सन्दर्भ : लेस्बियन भिजिबिलिटी विक
– प्रज्ञा दाहाल
अघिल्लो साता अप्रिल २० देखि २६ सम्मको अवधिमा नेपालमा पनि ‘लेस्बियन भिजिबिलिटी विक’ मनाइयो । विश्वभरिका समयौनिक महिलाहरूको लागि सन् २०२६ को यो अभियान एक खालको वार्षिक उत्सव पनि हो । यसले अदृश्यमा रहन बाध्य पारिँदै आएका महिलाको समयौनिकताको सवाललाई दृश्यमा ल्याउने काम गर्छ ।
समयौनिकतालाई लिएर समाजले हेर्ने दृष्टिकोणले सम्बन्धित व्यक्तिको जीवनमा निकै महत्त्व राख्दछ । पाँचथर जिल्लाकी एक समयौनिक नेपाली महिला हुनुहुन्छ, जसले मिडियामा आफ्नो वास्तविक नाम नदिने गरी धारणा राख्न चाहनुभयो । यसैले उहाँले नागरिकता लिएको जिल्ला र ‘सन्धान’ का लागि कुराकानी हुँदाको उमेरका आधारमा उहाँको साङ्केतिक नाम पाँचथर–१९ हुन गएको छ ।
सानैदेखि समयौनिकता आयातित धारणा हो भनेर सुन्दै आएको र त्यसले आफूमा समयौनिकता के रहेछ भन्ने उत्सुकता भएको पाँचथर–१९ ले बताउनुभयो । उहाँले १९ वर्षकी हुँदासम्म परिवारका सदस्यहरूबाट युट्युब र टिकटक हेरेर ती कुरा सिकेको भनेर अभिभावकको गाली पनि खानुपर्यो । यसबिच ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) को तालिममा सहभागी भएपछि उहाँले आफूलाई समयौनिक रहेछु भनेर चिन्न र खुल्न सक्नुभयो ।
पाँचथर–१९ ले आफ्नो समुदायमा खुलेको पनि तीन वर्ष भइसक्यो । उहाँलाई लाग्छ– ती सब शब्दावलीहरू बुझेको भए निकै सहज हुन्थ्यो र पहिले नै बाहिर आइन्थ्यो होला ! उहाँजस्ता महिलाहरू खुलेर बाहिर आउन सहज भने छैन । अहिले नै पनि कतिपय व्यक्तिहरूले सम्बोधन गर्दा उहाँजस्ताहरूले के भनेर सम्बोधन गरियोस् भन्ने चाहन्छन् भन्ने कुरा नै नबुझी, ख्यालै नगरी बोल्ने गरेको उहाँको गुनासो थियो ।
मानिसहरूलाई ती शब्दावलीका बारेमा राम्रोसँग सिकाइनु एकदमै जरुरी भएको उहाँको ठम्याइ छ । पाँचथर–१९ लाई आफ्नो समुदायका महिलाहरूको वास्तविक कथा मानवीय भावना र मर्यादाका साथ नयाँ तरिकाले बाहिर आउनुपर्छ भन्ने पनि लाग्छ । यस सन्दर्भमा उहाँले भन्नुभयो, “मेरो कथा दुःखको कथा होइन । यो कथा अब पुनर्लेखनको कथा हो ।”
समयौनिक महिलाहरूको कथा सुन्न, बुझ्न, लेख्न र पुनर्लेखन गर्नका लागि सम्बन्धित शब्द र अर्थ मात्र होइन, त्यसको इतिहास पनि खोज्नु र बुझ्नुपर्ने हुन्छ । इतिहासमा प्रायः दबे–दबाइएका तथ्यहरूलाई समेत खोजेर पहिल्याउन सक्नुपर्ने हुन्छ । प्रस्तुत आलेख यसैको एउटा कडी हो । यसमा विश्वव्यापी घटनाक्रमका साथै नेपालका सन्दर्भमा पछिल्लो कालखण्डमा भएका महत्त्वपूर्ण गतिविधिलाई समेटिएको छ ।
समयौनिक शब्दको अर्थ र इतिहास
नेपाली भाषाको समयौनिक शब्दलाई अङ्ग्रेजी भाषाको ‘होमोसेक्सुअल’ शब्दको रूपान्तरणका रूपमा बुझिन्छ । ‘समयौनिक व्यक्ति’ लाई अङ्ग्रेजीमा ‘होमोसेक्सुअल पर्सन’ भन्ने गरिन्छ । यो भनेको ‘समलैङ्गिकता’ भएका व्यक्तितर्फ मात्र यौन तथा प्रणयात्मक आकर्षण हुने अवस्था हो । यस्तो भाव र व्यवहार भएका व्यक्तिलाई समयौनिक व्यक्ति भनिन्छ । महिलाको महिलाप्रति र पुरुषको पुरुषप्रति नै यौन तथा प्रणयात्मक आकर्षण हुनु समयौनिकता हो ।
इतिहास खोतल्दै जाँदा इसापूर्व १००० देखि ३२३ सम्मका पाश्चात्य सभ्यताका कुनै कुनै समाजमा समयौनिकता भएका व्यक्तिलाई सहर्ष स्वीकार गरिएको पाइन्छ । यसै क्रममा प्राचीन ग्रिसको तेस्रो ठुलो टापु लेस्बोसबाट नै समयौनिक महिलाहरूको उत्पत्ति भएको सङ्केत गर्ने किंवदन्तीहरू पनि भेटिन्छन् ।
समलैङ्गिक शब्दले ‘सेम जेन्डर’ वा उस्तै लैङ्गिकता भएका व्यक्तिहरू भन्ने बुझाउँछ । उदाहरणका लागि पुरुष–पुरुष जोडी भए भने उनीहरूलाई ‘समलैङ्गिक जोडी’ भन्न सकिन्छ । किनभने उनीहरू दुबै जना एउटै लैङ्गिकता भएका व्यक्तिहरू हुन् । अङ्ग्रेजी भाषामा समयौनिक पुरुषहरूलाई ‘गे’ र समयौनिक महिलाहरूलाई ‘लेस्बियन’ भन्ने गरिन्छ ।
इतिहास खोतल्दै जाँदा इसापूर्व १००० देखि ३२३ सम्मका पाश्चात्य सभ्यताका कुनै कुनै समाजमा समयौनिकता भएका व्यक्तिलाई सहर्ष स्वीकार गरिएको पाइन्छ । यसै क्रममा प्राचीन ग्रिसको तेस्रो ठुलो टापु लेस्बोसबाट नै समयौनिक महिलाहरूको उत्पत्ति भएको सङ्केत गर्ने किंवदन्तीहरू पनि भेटिन्छन् ।
प्राचीन ग्रिसस्थित लेस्बोस टापुकी कवयित्री साफो (इसापूर्व ६३०–५७०) ले महिलाहरूका लागि प्रेमभावले ओतप्रोत कविताहरू लेख्दा समयौनिक मायाप्रेमका कुरा इङ्गित गर्ने र समयौनिकतालाई प्रश्रय दिने गरेका कुरा पनि यदाकदा चर्चामा आउँछन् । यसलाई नै समयौनिक महिलाहरूको सबैभन्दा पहिले गरिएको ऐतिहासिक दस्ताबेजीकरणका रूपमा मान्ने गरिन्छ ।
इस्वी सन् ३०० देखि १४०० सम्मको कालखण्डमा युरोपमा क्रिस्चियानिटीको प्रचार एवं प्रादुर्भाव चरमविन्दुमा पुगेको विश्वास गरिन्छ । उक्त कालखण्डमा समयौनिक महिलाहरूले विभिन्न प्रकारको सूक्ष्म जाँचको स्थिति भोग्नुपर्दथ्यो । समयमा समयौनिक महिलाहरूलाई विभिन्न प्रकारका यातनाहरू दिने गरिन्थ्यो ।
पुनर्जागरण कालका रूपमा चिनिने सन् १४०० देखि १५२७ सम्मको खण्डमा पनि समयौनिक महिलाहरूमाथि विभिन्न किसिमका हिंसा र अन्यायका घटना हुने गर्दथे । त्यस्तो भए पनि १९औँ शताब्दीमा आन लिस्टर (सन् १७९१–१८४०) लाई ‘प्रथम आधुनिक समयौनिक महिला’ का रूपमा मानियो । एक जग्गाधनी, श्वेत, शिक्षित र धनीका रूपमा सशक्त पृष्ठभूमि रहेकी आनले समयौनिकताका बारेमा डायरी पनि लेख्नुभएको थियो । त्यसै डायरीलाई प्रथम लिखित दस्ताबेजका रूपमा मानेर आनलाई नै विश्वकै ‘प्रथम आधुनिक समयौनिक महिला’ का रूपमा चिन्ने गरिन्छ ।
तत्कालीन रुढीवादी समाज र सामाजिक मूल्य मान्यतालाई खुला चुनौती दिएर आनले एक स्वतन्त्र समयौनिक महिलाका रूपमा जीवनयापन गरेको इतिहास छ । एक सफल महिला उद्यमी भएकै कारण पनि अन्य सामान्य दर्जाका समयौनिक महिलालाई भन्दा आनलाई आफ्नो डायरीमा आफ्ना अन्य समकक्षी महिलाहरूसँग स्थापित सम्बन्धहरूका बारेमा स्वतन्त्र भएर लेख्न सहज भएको र समाजले पनि त्यसलाई सहर्ष स्वीकार गरेको बुझ्न सकिन्छ ।
आनकै समयका अन्य कतिपय महिलाहरू भने तत्कालीन समाजमा खुलेर आउन सकेनन् । तीमध्ये आन जस्तै साहित्यमा अभिरुचि भएका महिलाहरूले पनि छद्म नाम वा पुरुषका नाममा आफ्ना लेख, रचनालाई गोप्य तरिकाले लेख्ने गरेका थिए । यद्यपि, ती रचनाको प्रकाशन भने हुन सकेन भन्ने मत पनि इतिहासमा बलियो गरी आएको छ ।
युरोपेली उपनिवेशवादमा दबेको पहिचान
युरोपेली उपनिवेशवादको सन् १४९२ देखि १९७० सम्मको कालखण्डमा औपनिवेशिक शक्तिहरूले मानिसका पहिचानलाई दबाएर राख्ने गर्दथे । सोही क्रममा यौनिक अल्पसङ्ख्यक र समयौनिक महिलाहरूका आवाजलाई पनि दबाइने र पिल्साइने गरिन्थ्यो । तर, विश्वका विभिन्न भागमा विभिन्न किसिमका प्रचलन चलाइएको थियो । यो समयमा कहीँ कतै समयौनिकतालाई उजागर गराउनेखाले प्रचलनहरू पनि भेटिएका छन् ।
उन्नाइसौँ शताब्दीमा महिला मताधिकारका लागि भएका आन्दोलनहरूले सबै प्रकारका क्वियर लैङ्गिक अधिकारकर्मीहरूलाई एकजुट गर्ने काम गर्यो । क्वियर भनेको यौन र लैङ्गिक पहिचानका लागि एउटा छाता शब्द हो, जसले एलजिबिटिआइक्यु ‘स्पेक्ट्रम’ भित्रका जो कोहीलाई पनि समेट्दछ ।
दक्षिण अफ्रिकाका केही भूभागमा पुरुषको लैङ्गिक भूमिका निर्वाह गर्न सक्ने महिलाहरूलाई अन्य महिलासँग विवाह गर्न समाजले नै स्वीकृति दिने गर्दथ्यो । अमेरिकामा पनि पुरुष र महिला दुबैको लैङ्गिक पहिचानलाई आत्मसात् गर्ने व्यक्तिलाई महत्त्व दिएर परम्परागत र धार्मिक भूमिका निर्वाह गर्न छुट दिई पुजिनेसमेत गरिन्थ्यो । साथै, हालको प्युर्टो रिकोमा क्यारेबियन क्षेत्रका केही प्रजातिमा समयौनिक महिला तथा पुरुषहरूलाई आफ्नो साथीसँग नाच्न र रमाइलो गर्ने स्वतन्त्रता दिइने गरिन्थ्यो ।
महिला मताधिकार आन्दोलन र क्वियर
उन्नाइसौँ शताब्दीमा महिला मताधिकारका लागि भएका आन्दोलनहरूले सबै प्रकारका क्वियर लैङ्गिक अधिकारकर्मीहरूलाई एकजुट गर्ने काम गर्यो । क्वियर भनेको यौन र लैङ्गिक पहिचानका लागि एउटा छाता शब्द हो, जसले एलजिबिटिआइक्यु ‘स्पेक्ट्रम’ भित्रका जो कोहीलाई पनि समेट्दछ ।
महिला मताधिकार आन्दोलनले एकातिर महिलाहरूलाई पुरुष सरह मताधिकार प्रदान गर्यो भने अर्कातिर आन्दोलनका विरोधीहरूले पोस्ट कार्डका माध्यमबाट महिला र पुरुष दुबैलाई होच्याउने र आलोचना गर्ने काम गरे । त्यतिबेला समाजमा महिलाहरूका बारेमा धेरै नै नकारात्मकता फैलाउने काम पनि गरियो ।
नकारात्मकताका लागि चित्रहरूको प्रयोग गर्दै महिलाले अब सबै पुरुषको काम गर्नेछन् र महिलाले भोट दिए पुरुषहरूलाई उछिन्नेछन् भन्ने सन्देश प्रवाह गरियो । यही आन्दोलनपछि नै इतिहासविद्हरूले यस आन्दोलनका धेरैजसो महिलाहरूले आफ्नो डायरीमा आफ्ना समयौनिक सम्बन्धका बारेमा लेखेको पनि बताए ।
‘द ल्याभेन्डर स्केयर’
बिसौँ शताब्दीको मध्यतिर समलिङ्गी व्यक्तिहरूका बारेमा अमेरिकी सरकारमा उत्पन्न एक प्रकारको नैतिक आतङ्क थियो, ल्याभेन्डर स्केयर अर्थात् ल्याभेन्डर त्रास । त्यतिबेला अमेरिकी सरकारले नै निकै धेरै सङ्ख्यामा समयौनिक र समलिङ्गी पुरुष र महिलालाई जागिरबाट बर्खास्त गर्यो । विभिन्न पेसा र सेनाबाट समेत निष्कासित गरियो । यसको प्रभाव त्यसपछिको चालिस वर्षसम्म पनि पर्यो । सन् १९९० को दशकसम्म पनि अवस्था उस्तै नै थियो । ल्याभेन्डर अर्थात् बैजनी रङलाई युनानी कवयित्री साफोको कवितामा प्रायः प्रयोग भएको पाइन्छ । यसैले क्वियर इतिहासमा यो रङ्गको महत्त्व पनि धेरै नै रहन गयो । यस अवधिमा ‘द ल्याभेन्डर सङ्’ भन्ने गीत पनि थियो, जसलाई क्वियरहरूको गान भनेर पनि चिनिने गरिन्थ्यो ।
‘द ल्याभेन्डर मेनेस’
महिलावादी आन्दोलनको दोस्रो लहरमा ‘द ल्याभेन्डर मेनेस’ को उदय भयो । सन् १९६०–१९७० ताका क्वियर हुनु डरको विषय मात्र थिएन, यो एक खालको तपस्या जस्तो पनि थियो । यही समयदेखि नै ‘एल्जिबिटिक्युआइप्लसप्लस’ जस्ता आन्दोलनहरूले स्थान पाए । अमेरिकी लेखक तथा महिलावादी आन्दोलनकर्ता बेट्टी फ्रिडन (सन् १९२१–२००६) ले यो शब्दलाई समयौनिकता भएका व्यक्तिहरूको बेइज्जतीका लागि व्यङ्ग्यात्मक तरिकाले होच्याउने गरी प्रयोग गर्न सुरु गरेको समय पनि यही थियो ।
ल्याभेन्डर मेनेस कट्टरपन्थी समलिङ्गी महिलावादीहरूको एक अनौपचारिक समूह थियो । सन् १९७० मे १ मा न्युयोर्क सहरमा आयोजित दोस्रो कंग्रेसमा महिलावादी आन्दोलनबाट महिला समलिङ्गीहरू र उनीहरूको मुद्दालाई पाखा लगाइएको कुराको विरोध गर्न गठन गरिएको थियो ।
ल्याभेन्डर मेनेस कट्टरपन्थी समलिङ्गी महिलावादीहरूको एक अनौपचारिक समूह थियो । सन् १९७० मे १ मा न्युयोर्क सहरमा आयोजित दोस्रो कंग्रेसमा महिलावादी आन्दोलनबाट महिला समलिङ्गीहरू र उनीहरूको मुद्दालाई पाखा लगाइएको कुराको विरोध गर्न गठन गरिएको थियो ।
आफूलाई महिलाका कथाहरू साझा गर्न र इतिहासमा उनीहरूको स्थान सुनिश्चित गर्न मन परेको बताउने महिला इतिहासकार माइकल्स डेब्राका अनुसार, कट्टरपन्थी नारीवादीहरूले बेट्टीले आन्दोलनमा समयौनिक महिलाहरूलाई ‘ल्याभेन्डर खतरा’ भनेर उल्लेख गरेकोमा र पुरुषहरूसँग सहकार्य गर्ने बेट्टीको तत्परताको पनि आलोचना गरे । कतिपय नारीवादी महिलाहरू समयौनिक महिलाहरूको बेग्लै मुद्दालाई महिलावादको दोस्रो लहरमा मिसाएको भनेर रुष्ट पनि भए । मेरिम्याक कलेजका महिला तथा लैङ्गिक अध्ययनका सहप्राध्यापक माइकल्सले उक्त कुरा सन् २०१७ मा नेसनल वुमन्स हिस्ट्री म्युजियमको ‘अनलाइन बायोग्राफी’ मा उल्लेख गरेका थिए ।
यद्यपि, सन् १९७० मा एक महिलावादी समूहले फेरि ‘ल्याभेन्डर मेनेस’ पदावलीको पुनः प्रयोग गरेर यसलाई पुनः जगाउने काम गर्यो । यो आन्दोलन अन्तर्वर्गीय नभएको र यसले गोरा, मध्यम वर्गीय, धनी महिलाहरूलाई मात्र समेटेको आरोप पनि लागेको थियो । यसकै उपजस्वरूप धेरै काला र अफ्रिकी मूलका महिलाहरूले आफ्ना छुट्टै समूहहरू बनाउनुपरेको थियो ।
‘द कम्बाही रिभर कलेक्टिभ’
द कम्बाही रिभर कलेक्टिभ (सिआरसी) पनि काला र अफ्रिकी मूलका महिला समूहहरूमध्येको एक थियो । अमेरिकी राज्य म्यासाचुसेट्सको बोस्टनमा रहेको सिआरसी अश्वेत, महिलावादी, समाजवादी समूह थियो । महिलावादी आन्दोलनभित्र जातिवाद र नागरिक अधिकार आन्दोलनभित्र यौनवाद र समलैङ्गिकता विरुद्धको प्रतिक्रियामा स्थापना गरिएको उक्त समूह सन् १९७४ देखि १९८० सम्म सञ्चालमा रहेको थियो । सिआरसीले सन् १९७० को दशकमा ‘इन्टरसेक्सनल फेमिनिज्म’ को बारेमा पनि आवाज उठाएको थियो । ‘इन्टरसेक्सनल फेमिनिज्म’ लाई नेपालीमा अन्तर्वर्गीय महिलावाद पनि भन्ने गरिन्छ ।
महामारी पीडितको सेवामा लेस्बियन नै अगाडि
सन् १९८० को एचआइभी एड्स महामारी र सन् १९८१ भन्दापछिको समयमा महिलावादको तेस्रो लहर आयो । यस अवधिमा एल्जिबिटिक्युआइएप्लसप्लसमा पनि ‘एल्’ नै अगाडि आयो । यस अवस्थामा ‘लेस्बियन’ नै अगाडि आउनाको विशेष कारण छ । त्यो के भने एड्सलाई पहिले ग्रिड (GRID) अर्थात् ‘गे रिलेटेड इम्युन डिस्अर्डर’ भन्ने गरिन्थ्यो ।
जब वैज्ञानिकहरूले एचआइभी एड्स समयौनिक पुरुषलाई मात्र नभई सबैलाई लाग्न सक्ने तथ्य पत्ता लगाए, त्यसपछि नै एल्जिबिटिक्युआइप्लस्प्लस्मध्येबाट एल् अगाडि आएको थियो । यसले समयौनिक महिलाहरूको मानवीय भाव र योगदानलाई उचित कदर प्रदान गर्यो ।
ग्रिडले समलिङ्गी सम्बन्धित प्रतिरक्षा विकारलाई जनाउँँथ्यो र यसलाई समलिङ्गीहरूको रोगका रूपमा लिने गरिन्थ्यो । महामारी पीडितको सेवामा सबैभन्दा अग्रपङ्क्तिमा समयौनिक महिलाहरू आए । उनीहरू अगाडि आएर समलिङ्गी पुरुषहरूको स्याहार र हेरचाह गर्न थाले । रक्तदानदेखि नर्सिङ सेवामा महिलाहरू नै खटिए ।
जब वैज्ञानिकहरूले एचआइभी एड्स समयौनिक पुरुषलाई मात्र नभई सबैलाई लाग्न सक्ने तथ्य पत्ता लगाए, त्यसपछि नै एल्जिबिटिक्युआइप्लस्प्लस्मध्येबाट एल् अगाडि आएको थियो । यसले समयौनिक महिलाहरूको मानवीय भाव र योगदानलाई उचित कदर प्रदान गर्यो ।
समलिङ्गी विवाहलाई समान दर्जा
सन् २००५ देखि २०१५ को अवधिमा विवाहमा समानताको कुरा उठ्यो । अब एच्आइभी एड्सपछिको अर्को सङघर्ष भनेको समलिङ्गी विवाहलाई समान दर्जा प्रदान गर्नु थियो । प्रायः पुरुष समयौनिकले एचआइभी एड्सको महामारीका कारण जीवन गुमाउनुपरेको अवस्थामा उनीहरूका परिवार र जीवनसाथीले समेत राम्रो नगरेको कारण नै समलिङ्गी विवाहको मुद्दालाई कानुनीरूपमा नै अघि सारियो । सम्पत्तिमाथिको अधिकारलाई कायम गराइराख्न पनि सहज हुने भएकाले समलिङ्गी विवाहको महत्त्व पनि बुझ्न थालियो ।
नेपालमा समयौनिकताको उदय र मान्यता
नेपाली समाजमा इस्वी संवत्को २१औँ शताब्दीअघिसम्म समलैङ्गिक वा समयौनिक सम्बन्धको बारेमा विरलै छलफल गरिन्थ्यो । नेपालमा पनि दक्षिण एसियाली अन्य मुलुकहरूमा जस्तै महिलाले पुरुषसँग विवाह गर्ने, बच्चा जन्माउने र पारिवारिक मानसम्मान कायम राख्ने अपेक्षा गरिन्थ्यो । समयौनिक पहिचान भएका व्यक्तिहरूलाई समाजमा खुलेआम आफ्नो परिचय दिएर बाँच्न सक्ने स्वतन्त्रता थिएन ।
सन् २००१ मा अभियन्ता सुनीलबाबु पन्तको अगुवाइमा काठमाडौँमा ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) नामक संस्थाको स्थापना भयो । यसले नेपालमा एल्जिबिटिक्युआइएप्लसप्लस समुदायको अधिकारका निम्ति कानुनी सुधार, जागरुकता अभियान, सामुदायिक समर्थन सिर्जना, समयौनिक र समलैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई हिंसा र भेदभावबाट संरक्षण गर्ने पहिलो संस्थाका रूपमा कामको थालनी गर्यो ।
सोसाइटीले २०६४ सालमा मितिनी नेपाल, क्रुजएड्स नेपाल र परिचय समाजसँग मिलेर सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्यो । उक्त निवेदनमा एल्जिबिटिक्युआइएप्लसप्लस समुदायका व्यक्तिहरूलाई भेदभावबाट संरक्षण, नागरिकता अधिकार, यौन तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको मान्यता र अधिकारसहित कानुनी सुधारको माग गरिएको थियो ।
मितिनी नेपाल यस अभियानमा विशेषगरी समयौनिक वा समलैङ्गिक पहिचान भएका महिलाहरूको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा कार्यरत थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय बलराम के.सी. र पवन कुमार ओझाको संयुक्त इजलासले २०६४ साल पुस ६ रिट निवेदनमा फैसला सुनायो । फैसलाले एल्जिबिटिक्युआइएप्लसप्लस समुदायका व्यक्तिहरूलाई ‘प्राकृतिक व्यक्ति’ हुन्, यौन झुकाव प्राकृतिक हो र कुनै मानसिक विकार होइन भन्दै सरकारले उनीहरूको अधिकार सुनिश्चित गर्नेखाले कानुन बनाउन निर्देशन दियो ।
सर्वोच्चको फैसलामा उल्लेख थियो– “सरकारले यस सम्बन्धमा आवश्यक अध्ययन गरी फरक लैङ्गिक पहिचान र यौन अभिमुखीकरण भएका व्यक्तिहरूले समेत अरू सरह नै विना भेदभाव आफ्नो अधिकार उपभोग गर्न पाउने गरी उपयुक्त कानून बनाउनु वा भैरहेको कानून संशोधन गरी आवश्यक प्रबन्ध गर्नु भनी नेपाल सरकारको नाउँमा निर्देशनात्मक आदेश जारी हुन्छ ।”
सर्वोच्च अदालतको उक्त फैसला नै नेपालमा समलैङ्गिक पहिचानको पहिलो कानुनी मान्यता थियो । त्यस उपरान्त समयौनिक व्यक्तिहरूलाई जनाउन ‘समलिङ्गी’ शब्द प्रयोगमा आएको देखिन्छ । त्यसपछि नै नेपालमा समलैङ्गिकताको सवाल अदृश्यबाट दृश्य भएर संवैधानिक वैधतामा सर्यो ।
बिस्तारै आएको सकारात्मक परिवर्तनसँगै सन् २००८ मा सुनीलबाबु पन्तको नाम एसियाकै पहिलो खुला समलिङ्गी सांसदको रूपमा दरिन पुग्यो । यसले एल्जिबिटिक्युआइएप्लसप्लस समुदायका व्यक्तिहरूका बारेमा राष्ट्रियस्तरका छलफलहरूलाई अघि बढाउन मद्दत गर्यो । अप्रत्यक्षरूपमा समलैङ्गिक र समयौनिक व्यक्तिहरूको दृश्यतालाई पनि बढायो र सन् २०११ मा नेपालले आधिकारिकरूपमा राष्ट्रिय जनगणनामा ‘तेस्रो लिङ्गी’ वर्ग समावेश गर्यो ।
यद्यपि, यो काम समलैङ्गिक र समयौनिक पहिचानमा भन्दा लैङ्गिक पहिचानमा बढी केन्द्रित भयो । यसले कम्तीमा यौनिक र लैङ्गिक विविधताको छलफलको सामान्यीकरणमा भने टेवा पुर्यायो । त्यसपछि २०७२ सालको ‘नेपालको संविधान’ ले सबै लिङ्गका लागि समान अधिकार र गैरभेदभावको सुनिश्चितता गर्यो । यसले समलैङ्गिक, समयौनिक महिलाहरूसहित यौन अल्पसङ्ख्यकहरूको लागि कानुनी समावेशीकरणलाई बलियो बनायो ।
सन् २०१९ मा नेपालमा पनि नेपाल गौरव यात्रा (प्राइड परेड) को घोषणा भयो । सन् २०२० देखि कार्यक्रमहरूको आयोजना, सामाजिक सञ्जालमा सक्रियता, विश्वविद्यालयहरूमा छलफल र ‘लेस्बियन भिजिबिलिटी विक’ जस्ता कार्यक्रमहरू भए । यसले मानिसहरूको समलैङ्गिकता, समयौनिकता र एल्जिबिटिक्युआइएप्लसप्लस समुदायका व्यक्तिहरूप्रतिको दृष्टिकोण र व्यवहार दुबैलाई परिवर्तन गर्यो ।
सन् २०२३ नोभेम्बर २९ मा लमजुङ्गका सुरेन्द्र पाण्डे र माया गुरुङको जोडीले विवाह गरी अदालतमा कानुनीरूपबाट विवाह दर्ता पनि गर्यो । उनीहरूलाई प्रथम समलिङ्गी वैधानिक जोडीका रूपमा चिनिन्छ । सन् २०१७ मा नै हिन्दु परम्परा अनुसार विवाहित यस जोडीले सन् २०२३ जुनको सर्वोच्च अदालतको अन्तरिम आदेशपश्चात् मात्र विवाह दर्ता गर्न पाएर वैधानिक हैसियत बनाएको थियो । समलिङ्गी विवाहसम्बन्धी अन्तिम आदेश भने अझै आइसकेको छैन ।
हालको अवस्थामा हेर्ने हो भने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ ले भूमिका श्रेष्ठलाई प्रतिनिधि सभा सदस्यका रूपमा चयन गरेको छ । यसले समलैङ्गिक, समयौनिक पुरुष र महिलाहरूको अधिकार सुनिश्चिततामा र सशक्तीकरणमा एउटा बलियो इँटा थप्ने काम गरेको छ ।
नेपालमा समयौनिक अधिकारप्रति सक्रियता
नेपालमा समयौनिक र समलिङ्गी महिलाका अधिकार संरक्षण, वकालत र पैरवी अभियानमा मितिनी नेपालले स्थापनाकालदेखि नै निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् २००२ मा स्थापित मितिनी नेपालले पितृसत्ता र सामाजिक कलङ्कका कारण महिलाहरू बिचको समलिङ्गी र समयौनिक सम्बन्धलाई प्रायः लुकाइने समाजमा समलैङ्गिक पहिचानलाई स्पष्ट रूपमा बुझाउन पनि निकै प्रेरणादायी कामहरू गर्दै आएको देखिन्छ ।
नेपाली समाजमा प्रायः महिलाहरूलाई पुरुषसँग विवाह गर्न दबाब दिइने भएकै कारण समलैङ्गिक र समयौनिक पहिचान खुलेआम व्यक्त गर्न गाह्रो हुने गरेको छ । यस क्रममा यस अभियानले अनिवार्य विषमलिङ्गी विवाह, जसलाई हाम्रो समाजले विवाह शब्दकै पर्यायवाची मान्दै आएको छ, लाई चुनौती दिँदै समयौनिक र समलिङ्गी विवाहलाई विशेष प्राथमिकता दिँदै आएको छ ।
मितिनी नेपालले चलाएको अभियानमा सहायता समूहहरू, परामर्श सेवा र जागरुकता कार्यक्रमहरू पर्दछन् । यस्ता कार्यक्रमहरूको आयोजना गरी समयौनिक र समलिङ्गी महिलाहरूलाई यस समुदायमा एकीकृत भएर लाग्न प्रेरक भूमिका खेल्ने गरेको छ । साथै, शिक्षा, नागरिकता, स्वास्थ्य सेवा र कानुनी अधिकारमा समावेशीकरणको माग गर्दै यस्ता समयौनिक र समलिङ्गी महिलाहरूका लागि नीतिगत पैरवी गर्ने कामको थालनी यस अभियानमा समावेश छ ।
शब्दचयनजन्य विद्यमान चुनौती
आमसञ्चार सामग्रीमा समेत अझै पनि यदाकदा समयौनिक महिलाका जोडीलाई महिला–महिलाको जोडी भएकै कारण समलैङ्गिक र समयौनिक जोडी जस्ता शब्दावली प्रयोग नगरी ‘तेस्रोलिङ्गी’ को उपमा दिएर एकै ठाउँमा मिसाउने गरेको अवस्था छ । बिबिसी वर्ल्डको समाचारमा रहेको ‘अ लेस्बियन कपल अट्याक्ड इन लन्डन’ भन्ने वाक्यांशलाई अनुवाद गर्दा ‘तेस्रोलिङ्गी जोडीलाई लण्डनमा आक्रमण’ भनी प्रकाशन गरेको पाइयो ।
हरेक वर्ष अप्रिल २० देखि २६ सम्म भव्यताका साथ मनाइने यो अभियान यो वर्ष बेलायत र अमेरिकामा मात्र नभई क्यानाडामा पनि मनाइयो । विश्वभरिका समयौनिक महिलाहरूको यो अभियान एउटा वार्षिक उत्सव पनि हो ।
अनुवाद गर्दा यसरी ‘लेस्बियन’ को ठाउँमा त्यसको तात्विक अर्थ नै नदिएर फरक अर्थ दिने शब्द ‘तेस्रोलिङ्गी’ प्रयोग गर्ने गरिएका कारण नेपाली समाजमा थप भ्रमको सिर्जना हुने गरेको छ । अनुवाद गर्दा सही भाव दिने शब्दको चयन अनिवार्य सर्त हो । तर, यसको पालना हुन सकेको छैन । ‘तेस्रोलिङ्गी’ र ‘समलिङ्गी’ शब्द पर्यायवाची पनि हुँदै होइनन् । यसरी शब्दको गलत प्रयोगले सिमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूका लागि विकराल समस्या पैदा गर्ने गरेको छ ।
‘लेस्बियन भिजिबिलिटी विक’
समयौनिक महिलाहरूका लागि जागरुकता, प्रतिनिधित्व र समानता प्रवर्धन गर्न दिभा (DIVA) पत्रिकाले सुरु गरेको सप्ताहव्यापी कार्यक्रमलाई ‘लेस्बियन भिजिबिलिटी विक’ नाम दिइएको छ । सन् २०२० देखि विश्वव्यापी रूपमा मनाइँदै आएको यस अभियानकी सुरुवातकर्ता सोही पत्रिकामा कार्यरत पत्रकार एवं अभियन्ता लिन्डा रिले हुनुहुन्छ । सन् २०२० मा बेलायतमा र २०२३ मा अमेरिकामा सुरु भएको लेस्बियन भिजिबिलिटि विकले छोटो समयमा नै विश्वको ध्यान आर्कषित गरेको छ ।
हरेक वर्ष अप्रिल २० देखि २६ सम्म भव्यताका साथ मनाइने यो अभियान यो वर्ष बेलायत र अमेरिकामा मात्र नभई क्यानाडामा पनि मनाइयो । विश्वभरिका समयौनिक महिलाहरूको यो अभियान एउटा वार्षिक उत्सव पनि हो । कर्भ फाउन्डेशन, एल्जिबिटिक्युआइएप्लसप्लसहरूको आवाजलाई सुनिश्चित गर्ने एक मात्र गैरनाफामुखी संस्था हो, जसले लेस्बियन भिजिबिलिटी विकको अवसर पारेर एक सयभन्दा बढी कार्यक्रमहरूको आयोजना सप्ताहव्यापी रूपमा गर्यो ।
उक्त कार्यक्रमहरूमा ‘लेस्बियन हिस्ट्री वाकिङ टुर अफ न्युयोर्क’ देखि ‘ग्रेट लेस्बियन पाइ–इटिङ कन्टेस्ट इन विन्निपेग’ जस्ता विविध कार्यक्रमको आयोजना गरियो । कार्यक्रमहरू समयौनिक महिलाहरूलाई एकअर्कासँग समुदायस्तरमा भेला गर्न र समयौनिकताबारे अन्य व्यक्तिहरूलाई जागरुक गराउन पनि महत्त्वपूर्ण मानिएको छ ।
नेपालको सन्दर्भमा भने मितिनी नेपाल, क्वेयर युथ ग्रुप, क्याम्पियन फर चेन्ज, ब्लु डायमण्ड सोसाइटी जस्ता समयौनिकताका विषयमा काम गर्ने संस्थाहरूले पुस्तक विमोचन, कला प्रदर्शनी, समूह छलफल आदि कार्यक्रम गर्ने गरेका छन् । मितिनी नेपालले ‘स्वास्थ्य र कल्याण’ उही अन्तराष्ट्रिय नाराको साथ लेस्बियन भिजिबिलिटी विक २०२६ अप्रिल २०–२६ (२०८३ वैशाख ७–१३) मनायो । लेस्बियन समुदाय तथा नन–बाइनरी व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्यमा जोड दिने जमर्कोका साथ विभिन्न यस्ता कार्यक्रमहरूको आयोजना हुने गरेका छन् ।
प्रकाशन मिति : २०८३ वैशाख १४ गते, सोमबार





