सीमान्तकृत, आदिवासी र राज्यको पहुँचबाहिरै राखिएका सचेत र कर्मठ महिलाको उदाहरणीय एक नाम हो, शान्ति कुमाल । जन्मका आधारमा नेपालका आदिवासी जनजातिमा सूचीकृत अल्पसङ्ख्यक समुदायकी छोरी र वैवाहिक सम्बन्धका आधारमा उहाँ ब्राह्मण समुदायकी महिला हुनुहुन्छ ।
चितवन जिल्लाको मेघौलीस्थित मझुवाटारमा २०४२ सालमा जन्मिएकी शान्तिको बसोबास हाल भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित धुसरीमा छ । कुमालकी छोरी भएका कारण शिक्षा, भूमि, स्वास्थ्य, सुरक्षा र नेतृत्वमा पहुँच नपाए पनि उहाँले आफूलाई समुदायमा निरन्तर क्रियाशील बनाउनुभयो । स्थानीय महिलालाई सङ्गठित बनाउँदै उहाँ समुदायका तर्फबाट राज्यसँग प्रश्न गर्नसक्ने पनि हुनुभयो ।
नेपालका आदिवासी जनजातिमा सूचीकृत कुमाल भित्री तराई र मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने एक अल्पसङ्ख्यक समुदाय हो । कुमालको जनसङ्ख्या एक लाख २९ हजार ७०२ रहेको तथ्याङ्क २०७८ सालको जनगणनामा उल्लेख छ । यसमध्ये महिलाको सङ्ख्या ६७ हजार ४४३ रहेको छ । २०७८ सालकै तथ्याङ्क अनुसार, नेपालमा ६७ जिल्लामा कुमालहरूको बसोबास छ ।
मुख्यतया चितवन, नवलपरासी, दाङ आदि जिल्लाका नदी किनारका फाँटहरूमा बसोबास गर्ने कुमालहरू माटाका भाँडा बनाउने परम्परागत कामबाट चिनिन्छन् । कुमालले माछा मार्ने, खेतीपाती र ज्यालामजदुरी गर्ने गर्छन् । उनीहरूको आफ्नै कुमाल भाषा र संस्कृति भए पनि पछिल्लो समय लोपोन्मुख भइसकेका छन् ।
कुमालहरू हिन्दु धर्म मान्छन् र प्रकृतिपूजक हुन् । साउने सङ्क्रान्ति, दसैँ, तिहार र माघे सङ्क्रान्ति प्रमुख चाडपर्व हुन् । चाडपर्वमा देउराली र पितृको पूजा गर्ने चलन छ । मृत्युसंस्कारको सन्दर्भमा लासलाई गाड्ने, किरिया बस्ने, कचौराको साथै कोदालाको बिँड राख्ने गरिन्छ ।
सांस्कृतिक पक्षमा धनी भए तापनि शिक्षा र आर्थिक हैसियतमा केही पिछडिएको अल्पसङ्ख्यक जाति हुनाले कुमालको उत्थानका लागि २०५० सालमा काठमाडौमा नेपाल कुमाल समाज सुधार समिति दर्ता गरिएको थियो । २०८० सालमा त्यसको नाम नेपाल कुमाल समाज राखियो । सोही संस्थाका केन्द्रिय अध्यक्ष विशाल कुमालका अनुसार कुमालहरूको ५० प्रतिशत जनसङ्ख्या लुकेर बसेको अवस्थामा भएकाले कुमाल जातिका मानिसहरू आधुनिक समाजमा आफ्नो पहिचान जोगाउन सङ्घर्षरत छन् ।
कुमालहरूमा सजातीय मागी विवाहको प्रचलन बढी छ । शान्तिले भने अन्तरजातीय विवाह गर्नुभयो । त्यसको आफ्नै कथा छ । छविलाल न्यौपानेसँग वैवाहिक जीवनलाई अघि बढाउने क्रममा उहाँले कुमाल र बाहुनका संस्कारगत भिन्नतालाई बुझ्दै जानुभयो । अनि ती भिन्नताजन्य समस्यालाई समाधान गर्ने सुझबुझसहितको व्यावहारिक उपाय पनि उहाँहरूले निकाल्नुभएको रहेछ ।
मानिस ठुलो भएर कुरो बुझिसकेपछि आफूले गरे समाधान नहुने कुरै के पो हुन्छ र ? सानैमा भने धेरै कुरा आफ्नो हातमा हुँदैन । शान्तिले आफ्नो घर नजिकै स्कुल भएर पनि कक्षा ७ भन्दा बढी पढ्न पाउनु भएन । पढेर नर्स बन्ने उहाँको रहर त झन् कता गयो कता ? अहिले सम्झनाका पत्रहरूभित्र कतै लुकिरहेका अवस्थामा भेटिन्छन् ती कुरा ।
नेपालमा सीमान्तकृत लगायत समग्र महिलाको सानैदेखिको अवस्था प्राकृतिक विपत्ति, भाग्य र दुर्भाग्यको खेलभन्दा पनि राज्यका असमान नीति, संरचनागत विभेद र दीर्घकालीन बेवास्ताको परिणामले दुःखदायी बनेको छ । शान्तिको जीवनकथाले पनि यही देखाउँछ ।
बाल्यकालमै सुत्केरी उत्रिन नसकेर आमाको ज्यान जानु, भएको सामान्य घर पनि बाढीले बगाउनु, नम्बरी जग्गामा खोला बगिरहनु, खोलापारिको राष्ट्रिय निकुञ्जले जङ्गलमा आश्रित जनजीविकामा रोक लगाउनु, छोरी भनेर अभिभावक र समाजले शिक्षालाई अघि बढाउन नदिनु जस्ता शृङ्खलाबद्ध कहरलाई शान्तिले भोग्नुभयो । यही भोगाइले उहाँलाई बलियो पनि बनायो ।
शान्तिको जीवनकथाले उजागर गर्ने सबैभन्दा महत्त्वपूर्ण सत्य हो– सीमान्तकृत महिलाहरूले वातावरण पाए भने नेतृत्व गर्न सक्छन्, समुदायलाई सङ्गठित गर्न सक्छन्, अन्यायविरुद्ध उभिन सक्छन् र राज्यलाई जवाफदेही बनाउन सक्छन् । पुरुषले जस्तै अवसर र पहुँच पाएको खण्डमा उनीहरू पनि नीति निर्माणदेखि स्थानीय शासनसम्म प्रभावकारी योगदान दिन सक्षम हुन्छन् ।
सानैदेखि आँट, हिम्मत र चेतनाका साथ जीवनका अनेकौँ सङ्घर्षसँग जुधिरहेकी शान्तिसँग चितवनस्थित सन्धान सहकर्मी सरिता पौडेलले २०८२ साउन १७ गते शान्तिकै निवास धुसरीमा भेटेर कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा तयार पारिएको शान्ति कुमालको स्वकथन :

मेरो नाम शान्ति कुमाल हो । अहिले म भरतपुर महानगरपालिका वडा नम्बर २५ धुसरीमा बस्छु । मेरो जन्म २०४२ साल मङ्सिर २० गते भएको हो । सानैमा मेरी आमा बित्नुभयो । त्यतिबेला म ७ वर्षकी थिएँ । आमा कस्तो हुनुहुन्थ्यो भनेर सोच्न खोज्दा अहिले अनुहार पनि याद आउँदैन । आमाको माया कस्तो हुन्छ थाहै पाइएन । आमा पनि यस्तै हुनुहुन्थ्यो भन्ने थाहा नै छैन ।
आमालाई आँगनमा सुताएर राखेको अनि आमाको छेउमा बसेर बुवा रोएको अलिअलि याद छ । उहाँ किन रोएको होला भन्ने लागेको थियो । आमालाई एक रात घरमै राखे । भोलिपल्ट लिएर जाने बेलामा दिदी र फुपू दिदीहरू झम्टी झम्टी रुनुभएको थियो । मलाई सबै किन रोए भन्ने मात्रै लाग्यो, म कत्ति पनि रोइनँ ।
आमा बितेर सबै रोएको बेला म त मकैको फूलभित्र, मकै भुत्लाएर राखिएको मकैको खोसेलाभित्र आनन्दले खेलेर बसेको थिएँ रे ! आमातिर भाग्छे कि भनेर काकाले मलाई कुर्न बस्नुभएको थियो रे ! पछि आमालाई कहाँ लग्यो त्यो पनि मलाई थाहा थिएन ।
मेरा काकाहरू पाँचभाइ हुनुहुन्थ्यो । काकीहरू हुनुहुन्थ्यो । हाम्रो परिवार २२ जनाको थियो । आमा बितेको केही समयसम्म परिवार सगोलमै थियौँ । काकाहरू, काकीहरू, दिदी, दाइ, भाइबहिनी सबै जनाले एकै ठाउँमा पकाएको खान्थ्यौँ । पछि माइला काका छुट्टिनुभयो ।
हामी अरू सगोलमै खाइराखेका थियौँ । एकैचोटि २०५९ सालको बाढी आएर घरखेत सबै लग्यो । केही समयपछि राहतको पैसा आयो । त्यसपछि हामीहरू चितवनकै ज्योतिनगर भन्ने ठाउँमा छुट्टाछुट्टै घडेरी किनेर छुट्टै बस्न थालेका हौँ ।
दुःख त कति पाइयो कति, त्यो बेलामा पनि ! हामी पाँच जना दाजुभाइ दिदीबहिनी थियौँ । आमा बितिसकेपछि दिदीले बिहे हुनु अगाडिसम्म दुःख गर्नुभयो । म पढ्छु भन्दा पढ्न नपाउने समय थियो । त्यतिबेला कुमाल समुदायमा छोरीले आँखा देखिहाल्यो नि पढ्नु पर्दैन भन्ने मान्यता थियो ।
अहिले त कुमाल समुदायमा पनि पढ्नुपर्छ भन्ने छ । हाम्रो पालामा त छोरीले पढ्नै नहुने भन्ने थियो । छोरीले अर्काको घर जुठाभाँडा माझ्ने हो, अर्काको घर पोइला जाने हो, आफ्नो घर बस्ने होइन, तिनलाई किन पढाउनुपर्यो पनि भन्थे । छोराहरू भने पढ्न जान्थे । त्यतिबेला छोरीमान्छेले स्कुल त के प्रौढ शिक्षामा पनि लुकेर पढ्नुपर्थ्याे ।
मलाई बल्ल बल्ल कक्षा ७ सम्म पढाए । स्कुल भर्ना गर्न जान नै सङ्घर्ष गर्नुपर्थ्याे । म नियमित राम्रै पढेको मान्छेलाई कक्षा ७ सम्म पढेपछि रोकिदिनुभयो । घर नजिकै गाउँटोलमै स्कुल थियो तर हाम्रो समुदायमा पढाउने चलन थिएन । आमा भएको भए मलाई पढाउन जोड गर्नुहुन्थ्यो होला जस्तो लाग्छ तर बुवामा छोरी पढाउनुपर्छ भन्ने सोच थिएन ।
हाम्रो त्यो क्षेत्रमा अहिले पनि पढेका छोरीमान्छे भेटिँदैनन् । त्यतिबेला पढाइभन्दा कामधन्दामै जोड दिन्थे । हामीलाई पनि स्कुल जाँदै गर्दा कहिले शनिवार आउला र काम गर्न जान पाइएला जस्तो हुन्थ्यो । काममा जान पाए कापीकलम किन्ने पैसा आउँथ्यो । पैसा भए पढ्न जान पनि पाइन्थ्यो भन्ने हुन्थ्यो ।
मलाई सानैदेखि अरूले भन्दा राम्रो काम गर्छे भनेर साहुले अरूलाई दिनेभन्दा पाँच रुपैयाँ बढी ज्याला दिन्थे । त्यसो भनेर के गर्ने ? मेरो बाल्यकाल दुःख र अभावमै बित्यो । घाँस काट्ने, दाउरा खोज्ने काम गरिन्थ्यो । बिहान ९ बजेसम्म बारीको काम हुन्थ्यो । घर आएर हातमुख धुने, खाना खाने, कपडा लगाउने गर्दा स्कुल पुग्न ढिलो भइसकेको हुन्थ्यो । बिजुली बत्ती थिएन, टुकी बाल्नुपर्थ्याे । त्यस्तो बेला स्कुलले दिएको गृहकार्य कहाँ गर्ने ?
मैले जानेबुझेको कुरा भन्ने हो भने चितवनको तत्कालीन मेघौली गाउँ विकास समिति (गाविस) वडा नम्बर २ को मझुवाटार भन्ने ठाउँ नै कुमाल समुदायको बसोबास भएको ठाउँ हो । हामी आदिवासी कुमाल हौँ । मेरो बुवा यही चितवनकै मेघौलीको खोरियामा जन्मनुभएको थियो रे ! त्यो ठाउँ अहिले निकुञ्जभित्र पर्छ । पञ्चायतकालमा खोरिया भनिन्थ्यो अहिले यो ठाउँमा आर्मीको खोरिया पोस्ट छ ।
चितवन राष्ट्रिय निकुञ्ज २०३० सालमा स्थापना भयो । तर, खोरिया क्षेत्र पहिलेदेखिकै पुरानो बस्ती हो । २०२१ सालसम्म निकुञ्जभित्र खोरियावन, भिम्ले, वागमारा, सुकेभार, खोरसोर, हर्रावास, मटेरी, बाँसवारी, तिलकाने, पीपरा, जम्का, खटुवा र जगधारी गरी १३ बस्ती थिए । सरकारले २०१९–२०२१ सालबिच ‘गैँडा आरक्ष क्षेत्र’ घोषणा गर्दै ती बस्ती हटायो ।
हटाएपछि तिलकाने (पदमपुर) बाहेक धेरै बासिन्दाले अन्यत्र बसाइँ सरेनन् बरु राप्ती, रेवा तथा नारायणी किनारमा बसोबास गर्न थाले । केही जग्गा अझै नापी हुन सकेको छैन । पदमपुर बस्तीलाई भने २०४८ सालमा मुआब्जासहित जुटपानीमा स्थानान्तरण गरियो । यो कुरा प्रभात किरण सेवा समाजको अध्ययन प्रतिवेदनमा पनि छ ।
तत्कालीन अवस्थामा निकुञ्जभित्र बसोबास गरिरहेका बस्तीका बासिन्दाहरूसँग त्यो समाजले प्रत्यक्ष छलफल पनि गरेको थियो । उनीहरूले सबैलाई निकुञ्जभित्रको बस्तीबाट मुआब्जा नदिई धपाइएको बताएका थिए । त्यतिबेला निकुञ्ज स्थापनाको अवधारणासँगै महिलामाथि दुर्व्यवहार, यौन हिंसा, बलात्कार जस्ता अपराधहरू भएका थिए ।
निकुञ्जबाट बस्ती हटाउने क्रममा त्यतिबेला महिलालाई दिनदहाडै आफ्ना श्रीमान्काे अगाडि, परिवारका अगाडि २७ जना महिलालाई बलात्कार गरियो । उक्त बलात्कारको घटना सार्वजनिक गरेको भन्दै राति पीडितका घरमा घुसी छ जनालाई पुनः बलात्कार गरियो र पछि हत्या गरियो । यो मैले सम्झिएर भनेको कुरा हो ।
मारिनेहरूमा सनचरी महतोकी छोरी, बसन्ती कुमालकी बुहारी, विभा कुमालकी छोरी, प्रितना विककी बुहारी, सोममाया बोटेकी श्रीमती, रेवती कुमालकी छोरी रहेका थिए । यो कुरा २०६३/६४ मा प्रभात किरण सेवा समाजले ‘निकुञ्ज र जनता बीचको द्वन्द्व’ विषयमा गरेको अध्ययनले पनि सार्वजनिक गरिसकेको छ ।
मझुवाटारको बस्तीमा २०५० सालको बाढीले कटानी गर्यो । त्यसपछि २०५९ सालको बाढीले केही पनि नराखी सबै लग्यो । अहिले त्यही नम्बरी जग्गा खोलामा पर्छ । त्यसको लालपुर्जा हामीसँग छ । राजस्व तिरिरहेका छौँ तर जग्गामा अहिले पनि खोला हिँडेको छ । एकातिर नारायणी नदी बगेको छ अर्कोतिर निकुञ्जसँग जोडिएको ठाउँ भएर पनि अप्ठेरो परेको छ । निकुञ्जले हामीलाई त्यहाँ छिर्न दिँदैन ।
मैले २०६० सालमा छविलाल न्यौपानेसँग बिहे गरेँ । मसँग बिहे हुनुअघि उहाँ हाम्रै गाउँमा बाली विवरण उठाउने सामुदायिक विकास संस्थामा काम गर्नुहुन्थ्यो । उहाँले मसँग बाली विवरण उठाउन जाम भन्न आउनुभएको थियो । त्यही बेला पहिलो पटक हाम्रो भेट भयो । हाम्रो बस्ती नै बाढीले बगाएर लगेकाले त्यहाँ बाली विवरण उठाउने काम गर्न गाह्रो थियो । स्थानीय समुदायका मानिसको कसैप्रति पनि विश्वास थिएन ।
एकातिर नारायणी नदी, अर्कोतिर निकुञ्जको मारमा हामी परेका थियौँ । बाली विवरण उठाउन एकनारायण सापकोटा जाँदा समुदायका सबैले बाढीले सबै लगेको छ, खोलानाला बगेका छन्, के बाली विवरण उठाउन आएका छौँ ? भनेर यत्तिकै पठाइदिनुभएको रहेछ । त्यसपछि स्थानीय समुदायका सबै मिलेर उहाँलाई सक्छौ भने खोलाले लगेको क्षतिपूर्ति देऊ र यो विवरण उठाऊ भनिएछ ।
बाली विवरण उठाउन आएकाहरू त्यो घटनापछि म भएको ठाउँमा आउनुभयो र सँगै काम गर्न प्रस्ताव गर्नुभयो । उहाँहरूसँग काम गर्न म राजी भएँ । त्यसबेला मैले आफ्नै समुदायका महिलाहरूको सङ्गठन बनाउन लागेँ । महिलाहरूको नेतृत्व आफैँले गरेँ । मेरो योग्यता कक्षा ७ पास मात्र थियो । धेरै कुरा त थाहा थिएन ।
केही काम मलाई छविलाल न्यौपाने र उहाँकै संस्थाले पनि सिकायो । हामीले मेघौली क्षेत्रमा सङ्गठन बनाएपछि त्यही अनुसार काम गर्यौँ । त्यसपछि त्यो क्षेत्रमा महिलाहरूको अलि चहलपहल बढ्यो । म पनि त्यहीँ घरभित्र सीमित भएर बसेकी थिएँ । समयले मलाई त्यहाँको अगुवा बनायो । त्यतिबेला अध्यक्षको रूपमा विभिन्न ठाउँमा कार्यक्रम हुँदा मलाई बोलाउँथे ।
म कार्यक्रमहरूमा जान्थेँ । यता गाउँमा भने नानाथरी कुरा काट्थे । उनीहरूले मलाई नराम्रोसँग भन्थे । अब यो एक्लै हिँडेकी छ, यो कहाँ कहाँ पुगेर को कोसँग बसेर आएकी छ, यसले भुँडी बोकेर आउँछे, कसको बच्चा बोकेर आउने हो र समाजको नाक काट्ने हो पनि भन्थे ।
गाउँकाले जे भने पनि मैले तिनका त्यस्ता कुरामा ध्यान दिइनँ । कोही कोहीलाई ओठेजबाफ भने फर्काइदिन्थेँ । म काम गर्छु, बाहिर काम गरेकै कारण अहिले त लखेटेका छौ, मनलाग्दी बोलेका छौ, तिमीहरूको जित भएछ भने तिमीहरूलाई नै म सुत्केरी स्याहार्न बोलाउँला नि त भनेर मैले पनि भनिदिन्थेँ ।
म बाली विवरण उठाउन हिँडेकी थिएँ । २०६३ सालको कुरा हो । निकुञ्जमा निहुरो टिप्न पाउनुपर्छ भन्ने माग गर्न गएका दिदीबहिनीमाथि आर्मीद्वारा कुटपिट भएछ । १६ जना दिदीबहिनी थिए । मनपर्नेलाई समाउने, कसैलाई कुट्ने । त्यो बेला मलाई एउटा छिमेकी बहिनीले त्यो घटनाबारे भन्नुभयो ।
मलाई ती दिदीबहिनीले आर्मीले हातपात गरे, बेस्सरी कुटे भन्दै थिए । त्यही बेला आर्मीहरू आइपुगे । मैले उनीहरूसँग जङ्गल छिर्नेबित्तिकै जनता कुट्नुपर्छ भनेर कहाँको नियममा लेखेको छ भनेर सवालजवाफ गरेँ । तर, उल्टै कुटपिटको केस ममाथि आइपुग्यो । आर्मीको विशाल थापा भन्ने हुनुहुन्थ्यो, उहाँले यहीँ चिउँडोनेर पेस्तोल राखेर मलाई मार्ने धम्की पनि दिनुभयो । तर, अहिले जस्तै म त्यो बेला पनि निडर थिएँ ।
आर्मीसँग संवाद हुने बेलासम्म म बोलिरहेँ । विनागल्ती किन कुटियो भनेर मैले सोधिरहेँ । त्यसरी मैले दिदीबहिनीमाथि भएको अन्यायको विरुद्ध आवाज उठाएकी थिएँ । आर्मीसँग संवाद चलिरहेको थियो, आर्मीले धेरै बोले सिध्याइदिन्छु भन्दै मेरो चिउँडोमा पेस्तोल तेर्स्यायो । अनि म त आँगनमा भएको मान्छे कतिबेला पिँढीमा आएर बसेछु थाहै पाइनँ ।
आर्मीसँग झगडा गर्यो भनेर मलाई भोलिपल्टदेखि त्यो गाउँमै बस्न दिएनन् । भर्खर सङ्कटकाल सकिएको थियो । आर्मीलाई चाहिँ मेरो पछाडि पक्कै कोही ठुलो शक्ति छ भन्ने लागेछ । गाउँमा बसिखानु नभएपछि फुपूको घरमा आएर सुतेँ । भोलिपल्ट जितपुर आएर सिडिओ अफिस (जिल्ला प्रशासन कार्यालय चितवन) बाट संस्थामा फोन गरेँ । आर्मीले मार्ने धम्की दिएको भन्दै सबै कुरा बताएँ ।

मेरो माइला काकाको छोरी पनि घानमा परेकी थिई । आर्मीले मलाई भेट्न दोभानमा तेरो बहिनीलाई पनि लिएर आइजा भन्थे । मेरो परिवारको राजनीतिक पृष्ठभूमि थियो । हजुरबुवा राजनीति गर्नुहुन्थ्यो । जयमंगल कुमालको नातिनी पर्छ भनेपछि आर्मी पनि अलि डराएछन् ।
मलाई यो ज्यादतीको विषय सानो होइन भन्ने लाग्यो अनि यो विषय लिएर संसद् भवन काठमाडौँसम्म गएँ । त्यतिबेलाका एमाले नेतृ (हाल पूर्वराष्ट्रपति) विद्यादेवी भण्डारी र नेपाली कांग्रेसकी नेतृ (हाल पूर्वराज्यमन्त्री) सावित्री बोगटी र त्यतिबेला विद्यार्थी नेता हालका नेपाली कांग्रेसका सभापति गगन थापासँग यो कुरा राखे ।
गगन त्यतिबेला अन्यायको विरुद्ध चर्को आवाज उठाउने व्यक्ति हुनुहुन्थ्यो । एकातिर उहाँले सदनबाहिरबाट सामाजिक सङ्घसंस्था लगायत विभिन्न सञ्जालमार्फत दोषीलाई कार्वाही गर्न दबाब दिने, अर्कातिर विद्यादेवी भण्डारी र सावित्री बोगटीले यो विषय संसद्मा पनि उठाउने काम भएको थियो । त्यसपछि हामीले मानवअधिकार आयोगमा पनि निवेदन दियौँ । चारैतिरको दबाबपछि त्यतिबेलाको सरकारले उक्त घटनाको बारेमा सत्यतथ्य जाँचबुझ गर्न भन्दै छानबिन समिति बनायो ।
काठमाडौँबाट फर्किएपछि यसै विषयमा नारायणी कला मन्दिर नारायणगढमा ठुलो सम्मेलन भयो । मैले त्यसरी सङ्घर्ष गरेर चितवन फर्किएपछि सबै दङ्ग थिए तर उनीहरू निर्धक्क थिएनन्, अब के हुने हो भनेर डराएका पनि थिए । सबैलाई कस्तो बेलामा आर्मीसँग निहुँ खोज्यो, अब आर्मीले मार्छ भन्ने लागेको थियो । समुदायका मान्छे सबै डराएका थिए ।
म घर फर्किएपछि खुसीभन्दा पनि झन् त्रास भयो तर आर्मीले दुःख दिन सकेन । कसरी यो सबै सम्भव भयो भन्ने कसैले बुझेका थिएनन् । काठमाडौँंमा भएका कुरा बुझ्दै गएपछि पहिले नबोलेको भएर हामीलाई हेपेका रहेछन्, अब हामीले पनि बोल्नुपर्ने रहेछ भन्ने भयो । त्यसपछि भने घरकाले मलाई साथ दिन थाले । मेरो काममा समर्थन गर्न थाले ।
कुमाल समुदायका मानिसले पहिले जीवन धान्नका लागि जङ्गलको भर पर्नुपर्थ्याे । अहिले कृषि पेसा अपनाउन लागेका छन् । एउटै जग्गामा वर्षको तीन खेती लगाउँछन् । यसले आयस्रोत बढेको छ । हामी सानो हुँदा भोकमरी हुन्थ्यो । खान नपाएको बेला जाउलो खाएर बस्थ्यौँ । चामलको भात खान दसैँ कुर्नुपर्थ्याे ।
रातिको १२ बजे उठेर मकै पिँधिन्थ्यो । मकै पनि पालो लगाएर पिँधिन्थ्यो । रातभरि मकै पिँधेर भोलिपल्ट स्कुल जाने गर्थ्याैं । अहिले त सबै बाली डुबे पनि मकैले बाली उकास्छ । मकैको आयस्रोत राम्रो छ । यस्तो भए पनि अझै कुमाल समुदायका महिलाहरू राज्यका सेवासुविधाको पहुँचमा छैनन् । उनीहरूलाई चाहिने जति जानकारी पनि नहुन सक्छ ।
स्थानीय सरकारसम्म पनि कुमाल समुदायका महिलाको पहुँच छैन । मेरो आमा सुत्केरी हुँदा साल नझरेर बित्नुभएको हो रे ! यो कुरा मैले ठुलो भएपछि थाहा पाएकी थिएँ । मेरो परिवारको अर्को आमा पनि त्यस्तै भएर बित्नुभयो रे ! मेरो हजुरबुवा रोगले थला परेर उपचार नपाई बित्नुभयो । यही कारण मलाई नर्स बन्ने इच्छा थियो तर मैले पढ्न पाइनँ । पढ्न पाएको भए नर्स बन्ने रहर थियो ।
म कुमालको छोरी तर बाहुनसँग मेरो बिहे भयो । श्रीमान्का पहिले नै दुई बालबच्चा थिए । पहिलो श्रीमती बितेर एक्लै हुनुभएको रहेछ । कामको सिलसिलामा उहाँसँग भेट भइरहन्थ्यो । उहाँले मलाई मन पराउनुहुँदो रहेछ । आफ्नो सबै वास्तविकता मलाई बताउनुभयो । तिमी राजी भए बिहे गर्न तयार छु भन्ने प्रस्ताव राख्नुभयो ।
मैले पनि यत्तिको केटाले प्रस्ताव राख्दा हुन्छ भनेर परिवारसँग सल्लाह गरी बिहे गरेँ । तर, मैले भोगेको कुमाल र बाहुनको त ठ्याक्कै उल्टो संस्कार रहेछ । कुमाल समुदायमा मान्छे मर्दा लसुन, प्याज, रक्सी नभई हुँदैन तर बाहुनको मान्छे मर्दा यी चिज अशुभ मानिन्छन् । बाहुनहरू घिउलाई चोखो मान्छन् भने कुमालहरू घिउ, तेललाई अशुद्ध मान्छन् ।
भर्खरै मैले छोराको बिहे गरेँ । आफूले कहिल्यै नदेखेको संस्कार बाहुनमा रहेछ । कुमाल समुदायमा त स्वयंवर गरी खानपिनपछि छोरी लिएर जान्छन् । सिन्दूर पनि ज्वाइँकै घरमा लगेर हाल्ने चलन छ तर बाहुनको त्यस्तो नहुने रहेछ । यस्ता विविध सांस्कृतिक फरकपनाका बिच पनि हाम्रो वैवाहिक जीवन राम्रो चलिरहेको छ । हामीले घरमा हुँदा बाहुनको र मेरो माइतीमा जाँदा कुमालको संस्कृति अपनाउँछौँ ।
अहिले हामीले करिब २१ बिघा जग्गामा खेती गरेका छौँ । सबै अर्गानिक तरिकाले खेती लगाइन्छ । श्रीमान्ले बाहिर बजार हेर्नुहुन्छ । पढेको भए म पनि बाहिरको काम समाल्ने थिएँ जस्तो लाग्छ । खेतीबाली समाल्ने, खेतालाको व्यवस्थापन गर्नेदेखि घरको सबै काम म आफैँ गर्छु । आम्दानी पनि राम्रै हुन्छ ।
चुकन्दर र गाजरको सिजनमा दैनिक ५० जना खेताला हुन्छन् । दिनको ५० जना भए पनि सबैले खाने खाना मैले एक्लै पकाउने हो । सघाउने कोही पनि हुँदैन । खेतालाहरूले अरू भएको भए एकथरि तरकारी मात्र ल्याउँथ्यो, यो कुमालनी भएर दाल, भात, तरकारी, अचार, चट्नी पनि बनाउन भ्याई भन्छन् । मैले जानेकै यही खाना पकाउन हो ।
जति जना खेताला भए पनि त्यसको व्यवस्थापन म आफैँ एक्लै गर्ने हो । खेताला भएको दिन बिहानै उठेर बडेमानको भाँडोमा एकातिर दाल, अर्कोतिर भात बसाल्छु । तरकारी पखाल्ने, काट्ने, पकाउने गर्न निकै हतारो हुन्छ । कामलाई सानो ठुलो भन्नु हुँदैन । मसँग सिप छ, मेरो कुरा पनि सुनिनुपर्छ भन्ने लाग्छ ।

राज्यले कुमाल समुदायका महिलाका आवाज खासै सुनेको छैन । अब सुनिनुपर्छ । हामीलाई नेतृत्वमा पनि स्थान दिनुपर्छ । यो मेरो कथा मात्रै होइन । म जस्तै धेरै कुमाल महिला मेरो समुदायमा छन्, जसले पढ्न पाएनन्, बोल्न पाएनन्, तिनले चुपचाप दुःख सहेर बाँचिरहे । हामीलाई सानैदेखि छोरीले पढ्नु पर्दैन भनियो, घरमै बस भनियो । तर राज्यले कहिल्यै सोधेन कि हामी के चाहन्छौँ ?
फेरि पनि भन्छु, बाढी आयो, हाम्रो घरखेत बगायो । हाम्रो नाममा लालपुर्जा छ, राजस्व तिरिरहेका छौँ, तर जग्गामा खोला हिँडेको छ । आफ्नो जमिनमा टेक्न पाएका छैनौँ । जङ्गल हाम्रो जीवनको आधार थियो, तर निकुञ्जले हामीलाई अपराधी जस्तो बनायो । निहुरो टिप्दा पनि हामी कुटियौँ । किन कुटेको भनी बोल्दा मार्नेसम्मको धम्की पाइयो ।
म बोल्न थालेँ भनेर मलाई पनि गलत भनियो । एक्लै हिँड्छे, बिग्रिएकी हो पनि भनियो । तर अहिले लाग्छ, अरूका कुरा सुनेर म पछि हटेको भए र चुप बसेको भए अझै हेपिन्थेँ । अघि बढेर काम गर्नुपर्ने र बोल्नुपर्ने रहेछ भन्ने मैले बुझेँ । मैले गरेको अनुभव के हो भने बोल्दा डर लाग्छ तर नबोल्दा झन् ठुलो अन्याय हुन्छ । म अनपढ होइन, पढ्न नपाएकी हुँ । म कमजोर होइन, अवसर नपाएकी हुँ ।
मैले नेतृत्व गर्न नसक्ने होइन, नेतृत्वबाट टाढा राखिएकी मात्र हुँ । यसैले आज म राज्यसँग सोध्न चाहन्छु, हामीलाई सधैँ किन पछाडि राखियो ? हाम्रो समस्या कहिलेसम्म नसुन्ने ? हामी पनि यही देशका नागरिक हौँ भने हाम्रो आवाज किन नसुन्ने ? कुरै नसुनेपछि राज्यले हाम्रा कुरा कसरी बुझ्ने ?
हामीले दया मागेका होइनौँ । हामी नागरिक अधिकार खोजिरहेका छौँ । महिला अधिकार खोजिरहेका छौँ । वास्तवमा भन्ने हो भने मानव अधिकार खोजिरहेका छौँ । हामीलाई बोल्न देऊ, हाम्रा कुरा सुन, बुझ र नेतृत्वमा आउन देऊ । हामीलाई पनि निर्णय गर्ने ठाउँमा बस्न र काम गर्न देऊ । हामी सीमान्तकृत महिला अब चुप लाग्दैनौँ । हामी बाँच्न मात्र होइन, सम्मानका साथ बाँच्न चाहन्छौँ । राज्यले अब हाम्रो कुरा सुन्नैपर्छ ।
प्रकाशन मिति : २०८३ बैशाख ३१ गते, बिहिवार





