चन्दा भवानी महराले घरमा नभए पनि समाजमा घरेलु हिंसा, महिलामाथिको विभेद र हिंसालाई देख्नुभयो, सुन्नुभयो । कतिपय घरमा आफैँ गएर त्यस्ता घटनालाई मिलाउनु पनि भयो । पहिले घर घरमै गएर कुटपिट, हिंसा र विभेदका घटना मिलाउने गर्नुहुन्थ्यो भने अहिले पालिकाको न्यायिक समितिमा रहेर । घटनामा जोडिएका मानिसहरू अहिले समितिमै जाने गर्छन् ।
चन्दा २०७४ सालको स्थानीय निर्वाचनमा दलित महिला वडा सदस्य हुनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि बन्नुभयो । उहाँको जन्म २०४२ सालमा हालको मधेश प्रदेशको महोत्तरी जिल्ला बर्दिवास नगरपालिकामा भएको थियो । चार दशकको उमेर पुग्दा नपुग्दै उहाँले मधेसका पनि दलित महिलाका समस्या घरदेखि समाज र राज्य तहसम्मका संरचनामा के कसरी जरा गाडेर बसेका र महिलालाई डसेका रहेछन् भन्ने चाल पाउनुभयो ।
व्यक्तिगत इतिहास खोतल्ने हो भने कक्षा ८ मा पढ्दै गर्दा १४ वर्षको उमेरमा २१–२२ जनाको संयुक्त परिवारमा चन्दाको विवाह भएको थियो । जन्मथलो र कर्मथलो हालको मधेश प्रदेश नै भए पनि अलिक दुरीमा भएकाले माइती र घरको रहनसहन फरक थियो । माइतीको खुला वातावरणबाट घरको घुम्टोभित्र रहनुपर्ने बन्द वातावरणमा बुहारी भएर भिज्नका लागि उहाँलाई गाह्रो मात्रै होइन, केही समय पनि लाग्यो ।
चन्दाका अनुसार, उहाँलाई आफ्नो माइतीमा घुम्टो हाल्नुपर्छ भन्ने बारेमा त्यति थाहा थिएन । विवाह गरेर कर्मघरमा आएपछि पूरै टाउको मात्र होइन, अनुहारै पनि देखाउन नमिल्ने खालको चलन रहेछ । त्यो उहाँले पनि पालना गर्नुपर्ने परम्परा थियो । पालना गर्न कठिन भए पनि त्यतिबेला उक्त चालचलनमा ढल्नुको विकल्प उहाँसँग थिएन । केही वर्ष ढलेर पनि पछि बिस्तारै उठ्नुभयो ।
घरमा श्रीमान् शिक्षित र बुझ्ने व्यक्ति भएकाले बिहे गरेको केही वर्षपछि भए पनि चन्दाले थप पढ्नेलेख्ने र सामाजिक कार्यमा लाग्ने अवसर पाउनुभयो । श्रीमान्ले सही कुरामा उहाँलाई साथ दिनुहुन्थ्यो । यसैले घर व्यवहार सँभाल्दै चन्दाले विभिन्न सामाजिक संस्थामा आबद्ध हुन पाउनुभयो । संस्थामा आबद्ध भएपछि घुम्टो प्रथालाई हटाउन जनचेतना जगाउने काम पनि पाउनुभयो ।
समुदायमा मानिसलाई आआफ्नो स्वास्थ्य र सरसफाइमा ध्यान दिन, आवश्यक र सही कुरामा आवाज उठाउनका लागि जागरुक बनाउने काम उहाँले गर्नुभयो । लामो समय सामाजिक कार्य गर्दै आएकी उहाँ २०७२ सालको संविधानले व्यवस्था गरेबमोजिम समावेशी सहभागिताका लागि स्थानीय राजनीतितिर पनि लाग्नुभयो । २०७४ सालको स्थानीय निकाय निर्वाचनमा मिर्चैया नगरपालिका वडा नं. ४ बाट नेकपा (माओवादी केन्द्र) को उम्मेदवार बनी दलित महिला सदस्यमा निर्वाचित हुनुभयो ।
मधेसको दलित समाजमा पढे बढेर सामाजिक काममा संलग्न हुँदै राजनीतिमा समेत सक्रिय भएकी स्थानीय जनप्रतिनिधि चन्दासँग दलित र महिला भएर एकसाथ घरदेखि समाज र राज्य संयन्त्रमा विभेदको सामना गरेको अनुभव छ । मधेसी दलित समुदायका महिला लक्षित सामाजिक कार्य र पछिल्लो समय देखिएका फरक प्रवृत्तिका विषयमा जानकारी पनि छ । यसैले उहाँसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८२ साउनमा टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो ।
प्रस्तुत छ, सोही कुराकानीका आधारमा सन्धान सम्पादन समूहबाट तयार गरिएको चन्दा भवानी महराको स्वकथन :

मेरो नाम चन्दा भवानी महरा हो । मेरो जन्म महोत्तरी जिल्ला हालको बर्दिवास नगरपालिका–१०, खैरीमारामा भयो अनि मेरो विवाह सिराहा जिल्लाको हालको मिर्चैया नगरपालिका–४, कुथनामा भयो । मेरो जन्म २०४२ सालमा भएको हो । तीन–चार दशक अगाडि दलित मधेसीका परिवारमा छोराछोरीलाई पढाउने चलन थिएन । मधेसमै पनि पहाडि एरियामा घर भएकाले मैले कक्षा ८ सम्म पढ्न पाएँ । मेरो घरमा सबै छोराछोरीले कक्षा ८, ९, १० सम्म भए पनि पढ्न पाए ।
मेरो उमेर मात्र १४ वर्षको थियो । २०५६ सालमा मेरो विवाह भएर घर आएँ । मेरो श्रीमान् त्यो बेला अङ्ग्रेजीमा बिएड गर्नुभएको थियो । बिहे गरेर आउँदा घरमा २१–२२ जनाको परिवार थियो । संयुक्त बसेको थियो । मधेस नै भए पनि यो भित्री ठाउँ, म जन्मिएर हुर्किएको ठाउँ अलि पहाडिया भएकाले यहाँ आउँदा कता आए कता आए जस्तो भयो ।
हाम्रो माइतीमा आमाले टाउकोमा मात्र सारीको सप्को राख्नुहुन्थ्यो । यहाँ जस्तो घुम्टो ढाक्न नपर्ने । यस्तो देखेको पनि थिएन । बुहारी भएर आउँदा टाउको र अनुहार पुरै घुम्टोले छोप्नुपर्थ्यो । आफूलाई सारी लगाउन पनि नआउने । दुई जना जेठानी, सासू सबैले घुम्टो लगाउने गर्थे । आफूले पनि मुखै छोपेर, साडी सारेर हिँड्नुपर्ने भयो । त्यस्तो गर्नुपर्ला भनेर सोच्दै नसोचेको तर गर्नैपर्यो । यसैले सुरु सुरुमा गाह्रो भयो ।
घरमा श्रीमान्, नन्द, जेठानीबाहेक घरबाहिरका अरू कसैसँग बोल्न पनि नहुने । पहिला घरकै मात्र काममा व्यस्त भइयो । सात बजे रोटी बनाउन बस्यो भने ११ बजेसम्म बनाइरहन पर्ने । हाम्रो घरमा दुई कसौँडी त भातै लाग्थ्यो । खाना बनाउँदा बनाउँदै कहिले त दुई बज्थ्यो । त्यतिबेला घरमा पानी पनि नहुने । घरमा धारा थिएन, बाहिर गएर तस्लामा पानी राखी टाउकामा बोकेर ल्याउनुपर्ने । अहिले घरघरमै धारा छ, घरमै पानीको व्यवस्था छ ।
निर्मला पासवान र धनिकलाल विश्वकर्मा २०५८ सालमा दलित महिला सङ्घसंस्थाबाट एक दिन मलाई खोज्दै घरमा आउनुभयो । त्यतिबेलाको दलित मधेसी महिलामा अलिकति पढेलेखेको छ भन्ने सुनेपछि उसलाई खोजिन्थ्यो किनकि हाम्रोतिर पढेलेखेको अनि नेपाली बोल्न जान्ने महिला त्यति पाइँदैनन्थ्यो । त्यतिबेला घरमा मेरो सासू हुनुहुन्थ्यो ।
निर्मला र धनिकलालले सासूसँग मेरा बारेमा कुरा गर्नुभयो । ‘तपाईंको बुहारी पढेलेखेको छ रे, नेपाली पनि बोल्न आउँछ रे’ भनेर भन्नुभयो । सासूले उहाँहरूलाई ‘के गर्नुपर्ने’ भनेर सोध्नुभयो । उहाँहरूले ‘अफिसमा एक पटक जान दिनु न’ भनेर भन्नुभयो । सासू, ससुराले कुरा नबुझे पनि उहाँहरू मलाई खोज्दै आएको हुनाले ‘एक पटक जानलाई हुन्छ’ त भन्नुभयो तर म एक्लै जान नपाउने ।
म घुम्टो प्रथा हटाउने अभियान चलाउन हिँडेको मान्छे तर त्यतिबेलासम्म म आफैँ पनि घुम्टोमै थिएँ । पूर्णरूपमा मेरो घुम्टो हटेको थिएन । घुम्टो प्रथा हटाउने अभियानमा हिडेँ तर मेरो आफ्नै टाउकोलाई घुम्टोले पूर्णरूपले छोडेको थिएन ।
मलाई जेठानीहरूले लिएर जाने कुरा भयो । घरबाट त्यो अफिसमा उहाँहरूले मलाई लिएर जानुभएको थियो । त्यसपछि म अफिसका विभिन्न कार्यक्रम र तालिममा सहभागी भएर बसेँ । म फेडोको बोर्ड मेम्बर पनि भएँ तर मेरो घरमा भने त्यस्तो थियो । बुहारी भएर एक्लै हिँड्नु हुँदैन भनेर जेठानीहरू पनि मसँगै जाने अवस्था थियो ।
पहिला एक दिनको तालिमबापत त्यो अफिसले पचास रुपैयाँ भत्ता दिन्थ्यो अनि नास्ता दिन्थ्यो । त्यो रकम र नास्ता जेठानीले लिएर आउनुहुन्थ्यो । त्यो हामी सबैले मिलेर खाने, पचास रुपैयाँ दिन्छ भन्ने पनि हुन्थ्यो । त्यसरी घरभित्रबाट जेठानीहरूसँगै निस्किएर अफिसको काम के हो र मैले के गर्नुपर्छ भन्ने कुरा सिकेँ । पहिले पहिले हाम्रो त्यस्तो अवस्था थियो ।
कार्यक्रम र तालिममा त्यतिबेला घुम्टो प्रथा हटाउन पर्छ भन्ने कुरा सिकाउँथे । त्यो कुरा सिकेपछि हामीले त्यसलाई अभियान बनाएर समाजमा पनि लागु गर्न पर्यो । त्यो प्रथा हटाउने आन्दोलनमा पनि जानुपर्ने भयो । यो सबै कुरा र क्रियाकलापपछि यो त राम्रो काम रहेछ भनेर मैले त्यसमा झनै बढी चासो राख्न थालेँ । त्यस्तै काम गर्दै घरभित्रबाट समाजमा गइयो ।
मेरा ससुरा र जेठाजु खेतीपाती गर्नुहुन्थ्यो । बिहे गरेको १० वर्ष जति हामी सबै परिवार सँगै बस्यौँ । पछि सासू बित्नुभयो । त्यसको एक वर्षपछि छुट्टिएर एक्लाएक्लै बस्यौँ । सबै छुट्टिएपछि ससुरा हामीसँगै बस्नुभएको थियो । बिचमा केही समय अफिसको काममा मेरो ‘ग्याप’ भयो । दुई वटा नानीहरू पनि जन्मिए । घरमै उनीहरूको स्याहारसुसारमा व्यस्त भएँ । बच्चाबच्चीहरू हुर्काउँदै थिएँ ।
छोराछोरीहरू चार, पाँच वर्षका हुँदा हाम्रो ठाउँमा साझा पहल भन्ने एउटा कार्यक्रम आयो । म त्यसमा पनि जान थालेँ । त्यतिबेलासम्म पनि घुम्टो प्रथा थियो तर पहिलेको भन्दा कम । मैले पनि अल्लि छोटो गरी घुम्टो हाल्थेँ । यो कार्यक्रम आएपछि मलाई फेरि पढ्न मन लाग्यो । बिहेअघि मैले कक्षा ८ सम्म मात्र पढेको थिएँ । यसैले श्रीमान्लाई जसरी पनि मलाई एसएलसीसम्म पढाइदिन भनेर अनुरोध गरेँ । उहाँले मलाई पढाइ पनि दिनुभयो । त्यसपछि साझा पहलमा चार महिना स्वयंसेवक भएर काम गरेँ ।
म घुम्टो प्रथा हटाउने अभियान चलाउन हिँडेको मान्छे तर त्यतिबेलासम्म म आफैँ पनि घुम्टोमै थिएँ । पूर्णरूपमा मेरो घुम्टो हटेको थिएन । घुम्टो प्रथा हटाउने अभियानमा हिडेँ तर मेरो आफ्नै टाउकोलाई घुम्टोले पूर्णरूपले छोडेको थिएन । घरबाट निस्कँदा घुम्टोले टाउको छोपेको हुन्थेँ तर समूहमा म त्यो घुम्टो फालेरै जान्थेँ । पछि कार्यक्रम भइरहँदा यसमा धेरै परिवर्तन आएको थियो ।
सन् २०१४ पछि समाजमा अलिअलि परिवर्तन हुँदै आयो । मैले पनि साडी लगाउन छाडेर त्यसको सट्टामा कुर्ता सुरुवाल लगाउन थालेँ । हाम्रो लागि त्यस्तो गर्नु पनि एउटा ठुलो परिवर्तन थियो । त्यसमा मेरो श्रीमान्काे पूर्ण सहयोग थियो । मेरो काम गर्ने ‘फिल्ड’ टाढा टाढा थियो । उहाँले मेरा लागि कुर्ता सुरुवाल ल्याइदिनुहुन्थ्यो । म त्यही लगाएर हिँड्न थालेँ । श्रीमान्ले साइकल पनि किनेर ल्याइदिनुभयो ।
म कुर्ता सुरुवालमा साइकल चलाएर काममा जान थालेँ । सलले सबै छोपेर साइकल चलाउँथेँ । कुनै मान्छेले मलाई देख्यो भने हाँस्छ भन्ने लाग्थ्यो । मानिसले नानाथरिका कुरा पनि भन्थे । यो बिग्रिसकी पनि भन्थे । कुन कुन सरका बाइकमा हिँड्छे पनि भन्थे । मेरो श्रीमान्ले ‘कामका क्रममा सरहरू सबैसँग हिँड्नुपर्छ, ऊ ब्रिगिएर हिँडेको होइन’ भन्नुहुन्थ्यो । उहाँले त्यसरी पनि मलाई साथ दिनुहुन्थ्यो ।
हामीले दलित बस्तीमा समूहमा गएर घुम्टो प्रथाका बारेमा कुरा गथ्यौँ । ‘हामीले मुख छोप्नु हुँदैन, महिलाले पनि बोल्ने गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, घरेलु हिंसामा पर्नु हुँदैन, समूहमा बस्नुपर्छ, छलफल गर्नुपर्छ’ भनेर जनचेतना जगाउने काम गर्थें । त्यसरी त्यतिबेला काम गर्ने क्रममा मलाई विभिन्न चुनौती पनि आयो ।
पुरुषहरूले हामी सिकाउन गएका महिलालाई गाली पनि गर्थे । हाम्रा महिलाहरूलाई बिगार्न आउँछ भन्थे । अनि म आफैँले उनीहरूलाई आफ्नो जीवनमा आएको परिवर्तनको कुरा सुनाउथेँ । मेरो कुरा बुझाउन कोसिस गर्थें । पहिले मैले पनि मुख छोप्नुपर्थ्यो तर अहिले पर्दैन भन्थेँ । मैले अहिले आएर यो घुम्टो हटाएर यो काम गर्ने भएको छु । म दिदीबहिनीहरूलाई बिगार्न आएको होइन भनेर भन्थेँ ।
मधेसी दलित महिलाको शैक्षिक अवस्था हेर्दा पहिलेको भन्दा अहिले धेरै परिवर्तन आएको देखिन्छ । अहिले पढेलेखेका महिलाहरू धेरै आउँछन् । पहिले हाम्रा समयमा पढेका दलित महिला खोज्दै हिँड्नुपर्थ्यो ।
समूहमा बुहारीलाई बोलाउँदा सासू पनि सँगै आउने । बुहारीलाई बोलाएको भन्दा सासूहरूले ‘बुहारी घरबाट निस्किँदैन, घरबाट हामी नै निस्कन्छौँ’ भन्थे । उहाँहरूलाई सही गर्ने भन्दा पनि सही गर्नै नसक्ने अवस्था थियो । औँठाछाप गर्नुहुन्थ्यो । त्यसरी पनि कति सासूहरूले आफ्ना बुहारीलाई घरबाहिर आउनै नदिने गर्नुहुन्थ्यो ।
पछि पछि बुहारीहरू घरबाहिर आउन थाले । समाजमा बिस्तारै बिस्तारै परिवर्तन हुन थाल्यो । मेरो हेराइमा सन् २०२० मा आएर अलि धेरै परिवर्तन देखियो । अहिले त हाम्रोतिर कसैले पनि घुम्टो राख्दैनन् । धेरै कार्यक्रममा महिलाहरू सहभागी पनि हुनुहुन्छ । पहिला हामीहरूलाई इलाकाले बोलाउँदा खुट्टा काम्थ्यो । पुलिस नै पुलिस छ भनेर त्यस्तोमा कसरी जाने भन्ने हुन्थ्यो ।
मैले खानेपानीको कार्यक्रममा पनि काम गरेँ । त्यसमा महिलालाई स्वस्थ हुन, व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन शिक्षा दिनुपर्ने थियो । त्यतिबेला ‘हामीलाई दलित भनेर अरू मानिसले हेप्छन्, हामीले कमसेकम सरसफाइ गरेर सफाचट्ट हुनुपर्छ, घरभित्र र घरवरपर सफा राख्नुपर्छ’ भनेर सिकाइयो ।
महिलाले महिनावारी हुँदा पनि सफा हुनुपर्छ । सफा हुनका लागि सकभर प्याड प्रयोग गर्ने, कपडा प्रयोग गर्दा पनि सुतीको प्रयोग गर्ने गर्नुपर्छ । सरसफाइ कार्य नहुँदा वडामा कुनै पनि काम नहुने थियो । हामीले ट्वाइलेट पनि बनाउनै पर्छ । त्यसमा दिसापिसाब गर्ने बानी गर्नुपर्छ । यसो गर्दा रोगबाट पनि बचिन्छ जस्ता जनचेतनात्मक कुरा सिकाउँथेँ ।
मधेसी दलित महिलाको शैक्षिक अवस्था हेर्दा पहिलेको भन्दा अहिले धेरै परिवर्तन आएको देखिन्छ । अहिले पढेलेखेका महिलाहरू धेरै आउँछन् । पहिले हाम्रा समयमा पढेका दलित महिला खोज्दै हिँड्नुपर्थ्यो । अहिले धेरै घरमा पढेलेखेका छोरी, बुहारी छन् । तिनलाई खोज्न पनि खासै गाह्रो छैन ।
हामी सङ्घसंस्थाबाट विभिन्न अभियानमा गइरहँदा छोरीलाई पनि पढाउनुपर्छ भनेर भन्थ्यौँ । सरकारी स्कुलमा धेरै नपढाए पनि आँखा मात्र देख्ने भए पनि पढाइदिनु भन्थ्यौँ । अहिले त ब्याचलर, मास्टर डिग्री पनि पढेका छन् । तर, त्यतिको पढेर पनि सरकारी जागिर खाने, कुनै अफिसमा सम्मानपूर्वक जागिर खाने कोइ पनि छैनन् । यसैले पढेलेखेका छोरी, बुहारीलाई अहिले पनि घरबाट बाहिर निस्कन गाह्रो छ । निस्कनै दिँदैनन् ।
मधेसी संस्कारले पनि भन्छ, बुहारीलाई घरबाट बाहिर निस्कन दिनु हुँदैन । बुहारीहरू जथाभावी हिँड्नु हुँदैन, घरमै बस्ने, घरको काम गर्ने भन्छ । अनि, अर्काे समस्या आएको छ । स्थानीय सरकार आएदेखि पार्टीगत, जातीयता, आफ्नोवाद भन्ने छ । दलितलाई कसैले देखी खान पनि सक्दैनन् । अब अरू जागिर पाउने कुरा त अलि गाह्रो छ, काम गर्नै दिँदैनन् ।
दलित महिलालाई झनै गाह्रो छ । सामाजिक काममा पनि बहिष्कारमा पर्छन् । २०७४ सालको चुनावमा ससुरा बुवा र बुवाले मलाई स्थानीय तहको सदस्यमा उम्मेदवार राखिदिनुभयो । मलाई थाहा थिएन । ‘भोलि नोमिनेसन छ, तिमी जानुपर्छ’ भनेपछि मात्र मैले त्यो कुरा थाहा पाएको थिएँ । पछि निर्वाचित पनि भएँ । मिर्चैया नगरपालिकाको वडा नम्बर ४ को वडा सदस्य भएर काम गर्नका लागि मलाई मानिसहरूले धेरै गाह्रो बनायो । काममा चुनौती कति आयो कति !?
आफ्ना योजना हुन्छन् । महिलाका लागि कार्यक्रम गर्ने, सिपमूलक तालिम दिने भनेर योजना सुनाउँदा त्यो दिइएन । पहिलो वर्ष नदिएपछि अर्को वर्ष वास्ता गरिनँ । पछि फेडोको सहयोगमा पाँच लाख रुपियाँको सहायतामा दलित महिलालाई प्याड बनाउने तालिम दिइयो । वडाबाट महिलाका लागि मैनबत्ती बनाउने तालिम दियौँ । ब्युटिपार्लरको तालिम पनि दिएको हो ।
सरकारले दाइजो प्रथा बन्द गर भन्छ तर हाम्रो मधेसी समाजमा छोरीको परिवारले बेहुलालाई र उसको परिवारलाई मागेको जति दाइजो दिइरहन्छ । नसक्ने परिवारको छोरीलाई बिहे गरेर लगेपछि दाइजो नपाएको भनेर गाली दिइन्छ, हिंसा हुन्छ । बाइक दिन नसकेर कत्ति चेलीले ज्यान गुमाउन परेको छ ।
वडाबाट आरसिसी ढलान पनि गर्न लगाइयो । दलित बस्तीमा मात्र विकासका काम गर्नु हुन्न भन्ने गैरदलितको सोचले गर्दा मलाई काम गर्ने बेला चुनौती भयो । अध्यक्ष र हाम्रो पार्टी फरक भए पनि उहाँबाट काम गर्न बाधा भएन तर समाजबाट काम गर्न मुस्किल थियो । कति मान्छेले हाम्रो घरमा आएर मलाई गाली पनि गरे ।
नगरसभामा मैले ‘विकास भनेर भौतिक विकास मात्र होइन, महिलाको विकासलाई पनि हेर्नुपर्छ, मानिसलाई चेतनाको विकास पनि आवश्यक छ’ भनेँ । महिलाहरूका लागि सिपमूलक तालिम दिनुपर्छ, सबै मिलेर काम गर्नुपर्छ भनेर पनि भन्थेँ । त्यसो भन्दा पनि केही मान्छेले मलाई अभद्र व्यवहार गरे । तिनका विरुद्ध मैले मुद्दा पनि चलाएको छु ।
म पालिकाको न्यायिक समितिमा पनि थिएँ । २०७७ सालमा प्रावि कुथनमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पनि भएँ । त्यतिबेला मलाई दलित, त्यसमा पनि महिला भयो भनेर मानिसहरू मलाई कुट्न भनी लठ्ठी लिएर हिँड्थे । यो समाजबाटै हामीलाई एकतिरबाट महिला र अर्कोतिरबाट दलित भनेर काम गर्न दिइँदैन । आफूमा पनि आँट भएर मैले काम गर्न सकेको हुँ ।
चार दशकमा विद्यालयको व्यवस्थापन समितिको सदस्यमा एक जना पनि महिला थिएन । सदस्यमा समेत महिला थिएन । एकैचोटि म अध्यक्ष बन्दा असह्य भयो । मलाई व्यवस्थापन समितिमा अध्यक्ष भएर जाँदा त्यहाँ महिला भनेर सम्मान पनि गरेनन् । बिदाइ गर्ने बेला पनि वास्ता गरेनन् ।
समाजमा अहिले पनि छुवाछुत कायमै छ । अहिले पनि गैरदलितसँग बसेर भोज खान पाइँदैन । सानोमा इनारबाट पानी निकाल्नुपर्थ्यो । पहिले गैरदलितले पानी निकालिसकेपछि मात्र हामीले पानी निकाल्न पाइन्थ्यो । हामी इनारको नजिक जाँदा पनि माटोको घैला फुटाइदिने गर्थे । हामीमाथि कुटपिट पनि हुन्थ्यो ।
पहिलाको भन्दा अहिले हल्का परिवर्तन छ । अहिले घर घरमा, टुबेल, धारा, इनार छ अनि कानुनी व्यवस्था, ऐन नियमले गर्दा पनि हल्का परिवर्तन आयो । परिवर्तन आएको छ तर हल्का मात्र ।
अझै पनि भोजहरूमा ब्राह्मण, क्षेत्री, दलितलाई खानको लागि छुट्टाछुटै ठाउँ बनाइएको हुन्छ । अहिलेसम्म पनि सँगै बसेर खान दिइँदैन । अन्तरजातीय विवाहलाई अहिलेसम्म समाजले स्वीकार गरेको छैन । अहिले पनि कति बिजोकमा छन्, त्यस्तो विवाह गरेकाहरू ।
अन्तरजातीय विवाह गरेका कारण पनि धेरै महिला हिंसामा परेका छन् । दलितलाई गैरदलितले विवाहका लागि जोडी हुन योग्य हुन सक्छ भनेर पनि स्वीकार गर्न सकिरहेको छैन । बलात्कारका घटना दलितका छोरीमाथि नै बढी हुन्छ, यस्तो हुने गरेको छ तर तिनलाई कसैले पनि न्याय दिन सकेको छैन ।
सरकारले दाइजो प्रथा बन्द गर भन्छ तर हाम्रो मधेसी समाजमा छोरीको परिवारले बेहुलालाई र उसको परिवारलाई मागेको जति दाइजो दिइरहन्छ । सकेको जति दाइजो दिइरहन्छ । हुनेखाने परिवारले १०–१५ लाख रुपियाँ पनि दिन्छ । नसक्ने परिवारको छोरीलाई बिहे गरेर लगेपछि दाइजो नपाएको भनेर गाली दिइन्छ, हिंसा हुन्छ । बाइक दिन नसकेर कत्ति चेलीले ज्यान गुमाउन परेको छ ।
महिलाहरू पहिले जस्तो सहेर मात्र बस्दैनन्, अति भएपछि बोल्न पनि थालेका छन् तर पनि घरमा र समाजमा महिलामाथिको हिंसा अझै पनि छ ।
दाइजो नदिएका र नपाएका कारण महिलामाथि धेरै हिंसा हुने, ज्यान जाने जस्ता घटनाहरू बेला बखतमा भइरहन्छ । त्यस्तो बेला पत्रकार आउँछ, पीडामा झन् पीडा थपिदिन्छ । पीडित मान्छेलाई अनेक कुरा सोधेर झन् तनाव बनाइदिने गर्छन् । पीडामा परेका मानिसले ती पत्रकारलाई ‘हामीलाई सकुनले बाँच्न दिनू, नभए न्याय दिनू’ भनेर पनि भनेको छ । मैले यो भनिरहँदा सबै पत्रकार एउटै हुँदैनन् । कोही राम्रा पनि हुन्छन् ।
घरपरिवारबाटै पनि महिलाहरूले हिंसा भोग्नुपरेको छ । कसैको छोराछोरी भएन र कमजोर पक्ष छ भने पुरुषले अर्काे बिहे गरिहाल्छ । सासू बुहारीमा कुरा मिलेन भने कुटपिट हुन्छ । कसैको श्रीमान्ले कमाइरहेको छैन भने पनि त्यहाँ उसकी श्रीमतीमाथि हिंसा हुन्छ । पहिला यस्ता यस्ता घटनामा मैले घर घरमै गएर सम्झाउने बुझाउने पनि गर्थें ।
अहिले महिलाहरू घरमा श्रीमान् र परिवारबाट हिंसा भयो भनेर न्यायिक समितिहरूमा जान्छन् । त्यहाँ पनि नभए इलाकामा जान्छन् । अहिले घरेलु हिंसा र महिला हिंसाका विरुद्धमा आवाज निस्कन थालेको छ । महिलाहरू पहिले जस्तो सहेर मात्र बस्दैनन्, अति भएपछि बोल्न पनि थालेका छन् तर पनि घरमा र समाजमा महिलामाथिको हिंसा अझै पनि छ ।
मेरो घरमा त्यस्तो हिंसा छैन । आफ्नो काम गर्नै पर्यो । छोराछोरी सानै सानै थिए । त्यो बेलामा हामीलाई धेरै दुःख थियो । उनीहरूलाई टिफिन बनाइदिने, प्याक गर्दिने अनि स्कुल पुर्याउन जाने । सबै काम सकेर आफ्नो अफिस जाने अनि बेलुका घरमा आएर फेरि सबै काम गर्ने । त्यसरी मैले घरको र अफिसको काम भ्याउने गरेको ।
बच्चाबच्चीको रेखदेख, आफ्ना राजनीतिक र सामाजिक कामका क्रममा श्रीमान् धेरै सहयोगी हुनाले मलाई सहयोग पुग्यो । मेरो श्रीमान्ले पनि आफूसँग समय भएको बेलामा घरको र बच्चाबच्ची रेखदेख गर्ने काम गर्नुहुन्थ्यो । म पनि आफ्नै काम न हो भनेर कति बेला हुन्छ घरको सबै काम सकेर अफिसको काममा निस्कन्थेँ ।
प्रकाशन मिति : २०८२ असाेज २९ गते, बुधवार






One Response
So proud of you ❤️