Home Stories मरेर पनि बाँचेको जीवन

मरेर पनि बाँचेको जीवन

1039
0

‘साहसका गाथाहरू’ -१

‘सन्धान’ ले आज नेपाली महिलाले १० वर्षे सशस्त्र द्वन्द्वका बेला भोगेका हिंसा र त्यो हिंसाजन्य पीडालाई पेलेर बहादुरीसाथ जीवन बाँचिरहेका साहसी महिलाहरूका वास्तविक कथा साभार गरेको छ । प्रस्तुत छ, द स्टोरी किचेनद्वारा २०७४ सालमा प्रकाशित ‘साहसका गाथाहरू’ नामक कथा सङ्ग्रहमा प्रकाशित ११ जीवनगाथामध्ये ‘मरेर पनि बाँचेको जीवन’ शीर्षकको जीवनगाथा :

नेपालमा २०५२ देखि २०६३ सालसम्म नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबिच सशस्त्र द्वन्द्व भयो । त्यो सशस्त्र द्वन्द्वको समयमा धेरै महिलाले बलात्कार तथा यौनजन्य हिंसा भोगे । यस्ता घटनाको अहिलेसम्म कुनै आधिकारिक तथ्याङ्क नै छैन । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनाहरूको छानबिन र सम्बोधनका लागि २०७१ सालमा दुई वटा आयोग गठन गरियो । ती हुन्, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग । गठन भएको आठ वर्ष बितिसक्दा पनि यी आयोगहरूले पीडितका पक्षमा खासै काम गर्न सकेका छैनन् । पीडितले पनि यी आयोगबाट कुनै उपलब्धि हासिल गर्न सकेका छैनन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अनुसार, झन्डै ६८ हजार घटना दर्ता भएका छन् । तीमध्ये करिब तीन सय वटा घटना द्वन्द्वकालीन यौनजन्य हिंसा र बलात्कारसँग सम्बन्धित रहेका छन् । अहिले दुवै आयोगहरूको ऐन संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पीडित तथा प्रभावितहरूसँग परामर्श पनि सुरु गरेको छ ।

सन् २०१५ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन १९ लाई द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for the Elimination of Sexual Violence in Conflict) को रूपमा सम्झना गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि विश्वभरी नै जुन १९ लाई द्वन्द्वमा हुने यौनजन्य हिंसाविरुद्धका कार्यक्रमहरू गरेर सम्झने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी पीडित तथा प्रभावित महिलाहरूको सत्य, न्याय, परिपूरण र आत्मसम्मानका लागि आवाज बुलन्द गर्न हरेक वर्ष यो दिनलाई सम्झना गर्ने गरिएको छ ।

यसै सन्दर्भमा ‘सन्धान’ ले आज नेपाली महिलाले १० वर्षे सशस्त्र द्वन्द्वका बेला भोगेका हिंसा र त्यो हिंसाजन्य पीडालाई पेलेर बहादुरीसाथ जीवन बाँचिरहेका साहसी महिलाहरूका वास्तविक कथा साभार गरेको छ । प्रस्तुत छ, द स्टोरी किचेनद्वारा २०७४ सालमा प्रकाशित ‘साहसका गाथाहरू’ नामक कथा सङ्ग्रहमा प्रकाशित ११ जीवनगाथामध्ये ‘मरेर पनि बाँचेको जीवन’ शीर्षकको जीवनगाथा :

मलाई अक्षरमा शक्ति हुन्छ भन्ने थाहा थियो । छरछिमेकमा पढेका मान्छेले पाएको सम्मान, उनीहरूको चेतनाको स्तरबाट मैले त्यो कुरा बुझेकी थिएँ । त्यो सम्मान पाउन र आफ्नो चेतनाको स्तर बढाउन म धेरै पढ्न चाहन्थेँ तर सशस्त्र द्वन्द्वले मेरो त्यो पढ्ने इच्छा पूरा हुन दिएन । ज्यान जोगाउनै मुस्किल थियो ।

आफ्नो ज्यान जोगाउनकै लागि भए पनि मैले विवाह गरेँ । तर विवाहपछि झनै गाह्रो भयो । मैले विवाह गरेर गएको ठाउँमा त ढुङ्गामाटो पनि माओवादी हुन्छ भन्दै झनै सेनाले हामीलाई सताउन थाल्यो ।

वि.सं. २०६२ जेठ २८ गतेको साँझको कुरा हो । म १८ वर्ष पुगेकी थिइनँ । म औषधि गरेर घर फर्कंदै थिएँ । त्यतिबेला सेनाले गाउँ नै घेरा हालेको रहेछ, मलाई थाहा थिएन । जङ्गलको छेउमा मेरो घर थियो । घर नपुग्दै सेनाको २५/३० जनाको समूहले मलाई घेरिसकेको रहेछ । त्यसपछि उनीहरूले मलाई माओवादीको आरोप लगाएर बलात्कार गरे । टाउकोमा र देब्रेपट्टि छातीमा गोली हाने । लागेको गोली ढाडबाट निस्कियो । म बेहोस भएर लडेछु । उनीहरूले मलाई मरी भनेर खेतमा फालेर हिँडेछन् ।

मलाई पनि बाँच्छु भन्ने आशै थिएन तर श्रीमान् र घरपरिवारको सहयोगमा म बाँचेँ । मलाई फेरि सामान्यसँग हिँडडुल गर्न तीन वर्ष लाग्यो ।

आमा बुबाले खोज्दै आउँदा खेतमा भेटेर भोलिपल्ट घर लानुभएछ । तीन दिनपछि मेरो होस खुल्यो । होस आउँदा मेरो साथमा श्रीमान् र आमा बुबा हुनुहुन्थ्यो । म उभिन सक्ने अवस्थामा थिइनँ । उहाँहरूले मेरो माया मार्नुभएको रहेछ । मलाई पनि बाँच्छु भन्ने आशै थिएन तर श्रीमान् र घरपरिवारको सहयोगमा म बाँचेँ । मलाई फेरि सामान्यसँग हिँडडुल गर्न तीन वर्ष लाग्यो ।

त्यसपछि मैले मेरो रोकिएको पढाइ सुरु गरेँ । सरहरूले मेरो उमेर धेरै भएको भन्दै कक्षामा भर्ना गरिदिनै मान्नुभएको थिएन । तर मेरो जिद्दीको अगाडि उहाँहरूको केही लागेन । म विद्यालयमा पढ्न थालेँ । २०६७ सालमा सेकेन्ड डिभिजनमा एस.एल.सी. पास गरेपछि मेरो खुसीको सीमा नै थिएन । मैले दुई महिनाको सन्तान घरमा छोडेर जाँच दिन गएको थिएँ । पास भएपछि सम्झिएँ, मलाई सबै साथीहरूले साथीको ‘व्यवहार’ कहिल्यै गरेनन् । कसैले आमा भने, कसैले हजुरआमा तर मैले लाज मानिनँ र म सफल भएँ ।

त्यसपछि पनि पढ्ने रहर थियो तर आर्थिक अभावले मैले पढ्न सकिनँ । अहिले पनि मेरो पढ्ने चाहना छ । यदि सरकारले मेरो शिक्षामा लगानी गर्ने हो भने म पढेर शिक्षक बन्न चाहन्छु । म यसरी बोल्ने, हिँड्ने कहिल्यै गरेको थिइनँ । एकपटक काठमाडौँमा द स्टोरी किचेनले म जस्तै दिदीबहिनीहरूसँगै कथाशालामा सहभागी हुने अवसर जुराइदियो । त्यसपछि म मात्रै रहेनछु भन्ने लाग्यो । अनि म जिल्ला फर्र्किएँ । मैले अहिले मेरो जिल्लामा आफू जस्तै पीडामा परेका दिदीबहिनीलाई सङ्गठित गर्ने काम गर्दैछु ।

द्वन्द्वका बेलामा हामी महिलाले जे भोग्न बाध्य भयाैँ, त्यसमा हामी महिलाको केही दोष थिएन भन्ने कुरा सरकारले भन्नुपर्‍याे । सरकारले हामी महिलासँग सार्वजनिक रूपमा क्षमा माग्नुपर्‍याे ।

द्वन्द्वका बेला मेरो श्रीमान्ले पनि यातना पाउनुभएको थियो, जसले गर्दा हाम्रो परिवार चलाउन नै हम्मेहम्मे छ । द्वन्द्वका बेलामा हामी महिलाले जे भोग्न बाध्य भयाैँ, त्यसमा हामी महिलाको केही दोष थिएन भन्ने कुरा सरकारले भन्नुपर्‍यो । सरकारले हामी महिलासँग सार्वजनिक रूपमा क्षमा माग्नुपर्‍यो । द्वन्द्वका बेला बलात्कार, यौनहिंसा र यातनामा परेका म जस्ता धेरै महिलाहरू छौँ । हामीलाई पनि द्वन्द्वपीडितको परिभाषामा राख्नुपर्‍यो । म मात्रै हैन, हामी जस्ता द्वन्द्व प्रभावित महिलाको लागि सरकारले आत्मसम्मानसहित परिपूरणको व्यवस्था गर्छ भन्ने आशा गरेकी छु ।

(नाम र ठेगाना गोप्य)

प्रकाशन मिति : २०७९ जेठ २५, बुधवार ।