हात्तीसँगको यात्रा र जङ्गलमा जागिर

Share this :

नेपालका राष्ट्रिय निकुञ्जहरूमा हात्ती चलाउने काम पनि हुन्छ । त्यसमा सेवा प्रवेशका लागि हात्ती माउते पदमा केही दरबन्दी राखिएको हुन्छ । डेढ दशकअघिसम्म त्यो पदमा पुरुषहरूलाई मात्रै भर्ना गरिन्थ्यो । २०६८ सालमा लोकसेवा आयोगले महिलाका लागि आरक्षण प्रणाली सुरु गरेपछि भने महिलाहरूलाई पनि भर्ना गरियो । त्यसभन्दा अघि कुनै महिलाले माउतेको काम गरे वा नगरेको तथ्य भने खुल्न सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका अनुसार, सरकारले पहिलोपटक २०६८ सालमा लोकसेवामार्फत ‘हात्ती माउते पद’ मा आरक्षण छुट्याउँदा सुरुमा छ महिला छनोट भएका थिए । चितवन राष्ट्रिय निकुञ्जमा १५५ जना माउतेमध्ये पाँच जना महिला छन् । पाँचमध्ये तीन महिला निकुञ्जको कसरास्थित हात्तीसारमा र दुई महिला खोरसोरमा कार्यरत छन् ।

चितवन राष्ट्रिय निकुञ्जस्थित हात्तीसारको तथ्याङ्कअनुसार, २०६८ देखि हालसम्म २१ जना महिलाले माउतेका रूपमा काम गरिसकेका छन् । तीमध्ये केहीले बिचैमा यो पेसा छाडे, केहीको मृत्यु भयो भने केही महिलाले जोखिम मोलेर भए पनि यही पेसाको कामलाई निरन्तरता दिँदै आए । तिनैमध्येकी एक हुनुहुन्छ, मीना चौधरी ।

मीनाले इमानदारीपूर्वक काम गर्दै आए पनि कार्यस्थलको वातावरण महिलामैत्री नभएको र विशेष गरी पुरुष सहकर्मीहरूको व्यवहार उचित नभएको अनुभव गर्नुभयो । सेवा अवधि २० वर्ष पुगेपछि थप एक दिन पनि नबस्ने बताउनुभयो । यसबाट थाहा हुन्छ, महिलाका लागि कुनै पनि क्षेत्रको जागिरमा आरक्षण भइसकेपछि विचार पुर्‍याउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, कार्यस्थलको वातावरण ।

सार्वजनिक सेवामा प्रवेश गरेर रुचिपूर्वक काम गरिरहेका महिलाहरू पनि कार्यस्थलको वातावरण महिलामैत्री नभएकै कारण बिचैमा छाड्नुपर्ने अवस्थामा पुग्छन् । स्थायी जागिर, नियमित तलब, पेन्सन आदिको परवाह नगरी जागिर छाड्ने महिलाहरूको पेसागत कथाव्यथा नबुझी सार्वजनिक सेवामा आधारभूत सुधार पनि ल्याउन सकिँदैन ।

कस्तो होला त माउते महिलाको कार्यस्थलको वातावरण र के होला त त्यस्तो विशेष कुरो जसले उनीहरूलाई जागिर छाड्ने मनस्थितिमा पुर्‍याउँछ ? हाकिमदेखि सहकर्मीसम्म पुरुषको बाहुल्य रहेको पेसा र जङ्गललाई कार्यक्षेत्र बनाएर हात्ती चलाउँदै गस्ती गर्नुपर्ने काम कुनै पनि महिलाका लागि कस्तोसम्म हुन सक्छ ?

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित हात्तीसारमा भर्खरै सरुवा भएकी मीना चौधरीको लगभग डेढ दशक लामो अनुभवले पनि यस्ता प्रश्नको उत्तर दिन्छ । उहाँसँग सन्धानकर्मी सरिता पौडेलले पहिलोपटक २०८२ मङ्सिरमा बगई पोस्टस्थित उहाँकै कार्यालयमा भेटेर कुराकानी गर्नुभएको थियो ।

महिलाको दृष्टिकोणबाट गरिएको मीनासँगको कुराकानीमा माउते पेसा, जङ्गलको कार्यक्षेत्र, आफूले चलाउने हात्ती र सहकर्मीहरूको बरव्यवहारसँग जोडिएका पेसागत असमानता र असहज वातावरणका यस्ता सन्दर्भ पनि उजागर भएका छन्, जसलाई हटाएर कार्यस्थलको वातावरणलाई स्वच्छ, मर्यादित र लैङ्गिक भेदभाव तथा हिंसारहित बनाउन सख्त जरुरी छ ।

प्रस्तुत छ, माउते महिलाको पेसागत अनुभव, कार्यस्थलको वातावरण, सहकर्मीहरूको व्यवहार, चुनौती, सिकाइ र साहसमा केन्द्रित रही गरिएको सोही कुराकानीका आधारमा तयार गरिएको मीना चौधरीको स्वकथन :

मेरो नाम मीना चौधरी हो । मेरो जन्म २०३७ साल वैशाख २७ गते खैरहनी नगरपालिका, वडा नम्बर ८, कुमरोज कपियामा भयो । मेरा बुबाको नाम जमुनाप्रसाद चौधरी र आमाको नाम हठनी चौधरी हो । हामी आठ जना दाजुभाइ–दिदीबहिनी छौँ । हामी छ जना छोरीहरूभन्दा पछि दुई भाइहरू जन्मिएका हुन् ।

हामी हुर्कंदै गर्दा हाम्रो समाजमा ‘छोरी अर्काको घर जाने हुन्, घर धान्ने छोरा हुन्’ भन्ने सोच थियो । आमाबुबाले छोरा पर्खिनुभयो । हामी छोरीहरू धेरै दुःख भोग्दै हुर्कियौँ । अन्ततः दुई भाइ जन्मिए, तर छोरा जन्मिँदा आमाको दुध आउन छोड्यो । सायद उमेर बढ्दै गयो, खानपान पनि के पुग्थ्यो र ? भाइहरूलाई लिटो खुवाएर हुर्काएको मलाई याद छ ।

आमाबुबा खेती किसानी गर्नुहुन्थ्यो । सिजनको बेला धान रोप्ने, गोड्ने गर्थ्याै‌ । पढ्न पाउने कुरा भएन । पछि ठुलो भएर आठ महिना जति प्रौढकक्षा पढेँ । मलाई आफ्नो नाम, ठेगाना अलिअलि लेख्न आउँछ । हामी धेरै दिदीबहिनी । छोरीलाई स्कुल पठाउन हुँदैन भन्थे । त्यही भएर दिदी, म र ममुनिको बहिनीले पढ्न पाएनौँ । हामी तीन जनाले पढ्न नपाए पनि पछिका तीन बहिनीहरूलाई हामी दिदीहरूले नै पढायौँ ।

मैले जागिर खाएर पाएको तलबको पैसाले भाइबहिनी पढाएँ । त्यो पैसा मैले उनीहरूको पढाइमा खर्च गर्थें । भाइहरूलाई एसएलसी पास र एउटा बहिनीलाई १२ पास गराएँ । कान्छी बहिनीले त डिग्रीसम्म पढेकी छ । बिहेपछि भने बल्ल मैले आफ्नो लागि सोच्न थालेँ ।

आमा २०६८ साल वैशाखमा बित्नुभयो । त्यो बेला दिदीको बिहे भइसकेको थियो । त्यो भएर घरको जिम्मेवारी सबै मेरो टाउकोमा आयो । भाइबहिनी सानै थिए । बुबा कडा हुनुहुन्थ्यो । रक्सी खाएर पिट्न आउनुहुन्थ्यो । कहिलेकाहीँ साथीको घर गएँ भने त्यहीँ पुगेर पिट्नुहुन्थ्यो । गाली गर्ने, नचाहिँदो नचाहिँदो भन्ने गर्नुहुन्थ्यो । म त जुधिहाल्ने स्वभावकी थिएँ ।

बाल्यकालमा दुःख थियो । आमा बितेपछि भाइबहिनीहरूलाई पकाउने, खुवाउने, वस्तुबाख्रादेखि गाउँका आमाहरूसँग जङ्गलमा घाँस काट्न, दाउरा खोज्न पनि जानुपर्थ्यो । सानी केटी म मात्र हुन्थेँ । अरू सबै बुढी आमाहरू हुन्थे । खर, दाउरा लिएर आउँथ्यौँ ।

ठुलो भएर जागिर खानुभन्दा अगाडि दिदी र म दैनिक ज्यालाको काम गर्न जान्थ्यौँ । दिनको एक सय रुपैयाँ ज्याला पाइन्थ्यो । घरमा पैसा राख्ने सुरक्षित ठाउँ हुँदैनथ्यो । हामीले ज्यालामा पाएको सबै पैसा बुबाले चोरेर रक्सी खाइदिनुहुन्थ्यो । हामी रुन्थ्यौँ ।

ठुलो हुँदै गएपछि म जाँगरिली, साहसिली महिलाको रूपमा चिनिएँ र माउते भएर स्थायी जागिरको काममा मोडिएँ । यो लोकसेवा परीक्षा दिएर मैले हासिल गरेको नयाँ काम हो । माउतेको जागिर मेरो जीवनमै नयाँ मोडको सुरुवात बनेर आयो ।

कोशी टप्पुमा रामगुलाप चौधरी हाकिम हुनुहुन्थ्यो । उहाँ मेरो फुपाको मित हो । फुपूको श्रीमान्‌लाई हाम्रोमा फुपा भन्ने चलन छ । उहाँको साथी रामेश्वर प्रसाद चौधरी राष्ट्रिय निकुञ्जभित्र सौराहाको हात्तीसारको हाकिम हुनुहुन्थ्यो । उहाँहरू दुई जना साथीसाथी हो । मेरो मित फुपाजु रामगुलापले साथी रामेश्वरसँग कुरा गरी मलाई माउतेको आरक्षण कोटामा फर्म भर्न लगाउनुभएको थियो । त्यतिबेला हात्ती चलाउन महिला आउनु दुर्लभ थियो ।

सबै ठाउँमा महिला आउँदा हात्तीसारमा मात्र किन महिला नभएको भनेर सबैले भन्थे । त्यसबेला रामगुलाप चौधरी र रामेश्वरप्रसाद चौधरीको जवाफ हुन्थ्यो रे – कसको छोरी–बेटी ल्याएर मैले जागिर खुवाउनू ? जागिर खान आउनुपर्‍यो नि ! त्यस्तो कुरा हुन थालेको केही समयपछि यहाँ हात्तीसारका लागि पनि लोकसेवामा महिलाको कोटा खुल्यो ।

कोशीटप्पुको त्यो बेलाको हाकिम (रामगुलाप चौधरी) ले मलाई ‘यो केटी जाँगरिलो छ, यसले जङ्गलमा घाँस–खर काट्छ, दाउरा काट्छ, यसलाई ल्याउनुपर्छ’ भन्नुभयो । मलाई त्यसबेला डर लाग्यो र चकित पनि भएँ । उहाँले ‘तिमी हात्ती चलाउन सक्छौ ?’ भनेर सोध्नुभयो । मैले ‘धत् ! म कहाँ त्यत्रो ठुलो हात्ती चलाउन सक्छु र ?’ भनेँ । तर उहाँको जवाफ थियो– हात्ती चलाउन पढेको हुनु पर्दैन र कापी–कलममा लेख्नु पर्दैन । घाँस चिन्न जान्नुपर्छ र हात्ती स्याहारसुसार गर्नुपर्छ ।

हाकिमको कुरा सुनेपछि मलाई हात्ती चलाउने काम गर्न सक्छु जस्तो भयो । त्यसपछि मलाई नागरिकता लिएर हेटौँडा जानुपर्‍यो । पहिले ११० तिरेर हुने ठाउँमा फाराम भर्ने अवधि सकिएकाले मैले डबल दस्तुर २२० रुपैयाँ तिरेर फाराम भरेँ । मैले कहिल्यै नदेखेको ठाउँ हेटौँडा पहिलोपटक पुगेँ । फाराम भरेर फर्किएपछि हामीलाई हात्ती चलाउने तालिम पनि सुरु भयो ।

म बिहानै साइकल चलाएर माइती कपियाबाट सौराहासम्म आउँथे । त्यहाँ मैले हात्तीलाई कसरी बोलाउने, उसलाई कुन घाँस खान मनपर्छ र कुन समयमा बस्न मनपर्छ भन्ने जस्ता कुरा सबै सिकेँ । तालिम र तयारीपछि लोकसेवा परीक्षा भयो । हाम्रो परीक्षा लिन काठमाडौँ र हेटौँडाबाट हाकिमहरू यहाँ आएका थिए ।

परीक्षा दिने बेला मैले रुखमा सजिलै चढ्ने, पौडी खेल्ने, घाँस चिन्ने जस्ता सबै काम गरेँ । परीक्षार्थीहरूले ‘हामी त हुँदैनौँ, तिम्रो नाम निस्कन्छ’ भन्थे । तर, परीक्षा दिएर आएको त्यो रात म डरले सुत्न सकिनँ, किन किन निराश थिएँ ।

पुसको २ गते रिजल्ट आयो । म पास भएछु, त्यो पनि एक नम्बरमा । मसँगै छ जना महिलाको नाम निस्केको थियो । त्यतिबेला चितवनमा तीन जना, कोशीटप्पुमा एक जना र बर्दियामा दुई जना महिलाको नाम निस्केको हो । नाम निस्केपछि फेरि मलाई डर लाग्यो । अब कसरी चलाउने ? सबै जिम्मेवारी मेरो काँधमा आयो भन्ने भयो । २०६८ पुस ६ गते चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा नियुक्ति लिएँ ।

काम सुरु भएपछि हात्ती लिएर घाँस काट्न जानुपर्‍यो । हात्तीमाथि चढेर जङ्गल जाँदा सुरुमा जिउ पूरै हल्लिन्थ्यो । गिलो माटोमा भएको जस्तै गरी सबै हल्लिन्थ्यो । आफैँ अडिएर बस्न कठिन थियो । हात्तीमाथि सहकर्मी छोरामान्छे मात्र हुन्थे, तिनैलाई समातेर आफू नडराई बस्नुपर्थ्यो । चुनौती निकै थियो । जागिर खाँदा बिहे गरेको थिइनँ । पछि रामेश्वरसँगै मेरो बिहे भयो ।

पुरुष सहकर्मीहरू प्रायः ‘आइमाईले हात्ती चलाउन सक्दैनन्, छोरामान्छेलाई त गाह्रो हुन्छ, हात्ती भाग्छ, कहिलेकाहीँ रिस उठ्यो भने आफ्नै मान्छेलाई पनि हान्छ’ भन्थे । छोरीमान्छेलाई उनीहरू कमजोर ठान्थे ।

जतिसुकै चुनौती भए पनि आफ्नो जिम्मेवारीको काम आफैँले गर्नै पर्‍यो । अहिले बानी पर्‍यो, तर सुरुवाती सिकाइ कठिन र साहसिक थियो । मैले बिस्तारै सबै काम सिकेँ । सुरुमा धेरैले मलाई बिगार्ने कोसिस पनि गरेका थिए । मेरो मितबा पर्ने एक जना कोशीटप्पुको हाकिम हुनुहुन्थ्यो । त्यही भएकाले सबैले ‘सरको छोरी हो, अरूभन्दा फरक हो’ भनेर जिस्क्याउने पनि गर्थे ।

अरूले जिस्क्याए पनि म आफ्नो काममा दृढ रहेँ । त्यो बेला म र अर्को एक साथी अविवाहित थियौँ । ती साथीले १० वर्ष काम गरिन् । पछि उनी क्यान्सर रोगले बितिन् । अहिले पनि नेपालमा हात्ती चलाउने महिला छ जना मात्र छौँ । हामी महिलाहरू पहिलेदेखि थोरै थियौँ । सुरुमा ३०–३५ जना पुरुषहरू थिए, खोरसोर र कसरामा ।

हाम्रा लागि पुरुष सहकर्मीहरू सहयोगी थिएनन् । जस्तोसुकै गाह्रो काम पनि हामीले बराबर गर्नुपर्थ्यो । पुरुष सहकर्मीहरू प्रायः ‘आइमाईले हात्ती चलाउन सक्दैनन्, छोरामान्छेलाई त गाह्रो हुन्छ, हात्ती भाग्छ, कहिलेकाहीँ रिस उठ्यो भने आफ्नै मान्छेलाई पनि हान्छ’ भन्थे । छोरीमान्छेलाई उनीहरू कमजोर ठान्थे । पाएसम्म हामीलाई हेपेर बोल्थे र हाम्रो मनोबल गिराउन खोज्थे ।

सहकर्मी पुरुषहरूले जतिसुकै गिराउन खोजे पनि हामी लोकसेवा पास गरेरै आएका थियौँ । लोकसेवाबाट पास गरेर काम सुरु गरेपछि त्यो त्यत्तिकै छोड्न पनि सकिँदैन थियो । सकिनसकी आफूले आफ्नो काम गर्नैपर्थ्यो । एउटा हात्तीलाई तीन जना मिलाएर जिम्मा दिइन्थ्यो । सुरुमा मैले पोथी हात्ती चलाएँ ।

हाम्रो तलब त्यसबेला आठ हजार रुपैयाँ थियो । पछि तलब बढ्दै गयो । १० हजार, १८ हजार, हुँदै अहिले ३४ हजार पुगेको छ । सञ्चयकोष काटिन्छ । अहिले म कसरास्थित हात्तीसारमा कार्यरत छु । यसअघि म चितवन राष्ट्रिय निकुञ्जको माडी क्षेत्रसँग जोडिएको बगई पोस्टमा कार्यरत थिएँ । बगई पोस्टमा कार्यरत १७ जना माउतेमध्ये म एक जना मात्रै महिला थिएँ ।

म हजार रुपैयाँको नोटमा भएका राम–लक्ष्मणकी आमा देवीकली हात्तीको माउते हो । उसले अहिलेसम्म छ वटा बच्चा पाइसकी । अब बुढी पनि भई । उसको रेखदेखमा म करिब १० महिना एक्लै भएँ ।

जङ्गलको बिच अनकन्टार ठाउँ, एक्लै हात्ती चराउन जाने । २०–२५ मुठा घाँस काट्ने, बाँध्ने र ल्याउने । सबै काम आफैँ गर्नुपर्थ्यो । आफूले चलाउन जिम्मा पाएको हात्तीलाई आफैँले दाना खुवाउने हो । एक्लै हुँदा साह्रै गाह्रो हुन्छ । दुई जना हुने हो भने अलि सजिलो हुन्थ्यो जस्तो लाग्छ ।

अर्कोतिर मेरो सानो छोरी छ, जम्मा ११ वर्षकी । उसको रेखदेख पनि मैले गर्दै आएको छु । म हजार रुपैयाँको नोटमा भएका राम–लक्ष्मणकी आमा देवीकली हात्तीको माउते हो । उसले अहिलेसम्म छ वटा बच्चा पाइसकी । अब बुढी पनि भई । उसको रेखदेखमा म करिब १० महिना एक्लै भएँ ।

हाम्रा लागि मुख्य चुनौती भनेको काममा समान व्यवहार नपाउनु हो । बढी उमेर भएको पोथी हात्ती लिएर गस्तीमा जङ्गलजङ्गल जानुपर्छ । पुरुष माउतेहरू भने छ–सात वर्षको बच्चा हात्ती लिएर जान्छन् । मैले चलाउने उमेर धेरै भएको पोथी हात्ती उनीहरूले चलाउने बच्चा हात्ती सँगसँगै हिँड्न सक्दैन ।

उमेर र अवस्थाका कारण हात्ती नै नहिँडेपछि मैले हात्तीलाई कसरी धकेल्नु ? उमेर बढी भएको पोथी हात्ती छिटो थाक्ने हुन्छ । त्यही भएकाले त्यसलाई रेखदेख गर्न पनि मैले थप मेहनत गर्नुपर्छ । बुढो हात्तीलाई सम्हाल्न गाह्रो छ । बिरामी पनि परिरहन्छ । यसैले रातदिन स्याहार गर्नुपर्छ ।

चितवनको सौराहा र कसरामा पनि पोस्ट छ । तर, मलाई मात्र घरबाट यत्रो टाढा अनि उमेर धेरै भएको पोथी हात्ती दिएर बगई पठाइयो । त्यस्तो हात्ती चलाउँदा धेरै समस्या हुन्छ । बच्चा हात्ती सरह ऊ हिँड्न सक्दैन । पछि परेको हुन्छ । त्यस्तो बेला पुरुष सहकर्मीहरूले ‘धकेल धकेल’ भनेर जिस्क्याउँछन्, हेपेर भन्छन् ।

उमेर र अवस्थाका कारण हात्ती नै नहिँडेपछि मैले हात्तीलाई कसरी धकेल्नु ? उमेर बढी भएको पोथी हात्ती छिटो थाक्ने हुन्छ । त्यही भएकाले त्यसलाई रेखदेख गर्न पनि मैले थप मेहनत गर्नुपर्छ । बुढो हात्तीलाई सम्हाल्न गाह्रो छ । बिरामी पनि परिरहन्छ । यसैले रातदिन स्याहार गर्नुपर्छ ।

एकै जनाले रातदिन हात्तीको स्याहार गर्नुपर्दा माउतेको आफ्नै स्वास्थ्यमा पनि असर पर्छ । हात्तीप्रति माउतेको भावनात्मक सम्बन्ध बलियो हुन्छ । त्यही भएकाले उसलाई दुखेको, कमजोर भएको देख्दा हामीलाई पनि राम्रो लाग्दैन । उमेर बढेसँगै हात्तीको व्यवहार पनि अनियमित हुन्छ । अचानक डराउने, झर्किने गर्छ ।

हात्तीले अचानक डराउने, झर्किने गरेको बेला हाम्रो प्रतिक्रिया ढिलो भयो भने नियन्त्रण गुम्ने खतरा बढ्छ । त्यस्तो अवस्थामा माउतेको ज्यान नै जोखिममा पर्न सक्छ । बुढी हात्तीलाई विशेष आहार, कम दुरी र आराम गर्ने समय चाहिन्छ ।

निकुञ्जको संरक्षण नीति नहुँदा अहिले माउते आफैँले सबै जिम्मेवारी बोकेका छन् ।

यो पेसामा मैले विनाकसुर दुःख पाएको छु । दुई महिनाको लागि भनेर २०८१ चैत ४ गते मलाई चितवन राष्ट्रिय निकुञ्जको माडी क्षेत्रमा पर्ने बबई पोस्टमा पठाए । एक वर्ष हुन लागिसक्दा पनि सरुवा गरिएन । सरुवाका लागि कुरा उठाइरहेको छु । यहाँ बस्ने घरमा टिनको छाना र काठको फलेक छ, चिसो ज्यादै छ । बिहान १०–११ बजेसम्म हुस्सु परेको पानी घरभित्र खस्छ ।

प्रशासनका कर्मचारी भने राम्रो बिल्डिङ वा आरसिसीको घरमा बस्छन् । म मात्र तीन वटा कोठा भएको एउटा घरमा एक्लै बस्छु । भित्र ट्वाइलेट पनि छैन । ट्वाइलेट जानुपर्‍यो भने बाहिर निस्कनुपर्छ । जङ्गलभित्रै पोस्ट भएकाले बाघ र जङ्गली हात्तीको डर हुन्छ । जङ्गलमा मान्छेभन्दा पनि जनावरकै बढी डर हुन्छ । १७ जनाको समूहमा म एउटी महिला हुँदा कति गाह्रो हुन्छ, तपाईं आफैँ बुझ्न सक्नुहुन्छ ।

एकदिन बिहानै हामी नियमित ‘गस्ती’ मा गएका थियौँ । त्यो २०८२ असार ६ गतेको दिन थियो । गस्ती गर्नु भनेको निकुञ्जमा वन्यजन्तुको चोरी सिकारलगायत अन्य अवैध गतिविधि नियन्त्रण गर्न, अनुसन्धान र अनुगमनका लागि खटिनु हो । त्यसका लागि हात्ती ‘लाइफलाइन’ नै हो । विनाहात्ती निकुञ्जको व्यवस्थापन चुनौतीपूर्ण छ ।

हात्तीलाई संरक्षण र चोरी सिकार नियन्त्रणसँगै गैँडा गणना गर्दा अप्ठ्यारो ठाउँमा क्यामेरा जडान गर्न प्रयोग गरिन्छ । मानिस जान नसक्ने दलदले जमिन भएको ठाउँमा जान पनि हात्ती नै प्रयोग गरिन्छ । कहिलेकाहीँ नेपाली सेनाको संरक्षणमा खटिएको टोलीसँग सहकार्य गर्दा पनि हात्ती नै प्रयोग गर्नुपर्छ ।

अब गस्तीमा गएको त्यो दिनको कुरा भन्छु । पानी परेकाले मोबाइल फोन पनि घरमै छोडेकी थिएँ । त्यो दिन नेपाली सेनाका सिनियर सर पनि जानुभएको थियो । सेनाले पहिला माछा मार्न गएका दुई जनालाई समात्न खोज्यो तर उनीहरू भागे । त्यसपछि अर्को दुई जनालाई समातियो । दिउँसोको ३ बजेको थियो । सेनाको पोस्ट नजिकै आउँदै थियो ।

सेनाले ती समातिएका व्यक्तिलाई हिँडाउँदै लैजान्छौँ, तपाईं बिस्तारै आउनुहोस् भनेर गए । गस्तीमा अन्य हात्तीहरू पनि थिए । मैले सँगै गएका अरू माउतेहरूलाई पखर्नुहोस्, मेरो हात्ती बुढी भएकाले छिटो हिँड्न सकेको छैन भनँे तर उनीहरूले मलाई सुन्दै सुनेनन् र जङ्गलमा एक्लै छोडिदिए ।

हात्तीले सही बाटो जान खोज्दा पनि मैले नै विपरीत बाटो लगेको रहेछु । साथमा मोबाइल पनि थिएन । म अलमलमा परेँ । त्यो रात हात्तीमाथि जङ्गलमै बिताएँ । रातभरि हात्तीमाथि नै बसेँ । आजको रात नै जीवनको अन्तिम रात हुने होला भन्ने लागिरह्यो ।

मैले अरू हात्ती देखिने ठाउँसम्म त पिछा गरेँ । त्यहीबेला मलाई पिसाब लाग्यो, अनि हात्तीलाई ‘बैठ, बैठ’ भन्दै बल्लबल्ल बसाएँ र ओर्लिएँ । बुढो हात्ती एकै पटकमा बस्न पनि मान्दैन । पिसाब फेरेर फर्किंदा साथीहरूले छोडेर गएछन् । मैले बाटो पत्ता लगाउनै सकिनँ । पहिलेपहिले बुढापाकाले जङ्गलमा बिर्सिने झार हुन्छ, त्यो झार छोयो भने बाटो बिर्सिन्छ भन्थे । मलाई पनि साँच्ची नै अलमल भयो ।

म हाम्रो पोस्ट भएको ठाउँतिर जान सकिनँ, अर्को बाटो लागेछु । डाँडा, ढुङ्गा, सुख्खा खोला सबै सामना गर्दै अघि बढेँ । पछि थाहा भयो, हात्ती पोस्टतिरै जान खोजेको रहेछ तर मैले उसलाई आफ्नो तालमा हिँडाएछु । हात्तीले सही बाटो जान खोज्दा पनि मैले नै विपरीत बाटो लगेको रहेछु । घाम डुबिसकेको थियो, पानी परेको थियो, साथमा मोबाइल पनि थिएन । म अलमलमा परेँ ।

हात्तीबाट झरेर पानी खाएँ, फेरि हात्तीमा चढेँ । त्यो रात हात्तीमाथि जङ्गलमै बिताएँ । रातभरि हात्तीमाथि नै बसेर हात्तीलाई हिँडाएँ । आजको रात नै जीवनको अन्तिम रात हुने होला भन्ने लागिरह्यो । घरमा भएकी सानी छोरीलाई सम्झेर मन पोल्थ्यो । मनमनै बनदेवी र सँगै भएको देवीकली हात्तीसँग प्रार्थना गर्थें- देवीकली, जङ्गलमा छु, आज तपाईकै‌‌ हातमा हो । मलाई मारे पनि ठिक छ, बाँचे पनि ठिक छ, मेरा घर परिवारको ख्याल राख्नू !

हात्ती पनि निकै तिर्खाएको थियो । बिहान भएपछि हात्तीबाट ओर्लिएँ । हात्तीमाथिको डसना खोलिदिएँ र सालको रुखमा अडेस लाएँ । तिर्खाएको हात्ती पानी खोज्न निस्कियो । त्यसपछि हात्तीसँग पनि मेरो साथ छु्ट्यो । हिँड्दा हिँड्दा मेरो खुट्टा फाट्यो तर साहस रोकिएन । निकै पर पुगेँ । बाटोमा नियमित गस्तीमा हिँडेका सेनाहरूसँग मेरो भेट भयो ।

हात्ती बुद्धिमान प्राणी हो तर कहिलेकाहीँ रिसाउँछ । रिसाउँदा आँखाले तरेर हेर्छ, कान ठाडो बनाउँछ । दाना खुवाउने बेलामा पनि कहिले रिसाउँछ । हामीले हात्तीको भाषा बुझ्नै पर्छ । कहिलेकाहीँ हात्ती दलदलमा गएर फस्न पनि सक्छ । उसलाई फस्न नपाओस् भनेर ‘देख !’ भन्नुपर्छ । माउतेले भन्यो भने हात्ती सतर्क हुन्छ ।

सेनाहरूले मलाई सरकारी ड्रेसमा भएको देखेर पहिचान गरे । अनि मेरो कुरा थाहा पाएपछि म कार्यरत बबई पोस्टमा खबर गरिदिए । म त एक रात जङ्गलमै बसेकी, हात्तीमाथि ठुला बोरा, हँसिया र लौरा लिएर । मैले कुनै पनि परिस्थितिमा डर नमान्ने साहस देखाएको कुरा पोस्टमा आएपछि सबैले थाहा पाए र अचम्म माने ।

म दिउँसो ३ बजे बल्ल पोस्टमा पुगेँ । हात्ती भने साँझ ७ बजे आफैँ बाटो पहिचान गरी कसरा पुगेछ । त्यो बेला मलाई दुई हप्ता आराम गर्न भनेर बिदा दिइएको थियो । त्यसरी बिदा पाएर घरमै बस्दा पनि मलाई रातभर निद्रा आएन ।

हात्ती बुद्धिमान प्राणी हो तर कहिलेकाहीँ रिसाउँछ । रिसाउँदा आँखाले तरेर हेर्छ, कान ठाडो बनाउँछ । दाना खुवाउने बेलामा पनि कहिले रिसाउँछ । आफ्नै हात्तीसँग डराउनुपर्छ । कहिले अटेरी गर्छ । हामीले हात्तीको भाषा बुझ्नै पर्छ । कहिलेकाहीँ हात्ती दलदलमा गएर फस्न पनि सक्छ । उसलाई फस्न नपाओस् भनेर ‘देख !’ भन्नुपर्छ । माउतेले यसो भन्यो भने हात्ती सतर्क हुन्छ ।

मैले पहिलो पटक २०६८ सालमा उमाकली हात्ती चलाएकी थिएँ । त्यो मर्‍यो । त्यसपछि त्यसकै बच्चा लक्ष्मणगन्जलाई चलाएँ । त्यसबेलाको हात्ती सानो थियो, ६–७ वर्षको । डेढ वर्ष जति त्यससँग बसेँ । एक दिन, त्यो हात्तीले दुइटा खुट्टा उठाएर मलाई हान्न खोज्यो । त्यसपछि म भागेँ ।

अर्को हात्तीको माउते साथीले देखेर ‘नभाग्नू, नभाग्नू’ भन्दै गएर त्यो हात्तीलाई बसालिदिए । म त्यसैमा चढेर पोस्ट फर्किएँ । पोस्टमा आएपछि ती साथीले ‘म नभएको भए, हात्तीले उहाँलाई मारिदिन्थ्यो’ भनेर हाकिमलाई बताएछन् । त्यसपछि मलाई हात्ती नै परिवर्तन गरिदिएका थिए ।

भाले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसबेला मेरो सानो बच्चा पनि थियो । त्यतिबेलाको हाकिम बुझ्ने भएकाले मलाई अलि सजिलो काम दिइएको थियो । मैले डेढ वर्ष दाना बनाउने र लिदी फाल्ने काम गरेँ । लिदी भनेको हात्तीको दिसा हो । त्यसपछि मलाई रामप्यारे हात्तीमा राखियो । त्यस हात्तीमा दुई जना छोरा मान्छे थिए । काम राम्रो थियो ।

केही वर्षपछि मलाई कसरा सरुवा गरियो । म सँगैका सबै पुरुष साथीहरू फनित गर्थे । म मात्र माउते थिएँ । फनित भनेको दुई जनाको सिनियर हुने पद हो । निकुञ्जभित्रकै सौराहा नजिकै खोरसोरमा चार वर्ष बसेँ, चार महिना कसरा क्षेत्रमा बसेँ । त्यसपछि मलाई र अर्को महिला साथीलाई चितवनको माडीसँग जोडिएको निकुञ्जभित्रको बबई पोस्टमा पुर्‍याइयो ।

कहिलेकाहीँ सहकर्मीहरूबाटै पनि डराउनुपर्ने अवस्था आउँछ । एक पटक खोरसोरमै बस्ने एक महिला साथीको कोठामा एक जना रक्सी खाएको केटा पसेछ । साथीले उजुरी गरिन् । दोषीको जागिर गयो । पछि उल्टै हामीमाथि दोष आयो । ‘यी लेडिजहरू धेरै मात्तिए’ पनि भनियो । मात्तिएको भनेर सजायस्वरूप हामीलाई बबई सरुवा गरिएको रहेछ भन्ने कुरा अलि पछि मात्र थाहा पाएँ ।

सौराहा नजिकै खोरसोर क्षेत्रमा कार्यरत रहँदा मलाई घरबाट आउनजान नजिक थियो । साइकलमा बिहान ४ बजे खोरसोर पुग्थेँ । म पुग्दा कोही उठेका हुँदैनथे । सबै सुतेका हुन्थे । हात्तीले बच्चा जन्माएको बेलामा म राति ड्युटीमा बस्थेँ । बिहान ४ बजे उठेर हात्ती लिएर जङ्गल जानु, साँझ ५ बजे हात्तीलाई खाना खुवाएर फर्किनु अनि त्यसपछि घर आएर फेरि श्रीमान् र छोरीलाई खाना पकाएर खुवाउनु मेरो दैनिकी थियो ।

अहिले म कसरा पोस्टमा छु । यसअघि करिब १० महिना बबई पोस्टमा हुँदा १७ जनाको समूहमा म एक्लो महिला थिएँ । उनीहरू जे मन लाग्यो त्यही बोल्थे । साँझ परेपछि रक्सी खान जान्थे । म भने उज्यालो हुँदै खाना खाएर कोठामा पस्थेँ र ढोकामा चुकुल लगाएर मात्रै बस्थेँ । निकै डर र अत्यास लाग्थ्यो । टिनको छाना, काठले बारेको घर । चिसो सिरेटो चल्ने । जाडोले शरीर काँप्थ्यो, डरले मन ।

तलब पाएपछि केटामान्छेहरू होटलतिर, रक्सी खान जान्थे । म एक्लै बस्थेँ । उनीहरू रक्सी खाएर फर्केर नराम्रो कुरा बोल्थे । म सुनेर पनि नसुनेझैँ गर्थें । छोरीमान्छेका बारेमा केटाहरूको बोली हेपाहा हुन्थ्यो । ‘पाँच मिनेटको मात्र काम छ, पाँच मिनेट भयो भने कामै छैन’ भन्थे । कहिलेकाहीँ रिस उठ्थ्यो । कति सहेर बस्ने ? मौन प्रतिरोध हुन्थ्यो, बोलेर के भन्नु ?

एक दिन त साँच्चै भयो । एक जना सहकर्मीसँग मेरो झगडा पर्‍यो । गस्तीमा लैजाँदा सँगै लगे, फर्किंदा जङ्गलमै छोडिदिए । म राति ७ बजे मात्र बस्ने ठाउँमा पुगेँ । हामी बाघ धपाउन गएका थियौँ । दिउँसो ३ बजेको थियो । मेरो बुढी हात्ती हिँड्न सकेन । अरू माउतेहरूसँग बच्चा हात्ती थिए, छिटो हिँडे । म भने पछाडि परेँ, रात परिसक्यो ।

अर्को पटक पनि नेपाली सेनाको टोलीसहित हामी निकुञ्जको गस्तीमा गएका थियौँ । अरू माउते अगाडि–अगाडि गए । हामी पछाडि । आर्मीले समेत ढिला गर्‍यो भने । मैले ‘तपाईं हतियारसहित हात्तीमाथि हुनुहुन्छ, आत्तिनु पर्दैन’ भनेँ । पछि त्यो माउते सहकर्मीले मलाई ‘अघिल्लो दिन मसँग झगडा गरिस्, त्यसैले छोडेको’ भन्यो ।

हात्तीको व्यवहार अत्यन्त संवेदनशील हुन्छ । कहिल्यै पनि काम छोड्दैन । जङ्गली हात्ती हिँडेको बेला तुरुन्तै पत्ता लगाउँछन् । मानिसको सामान कतै खस्यो भने पनि तुरुन्त थाहा पाउँछ । हात्तीमा चढेपछि उसलाई नियन्त्रण नगर्ने हो भने गन्तव्यसम्म पुर्‍याएरै छोड्छ ।

म विगत १४ वर्षदेखि लगातार यो पेसामा छु । यत्तिको अनुभवमा टेकेर भन्नुपर्दा यो पेसा धेरै चुनौतीपूर्ण र अप्ठ्यारो छ । कतिपय असहयोगी सहकर्मीको व्यवहारदेखि अन्य थुपै्र चुनौतीहरू मैले भनिहालेँ । म स्थायी कर्मचारी हुँ । अस्थायी भएको भए त एकछिन पनि बस्न सक्दिनथेँ ।

नानी पेटमा हुँदा, सुत्केरी अवस्थामा पनि मैले यो पेसाको दुःख सहनुपरेको छ । जङ्गलमा हराउँदा, सबैले मलाई पेसा नै छोड्न सुझाव दिएका थिए । गर्भावस्थामा भात नखाई नखाई पनि हात्तीमा चढेर घाँस काट्न जानुपरेको थियो । आराम गर्न पनि पाइनँ । कहिलेकाहीँ एक्लै हुँदा आँसु झर्छ । फेरि सोच्छु, २० वर्ष पुर्‍याउँछु, त्यसपछि एक दिन पनि बस्ने छैन ।

कहिले गाउँगाउँमा चितुवा देखा पर्छ । बिहान, बेलुका, रात दिन । त्यतिबेला जसरी पनि हात्ती लिएर जान तयार हुनुपर्छ । मलाई लाग्छ, समान काम गरेपछि समान नजरले हेरियोस् । कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति र महिलाको विशेष अवस्थालाई पनि बुझियोस् ! बाँकी त म जस्तोसुकै चुनौतीको पनि सामना गरेर अगाडि बढ्ने साहस राख्छु ।

कानुन र व्यवहार दुबै पक्षबाट हेर्दा माउते पेसामा महिला भएकै कारण कुनै विशेष व्यवस्था गरिएको छैन । पदमा नियुक्त भएपछि तोकिएको जिम्मेवारी जसले ड्युटीमा छ उसैले पूरा गर्नुपर्छ । चाहे महिला होस् वा पुरुष । आरक्षणले प्रवेश सहज बनाए पनि काम आफैँ गाह्रो छ ।

जङ्गल जोखिमपूर्ण क्षेत्र भएकाले सबैलाई सबै ठाउँमा पठाउनुपर्ने अवस्था हुन्छ । सहज ठाउँमा काम गर्न पाए हुन्थ्यो भन्ने चाहना सबैमा हुन्छ । परिस्थितिअनुसार सहजीकरण गरिएको पनि छ । पछिल्लो समय सुरक्षाका कारण सहकार्य गर्ने, एकअर्कालाई सहयोग गर्ने अभ्यासलाई प्राथमिकता दिइएको छ ।

यो मेरो मात्र आवाज होइन, जङ्गलभित्र सङ्घर्ष गरिरहेका सबै माउते महिलाहरूको साझा अनुभूति पनि हो । समान व्यवहार, सुरक्षा र सम्मान पाउनुपर्ने आवाज मेरो व्यक्तिगत चाहना मात्र नभएर हामी महिलाको पेसागत माग पनि हो ।

संस्थागतरूपमा लैङ्गिक विभेद नगरिने भए पनि व्यावहारिक चुनौतीहरू यथावत् छन् । बाघ वा अन्य जङ्गली जनावर देखिएको अवस्थामा महिला–पुरुष नभनी ड्युटीमा रहेको व्यक्ति तुरुन्तै जानुपर्छ । विशेष अवस्थामा बिदा, सहुलियत र सहजीकरण गरिन्छ भने वन्यजन्तु सप्ताहजस्ता अवसरहरूमा सम्मान र प्रोत्साहन पनि गरिन्छ । दरबारसँग प्रत्यक्ष सम्बन्ध हुँदा हात्तीसारेलाई पोसाक, सुविधा र सुरक्षा बढी मिल्थ्यो रे भन्ने सुनेको छु । अहिलेसम्म जोखिमअनुसारको सुरक्षा र प्रोत्साहन दिने संयन्त्र भने बनेको छैन ।

जङ्गल, हात्ती र राष्ट्रिय निकुञ्ज जस्तो जोखिमपूर्ण क्षेत्रमा काम गर्दा जिम्मेवारीबाट कहिल्यै पछि हटिनँ । मेरो पेसागत यात्रा मेरो व्यक्तिगत सङ्घर्षको कथा पनि हो । पुरुषले मात्र गर्न सक्ने भनिएको माउते पेसाभित्र पसेर मैले भोग्नुपरेका डर, असमानता र चुनौतीहरू विशिष्ट छन् । यी महिलाका साझा भोगाइ पनि हुन् ।

म जस्तै माउते महिलाहरूले जोखिम मोलेर गरेको कामले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको छ । यो मेरो मात्र आवाज होइन, जङ्गलभित्र सङ्घर्ष गरिरहेका सबै माउते महिलाहरूको साझा अनुभूति पनि हो । समान व्यवहार, सुरक्षा र सम्मान पाउनुपर्ने आवाज मेरो व्यक्तिगत चाहना मात्र नभएर हामी महिलाको पेसागत माग पनि हो ।

प्रकाशन मिति : २०८२ फागुन २५ गते, साेमवार

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *