Home Stories दसैँको विदा र घरायसी कामको बोझमा महिला

दसैँको विदा र घरायसी कामको बोझमा महिला

665
0

दसैँ भन्ने बित्तिकै रमाइलो चाड, खुसीको पर्व, लामो सार्वजनिक विदा र सुखदुःख साटासाट गर्ने अवसरका रूपमा हेरिन्छ । अधिकांश निजी र सरकारी कार्यालय तथा कलकारखानाहरू बन्द हुन्छन् । यसले गर्दा कार्यालयको काम गर्नुछ भनेर घरबाट बाहिर हिँड्नुपर्ने बाध्यता हुँदैन । कर्मचारी हुन् या सर्वसाधारण नागरिकहरू प्रायः घरपरिवार र गाउँ टोलमै आआफ्नो गच्छे र रुचि अनुसार रमाइलो गरेर समय बिताउन चाहिरहेका हुन्छन् ।

कतिपयले यसरी नै समय बिताइरहेका पनि हुन्छन् । वर्ष दिनमा एक पटक भए पनि आफन्त भेट्ने, मिठोमसिनो खाने, राम्रो लगाउने र खुसी साटासाट गर्ने मौका दसैँमा मिल्न सक्छ । यस्तो बेला गर्नुपर्ने घरायसी काममा भने महिलाहरू मात्रै जोतिइरहेका हुन्छन् । परिवारका औसत महिलामाथि पर्ने गरेको कामको बोझ कम गर्नुपर्ने बारेमा भने खासै सोचविचार र व्यवहार भएको पाइँदैन ।

सधैँजसो बालबच्चा, पाका र अशक्त व्यक्तिको हेरचाह, भातभान्सा र सरसफाइको घरेलु कामबाट टाउको उठाउन नपाइरहेका महिलाहरू चाडबाडका बेला झनै थिचिन पुग्छन् ।

सधैँजसो बालबच्चा, पाका र अशक्त व्यक्तिको हेरचाह, भातभान्सा र सरसफाइको घरेलु कामबाट टाउको उठाउन नपाइरहेका महिलाहरू चाडबाडका बेला झनै थिचिन पुग्छन् । उनीहरू आमा, श्रीमती, बुहारी, सासू, छोरी, दिदीबहिनी आदि जुनसुकै नाताका महिला र बालिका हुन सक्छन् ।

घरपरिवारका काममा चेपिने गरेका महिलाहरू दसैँका बेला पनि आफ्नै घरको चौघेराबाट बाहिर हिँडडुल गर्न भ्याउँदैनन्, आफन्तसँगको भेटघाटमा खुलेर रमाउन पनि पाउँदैनन् । घरमा आउजाउ गर्ने आफन्तको स्वागत, सत्कार र सेवाका लागि गर्नुपर्ने तयारीका कामले नै उनीहरूलाई थिचिरहेको हुन्छ ।

यीमध्ये कतिपय पाका महिलाहरूलाई त पुस्तान्तरणको भार पनि थपिएको पाइन्छ । उनीहरूलाई घरमा पुरुषले मात्र होइन, उमेरदार तर अबुझ महिलाले समेत नसघाउने अवस्था झनै पीडादायी हुने गरेको छ । सासू भएर पनि पीडित हुन पुगेका उनीहरू सार्वजनिक रूपमा बोल्दैनन्, बोल्ने आँट नै गर्दैनन् । यसैले त्यस्ता आमा र सासूआमाहरूको वास्तविकता ओझेलमा छ । यद्यपि, यसलाई नजरअन्दाज गर्न मिल्दैन । यता एक्लैले घरदेखि कार्यालयसम्मको काम भ्याउनुपर्ने उमेरदार महिलाहरूको अवस्था पनि दसैँका बेला सकसपूर्ण हुने गरेको पाइएको छ । उनीहरूमध्ये केहीले कामको बोझका सम्बन्धमा बेला बेलामा बोल्ने गरेका पनि छन् ।

सधैँको काम, छैन आराम

जानुका कार्की

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ४ रामपुरकी ३४ वर्षीया जानुका कार्की बेलका नगरपालिकामा मनोविमर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले दसैँको चहलपहल बढेसँगै आफूमाथि घरको कामको चाप पनि बढेको महसुस गर्दै आउनुभएको छ । उहाँका श्रीमान् संजिव डंगोल सरकारी सेवाकै सिलसिलामा नुवाकोट जिल्लामा कार्यरत हुनुहुन्छ ।

हरेक दिन बिहान गर्नुपर्ने नियमित कामकै भारी हुन्छ, त्यसमाथि दसैँको बेला त एकछिन टुसुक्क बस्ने पनि फुर्सद हुँदैन ।

दुई सन्तानकी आमा जानुका यता एक्लैले घरको सम्पूर्ण कामधन्दा भ्याएर कार्यालय जाने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिहान ५ बजे उठ्यो । घर कस्याँर गर्‍यो । छोरीहरू उठ्ने बेला भइहाल्छ । खाजा खुवाएर, भाँडा नमोल्दै एकातिर खाना बसाउन पर्छ । तरकारी केलाउने, भाँडा मोल्ने त नियमित काम नै भए, एकै छिनको आराम नमिल्दै छोरीहरूलाई स्कुल पठाएर दुइगाँस भात चपाएर कार्यालय कुद्नुपर्छ ।” उहाँका अनुसार, हरेक दिन बिहान गर्नुपर्ने नियमित कामकै भारी हुन्छ, त्यसमाथि दसैँको बेला त एकछिन टुसुक्क बस्ने पनि फुर्सद हुँदैन ।

जानुकाको कामको चाप दसैँका बेला भने निकै बढ्छ । उहाँ भन्नुहुन्छ– बिदाको दिन पारेर माटोको घर रँगाउन पर्छ । कमेरो र रातोमाटोले घर चिटिक्क पारेर नपोतेसम्म गाउँमा दसैँ आए जस्तो हुँदैन । दसैँमा घरमा जमरा राख्ने भएकाले पनि पूजाकोठाको सरसफाइ र पूजापाठमा समय धेरै खर्च हुन्छ । दसैँको बेला आउने पाउनालाई मिठोमसिनो बनाएर दिनु, खाएका जुठा भाँडा मोल्नु जानुकाको दसैँको दैनिकी नै हो । घरको ख्याल गर्दागर्दै जानुकालाई आफ्नो ख्याल गर्ने फुर्सद मिल्दैन ।

पम्फा फुयाल

झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नकी पम्फा फुयाल शिक्षण पेसामा कार्यरत हुनुहुन्छ । ४१ वर्षीया उहाँको दैनिकी पनि जानुकाको भन्दा फरक छैन । बिहानभरि भातभान्साको काम गरेर हतार हतार उहाँले १० बजेभित्र विद्यालय पुग्नुपर्छ ।

विद्यालयले दसैँदेखि तिहारसम्म छुट्टी दिने गरेको छ । त्यसले केही राहत मिले पनि चाडबाडको बेला घरको कामबाट आराम पाउने अवस्था उहाँको छैन । उहाँ जेठी बुहारीको हैसियतमा हुनुहुन्छ । यसैले पनि पाहुनाको स्वागतसत्कारका लागि घरभित्रको काममै उहाँले निकै समय खर्च गर्नुपर्छ ।

जानुका कटुवाल

दसैँ जस्ता चाडबाडमा त कामको चपेटा र सन्तानको हेरचाहको नियमित जिम्मेवारीले अझ बढी छोपिन्छ ।

घरभित्रको काममा पम्फालाई ४५ वर्षीया श्रीमान कमल फुयाँलको पनि साथ हुँदैन । “दसैँमा श्रीमान् घरमै भए पनि उहाँले घरबाहिरको काम मात्रै न हो हेर्ने,” उहाँ भन्नुहुन्छ, “घरभित्रको काम त सबै आफैँले भ्याउनुपर्छ ।” दसैँमा उहाँको घरमा मासुको अत्यधिक खपत हुने रहेछ । मासुको काटकुट गर्ने काम श्रीमान्‌ले गरे पनि पकाउने र खुवाउने जिम्मा आफ्नै भागमा पर्ने पम्फाको भनाइ छ ।

घरभित्रकै कामको चापले चाडबाडको खुसी अनुभव गर्न पनि नपाउने अवस्था महिलाहरूको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर १ मदनपुरकैै २१ वर्षीया जानुका कटुवालमा पनि चाडबाड आएकोमा कुनै खुसी देखिँदैन । दसैँ जस्ता चाडबाडमा त कामको चपेटा र सन्तानको हेरचाहको नियमित जिम्मेवारीले अझ बढी छोपिन्छ भन्ने उहाँको अनुभव छ । त्यसैले दसैँमा आफन्त भेट्न जान पाउने कुराले पनि उहाँमा कुनै उत्साह जाग्दैन । उहाँका श्रीमान् तीर्थ कटुवाल ट्याक्टर हाँक्नुहुन्छ । यसले गर्दा श्रीमान् घर आउने र जाने समयको कुनै टुङ्गो नै हुँदैन । जानुका एक्लैले दुई सन्तानको हेरचाह गर्नुपर्छ ।

दसैँ सुरु भएसँगै कामका प्रकारहरू बढ्दै जान्छन् । परिवार र पाहुनाको सङ्ख्यासँगै भान्सामा पाक्ने परिकारका प्रकार र मात्रा थपिँदै जान्छन् ।

खोटाङमा जन्मघर भएकी उहाँ भन्नुहुन्छ, “दसैँमा माइत टीका लगाउन जाने कुनै उत्साह छैन । साना दुई सन्तान च्यापेर त्यति टाढा पुग्ने आँट मलाई छैन । त्यही भएर म घरमै दसैँ मनाउँछु ।” अघिल्लो सालको दसैँमा पनि उहाँ टीका थाप्न जानु भएको रहेनछ । यो साल पनि टीका थाप्ने कुनै रहर नभएको सङ्केत गर्दै उहाँ भन्नुहुन्छ, “घरभित्रको कामले आराम नै मिल्दैन । त्यति लामो बाटो कहिले गएर कहिले आउनु ?” झापाबाट खोटाङ्गको दिक्तेल पुग्न गाडीको बाटो हुँदै कम्तिमा १२ घन्टा लाग्छ ।

महिलाले घरभित्र गर्ने कामको कुनै लेखाजोखा छैन । परापूर्वदेखि यस्तै चल्दै आइरहेको छ । दसैँ सुरु भएसँगै घरको आकार अनुसार कामका प्रकारहरू बढ्दै जान्छन् । परिवारको सङ्ख्यासँगै भान्सामा पाक्ने परिकारका प्रकार र मात्रा थपिँदै जान्छन् । भातभान्साको काम होस् वा घरको सरसफाइ, पाहुनाको स्वागत सत्कारको काम होस् या परिवारको हेरचाह सबैको जिम्मेवारी महिलाकै काँधमा थोपरिन्छ ।

चाडबाडमा परिवार र आफन्तहरूको लागि खुसी जुटाउँदा जुटाउँदै महिलाहरूले आफ्ना खुसीहरू घरभित्रै कहाँ हराए भन्ने पनि चाल पाउँदैनन् ।

यस्ता काममा पुरुषले हात बढाउने चलन नै छैन भन्दै महिलाहरूलाई नै बाध्य पारिन्छ । ग्रामीण भेग र सहरका अधिकांश क्षेत्रहरूमा घरभित्रको काम सम्हाल्ने जिम्मेवारी बोकेर महिलाहरू आफू र आफ्नो वास्तविक खुसी बिर्सिइरहेका हुन्छन् ।

बिहेपछि खुम्चिएको दसैँ

बिहेपछि चाडबाडमा महिलाका खुसीहरू खुम्चिन्छन् । उनीहरू दसैँ पनि खुलेर मनाउन सक्दैनन् । सामान्य दिनहरूमा पनि बुहारीहरूमाथि घरायसी कामको चाप बढी नै हुन्छ । त्यसमा चाडबाडको कामको चाप थपिएपछिको अवस्था धानिसक्नु हुँदैन । त्यसो भनेर उनीहरू काम टार्न पनि सक्दैनन् ।

चाडबाडमा परिवार र आफन्तहरूको लागि खुसी जुटाउँदा जुटाउँदै महिलाहरूले आफ्ना खुसीहरू घरभित्रै कहाँ हराए भन्ने पनि चाल पाउँदैनन् । अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने कै चण्डिका खतिवडाको भोगाइ र अनुभवले पनि यही भन्छ । २०६० सालमा चण्डिकाको बिहे भयो । त्यसयता उहाँ दसैँको टीका थाप्नका लागि माइतीघर पनि मुस्किलले दुई पटक मात्र जान भ्याउनुभयो । त्यो पनि एक्लै । श्रीमान् र श्रीमती नै गएर बुबा आमाको हातबाट दसैंँको टीका थापेको अनुभव उहाँसँग छैन ।

चण्डिका खतिवडा

२०६० सालमा बिहे गरेयता माइतीघर दुई पटक मात्र टीका थापेको छु, त्यो पनि श्रीमान् र श्रीमती एकैपटक त जानै पाएका छैनौँ ।

पाँचथर जिल्लाको फिदिममा जन्मघर भएकी चण्डिकाको यसमा चित्त दुःखाइ भने छैन । झापाको घरमा ताल्चा लगाएर पाँचथरको माइतीघरमा टीका थाप्न जाने आँट आओस् पनि कसरी ? समग्रमा उहाँ भन्नुहुन्छ, “केटाकेटी सानो हुँदा कसरी लिएर जाने भन्ने भयो । अब ठुला भए, घरमा ताल्चा लगाएर कसरी जाने भन्ने लाग्छ ।”

“जिम्मेवारीको बोझले थिचेपछि मन भएर पनि माइती (जन्मघर) पनि नपुगिँदो रहेछ,” उहाँले यसरी नै आफ्नो चित्त बुझाउँदै आउनुभएको रहेछ, भन्नुहुन्छ, “परिवारका मान्छेलाई खुसी बनाउँदा बनाउँदै आफ्नो खुसी त्यहीँ हराउँदो रहेछ !”

घरको काम कामै हैन रे !

महिलाहरूले भ्याइनभ्याई गर्दै आएका घरायसी कामलाई काम नै होइन भन्नेहरूकै रजगज चल्दै आइरहेको छ, परिवार, समाज र देशमा अझै पनि । यसको विरुद्धमा चेतना भर्ने गरी २०४९ सालमा लोचन भट्टराईको आवाजमा रेडियो नेपालबाट एउटा गीत बज्न थालेको थियो । गीतकार तथा सङ्गीतकार रामेश श्रेष्ठले बजारमा ल्याउनुभएको उक्त गीतको बोल थियो–

झिसमिसेमै उठ्छु,
घर, कोठा बढार्छु,
पिँढी दैलो पोत्छु,
पानी लिन जान्छु
ढिकी जाँतो गर्छु
आगो जोर्न थाल्छु,
चुलोचौका गर्छु
भान्सा तयार पार्छु
जाहानलाई ख्वाउँछु,
जुठो भाँडा माझ्छु
मैलो लुगा बटुलेर धारातिर लाग्छु,
यति काम गर्दा पनि मानिसहरू भन्छन्,
हाम्रो काम कामै हैन रे
बरै हाम्रो कुनै कामै छैन रे !

तीन दशकभन्दा अघि नै सार्वजनिक भएको यस गीतमा महिलाले घरभित्र गर्ने गरेका कामको फेहरिस्त उतारिएको छ । कामको भार अनुभव हुने गरी गीतको उच्चारण र सङ्गीतको संयोजन पनि गरिएको छ । यो गीत महिलाहरू घरमा बस्ने मात्र हुन्, तिनले के नै काम गर्छन् र भन्ठान्नेहरूलाई गतिलो जवाफ थियो । यो जवाफ अहिले पनि सान्दर्भिक छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ बमोजिम पुरुषको तुलनामा महिलाहरू विनापारिश्रमिक घरायसी काममा बढी संलग्न छन् । यसमा महिलाहरू ८८ प्रतिशत छन् भने पुरुषहरू ३८.५ प्रतिशत मात्र छन् ।

यस बिच देशमा व्यवस्थाहरू बदलिए पनि महिलामाथि थोपरिँदै आएको घरायसी कामको बोझ भने कम हुन सकेको छैन । अवस्था लगभग उस्तै छ । अहिले पनि देशका अधिकांश ठाउँमा महिलाले गर्ने घरायसी कामलाई काम नै मानिँदैन । ज्यालामा पनि भेदभाव कायमै रहेको कुरा सरोकारवालाहरूबाट छिपेको छैन ।

अहिले दसैँको बेला छ । अरू बेलाभन्दा दसैँ, तिहार र घरमा हुने सांस्कृतिक कार्यमा महिलाहरूमाथि घरभित्र कामको चौपट्टै बोझ हुन्छ । चाङ लागेका काम गर्दागर्दै उनीहरूले टुसुक्क बस्ने फुर्सद पाउँदैनन् । यति व्यस्त हुनुपर्ने गरी कामको बोझ बोकाइएका महिलाहरूलाई नै ‘तिमीहरूले के नै गर्छौ र ?’ भन्ने प्रश्नको लौरो तेर्स्याइने प्रवृत्ति हाबी रहेको छ । यसलाई कामकाजी महिलाहरूको दृष्टिकोणबाट हेर्दा अमानवीय तहको विभेदयुक्त र अन्यायपूर्ण देखिन्छ । यसलाई नजरअन्दाज गरेर अबको परिवार र समाज सही दिशातिर अघि बढ्न सकिँदैन । यसमा राज्यले पनि हस्तक्षेप गर्नुपर्ने बेला भइसकेको छ ।

काममाथि काम गर्दै आइरहेका अधिकांश महिलाहरूमाथि थोपरिँदै आएको पारिवारिक, सामाजिक, सांस्कृतिक कामको भार हल्का गर्न र विडम्बनापूर्ण अवस्थालाई चिर्न हस्तक्षेपकारी नीति र कार्यक्रम आवश्यक भइसकेको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ बमोजिम पुरुषको तुलनामा महिलाहरू विनापारिश्रमिक घरायसी काममा बढी संलग्न छन् । यसमा महिलाहरू ८८ प्रतिशत छन् भने पुरुषहरू ३८.५ प्रतिशत मात्र छन् । अर्गनाइजेसन फर इकनमिक कोअपरेसन एन्ड डेभलप्मेन्ट (ओइसिडी) अनुसार, विश्वभरि महिलाहरूले पुरुषको तुलनामा २ देखि १० गुणा बढी काम गर्छन् ।

काममाथि काम गर्दै आइरहेका अधिकांश महिलाहरूमाथि थोपरिँदै आएको पारिवारिक, सामाजिक, सांस्कृतिक कामको भार हल्का गर्न र विडम्बनापूर्ण अवस्थालाई चिर्न हस्तक्षेपकारी नीति र कार्यक्रम आवश्यक भइसकेको छ ।

दसैँको शक्ति र महिला

दसैँको सांस्कृतिक सन्दर्भबाट शक्ति र महिलालाई नियाल्न सकिन्छ । यसैबाट धेरै कुरा बुझ्न पनि सकिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मका १५ दिनलाई दसैँका रूपमा मनाउने गरिन्छ । दसैँको नवरात्रभर शक्तिकी देवी दुर्गाका नौ वटा स्वरूपको पूजा र आराधना गरिन्छ । देवी दुर्गाका नौ वटा स्वरूपका नाम हुन्, शैलपुत्री, ब्रह्माचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री ।

दसैँमा एकातिर महिला शक्तिको पूजा र आराधना गर्ने गरिन्छ भने अर्कोतिर शक्तिका प्रतीक मानिएका तिनै महिलाहरूलाई नै कजाउने शैलीमा विभेदकारी व्यवहार गरिन्छ । यो कुरा कसैबाट लुकेको पनि छैन । देखादेखी घरभित्रका काममा महिलाहरूलाई विनाआराम, विनासहकार्य, विनापारिश्रमिक एकोहोरो जिम्मेवारी ठेकेर दासयुगका दासीहरूलाई झैँ पेलिन्छ । पाका हुन् या उमेरदार, आमा, सासूआमा हुन् या छोरी, बुहारी, अथवा श्रीमान्, ससुरा वा कोही कसैले पनि कसैलाई काममा एकोहोरो जोताउनु ठिक होइन । कामना गरौँ, अबदेखि यस्तो नहोस् !

कुरा महिलाहरूको मात्रै होइन, पुरुष सहभागिता र योगदानको पनि हो । परिवारका पुरुषहरूले पनि कार्यभारमा सन्तुलन ल्याउन योगदान गरून् । सकेको, जानेको गरून् । नजानेको भए सिक्दै भए पनि सघाउने काम गरून् । यसपालिको दसैँले घरायसी काममा पनि समता, सहकार्य र समान ज्यालाको अवधारणालाई प्रवेश गराउन प्रेरित गरोस् ।

श्रमशील र कामकाजी महिलाले पनि आआफ्नो परिवारका अधिकांश पुरुष र कतिपय महिलाले जस्तै गरी चाडबाडमा रमाउने अवसर र स्थान प्राप्त गर्न सकून् । श्रम नै शक्ति हो, शक्तिका प्रतीक र श्रमशील महिलालाई शक्तिको केन्द्रबाट किनारामा नधकेलौँ ।

घरभित्रका काममा कुनै पनि उमेर र नाताका महिलाले गर्दै गरेको श्रमको सम्मान गर्दै परिवारका सबैले सहकार्य गरौँ । सहकार्यको कदर गरौँ । सहकार्य गर्ने वातावरणको निर्माण गर्दै चाडबाडमा रमाउँदै अघि पनि बढौँ । दसैँको शुभकामना !

सन्धान, प्रकाशन मिति : २०८० कार्तिक ३ गते, शुक्रवार