आफूमाथिको सीमा र घेराबन्दीलाई प्रश्न गर्दै बाहिर निस्कनुपर्ने – डा. अमिना सिंह

Share this :

महिलावाद संवाद शृङ्खला १३

डा. अमिना सिंह आफूलाई शिक्षाकर्मी भन्न रुचाउनुहुन्छ । उहाँले अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीबाट ‘एडल्ट लर्निङ एन्ड एजुकेसनल फिलोसफी’ (प्रौढ सिकाइ र शैक्षिक दर्शन) मा विद्यावारिधि गर्नुभएको छ । काठमाडौँ विश्वविद्यालयको फ्याकल्टी मेम्बर उहाँले नेपाल विश्वविद्यालय स्थापनाको लागि ‘नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति’ को सदस्य र सोही अन्तर्गत ‘पाठ्यक्रम विकास समिति’ को अध्यक्ष भएर पनि काम गर्नुभयो । शिक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘टिच फर नेपाल’ को कोषाध्यक्ष रहेकी अमिना ‘प्रौढ सिकाइ र सामुदायिक शिक्षा’ को विषयलाई आफ्नो प्राज्ञिक रुचिको क्षेत्र मान्नुहुन्छ । यस्तै विषयका विभिन्न पाटामा काम गर्ने सङ्घसंस्थाहरूमा अनुसन्धाताको रूपमा पनि उहाँले काम गर्दै आउनुभएको छ ।

सानैदेखि विभिन्न कोणबाट आफूमाथिको सीमा र घेराबन्दीलाई प्रश्न गर्दै बाहिर निस्कने प्रयास गर्दै आएका महिलाको जीवनमा पछि गएर रूपान्तरण पनि सम्भव भएको देखिन्छ । अनुसन्धानका क्रममा यस्तो देख्नुभएकी डा. अमिना सिंहसँग ‘महिलावाद संवाद शृङ्खला’ का लागि ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले २०८१ माघमा प्रारम्भिक कुराकानी गर्नुभएको थियो । सो कुराकानीलाई आधार बनाएर ‘सन्धान सहलेखन’ अन्तर्गत उहाँसँग विभिन्न चरणमा सहकार्य गरी सन्धान सम्पादन समूहबाट यो सामग्री तयार गरिएको हो ।

‘फेमिनिज्म’ लाई कसैले महिलावाद त कसैले नारीवाद भनेको पाइन्छ । तपाईं यसलाई के भन्नुहुन्छ ?

यो ‘वाद’ को कुरा गर्दा, अगाडि के राख्ने, नारी कि महिला राख्ने भन्ने कुरा यो अवधारणाको अन्तर्निहित उद्देश्यसँग सम्बन्धित कुरा हो जस्तो लाग्दछ । मेरो बुझाइमा भन्दा ‘महिला’ भन्ने शब्दले कसलाई जनाउँछ, कसकसलाई समेट्छ भन्ने कुरा भयो । त्यसैले तपाईंले सोधेकै ‘टर्म’ मा जाने हो भने म नारीवाद भन्न रुचाउँछु । अङ्ग्रेजीमा ‘वुमनिज्म’ भन्ने टर्म पनि छ, जसलाई अफ्रिकी अमेरिकी लेखक एलिस वकरले मूलधारे फेमिनिज्मको आलोचना गर्दै काला महिलाहरूका साथै अन्य सीमान्तकृत महिलाहरूको विविध भोगाइहरूलाई समेट्नका लागि प्रयोग गरेको पाइन्छ ।

मलाई के लाग्छ भने नारीवादलाई बुझ्न यसले समाजमा भएका के कस्ता समस्यालाई सम्बोधन गर्न खोजेको हो र यो किन आवश्यक पर्‍यो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । ‘महिलावाद’ भन्ने शब्दले कहिलेकाहीँ यो महिलासँग मात्र सम्बन्धित अवधारणा हो भन्ने लाग्न सक्दछ । लैङ्गिकताको आधारमा पुरुषको दाँजोमा महिलाको समूहले बढी विभेद र असमानता भोग्नुपरेको सामाजिक यथार्थले गर्दा महिलाको सवालमा बढी केन्द्रित हुनु स्वाभाविक पनि हो । तर, मेरो बुझाइमा नारीवादको मूल विषय महिला मात्र नभएर लैङ्गिक शक्तिसम्बन्ध (जेन्डर पावर रिलेसन्स) र यसबाट सिर्जित सामाजिक असमानता र विभेद हुने हुनाले महिलालाई मात्र हेरेर पुग्दैन ।

अर्को महत्वपूर्ण कुरा, कुनै व्यक्तिको लैङ्गिक अनुभव उसको अन्य पहिचानसँग जोडिएको हुन्छ । उसको अनुभवलाई जात, धर्म, वर्ग, यौनिकता, शारीरिक अवस्था आदि इत्यादि कुराले पनि प्रभाव पारेको हुन्छ । यी विभिन्न पहिचानहरूको प्रतिच्छेदन (इन्टरसेक्सन) बाट कुनै व्यक्तिको जीवनको भोगाइ, वास्तविकता, अवसर र सम्भाव्यताहरू निर्धारित हुन्छन् । जस्तै, हामी कस्तो मान्छे हुन सक्छौँ, हुन पाउँछौँ, हाम्रो अधिकारको क्षेत्र कति फराकिलो छ भन्ने कुरालाई शक्ति संरचनाले असर पार्ने हुन्छ । मेरो विचारमा ‘नारी’ शब्दले कुनै एक समूह विशेषलाई मात्र जनाउनुको साटो ‘गुण’ लाई पनि जनाउने हुनाले महिलावादभन्दा नारीवाद उपयुक्त होला कि भन्ने ठान्छु ।

तपाईंको विचारमा महिलावाद भनेको अथवा तपाईंकै शब्दमा नारीवाद भनेको के हो ? अलि सामान्य तरिकाले बुझाइदिनुस् न !

नारीवादी भनेको एउटा बृहत् दृष्टिकोण हो जसले विभिन्नखाले विचारधाराहरू समेट्छ । समाजलाई हेर्ने चस्मा जस्तो पनि भन्न सकिन्छ । त्यो दृष्टिकोणले हेर्नेबित्तिकै समाज जसरी चलिरहेको छ, किन यस्तो भैरहेको छ भन्ने कुरा देख्न बुझ्न सकिन्छ । नारीवादले यौनिकता र लैङ्गिकताका आधारमा हुने शक्ति संरचना कस्तो छ, यसले कसरी समाजमा असमानता र विभेद पैदा गर्छ भन्ने कुरा हेर्छ । समस्याको पहिचानसँगै यसले यी समस्याको समाधान गरी समतामूलक र विभेदरहित समाज बनाउनका लागि के गर्नुपर्छ भन्ने विचारलाई पनि समेट्छ । यो मेरो अलि प्राज्ञिक व्याख्या भयो होला ।

सामान्य दैनिक जीवनमा व्यक्तिगत भोगाइको रूपमा हेर्दा ‘वाद’ भन्ने शब्दको प्रयोग पनि जरुरी छैन । समाजशास्त्रीय ढङ्गले हेर्दा महिलाको जीवन अनुभवलाई सैद्धान्तीकरण गर्ने क्रममा प्रयोग गर्ने एउटा कुरा भयो । प्राज्ञिक क्षेत्रमा यो वादको आफ्नै महत्त्व र औचित्य छ ।

सामान्य तरिकाले बुझ्ने गरी भन्ने हो भने यो लैङ्गिक समानताको बारेमा हो । नारीवादी दृष्टिकोणभित्र पनि ‘लैङ्गिकता’ को अवधारणागत बुझाइ, शक्तिसम्बन्ध कसरी सिर्जित हुन्छ भन्ने बुझाइका साथै सामाजिक असमानताको स्वरूपबारे बेग्लाबेग्लै सैद्धान्तिक व्याख्या पाइन्छ र त्यसैअनुसार विभिन्न नारीवादी विचारधारा हुन्छन् ।

मेरो विचारमा त सामान्य दैनिक जीवनमा व्यक्तिगत भोगाइको रूपमा हेर्दा ‘वाद’ भन्ने शब्दको प्रयोग पनि जरुरी छैन । वादलाई हामीले मानिसका अनुभवहरूलाई समाजशास्त्रीय ढङ्गले हेर्दा महिलाको जीवन अनुभवलाई सैद्धान्तीकरण गर्ने क्रममा प्रयोग गर्ने एउटा कुरा भयो । प्राज्ञिक क्षेत्रमा यो वादको आफ्नै महत्त्व र औचित्य छ । तर, दैनिक जीवनमा भइरहेका अनुभवका कुरा गर्दा हाम्रा आमाहरू, दिदीबहिनीहरू, विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूसँग कुरा गर्दा उहाँहरूले ‘नारीवाद’ शब्द प्रयोग गरेका हुँदैनन् तर नारीवादको चेत हुन्छ । त्यो चेत उहाँहरूको जीवनको भोगाइबाट आउँछ । विभेदका भोगाइ र समतावादी चेतनाको बिचमा कसैले नभने पनि नारीवाद स्वतः आइरहेको हुन्छ ।

कतिपय कुराहरू भोगाइको आधारमा आफूले बोध गर्दै जाँदा आफ्नो दैनिक जीवनमा आइपर्ने समस्यालाई कसरी सुल्झाउने भनेर प्रयास गर्दै जाँदा पनि नारीवादी अभ्यास भइरहेको हुन्छ भन्ने मेरो बुझाइ छ । यो अनुसन्धानले पनि देखाएको कुरा हो । त्यसैले कति महिलाले आफूलाई नारीवादी नभने पनि उनको व्यवहारमा वा बाँच्ने तरिका अथवा आचरण, व्यवहार र बुझाइमा नारीवादी दृष्टिकोण र अभ्यास पाइन्छ ।

कस्तो कस्तो व्यवहार, आचरणलाई महिलावादी अभ्यास भनेर बुझ्न सकिन्छ ?

मानिसको जीवन भोगाइमा विभिन्न कारणले गाह्रो भएको हुन सक्छ । गाह्रो भयो भने ‘म किन यहाँ यो अवस्थामा छु’ भनेर प्रश्न गर्न सकिन्छ । कतिपय गाह्रा भोगाइहरू प्रश्न गर्न सकिने हुन्छन् । यस्ता भोगाइलाई पनि मेरो ‘भाग्य’ नै यस्तै भनेर ‘भाग्यवाद’ सँग जोडिन्छ । यसले गर्दा पनि हामी विकसित हुन नसकेको भन्ने व्याख्या त अझै पनि छ । ‘छोरीको जात भनेको यस्तै हो’ भनेर कतिपय व्यक्तिले महिलाको दुःख र पीडालाई सामान्यरूपमा लिने गरेका पनि छन् ।

मैले केही वर्ष अगाडि ‘महिला सशक्त हुनु’ भनेको के हो भनेर पनि एउटा अनुसन्धान गरेको थिएँ । सशक्तीकरणका पनि आ–आफ्नै अवधारणाहरू हुन्छन् । कतिपय अवधारणा आयातित पनि हुन्छन् । कतिपयले चाहिँ जीवनदृष्टि र भोगाइका आधारमा आफैँले सशक्त भएको अनुभव गर्दा रहेछन् । आफैँले आफूलाई रूपान्तरण भएको अनुभव पनि गर्दा रहेछन् ।

ओखलढुङ्गामा एक जनाले भन्नुभएको थियो, “दाइहरू स्कुल जान्थे । म गइनँ । म सानो भएर नपठाएको होला भन्ने लागेकोथ्यो । पछि भाइलाई पनि स्कुल पठाइयो । मभन्दा सानो भाइ स्कुल जान थालेपछि मलाई चाहिँ कहिले स्कुल पठाउने भनेर सोध्न थालेँ ।”

अनुसन्धानका लागि मैले अन्तरवार्ता लिँदै जाने क्रममा कतिले ‘पहिले म यस्तो थिएँ, अहिले म यस्तो भएको छु’ भन्ने गरेको पाएँ । मैले फेरि यस्तो कसरी हुनुभयो त ? भनी सोध्दा उहाँहरूमध्ये धेरैको जवाफबाट थाहा भयो– उहाँहरूले बाल्यकालमै ‘मेरो जीवनमा जे–जे भइरहेको छ, त्यो किन भएको’ भन्ने प्रश्न गर्नुभएको रहेछ । यस्ता प्रश्न भने आफू वरपरका सँग, कहिले आफ्नै परिवारभित्रका पुरुष सदस्यको अवस्था र भोगाइसँग दाँज्ने क्रममा उब्जिने रहेछन् ।

ओखलढुङ्गामा एक जनाले भन्नुभएको थियो, “दाइहरू स्कुल जान्थे । म गइनँ । पहिला मलाई सानो भएर नपठाएको होला भन्ने लागेकोथ्यो । पछि भाइको उमेर पुगेपछि उसलाई पनि स्कुल पठाइयो । मभन्दा सानो भाइ स्कुल जान थाल्यो, दाइ पनि गइरहेका थिए । अनि मलाई चाहिँ कहिले स्कुल पठाउने भनेर सोध्न थालेँ ।”

अर्काे एक जनाले भन्नुभयो, “मलाई १० वर्ष भएपछि रुख नचढ भन्न थाले । मेरो भाइलाई चढ्न दिन्थे । मलाई नचढ भनियो ।” ‘मलाई किन यसो भनियो’ भन्ने प्रश्न उहाँको मनमा उठेछ । आफू छोरीमान्छे भएको भएर त्यसो भनिएको रहेछ भन्ने अनुभव भएपछि उहाँले मैले किन नगर्ने त भनी अर्को प्रश्न गर्न थाल्नुभयो । यस्तो अनुभव, प्रश्न र प्रतिप्रश्न गर्ने अरूहरू पनि भेटेको थिएँ ।

कति जनालाई छोरीमान्छे भएको हुनाले आफूलाई फरक व्यवहार गरेको भन्ने अनुभव भएछ । ‘मलाई मेरो समाज, मेरो परिवारले जे गर, जे नगर भनेको छ, त्यो मैले किन नगर्ने त’ भनेर प्रश्न गर्ने चेत पनि आएछ उहाँहरूमा । पछिसम्म उहाँहरूले प्रश्न गर्दैगर्दै जाँदा समाजले लगाइदिएको बार विभिन्न तरिकाले तोड्दै पनि जान थाल्नुभयो ।

महिलामाथिको सीमा र घेराबन्दी त जात, वर्ग, क्षेत्र, भौगोलिक अवस्थिति अनुसार हुन्छ, त्यसलाई त्यहीअनुसार प्रश्न गर्दै बाहिर निस्केपछि आफू रूपान्तरित हुने रहेछ । महिलाको त्यो रूपान्तरण आफूमा मात्रै सीमित नभई परिवारमा प्रभाव परेको पनि देखिन्छ ।

अघिको कुरा यहाँनेर जोड्न चाहन्छु । विभेदको भोगाइलाई चेतका साथ प्रश्न गर्दै रूपान्तरित भएका आममहिलाहरूले आफूलाई ‘फेमिनिस्ट’ भनेर त भन्नुहुन्न, शायद कतिले यो शब्द सुन्नु भएको पनि छैन होला । नारीवादका बारेमा खास थाहा पनि छैन तर उहाँहरूले आफ्नो जीवनमा आफ्नै पाराले अभ्यास गरिरहनुभएको छ ।

तपाईंले अनुसन्धान गर्ने क्रममा भेट्नुभए जस्ता महिलाहरूको सशक्तीकरण र रूपान्तरणको बारेमा हाम्रा विश्वविद्यालयका विद्यार्थीहरूले थप अनुसन्धान पनि गरेका छन् कि ? छन् भने ती अनुसन्धानहरू महिलावादी दृष्टिकोणबाट कत्तिको गहिरा छन् ?

मेरो आफ्नै व्यक्तिगत अनुभव सुनाउँछु । मैले विद्यावारिधि (पिएचडी) को लागि शोधकार्य गर्दा मान्छेले आफ्नै जीवनको अनुभवबाट कसरी सिक्छ भन्ने प्रश्नमा आधारित मेरो अनुसन्धान थियो । मैले मेरो शोध विशेषतः ‘महिलाहरूको सिकाइ’ मा केन्द्रित भएर गरेको थिएँ । मेरो थेसिसको पहिलो अध्याय नै ‘नसिक्ने महिला’ अर्थात् ‘द वुमन हु डिड नट लर्न’ भन्ने छ । मैले सिकाइ जस्तो विषयलाई महिलासँगै जोड्नुको कारण चाहिँ एउटा परियोजनाको मूल्याङ्कन गर्ने क्रममा भएको अनुभव थियो ।

घरेलु हिंसामा परेका महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने तीन वर्षको परियोजना रहेछ त्यो । त्यसको उद्देश्य महिलाहरूका लागि चेतनामूलक कार्यक्रम गर्ने, कानुनी सल्लाह दिने तथा घरेलु हिंसाबाट आफूलाई मुक्त गर्न के के गर्नुपर्छ भन्ने तरिका सिकाउने भन्ने रहेछ । सिकाइकै विषयमा त्यही परियोजनाकै एक जना कर्मचारीले भन्नुभएको थियो– यो समुदायसँग काम गर्ने एक जना हुनुहुन्छ । उहाँले हाम्रै परियोजनाबाट धेरै कुरा जानिसक्नुभएको छ । आफैँ पनि ‘पियर एजुकेटर’ हुनुहुन्छ तर अझै पनि पीडकसँग बस्नुहुन्छ । हिंसा दिने श्रीमान्‌लाई उहाँले छोड्न सक्नुभएको छैन । जति सिकाए पनि किन सिक्दैनन् ?

मैले यस्तै यस्तै सन्दर्भमा ‘यी आइमाईहरूलाई जति सिकाए नि सिक्दैनन्’ भन्ने आशयको अभिव्यक्ति पटक पटक सुनेको थिएँ । यसले ममा प्रश्न उठ्यो– सिक्नु भनेको के हो ? के गर्‍यो भने मानिसले सिकेको र जानेको ठहरिन्छ ? महिलाहरूले जानेको वा सिकाइ उपलब्धिको मापदण्ड के हो ? हामी केलाई सिकाइ मान्छौँ ? त्यसको मापदण्ड कसले तय गर्छ ?

मनमा यस्ता प्रश्नहरू उठेपछि मैले यही विषयलाई लिएर अनुसन्धान सुरु गरेँ, मेरो पिएचडी थेसिसको लागि । महिलाहरूको सिकाइको भोगाइ र अनुभवमा आधारित त्यो स्वतः ‘फेमिनिस्ट रिसर्च’ हुने भयो । मेरो जो प्रमुख सुपरभाइजर हुनुहुन्थ्यो, उहाँ नारीवादी अनुसन्धानविधिमा त्यति चासो नभएको पाएँ । उहाँले ‘सिकाइ भन्ने कुरा त सबैले भोग्ने विश्वव्यापी विषय हो । सिकाइ त जेन्डरले निर्धारण गर्ने कुरा नै हैन । जेन्डर र लर्निङको कुनै सम्बन्ध नै छैन । त्यसैले तिमीले यहाँ फेमिनिस्ट दृष्टिकोण ल्याउन मिल्दैन, त्यसरी नगर’ भनेर भन्नुभएको थियो ।

फेमिनिस्ट रिसर्च भनेपछि महिलाको विषयमा गर्ने हो भन्ने सतही बुझाइ पनि छ । अझ नारीवादी दृष्टिकोण र आलोचनात्मक सिद्धान्तको विश्लेषणात्मक अभ्यास पनि त्यति गहिरो पाइँदैन ।

मैले जिद्दी गरेर ‘सामाजिक दायराको बन्धनमा त पुरुष पनि परेका छन् । पुरुषमाथि पनि विभिन्न अङ्कुशहरू लागेका हुन्छन्’ भनेँ । हाम्रा अनुसन्धानहरू अहिलेसम्म पुरुषको अनुभवलाई केन्द्रमा राखेर गरिरहेका छौँ भने अब महिलाको अनुभवलाई केन्द्रमा राखेर किन नगर्ने ? भनेर उहाँलाई ‘कन्भिन्स’ गरेँ । त्यसरी मेरो रिसर्चमा मैले महिलाहरूको मात्रै अनुभवलाई लिन पाएको थिएँ ।

हाम्रा विश्वविद्यालयहरूमा फेमिनिस्ट रिसर्च गर्ने भनेको त्यति सहजै स्विकारिने कुरा होइन । अझै पनि फेमिनिस्ट अनुसन्धान महिलाहरूको मात्र चासोको विषय हो भन्ने सोच हाबी छ, त्यो पनि जेन्डर स्टडिजको विधामा सीमित । फेमिनिस्ट रिसर्च भनेपछि महिलाको विषयमा गर्ने हो भन्ने सतही बुझाइ पनि छ । अझ नारीवादी दृष्टिकोण र आलोचनात्मक सिद्धान्तको विश्लेषणात्मक अभ्यास पनि त्यति गहिरो पाइँदैन ।

त्यसो भए महिला, त्यसमा पनि सीमान्तकृत समुदायका महिलाको अवस्था र समस्यामूलक भोगाइहरूलाई नेपालका विश्वविद्यालय र प्राज्ञिक व्यक्तित्वहरूले नजरअन्दाज गरिरहेका छन् भन्न मिल्छ ?

नेपालका विश्वविद्यालयमा हामीले छलफल गरेका विषय र क्षेत्र अथवा नारीवादी सोच र दृष्टिकोणमाथि प्रतिबन्ध नै छ त भन्दिनँ तर त्यसलाई मूलधारमा ल्याइएको छैन । जति यस्ता विषयहरूमा मूलधारमा आलोचनात्मक विचारहरू (क्रिटिकल थट) आउनुपर्ने हो, त्यो अझै आएको छैन । त्यसैले पनि अझ अति सीमान्तकृत समुदायका भोगाइ र समस्यामा केन्द्रित ज्ञान निर्माण भएको पाइँदैन ।

मलाई के लाग्छ भने हाम्रो समाजका विभिन्न शक्ति संरचनामा महिला सहभागिता र महिलाका समस्याप्रति हुनुपर्ने जति चासो नै छैन भने त्यो कुरा रिसर्चमा कसरी आओस् ? फेमिनिस्ट दृष्टिकोण त्यत्तिकै त आउने भएन । अरू ‘क्रिटिकल थ्योरिज’ को बारेमा छलफल भए पनि ‘फेमिनिस्ट थ्योरी’ लाई अझै पनि ‘क्रिटिकल थट’ का रूपमा ल्याइएको छैन जस्तो लाग्छ ।

महिलावादी सिद्धान्तहरूलाई कसरी अगाडि ल्याउनुपर्छ विश्वविद्यालयहरूले ? के कसरी पढाउने र अनुसन्धान गर्ने/गराउने ? थेसिस गराउने सुपरभाइजरले के गर्नुपर्छ ?

हामीकहाँ फेमिनिज्म भन्ने कुरा महिलाको मात्र चासोको विषय हो भन्ने बुझाइ छ । त्यो बुझाइबाट बाहिर आउनुपर्‍यो । सबैभन्दा पहिले त्यो कुरालाई नै हामीले विनिर्माण वा ‘डिकन्स्ट्रक्ट’ गर्नुपर्छ, भत्काउन सक्नुपर्छ । जसरी लैङ्गिक विभेदको कुरा गर्दा महिलाको मात्र मुद्दा हो भन्ने बुझाइ आमरूपमा छ, त्यसरी जातव्यवस्थाको कुरा गर्दा पनि यो दलित समुदायको मात्र मुद्दा हो भन्ने बुझाइ छ । यस खालका बुझाइलाई भत्काउन यी मुद्दा हाम्रो समाजका सबैका लागि सरोकार राख्ने मुद्दा हुन् भनेर बुझ्नुपर्छ र बुझाउने गर्नुपर्छ ।

हाम्रो समाजको ‘शक्ति संरचना’ को कुरा सबैको सरोकारको विषय हो भन्ने तहमा हाम्रो बुझाइ पुग्नुपर्‍यो र त्यही तहमा अध्ययन अध्यापन हुनुपर्‍यो । त्यसपछि त्यही विचारलाई अगाडि लिएर आउने, छलफल गर्ने, आलोचनात्मक विमर्श गर्ने वा डिस्कोर्स चलाउने वैचारिक नेता (थट लिडर) हरू र आलोचनात्मक चेत भएको जनसमूह (क्रिटिकल मास) तयार गर्नुपर्छ ।

हाम्रोमा शक्ति संरचनाको एउटा बलियो आधार पितृसत्ता हो । यसले महिलाको मात्र होइन, पुरुषहरूको जीवनलाई पनि परिभाषित गरेको हुन्छ । पुरुषलाई पनि पितृसत्ताको शक्ति संरचनाले एउटा घेराभित्र राखेको छ । महिलाहरूलाई झैँ पुरुषहरूका लागि पनि सामाजिक मूल्यमान्यताहरू बनेका हुन्छन् ।

अर्को कुरा, यस्ता नारीवादी डिस्कोर्समा पुरुषहरूलाई कसरी संलग्न गराउने, पुरुषहरूलाई यसले कसरी कहाँनेर छुन्छ भन्ने कुरा अनि उहाँहरूको लागि फेमिनिज्म र शक्ति संरचनाबारे बुझ्नु किन महत्त्वपूर्ण छ भनेर बुझाउने गर्न सक्यौँ भने हुन्छ होला । पुरुषहरू स्वयंले पनि हाम्रो अहिलेको शक्ति संरचनामा म कसरी जोडिन्छु, जोडिइराखेको छु र त्यसले मलाई कहाँ कहाँ असर गरिरहेको छ भनेर आलोचनात्मक विश्लेषण गर्ने र बुझ्ने अभ्यासको विकास गरेको हुनुपर्‍यो । अब यसका लागि त नारीवादी सिद्धान्त समाजशास्त्र वा वुमन÷जेन्डर स्टडिजमा मात्र सीमित नभएर अन्य विधा विषयको पाठ्यक्रममा पनि आउनुपर्‍यो । जस्तै; राजनीतिशास्त्र, अर्थशास्त्र, कला र मानविकीदेखि प्राविधिक विषयमा पनि जोड्नुपर्‍यो । अब थेसिस गराउने सुपरभाइजरहरू त पहिले आफू नै नारीवादी अवधारणामा स्पष्ट हुनुपर्‍यो ।

महिलावाद गएर शक्ति संरचनाका कुरामा पुरुषसँग कसरी जोडिन्छ ? केही उदाहरण दिनुहुन्छ कि ? पुरुषहरू यो सङ्कथनमा कसरी अगाडि आए भने समझदारी देखिएला ?

शक्ति संरचनाले महिलालाई जसरी छुन्छ, त्यसरी नै पुरुषहरूलाई पनि छुन्छ । दुवैलाई त्यसले असर पारिरहेको हुन्छ । हाम्रोमा शक्ति संरचनाको एउटा बलियो आधार पितृसत्ता हो । यसले महिलाको मात्र होइन, पुरुषहरूको जीवनलाई पनि परिभाषित गरेको हुन्छ । पुरुषलाई पनि पितृसत्ताको शक्ति संरचनाले एउटा घेराभित्र राखेको छ । महिलाहरूलाई झैँ पुरुषहरूका लागि पनि सामाजिक मूल्यमान्यताहरू बनेका हुन्छन् । ती पनि जात, धर्म, वर्ग, भौगोलिक परिवेशअनुसार फरक फरक तरिकाले लागु हुन्छन् ।

म स्कुल पढ्ने उमेरको छँदा एक जना केटा साथीले भनेको एउटा कुरा याद छ– “तिमीलाई त मोज छ नि, जे पढे पनि हुन्छ, आफ्नो इच्छाअनुसार पढे हुन्छ । तिमीलाई कमाउनुपर्ने कर छैन । हामीलाई त के विषय पढ्दा राम्रो कमाइ हुन्छ भनेर पढ्नुअघि विचार गर्नुपर्छ ।” झन्डै ३० वर्षअगाडिको कुरा हो यो । यस्ता सामाजिक मान्यताहरू अहिलेसम्म आउँदा केही तोडिए पनि पूरै त हटेको छैन नि !

कमाउनुपर्छ भन्ने अपेक्षा महिलामाथि राख्न थालेको भर्खरै हो, बल्ल त सुरु हुँदैछ । अहिले पनि परिवारदेखिको पहिलो प्राथमिकतामा कमाउने व्यक्ति भनेको त पुरुष नै हो भन्ने छ नि । अनि यो पनि मध्यमदेखि माथिल्लो वर्गमा देखिने कुरा भयो, निम्न वर्गमा त्यसरी सोच्ने सुविधा हुन्न । ‘लोग्नेमान्छे भएर रुन हुन्न’ भन्ने सोच अहिलेसम्म पनि हटिसकेको छैन, छँदैछ । यस्ता धेरै खालका सामाजिक अपेक्षाहरू पूरा गर्न पुरुषहरू पनि बाध्य छन् । यस्ता बाध्यताले उनीहरूको जीवनलाई असर पारिरहेको हुन्छ ।

एउटा ठुलो जमातका पुरुषहरूलाई ‘म जे छु, म जुन ठाउँमा छु, यो आफ्नै बलबुताले पुगेको हो, मेरै मेहनतले पुगेको हो’ भन्ने लाग्छ । केही हदसम्म यो अनुमान ठिक पनि होला । तर पितृसत्ताले दिएको विशेषाधिकार (प्रिभिलेज) ले पनि कसरी यहाँ पुगेको हुँ भन्ने कुरा चाहिँ बुझ्न बाँकी छ । अझ त्यसमा पनि जात र वर्गको प्रिभिलेज हेर्ने हो भने हाम्रो समाजमा को कस्ता मान्छे कहाँ पुग्छन् ? विभिन्न स्थानमा कसको वर्चस्व र बाहुल्य छ ? अनि त्यो किन ? भनेर आलोचनात्मक विश्लेषण (क्रिटिकल एनालाइसिस) हुन अझै बाँकी छ ।

जो मान्छेले विभेद भोगिरहेको छ वा उत्पीडित (अप्रेस्ड) छ, उसले भोगाइकै कारणले ‘मलाई यस्तो किन हुन्छ’ भनेर बुझ्न सोच्न बाध्य हुन्छ तर विशेषाधिकारप्राप्त (प्रिभिलेज्ड) व्यक्तिको त्यस्तो अवस्था हुन्न । मलाई लाग्छ, उसले त्यही स्तरमा मेरो ‘प्रिभिलेज’ को स्रोत के होला, म जे छु, त्यसरी किन भएँ होला भन्ने कुराको विश्लेषण त्यति गरेको हुँदैन । त्यो गर्नका लागि उसलाई उत्प्रेरणा (मोटिभेसन) पनि छैन होला ।

दुःख परेपछि मात्र मान्छेले दुःखको बारेमा सोच्छ, त्यसको कारण खोज्छ । सुखको बारेमा सोच्दैन । त्यो हिसाबले पनि होला । तर, तपाईं सामाजिक न्यायमा विश्वास गर्नुहुन्छ, न्यायपूर्ण समाजमा विश्वास गर्नुहुन्छ भने तपाईंको आफ्नो मूल्यमान्यताअनुसार जीवन बाँच्नका लागि यस्ता कुरामा ध्यान पुर्‍याउनै पर्छ । नेपालको जुनसुकै क्षेत्रमा हेर्‍यो भने पनि पुरुषहरूकै प्रभुत्व देखिन्छ । ‘म्यानलको इस्यु’ बेलाबेला उठ्ने कारण त्यही हो ।

पुरुषभित्र पनि विविधता हुन्छ । कस्ता खालका पुरुष, कहाँका पुरुष र ती पुरुषहरूले के बोल्छन्, कसका कुरा बोल्छन्, के कस्तो व्यवहार गर्छन् भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । सरसर्ती हेर्दा अहिलेसम्म धेरै ठाउँमा बाहुन, क्षेत्री र नेवार समुदायका पुरुषहरूले विशेष प्रभुत्व जमाइरहेको देखिन्छ । उनीहरूले त्यस्तै खालको पुरुषत्वको पुनर्उत्पादन गरिरहेका छन् । त्यस्तैलाई टेवा दिने, महत्त्व दिने काम अदृश्यरूपमा गरिरहेका छन् । त्यो बारेमा हामीले अथवा नेपालको महिला आन्दोलनले खासै विश्लेषण गरेको जस्तो लाग्दैन । यस्ता विषयमा डिस्कोर्स चलाउनुपर्छ, अनुसन्धान गरिनुपर्छ ।

अहिलेको शक्ति संरचनाले पुरुषलाई विशेष स्थानमा राख्छ भन्नुभयो । नेपालको संविधानमा धेरै धारा र उपधाराहरू राम्रा छन्, ती महिलामैत्री छन् भनिन्छ ! संविधान, कानुन, नीतिनियम भएपछि व्यवहारमा शक्ति सन्तुलन पनि कायम हुनुपर्ने होला । अवस्था के छ ? तपाईंले भन्नुभएको ‘शक्ति संरचना’ को बारेमा अलि खुलेर बताइदिनुस् न !

शक्ति संरचनाको एउटा मूल प्रभाव भनेको यसले समाजमा हुने विविध सम्बन्धहरू तय गर्दछ । यहाँ सम्बन्धहरू भन्नाले व्यक्ति व्यक्तिबिचको देखि व्यक्ति र कुनै समूह, संस्था अनि व्यक्ति र राज्यबिचको सम्बन्ध भनेर पनि बुझ्न सकिन्छ । उदाहरणका लागि, हाम्रो संविधानमा आधारित राज्य व्यवस्थाले नागरिक र राज्यबिचको सम्बन्ध तय गर्दछ । त्यसका लागि तपाईंले भन्नुभए झैँ अझ विस्तृत गर्नका लागि संविधानमा विभिन्न धाराहरू, अन्य थप कानुन, नीति नियमहरू छन् । तर पनि, यी सबैले यो राज्यका कतिपय व्यक्ति र समुदायहरूलाई यो देशको ‘नागरिक’ हुँ भनेर महसुस गराउन सकेको छैन ।

संविधानका कतिपय प्रावधानले अनि हाम्रा कतिपय कानुनले विभिन्न मान्छेलाई फरक फरक ढङ्गले व्यवहार गर्छ । जब यसरी कानुन, नीतिनियमले नै कुनै निश्चित व्यक्ति वा समूहप्रति विभेदपूर्ण व्यवहार गर्छ, त्यहाँ स्वतः ‘शक्ति संरचना’ असन्तुलित हुन्छ ।

संविधानका कतिपय प्रावधानले अनि हाम्रा कतिपय कानुनले विभिन्न मान्छेलाई फरक फरक ढङ्गले व्यवहार गर्छ । जब यसरी कानुन, नीतिनियमले नै कुनै निश्चित व्यक्ति वा समूहप्रति विभेदपूर्ण व्यवहार गर्छ, त्यहाँ स्वतः ‘शक्ति संरचना’ असन्तुलित हुन्छ । कसैलाई माथि त कसैलाई तल पार्ने हुन्छ । यो जहाँ पनि हुन्छ । यो हाम्रो घरघरमा हुन्छ; विभिन्न सङ्घसंस्था वा कार्यालयमा कुनै औपचारिक त कुनै अनौपचारिक तरिकाले हुने गर्छ ।

अब अहिले हाम्रो राज्यव्यवस्थालाई अझ समावेशी बनाउन, महिलाको सहभागिता बढाउन नीति र कानुन छन् । जस्तो; उदाहरणका लागि स्थानीय तहका पालिकाहरूको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला र एक जना पुरुष हुनुपर्ने भनी अनिवार्य गरिएको छ । त्यसलाई व्यवहारमा उतार्ने बेलामा स्वतः मेयर अथवा अध्यक्षमा पुरुष र उपमेयर अथवा उपाध्यक्षमा महिला हुनुपर्ने भन्ने बुझाइ देखिन्छ । पहिलो र दोस्रो चुनावपछिको नतिजाले पनि त्यही देखाएको छ ।

कानुनले उपमेयर/उपाध्यक्षलाई विभिन्न भूमिकामा अधिकार दिए पनि तिनको औपचारिक प्रयोगमा विभिन्न किसिमका अनौपचारिक बाधा र चुनौतीहरू महिलाले भोगेको पाइन्छ । हामीलाई बैठकमा सहभागी नगराइकनै खालि हस्ताक्षर (सिग्नेचर) गर्न मात्रै ल्याइन्छ भन्ने खालका कुराहरू जनप्रतिनिधि महिलाहरूबाट आइरहेका छन् । महिला उपमेयर÷उपाध्यक्षहरू बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक भए पनि उहाँहरूसँग सल्लाह नै नगरी बजेट बनाउने काम भइरहेको हुन्छ ।

मसँग शैक्षिक ‘डिग्री’ छ, अनुभव छ । जीवनमा जे जति गरेको छु, यति पृष्ठभूमिका पुरुषहरू भएको भए कहाँ पुगिसक्थे होला जस्तो लाग्छ । मेरो व्यक्तिगत अनुभव भन्ने हो भने म यो ठाउँको लागि योग्य छु भनेर कति ठाउँमा आफूलाई प्रमाणित गर्नु परिरहेको छ ।

औपचारिक संरचनामाथि यसरी अनौपचारिक तवरले पितृसत्ता हाबी भएको पाइन्छ, जसले विशेषतः लैङ्गिकताको आधारमा महिला जनप्रतिनिधिहरूलाई विभेदमा पार्ने संस्कार र व्यवहारलाई वैधता दिएको छ । यसले गर्दा पनि औपचारिकरूपमा कानुन र नीतिले मात्रै शक्ति सन्तुलन गर्न त्यति सजिलो छैन, यद्यपि यो पहिलो कदम चाहिँ हो । यसले के देखाउँछ भने यो शक्ति संरचना भन्ने कुरा जटिल छ । यसका औपचारिक र अनौपचारिक आयामहरू छन् । यो अनौपचारिक, अलिखित र अदृश्य हुने हुनाले र व्यक्तिको व्यवहारमा भर पर्ने हुनाले यसको प्रभावबाट उत्पन्न समस्यालाई सुल्झाउन झनै चुनौतीपूर्ण छ ।

यति भनिरहँदा नेपाली समाजमा महिलाहरूको स्थिति र अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

व्यक्तिगत अनुभवबाट त कहिलेकाहीँ निराश पनि हुन्छु । प्राज्ञिक हिसाबले, व्यावसायिक हिसाबले आफूमा क्षमताहरू बढाउँदै गएपछि अलि धेरै प्रश्न गरिने रहेछ । मसँग शैक्षिक उपाधि अर्थात् ‘डिग्री’ छ, अनुभव छ । जीवनमा जे जति गरेको छु, यति पृष्ठभूमिका पुरुषहरू भएको भए कहाँ पुगिसक्थे होला जस्तो लाग्छ ।

मेरो व्यक्तिगत अनुभव भन्ने हो भने म यो ठाउँको लागि योग्य छु भनेर कति ठाउँमा आफूलाई प्रमाणित गर्नु परिरहेको छ । म जत्तिकै स्तरका पुरुष साथी–सहकर्मीहरूलाई भने कुनै शङ्काविना नै स्वतः विश्वास गरिन्छ । मैले चाहिँ केही काम नदेखाएसम्म मलाई सक्षम छ भनेर विश्वास नै गरिँदैन ।

अलि पहिले मलाई मेरो उमेर अलि बढी भएपछि मानिसले विश्वास गर्ने होला जस्तो पनि लाग्थ्यो । त्यसकारण मैले कपाल फुले पनि रङ लगाइनँ, उमेर देखियोस् भन्नको लागि (हाँस्दै) । उमेरअनुसार यसले धेरै भोगेको छ, यसले जानेबुझेको छ भन्ने बुझाइ छ नि त ! मलाई पनि त्यस्तै व्यवहार होला भन्ने पनि लाग्थ्यो तर त्यो पनि होइन रहेछ । त्यसैले आफ्नै व्यक्तिगत भोगाइलाई हेरेर भन्दा यो समाजमा महिलाको स्थान अझै पनि धेरै तल छ जस्तो लाग्छ ।

अझ म जातीय, वर्गीय हिसाबले धेरै सुविधा पाएको मान्छे परेँ । पढेलेखेको घरपरिवारमा जन्मिएँ । यसरी एक हिसाबले भन्दा म अवसरहरू राम्रै पाउँदै यहाँसम्म आइपुगेको छु तर हरेक ठाउँमा मैले आफूलाई प्रमाणित नै गर्नुपर्ने अवस्था चाहिँ महिला भएकैले नै आएको हो भन्ने लाग्छ । अब मेरै अनुभव यस्तो छ भने अरूको कस्तो होला भन्ने लाग्छ । फेरि महिलाका अवस्था र सङ्घर्ष पनि यो सामाजिक संरचनामा आ–आफ्नो स्थान अनुसार बेग्लैबेग्लै छन् ।

बेग्लाबेग्लै भएकाले समग्रमा अवस्था र सङ्घर्षका भोगाइ यस्तै छ भन्न पनि गाह्रो छ । विभिन्न सूचकका आधारमा पहिलेभन्दा नेपालमा महिलाको अवस्था सुध्रेको देखिन्छ तर पनि विविध जात, वर्ग, क्षेत्र र अवस्थाका महिलाहरूले भोग्नुपर्ने विभेद, चुनौती र सङ्घर्षमा अझै त्यति सुधार हुनसकेको छैन भन्ने लाग्छ मलाई ।

हरेक कुरामा आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था अहिलेकै मात्र हो कि अलि पहिलेदेखिको भोगाइ हो तपाईंको ?

करिएरको सुरु सुरुमा पनि महसुस भएको हो तर त्यो बेला अलि बेग्लै थियो । उमेर र अनुभव दुबै कम हुँदा त्यस्तो भएको होला, पछि त अलि फरक होला भन्ने लाग्थ्यो । अहिले चाहिँ मेरो क्षेत्र त्यस्तो भएर पनि होला, म सामेल हुने धेरै ठाउँमा टेबल वरपर पुरुषहरू नै धेरै हुन्छन् । उहाँहरू बसेको ठाउँमा म जाँदा मेरो योग्यता र क्षमताको आधारमा मूल्याङ्कन नगरेर सबैभन्दा पहिला मेरो लैङ्गिकता देखिन्छ, हेरिन्छ ।

क्षमता र योगदानका सवालमा चाहिँ अहिले पनि मैले प्रमाणित नै गरेर देखाउनुपर्छ जस्तो लाग्छ । जस्तै; त्यही कोठामा वा कुनै मिटिङमा कोही व्यक्ति पहिलो पटक आएको हुन्छ, नाम अगाडि डा. को उपाधि छ भने उसको योग्यता र वैधता त्यतिमै स्थापित भैसकेको हुन्छ । हामी महिलाहरूलाई चाहिँ त्यतिकै त्यो सुविधा प्राप्त हुन्न । त्यसैले पनि कुनै सभा वा स्थानमा प्रस्तुत हुँदा कसरी बोल्ने ? के बोल्ने ? कति बोल्ने ? अलि सोचेर गर्नुपर्ने हुन्छ ।

तालिम हलमा जाँदा पनि कसरी प्रस्तुत हुने ? पुरुष साथीहरूले मैले जस्तो सोच्न पर्दैन कि जस्तो मलाई लाग्छ । एक चोटि यस्तो पनि भएको छ, एक जना पुरुष जुन मेरो क्लासको विद्यार्थी नभएता पनि मेरो क्लासमा आएर बसेछन् । क्लासको अन्त्यतिर उनैले मलाई आएर भने– ‘महिलाले कसरी पढाउँछन् भनेर हेर्न आएको’ रे ! विश्वविद्यालयभित्र महिला फ्याकल्टीको विभेदको भोगाइ पनि थरीथरी होलान् । थाहा छैन किन हो तर मलाई यस्ता कुराहरूले घचघचाइरहन्छ ।

तपाईंले आफ्नो कार्यक्षेत्रमा नेपालमा भोगिरहेका विभेदका अनुभवलाई समग्र विश्वमा महिलाको अवस्थाको पृष्ठभूमिमा कसरी हेर्नुहुन्छ ?

मैले अघि भनेका कुरा नितान्त व्यक्तिगत अनुभव, अनुभूतिका आधारमा भए । नेपालको कुनै सामान्य महिलाले मलाई उत्पीडित महिलाको रूपमा हेर्दैनन् होला । तर, मलाई लाग्छ मेरो अनुभव नेपालको मात्रै होइन । म यति चाहिँ भन्न सक्छु कि मैले प्राज्ञिक क्षेत्रमा अनुभव गरेको लैङ्गिक विभेद विश्वव्यापीरूपमा सबैतिर छ ।

मैले अस्ट्रेलियामा पढ्दा त्यहाँका साथीहरूको अनुभव पनि सुन्ने अवसर पाएँ । म पढ्दा अस्ट्रेलियाको प्रधानमन्त्री जुलिया गिलार्ड हुनुहुन्थ्यो, जो त्यहाँको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले त्यहाँको संसद्मै सन् २०१२ मा आफूले राजनीतिमा रहँदा भोगेको लैङ्गिक विभेद र स्त्रीद्वेषी व्यवहारको प्रतिकारमा गरेको ‘मिसोजिनी स्पिच’ दिनुभएको थियो । उक्त स्पिचले संसारभरि नै एउटा तरङ्ग पैदा गरिदियो । त्यसले विश्वव्यापीरूपमा नै नारीवादी अभियन्ता र चिन्तकहरूलाई प्रेरित गर्‍यो । यो घटनाले गर्दा पनि मलाई मेरो भोगाइ र अनुभव केही हदसम्म विश्वव्यापी नै हुन् भन्ने लाग्यो ।

नेपालको महिला आन्दोलनलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ? यसबाट महिलाको स्थितिमा परिवर्तन ल्याउन कत्तिको सहयोग पुगिरहेको छ ?

हामीभन्दा अघिल्ला पुस्ताका अग्रज महिलाहरूले नेपाली महिलाहरूको साझा मुद्दा र सवालमा केन्द्रित भएर आन्दोलनलाई एक ठाउँमा पुर्‍याउनुभयो । त्यसको प्रतिफल हामीले आज प्राप्त गरेका छौँ; महिला अधिकारका कुरादेखि लैङ्गिक समानता र समावेशिता महत्त्वपूर्ण मुद्दाका रूपमा स्थापित भएका छन् । त्यो त विगतको कुरा भयो ।

अझै पनि हाम्रो राज्यले महिलालाई हेर्ने दृष्टिकोण र व्यवहार विभेदकारी नै छ । कानुनमा समान भनेर लेखिए पनि त्यसको कार्यान्वयनमा त विभेद एकदमै धेरै छ । यस सन्दर्भमा पनि मेरा कत्ति वटा व्यक्तिगत अनुभवहरू छन् ।

आजको दिनमा नेपालको महिला आन्दोलन विभाजित देखिन्छ । यसलाई म एकदमै नकारात्मकरूपमा पनि लिन्नँ किनभने नयाँ बुझाइ, दृष्टिकोण र नयाँ पुस्ताको प्रगतिशील नारीवादी चेतसँगै विभिन्न पहिचान अँगालेका विविध महिलाहरूको थरीथरीका मुद्दा र सवाल अगाडि आएका छन् । तिनै भिन्न भिन्न सवालहरू अनुसार आन्दोलन खण्डीकरण भएको हुन सक्छ । त्यसैले यो एक हदसम्म स्वाभाविक जस्तो पनि लाग्छ । तर, मलाई लाग्छ अर्कोतिर यही विभाजनले गर्दा नेपालको समग्र महिला आन्दोलन आज जति सशक्त हुनुपर्ने हो, त्यो हुनसकेको छैन ।

सबैखाले महिलाहरूरुका साझा सवाल, जस्तो नागरिकताको सवालमै पनि एकीकृत बुझाइ र ऐक्यबद्धता चाहिँदो मौकामा देखिन्न । विगतको उपलब्धि भए पनि अझै पनि यो देशमा कति महिलाले एउटा नागरिकले पाउनुपर्ने मौलिक हक पाउन सकिरहेका छैनन् । अझै पनि हाम्रो राज्यले महिलालाई हेर्ने दृष्टिकोण र व्यवहार विभेदकारी नै छ । कानुनमा समान भनेर लेखिए पनि त्यसको कार्यान्वयनमा त विभेद एकदमै धेरै छ । यस सन्दर्भमा पनि मेरा कत्ति वटा व्यक्तिगत अनुभवहरू छन् ।

तपाईंका ती व्यक्तिगत अनुभवहरू साझा गर्न पनि चाहनुहुन्छ कि ?

मसँग सम्बन्धविच्छेद गरेपछिको अनुभव छ । कानुनी रूपमै सम्बन्धविच्छेद भएपछि मैले श्रीमान्‌काे घर छोडेर डेरामा बस्न थालेँ । म पढेलेखेको आर्थिक रूपले आत्मनिर्भर वयस्क व्यक्ति थिएँ । अनि वडामा सम्बन्धविच्छेद दर्ता गर्न जानुपर्ने भयो । मैले अनलाइन स्रोतबाट जानकारी पाएअनुसार म मेरो विवाहित हुँदाको पूर्व वडामै दर्ता गर्न गएँ । यानि पूर्व श्रीमान्‌काे ठेगानाको वडामा । मेरो नागरिकतामा मेरो बुवाको नाम र माइतीको ठेगाना थियो ।

वडाका कर्मचारीले मेरो सबै कागजात हेरेपछि, ‘तपाईंले त अब यो दर्ता गर्न उतै तपाईंको पुरानो ठेगानामै जानुपर्छ, यो यहाँ गर्न मिल्दैन’ भने । म एकछिन अकमक्क परेर ‘कता पुरानो ठेगाना ?’ भनेर सोध्दा उनले नागरिकतामा भएको माइतीको ठेगाना बताए । मैले कुरा नबुझेर ‘किन र ?’ भनेर बुझ्न खोजेँ । वडाका कर्मचारीको तर्क यस्तो थियो– तपाईं श्रीमान्‌काे घर बसुन्जेल यो तपाईंको वडा भयो । अब डिवोर्सपछि तपाईं बुवाको घर फिर्ता गएपछि स्थायी ठेगाना त अब उतैको हुने भयो ।

पुरुषको आड नपाई मेरो आफ्नै निजी ठेगाना नै नहुने रहेछ भनेपछि मैले कसरी म स्वतन्त्र र सार्वभौम नागरिक हुँ भनी मान्ने ? राज्यका विभिन्न निकायमा जाँदा महिला भएकैै कारणले भोग्ने यस्ता भोगाइ त कति छन् कति !

कर्मचारीको कुरो सुनेर एकछिन त मलाई के भनेका होलान् भन्ने पर्‍यो । म झसङ्ग पनि भ’को थिएँ । कस्तो सोच होला भनेर हाँसो र रिस दुबै उठ्यो । मैले माइत छोडेको लगभग ३० वर्ष भैसकेको थियो, विद्यार्थी हुँदा नै छोडेको हो । ५० वर्ष पुग्न लागेँ म । त्यति बेला लाग्यो, मेरो आफ्नो ठेगाना ठम्याउन अहिले पनि मलाई कोही न कोही पुरुष नै चाहिने ? श्रीमान् नभए बुवा चाहिने रहेछ । ती दुवै नभएकाले के गर्ने ?

पुरुषको आड नपाई मेरो आफ्नै निजी ठेगाना नै नहुने रहेछ भनेपछि मैले कसरी म स्वतन्त्र र सार्वभौम नागरिक हुँ भनी मान्ने ? होइन र ? त्यो बेला वडाका कर्मचारीसँग मेरो धेरै वादविवाद पर्‍यो । मैले झगडा नै गरेर म जुन ठाउँमा बसेको छु, त्यही ठाउँको ठेगाना राख्न कोसिस गरेँ तर पनि सहज भएन, बल्ल बल्ल भयो ।

पछि मेरो छोरीको नागरिकतामा पनि त्यही वडाकै ठेगाना र मेरो नाम भएकोले त्यसैलाई आधार मानी बल्ल त्यही वडामा दर्ता भई सम्बन्धविच्छेदको प्रमाणपत्र हात पर्‍यो । यो एउटा सानो प्रतिनिधि घटना भयो । पितृसत्तात्मक सोचको कारणले कसरी सामान्य कार्यविधिहरू पनि त्यही दृष्टिकोणबाट अर्थ्याइन्छ र अप्ठ्यारोमा पारिन्छ ! म अझ बोल्ने भएर त्यति गर्न गराउन सम्भव भयो ।

राज्यका विभिन्न निकायमा महिला जाँदाखेरि महिला भएकै कारणले भोग्ने यस्ता भोगाइ त कति छन् कति ! भनेपछि हामी सुरुको महिलावादले वा ‘फस्ट वेभको फेमिनिज्म’ ले उठाएकै सवाल सुल्झन नसकिरहेको अवस्थामा छौँ । वडामा मैले भोगेको कुराले जनाउने पनि त्यही हो । महिलाको मौलिक हक अधिकार प्राप्तिको लागि अझै धेरै काम गर्न बाँकी छ ।

म अलिकति पढेलेखेको भएर, हेर्दा अलि सम्भ्रान्त जस्तो पनि देखिएँ होला, त्यही भएर पनि अलिकति ठुलो स्वरले बोलेपछि कम्तीमा मैले भनेको कुरा वडाका मान्छेले सुन्न चाहिँ सुने । त्यही पनि मैले भने अनुसार परिवर्तन त भएन । किनकि म पनि कानुनको दायराभित्रै पर्छु । मेरो ठाउँमा बोल्न नसक्ने खालको महिला भएको भए के हुन्थ्यो ? बोल्न पनि सक्दैनथ्यो, बोलिहाले पनि ‘तिम्रो हुँदैन यहाँ’ भनेर निकालेरै पठाइन्थ्यो होला । भिन्न भिन्न महिलामाथि गरिने व्यवहार पनि त्यहाँ फरक हुन्छ ।

बिस्तारै हाम्रो महिला आन्दोलनभित्र पनि अहिले नयाँ बुझाइ र चेत आउँदै गएको छ । महिलाभित्रका फरक महिलाका भोगाइ, समस्या, सवाल फरक छन् । महिलाको पनि जातका आधारमा, वर्गका आधारमा, समुदायका आधारमा सार्वजनिक सङ्घसंस्था र राज्यबाट भोग्ने विभेद फरक हुन्छ भन्ने भएको छ ।

एउटै महिलाको भोगाइ पनि निजी जीवनमा एकथरीको हुन्छ भने समाजमा अर्कोथरीको हुन्छ । सार्वजनिक जीवनमा राज्यबाट भोग्ने भोगाइ पनि फेरि बेग्लै होला । यसैले अब यी विभिन्न तहमा हुने भोगाइहरूलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा हुनुपर्छ । अहिलेको नारीवादको एउटा मुख्य सैद्धान्तिक र व्यावहारिक समस्या यही हो; महिलाहरूबिचको भिन्नतालाई कसरी लिने र भिन्न भिन्न जीवन अनुभव र समस्या भोगेकाहरूको साझा सवाल कसरी तय गर्ने ? यो काम गर्दा कसको अनुभव र समस्यालाई प्रधानता दिने ?

भिन्नताका कुरामा स्पष्टता नभएकोले होला, महिलाको ३३ प्रतिशत सहभागिता र प्रतिनिधित्वमा पनि सवाल उठ्छ । राज्यका विभिन्न निकायमा पुगेका ३३ प्रतिशत महिला प्रतिनिधिहरूको भूमिका के हुन्छ ? अरू ठाउँको कुरा छोडौँ, प्रतिनिधिसभाकै माननीय सदस्यहरूको कुरा गरौँ । उहाँहरूले खासमा के र कसको प्रतिनिधित्व गरेको हो ? कस्तो खालको प्रतिनिधित्व गर्ने हो ? कसको सवाललाई उठाउने हो ? कि संसद्मा उपस्थिति मात्र प्रतिनिधित्व हो ?

नेपाली महिलाका सवाल के हुन् र कुन सवाललाई अगाडि ल्याउने वा प्राथमिकता दिने भन्नेमै पनि सामूहिक आवाज आएको छैन र स्पष्टता पनि पाउँदिनँ ।

केवल उपस्थितिले पनि कहिले केही सकारात्मक प्रभाव परेको पनि देखिन्छ । फेरि महिला भएपछि महिलाकै मुद्दा र सवाललाई मात्र अँगाल्नुपर्छ भन्ने पनि नहोला । यस्ता सवालमा बहस नै भएको छैन जस्तो लाग्छ । विन्दा पाण्डेजीलगायत र केही महिला सांसदहरूले पनि यी कुराहरू उठाइरहनुहुन्छ । महिला ‘ककस’ बनाउने कुरा पनि यही हिसाबले ल्याउनुभएको होला । यसमा अलि बृहत् छलफल पुगेको छैन जस्तो लाग्छ मलाई । मैले यो महिला आन्दोलनलाई यसरी नै हेरिरा’छु, राजनीतिक रूपमै हेर्नुपर्दा । एनजिओ, आइएनजिओले गर्ने कामहरूको कुरा गर्ने हो भने त्यो फेरि अर्कै मुद्दा हो ।

तपाईंले नेपालको महिला आन्दोलन महिलाका सवालमा केन्द्रित भएको छैन भन्न खोज्नुभएको हो ?

हो । नेपाली महिलाका सवाल के हुन् र कुन सवाललाई अगाडि ल्याउने वा प्राथमिकता दिने भन्नेमै पनि सामूहिक आवाज आएको छैन र स्पष्टता पनि पाउँदिनँ । विन्दाजीहरूको कुरा गर्ने हो भने उहाँहरूमा व्यक्तिगत तहमा केही हदसम्म स्पष्टता पाउँछु तर फेरि सामूहिक तहमा स्वामित्व (ओनरसिप) चाहिँ आएको छैन जस्तो लाग्छ । जुन सामूहिक प्रयास (कलेक्टिभ एफोर्ट) हुनुपर्ने हो नि, त्यो पुगेको छैन । प्रतिनिधित्व (रिप्रिजेन्टेसन) भनेको नै त्यही सामूहिक प्रयास हो नि त ! तर, यसको कारण हाम्रोमा पार्टीगत संस्कार र तौरतरिकाले पनि त्यसका लागि चाहिँदो माहौल नभएकोले हुनसक्छ ।

अहिलेसम्म त्यो सामूहिक कार्य (कलेक्टिभ एक्सन) को तहमा चाहिँ आन्दोलन रूपान्तर भएको छैन जस्तो लाग्छ । भएको भए त त्यो कुरा जुन ठाउँमा गए पनि त्यस्ता सवाल उठिरहनुपर्ने हो तर उठेको हुँदैन नि त ! महिला जनप्रतिनिधि जो जानुभएको छ, उहाँहरूलाई दोष लगाउनुभन्दा पनि हाम्रो राजनीतिक संस्कारकै नतिजा जस्तो लाग्छ ।

राज्यका विभिन्न निकायमा प्रतिनिधित्व गर्न पुगेपछि महिला जनप्रतिनिधिले बजेट छुट्ट्याउनेभन्दा बाहेक अरू कुरा गरेको सुनिँदैन । त्यो ठाउँमा पुगेपछि मैले के गर्ने भन्दा महिलाको कामको लागि बजेट छुट्ट्याउने । यो भनेको एकदम सेवामुखी (सर्भिस ओरेन्टेड) मात्रै भयो । दिने र दिलाउने काम गरेको मात्रै हामी देख्छौँ । साँच्चिकै जुन तहको परिवर्तन ल्याउन खोजेको हो शक्ति संरचनामा, त्यसका लागि विधायिकामा जो पुग्नुभएको छ, उहाँहरूले त्यहाँ पुगेर मैले के गर्ने भन्ने कुरामा सोचे जस्तो लाग्दैन । यसमा बहस पनि भएको छैन ।

बहस पनि फेरि एक–दुई व्यक्तिले हैन, सामूहिकरूपमा यो काम हुनुपर्ने हो । कतिपय विकसित लोकतान्त्रिक देशमा यस्ता मुद्दाहरूका बारेमा अनुसन्धान गरेर अवस्था यो छ, सुधार यहाँ यसरी चाहिन्छ भनेर जानकारी दिने, राख्ने गरिन्छ । विधायिकाहरूलाई सहयोग गर्ने इकाइ हुन्छ तर नेपालमा त्यो छैन । हुनुपर्ने हो भन्ने मलाई लाग्छ ।

कसैले ‘मलाई यो खालको तथ्याङ्क चाहियो’ भनेर भन्ने ठाउँ छ त नेपालमा ? त्यो काम कसले गर्ने हो त ? राष्ट्रिय महिला आयोगले गर्ने हो कि ? नीति अनुसन्धान प्रतिष्ठानले गर्ने हो कि राष्ट्रिय योजना आयोगले गर्ने हो ? त्यसको लागि हामीकहाँ पर्याप्त संरचना स्रोत नै छैन । व्यक्तिगत स्तरमा प्रयासहरू केही भइरहेका छन् तर संस्थागत तवरले भएको छैन ।

सामूहिक स्तरमा तथ्याङ्कको काम हुनाका लागि कसले के गर्नुपर्ला ? ३३ प्रतिशतको आरक्षणमा गएको महिलाको भूमिका के हुनुपर्छ ? महिलावादी दृष्टिकोणबाट आलोचनात्मक छलफलहरू कसले चलाउने हो ? विचार कसले बनाउने हो ?

यसमा गर्नुपर्ने काम एकदमै धेरै छन् । समस्याको जड के हो, त्यो बुझेर गर्नुपर्ने हुन्छ । व्यक्तिको रूपमा जो जो त्यो ठाउँमा हुनुहुन्छ, उहाँहरूको क्षमताको कुरा मात्रै होइन, सङ्घीय प्रणाली पहिला संस्थागत हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्र भन्दै प्रजातान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रक्रियामै छौँ हामी अझै ।

अभ्यास गर्ने क्रममा व्यक्तिको क्षमता नभएर मुद्दाको बारेमा थाहा नभएको मात्र होइन, त्यो मुद्दालाई कसरी उठाउने र विधायिकीले त्यसलाई कसरी लैजाने भन्ने कुरा पनि हुन्छ । यो महिला जनप्रतिनिधिमा मात्र सीमित छैन । यसमा अरू समुदायका व्यक्तिको मुद्दाका बारेमा पनि बहस गर्नुपर्ने काम धेरै बाँकी छ । यसका लागि त्यो प्रणालीलाई सहयोग गर्ने अरू संस्थाहरूको पनि भूमिका हुन्छ । त्यो भनेको एउटा नागरिक समाज हो हुन त ।

लोकतान्त्रिक अभ्यासको लागि नागरिक समाज कस्तो हुनुपर्ने र नागरिक समाजले कस्तो भूमिका खेल्नुपर्ने भन्ने हुन्छ । हुन त यहाँ ‘नागरिक समाज’ नै कसलाई भन्ने ? यो प्रश्न पनि छँदैछ । वैचारिक दृष्टिकोणबाट त नागरिक समाज स्वतन्त्र हुनुपर्ने हो नि ! तर, यहाँ जति पनि नागरिक समाजका प्रतिनिधि छन्, धेरैजसो पहिलेदेखि नै एनजिओ र आइएनजिओ सेक्टरसँग मिलेर काम गरिरहेका छन् ।

नागरिक समाज यस्तो भएपछि त तीसँगै विभिन्न खालका विचारधारा र ‘इन्ट्रेस्ट’ मिसिएर आइहाल्छन् । यो कारणले पनि विचार निर्माण तल धरातलमा नभएर माथिबाट आउँछन् । नागरिक समाजले पनि स्वतन्त्र र स्वायत्त खालको भूमिका खेल्नसकेको छैन । नागरिक समाजभित्र जो मान्छे कर्ता हुनुहुन्छ, उहाँहरू स्वतन्त्र नागरिकको भूमिकामा भन्दा पनि जागिरेको भूमिकामा काम गर्दै हुनुहुन्छ । यो भनेको व्यक्तिको भन्दा पनि हाम्रोमा संस्थागत समस्या हो ।

नागरिक चेत विकासका लागि र सवालको सही पहिचानको लागि विश्वविद्यालयबाट जुन स्तरको ज्ञान निर्माण हुनुपर्ने हो, त्यो भएको छैन । स्तरीय ज्ञान निर्माणको लागि एउटा ‘इकोसिस्टम’ नै बन्न जरुरी छ, प्राज्ञिक संस्कारको विकास जरुरी छ ।

मलाई लाग्छ, यसैले पनि पहिले त यहाँ लोकतान्त्रिक अभ्यास नै संस्थागत हुनुपर्‍यो । अनि नागरिक समाजमा लोकतान्त्रिक सुशासन अभ्यास दरिलो हुँदै जानुपर्‍यो । त्यो नभएसम्म सही काम हुँदैन । अहिले कतिपय आइएनजिओ र एनजिओहरू बडो संस्थागत र सुशासित भएको जस्तो देखिन्छ, उनीहरूको काम र तौरतरिका हेर्दा । मलाई चाहिँ त्यो ‘कर्पोरेटाइजेसन’ बढी, लोकतान्त्रिक सुशासन कम भएको जस्तो लाग्छ ।

मैले भनेको ‘नागरिक समाज’ भित्र म विश्वविद्यालयहरूलाई पनि राख्छु । सही कामको लागि ज्ञान निर्माण गर्ने काम त विश्वविद्यालयहरूले नै गर्नुपर्ने हो । हामीकहाँ समस्या कहाँ देखिएको छ भने विश्वविद्यालय जाने भनेको ज्ञान निर्माण गर्न भनेर त कसैले पनि भन्दैन । जागिरको लागि प्रमाणपत्र लिन जाने भने जस्तो भइसक्यो ।

नागरिक चेत विकासका लागि र सवालको सही पहिचानको लागि विश्वविद्यालयबाट जुन स्तरको ज्ञान निर्माण हुनुपर्ने हो, त्यो भएको छैन । स्तरीय ज्ञान निर्माणको लागि एउटा ‘इकोसिस्टम’ नै बन्न जरुरी छ, प्राज्ञिक संस्कारको विकास जरुरी छ । हामीले जुन तहमा ‘आइडियल भर्जन’ हुनुपर्ने हो भन्ने सोचेका छौँ, त्यसका लागि द स्टोरी किचेनको प्रयास पनि त्यही हो जस्तो लाग्छ । संस्थाहरूले यसरी गर्ने काम भनेको समाजमा रहिरहेका खाडल पुर्ने काम (ग्याप फिलिङ) मात्रै हो भनेर लिन्छु ।

अमेरिकामा महिलाका मुद्दामा मात्र अनुसन्धान गर्नका लागि रिसर्च सेन्टर नै खोलिएको छ । नेपालमा अब त्यो तहमा नभए पनि काम सुरु त गर्नुपर्ने हो । राष्ट्रिय महिला आयोग छ तर त्यसले पनि गर्न सकेको छैन । महिला मन्त्रालयले नीतिगतरूपमा सेवा प्रवाह गर्ने भयो । महिला मन्त्रालयलाई पनि खबरदारी गर्ने, सुसूचित गर्ने जुन ज्ञान चाहिन्छ, त्यो हाम्रोमा उपलब्ध छैन । व्यक्तिगत सूचना, व्यक्तिगत अनुभवका आधारमा केही सूचना सङ्कलन भएको पाइन्छ तर नेपालकै सन्दर्भमा के छ अवस्था भनेर बुझ्नका लागि भरपर्दो जानकारी र तथ्याङ्क पाउन गाह्रो छ ।

केही वर्षअघि त्रिभुवन विश्वविद्यालयको मानवविज्ञान केन्द्रिय विभागबाट ‘स्टेटस अफ सोसल इन्क्लुजन इन नेपाल’ भनेर अध्ययन गरिएको थियो । मेरो जानकारीमा त्यो अध्ययन र सायद जनगणना बाहेक राष्ट्रिय स्तरको तथ्याङ्क र जानकारी दिने भरपर्दा र स्तरीय स्रोतसामग्री एकदम विरलै भेटिन्छन् । अनुसन्धानको काम कुनै कुनै विशिष्टीकृत क्षेत्र (स्पेसलाइज्ड सेक्टर) मा भएको छ, सानो स्केलमा संस्थाहरूले गरिरहेका छन् तर जति हुनुपर्ने हो, त्यति पुगेको छैन ।

तह–तहमा रहेका महिलाका मुद्दालाई नेपालको महिला आन्दोलनले कसरी उठाउनुपर्छ ?

मुद्दा उठाउनुअघि सो मुद्दासँग सम्बन्धित उचित र पर्याप्त जानकारी र ज्ञान हुन पर्‍यो । हामीकहाँ समस्या र मुद्दाको जटिलता नै नबुझी सिधै समाधानमै जाने प्रचलन छ । जुन समुदाय वा तहको भए पनि प्रायजसो महिलाको मुद्दा ‘चेतनाको अभाव, क्षमताको कमी र आर्थिक कमजोरी हो’ भन्ने सोलोडोलो व्याख्याकै आधारमा एकैखाले समाधान अपनाइएको पनि दशकौँ भयो । यस्ता समाधान जटिल समस्याको जड वा कारण सुल्झाउनेभन्दा पनि समस्याका असरलाई नियन्त्रण गर्नेतिर बढी लक्षित देखिन्छ ।

नेपालमा जहाँ २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन्, एक तहका महिलाहरूको त गाँस–बास–कपासको आधारभूत तत्काल आवश्यकता नै पूरा गर्नु पर्ने मुद्दा पहिलो होला, त्यसपछि शिक्षा, स्वास्थ्य आदिसम्बन्धी मौलिक हकअधिकारका कुराहरू होलान् । तर, अर्कोतिर यो देशमा कस्ता कहाँका महिला के कारणले कसरी गरिबीको मारमा परिरहन्छन्, पाउनुपर्ने हकअधिकारबाट कसरी वञ्चित भैरहन्छन् भनेर यी समस्याका भित्रका संरचनागत र प्रणालीगत समस्याको राम्रो बुझाइ र ज्ञान निर्माण गर्नु जरूरी छ ।

राम्रो जानकारी र ज्ञानविना दिगो रूपान्तरणको लागि रणनीतिक समाधान बनाउन सकिन्न । तर, समग्रमा मेरो विचारमा महिला आन्दोलनले प्राथमिकतामा समाजको सबभन्दा पिँधमा रहेकाहरूको मुद्दा र सवाललाई राखेर आगाडि जानुपर्छ । किनभने, तलको समस्याको समाधानको प्रभाव माथि पनि पर्ने सम्भावना हुन्छ र यसरी ल्याएको परिवर्तन बढी दिगो हुन्छ भन्ने लाग्छ ।

विश्वविद्यालयकै कुरा गर्दा तपाईंसहित भएर अलि फरक खालको अर्को नेपाल विश्वविद्यालय सुरु गर्ने भनेर लागिरहनुभएको थियो । सुरु हुने बेलामा चाहिँ तपाईंले त छोडिदिनुभएछ नि !

हो, मैले यो नयाँ विश्वविद्यालय स्थापना गर्ने अभियानमा सन् २०१९ देखि आबद्ध भएर, त्यसपछि सन् २०२१ देखि नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिमा सदस्य रही आफूले सक्ने योगदान दिने अवसर पाएँ । सन् २०२४ को अन्त्यतिर नेपाल विश्वविद्यालयको ऐन आएपछि पहिलो संरक्षक परिषद्को स्थापनासँगै विकास समिति विघटन भयो र त्योसँगै मेरो नेपाल विश्वविद्यालयमा औपचारिक भूमिकाको अन्त्य भयो ।

मैले व्यक्तिगत तवरले जुन आदर्श र सिद्धान्तहरू बोकेर, उच्च शिक्षाको एउटा नमुना संस्था बनाउने भनेर जे जस्तो महत्त्वाकांक्षा राखेर नेपाल विश्वविद्यालयको अभियानमा लागेको थिएँ, त्यो सोचे जस्तो नहुने लक्षण देखिन थालेपछि आफ्नो विमति प्रष्टरूपमा राखेरै टिममा नरहने निर्णय गरेको हुँ ।

औपचारिक भूमिकाको अन्त्य भएपछि पनि पाठ्यक्रम निर्माण प्रक्रियामा गहिरो संलग्नता भएकोले विश्वविद्यालयको कार्यकारी टोलीमा अनौपचारिकरूपमा रहिरहने अवसर थियो तर मैले सो टोलीमा पनि नरहने निर्णय गरेँ । यसको प्रमुख कारण मैले व्यक्तिगत तवरले जुन आदर्श र सिद्धान्तहरू बोकेर, उच्च शिक्षाको एउटा नमुना संस्था बनाउने भनेर जे जस्तो महत्त्वाकांक्षा राखेर यो अभियानमा लागेको थिएँ, त्यो सोचे जस्तो नहुने लक्षण देखिन थालेपछि आफ्नो विमति प्रष्टरूपमा राखेरै टिममा नरहने निर्णय गरेको हुँ ।

मैले त्यहाँलगायत नेपालमा अन्य धेरै संस्थामा देखेको समस्या भनेको निर्णय लिने भूमिका र प्रक्रियामा एकैखाले पुरुष समूहको वर्चस्व रहनु हो । हाम्रोमा अन्य ठाउँमा भए जस्तै हाम्रा उच्च शिक्षाका संस्थाहरूमा पनि समावेशी संस्कार, व्यवहार र काम देखिँदैन । महिला सदस्यहरू खालि कोटा पूरा गर्नका लागि मात्र समावेश गरिन्छ । ती पनि धेरैजसो प्रिभिलेज्ड अर्थात् विशेषाधिकार भएका समूहकै हुन्छन् ।

अझ अन्य सीमान्तकृत वर्ग र जातहरूको त अवसर नै हुन्न । अब यहाँ यो सबै योग्यतातन्त्रको नाममा गरिन्छ तर योग्यताको बुझाइ र परिभाषा निकै सङ्कुचित र अलि विभेदी भएको पाउँछु । योग्यताको नाममा नातावाद, कृपावाद अनि दलतन्त्र हाबी भएको देखिन्छ । यो कुनै नयाँ कुरा हैन ।

मलाई सधैँ घचघच्याइरहने, आफैँलाई केलाउन, सोच्न बाध्य बनाउने एउटा सोच छ । यो संसारमा सबै कुरो मिलेको ठाउँ भन्ने हुँदैन । जुन संस्थामा पनि सुधार गरिनुपर्ने पक्ष हुन्छन् । अनि हामी जस्तोको कर्तव्य हुन्छ, त्यहींभित्रै रहेर बोलिरहने, प्रश्न गरिरहने र समस्या सुझाउन कोसिस पनि गरिरहने । आलोचना र प्रश्न मात्र गरिरहेर पनि समस्याको हल हुन्न, समाधान निकाल्नुपर्छ, त्यो कार्यान्वयन पनि गर्नुपर्छ । तर, त्यो कसले, कसरी र कहिलेसम्म गरिराख्ने ?

जब प्रश्न नै सुनिँदैन र संस्थाभित्र त्यो सुन्ने बुझ्ने क्षमता पनि छैन भने के गर्ने ? अनि जब प्रश्नकर्तालाई नै ‘समस्या’ ठानिन्छ, आलाकाँचा नजान्ने मानिन्छ, त्यसपछि त कुनै सुधार हुने मौका नै छैन जस्तो लाग्दो रहेछ । यो, मलाई लाग्छ, धेरैको अनुभव हुनुपर्छ नेपालमा, विशेषगरी युवाहरूको । त्यही भएर पनि अहिलेलाई बाहिरिए पनि कुनै अवसर आए फेरि पनि जोडिन्छु होला । आखिर मेरो मुख्य कर्मथलो भनेकै विश्वविद्यालय हो ।

अहिले कुनै विश्वविद्यालयमा नभए पनि म आफूलाई प्राज्ञिक व्यक्तिकै रूपमा मान्छु । अरूले मलाई भनोस् नभनोस् म चाहिँ आफूलाई ‘एजुकेटर’ शब्द प्रयोग गर्छु र एउटा ‘एजुकेटर’ को रूपमा म समावेशी र समताको सवालमा खबरदारी चाहिँ गरिरहन्छु । उच्च शिक्षाकै सन्दर्भमा म अर्को एउटा कुरा यहाँ जोड्न चाहन्छु । त्यो हो नेपालको उच्च शिक्षा संस्थाहरूमा लैङ्गिक समानता तथा सामाजिक समावेशिताप्रति संवेदनशीलताको कमी । अझै पनि नेपालका प्रायः सबै विश्वविद्यालयहरूमा यौनिक हिंसा, विभेद र दुव्र्यवहारविरुद्धको नीति तथा कार्यविधि पाइँदैन ।

कतै नीति नै बनिहाले पनि प्रभावकारी कार्यान्वयनका लागि चाहिने कार्यविधि, संयन्त्र र स्रोत छैनन् । त्यसले गर्दा विश्वविद्यालयभित्र हुने कुनै पनि हिंसा वा विभेदको उजुरी गर्ने र न्यायोचित समाधान खोज्ने प्रावधान छैन । अब यस्ता कुरालाई खासै नीतिगत तहमा ध्यान नपुगेको र संवेदनशील नहुनुको कारण म नेतृत्वको कमजोरी र गैरजिम्मेवारी नै ठान्दछु । एउटा त, उच्चशिक्षामा छात्राहरूको उपस्थिति उत्साहजनक भए पनि महिला फ्याकल्टीहरूको सङ्ख्या एकदमै न्यून छ, नगण्य नै छ भने पनि हुन्छ ।

मलाई कसैकसैले सुनाउँछन् कि स्नातकोत्तर तह एउटा पनि महिला ‘टिचर’ नै नभेटी सिद्ध्याइयो भनेर । त्यही भएर पनि होला, त्यो मैले अघि भने जस्तो ‘महिलाले कस्तो पढाउँदा रैछन् ?’ भनेर जिज्ञासा राखेको । अब दोस्रो, महिला फ्याकल्टी नै कम भएपछि माथिल्लो नेतृत्व तहमा महिला पुग्न मुस्किल नै हुन्छ । त्रिविमा केही महिनाअघि (२०८१ साल मङ्सिरदेखि पुस महिनाभित्र) आठ जना डिन र २४ जना क्याम्पस प्रमुख नियुक्ति गरियो । त्यसमा एक जना पनि महिला परेनन् । नेतृत्वमा महिला नपुगेकाले पनि यी विषयमा चासो र जवाफदेहिता नभएको हो भन्ने लाग्छ ।

गर्नुपर्ने काम, मुद्दा र क्षेत्र धेरै छन् । अब कसरी गर्नुपर्छ भन्ने लाग्छ तपाईंलाई ?

हो, गर्नुपर्ने धेरै छ तर यो प्रश्नमा मैले केवल मेरै व्यक्तिगत कुरा मात्र दिन सक्छु । म एक जनाबाट के कति सम्भव छ, मैले के गर्नुपर्छ भन्ने कुरामा नै ‘फोकस’ गर्छु । अब अरूहरूका त असीमित अपेक्षा हुने रहेछन् । कहिलेकाहीँ मलाई कुरा पनि आउँछ– ‘यो विषयमा तिमी किन बोलेनौ ?’, ‘तिमी फलानो ठाउँमा किन आएनौ ?’ आदि ।

मलाई लाग्छ सबै सवाल सबैले बोक्न पर्छ भन्ने पनि छैन, सधैँ बोल्नै पर्छ भन्ने पनि छैन । आफूले आफ्नो कर्मस्थलको सीमा तोक्ने हो, आफ्नो भूमिका आफैँ निर्धारण गर्ने हो अनि इमानदारीका साथ लाग्ने हो । त्यसैले मैले मेरो ज्ञान र क्षमताअनुसार आफ्नो लागि उच्च शिक्षा आफ्नो क्षेत्र हो भनेर तोकेको छु । आफ्नो चासोको विषय भएकोले र नैतिक कारणले पनि उच्च शिक्षाको क्षेत्रमा लैङ्गिक हिंसा र विभेद जस्ता विषयमा लाग्ने हो ।

कक्षाकोठामा म नारीवादी दृष्टिकोण ल्याउँछु । मेरो नारीवादी अभ्यास मेरो शिक्षण विधि र अभ्यासमा आउँछ ।

उच्च शिक्षाभित्र महिलावादी दृष्टिकोण (फेमिनिस्ट पर्सपेक्टिभ) बाट बोल्नुपर्ने, उठाउनुपर्ने मुद्दाहरू के कस्ता छन् ? एउटा नारीवादी चिन्तक हुनाले यी विषय मेरो कार्यमा पर्ने नै भए । तपाईंले सुरुमा सोध्नुभएको थियो नि, मेरो नारीवादी अभ्यासको कुरा । हो, मेरो नारीवादी अभ्यास कक्षाकोठामा म कसरी प्रस्तुत हुने, विद्यार्थीसँग कसरी अन्तरक्रिया गर्ने, अन्तरक्रियामा कस्ता कस्ता विषय उठाउने, कस्ता मूल्यमान्यता अगाडि ल्याउने भन्नेमा हुन्छ ।

कक्षाकोठामा म नारीवादी दृष्टिकोण ल्याउँछु । मेरो नारीवादी अभ्यास मेरो शिक्षण विधि र अभ्यासमा आउँछ । मैले पढाउँदा प्रायः सेमेस्टरको सुरुमा आफ्नो परिचय दिँदा मेरो पृष्ठभूमि यस्तो हो, मेरो मूल्यमान्यता यस्तो छ, मेरो आचारसंहिता यस्तो छ, म यसरी यस्ता दृष्टिकोणमा आधारित भएर सोच्छु भनेर आफ्ना कुरा राख्छु । यसको मतलब विद्यार्थीहरूको पनि त्यस्तै सोच हुनुपर्छ भन्ने होइन तर म चाहिँ यसरी शिक्षित र दीक्षित भएर आएँ र मेरो शिक्षण अभ्यास यस्तो छ भनेर आफ्नो सामाजिक वैचारिक स्थान (पोजिसनालिटी) बारे पारदर्शी हुने अभ्यास हो यो ।

प्रकाशन मिति : २०८२ मंसिर  गते, मङ्गलवार

Share this :