महिलावाद संवाद शृङ्खला–१३
चार दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशील डा. रेणु अधिकारी चिकित्सा पेसामा संलग्न हुनुहुन्थ्यो । उहाँले नेपालका सिराहा, चितवन र सल्यान जिल्लामा चिकित्सक भएर काम गर्नुभएको थियो । त्यसपछि उहाँले आफूलाई महिला अधिकार र सामाजिक न्यायको क्षेत्रमा लगाउने निधो गर्नुभयो र २०४८ सालमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को स्थापना गर्नुभयो । ओरेक महिला अधिकार र सामाजिक न्यायका लागि काम गर्ने गरी खोलिएको संस्था हो ।
ओरेकबाट डा. रेणुले विशेषतः महिलामाथि हुने हिंसा र बेचबिखनविरुद्ध पैरवी गर्नुका साथै पीडित/प्रभावितलाई सुरक्षित आवास सेवा दिई सशक्तीकरण पनि गरेर विभिन्न संस्था स्थापनामा सहयोग गर्दै नेतृत्वमा पुर्याउने काम पनि गर्नुभयो । उहाँले शक्ति समूह, महिलाका निम्ति महिला मञ्च नेपाल (ओफोन), महिला तथा बालबालिका बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एट्विन), महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, रेडियो उदयपुर, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल तरङ्गिनी फाउन्डेसन आदि संस्थाहरू खोल्नमा पहलकदमी लिनुभएको थियो ।
शक्ति समूह बेचबिखनमा परेर फर्किएका महिलाहरूद्वारा स्थापित तथा सञ्चालित संस्था हो भने महिलाका निम्ति महिला मञ्च नेपाल (ओफोन) ‘मनोरन्जन’ क्षेत्रमा काम गरिरहेका महिलाहरूद्वारा स्थापित संस्था हो । उहाँको पहलकदमीमा खोलिएका सबै संस्थाहरू अधिकारकै क्षेत्रमा क्रियाशील छन् ।
सन् २०१५ देखि २०२० सम्म संयुक्त राष्ट्र सङ्घअन्तर्गत ‘युएन भोलन्टरी ट्रस्ट फन्ड अन कन्टेम्पोररी फम्र्स अफ स्लेभरी’ को बोर्ड अफ ट्रस्टी रहेकी डा. रेणु सङ्गत, महिला, कानुन र विकाससम्बन्धी एसिया प्रशान्त मञ्च (एपिडब्ल्युएलडी), साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर), फोरम एसिया, ग्लोबल अलायन्स अगेन्स्ट ट्राफिक इन विमिनलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नेटवर्क तथा निकायहरूमा पनि आबद्ध हुनुहुन्छ ।
रेणुको जन्म २०१७ साउनमा सिराहा जिल्लाको बस्तीपुर, हालको लहान नगरपालिकामा भएको थियो । नौ वर्षसम्म भारतको पश्चिम बङ्गालमा रहेर त्यहीँ हुर्किएकी डा. रेणु आफ्नी हजुरआमासँग पनि निकट रहनुभयो । उहाँ मावली हजुरआमाको विषम सामाजिक परिवेशमा पनि घर चलाउने र परिवारको नेतृत्व गर्ने क्षमता, साहस, व्यवहार कुशलता, वरपरका महिलाहरूप्रति सहयोगी भावना, समानता र सकारात्मक सामाजिक परिवर्तनप्रतिको झुकाव र सो अनुरूपको मार्गदर्शन आदिबाट प्रभावित हुनुहुन्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्र्रिय तहमा महिलावादीको रूपमा परिचित डा. रेणु पछिल्लो समय विभिन्न अध्ययन, अनुसन्धान, प्रशिक्षण र पैरवीकै क्षेत्रमा सक्रिय हुनुहुन्छ । महिलावादी दृष्टिकोणबाट विभिन्न विषयमा प्रशिक्षण दिने क्रममा उहाँले गरेका अनुभव निकै महत्त्वपूर्ण छन् । त्यसमध्ये एउटा प्रजनन स्वास्थ्यका विषयमा विद्यालयका प्रधानाध्यापकसहित विज्ञानमा स्नातकोत्तर गरी सोही विषय अध्यापन गरिरहेका शिक्षकहरूलाई दिइएको थियो ।
सहभागीमध्ये अधिकांश शिक्षकले आफूमा वास्तविक ज्ञान नै रहेनछ र श्रीमतीलाई दुःख दिएको रहेछु भनी भावुक बनेका दृश्यले उहाँलाई सो प्रशिक्षण सबैभन्दा उत्कृष्ट पनि लाग्छ । यसको अन्तर्यमा लुकेको दर्शन भनेको कुनै पनि विषयलाई महिलाको दृष्टिकोणबाट नहेरी, नबुझी, नसोची र नखोजीकनै हासिल गर्ने गरिएका ज्ञान वास्तवमा अपूर्ण हुन्छन् भन्ने नै हो । अपूर्ण ज्ञानलाई नै सम्पूर्ण ठानेर घमण्डमा उत्रिन सक्ने व्यक्तिहरूको बोलवाला भयो भने महिलाका लागि आफ्नै घर पनि सुरक्षित हुन सक्तैन ।
अहिले भइरहेको त्यही हो । शास्त्रले संरक्षक मानेका व्यक्तिबाटै घरभित्र र समाजमा महिलामाथि हिंसा र दुव्र्यवहार हुने अवस्थालाई वास्तवमै रोक्ने हो भने कुनै पनि विषयलाई बुझ्नका लागि महिलावादी दृष्टिकोण अपरिहार्य छ । यसैले प्रजनन स्वास्थ्यलगायतका सबै विषयमा दिइने औपचारिक शिक्षालाई यही दृष्टिकोणबाट विनाभेदभाव गहिरिएर हेर्न, बुझ्न, सोच्न, खोज्न र ज्ञाननिर्माण गर्न पाउने माहोल सिर्जना हुनुपर्छ । डा. रेणुको चार दशक लामो कार्यगत अनुभवले पनि यस कुरालाई पन्छाउनै नसकिने गरी बल दिएको छ ।
‘सन्धान सहलेखन’ अन्तर्गत महिलावाद शृङ्खला–११ का लागि डा. रेणु अधिकारीसँग सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले २०७८ जेठ/असारमा प्रारम्भिक कुराकानी गर्नुभएको थियो । उहाँसँग २०८२ असारमा थप कुराकानीसहित सहलेखनको माध्यमबाट सन्धान सम्पादन समूहले यो अन्तरक्रियात्मक सामग्री तयार पारेको हो ।
महिलावाद भनेको के हो ? यसलाई कसरी बुझ्ने ?
मैले बुझेको महिलावाद र मैले अभ्यास गर्ने महिलावादको कुरा गर्छु म । मलाई चाहिँ के लाग्छ भने महिलावाद भनेको राजनीति हो । यो ‘पोलिटिक्स’ हो । यो कुनै दाताबाट पैसा आएको बेला बुरुक्क उफ्रिने, एउटा परियोजनाको हिसाबले काम गर्ने विषय र क्षेत्र होइन । यो एकदमै राजनीति हो, समय हेरेर, रणनीतिक भएर अगाडि जानुपर्छ ।

महिलावाद र महिलावादीहरू धेरै थरिका छन् । मलाई कहिले कहिले साथीहरूले ‘किन तपाईंले यो मुद्दामा बोल्नु भएन ?’ भन्नुहुन्छ । म भन्छु, जुनसुकै मुद्दामा जुनसुकै बेला बोल्ने होइन, समय हेर्ने हो । म बोल्नलाई समय हेर्छु । कुन समयमा कसरी कुरा उठाउने भन्ने हुन्छ र हुनुपर्छ ।
महिलावादले गर्ने राजनीति भनेको महिला र पुरुषबिच सामाजिकरूपले स्थापित असमान शक्तिसम्बन्धको विरुद्ध गरिने वकालत हो ।
महिलावादले गर्ने राजनीति भनेको महिला र पुरुषबिच सामाजिकरूपले स्थापित असमान शक्तिसम्बन्धको विरुद्ध गरिने वकालत हो । यो पुरुषविरुद्धको होइन । मलाई कहीँकहीँ कसैकसैले पुरुषविरोधी भनेर पनि ‘पोट्रेट’ गर्ने गर्छन् । त्यसो भन्नेहरूले वास्तविक कुरा नबुझेर त्यसो गरेको हो भन्ने मलाई लाग्छ ।
महिला र पुरुषबिचमा चाहिँ असमान शक्तिसम्बन्ध छ । त्यो असमान शक्तिसम्बन्ध अहिलेका पुरुषले पनि गराएको होइन, महिलाले पनि गराएको होइन । त्यो संरचनाले गराएको हो । त्यस्तो संरचनाविरुद्ध लड्ने राजनीतिमा प्रयोग गरिने वैचारिक ‘टुल्स’ वा सैद्धान्तिक आधार र औजार भनेको चाहिँ महिलावाद हो ।
संरचनाविरुद्धको सङ्घर्ष भनेको एकचोटिको मात्रै हुँदैन । यो पानीको मूल जस्तो हुन्छ, फोका जस्तो मात्र हुँदैन । यस्तो निरन्तर प्रकृतिको सङ्घर्षमा सहभागी हुनेले विभिन्न रणनीति लिएर समयअनुसार चल्दै जानुपर्छ । कहिले बाहिर आउनुपर्छ, कहिले भित्रै बस्नुपर्छ । कहिले माथि आउनुपर्छ, कहिले केही तल बस्नुपर्छ । कहिले देखिनुपर्छ, कहिले देखिनु हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो सङ्घर्ष निरन्तर, रणनीतिक र राजनीतिक हुनुपर्छ ।
संविधानसभाद्वारा हाम्रो संविधान बन्नुभन्दा अगाडि हामी एकदम धेरै ‘भिजिबल’ भयौँ, दृश्य भयौँ । त्यो हुनुपर्ने नै थियो किनभने संविधान बन्ने भनेको त कहिलेकाहीँ मात्र हो । त्यसैले त्यति बेला हामी उपल्लो तहमा आएर ‘भिजिबल’ हुनु जरुरी थियो । त्यतिखेर हामीले विभिन्न समयमा राष्ट्रिय महिला भेला गर्नेदेखि संविधान बन्ने बेला शान्ति र संविधानका लागि महिला दबाब अभियान सञ्चालन गरेका थियौँ, देशव्यापी रूपमा शान्ति र संविधानका लागि महिला पदयात्रा गरेका थियौँ । त्यसपछि करिब दुई महिना काठमाडौँको बिजुलीबजार र बानेश्वरको बिच सडकमा धर्ना दिएका थियौँ ।
राजनीतिक पार्टीसँग जोडिएका महिलाहरू संविधानमा महिला अधिकार सुनिश्चित गराउन आफ्ना पार्टीहरूसँग सिंहदरबारभित्र सहकार्य गरिरहनुभएको थियो भने हामी बाहिर सडकमा धर्ना बसेर उहाँहरूलाई महिला अधिकार सुनिश्चित भएको संविधान ल्याऊ भनेर दबाब दिइरहेका थियौँ । यही कारणले हाम्रो संविधानमा महिला अधिकार धेरै हदसम्म सुनिश्चित गरिएको छ । त्यही बेला हामीले सबै राजनीतिक पार्टीहरूलाई शान्ति र सामाजिक न्यायका लागि महिला बडापत्र लेखेर बुझाएका थियौँ । राष्ट्रिय रूपमा महिलाहरूसँग छलफल तथा अन्तरक्रिया गरेर र राष्ट्रिय सम्मेलनको आयोजना गरेर बडापत्र तयार गरेका थियौँ ।
संविधान बनेपछि, संविधानलाई समुदाय तहसम्म पुर्याउने जिम्मेवारी बोकेका स्थानीय तहको सबै निर्वाचन सम्पन्न भएलगत्तै हामीले ‘महिलावादी मञ्च’ भनेर सात वटै प्रदेशमा सम्मेलन गर्यौँ । सबै महिलावादी मञ्च सम्मेलन भइसकेपछि आफ्नो प्रदेशका लागि घोषणापत्र तयार गर्यौँ । स्थानीय सरकारमा भएका महिलाहरू र हामी महिलावादीहरू मिलेर आफ्ना लागि पनि आचारसंहिता तयार गर्यौँ । त्यसपछि त्यसको निरन्तर अनुगमन पनि गर्यौँ ।

हजारौँ महिलाहरू जोडिनुभयो त्यो मञ्चमा । त्यसका लागि त्यो एकदमै उपयुक्त समय थियो । ती कार्यक्रम किन त्यति बेलै गर्नु आवश्यक थियो भने महिला र पुरुषबिचको असमान शक्तिसम्बन्धका मुद्दाहरूलाई कसरी समुदाय तहमा लिएर जाने भन्ने बुझाउनुपर्ने थियो । भर्खरै स्थानीय निकायमा आएका जनप्रतिनिधि महिलाहरूलाई हामीले त्यही कुरा बुझायौँ ।
म फेरि भन्छु, मैले बुझेको महिलावाद भनेको महिला र पुरुषबिच जुन संरचनागत विभेद छ, त्यसविरुद्ध लड्ने विभिन्न खालका ‘टुल’ हुन्छन् । त्यस्तो एउटा रचनात्मक र वैचारिक टुल नै महिलावाद हो ।
तपाईंले देख्नुभएको विभेद र तपाईंको विचारमा लड्नुपर्ने मुद्दा के के हुन् ?
म यसमा तीन वटा कुरा देख्छु । पहिलो पहिचानको मुद्दा, दोस्रो कामको मुद्दा र तेस्रो शरीरको मुद्दा हो । यी मुद्दासँग अरू कुरा पनि जोडिएका छन् । तिनलाई म बिस्तारमा भन्छु ।
मेरो लागि पहिचानको मुद्दा भनेको नागरिकतासँग मात्रै जोडिएको छैन । नागरिकता पनि हो तर त्योसँगै अरू पनि धेरै खालका पहिचान छन् हाम्रा । नागरिकताको मुद्दा मेरो पनि मुद्दा हो तर महिलावादी दृष्टिकोणबाट भन्ने हो भने आमाको नामबाट नागरिकता भन्ने कुरामा चाहिँ मेरो आपत्ति छ । त्यसमा आपत्ति किनभने महिलाको नामले नागरिकता हुनुपर्ने हो नि आमाको नामले किन ?
प्रश्न उठाउँदै गर्दा पनि तत्कालका लागि सम्झौतामा जानुपर्यो । यसरी हामीले ‘कम्प्रमाइज’ गर्दै, रणनीतिक हुँदै अघि बढेको हो । हामी यसरी सम्झौतामा जानुपरेको पनि रहरले नभएर बाध्यताले गर्दा हो । अप्ठेरो परिस्थितिमा यसरी जानु पनि रणनीतिक हिसाबले ठिकै छ भन्ने पनि हो ।
महिलावादले वकालत गर्ने, मुद्दामा लैजाने एउटा महत्त्वपूर्ण पाटो भनेको पहिचानको मुद्दा हो, जुन मुद्दा उठाउन अझै पुगेकै छैन । पहिचान भनेको नागरिकता मात्रै होइन, अरू पनि धेरै कुराहरू पर्छन् ।
हाम्रो सम्पूर्ण संरचनाले एउटा महिलालाई भन्दा पनि आमालाई बढी मान्यता दिन्छ । आमालाई मात्रै ‘भ्यालु’ दिन्छ । अनि फेरि धर्मपुत्र र धर्मपुत्री भनिन्छ नि ! यो त मैले जन्माएको होइन तर म संरक्षण दिन्छु, छोराछोरीको ठाउँमा राख्छु भनेको हो । छोराछोरीको ठाउँमा राखेर संरक्षण दिने भनेपछि त म आमा नै हो नि त ! यस्तो सन्दर्भमा पनि किन धर्मपुत्र र धर्मपुत्रीको विशेषण थप्ने ? त्यस्तो विशेषण थप्नु पर्दैन । किनभने त्यहाँ त आमा नै भयो नि ! म चाहिँ यसरी भन्छु ।
महिलावादले वकालत गर्ने, मुद्दामा लैजाने एउटा महत्त्वपूर्ण पाटो भनेको पहिचानको मुद्दा हो, जुन मुद्दा उठाउन अझै पुगेकै छैन । पहिचानलाई एउटा औजार बनाएर देखाउनुपर्ने छ, जुन अहिलेको संरचनाले लुकाएको छ । अघि पनि भनेँ पहिचान भनेको नागरिकता मात्रै होइन, पहिचानभित्र अरू पनि धेरै कुराहरू पर्छन् ।
अहिले महिलाभित्र पनि ‘इन्टरसेक्सनालिटी’ को कुरा पनि आएको छ । यस आधारमा पनि विविधता समेटिएको पहिचान बनाउँदै महिलाले समाजमा अगाडि बढ्दै गर्ने हो । अपाङ्गता, लेज्बियन, यस्तै यस्तै विविध पक्षबाट सोचौँ न ! ‘आमा’ पहिचानको एउटा तत्त्व हो तर महिलाले त्यही एउटा ‘एलिमेन्ट’ मात्रै लिएर हिँड्ने होइन । त्यसरी हिँडेर लक्ष्यमा पुगिँदैन ।

कामको मुद्दा पनि पहिचानसँग अन्तरसम्बन्धित महिलाको एउटा महत्त्वपूर्ण मुद्दा हो । यो विभेदकारी सोच र संरचनाबाट निर्देशित छ । यसैले यसलाई ‘फेमिनिस्ट’ मुद्दा हो भन्छु म । महिलाको काम भन्नेबित्तिकै ‘समान कामको समान ज्याला’ मात्रै यसको मुद्दा होइन । त्यो त देखिएको कुरा मात्रै हो र धेरैले भनेको भएर ‘भिजिबल’ भएको मुद्दाको एउटा पाटो हो । कामभित्र महिलावादी दृष्टिकोणबाट हेर्नुपर्ने र विभेदरहित बनाउनुपर्ने धेरै मुद्दा छन् ।
सबैभन्दा पहिले त कामको विभाजन नै कसरी हुन्छ ? के आधारमा हुन्छ ? महिलाले गर्ने भनिएका कामलाई कसरी हेरिन्छ ? कस्तो खालको कामलाई सम्मान दिइन्छ ? कामका मुद्दाको सन्दर्भमा यस्ता कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
प्रमुखमा महिला र उपप्रमुखमा पुरुष भएका पालिकाहरूमा पनि उपप्रमुखले ‘लिड’ गरेको अथवा लिड गर्ने प्रयास गरेको देखिन्छ । मन्त्री पदमा महिला र राज्यमन्त्री पदमा पुरुष छ भने पनि बढी ‘हाइफाइ’ राज्यमन्त्री पुरुषकै हुन्छ । किन यस्तो ? यसको जवाफ खोज्नका लागि समाजको संरचनागत आधारमा पुग्नुपर्छ ।
नयाँ संविधान जारी भएर राज्य संरचना भएपछि अहिले देशभरिका धेरै स्थानीय तहमा नगर प्रमुख अर्थात् मेयर र गाउँपालिका अध्यक्ष पुरुष र उपप्रमुख वा उपमेयर र उपाध्यक्ष महिला छन् । प्रमुखमा महिला र उपप्रमुखमा पुरुष भएका पालिकाहरूमा पनि उपप्रमुखले ‘लिड’ गरेको अथवा लिड गर्ने प्रयास गरेको देखिन्छ ।
कार्यपालिकातिर मन्त्रीहरूमै हेर्ने हो भने पनि मन्त्री पदमा महिला र राज्यमन्त्री पदमा पुरुष छ भने पनि बढी ‘हाइफाइ’ राज्यमन्त्री पुरुषकै हुन्छ । किन यस्तो ? यसको जवाफ खोज्नका लागि समाजको संरचनागत आधारमा पुग्नुपर्छ । यहाँ व्यक्ति पुरुषलाई मात्रै औँल्याएर गाली गर्नुको केही अर्थ हुँदैन । त्यसले समाधान दिन सक्तैन । यो त संरचनाले गर्दा भएको भिन्नता हो भन्ने बुझेर त्यहीअनुसार तार्किक ढङ्गले कुरा उठाएर त्यसलाई बदल्ने प्रयत्न गर्नुपर्छ ।
एक पटक मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा राष्ट्रपति महिलालाई प्रधानमन्त्री पुरुषले एकाएक ‘त्यो पर्दैन’ भन्नुभयो । राष्ट्रपति महिला पनि हाँस्नुभयो । सतहमा यस्तो देखियो तर यो गहिराइमा गएर बुझ्नुपर्ने कुरा हो । राष्ट्रपति महिलालाई प्रधानमन्त्री पुरुषले त्यस्तो भन्नसक्ने शक्ति कहाँबाट आयो ? प्रधानमन्त्रीलाई त्यो शक्ति व्यवस्थाले त दिएको छैन । यद्यपि, त्यस्तो शक्ति त्यहाँ प्रकट भयो । त्यो खासमा हाम्रो संरचनाले गर्दा भएको हो ।
प्रधानमन्त्री पुरुष भएको भएर र राष्ट्रपति चाहिँ महिला भएकै कारण उहाँले ‘त्यो पर्दैन’ भन्न सक्नुभएको हो, यो कुरा त म स्पष्ट भन्छु । त्यसैले ‘काम’ को मान्यता पनि पहिचानसँग जोडिएको एउटा निकै महत्त्वपूर्ण महिलावादी मुद्दा हो ।
तेस्रो मुद्दा शरीर पनि महिलाको पहिचान र काम दुवैसँग जोडिएको छ । शरीर, काम र पहिचान यी अन्तरसम्बन्धित मुद्दा हुन् । महिलावादमा काम र पहिचान ‘इन्टरसेक्सन’ हो । हाम्रो शरीर भन्नेबित्तिकै प्रजनन अधिकार, यौन अधिकार वा लेज्बियन हो भने उनीहरूको अधिकार भन्ने मात्रै होइन । त्यो त आएको परिणामको कुरा मात्रै हो । मेरो शरीरलाई, मेरो शरीरका सबै अङ्गहरूलाई सम्पूर्णतामा हेर्नुपर्छ । यसरी महिलाले आफू र आफ्ना अङ्गहरूलाई सम्पूर्णतामा र सम्मानजनक ढङ्गले हेर्ने दृष्टिकोण महिलावादमा हुन्छ ।

महिलाको शरीरका विभिन्न अङ्ग र तिनका कामलाई हेर्नुभयो भने ‘युटेरस’ को काम विशिष्ट छ तर मुटुको कामलाई विशिष्ट देख्ता पाठेघरको कामलाई नदेख्ने किन ? यसमा यति धेरै विभेद किन ? हाम्रो ‘भजाइना’ लाई हेर्ने दृष्टिकोण र हाम्रो नाक, कान, मुख आदिलाई हेर्ने दृष्टिकोणमा यति धेरै विभेद किन ? पाठेघर र योनी महिलाका शरीरका अङ्ग भएकैले विभेदमा पर्नुपर्ने र तिनकै कारण मानव भएर पनि महिलाले चाहिँ हेपिनुपर्ने किन ? त्यसैले म भन्छु शरीर हाम्रो अर्को एउटा महत्त्वपूर्ण मुद्दा हो ।
हाम्रा हरेक कुराको विश्लेषण विभिन्न समय र विभिन्न वादको अवधारणादेखि सैद्धान्तिक ‘फ्रेम’ मा हुँदै आयो । कहिले माक्र्सवादीहरूले विश्लेषण गरे, कामको कुरा अगाडि ल्याए । कहिले ‘र्याडिकल फेमिनिस्ट’ हरू अगाडि आए, शरीर र यौनिकताको कुरा ल्याए । कहिले लिबरलहरू अगाडि आए, समानताका कुराहरू र पुरुषले गर्ने काममा महिला पनि जानुपर्छ भन्ने मुद्दालाई ल्याए । कहिले ‘सोसलिस्ट’ हरू आए, महिलाहरूको काम, महिलाहरूको पहिचान र प्रतिनिधित्व पनि हुनुपर्ने कुरा ल्याए ।
वास्तवमा के हुन्छ भने राजनीति हुनेबित्तिकै कतिखेरको राजनीतिक सन्दर्भमा हामी बाँधिएका छौँ, त्यसले महिलावादीहरूलाई ‘इन्फ्लुयन्स’ गर्छ, प्रभावमा पार्छ । राजनीतिले एक प्रकारले बोकेको मुद्दालाई अर्को प्रकारले महिलावादले पनि उठाउँछ । यसरी समान मुद्दामा फरक दृष्टिकोण बन्दै जान्छ । समाज अघि बढ्ने प्रक्रियामा हुने यही हो । यसैले मेरो विचारमा महिलावादी मुद्दामा राजनीतिक ढङ्गले पनि काम गर्नुपर्छ ।
महिलावादीले विभिन्न पार्टीसँग अलायन्स गरी सहकार्य गर्नु पनि पर्छ तर त्यसको मतलब महिलावादीहरू कुनै एक पार्टीको सदस्य नै भए भन्ने होइन । रणनीतिक कार्य हो ।
मुद्दा मिल्ने हदसम्म हामीले राजनीतिक पार्टीसँग कार्यगत एकता पनि गर्नुपर्छ । हामीले बाहिरबाट हेर्दा कुन मुद्दामा कुन पार्टी स्पष्ट छ, त्यो मुद्दाको लागि त्यो पार्टीसँग सहकार्य पनि गर्न सक्छौँ । हामीले खोजेको समता, समानता, सहअस्तित्व र आत्मसम्मान पाउन र त्यसलाई जोगाइराख्नका लागि महिलावादीले मुद्दा हेरेर बेला बेलामा यस्तो गर्नुपर्ने हुन सक्छ । यो रणनीतिक कुरा हो ।
महिलावादीले विभिन्न पार्टीसँग अलायन्स गरी सहकार्य गर्नु पनि पर्छ तर त्यसको मतलब महिलावादीहरू कुनै एक पार्टीको सदस्य नै भए भन्ने होइन । म माक्र्सवादी महिलावादी हुन सक्छु, त्यस अर्थमा म एमाले नै नभएर त्यससँग नजिक मात्र पनि हुन सक्छु । यस्तै प्रकारले म ‘र्याडिकल’ महिलावादी हुन सक्छु, त्यस्ता मुद्दामा म कुनै र्याडिकल पार्टीसँग पनि निकट हुन सक्छु । म ‘लिबरल’ महिलावादी हुन सक्छु, त्यो बेला कुनै मुद्दामा म कांगे्रससँग नजिक हुन सक्छु ।

फेरि पनि भन्छु, त्यो भनेको पार्टी सदस्य नै भएको र हुने भन्ने होइन । महिलावादीले कुनै राजनीतिक पार्टीसँग नजिक हुनु भनेको रणनीतिक कार्य पनि हो । आफूले उठाएका मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन रणनीतिक हिसाबले मुद्दा मिल्ने पार्टीहरूसँग मिलेर सहकार्य गर्नुपर्ने हुन्छ । त्यो भनेको हामीले पार्र्टीको मातहतमा रहेर तिनका सबै एजेन्डामा जानु होइन कि त्यो पार्टीसँग मिलेर महिलावादी मुद्दा उठाउनु र अगाडि बढाउनु हो ।
महिलावादी क्षमता विकाससम्बन्धी तालिम कस्तो खालको तालिम हो ? यो गर्नु किन आवश्यक छ ?
देश शान्ति प्रक्रियामा गइरहेका बेला हामीले पाँचवटै विकास क्षेत्रका महिलाहरूको सहभागितामा शान्ति सम्मेलन गरेका थियौँ । त्यो शान्ति सम्मेलन गर्दा महिलाको मुद्दा उठाउन धेरै गाह्रो रहेछ भन्ने थाहा भयो । मुद्दा उठाउने तरिका पनि फरक हुँदो रहेछ तर हामीले त्यस्तो तरिका प्रयोग गर्न जानेका रहेनछौँ । त्यही भएर त्यति बेला महिलाका वास्तविक मुद्दा नउठेका हुन् कि जस्तो लाग्यो ।
हामीले शान्ति सम्मेलनमा महिलाहरूको कुरा उठाउनै गाह्रो भयो भन्ने बुझेपछि महिलावादी अवधारणामा ‘महिलावादी क्षमता विकास तालिम’ गर्न थाल्यौँ । त्यो तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएको बेला थियो । ठ्याक्कै मिति याद भएन । सबै क्षेत्रबाट सक्रिय महिलाहरूलाई बनारसमा बोलाएर हामीले ‘महिलावादी डकुमेन्टेसन’ सम्बन्धी तालिम दियौँ ।
त्यस्तो तालिम आवश्यक छ भन्ने अनुभव अरू मानव अधिकारकर्मी साथीहरूसँग जेनेभामा गएर करिब छ हप्ता हाम्रो लोकतन्त्रका लागि वकालत गर्ने क्रममा भएको थियो । त्यस बेला ज्ञानेन्द्रले सत्ता हातमा लिएको, भनौँ कु गरेको समय थियो । त्यतिखेर उच्चस्तरीय मानव अधिकार कमिसन नै थियो । त्यहाँ हामीले विभिन्न मुद्दामा राजाको शासनले कसरी हाम्रो मानव अधिकार प्रभावित भएको छ भन्ने विषय उठाएका थियौँ ।
मैले आर्टिकल १२ अन्तर्गत महिलामाथि हुने हिंसाबारे आफ्नो कुरा राखेको थिएँ । त्यतिखेर मलाई अनुभूति भयो, हामीकहाँ महिलामाथि यति धेरै हिंसा भए तर पनि तथ्याङ्क छैन । अरू संस्थाले, अरू देशले महिला हिंसाविरुद्धका तथ्याङ्कहरू एकदम राम्रोसँग राख्दा रहेछन् । त्यसैले अब हामीले महिला मानव अधिकार रक्षकहरू, जो सबै क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो, उहाँहरूलाई तालिम दिनुपर्छ भन्ने लाग्यो ।
नेपालको राजनीतिक अवस्थाले त्यति बेला नेपालमा केही गर्न सक्ने अवस्था थिएन । त्यही भएर हामीले बनारसमा तालिम गरेका थियौँ । तालिममा श्रीलङ्काकी सुनिला अभयशेखारा र भारतको हैदरावादकी कल्पना कानाबिराम भन्ने दुई जना स्रोतव्यक्ति हुनुहुन्थ्यो । त्यो तालिममा नेपालबाट मेनका काफ्ले, निलम शर्मालगायत २० जना सहभागी भएका थियौँ । कति जनाको नाम त अहिले बिर्सि पनि सकेँ ।

तालिमपछि हामीकहाँ महिला हिंसाबारेको तथ्याङ्क विशेष तरिकाले सङ्कलन गर्नुपर्ने रहेछ भन्ने ज्ञान भयो । त्यस्तो तरिकाको अवलम्बन गर्नु महिलावादी इतिहासका दृष्टिले पनि एकदम जरुरी छ भन्ने हामीलाई लाग्यो ।
तालिममा सहभागी मेनकाजी पछि २०७४ सालको स्थानीय निकाय निर्वाचनबाट झापाको कमल गाउँपालिका अध्यक्ष हुनुभयो । निलम अधिकारकर्मी हो । त्यो तालिम महिला अधिकार हननलाई/महिला हिंसालाई मानव अधिकारका दृष्टिकोणबाट दस्ताबेजीकरण भनेर सञ्चालन गरिएको थियो । त्यो तालिम त त्यतिखेर सकियो । त्यसपछि हामीले नेपालमा धेरै वटा त्यस्तै तालिम गर्यौँ । मैले तर उद्देश्य बिर्सेको छैन र कहिले बिर्सिन्न पनि ।
तालिमको मुख्य उद्देश्य नै महिलावादी दृष्टिकोणबाट महिलामाथि हुने हिंसालाई दस्ताबेजीकरण गर्ने भन्ने थियो । त्यसको तरिका के हो, कसरी गर्न सकिन्छ भन्ने थियो । वास्तवमा त्यही आवश्यकताबोध र तालिमपछि ओरेक नेपालबाट हामीले ‘अन्वेषी’ (महिला हिंसा विरुद्धको वर्ष पुस्तक) प्रकाशन गर्न थाल्यौँ, जुन अहिले पनि निरन्तर रूपमा प्रकाशन हुन्छ । ओरेकले महिला हिंसाको दस्ताबेजीकरण गरेर हरेक वर्ष तथ्य–तथ्याङ्क प्रकाशन गर्दछ ।
नेपालमा राजनीतिको आडमा महिलामाथि हुने गरेका विभिन्न प्रकारका हिंसा त्यति बेला चरममा थियो । यसैले तालिमपछि हामीले नेपालमा पनि महिलावादी क्षमता विकास तालिम निरन्तर गर्नुपर्छ भन्ने लाग्यो र गर्न थाल्यौँ ।
नेपालका तालिमहरूमा नेपालकै स्रोतव्यक्तिहरू हुनुहुन्थ्यो । त्यति बेलाका पाँचवटै विकास क्षेत्रमा त्यस्तो क्षमता विकास तालिम गरियो । सो तालिमका सहभागीहरू कोही सङ्घ र प्रदेशका सांसद, कोही स्थानीय सरकार प्रमुख र कोही उपप्रमुख भए । अन्य धेरै जना पनि विभिन्न ठाउँको नेतृत्व तह र विभिन्न संरचनाहरूमा पुगे । पुग्ने सिलसिला जारी नै छ ।
हामीले उदयपुरमा फेरि अर्को महिलावादी क्षमता विकास तालिम गर्यौँ । त्यो एकमहिने तालिममा अर्थशास्त्री डा. मीना आचार्य, विन्दा पाण्डे, विमल फुयाँल जस्ता व्यक्तिहरू स्रोतव्यक्ति हुनुहुन्थ्यो । म आफैँ एक स्रोतव्यक्ति थिएँ । मैले एक महिना नै सबै सहभागीहरूसँगै बसेर तालिम दिएँ ।

अहिले सम्झन्छु, नेपालको संविधान बन्नुभन्दा पहिला र स्थानीय निर्वाचन हुनुभन्दा पहिलाको बिचको जुन समय थियो, त्यो समयमा लगभग २५० जनालाई त्यस्तो तालिम दिइएछ । त्यसले गर्दा त्यतिखेर तालिम लिएका व्यक्तिहरूले नेपालको नयाँ संविधान निर्माणको बेला मुद्दाहरू उठाउँदा महिलाका मुद्दालाई उठाउने तरिका नै फरक देखिएको थियो ।
दुई–तीन वर्षको अन्तरालमा भए पनि त्यो तालिम अहिले पनि भइरहेको छ । पछिल्लो समय मेरो आफ्नै जीवनमा पनि अलिकति गडबड भयो । मैले ओरेकको नेतृत्व गर्ने काम छोडेँ । ओरेकभित्र ‘लिडरसिप’ को ‘क्राइसिस’, नेतृत्वको सङ्कट पनि भयो । संस्थाको नेतृत्व सङ्कट र २०७२ सालको ठुलो भुइँचालो जस्ता विभिन्न कारणले हामीले दिने गरेको तालिम केही समय रोकियो ।
महिलावादी क्षमता विकास तालिमको कामलाई निरन्तरता दिनुपर्छ भन्ने लागेर विकल्पमा हामीले ‘तरङ्गिनी फाउन्डेसन’ नामक संस्था सुरु गर्यौँ । तरङ्गिनीको एउटा कामको क्षेत्र भनेर ‘फेमिनिस्ट मेन्टरिङ’ अर्थात् ‘महिलावादी क्षमता विकासमा सहयोग पुर्याउने’ भनेर राख्यौँ । अर्को चाहिँ ‘फेमिनिस्ट डकुमेन्टेसन’ भनेर राख्यौँ । त्यसमा एउटा ‘सेल्फ–केयर’ राखेका छौँ । मेरो विचारमा त्यो फेमिनिस्ट आन्दोलनको लागि महत्त्वपूर्ण पाटो हो ।
मैले पालिकाका उपाध्यक्ष/उपप्रमुख महिलाहरूलाई पनि तालिम दिइरहेको छु, महिलावादी नेतृत्वको बारेमा । तालिम दिएका उपप्रमुखहरूको काम पनि हेरिरहेको छु । उहाँहरूको सोच्ने तरिका नै फरक छ, काम गर्ने तरिका नै फरक छ ।
अहिले हामी महिलावादी क्षमता विकास तालिम भौतिकरूपमा उपस्थित भएर पनि गरिरहेका छौँ । भर्चुअल माध्यमबाट पनि गरिरहेकै छौँ । तालिमको अवधि फरक फरक गरेका छौँ । पहिला एक महिनाको तालिम गर्यौँ । त्यसपछि घटाएर २१ दिनको अनि १० दिनको गरियो । अहिले त्यसलाई सात दिनको पनि बनाइएको छ ।
भर्चुअल माध्यमबाट महिलावादी क्षमता विकास तालिम गर्दा त्यसको अवधि छोट्याएर पाँच दिनको बनाइएको छ । महत्त्वपूर्ण विषयमा यति छोटो अवधिको तालिम गर्दा सहभागीलाई आवश्यक जानकारी नै दिन पुगेको छैन भन्ने हामीलाई लागेको छ ।
तालिममा सहभागीहरूमा तालिमअघि र पछिको महिलावादप्रतिको बुझाइ र काम गराइमा कत्तिको फरक पाउनुभयो ?
एकदमै, एकदमै परिवर्तित हुनुभएको छ, उहाँहरू । मैले पालिकाका उपाध्यक्ष/उपप्रमुख महिलाहरूलाई पनि तालिम दिइरहेको छु, महिलावादी नेतृत्वको बारेमा । त्यसलाई हामीले रूपान्तरणका लागि रूपान्तरित नेतृत्व भन्ने नाम राखेर चलाइरहेका छौँ । मैले तालिम दिएका उपप्रमुखहरूको काम पनि हेरिरहेको छु । अहिले उहाँहरूको सोच्ने तरिकै फरक छ । काम गर्ने तरिका नै फरक भएको छ ।
युवा महिलाहरूलाई महिलावादी तालिममा सहभागी गराइसकेपछि हामीले ‘तरङ्ग’ भन्ने नेटवर्क पनि सुरु गरेका छौँ । यो एउटा सञ्जाल हो । यसमा तत्कालीन प्रदेश नम्बर २ (हाल मधेस प्रदेश) का महिलाहरू बढी छन् । केही तत्कालीन प्रदेश नम्बर १ (हाल कोशी) का पनि छन् । त्यो नेटवर्क बढ्दै जाने क्रममा छ ।
नेटवर्कमा आबद्ध महिलाहरूबिच विभिन्न विषयमा हुने क्रियाप्रतिक्रियालाई हेर्दा युवा पुस्ता चाहिँ पहिचानको कुराबाट अलिकति माथि आइसकेका रहेछन् भन्ने देखिन्छ । महिलावादी दृष्टिकोणबाट उनीहरूको ‘इस्यु’ मा भने स्पष्टता आइसकेको छैन । यसैले त्यसमा स्पष्टता ल्याउनका लागि उनीहरूलाई अलि राम्रै ‘मेन्टरिङ’ चाहिन्छ भन्ने मलाई लागेको छ ।
एक पटक हामीले २५ जना युवालाई पनि तालिम दिएका थियौँ । ती २५ जनासँग कुरा गर्दा २० जनाले आफूमाथि कुनै न कुनै किसिमको यौनजन्य हिंसा तथा दुव्र्यवहार भएको बताए । सहभागी युवाका ती भोगाइसँग लैङ्गिकता र समानतालाई जोडेर हामीले कुरा गर्दा विषयलाई यति गहिरोसँग बुझेको पाइयो कि त्यो कुरा उहाँहरूको व्यवहारमा पनि देखिन थाल्यो । तालिम अघि बढ्ने क्रमसँगसँगै उहाँहरूले कुरा थाल्ने, कुरालाई अघि बढाउने, काम सुरु गर्ने तरिकै फरक हुन थालिहाल्यो ।
मलाई लाग्छ, उहाँहरूलाई पाँच–सात दिनको एक पटकको तालिमले मात्रै चाहिँ हुँदैन, निरन्तर ‘मेन्टरिङ’ पनि चाहिन्छ । कम्तीमा एउटा समूहलाई एक वर्षसम्म भेट्ने, कुरा गर्ने, ‘गाइड’ गर्दै लाने पनि गर्नैपर्ने रहेछ । कति समूहलाई त त्यसो गरिराखेका पनि छौँ । सबैलाई निरन्तर त्यस्तो गर्न त न त समयले पुग्छ, न त हामीसँग स्रोत नै छ ।
महिला सवाल सतहीरूपमा मात्रै उठिरहेको छ तर तालिम लिएकाहरूको चाहिँ कुरा बुझ्ने र काम गर्ने तरिका नै फरक छ भन्नुभयो । त्यो भिन्नता बाहिरबाट अरूले हेर्दा कहाँनेर कत्तिको देखिन्छ ? केही उदाहरण पनि दिन चाहनुहुन्छ ?
बाहिरबाट हेर्दा कुरा बुझ्ने र काम गर्ने शैली नै फरक देखिन्छ तर त्यसलाई देख्ने आँखा पनि चाहिन्छ । हामीले २०७८ सालमा कुराकानी गरिरहँदा धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा अम्बिका रुपाखेती उपाध्यक्ष हुनुहुन्थ्यो । २०७४ सालको स्थानीय निकाय निर्वाचनमा उपाध्यक्ष निर्वाचित उहाँले आफू निर्वाचित भएर आउनेबित्तिकै सबैभन्दा पहिला पालिकाका हरेक वडामा मनोविमर्शकर्ता चाहिन्छ भनेर त्यसबारे तालिम दिनुभयो । यस्ता काम अरू स्थानीय पालिकातिर पनि धेरै भए । त्यहाँ महिलाहरूका लागि कार्यक्रमहरू नै फरक रहे ।
विसं २०७४ मा मकवानपुर जिल्लाको मनहरि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित मनिला विष्टको काम गर्ने तरिका पनि फरक थियो । उहाँको सोच्ने, योजना बनाउने, भएका योजना कसरी लिएर जाने भन्नेदेखि अरू व्यक्तिसँग गर्ने ‘डिलिङ’ शैली नै छुट्टै थियो ।
यस्तै, २०७४ सालकै निर्वाचनमा ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्ष निर्वाचित सबिता राईको काम पनि उदाहरणीय र फरक शैलीको रह्यो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाकी तत्कालीन उपप्रमुख सुशीला पाख्रिनको काम हेरियो र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाकी तत्कालीन उपप्रमुख अञ्जु आचार्यको काम हेरियो भने पनि उहाँहरूले फरक शैलीमा पालिकाका काम गर्नुभएको पाइन्छ ।

स्थानीय सरकारमा उदाहरणीय र सतहीभन्दा अलि फरक ढङ्गले काम गरिरहेका अरू पनि धेरै महिलाहरू भेटिन्छन्, जसको योजनालाई हेर्ने दृष्टिकोण नै फरक छ । यसो हेर्दा कुनै बजेट महिलाकै लागि भनेर छुट्ट्याएकै पनि नदेखिएला तर बजेट कार्यान्वयन गर्दा व्यवहारमा महिला र पुरुषबिचको असमान शक्तिसम्बन्धलाई तोड्दै कसरी अगाडि जान सकिन्छ भनेर चाहिँ ती महिलाहरू स्पष्ट रहेका देखिन्छन् ।
तालिमप्राप्त महिलाहरूको नेतृत्व र निर्देशनमा बनाइएको योजनामा त्यो तहको स्पष्टता देख्न पाइन्छ तर फेरि पनि भन्छु, महिलावादी दृष्टिकोणबाट हेर्न सक्यो भने मात्रै देखिने हुन् यस्ता कुराहरू । पालिकामा मात्र होइन, तालिम लिएका युवाले आफ्नो क्षेत्रमा पनि फरक तरिकाले बुझेर काम गरिरहेका छन् । तालिम लिन आएकाहरूमध्ये धेरैले आ–आफ्नै क्षेत्रमा काम गरिरहेका थिए । केही युवा कलाकारितामा लागेका थिए । उनीहरूको काम नाटकहरू बनाउने, प्रदर्शन गर्ने हो ।
तालिम लिइसकेपछि पनि ती युवाले आ–आफूले गरिरहेकै कामलाई अघि बढाएको पाइयो तर फरक तरिकाले । तालिमपछि सडक नाटक बनाउने तरिका नै फरक भयो । एक जना विष्णु भन्ने तेह्रथुमका पत्रकार र उदयपुर जिल्लाका रेडियो पत्रकार बहिनीहरू पनि तालिममा सहभागी थिए । अहिले तिनै सहभागीको रेडियो कार्यक्रम बनाउने तरिकै फरक भएको छ । रेडियो कार्यक्रममा प्रसारण हुने ‘कन्टेन’ नै फरक भएको छ ।
‘फेमिनिज्म’ भनेको एकले अर्काेलाई माया, करुणा भाव देखाउने र सहयोग गर्ने गुण प्रवर्धन गर्ने वाद पनि हो ।
झापा जिल्लाकी अनु लाम्गाडे भन्ने बहिनी हुनुहुन्छ । उहाँ धेरै ठाउँमा काम गर्ने, अरूलाई सहयोग गर्ने गर्नुहुन्छ । तालिमपछि उहाँको पनि काम गर्ने तरिका नै फरक भएको छ । ‘फेमिनिज्म’ भनेको एकले अर्काेलाई माया, करुणा भाव देखाउने र सहयोग गर्ने गुण प्रवर्धन गर्ने वाद पनि हो । उहाँले त्यसलाई पक्डनुभएको छ ।
कोभिड–१९ को महामारी फैलिइरहेका समयमा अलि गम्भीर भएका व्यक्तिलाई प्लाज्मा दिनुपथ्र्यो नि, त्यो प्लाज्मा दिनेमा अनु नै अगाडि पुग्नुहुन्थ्यो । कसैलाई रगत चाहियो भने पनि उहाँ अगाडि सर्ने, बेलाबेला मलाई फोन गरेर ‘दिदी’ भन्दै यसलाई यस्तो सहयोग चाहियो, यसो गर्नुपर्यो भनेर पनि भनिराख्ने ।
फोटोहरू पनि हेरिराखेको हुन्छु । अनुले केही न केही काम, अरूलाई केही न केही सहयोग गरिराखेकै हुन्छ । काम गर्नलाई कोही कुनै पनि संस्थामै हुनुपर्छ भन्ने पनि म मान्दिनँ । जो जहाँ भए पनि कतिपय सहभागीहरूले तालिमपछि आफ्नो व्यक्तिगत जीवनदेखि आफूले गर्ने हरेक काममा फरक शैली प्रयोग गरिरहेका छन् । यो चाहिँ म गर्वका साथ भन्छु ।
पहिले हरेक जिल्लामा महिला विकास कार्यालय हुन्थ्यो । त्यहाँ कार्यरत महिला विकास अधिकृतहरूको काम हामीले देख्यौँ । मैले धेरैलाई तालिम दिएँ । तालिम लिइसकेपछि सबै त भन्दिनँ तर धेरै महिला विकास अधिकृतहरूले धेरै राम्रो काम गर्नुभयो । उहाँहरूलाई त अहिले जस्तो ‘फेमिनिस्ट मेन्टरिङ’ भनेरै तालिम दिएको पनि होइन । त्यति बेला प्रजनन स्वास्थ्य वा अन्य विभिन्न विषयका तालिमलाई ‘फेमिनिस्ट कन्सेप्ट’ बाट दिइएको थियो ।
विभिन्न विषयका तालिममा ‘फेमिनिस्ट कन्सेप्ट’ मात्रै मिलाउन सकियो भने पनि त्यसले सहभागीको काम गर्ने तौरतरिका बदल्न सक्दो रहेछ । तालिमप्राप्त महिला विकास अधिकृतहरूको काम गर्ने तौरतरिका नै फरक देखिएको थियो । त्यतिखेर त्यसरी महिलावादी दृष्टिकोणबाट प्रजनन तथा यौन स्वास्थ्य अधिकार तालिमप्राप्त महिलाहरूले त महिलाहरूको प्रजनन स्वास्थ्यमा आन्दोलन नै ल्याउनुभयो ।
महिला विकास अधिकृतहरूले तालिमपछि आ–आफ्नो कार्यशैली फरक गरेकै कारण महिलाहरूमा व्यापक भए पनि भित्रभित्रै लुकेर रहेको पाठेघर खस्ने समस्या देशभरि दृश्य हुन सक्यो । त्यसपछि सरकारले त्यसलाई सम्बोधन गर्न नीति नै ल्यायो । अहिले पनि जहाँ रहेका भए पनि त्यसरी हामीबाट तालिमप्राप्त महिला विकास अधिकृतहरूको काम गर्ने तरिका नै फरक पाइन्छ ।

तपाईंले पुरुषहरूलाई पनि महिलावादी दृष्टिकोणबाट तालिम दिनुभएको छ ? यस बारे पनि बताइदिनुहुन्छ कि ?
मैले पुरुषहरूलाई विभिन्न विषयमा तालिम त दिएको छु तर महिलावादी दृष्टिकोणबाट ‘फेमिनिज्म’ नै भनेर चाहिँ दिएको छैन । प्रजनन स्वास्थ्य, मानव बेचबिखनलगायत विषयमा धेरै तालिम दिएको छु । विषय जे भए पनि मैले दिने हरेक तालिम महिलावादी दृष्टिकोणकै हुन्छ ।
विभिन्न विषयमा मैले पुरुषहरूलाई तालिम दिँदै गर्दा, पुरुषहरूको अनुभव सुन्दै गर्दा, म आफैँले पुरुषलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको पाएको छु । पुरुषहरू पनि त्यति खराब चाहिँ छैनन् । सबै पुरुषहरू खराब छैनन् । बरु पढेलेखेकै एकखाले पुरुषहरू चाहिँ जति बुझाए पनि बुझ्न नखोज्ने, नबुझ्ने होइन कि ‘बुझ्न नखोज्ने’ हरू छन् । उनीहरूसँग चाहिँ गाह्रो छ ।
समुदायमा हामीले काम गर्दाखेरि पुरुष शिक्षकहरू, ११–१२ कक्षामा पढाउने विज्ञान विषयका ‘साइन्स टिचर’ र स्कुलका ‘हेडमास्टर’ हरूलाई पाँच दिनको प्रजजन स्वास्थ्य वा ‘रिप्रोडक्टिभ हेल्थ’ विषयमा तालिम दिएको थिएँ । सहभागीहरू सबै एमए तह पास गरेका शिक्षकहरू हुनुहुन्थ्यो । त्यो तालिम मेरो लागि आजसम्मकै सबैभन्दा उत्कृष्ट तालिम हो भन्छु ।
अधिकांश सहभागी शिक्षकले प्रजजन स्वास्थ्य विषयलाई महिलाका दृष्टिकोणबाट हेरेपछि आफूमा रहेको भ्रम र अज्ञानतालाई देख्न र व्यक्त गर्न सक्नुभयो । मैले महिलाको ‘रिप्रोडक्टिभ हेल्थ’ का बारेमा कुरा गर्दै गर्दा केही शिक्षकहरू त भावुक भएर रुनुभयो । उहाँहरूमध्ये धेरैले आत्मसात् गर्दै भन्नु पनि भएको थियो– मैले यत्ति पढेँ तर यस्तो जानेको रहेनछु । नजानेर मैले श्रीमतीमाथि धेरै अन्याय गरेको रहेछु भन्ने महसुस भयो ।
मैले सोही विषयमा त्यस्तै तालिम प्रहरीहरूलाई पनि दिएको थिएँ । प्रहरीहरूले पनि त्यसलाई सकारात्मकरूपमा लिएको पाएँ । हामीले कुनै विषयमा उच्चशिक्षा नै लिएका छौँ भने पनि त्यो विषयमा सबै कुरा जानेका हुँदैनौँ । शिक्षामा महिलावादी दृष्टिकोण नै नभइसकेपछि त्यो अपूरो र अधुरो त हुने नै भयो । मैले दिने गरेको तालिमले परम्परागत र औपचारिक शिक्षामा रहेको त्यो दृष्टिकोणको कमी र कमजोरीलाई केही हदसम्म हटाउन मद्दत गर्छ ।
प्रजनन स्वास्थ्य विषयमा कुरा गर्नुपर्दा विज्ञानले महिलाको भूमिकालाई स्पष्ट देख्न सक्छ तर मानविकी तथा समाजशास्त्रले महिलावादी दृष्टिकोणलाई अनदेखा गर्ने र पाखा पार्ने गरेकाले विश्वविद्यालयहरूमा त्यसको वास्तविक ज्ञान आदानप्रदानको काम अधुरै रहन्छ । त्यसलाई शिक्षकहरूले अलि राम्ररी बुझेर प्रतिक्रिया पनि जनाएको पाएँ । यसैले मलाई त्यो तालिम उत्कृष्ट लागेको हो ।
त्यस्तै, पहिला जिल्लामा भएका महिला विकास कार्यालयहरूको पहलमा महिला समूहहरू बनाइएको हुन्थ्यो । ती महिला समूहमा आबद्ध भएका महिलाहरूका श्रीमान्लाई उदयपुरमा रहेको ओरेक नेपालको तालिम केन्द्रमा ल्याएर तालिम दिएकी छु । त्यसैगरी, विभिन्न दातृनिकायहरूले तालिम गर्दा प्रशिक्षकको रूपमा गएर तालिम दिएको छु ।
पुरुषहरूलाई तालिम दिँदा मेरो एउटा अनुभव के छ भने उहाँहरू पहिलो दिन तालिमका कुरामा त्यत्ति मन नलगाउने, यता गर्ने, उता गर्ने अनि हामी प्रशिक्षकलाई उडाउने पनि । दोस्रो, तेस्रो दिनदेखि बल्ल विषयवस्तुको गहिराइमा पुग्ने र सिक्न खोज्ने हुन्छ । तर, यस्ता व्यक्तिका लागि प्रदान गरिने तालिम पनि गुणस्तरीय नै हुनुपर्छ ।
मेरो अनुभवमा पुरुषलाई घरेलु हिंसासम्बन्धी तालिम दिइयो भने घरेलु हिंसा भनेको यो हो, यसो गर्यो भने हिंसा हुन्छ, यसैले हिंसा गर्नु हुँदैन भनेर एकैचोटि सिकाउन खोजेर हुँदैन । कुनै पनि कुरा गर्दा त्यसरी परिणाममा पुगिहाल्ने र परिणाममा अल्झिरहने गर्नुहुन्न । हामी परिणाममा अल्झिने होइन, परिणामले गर्ने हानि, त्यो परिणामले हानि गरिरहेका व्यक्तिहरू अनि बल्ल तपाईं र मलाई नै त्यसले कसरी हानि गरिरहेको छ भनेर बुझाउन थाल्नुपर्छ । त्यसको कारण र समाधान आफूले बताउने होइन, त्यही समूहलाई सोच्न लगाएर उनीहरूबाटै जवाफ सुन्नुपर्छ ।

हामीले २०७७ सालमा पालिका प्रमुखहरूसमेत राखेर जनप्रतिनिधिहरूका लागि तालिम गरेका थियौँ । सिन्धुपाल्चोक जिल्लामा भएको एउटा तालिममा सिन्धुपाल्चोककै एक जना पुरुष मेयर पनि सहभागी हुनुहुन्थ्यो । उहाँले देखाएको व्यवहारको कुरा गर्ने हो भने तालिममा बस्दै नबस्ने, छुकछुक गर्ने, उठिरहने । उहाँले पटक्कै बस्नै नसके जस्तो गर्नुभयो ।
‘बस्नुस् मेयरसाप, एक घण्टा त बस्नुस्’ भन्दै राखेको । त्यसरी एक–दुई घण्टा बसेर सुन्न थालेपछि त उठ्न पनि छोड्नुभयो । पछि त उहाँले ‘दुई दिनको तालिम कसरी सक्यो नै थाहा भएन’ भन्नुभयो । मैले किन यो उदाहरण दिएको भने भित्रैबाट ‘रियलाइजेसन’ गराउन सक्यो भने पुरुषहरूले पनि महिलावादी दृष्टिकोणबाट कुरा बुझ्छन् र व्यवहारमा पनि एकदमै ‘पोजिटिभ’ पनि हुन्छन् ।
मैले वकिलहरूको दुई–तीन वटा समूहलाई पनि तालिम दिएँ, जहाँ पुरुष बढी थिए । धेरै जना पुरुषहरूले तालिममा बस्दा आँखाभरि आँसु बनाएर बस्नुभएको पनि पाएँ । त्यसैले तालिम पुरुषहरूलाई पनि गर्नुपर्छ तर पुरुषहरूलाई तालिम दिँदा ‘महिला हिंसा अन्त्यका लागि पुरुषहरूको भूमिका’ भन्ने जस्तो गरेर ठाडो तरिकाले गर्न चाहिँ हुँदैन । त्यसैले मैले भनेँ नि हामी महिलावादीहरू रणनीतिक हुनुपर्छ ।
हामीले दिने तालिम भनेको अहिले स्थापित महिला र पुरुषको बिचको असमान शक्ति सम्बन्धले महिला र पुरुष दुवैलाई कसरी प्रभाव पारेको छ र अन्ततः दुबैलाई घाटा हुने गरेको छ भन्ने कुरामा स्पष्ट बनाउने हो । हाम्रो ध्यान त्यसमा केन्द्रित हुनुपर्छ । त्यसरी केन्द्रित हुँदा महिला हिँसा भनेको त परिणाम हो, त्यो आफैँ सतहमा आइहाल्छ ।
मैले महिला र पुरुषबिचमा जुन असमान शक्ति संरचना छ, त्यसले हाम्रो जीवनमा के कस्तो असर पारिरहेको छ भनेर हेर्दाखेरि पुरुषहरूलाई एकदमै पोजिटिभ देखेको छु । महिलावादबारे पुरुषलाई तालिम दिनु छ भनेर सोझै ‘महिलावाद’ वा ‘महिलावादसम्बन्धी तालिम’ भन्ने होइन । पुरुषहरूले पनि सुन्न सक्ने कुराको नाम लिएर गर्नुपर्छ । पछि त उनीहरू आफैँ नै महिलावाद भनेको के रहेछ भन्ने व्याख्या गर्दै महिलावादी कुरा भन्न थाल्दा रहेछन् । यो मेरो अनुभवबाट मैले सिकेको कुरा भन्दैछु ।
तालिम भनेको परिणाममा अल्झिने र अलमलिने नभई त्यसको जरो पहिल्याउने वा कारण खोज्ने अनि त्यसलाई सम्बोधन कसरी गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुन सक्नुपर्छ । हामीले तालिम सामाजिक न्यायको लागि हो भन्ने बुझाउन सक्यौँ भने पुरुषहरू पनि मज्जाले महिलावादसम्बन्धी तालिममा बस्दा रहेछन् । यो मैले आफैँले अनुभव गरेको कुरा हो ।
मेरा सबै तालिममा पुरुषहरू बसिसकेपछि महिलावाद के हो र महिलावाद किन आवश्यक छ भन्ने कुरा छुटाउँदिनँ । उहाँहरू बस्नुहुन्छ र सुन्नु पनि हुन्छ । त्यो भनेको कहिलेकाहीँ तालिम सुरु गर्दा रणनीतिक पनि हुनुपर्छ भन्ने हो । तालिममा बसिसकेपछि आफूले दिन खोजेको कुरा जसरी पनि दिन सकिहालिन्छ, दिनै पनि पर्छ । त्यसका लागि हरतरहले आफू तयार भने हुनुपर्छ ।
तपाईंले महिलावादी मान्यता बोक्नु राम्रो हो भन्नुभयो तर हामीकहाँ अझै पनि महिलावादको कुरा गर्दा र महिलावादी भन्नेबित्तिकै कसैलाई किन फरक दृष्टिकोणले हेरिन्छ त ?
महिलावादप्रतिको बुझाइमा कमी भएर यस्तो भएको हो । अर्को चाहिँ यस दृष्टिकोणका बारेमा बुझ्न नखोजेर पनि हो । मलाई लाग्छ, ‘पोलिटिक्स’ बुझेको मान्छेलाई महिलावादीहरू भनेको संरचनात्मक विभेद प्रोत्साहित गर्ने कुराको विरोधी हुन् भन्ने कुरा थाहा छ । त्यसकारण त्यो संरचनागत खेमाका मान्छेहरू महिलावादीहरूसँग डराउँछन् ।
महिलावादी भन्नेबित्तिकै पश्चिमा संस्कृतिमा जस्तो छोटो कपाल काट्ने, रक्सी चुरोट खाने, पुरुषको विरोध गर्ने भन्ने खालको नकारात्मक छवि बनाइएको छ । महिलावादीको त्यस्तो ‘इमेज’ बनाउनमा नेपाली मिडिया र पुरानो संरचनाकै ठुलो हात छ ।
डराउनेहरूले नै महिलावादीहरूलाई हतोत्साहित गर्ने प्रयास पनि गर्छन् । प्रायः यस्तो हतोत्साहलाई संरक्षण गर्ने पनि गरिन्छ, किनकि महिलाको मुद्दा बोक्ने महिलावादीहरूले यो संरचना नै हल्लाउँछन् कि बिगार्छन् कि खलबल्याउँछन् कि भन्ने डर उनीहरूमा हुन्छ । उनीहरूलाई आफू विद्यमान संरचनामै सुरक्षित लाग्छ । यस्तै निहित र व्यक्तिगत स्वार्थले घनीभूत भएका कारण कतिपय राजनीतिकर्मीले पनि आधाभन्दा बढी जनसङ्ख्याले भोगेको संरचनागत विभेदबाट परिवार, समाज, राज्य हुँदै समग्रमा मानव सभ्यताले नै चुकाइरहेको मूल्यलाई बुझ्ने क्षमता राख्तैनन् । यो सबैले ध्यानमा राख्नुपर्ने कुरा हो ।
अर्को कुरा, महिलाहरूले नै पनि ‘म महिलावादी होइन’ भन्छन् नि ! सबै महिलाहरू महिलावादी नहुन पनि सक्छन् । यो पनि हामीले राम्ररी बुझ्नुपर्छ । हाम्रो देशमा अहिले महिला अधिकारसँग जोडिएका परियोजनाहरू चलाउने सबै महिलावादी हुन् भन्ने मान्यता छ । तर, त्यो सही होइन । सबै महिलाहरू वास्तवमा महिलावादी हुँदैनन् ।
महिलावादी भन्नेबित्तिकै पश्चिमा संस्कृतिमा जस्तो छोटो कपाल काट्ने, रक्सी चुरोट खाने, पुरुषको विरोध गर्ने भन्ने खालको नकारात्मक छवि बनाइएको छ । महिलावादीको त्यस्तो ‘इमेज’ बनाउनमा नेपाली मिडिया र पुरानो संरचनाकै ठुलो हात छ । त्यसैले यही संरचनालाई पृष्ठपोषण गर्दा व्यक्तिगत फाइदा प्राप्त गर्नेहरू, चाहे त्यो महिला होस् वा अन्य कोही, विभेदपूर्ण सामाजिक संरचना तथा व्यवहारहरूको विरोध गर्ने साँचा महिलावादीहरूको छवि बिगार्ने काममा लागिरहन्छन् । त्यो पनि हामीले बुझ्न जरुरी छ ।

हामीले ‘महिलावाद भनेको हाम्रो जीवन हो’ र ‘महिलावाद भनेको त हाम्रो बाँच्ने शैली हो’ भनेर बुझाउन नसकेर र बुझ्न नखोजेर पनि यस्तो भएको हो । मलाई लाग्छ, आफूलाई महिलावादी भन्नेहरूबाटै पनि त्यो अप्ठ्यारो सिर्जना भएको छ कति ठाउँमा । ‘म आफूलाई महिलावादी त भन्छु तर म संरचनालाई च्यालेन्ज गर्न चाहिँ सक्दिनँ’ भन्ने ‘महिलावादी’ हरू पनि छन् ।
आफूलाई ‘महिलावादी’ भन्ने तर असमान शक्ति संरचनालाई चुनौती दिन नसकेर पछ्याउँदै हिँड्ने भएपछि त विभिन्न कुराहरू आइहाल्छन् नि ! त्यसैले यहाँ नबुझेर हो कि बुझ्न नखोजेर हो, ‘कन्फ्युजन’ ले हो कि व्यवहारले गर्दा हो, यो वा त्यो मात्रै भएको भन्ने अवस्था ठ्याक्कै छैन । मलाई लाग्छ, महिलावादीलाई नकारात्मक ट्याग लगाउनाको कारण यी सबैको सम्मिश्रण हो । यी सबै कारण कतै न कतै महिलावादीप्रतिको नकारात्मक छविसँग जोडिएका छन् ।
महिलावाद भनेको जीवन हो र बाँच्ने शैली हो भने कुनै पनि व्यक्तिका लागि महिलावाद बारेको बुझाइ कत्तिको आवश्यक छ ?
मैले अघि पनि भनेको छु, यो सबै मानिसका लागि एकदमै आवश्यक छ । यसो भन्दै गर्दा म महिलावादी हुँ वा म फेमिनिस्ट हुँ भनेर भन्नैपर्छ भन्ने पनि छैन । म पहिला ओरेकमा हुँदा मैले विभिन्न जिल्लामा समुदायस्तरका पाँच हजारभन्दा बढी महिलालाई तालिम दिएँ । ती तालिममा नपढेका, केही पनि अवसर नपाएका, एकदम ग्रामीण भेगका महिलाहरू हुन्थे ।
हाम्रो तालिममा सहभागीहरूमध्ये अहिले कति जना प्रदेश सांसद र कति जना पालिकाको उपमेयर, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य भएको देखेको छु । उहाँहरू जनप्रतिनिधि भइसक्नुभएको छ । तालिमकै कारण उहाँहरूको सोचदेखि कुरा गर्ने र काम गर्ने तरिकालाई हेर्दा समग्र जीवनशैली नै अरूको भन्दा धेरै फरक भएको छ भन्न सक्छु ।
समुदाय तहका तालिममा महिलावादी दृष्टिकोणबाट कुरा बुझाउन सक्दा व्यक्तिको सोच, बोली र व्यवहारमा झन् बढी सकारात्मक परिवर्तन हुन्छ । महिलावादी दृष्टिकोणका कारण वास्तविक परिवर्तन त त्यहाँनिर देखिएको छ भन्छु । यसैले ‘महिलावादी’ भन्ने एउटा ट्याग लगाएर आफूले ‘म’ भनेर मात्रै हुँदैन, त्यो कुरा त्यसो भन्ने व्यक्तिको व्यवहारमा पनि देखिन पर्छ ।

मेरो व्यक्तिगत कुरा गर्ने हो भने, मैले सबैभन्दा पहिला देखेको मेरो लागि पहिलो महिलावादी मेरो हजुरआमा हो भन्छु जहिले पनि । मेरो आमाको आमा । मेरी हजुरआमाले पढ्नु, लेख्नुभएको थिएन । लेखपढ गर्न पाउनुभएको पनि थिएन । उहाँ ४० वर्षको हुँदादेखि म हजुरआमासँग बस्न थालेको । उहाँ एक्लै, विधवा, तराईमा बसेको पहाडिया मूलको महिला ।
सङ्घीय संरचनामा प्रदेश नम्बर २ हुँदै मधेस प्रदेश नामकरण गरिएको त्यो ठाउँमा त्यतिखेर पहाडिया र मधेसी भनेर त्यस्तो धेरै फरक त थिएन तर हेप्नेहरू हुन्थे महिलालाई महिला भनेरै । त्यो बेला त्यो ठाउँमा त्यस्ताहरूलाई मेरो हजुरआमाले एउटा ‘च्यालेन्ज’ नै दिएर बस्नुभयो भन्छु । सामान्य परिवारको हुनुहुन्थ्यो । उहाँले मेरो मामालाई पढाउनुभयो, बढाउनुभयो । मेरो आमालाई हुर्काएर १२ वर्षको उमेरमै बिहे गर्दिनुभयो ।
माया, करुणा, प्रेम भन्ने कुरा महिलावादका एकदमै महत्त्वपूर्ण पाटा हुन् । मेरी हजुरआमाले जसरी महिलाहरूलाई माया गर्नुहुन्थ्यो, जसरी सहयोग गर्नुहुन्थ्यो, बलियो हुन सिकाउनुहुन्थ्यो, ती कुरा महिलावादको अवधारणा, सिद्धान्त र दृष्टिकोणसँग मिल्छन् ।
हजुरआमाको सबै व्यवहार महिलावादी सोचको भए पनि छोरीको सानै उमेरमा बिहे गर्ने र महिनावारी बार्ने जस्ता व्यवहार गर्नुभयो । मेरो आमालाई तीन हो कि चार कक्षामा पढ्दा नै बिहे गर्दिनुभएको रे ! उहाँका ती व्यवहार भने महिलावादी सोचका नभएर धार्मिक सांस्कृतिक विभेदपूर्ण चलनबाट प्रभावित थिए । त्यसैले त हामी भन्छौँ, महिलावादीहरू पनि फरक फरक समय र सन्दर्भमा फरक फरक तवरले प्रभावित हुन्छन् । सोही अनुसारको व्यवहार गर्न बाध्य पनि हुन्छन् ।
माया, करुणा, प्रेम भन्ने कुरा महिलावादका एकदमै महत्त्वपूर्ण पाटा हुन् । म प्रायः ‘कम्प्यासन’, ‘लभ’ भन्ने गर्छु । मेरी हजुरआमाले जसरी महिलाहरूलाई माया गर्नुहुन्थ्यो, जसरी उहाँको व्यवहार ‘डिलिङ’ हुन्थ्यो, अरूलाई जसरी सहयोग गर्नुहुन्थ्यो, जसरी बलियो हुन सिकाउनुहुन्थ्यो, ती कुरा महिलावादको अवधारणा, सिद्धान्त र दृष्टिकोणसँग मिल्छन् । म जति बलियो छु, त्यो हजुरआमाको कारणले नै हो भन्छु ।
हजुरआमाले महिलाहरूलाई गर्ने माया, सहयोग, अरूलाई बलियो हुन सिकाउने तरिका, भावना र चाहना त्यो नै त हो नि महिलावाद ! उहाँले नै मलाई हामी महिला भएपछि धनी गरिब जे भए पनि अप्ठ्यारोमा परेको महिलालाई सहयोग गर्नुपर्छ भनेर सिकाउनुभयो । मेरो त्यही सिकाइ नै समयसँगै परिष्कृत हुँदै गएर आज मेरो महिलालाई हेर्ने दृष्टिकोण अनि महिलाका समस्याहरूलाइ हेर्ने दृष्टिकोणमा नै परिवर्तन भएको हो ।

मेरो मनभित्र हजुरआमाले सिकाउनुभएको कुरा र उहाँले भोग्नुभएका समस्याहरू मेरो सिकाइ र बुझाइका जगका रूपमा छन् । ती कुरा र समस्याहरू, जसको म साक्षी हुँदै हुर्कें, तिनले नै मभित्र केही गर्नुपर्छ, असमान शक्ति संरचनामा आफूले सकेको परिवर्तन गर्नै पर्छ र त्यसको अगुवाइ हामीले नै गर्ने हो अनि त्यसैका लागि जन्मेको हो जस्तो मलाई लाग्दछ ।
मेरो विचारमा महिलावादी हुनलाई रोजा लक्जम्वर्गले के भने वा बेल हुक्स वा विश्वमा नाम चलेका र अरू महिलावादीहरूले के भने भनेर जान्नुपर्छ भन्ने छैन । के चाहिँ गर्नुपर्यो भने समुदायमा के जरुरी छ, त्यो गर्न सक्नुपर्यो, त्यहाँ अन्यायको विरुद्ध सत्यनिष्ठ भई बोल्न सक्नुपर्यो । समुदायमा हेर्ने हो भने महिलाको पहिचान के हो र महिलाको पहिचानलाई कसरी पाखा लगाइएको छ भन्ने कुराको बोधमा स्पष्टता थप्नुपर्ने देखिन्छ ।
समुदायमा अहिले कसरी महिलाको कामलाई पाखा लगाइएको छ भनेर बुझेका महिलाहरू पनि छन् । तिनले त्यो कुरा अरूलाई पनि बुझाउनुपर्छ । यो नै एउटा राजनीति र रणनीति पनि हो । मलाई लाग्छ, हाम्रो सन्दर्भमा यो नै महिलावाद हो । हामी महिलाहरू सङ्गठित भएर अघि बढ्न सक्यौँ भने मात्रै यो परिवर्तन ल्याउन सक्छौँ । समुदायमा यो कुरा मात्रै बुझाउन सक्यौँ भने पनि सकारात्मक परिवर्तनको आगो बलिहाल्छ नि !
महिलावादी भनेको कपाल काटेर छोटो बनाएको भन्ने जस्तो इमेज आउँछ पनि भन्नुभयो । छोटो कपाल, महिलावादी र महिलावादबिच त्यस्तो केही सम्बन्ध छ र ?
मलाई लाग्छ, यो इमेज एक प्रकारको विद्रोहको स्वरूप हो । विद्रोहका फरक फरक स्वरूप हुन्छन् । अलि पहिला महिलाहरूले सङ्घर्ष गर्दा हामी कालो पेटिकोट लगाएर सडक आन्दोलनमा निस्क्यौँ नि ! सङ्घर्ष गर्दा विद्रोहको सन्देश दिने कुनै न कुनै एउटा विधि र औजार वा टुल हुन्छ । सुरुका महिलावादीहरूले गरेको विद्रोह हेर्दा महिला आन्दोलनमा विभेदकारी संरचनाप्रति विद्रोह जनाउन महिलाहरूले छोटो कपाल राख्ने पनि गरेका रहेछन् भन्ने देखिन्छ ।
विगतमा युरोपतिर राम्रो महिला भन्नेबित्तिकै घाँटीमा मोतीको माला लगाएको, कानमा टप लगाएको, लामो कपाल पालेको, कपाल बाटेको भन्ने इमेज बनाइएको हुन्थ्यो । पुराना फोटोहरू हेर्यौँ भने यस्ता कुरा देखिन्छन् पनि । विद्रोहको सुरुमा त्यस्तो इमेजलाई नै महिलावादीहरूले चुनौती दिएका हुन् जस्तो मलाई लाग्छ । विदेशमा भएका विद्रोहका ती स्वरूपहरूको राम्रो दस्ताबेजीकरण भयो, त्यसैले हामीले त्यो देख्यौँ ।
महिलाहरूले समाजले उनीहरूलाई दिएको परम्परागत विम्बलाई परिवर्तन गर्न खोजे । त्यसरी इमेज बदलेर समाजलाई चुनौती दिएको कुरा समाजमा महिलाहरू कस्तो हुनुपर्छ भनी विम्ब बनाउने मानिसहरूलाई मन परेन ।
हामीकहाँ पहिलेको पुस्ताका महिलाले संरचनाका विरुद्ध आफ्नै तरिकाले प्रदर्शन गरेका केही न केही विद्रोहका स्वरूप त पक्कै थिए होलान् तर तिनको महत्त्व बुभिएन, पहिचान भएन र दस्ताबेजीकरण हुन सकेन, त्यसैले ती कुरा हामीले अहिले देख्न पाएका छैनौँ । फरक त्यति हो जस्तो मलाई लाग्दछ ।
सुरुका महिलाका विद्रोहहरू, विशेषगरी युरोपको, हेर्दा के देखिन्छ भने त्यसरी समाजले कस्ता महिलालाई राम्रो महिला भनेको थियो, त्यसलाई नै खण्डन गर्दै विद्रोहको रूपमा महिलाले लगाउने भित्री वस्त्र ब्रा नलगाउने, कपाल काट्ने, कानमा लामो इयरिङ लगाउने कार्य गरे । त्यसो गरेर महिलाहरूले समाजले उनीहरूलाई दिएको परम्परागत विम्बलाई परिवर्तन गर्न खोजे । यस्तो लगाउँदा वा नलगाउँदा पनि महिलाहरू राम्रा नै हुन्छन् है भन्ने सन्देश दिन खोजे ।
अर्कोतिर भने त्यसरी महिलाहरूले इमेज बदलेर समाजलाई चुनौती दिएको कुरा समाजमा महिलाहरू कस्तो हुनुपर्छ भनी विम्ब बनाउने मानिसहरूलाई मन परेन । त्यसपछि त्यसरी समाजले राम्रो भनी मान्यता दिएको रूपलाई अपनाउन नमान्ने महिलाहरू परम्परागत दृष्टिले खराब महिला हुन् भन्ने प्रतिविम्ब बनाइयो, जसको निरन्तरता अहिले पनि छ ।
विश्वव्यापीकरणको लहर हुँदै त्यस्ता विम्ब र तिनका क्रिया–प्रतिक्रियाका सन्देश यता पनि आए ।
हामीले कतिपय सिनेमा र पुस्तकहरूमा देखेका, पढेका र सुनेका छौँ– पुराना महिलावादीहरूले सुरुमा विद्रोहको भाव स्वरूप ब्रा जलाए, पासपोर्ट जलाए, कपाल नपाल्ने भनेर छोटो कपाल बनाए भनेर । त्यो भनेको विद्रोहको रूपमा अगाडि आएको व्यवहार हो । मेरो विचारमा भन्ने हो भने अहिले कपाल पाल्नु र नपाल्नुसँग त्यस्तो भाव जोडिएको छैन । केही भिन्नता पनि छैन तर छोटो कपाल हुँदा हाम्रो जस्तो देशमा अलिकति ‘कन्फिडेन्स’ हुन्छ होला ।

हाम्रो देशकै कुरा गर्ने हो भने पनि योगमायाकै विद्रोह हेर्न सक्छौँ । त्यतिखेर बिहे गरेकी छोरी माइत आउन हुँदैन भन्ने व्यवहारलाई उहाँले चुनौती दिन खोज्नुभयो । त्यतिखेर विधवा विवाह गर्न हुँदैन भन्ने कुरालाई उहाँले चुनौती दिएर अर्को विवाह गर्नुभयो । अनि, विद्रोहस्वरूप कोशीका प्रमुख सहायक नदीहरूमध्ये एक अरुणमा आफ्ना अनुयायीहरूसँग फाल हाल्नुभयो ।
महिला आन्दोलन समय, परिस्थिति अनि देशको सामाजिक रीतिथिती अनुसार विभिन्न हुन सक्छ, विद्रोहको तरिकालाई आफ्नो ठाउँ र स्थितिले फरक बनाउन सक्छ भन्ने कुरा हामीले यी उदाहरणहरूबाट बुझ्नुपर्छ । यसका साथै कुनै इमेजका सम्बन्धमा कतिको आफ्नै सोच पनि हुन सक्छ । उदाहरणका लागि कतिलाई चाहिँ लामो कपाल काटेर छोटो बनाएपछि ‘म चाहिँ केटा जस्तो भएँ, म पनि बलियो छु’ भन्ने पनि लाग्यो होला । कतिलाई अरूले पनि केटा जस्तो भने होलान् ।
मेरो विचारमा चाहिँ यी सबै तपसिलका कुरा हुन् । मुख्य कुरा त कपाल लामो पार्ने कि छोटो पार्नेभन्दा पनि आफूलाई के गर्न मन लाग्छ, के गर्दा सहज वा असहज लाग्छ, त्यो चाहिँ गर्न पाउनुपर्छ । विभिन्न कारणले व्यक्तिको रुचिमा परिवर्तन आउन सक्छ । कुनै पनि व्यक्तिले आफ्नो रुचिअनुसार आफ्नो इमेज कस्तो बनाउने त्यसको छनोट गर्न पाउनुपर्छ ।
मेरै आफ्नै अनुभव पनि के छ भने सानोमा सर्ट र हाफ प्यान्ट लगाउँदा चाहिँ ‘ओहो, म बलियो छु’ भनेको जस्तो लाग्थ्यो । किनभने, मेरो पालामा मेरो गाउँमा छोरा भनेको बलियो हुन्छ भन्ने मान्यता थियो । त्यसैगरी मेरो सामाजिकीकरण भयो । मेरो ‘सोसिअलाइजेसन’ त्यसरी भएको हो । त्यसैले मलाई पनि मेरा दाइभाइहरूले लगाउने जस्तै लुगा लगाउँदा आफू बलियो भए जस्तो लाग्थ्यो ।
धेरै पछिसम्म पनि मभित्र मैले पनि मेरा दाइहरूले जस्तै लुगा लगाउन पाएँ, मैले घाँघर लगाइनँ, फ्रक लगाइनँ भन्ने मनोविज्ञान रहिरह्यो । लुगा फरक लगाउँदैमा मान्छे बलियो हुने त होइन, यो सामाजिकीकरणको कुरा हो । तर, सानैदेखि गरिएको यस प्रकारको सामाजिकीकरणले मानिसभित्र आफू बलियो भएको अनुभूत हुन सक्छ । महिलावादका सन्दर्भमा यो पनि बुझ्नुपर्छ हामीले जस्तो लाग्छ मलाई ।

महिलावाद वा महिलावादी दृष्टिकोणका बारेमा आमरूपमा बुझाउन कसले के गर्नुपर्छ ?
महिलावादी दृष्टिकोणका बारेमा आमरूपमा बुझाउनको लागि समय लाग्छ । संसारकै कुरा गर्दा, धेरै परिवर्तनहरू भएको पनि देखिन्छ तर धेरै कुरा अझै पनि परिवर्तन नभएको अवस्थामा छ भन्ने हामीले देखिराखेकै छौँ । त्यसैले यो कुरा बुझाउन समय लाग्छ । कुनै पनि व्यक्तिले पहिले त आफूमा यो कुरा बुझ्ने चाहना जगाउन पनि सक्नुपर्छ ।
म आफूलाई चाहिँ गर्वका साथ ‘फेमिनिस्ट’ भन्छु । म फेमिनिस्ट भएको नाताले मैले सकुन्जेल सोही भावनाका साथ फरक शैलीमा काम गर्छु । मलाई कसैले पैसा दिन्छ, दिँदैन, परियोजना वा प्रोजेक्ट आउँछ, आउँदैनले केही पनि फरक पार्दैन । यो मेरो भित्री राजनीति हो, ‘पोलिटिक्स’ हो । त्यसैले ‘फेमिनिज्म इज पोलिटिक्स’ भनेको हुँ मैले ।
महिलावाद भनेको राजनीति हो भन्ने कुरा बुझिसकेपछि मात्र यसको भित्री राजनीतिलाई बाहिर ल्याउन फेमिनिस्टहरूले स्वतःस्फूर्त काम गर्छन् । अधिकारकर्मीले त्यसरी नगर्न पनि सक्लान् तर फेमिनिस्टहरूले चाहिँ आफ्नो हिसाबले मज्जाले गर्छन् । यो पक्कै पनि चुनौतीपूर्ण छ ।
कति मान्छेहरूले फेमिनिस्टहरू आफ्नै परिवारमा मिल्न सक्दैनन्, उनीहरूको आफ्नै परिवार बिग्रिन्छ भन्छन् । त्यो एक हिसाबले सत्य पनि हो । किनभने मैले बुझेको छु, मेरो भित्रैदेखिको जुन पोलिटिक्स छ, त्यो कुरा मेरो पार्टनरले बुझिदिएन भने त कुरा मिल्दैन नि ! मेरो जीवन साथी वा ‘लाइफ पार्टनर’ भइसकेपछि उसले मेरो भित्री राजनीति पनि बुझ्नुपर्यो । नबुझ्ने व्यक्तिसँग जीवन कसरी सँगै बिताउन सकिन्छ र ? होइन त ?
म फेमिनिस्ट हुँ भने मैले मात्रै सधैँ किन सम्झौतापरस्त भएर ‘कम्प्रमाइज’ गर्ने भन्ने प्रश्न त स्वाभाविकै भएर आउँछ नि ! परिवर्तन गर्नुपर्छ, विद्रोह गर्नुपर्छ भन्ने मैले सिकेको छु । यस्तो मेरो पोजिसन छ भने घरमा चाहिँ सधैँ त म कम्प्रमाइज गरेर बस्न सक्दिनँ नि ! अनि म बोल्छु । म बोल्दा त्यहाँ विद्रोह हुन्छ, मैले विद्रोह गरेको मानिन्छ । यसो भयो भने के हुन्छ त ? सम्बन्धविच्छेद हुन्छ, ‘डिभोर्स’ हुन्छ ।
डिभोर्स हुनुलाई मेरो मात्रै अथवा महिलाको मात्रै दोष भन्न मिल्छ ? त्यसैले यो ‘फेमिनिस्टहरूले डिभोर्स गर्छन्’ भनेर जसले भन्छ, उसले पनि नबुझेर भनिराखेको छ । पुरुषहरूले महिलाहरूलाई अथवा श्रीमान्ले श्रीमतीलाई नबुझेको र बुझ्न नसकेको कारणले डिभोर्स भएको भन्नुपर्यो नि ! यसमा महिलाकै गल्ती किन देख्छन् त ? हो, त्यही हो महिला र पुरुषबिचको असमान शक्ति संरचना भनेको ।
महिलाले गरेको काम चाहिँ गलत हुने अनि पुरुषले गरेको गल्ती चाहिँ ‘ए ! त्यस्तै पर्यो होला’ भनेर सहजै लिइन्छ । हामीलाई अब त्यसरी विभेदका आँखाले ‘सम्पूर्ण दोषी जति महिलाकै हो’ भनेर हेरिनु भएन भन्ने हो । त्यसैले, महिलावादी दृष्टिकोणका कुरा सबैले बुझ्नुपर्छ । कसले के गर्ने भन्नुभन्दा पनि जो जहाँ छौँ, त्यहीँबाट समभावका साथ कसैले पनि कसैलाई चोट नपुर्याउन नपाउने गरी काम गर्ने हो ।
कसैले बोल्ने, कसैले लेख्ने होला, कसैले तालिम दिने होला यस्तै यस्तै गरिरहनुपर्छ । मलाई के पनि लाग्छ भने संस्थागतरूपमै ‘फेमिनिज्म’ नै भन्दा पनि ‘असमान शक्ति संरचना’ का कुराहरू राखेर स्कुलदेखिकै पाठ्यक्रम डिजाइन गरिनुपर्छ । बच्चाहरूको हुर्काइको तरिका बदल्नैपर्छ । ‘लभ’, ‘कम्प्यासन’ का कुराहरू सिकाउनुपर्छ ।
अघि पनि भनेँ, लभ र कम्प्यासनका कुरा म अलि धेरै गर्छु । यो किनभने म एउटा महिलावादी हुँ । महिलावादी भएकै कारण मसँग महिला हिंसाको र महिलालाई कुनै अप्ठ्यारो परेको केस आयो भने मेरो प्राथमिकता महिलाप्रति हुन्छ र हुनुपर्छ । त्यो महिलाले गल्ती नै गरेको हुन पनि सक्ला, गल्ती गरेको रहेछ भने सजाय दिने कुरा पछि होला तर आउनेबित्तिकै चाहिँ उनको कुरा सुन्नु, उनलाई परेको अप्ठ्यारोमा मैले साथ दिनुपर्छ भन्ने मेरो सिद्धान्त र अभ्यास हो ।
को चाहिँ महिलावादी होइन ?
महिलावाद भनेको महिला र पुरुषबिच समान सम्बन्ध भएको समाजको परिकल्पना गर्ने त हो नि ! हामीले आफूलाई महिलावादी भन्ने तर अप्ठ्यारोमा पर्नेलाई देख्नेबित्तिकै टाउको फर्काएर हिँड्ने चाहिँ गर्नु हुँदैन । त्यसो गर्ने व्यक्ति महिलावादी हुन सक्दैन । त्यो अप्ठ्यारोमा महिला होस् वा पुरुष वा अन्य नै किन नहोस्, सबैभन्दा पहिले सहयोग गर्नुपर्छ । तत्कालको लागि उसलाई हुने न्यायको कुरा भयो त्यो ।
काम गर्ने क्रममा कडा होला । बोल्नमा कडा होला । तर, न्यायको कुरामा चाहिँ सहज हुनैपर्छ महिलावादीहरूले । यहाँनेर न्याय भनेको अदालती न्यायको मात्रै कुरा बुझ्नु हुँदैन । महिलावादी हो कि होइन भनेर हेर्ने सूचक वा ‘इन्डिकेटर’ हुन् यस्ता कुराहरू । त्यसो भनेर महिलाको कुरा गर्दैमा मात्र फेमिनिस्ट भइँदैन । व्यवहारमा महिलावादी देखिनुपर्छ ।
कसैलाई महिलाको बारेमा अलिकति बोल्नेबित्तिकै म फेमिनिस्ट हुँ भन्ने लाग्ला । आफूले आफूलाई त्यसो भन्न सजिलो पनि होला तर फेमिनिस्टको गुण र व्यवहार लिएर अगाडि बढ्न चाहिँ एकदमै गाह्रो छ । त्यसैले फेमिनिस्टहरूमा अर्काेप्रतिको पे्रम, करुणा, माया, सहिष्णुता र सहयोगको भावना हुनैपर्छ । स्पष्टै छ, यी र यस्ता गुणहरू नभएका व्यक्ति चाहिँ महिलावादी होइनन् ।
महिला आन्दोलनले उठाउनुपर्ने मुद्दा भनेको लोकतन्त्रलाई संस्थागत गर्ने हो । लोकतन्त्रलाई संस्थागत गर्ने कुरा गर्दा हामीले महिलाको समानुपातिक प्रतिनिधित्व, महिलाको अधिकारलाई केन्द्रमा राखेर गर्नुपर्छ ।
महिलावाद भनेको असमान शक्ति सम्बन्धलाई समान शक्ति सम्बन्धमा परिवर्तन गर्ने र घरदेखि नै सबै मानिसका लागि बाँच्न सहज हुने समन्यायिक समाज निर्माणको लागि बनेको दृष्टिकोण हो । मलाई लाग्छ, कोही पनि राम्रो बुझेको महिलावादी छ भने उसले पुरुषको अधिकार खत्तम होस् भनेर कहिल्यै पनि भन्दैन । त्यसरी कहिल्यै पनि सोच्दैन । त्यसैले सच्चा महिलावादीदेखि कोही पनि पुरुषहरू नडराए हुन्छ ।
तपाईं ‘फेमिनिज्म’ लाई महिलावाद भन्नुहुन्छ कि नारीवाद ? किन ?
म महिलावाद भन्छु । मैले त्यसरी नै बोल्न सुरु गरेँ । तालिम दिन सुरु गरेँ । त्यसैले मलाई महिलावाद नै भन्न मन पर्छ ।
अहिलेको नेपालको सन्दर्भमा महिलावादी आन्दोलनले उठाउनुपर्ने मुद्दा के के हुन् ?
मेरो विचारमा अहिलेको नेपालको महिला आन्दोलनले उठाउनुपर्ने मुद्दा भनेको लोकतन्त्रलाई संस्थागत गर्ने हो । प्रथमतः हामीले प्राप्त गरेको लोकतन्त्रलाई संस्थागत कसरी गर्ने भन्नेमा चिन्तन गर्ने हो । देशमा लोकतन्त्र नै रहेन भने महिलाको अधिकारको बारेमा न बोल्न पाइन्छ, न केही काम गर्न नै ।
महिलाको पहिचान, काम र शरीरका आधारभूत कुरा यसअघिकै प्रश्नको जवाफमा आइसकेका छन् । अब लोकतन्त्रलाई संस्थागत गर्ने कुरा गर्दा हामीले महिलाको समानुपातिक प्रतिनिधित्व, महिलाको अधिकारलाई केन्द्रमा राखेर गर्नुपर्छ । धेरै पटक हामी महिलाहरू लोकतन्त्रका लागि राजनीतिक पार्टीहरूसँगै हिँड्यौँ, सँगै लड्यौँ तर लोकतन्त्र आएपछि हामी महिलालाई पाखा लगाइयो ।
महिलालाई यसरी पाखा लगाइनाको कारण के हो ? यो कुरा बुझेर त्यसबाट भएको सिकाइलाई लिएर सबै महिलावादीहरू एक हुनुपर्छ । पार्टीमा लागेका महिलाहरू पनि पार्टीको दायराभन्दा माथि उठेर महिलाका मुद्दामा विभाजित नभइकन अगाडि बढ्नुपर्छ । यो मेरो अनुभवको आवाज हो । लोकतन्त्रका लागि आन्दोलनमा होमिएका महिलाहरू पाखा लगाइएका सन्दर्भमा भन्नुपर्दा त यो मेरो बुझाइको सार पनि हो ।
पीर लागेको छ, म लोकतन्त्रमा विश्वास गर्ने मान्छे, महिला मानव अधिकारकर्मी मान्छे तर अहिले पार्टीका नेताहरूले महिलाहरूलाई सुनेका छैनन् । पार्टीभित्र महिलाहरू नबोलेका पनि होइनन्, संसद्मा पनि महिलाहरू एकदमै बोल्नुभएको छ तर सुनिएको छैन । उहाँहरूको विचारलाई वास्ता गरिएको छैन । लोकतन्त्रविनाको राजनीतिक प्रणाली हामीले भोगेकै हो नि ! लोकतन्त्रमा पनि त्यस्तै भइरहेको छ, किन ?
मलाई लाग्छ, देशमा नेताहरू खराब हुँदै गएको हो, प्रणाली खराब होइन । प्रणालीको हिसाबले लोकतन्त्र नै रहनुपर्छ, लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ । हामीले लोकतन्त्रमा भएका सकारात्मक पक्षहरूलाई उजागर गर्नुपर्छ । यसो गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । महिला अधिकारका लागि लोकतन्त्र बलियो हुनु जरुरी छ । त्यसैले प्रणालीको हिसाबले लोकतन्त्र नै चाहिन्छ । राजनीतिक पार्टीहरू नै चाहिन्छ ।

पार्टीहरूले लोकतान्त्रिक प्रणालीमा पनि महिलाप्रति अनुत्तरदायी भइरहे भने हामीले त्यसको कारण खोज्नुपर्छ, बुझ्नुपर्छ । पार्टी र राज्य संरचनाभित्रका खराब व्यक्ति र प्रवृत्तिविरुद्ध बोल्नु पनि पर्छ । सही कुरा समयमै बोल्नका लागि र महिला अधिकारको प्रवर्धन र रक्षाका लागि लोकतन्त्र नै चाहिन्छ । महिला अधिकारका लागि लोकतन्त्र बलियो पनि हुनुपर्छ भनेर हामीले ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु गरेका छौँ ।
बलियो लोकतन्त्र र महिला अधिकारका लागि वकालत गर्नकै लागि यो अभियान सुरु गरिएको हो । लोकतन्त्रलाई बलियो बनाउन खराब व्यक्ति र प्रवृत्तिविरुद्ध बेलैमा सप्रमाण तार्किक ढङ्गले बोल्नुपर्छ । महिलावादी दृष्टिकोणबाट सही ढङ्गले बुझेर सबै खालका महिलाका मुद्दा उठाउनुपर्छ । यसै प्रक्रियाबाट सबै खालका मानिसका अहिलेसम्म नसुल्झिइरहेका व्यावहारिक समस्याको पनि समाधान निस्कन सक्छ । यही सोचेर नै हामीले अभियानको नाम नै ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ राखेका हौँ ।
उठाउनुपर्ने अर्को मुद्दा चाहिँ काम र शरीरसँगै सम्बन्धित छ । महिलाको काम र शरीरप्रतिको परम्परागत बुझाइलाई बिराम लगाउँदै यसमा मानव अधिकार र महिलावादी दृष्टिकोणसहित थप सम्बोधन गर्नुपर्छ । महिलावादी आन्दोलनले महिलाको काम र शरीरमाथिको नियन्त्रण महिलाको आफ्नै हुनुपर्छ भन्ने विचारलाई व्यवहारमै स्थापित गर्ने गरी मुद्दा उठाउनुपर्छ ।
महिलाका भनिएका अधिकांश काम, जुन जीवन निर्वाहका लागि नगरी नहुने छन्, तिनलाई सम्मानजनक ढङ्गले बुझ्नै नदिएर संरचनाले ठग्दै यहाँसम्म ल्याएको छ । महिलाका काममाथिको संरचनागत ठगीको अन्त्य गर्दै हेपिएका र गन्दै नगनिएका जे जति काम छन्, ती सबै कामको सही ढङ्गले मूल्याङ्कन हुनुपर्दछ र महिलाका भनिएका घरायसी कामको सम्मान र पुरुषसँग ती कामको बाँडफाँड पनि हुनुपर्छ भन्ने लाग्छ मलाई ।
महिलाको काम र शरीरसँगै जोडिएको अर्को मुद्दा पनि उठाउनुपर्छ । यो जनसङ्ख्याको घट्दो दरसँग सम्बन्धित छ । यो मुद्दालाई राज्यले महिलावादी दृष्टिकोणका साथ प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने अवस्था छ । म यो कुरा किन भनिरहेको छु भने अहिले संसारभरकै जनसङ्ख्याको रूप परिवर्तन हुँदैछ, जन्मदर घट्दो क्रममा छ । यथास्थितिमा धेरै जोडीले बच्चा जन्माउन चाहँदैनन् । त्यो महिलाले नचाहेर मात्र होइन, नभ्याएर पनि हो ।

महिला एक्लैले घरभित्र र बाहिरका सबै काम गर्नुपर्ने भएपछि चाहेर पनि बच्चा जन्माउन र हुर्काउन उनलाई समय नै पुग्दैन । यसै त महिलामाथि श्रमको थप भार, त्यसमाथि संरचनागत तरिकाले नै शोषण हुने हुनाले पनि बच्चा जन्माउने चाहना धेरै जोडीको प्राथमिकताबाट बाहिरै रहेको हो । त्यसैले व्यक्ति तहमा आफ्नो पेसागत, व्यावसायिक सोचसँग मेल खानेबिच जोडी हुन जरुरी छ ।
राज्य तहमा पनि महिलाले बच्चा जन्माउने भनेको आफू र आफ्ना परिवारका लागि मात्र होइन, देशको लागि पनि लगानी गरेको हो भनी बुझिनुपर्छ । यस खालको बुझाइ लिएर सरकारले महिलाको प्रजनन अधिकारलाई सम्मान गर्दै बच्चा जन्माएपछिका उनका आवश्यकताहरूको सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट ल्याएर त्यसलाई प्रभावकारी ढङ्गले अघि पनि बढाउनुपर्छ ।
राज्यले महिलाको प्रजनन कार्यलाई सम्मान गर्ने अनि उनको घरायसीदेखि कार्यालयसम्मका कामको सही मूल्याङ्कन गर्दै कार्यस्थललाई महिलामैत्री बनाएर शिशु हुर्काउनलाई पनि सजिलो बनाउनेखाले वातावरण तयार गर्नुपर्छ । अनि, व्यक्ति तथा परिवार तहमा दम्पती दुवै जनाले आफूलाई महिलावादी सोच र शैलीमा काम गर्न सक्ने बनाए भने उनीहरूबिच आपसमा असमझदारी पैदा हुँदैन । त्यसपछि मात्र जैविक प्रजननका साथै सामाजिक कार्य पनि सहज हुन्छन् ।
प्रकाशन मिति : २०८२ साउन १६ गते, शुक्रवार