत मनोपरामर्श आवश्यक पर्ने दिदीबहिनीहरूलाई परामर्श गर्ने, हकअधिकारका कुरा सिकाउने गरिन्छ ।
एउटै घरमा दिदी र भाइ उस्तै प्रकृतिका अपाङ्गता भएका छन् भने भाइ स्कुल जान्छ, दिदीलाई स्कुल होइन कि घरबाट बाहिर पनि निस्किन नदिने बुबाआमा धेरै छन् । त्यस्तो विभेद भोगेको थाहा भयो भने पारालिगलमा भएका दिदीबहिनीहरूले सहजीकरण गर्छन् । त्यसैगरी स्थानीय तहहरूमा नै बजेटहरू छुट्टिने, रकम छुट्टिने भएकाले बजेट तथा कार्यक्रमका लागि पहल गर्ने, अपाङ्गतामैत्री नीतिहरू बनाउन पनि सुझाव दिने र सहजीकरण गर्ने गर्छौं ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट अपाङ्गता भएका महिलाहरूका लागि व्यवस्था गरेको छ महिनाको तालिम लिने अवसर पाएँ । म त्यो तालिमका लागि काठमाडौँ बस्दा मलाई सबैभन्दा ठुलो कुरा आत्मविश्वास बढ्यो ।

स्कुले जीवनमै दृष्टि कम भयो

मेरो आँखाको दृष्टिको बारेमा थोरै बताउँछु । म स्कुल पढ्दापढ्दै मेरो आँखामा समस्या देखियो । त्यसअघि मेरी दिदीको पनि आँखामा समस्या देखिइसकेको थियो । जुन चाहिँ उपचार नै नहुने खालको रहेछ भन्ने थाहा भइसकेको थियो । मलाई पनि बुबाआमाले हस्पिटल त लग्नुभयो तर उपचार हुँदैन भनेपछि एउटा पावरवाला चस्मा किनिदिनुभयो । त्यो चस्माले अलि देखेको अनुभव भयो । मैले पढाइलाई निरन्तरता दिँदै गएँ तर बिस्तारै मेरो आँखाको भिजन घट्दै गयो । दिदीले चाहिँ पूरै देख्न नसक्ने भएर पढाइ छोडिसक्नुभएको थियो ।
मैले पढाइ छोडिनँ । चस्मा र साथीहरूको सहयोगमार्फत पढाइलाई निरन्तरता दिइरहेँ । दमकको सरस्वती माविबाट एसएलसी पास गरेँ । त्यसपछि दमक क्याम्पसमा स्नातक तह पढ्ने बेलासम्म आँखा धेरै नै कमजोर भइसकेको थियो । चस्माले पनि लगभग काम गर्दैनथ्यो । दिदीको जस्तै पूरै नदेख्ने हुने भएँ भनेर चिन्ता लाग्थ्यो र एकदमै हीनताबोध हुन्थ्यो ।
अहिलेको जस्तो संघसंस्था वा कतै सम्पर्क गर्ने पनि कोही थिएन । धरानमा ज्ञानचक्षु भन्ने दृष्टिविहीन पढ्ने विद्यालय रहेछ तर त्यो बेला थाहा भएन । पछि एक पटक एउटा संस्थाले हाम्रो ठाउँमा एउटा परियोजना ल्यायो । समुदायमा रहेका दृष्टिविहीन, अल्प दृष्टिविहीनहरूको भिजन स्क्रिनिङ गर्ने, त्यसपछि दृष्टिमा समस्या हुनेहरूको समुदाय तहमै समूहहरू बनाउने, बचत तथा ऋणको कार्यक्रम गर्ने कार्यक्रम रहेछ । त्यति बेला झापामा नेपाल नेत्रहीन संघ पनि रहेछ । त्यो परियोजनाको प्रमुखले दमकमा पनि दृष्टिविहीन, न्यूनदृष्टियुक्त दिदीबहिनी हुनुहुन्छ, संस्थामा सङ्गठित गर्नुपर्छ भनेर सल्लाह दिनुभयो । २०५७ सालमा नेत्रहीन संघ झापाले सदस्यता दियो । त्यसपछि मलाई नेत्रहीन व्यक्तिहरूसँग सम्बन्धित कार्यक्रमहरूमा सहभागी गराउन थाल्नुभयो । म पढेको व्यक्ति पनि भएकाले होला, संघको कोषाध्यक्ष बनाउनुभयो ।

पारालिगलहरुको क्षमता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै सुवेदी ।

आत्मविश्वास जगाउने तालिम

नेत्रहीन संघको केन्द्रीय साधारण सभामा भाग लिन २०५८ साल वैशाखमा काठमाडौँ आउने अवसर पाएँ । केन्द्रको नेत्रहीन संघमा केन्द्रीय महिला समिति पनि थियो । त्यो समितिमा मलाई पनि राखियो । केन्द्रमा आबद्ध भएपछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट अपाङ्गता भएका महिलाहरूका लागि व्यवस्था गरेको ‘सेक्रेटारियल साइन्स’ सम्बन्धी छ महिनाको तालिम लिने अवसर पाएँ । म त्यो तालिमका लागि छ महिना काठमाडौँ बस्दा मलाई धेरै कुराको जानकारी भयो । सबैभन्दा ठुलो कुरा आत्मविश्वास बढ्यो ।
काठमाडौँ बस्दा धेरै खालका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइहरूसँग भेट भयो । त्यो भेटघाटले म मात्र अपाङ्गता भएको होइन रहेछु, मेरो त बरु न्यून भए पनि दृष्टि छ, अरू धेरै जना पूर्ण दृष्टिविहीनहरू हुनुहुँदो रहेछ भन्ने लाग्यो । त्यसबाट मैले मभित्रै सकारात्मक कुरा खोजेँ,  म पढेलेखेको छु, दृष्टि पनि पूर्ण रूपमा गुमेको छैन, त्यसैले जे पनि गर्न सक्छु भन्ने आत्मबल झन् बढ्दै गयो । मनमा आत्मविश्वास बढाएर अपाङ्गता क्षेत्रमा केही गर्नुपर्छ भन्ने साेच बोकेर म जिल्ला फर्किएँ ।
नेपाल नेत्रहीन संघमा २०६० सालतिर एउटा स्वीडिस परियोजना थियो । त्यो परियोजनाबाट दृष्टिविहीनहरूको जीविकोपार्जनका लागि सङ्गीत शिक्षा र दृष्टिविहीन महिलाहरूको उच्चशिक्षाका लागि होस्टेल सञ्चालन गरिएको थियो । होस्टेलको वार्डेनले होस्टेल छोडेपछि त्यो ठाउँ खाली भयो । मलाई त्यो काम गर्न प्रस्ताव आयो । मैले पनि ठिकै हुन्छ भनेर बोर्डबाट राजीनामा दिएर महिला होस्टेलको वार्डेन भएँ । तर, त्यहाँ भए पनि एड्भोकेसी गरेँ ।  बहिनीहरूको शिक्षाको काममै १० वर्ष वार्डेन भएँ ।

‘नेत्रहीन महिला संघ’ दर्ता

‘नेत्रहीन महिला संघ, नेपाल’ २०६७ सालमा दर्ता गर्‍याैँ । म महासचिव भएँ । संस्था दर्ता भएको तीन वर्षपछि परियोजना सकियो । परियोजना सकिए पनि होस्टेल बन्द गर्नुहुँदैन भनेर आफैँ स्रोत खोज्दै र आन्तरिक स्रोतबाटै सञ्चालन गरिरह्यौँ भने मैले एड्भोकेसीको काम पनि निरन्तर गरिरहेँ । महासचिवको जिम्मेवारीसँगै होस्टेल व्यवस्थापक भएर काम गरेँ ।  
दृष्टिविहीन महिलाहरूको पढाइका लागि सहयोग जुटाउन विभिन्न कोष स्थापना गर्‍याैँ । दृष्टिविहीन संघले बनाएको महिला समितिको पहिलो संयोजक कमला श्रेष्ठको २०६० सालमा क्यान्सरबाट निधन भएपछि उहाँको नाममा हामीले अक्षयकोष स्थापना गरेका छौँ । हामीले आफ्नै जन्मदिन, कुनै यस्तै विशेष दिनको अवसरमा हामीले केही रकम जम्मा गर्छौं र अन्यत्रबाट पनि सहयोग आयो भने राख्दै गर्दा अहिले त्यो कोष करिब १० लाख रुपैयाँको बनाएका छौँ । त्यसको ब्याज र केही दातृ निकायहरूको सहयोगबाट दृष्टिविहीन बहिनीहरूलाई उच्चशिक्षा पढाइरहेका छौँ । छात्रावास पनि सञ्चालनमै छ ।
राष्ट्रिय अपाङ्ग महासंघको कार्यसमितिमा पनि म २०७२ सालदेखि आएँ । अहिले पनि महासंघको केन्द्रीय सदस्य छु । नेत्रहीन महिला संघको अध्यक्षको भूमिकामा छु । संघमा २०७२ सालमा पहिलो पटक अध्यक्ष भएँ र त्यसपछिको कार्यकालमा पनि साथीहरूले मलाई नै अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।
अपाङ्गता क्षेत्रमा लाग्दाको सुरुका दिनहरू सम्झिन्छु, परियोजनाकै कारण म झापा दृष्टिविहीन संघमा आवद्ध भएको हुँ । बिस्तारै केन्द्रमा आएँ, अपाङ्ग महासंघमा पनि भएकाले दृष्टिविहीन महिलाहरूको अगुवा र विभिन्न प्रकारको अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्दै आएको छु । मेरो यो कामले मलाई आत्मसन्तुष्टि दिन्छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित र्‍याली कार्यक्रममा सहभागी हुँदै ।

‘कुनै पनि बेला दृष्टि पूरै बन्द हुनसक्छ’

मैले अहिलेसम्म ब्रेल लिपि सिकेको छैनँ । किनभने, छामेर काम गर्न थालेपछि आँखा अल्छी हुँदो रहेछ । डाक्टरले पनि मलाई जतिन्जेल सक्नुहुन्छ, हेरेरै काम गर्नुु, ब्रेल लिपिको प्रयोग नगर्नु भनेपछि सिक्न थालेर पनि छाडिदिएँ । त्यही भएर अलिअलि देखिरहेको छु । तर, बिस्तारै मेरो दृष्टि घटिरहेको छ । डाक्टरले कुनै पनि बेला बन्द हुन सक्छ भनेको छ । आँखामा यस्तो समस्या धेरै लामो जेनेरेसन ग्यापमा आउँदो रहेछ । मेरो बुबाआमाले थाहा पाएसम्मको अगाडिका पुस्ताहरू दृष्टिविहीन भएको थाहा छैन रे । एक्कासी दिदी र मलाई यस्तो भयो । दिदीको दृष्टि पूरै बन्द भयो । उहाँ २०७५ सालमा बित्नुभयो । बित्नुभन्दा छ वर्षअघि उहाँ पूर्ण दृष्टिविहीन हुनुभयो । उहाँमा अरू स्वास्थ्य समस्या पनि थियो । आँखाको समस्या उहाँकाे र मेरो उस्तै छ तर मेरो न्यून दृष्टि अहिलेसम्म बाँकी छ ।
आँखाको अभ्यासका लागि डाक्टरले मलाई सियोमा धागो उन्न, चामलमा बियाँ छान्न, किताबहरू धेरै र सानो अक्षर पढ्ने प्रयास गर्न भन्नुभएको छ । त्यो एक्सरसाइज पनि गरिरहेको छु तर टेबलमा भएको चस्मा पनि नछामीकन भेट्दिनँ । दिउँसो घाममा हिँड्दा क्याप लगाएर कि त छाता ओढेर हिँड्यो भने अलि सजिलो हुन्छ नत्र घामको उज्यालो मेरो जस्तो समस्याका लागि बाधा हो ।

गणितको ज्यामिति र साइन्सका चित्रहरू बनाउन कठिन हुन्छ । हामी जस्तो अवस्था भएकाहरूका लागि गणित वा विज्ञान विषयहरू पढाउने वैकल्पिक विधि हुनुपर्ने अथवा परीक्षाका लागि वैकल्पिक प्रश्नहरू राखिनुपर्ने भन्ने लाग्छ । यो विषय बहसकै रूपमा चलिरहेको छ ।

गणित र विज्ञान पास गर्न गाह्रो

मलाई स्कुलको एउटा घटना याद छ । साइन्स पढाउने सरले प्राक्टिकल सेसन गराएर माइक्रोस्कोप देखाउन लाग्नुभएको थियो । सबै जना झुम्मिएर हेरिरहेका थिए । सरले मलाई ‘बाहिर गएर सानो ढुङ्गा लिएर आऊ’ भन्नुभयो । मैले त देख्न सक्ने ढुङ्गा लिएर आएको तर त्यो धेरै ठुलो भएछ । अनि सरले भन्नुभयो, ‘सानो ढुङ्गा ल्याउन पठाको यत्रो ठुलो ढुङ्गा लिएर आई’ भनेर गाली गर्नुभयो । गुच्चा जत्रो ढुङ्गा चाहिने रहेछ, फेरि अरूलाई लिन पठाउनुभयो । अर्को ढुङ्गालाई माइक्रोस्कोपबाट सरले देखाएपछि पालैपालो वर्णन गर्न लगाउनुभयो तर मैले देखिनँ ।
मैले गणितको हिसाबका सूत्रहरू कण्ठ पार्थेँ । २०५१ सालमा मैले एसएलसी उत्तीर्ण त गरेँ तर विज्ञान र गणित एकदम गाह्रो भएको थियो । गणितको ज्यामिति र साइन्सका चित्रहरू बनाउन कठिन हुन्छ । हामी जस्तो अवस्था भएकाहरूका लागि गणित वा विज्ञान विषयहरू पढाउने वैकल्पिक विधि हुनुपर्ने अथवा परीक्षाका लागि वैकल्पिक प्रश्नहरू राखिनुपर्ने भन्ने लाग्छ । यो विषय बहसकै रूपमा पनि चलिरहेको छ । एकातिर गणित जस्ता विषयको वैकल्पिक विषयको कुरा पनि चलिरहेको छ तर यो दैनिक जीवनमै आवश्यक भएकाले जान्नकै लागि पनि पढ्नुपर्ने विषय हो भन्ने बहस भइरहेको छ ।

व्यक्तिगत काम आफैँ गर्न सक्छु

अहिले मेरो आँखाको भिजन एकदमै थोरै छ । घामको उज्यालोमा कुनै पनि कुरा हेर्न र देख्न गाह्रो हुन्छ । दिउँसो सनग्लास लगाउनुपर्छ । चस्माले अलिअलि काम गर्छ । कोठाभित्र भएको बेलामा मात्रै चस्मा लगाउँदा काम हुन्छ । बाहिर उज्यालो र घाम लागेको बेला आफ्नो अगाडि घर, बाटो, मान्छे जे भए पनि देख्दिनँ ।
आँखाको अवस्था मेरो जस्तो भएकाहरूका लागि झलमल्ल घामको उज्यालोभन्दा मधुरो प्रकाश वा अँध्यारो रात ठिक हुन्छ । मधुरो प्रकाश हुँदा मोबाइलमा ठुलो अक्षर बनाएर चलाउन मिल्छ । बाहिर उज्यालोमा र कोठाभित्र चलाउने सिस्टम केही फरक गर्नुपर्छ । म कोठाभित्र बसेर कम्प्युटरमा काम गर्छु, आवश्यकताअनुसार फन्ट ठुलो बनाउनुपर्छ । आँखाको दृष्टि कम भएकै कारण मैले गर्न नसक्ने भन्ने काम केही पनि छैन । एक्लै बस्दा खाना पकाउनेदेखि आफ्नो सम्पूर्ण काम गरिरहेको छु । यत्तिकै दृष्टि बसे हुन्थ्यो, हेरौँ के हुन्छ ?

नेत्रहीन महिला संघ, नेपाल मार्च ८ को र्‍यालीमा सहभागी हुँदै।

गर्व लाग्ने काम

मैले अपाङ्गताको क्षेत्रमा संघसंस्थामै आबद्ध भएर काम गरेको दुई दशक पुगिसक्यो । यो समयलाई फर्केर हेर्दा आफूले गरेको कामबाट आफैँलाई गर्व पनि लाग्छ । न्यायको खोजीमा भौँतारिरहेका अपाङ्गता भएका दिदीबहिनीहरूलाई न्याय दिलाउन पाउँदा खुसी लाग्छ । अझै दूरदराजमा हिंसा, विभेद, शोषण र अन्यायमा परेका महिलाहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । हाम्रै अभियानबाट थुप्रै नीति कानुन बनेका छन्, यद्यपि भएका कानुनहरू पूर्ण होइनन् ।
विभिन्न पक्षले छलफल, परामर्शका लागि हामीहरूलाई बोलाउन, सहकार्य गर्न थाल्नुभएको छ । हाम्रो कुरा सुन्ने निकाय धेरै भएका छन् । यसले काम गर्न अझ हौसला मिल्छ । हाम्रो काम र अभियानमा धेरैले विभिन्न खालको सहयोग गरिरहनु भएको छ । यस्तो सहयोगले काम गर्न धेरै जोसजाँगर आउँदो रहेछ । यति हुँदाहुँदै पनि अपाङ्गता भएका विशेषगरी महिलाहरूका लागि स्वरोजगार, शिक्षामा पहुँच, अपाङ्गतामैत्री कानुन र भौतिक संरचना निर्माणको कुरा हामीले उठाइरहनै पर्छ । राज्यलाई सहयोग पनि गर्नुपर्छ, कहिलेकाहीँ झक्झकाउनुपर्छ ।
मैले कामको सिलसिलामा देशविदेशकाे भ्रमण पनि गर्नुपर्ने हुन्छ। धेरै वटा देशमा पुगिसकेको छु । आफ्नै देशमा पनि विभिन्न जिल्लामा पुगेको छु । मैले आँखामा समस्या हुँदादेखि नै सबैको साथ, सहयोग, मायाममता र काम गर्ने वातावरण राम्रो पाउँदै गएँ । त्यसले गर्दा मेरो मनको दृष्टि र आत्मविश्वासले यी सब कामहरू गर्न सकेको छु । सानोमा आमा, घरपरिवार र साथीहरूको सहयोग र अलि ठुलो हुँदै जाँदा संघसंस्थासँगको आबद्धताले म आफू र अरूका लागि पनि केही गर्न सकेको हुँ, यसले मलाई गर्व लाग्छ ।

तस्विरहरु सौजन्यः सिता सुवेदी

सन्धान, प्रकाशन मिति २०७८ चैत १४ गते सोमवार


Previous article‘समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो ।’ -सन्जोग ठकुरी
Next articleसाधना प्रधान र कामाक्षादेवीः पहिलो सम्पादक महिला