मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा वनकरिया समुदायको अस्थायी बस्ती छ । सोही समुदायकी एक युवा अभियन्ता हुनुहुन्छ, सन्तोषी वनकरिया । वनकरिया समुदायको इतिहास हेर्ने हो भने अघिल्लो पुस्तासम्मले जङ्गलमै घुमन्ते जीवन बिताएको देखिन्छ ।
हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)
वनकरियाहरू विगत २२/२५ वर्षदेखि सानोसानो छाप्रो हालेर जङ्गल नजिकै बस्न थाले । उनीहरू नजिकको गाउँघरतिर जाने र आफ्नो बस्तीमा फर्किने गर्थे । त्यही क्रममा मकवानपुरकै पत्रकार प्रताप विष्टले कान्तिपुर दैनिकमार्फत २०५१ साल बैशाखमा उनीहरूको अवस्था सार्वजनिक गर्नुभयो । त्यसपछि सरकारले उनीहरूलाई मुसेधापमा राख्ने व्यवस्था मिलायो । हालको मनहरि गाउँपालिका वडा नम्बर ४ मा रहेको मुसेधाप भन्ने ठाउँमा सामूहिक अस्थायी बसोबासको लागि तत्कालीन सरकारले २० वर्षका लागि जमिन दिएको थियो ।
जिल्ला वन कार्यालय हेटौँडाले २०६२ साल चैत २८ गते २० वर्षका लागि गरेको सम्झौता यही २०८२ चैत २८ गते सकिँदैछ । यो क्षेत्र पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र पर्ने भएकाले पनि सम्झौताको अवधि सकिएपछि आफूहरूलाई हटाउन सक्ने चिन्तामा अहिले यो समुदायका बासिन्दा रहेका छन् । यहाँ सम्झौता गरेर बसेको बाहेक उनीहरूको आफ्नो जग्गाजमिन कहीँ कतै पनि छैन ।
वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
सन्धानले विगत केही वर्षदेखि लोपोन्मुख जाति र समुदायका महिलाहरूको जीवनभोगाइ र दृष्टिकोणलाई सङ्कलन गर्दै आएको छ । यही क्रममा सन्धान टोली २०७९ असारमा वनकरिया बस्ती पुगेको थियो । त्यतिबेला सङ्कलन गरिएको विभिन्न व्यक्तिको जीवनभोगाइ र दृष्टिकोण सन्धानमा प्रकाशन/प्रसारण भइसकेका छन् ।
सन्धानले स्थलगत खोजीका क्रममा भेटेका व्यक्तिहरूमध्ये एक जना सन्तोषी वनकरिया हुनुहुन्छ । उहाँ सो समुदायकी एक युवा अभियन्ताको रूपमा पनि परिचित हुनुहुन्छ । मुसेधाप बस्तीमा बस्न थाल्दा उहाँ १०/११ वर्षकी हुनुहुन्थ्यो । त्यही बस्तीमा बस्न थालेपछि सन्तोषीले कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभयो । उहाँभन्दा अगाडि केहीले जसोतसो पढे पनि एसइई भने उत्तीर्ण गरेका थिएनन् । वनकरिया समुदायमा एसइई उत्तीर्ण गर्ने पहिलो व्यक्ति पम्फा वनकरिया हुनुहुन्छ ।
एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियोसहित)
सन्तोषीले कक्षा ६ पढ्दैदेखि समुदायका सबै बालबालिकालाई आफू सँगसँगै स्कुल लिएर जानेआउने र बिहानबेलुका ट्युसन पढाउने गर्नुहुन्थ्यो । यो काम अहिलेसम्म पनि निरन्तर गर्दै आउनुभएको छ ।
वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल
साथै, सन्तोषीले वनकरिया समुदायको हकअधिकारको लागि विभिन्न खालका प्रयास र पहल गर्नुभयो । त्यस क्रममा उहाँले सङ्घसंस्थामा पुग्नेदेखि नेता र मन्त्रीहरूलाई भेटेर स्थायी बसोबासको व्यवस्था निरन्तर गर्न पनि मुख्य भूमिका निर्वाह गर्दै आउनुभयो । सन्तोषीले कुराकानीका क्रममा भन्नुभएको थियो, “व्यक्तिगत रूपमा मात्रै हेरेको भए त पढेलेखेँ, सहरबजारमै बसेर पनि केही गर्थें होला तर मैले पढेलेखेपछि मेरो समुदायको हकअधिकारका लागि केही गर्नुपर्छ भनेर काम गर्दै आएको छु ।”
अहिलेसम्म उहाँलाई बसोबासको सम्बन्धमा सकारसँग नयाँ सम्झौता गर्ने सफलता भने मिलेको छैन । लोपोन्मुख जाति र समुदायका महिलाहरूको जीवनभोगाइ र दृष्टिकोण सङ्कलन गर्ने क्रममा सन्धान टोली २०७९ असारमा वनकरिया बस्ती पुगेपछि समय समयमा त्यसको अनुगमन पनि गर्दै आएको थियो । यसै क्रममा यही २०८२ चैत २३ गते पनि उहाँसँग कुराकानी भएको थियो ।
पछिल्लो समय ‘सन्धान’ सँग उहाँले बसोबास व्यवस्थाको निरन्तरताका बारेमा चिन्ता प्रकट गर्दै भन्नुभयो, “सम्झौता सकिनँ केही दिन मात्रै बाँकी छ । सरकारले पनि केही भनेको छैन खै अब के हुन्छ ? नयाँ सरकार पनि आएको छ । तर कसरी हामीले भन्ने र ?”
नेपालको आदिवासी जनजाति समूहमा रहेको वनकरिया समुदाय लोपोन्मुखमध्येको एक जाति हो । नेपाल सरकारले २०६८ सालको जनगणामा सबैभन्दा कम जनसङ्ख्या भएका १० वटा जातिलाई लोपोन्मुख जातिमा सूचीकरण गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार वनकरिया जातिको जनसङ्ख्या १८० जना मात्रै छ । सन्तोषी तिनैमध्येकी एक जना, जो सामुदायिक दृष्टिले सचेत पनि हुनुहुन्छ । स्मरणीय छ, मुसेधापका वनकरिया समुदायमा महिलाहरूले नै अगुवाका रूपमा काम गर्दै आएका छन् ।
जङ्गलमा बितेको सन्तोषीको बाल्यकालदेखि मुसेधापस्थित सामुदायिक बस्तीको बसाइ, पठनपाठन र समुदायकै अगुवाका रूपमा काम गर्दाका जीवनभोगाइ र दृष्टिकोण बारेमा ‘सन्धान’ सहकर्मीहरू गार्डिका बज्राचार्य र लक्ष्मी बस्नेतले कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, सन्तोषी वनकरियासँग २०७९ असारमा गरिएको सोही कुराकानीको भिडियो अंश :
वनकरिया समुदायका थप कथाहरू





