नेपालमा सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बिच २०५२ देखि २०६३ सालसम्म १० वर्ष लामो सशस्त्र द्वन्द्व भयो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वको बेला झन्डै १७ हजार नेपालीले ज्यान गुमाए । एक हजार पाँच सयभन्दा बढी व्यक्ति बेपत्ता पारिए । हजारौँ मानिस विस्थापित भए, यातना पाए । धेरैको सम्पत्ति लुटपाट भयो । धेरै व्यक्तिहरू घाइते तथा अपाङ्गता भएका व्यक्तिमा परिणत भए ।
सरकार र विद्रोही पक्षबिच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि नेपालमा सशस्त्र विद्रोहले विश्राम लियो । मुलुक द्वन्द्व व्यवस्थापनतिर लाग्यो । सङ्क्रमणकालीन न्याय र शान्ति निर्माण प्रक्रियाको चरणमा प्रवेश गर्यो । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाल जनतामा निहित भयो । नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्यमा रूपान्तरित पनि भयो । यसले नेपालको राजनीतिक प्रणाली तथा शासन व्यवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगको काम गर्यो ।
दस वर्ष लामो सशस्त्र द्वन्द्वका कारण देशले ठुलो क्षति भोग्नुपरेकोमा दुई मत छैन । तर, जहाँ द्वन्द्व हुन्छ, त्यहाँ परिवर्तन पनि हुन्छ भने झैँ यसकै कारण नेपाली महिलाको अवस्थामा सकारात्मक परिवर्तन पनि आयो । घरबाटै बाहिर निस्कन नसकेका र नपाएका महिलाहरू सामाजिक र राजनीतिक गतिविधिमा सहभागी हुन थाले । महिला सशक्तीकरणका लागि सशस्त्र द्वन्द्व एउटा आधार त बन्यो तर असमानताको अन्त्य र शासन व्यवस्थाको परिवर्तनका लागि भन्दै भएको सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत दुवै पक्षबाट महिलाले भोग्नुपरेको हिंसा, पीडा र प्रताडनाको सम्बोधन भने अझै हुनसकेको छैन । द्वन्द्वका बेला महिलाले भोग्नुपरेको यौनहिंसा, बलात्कार र यातनाका घटनाहरूको अझै पनि अभिलेखीकरण हुनसकेको छैन । सम्पूर्ण तथ्याङ्क आउनसकेको छैन ।
द्वन्द्वका बेला महिला र बालिकाहरूमाथि यौनजन्य हिंसा, बलात्कार र यातना जस्ता गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनाहरू गरिए, गराइए । सशस्त्र द्वन्द्व सकिएर शान्ति प्रक्रिया सुरु भएको १६ वर्ष बितिसक्दा पनि यस्ता घटनाका पीडितको आवाजको खोजी नभएको र द्वन्द्वपीडितले सङ्क्रमणकालीन न्यायसमेत नपाएको स्थितिले पीडित महिलाको अवस्था दयनीय बनेको छ र उनीहरूको स्वाभिमानमा गम्भीर चोट पुगेको छ ।
शान्ति सम्झौताको लगत्तै २०६४–६५ सालमा नेपाल सरकारले द्वन्द्वपीडितलाई राहत प्रदान गर्न अन्तरिम राहत निर्देशिका जारी गर्यो। जिल्ला तहमा रहेका स्थानीय शान्ति समितिले सो निर्देशिकालाई आधार मानेर द्वन्द्वपीडितलाई राहत वितरण पनि गरे । तर, अन्तरिम राहत निर्देशिकाको परिभाषा नै अपूर्ण रह्यो । परिभाषामा ‘द्वन्द्व पीडित’ भन्नाले हत्या वा मृतक र बेपत्ता परिवार, घाइते तथा अपाङ्ग’ भनेर राखियो । निर्देशिकाले नै यौनजन्य हिंसा, बलात्कार र यातनाका घटनाबाट पीडितलाई द्वन्द्वपीडितको परिभाषामा नै पारेन । फलतः उनीहरू बहिष्करणमा परे । द्वन्द्वकालीन यौनजन्य र बलात्कार हिंसाका पीडितहरूलाई राज्यको संरचनाले नै पहिचान दिएन । राहत र सङ्क्रमणकालीन न्यायको कुरा त आकाशको फल जस्तै भयो ।
त्यसो त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ ले द्वन्द्वकालीन यौनजन्य हिंसा र बलात्कारका घटनालाई मानवअधिकार उल्लङ्घनको गम्भीर प्रकृतिको घटनाका रूपमा व्याख्या गरेको छ । आयोगले सार्वजनिक गरेको सूचनाअनुसार आयोगमा यस्ता प्रकृतिका तीन सय घटना दर्ता भएका छन् ।
शान्ति सम्झौता भएको १६ वर्ष बितिसकेको छ । पीडित महिलाहरूले आफूमाथि भएका चरम यातना, यौनहिंसा र बलात्कारका घटना अझै बिर्सिन सकेका छैनन् । आफूमाथि भएका घटना भन्नलाई उनीहरू तयार छन् । नाम, पहिचान लुकाएर भए पनि राज्यलाई आफूमाथि भएको हिंसाका घटना सुनाउन तयार हुँदैछन् । कतिपयले आफ्ना कथा आफैँ लेखिरहेका छन् र लेख्न तयार हुँदैछन् ।
जुन १९ अर्थात् द्वन्द्वमा यौनहिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएका सशस्त्र द्वन्द्वकालीन यौनजन्य हिंसा र बलात्कारसँग सम्बन्धित सामाग्रीहरू प्रस्तुत गर्दै आएको छ । यसक्रममा आज पीडित महिलाहरूले व्यक्त गरेका बयान र लेखेका तीन वटा घटनाहरू प्रस्तुत गर्दैछ :
घटना १
म १५ वर्षको थिएँ । २०६२ साल फागुन ५ गते म खेतमा काम गर्दै थिएँ । मैले सेना आएको देखेँ । तिनैमध्ये एक सैनिकले मेरो नाम र परिवारका बारेमा सोध्यो । मैले सबै बताएँ । उनीहरूले मेरो बाबा माओवादीको कमाण्डर हो भने । मैले ‘हामी माओवादी होइन’ भनेँ ।
यत्तिकैमा अर्को एक सैनिकले मलाई एक्कासि भन्यो, “तिमी कति राम्री ! तिम्रो आँखा कति राम्रो !” उसले मलाई जबर्जस्ती तानेर काखमा राख्यो र जताततै छुन थाल्यो । म डरले चिच्याउन थालेँ । उसले मलाई ‘करायो भने मारिदिन्छु’ भन्दै बन्दुक देखायो । चुप लाग्नुबाहेक मसँग अर्को विकल्प भएन । त्यसले मलाई केके गर्यो भन्ने कुरा शब्दमा भन्नै सक्दिनँ ।
आफूले बलात्कार गरेपछि उसले अरू साथीहरूलाई पनि बोलायो । उनीहरूले पनि मलाई जबर्जस्ती गरे । झन्डै डेढघण्टा जति उनीहरूले ममाथि यौन अपराध गरिरहे । तीमध्येको एक जनाले ‘भैगो छोड्देओ ! बच्चै रहिछे, अहिले मर्छे’ भनेपछि उनीहरूले मलाई छाडे । अहिले त्यो घटना सम्झँदा हातखुट्टा काँप्छ, मुटु नै फुट्ला जस्तो हुन्छ । एक जना मान्छेले अर्को मान्छेलाई कसरी त्यस्तो अमानवीय अपराध गर्न सक्छ भन्ने लाग्छ ।
झन्डै ६ महिनाको उपचारपछि म अलिअलि हिँडन सक्ने भएँ । अहिले पनि मलाई पाठेघरको समस्या छ । दिसा गर्दा पनि कहिलेकाहीँ रगत देखा पर्छ । शरीर र मनमा चोट लागेकाले होला, म बेला बेला बेहोस भइरहन्छु ।
म र मेरो जस्तै घटना भोग्न बाध्य अरू पनि कति धेरै दिदीबहिनीहरू होलान् । तर, हाम्रो कुरा कसले सुनिदिने ? हामीले यस्तो अन्याय भोगेर कहिलेसम्म र कसरी बाँच्ने ? कसले सिकाइदिन्छ हामीलाई शान्तिसँग बाँच्ने तरिका ? कसले गरिदिन्छ हाम्रो लागि न्याय ?
घटना २
म १२ वर्षको थिएँ । एक दिनको कुरा हो, घरमा १५–१६ जना मान्छे आए । उनीहरूले भने, “हामी माओवादी हौँ । हाम्रो सांस्कृतिक कार्यक्रम हुँदैछ, जाऊँ ।” आमा डरले चुप लाग्नुभयो । मलाई ‘माओवादी’ भन्ने थाहा थिएन । त्यसैले ‘म जान्नँ’ भनेँ तर मेरो केही उपाय लागेन । मलाई उनीहरूले लगे ।
घरबाट हिँडेको तीन दिन भएको थियो । मलाई दिनभरि हिँडाउँथे । राति कसैको घरमा राख्थे । यो २०५५ सालको कुरा हो । मलाई एक रात अरूकै घरमा राखेको बेला पुलिसहरू आए । डराएर होला, त्यो घरका मान्छेले ‘यो माओवादीको केटी हो’ भने । त्यसपछि मेरो छातीमा राइफलको कुन्दाले हाने । हान्दै, लुछ्दै त्यहाँबाट मलाई जङ्गलतिर लगे ।
जङ्गलमा खाल्डो खने । मलाई खाल्डोभित्र उभिन लगाएर गोली हान्नै लागेका थिए तर किन हो कुन्नि गोली हानेनन् । उनीहरूले मलाई खाल्डोबाट निकालेर बलात्कार गर्न थाले । ४०–५० जना थिए । म बेहोस भएछु । मलाई प्रहरी चौकी पुर्याएछन् । पछि थाहा भयो ।
मलाई तीन वटा चौकी सारे । प्रहरी चौकी र त्यहाँ बस्ने पुलिसहरू फरकफरक हुन्थे तर मलाई गर्ने व्यवहार भने सबैको उस्तै हुन्थ्यो । जुन चौकीमा लग्थे, त्यहीँ बलात्कार गर्थे । न चौकी सार्न छाडे, न बलात्कार गर्न ।
चौकी नै पिच्छेको बलात्कार, उनीहरूको पिटाइ, टोकाइ र यातनाले गर्दा रातभर सुत्न सक्दिनथेँ । रुन्थेँ, कराउँथेँ । ‘रातभर रुन्छे, कराउँछे’ भन्दै उनीहरूले मलाई डाक्टरकोमा लगे । एक जनाले डाक्टरसँग ‘यसलाई जे गरे पनि नदुख्ने सुई लगाइदे’ भन्यो । डाक्टरले पनि खै के सुई लगाइदियो, त्यो दिनदेखि मलाई के दिन के रात भन्ने थाहा हुनै छाड्यो । उनीहरूले मलाई तीन महिनासम्म सुई लगाइरहे ।
मलाई प्रहरीले लगेको एक वर्ष भएको थियो । एक दिन ट्वाइलेट जाँदा हातमा अण्डा जस्तो डल्ला खस्यो । पुरुषहरूले बलात्कार गरेपछि यस्तै डल्ला निस्किन्छ होला भन्ने सोचेको थिएँ । त्यो त मेरो पाठेघर पो रहेछ । सशस्त्र द्वन्द्वका मृतक र बेपत्ताका परिवारले आफ्नो घटना खुलेर राज्यसँग भन्छन् तर हामीमाथि भएको यस्तो बलात्कारको घटना न राज्यले सोध्छ, न सुन्छ ।
घटना ३
नेपालमा द्वन्द्व चर्किरहेको समय थियो । श्रीमान् कमाउन भारत जानुभएको थियो । मलाई नै ‘माओवादीमा जाऊँ’ भन्थे । ‘म बच्चाकी आमा हुँ, जान्नँ’ भन्थेँ । ‘नजाने भए हाम्रो सुरक्षाका लागि सेन्ट्री बस्नू’ भने । म उनीहरूको सेन्ट्री बस्न थालेँ । साँझ घर फर्किन्थेँ । घर जाँदा घाँस पनि लिएर जान्थेँ ।
एक दिनको कुरा हो । मैले घाँस लुछ्दै गर्दा पछाडिबाट आर्मीहरू आएछन् । उनीहरूले मलाई ‘को हो’ भनेर सोधे । मैले ‘घाँस लुछेको’ भनेँ । उनीहरूले मलाई पछाडिबाट दुई स्वाँठ हाने । त्यसपछि मलाई केके गरे थाहा भएन, बेहोस भएछु ।
भोलिपल्ट बजारमा दुध पुर्याउने मान्छेले मलाई देखेर उठाएछन् । मेरो खुन बगिरहेको थियो रे । सामान्य मेडिकलमा उपचार गराएर नहुने देखेछन् । त्यसपछि आफन्तहरूले खर्च जुटाएर मलाई ठुलो अस्पतालमा लगेछन् । तीन दिनपछि मेरो होस आएछ । होसमा आउँदा शरीरभरि नीलडाम थियो, लगाएको कपडामा खुनैखुन ।
मलाई पाँच दिन उपचार गरेपछि हामी घर फर्कियौँ । तर, पाठेघरको समस्या अहिले पनि उस्तै छ । यो घटना श्रीमान्लाई पनि भनेको छैन । वास्तविक घटना भन्यो भने घर बिग्रिन्छ भनेर श्रीमान्लाई भन्ने आँट गर्न सकिनँ ।
यस्तो घटना मलाई मात्र होइन, छोरीलाई समेत भयो । मेरो घटना भएकै सालको दशैँको कुरा हो, माइली छोरी वनमा पिङ खेल्न गएकी थिई । साँझसम्म पनि घर फर्किन । अहिले जस्तो फोन थिएन । छोरी आउली भन्दाभन्दै तीन दिनसम्म आइन ।
जङ्गल नजिकै मान्छे बस्न छोडेको तर गाईगोरु राख्ने घर थियो । त्यहाँ वस्तुलाई घाँस हाल्न गएका मान्छेले मेरो छोरी र अरू दुई जना नानीहरूलाई देखेछन् । उनीहरूले हामीलाई खबर गरे, हामी गयौँ । १२ गते वन गएकी छोरीसहित अरू सात जना केटीलाई माओवादीले दिनभरि जङ्गल डुलाएर राति छोडुवा घरमा ल्याएर बलात्कार गरेका रहेछन् । यो कुरा भागेर घर आएका छोरीका साथीहरूले भने । मेरो छोरी र अरू दुई जनालाई बलात्कार गरेर फालेका रहेछन् । शरीरभरि खुन, च्यातिएका कपडा र शरीरभरि नीलडाम भएको अवस्थामा भेटेकाले छोरीलाई उपचार गर्न मेडिकल लग्यौँ । छ दिनपछि छोरीको मृत्यु भयो ।
अहिले त म बुढी पनि भइसकेँ । मेरो पाठेघरमा समस्या छ । उपचारका लागि धेरै सङ्घसंस्थाले सहयोग गरेका छन् तर पनि राम्रोसँग सञ्चो भएको छैन । द्वन्द्वकालमै मैले छोरी गुमाउनुपर्यो । म आफूमाथि र छोरीमाथि भएको घटनाको पीडा शरीर र मनभरि बोकेर बसेको छु । अहिले उमेरले पनि बुढी भइसकेँ । अब त झन् हाम्रो कुरा कसले पो सुन्छ र ?
यी त प्रतिनिधिमूलक घटनाका सङ्क्षिप्त अभिव्यक्ति मात्र हुन् । भुक्तभोगी महिलाहरू आँट जुटाएर बोलिरहेका छन् । राज्यले सुरक्षित वातावरण बनाउने र उनीहरूको गोपनीयता कायम राख्ने हो भने देशभरिबाटै महिलाहरू आआफूमाथि सशस्त्र द्वन्द्वका बेला भएका घटनाहरू बोलेर, लेखेर अगाडि आउन तयार छन् । यसका लागि राज्य गम्भीर भएर विनापूर्वाग्रह यौनजन्य हिंसाका पीडा र प्रताडनालाई सुन्न तयार हुनुपर्यो । सुनेपछि महिलाहरूलाई न्यायको अनुभूति हुने वातावरण र राहत पनि दिनुपर्यो । राज्यले यस्ता घटनामा सार्वजनिक रूपमा क्षमा मागेर राज्यबाट गल्ती भएको स्वीकार गर्न सक्नुपर्छ । खुलेर आउने र खुल्न नसकेका महिलालाई बोल्नसक्ने वातावरण बनाउनुपर्छ । अनि, उनीहरूलाई आत्मसम्मानसहितको न्यायको अनुभूति गराउन राज्य तयार हुनुपर्छ । यो आजको जल्दोबल्दो आवश्यकता हो ।
मरेर पनि बाँचेको जीवन ‘साहसका गाथाहरू’ -१
सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ? ‘साहसका गाथाहरू’ – २
सन्धान प्रकाशन मिति : २०७९ असार ६ गते, सोमवार