Home Stories सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?

सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?

907
0

‘साहसका गाथाहरू’ – २

द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for the Elimination of Sexual Violence in Conflict) जुन १९ को सन्दर्भमा ‘सन्धान’ ले गत हप्तादेखि नेपालमा भएका सशस्त्र द्वन्द्वकालीन यौनजन्य हिंसा र बलात्कारसँग सम्बन्धित सामाग्रीहरू प्रस्तुत गर्दै आएको छ । यसै क्रममा ‘सन्धान’ ले ‘द स्टोरी किचेन’ द्वारा २०७४ सालमा प्रकाशित ‘साहसका गाथाहरू’ शीर्षक कथा सङ्ग्रहमा रहेको मेरो के गल्ती थियो ? जीवनकथालाई साभार गरेको छ । द्वन्द्वका बेला भोगेका हिंसालार्ई पेलेर बहादुरीसाथ जीवन बाँचिरहेका एक साहसी महिलाको यो जीवनकथालाई हामीले ‘सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?’ शीर्षक दिएका छौँ । प्रस्तुत छ, ‘साहसका गाथाहरू’ शृङ्खलाको दोस्रो गाथा :

त्यो घटना हुँदा म १३ वर्षकी मात्र थिएँ । बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको त चामल पनि बिक्दैन भने जस्तै म नबोली बसेको भए मैले मेरो यो कुरा कहिल्यै भन्दिनथेँ होला । तर, आफ्नो कुरा भन्न आज साहस जुटाएकी छु ।

मेरो गाउँमा हाट बजार लाग्थ्यो । म र अरू दुई जना साथीहरू त्यो हाट बजार हेर्न भनेर दुई–चार घण्टा हिँडेर तलसम्म गएका थियौँ । त्यहाँ माओवादीहरूको कार्यक्रम राखिएको रहेछ । हामीलाई थाहा भएन । फर्कने क्रममा उनीहरूले चारैतिरबाट घेरा हाले । कतैबाट फुत्किन नपाएपछि हामी उनीहरूसँगै जान बाध्य भयौँ ।

रहर नहुँदा नहुँदै, इच्छा नहुँदा नहुँदै कापी र कलम समाउने उमेरमा हामी बन्दुक समाउन पनि बाध्य भयौँ ।

हामीहरूले २०५६ भदौ १५ गतेको बेला बाढी, खोलानाला, रातबिरात केही पनि भनेनौँ । खाली खुट्टा थिए । कहिले खायौँ, कहिले भोकै हिँड्यौँ । हाम्रो परिवारलाई पनि थाहा थिएन, हामी कहाँ छौँ भनेर । रहर नहुँदा नहुँदै, इच्छा नहुँदा नहुँदै कापी र कलम समाउने उमेरमा हामी बन्दुक समाउन पनि बाध्य भयौँ ।

डेढ महिनासम्म उनीहरूसँगै बाध्य भएर हिँडेपछि हामी तीन जना साथीहरूलाई तीनतिर छुटाए । त्यसपछि उनीहरूले मलाई हातपात गर्दै लतारेर जङ्गलतिर लगे । मलाई शरीरमा लगाएको कपडा खोल्न बाध्य बनाए र बलात्कार गरे । म रोएँ, कराएँ तर मलाई सुनिदिने त्यहाँ कोही भएन ।

बलात्कार गरेपछि मरी भन्ने ठानेर होला मलाई बेवारिसे रूपमा उनीहरूले छोडेर गएछन् । म बेहोस अवस्थामा रहेछु । कताबाट हो मेरो एक जना आफन्त बाटो हिँड्दै गर्दा त्यहाँ आइपुग्नुभएछ र मेरो घर लगिदिनुभएछ । मलाई राम्रोसँग होस आउन तीन दिन लाग्यो । आजकल म त्यो ठाउँमा भुलेर पनि जान्नँ । त्यहाँ पुग्यो कि मलाई घटना याद आउँछ ।

मैले यो घटनाको बारेमा खुलेर भन्ने दिन कहिले आउला जस्तो लाग्छ । त्यस्तो घटना हुनामा मेरो के दोष थियो ? मैले डराएर बस्नुपर्ने किन ? यसको जवाफ मलाई कसले दिन्छ ?

मैले त्यो घटनाको बारेमा पहिलोपटक ‘द स्टोरी किचेन’ का दिदीहरूसँगै भनेकी हुँ । उहाँहरूलाई भनिसकेपछि र कथाशालामा बसेपछि म जस्ता अरू दिदीबहिनीलाई भेटेँ । त्यसपछि मैले पहिचान लुकाएरै भए पनि भन्नुपर्छ जस्तो लाग्यो र काठमाडौँमा आएर यो कुरा भन्ने साहस गरेँ । सशस्त्र द्वन्द्वका बेला हामी महिलालाई भएका यस्ता घटना हामीले जति लुकायौँ हामीलाई त्यति नै पीडा हुँदो रहेछ भन्ने बुझेँ । म र म जस्ता अरू धेरै दिदीबहिनीले भोगेका यस्ता घटनाका बारेमा संसारलाई थाहा दिनुपर्छ ।

‘सन्धान’ ले यसअघि मिति २०७९ जेठ २५ गते ‘साहसका गाथाहरू’ कथा सङ्ग्रहमा प्रकाशित ‘मरेर पनि बाँचेको जीवन’ शीर्षकको जीवनकथा साभार गरी प्रकाशित गरेको थियो ।

प्रकाशन मिति : २०७९ असार ४ शनिवार ।