– दुर्गादेवी सापकोटा

दुर्गादेवीको बिहे सात वर्षमै नौ वर्षका तिलकप्रसाद सापकोटा (२००० माघ १७ –२०७९ कात्तिक २३) सँग भयो । बागलुङ जिल्लाको बिहुँ कर्लिङमा आठ दशकअघि जन्मिएकी उहाँलाई पुरुषप्रधान सामाजिक संरचनाले न त पढ्न दियो, न त समन्यायिक व्यवहार नै गर्‍यो ।

‘महिलाले पढ्नु हुँदैन’ भन्ने कुटिल र कठोर कालखण्ड थियो त्यो । “हाम्रा पालामा त छोरीले पढे बोक्सी हुन्छन् भन्ने चलन थियो,” दुर्गादेवीले भन्नुभयो, “दाजीहरूले भित्र वेद चण्डी पढ्नुहुन्थ्यो । हामीलाई झ्यालबाट हेर्न पनि दिइँदैनथ्यो ।”

सानैमा जन्मघरबाटै विभेदकारी तरिकाले शिक्षा प्राप्त गर्नबाट समेत वञ्चित गरियो । त्यति मात्र होइन, उहाँको दिमागमा आफूलाई जन्म दिएको परिवारभन्दा आफूसँग बिहे गराइएको व्यक्तिको घरपरिवार नै सर्वस्व हो भन्ने सोच भरियो । उहाँले आफ्नो पहिचान पनि श्रीमान् र श्रीमान्‌कै घरसँग जोडेर मात्र बनाउन जान्नुभयो । त्यसैमा लगभग सन्तोष पनि मान्नुभयो ।

छोरीमान्छे भनेर उहाँमाथि सुरु भएको विभेदले विवाहपछि बुहारीको चरणमा प्रवेश गर्‍यो । विभेदको अर्को शृङ्खला सुरु भयो तर उहाँले त्यसलाई सहज सोचमा स्वीकार गर्नुको विकल्प देख्न सक्नु भएन, देख्न पाउनु पनि भएन । उहाँले यो पनि भन्नुभयो, “कहिलेकाहीँ हामी घाँस काट्न सँगै जान्थ्यौँ । उहाँ थुपुक्क बसेर चुरोट खानुहुन्थ्यो । दुवैका डोका मैले नै घाँस काटेर भर्थें अनि घर आउँथ्याैँ ।”

दुर्गादेवीका श्रीमान् पछि गएर राजनीति गर्ने व्यक्ति भएर निस्किनुभयो । उहाँ निर्दलीय पञ्चायती व्यवस्था हटाउनेदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र प्राप्तिको राजनीतिक आन्दोलन र सामाजिक कार्यहरूमा प्रत्यक्ष खटिनुभयो । उहाँले भने आफ्नो जीवनका उर्वर र ऊर्जाशील समय तिनै श्रीमान्‌काे घरव्यवहार सम्हाल्दै बिताउनुभयो ।

नेपाली कांग्रेसको राजनीतिमा होमिएका श्रीमान्‌काे समग्र जीवनलाई सफल बनाउन निःशर्त सघाएकी दुर्गादेवी र उहाँ जस्ता महिलाको योगदानको न्यायसङ्गत र समतामूलक मूल्याङ्कन हुन भने बाँकी नै छ ।

लैङ्गिक दृष्टिले विभेदकारी बनाइएको सामाजिक संरचनामा छोरीमान्छेको जीवन कतिसम्म क्रूर ढङ्गले विभेदित हुन्थ्यो र उनीहरूको पारिवारिक जीवनमाथि पनि कति सजिलै राजनीति खेल्ने गरिन्थ्यो भन्ने बुझ्नलाई दुर्गादेवीकै असीबर्से जीवनदृष्टि र भोगाइ एउटा ज्वलन्त तर नमिठो उदाहरण हो ।

राजनीति गर्ने श्रीमान् वा परिवारका पुरुष सदस्यलाई पर्दापछाडि बसेर साथ दिने महिलाका सोचाइ र भोगाइलाई ‘सन्धान’ ले राजनीति तथा सामाजिक परिवर्तनका लागि उहाँहरूले गरेको योगदानको रूपमा दस्ताबेजीकरण गर्दै आएको छ । त्यस्तै पात्रहरूमध्ये एक हुनुहुन्छ, बागलुङबाट साबिक नवलपुर हालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटमा स्थायी बसोबास गर्दै आउनुभएकी दुर्गादवी ।

पहाडदेखि तराईसम्मको गतिशील र परिवर्तनशील जीवनयात्रामा उहाँले छोरीदेखि बुहारी, श्रीमती आदि हुँदै आमाको भूमिकामा बच्चाबच्ची जन्माएर हुर्काउँदै रातदिन नभनी काम गरेर घरव्यवहार चलाउनुभयो । जीवनको उत्तरार्धमा एकल जीवन बिताउनुपर्दा उहाँलाई शिक्षाको अभाव खट्कियो ।

संरचनागत तरिकाले महिलाको व्यक्तित्वलाई पुरुषमैत्री प्रयोजनका निम्ति निर्माण गरिएपछि हुने जे थियो, त्यही भयो उहाँको जीवनमा पनि । प्रविधिको विकासले व्यक्तिलाई धेरैतिरबाट घेरिरहेको जमानामा साधनस्रोतले सम्पन्न भएर पनि त्यसलाई उपयोग गर्ने सिप समयमै सिक्न नपाएको कुराले उहाँलाई झन् धेरै पिरोल्न थाल्यो ।

यद्यपि, महिलाका रूपमा आलोचनात्मक चेतनाको विकासविनाको एउटा आज्ञाकारी र श्रीमान्‌प्रति एकतर्फी समर्पण भाव राख्ने मानव समूहको प्रतिनिधिमूलक पात्र हो उहाँ । एक जना निकटस्थ पात्रले विभिन्न समयमा उहाँका कुरा सुन्नुभएको थियो । पछिल्लो समय ‘सन्धान’ का लागि उहाँले विभिन्न सवालमा थप कुराकानी पनि गर्नुभयो । प्रस्तुत छ, दुर्गादेवी सापकोटाको स्वकथन :

मेरो जन्म २००१ साल भदौ २० गते बागलुङको बिहुँ, कर्लिङ्गमा भयो । उ बेलामा छोरीले पढ्न हुँदैन भन्ने चलन थियो, त्यो भएर पढ्न पाइएन । दाइहरू पढ्न जानुहुन्थ्यो । दाइहरूले भित्र वेद, चण्डीहरू पढ्नुहुन्थ्यो । छोरीहरूले पढेको हेर्न हुँदैन भनेर हामीलाई झ्यालबाट हेर्न पनि दिइँदैनथ्यो ।

पढ्न नपाएपछि घाँस, कोदो काट्ने, गाई, भैँसी, वस्तुबाख्रा चराएरै मेरो बाल्यकाल बित्यो । साथीहरू मिलेर वनमा जान्थ्याैँ । पुतली बनाउँथ्यौँ । भिजाएको चामल सिलौटोमा पिसेर वनमा लैजान्थ्यौँ । त्यसलाई पातमा हालेर आगोको भुङ्ग्रोमा पकाउँथ्यौँ । आज पनि ती दिन सम्झँदा रमाइलै लाग्छ ।

मेरो बिहे सात वर्षको उमेरमा भयो । छोरीलाई सानैमा कन्यादान गरेपछि धर्म हुन्छ भन्ने चलन थियो । बुबाले त्यहीअनुसार बागलुङकै दमेकका तिलकप्रसाद सापकोटासँग मेरो बिहे गर्दिनुभयो । बिहे गर्दा श्रीमान् नौ वर्षको हुनुहुन्थ्यो ।

मैले बिहे, घर, श्रीमान् भन्ने केही बुझेकै थिइनँ । मेरा लागि सबै नौलो थियो । म सानी भएकाले मलाई बोकेरै घर पुर्‍याइएको थियो । घरमाथि सिउँडीका काँडाहरू थिए । त्यो देखेर कहाँ आइयो जस्तो लाग्यो । भोलिपल्ट उज्यालो भएपछि लोकन्ती गएकी भाउजूसँग मलाई घर वरपर सबै देखाए ।

केटाकेटी उमेरका श्रीमान्–श्रीमती हामी सँगसँगै खेल्ने जस्ता थियौँ तर उ बेला उहाँसँग मेरो बोलचाल नै हुँदैनथ्यो । एकअर्कालाई देख्यो भने दुवै जना लाजले भुतुक्कै हुन्थ्यौँ ।

नयाँ घरमा सुरुसुरुमा त धेरै आत्तिएँ । सानो भएकाले १२ वर्षको हुँदासम्म मलाई माइतमै राख्नुभयो । अलिअलि बुझ्ने भएपछि घर–माइत गर्न थालेँ । ससुराले माइत बस्ने भाका दिनुहुन्थ्यो । आउने दिन तोकेर पठाउनुहुन्थ्यो, तर म भाकाको एक दिनअघि नै घर पुग्थेँ ।

केटाकेटी उमेरका श्रीमान्–श्रीमती हामी सँगसँगै खेल्ने जस्ता थियौँ तर उ बेला उहाँसँग मेरो बोलचाल नै हुँदैनथ्यो । एकअर्कालाई देख्यो भने दुवै जना लाजले भुतुक्कै हुन्थ्यौँ । हामी कहिलेदेखि बोल्न थाल्यौँ भन्ने नै याद छैन । बुबा, आमाको अगाडि धेरै डर र लाज लाग्थ्यो ।

म श्रीमान्‌सँग बसेर कहिल्यै पनि खेलिनँ । नन्द, आमाजूसँग खेल्थेँ । कसैले जिस्काए भने म घरभित्र दगुर्थें । श्रीमान्‌काे उटपट्याङ गर्ने बानी थियो । आमाले सुकाएको बिस्कुन जम्मै बाख्रालाई दिनुहुन्थ्यो । कहिलेकाहीँ हामी घाँस काट्न सँगै जान्थ्यौँ । उहाँ थुपुक्क बसेर चुरोट खानुहुन्थ्यो । दुवैका डोका मैले नै घाँस काटेर भर्थें अनि घर आउँथ्याैँ ।

घरबाट पँधेरा टाढा थियो । दस माना पानी जाने गाग्री थियो । त्यही गाग्रीमा पानी बोक्थेँ । त्यो बेलाको काम त्यस्तै त हो, कुट्ने, पिस्ने, घाँस, दाउरा, पानी, वस्तुभाउ !

म १२–१३ वर्षको उमेरदेखि घरै बस्न थालेँ । त्यसको तीन वर्ष जतिपछिको एक राति श्रीमान् घरबाट भाग्नुभएछ । उहाँसँगै अरू पनि दुई जना भागेका रहेछन् । सासूआमा र म बिहानको ४ बजेतिर जाँतोमा मकै पिस्दै थियौँ । अरूका बाउआमा खोज्दै हाम्रोमा आएछन् अनि कोठामा हेर्न जाँदा उहाँ पनि भेटिनु भएन । हामीले भागेको थाहै पाएनौँ ।

म घरकै काममा व्यस्त भएँ । घरको सबै काम सकेर घाँस काट्न जाँदासम्म पनि उज्यालो हुन्थेन ।

भागेको २५ दिनपछि श्रीमान् मद्रास पुगेको खबर पाइयो । त्यो बेला फोन थिएन, चिठी आयो । उहाँले एउटा चिठी लेखेर घरकै बाकसमा पनि राख्नुभएको रहेछ । त्यो चिठीमा मलाई ‘हे मेरी प्यारी दरबारकी रानी, काम जाने है, आमा, बाबा, भाइ र बहिनी प्यारा माने है’ भन्ने लेखेर सम्झाउनुभएको रहेछ । श्रीमान् त्यसरी गएपछि म घरकै काममा व्यस्त भएँ ।

घरको सबै काम सकेर घाँस काट्न जाँदासम्म पनि उज्यालो हुन्थेन । कति त साथीकोमा गएर सुतेर उज्यालो भएपछि जान्थ्याैँ । आ–आफ्नै खरबारीमा घाँस काटेर आउँथ्यौँ । उ बेला पानी ल्याउने ठाउँ टाढा, भैँसीलाई पानी खुवाउन ढिला हुन्छ भनेर दुई गाग्री पानी एकैचोटि ल्याउँथेँ ।

हाम्रो दोकान पनि थियो । घरमा माहिला देवर हुनुहुन्थ्यो । उहाँ एकचोटि दोकानका लागि कपडा लिन बटौली जाँदा उहाँसँगै गएको साथी बिरामी भएछन् । त्यसपछि ससुराले देवरलाई बाटोमा भएको भारीसहित एक जना साथीसँग घर फिर्ता पठाउनुभएछ ।

फर्किंदा त देवरलाई खोलाले बगाएछ । तीन दिनपछि उहाँको शव भेटियो । ससुरा काजकिरियामा बस्नुभयो । देवर बितेपछि ससुराबुबा र सासूआमा शोकले सम्हालिन नसक्ने हुनुभएको थियो । त्यसपछि श्रीमान्‌लाई रजिष्ट्री गरेर चिठी पठायौँ तर त्यो चिठी फर्केर आयो । उहाँ त्यो बेला गुवाहाटी जानुभएछ । हाम्रा मावली पर्नेहरू गुवाहाटीमा हुनुहुन्थ्यो । श्रीमान् त्यहीँ जानुभएको रहेछ, पछि थाहा भयो ।

माइला देवर बितेपछिको शोकले आमाबुबाले काम गर्नै नसक्ने हुनुभयो । त्यसपछि घरको काम र वस्तुभाउलाई एक जना फुपूकी छोरी र म भएर देखभाल गर्‍यौँ । मेरो काम देखेर घर वरपरका सबैले ‘टाठी बाल्खी रहेछ’ भन्थे । मलाई सासूससुराले नराम्रो व्यवहार गर्नु भएन ।

दुर्गादेवी श्रीमान् तिलकप्रसादसँग ।

पछि श्रीमान्‌लाई भाइ सिकिस्त बिरामी छ भनेर खबर पठायौँ । त्यसपछि उहाँ घर आउनुभयो । तीन वर्षपछि त्यसरी घर आइपुग्दा एकचोटि त सबैको रुवाबासी भयो । त्यसपछि उहाँ पहिले जसरी त्यसै भागेर हिँड्नु भएन ।

श्रीमान्‌ले राजनीति गर्नुहुन्छ भन्ने मैले आफू १४ वर्षको हुँदैदेखि थाहा पाएँ । त्यो बेला हामी बागलुङको सेरामै थियौँ । उहाँ १६ वर्षको हुनुहुन्थ्यो । धनसारमा सुत्नुहुन्थ्यो । एक दिन बिहान ४ बजे उठेर मसँग कपडा मागेर लगाएर मौलाछामा चिठी छोड्न भनेर जानुभयो । त्यसरी गएको मान्छे चार दिनसम्म पनि आउनु भएन ।

थुनिएकाहरूलाई त आनन्द ! उहाँहरू सबै जना गफ गर्ने, बस्ने । घरमा हामीलाई भने पिर थियो । घरतिर चाहिँ ‘भूमिश्वरको छोरो छ महिना जेलमा बस्यो भने बाँच्दैन । हत्कडी लगाएर चाबी लगाएर राखेका छन् रे’ भन्थे अरूले ।

पछि थाहा भयो, उहाँ त थुनिनुभएछ । बागलुङमै थुनिनु भएको रहेछ । थाहा पाएको भोलिपल्टै ससुरा र म घिउ, चामल, रोटी लिएर भेट्न गयाैँ । लगेको खानेकुरा हामीले चाखेर मात्र दिन पाइन्थ्यो । थुनामा उहाँको अवस्था देखेर धेरै रोएँ । उहाँले ‘नरोऊ’ भनेर सम्झाउनुभयो ।

श्रीमान्‌सँगै थुनिनुभएको मेरा दाइ (गोविन्द कँडेल) ले ‘हामी छिटै आउँछौ, नआत्तेऊ, घर जाऊ, काम गर’ भनेर मलाई सम्झाउनुभयो । त्यो बेला त्यहाँ पाँच जना जेल परेका थिए । छिमेकी, चिनजानका मान्छेहरू कोहीले घिउ, चामल, चकलेट, कसैले पत्रिका, किताबहरू, पैसा जस्ता चिज लग्दिन्थे ।

थुनिएकाहरूलाई त आनन्द ! उहाँहरू सबै जना गफ गर्ने, बस्ने । घरमा हामीलाई भने पिर थियो । घरतिर चाहिँ ‘भूमिश्वरको छोरो छ महिना जेलमा बस्यो भने बाँच्दैन । हत्कडी लगाएर चाबी लगाएर राखेका छन् रे’ भन्थे अरूले ।

श्रीमान् थुनिएको ठ्याक्कै कारण थाहा थिएन तर पछि गोविन्द दाइसँगै प्रचारमा हिँड्दा त्यसैको मान्छे रहेछ भनेर समातेर लगेको भन्ने सुन्यौँ । त्यो बेला अहिले जस्तो होइन । पञ्चायती व्यवस्था थियो । किन थुनेको, के हो भनेर कुरा गर्न मिल्दैनथ्यो ।

गोविन्द दाइ तीन महिनामा छुट्नुभयो । श्रीमान्‌लाई छ महिनामा ससुराले छुटाएर घर ल्याउनुभयो । एकातिर घरमा काम नगरी नहुने, अर्कातिर ससुरा डुलिरहने । श्रीमान्‌लाई ‘यसरी नहिँड्नू’ भन्दा मान्नु हुँदैनथ्यो । घरको सबै जिम्मेवारी सासू, म र देवरको भरमा । हामी तीन जनाले घरव्यवहार गर्थ्यौं । नन्द सानै हुनुहुन्थ्यो ।

मैले पहिलो सन्तान छोरी जन्माएको थिएँ तर १८ महिनामा बितिन् । त्यसपछि छोरो जन्मियो । त्यो छोरो पनि बिहान जन्मेको, बेलुका बित्यो । मैले सन्तान शोकको पीडा पनि धेरै भोगेँ । तीन छोराछोरी बिते ।

पहिला बच्चा जन्माउँदा अहिले जस्तो हस्पिटल थिएनन्, घरमै जन्माएँ । बेथा लाग्दा पनि दिनभरि काम गर्नुपर्थ्यो । सुत्केरी हुने बेला सुँडेनीले ढाडमा मिचिदिन्थे । सुत्केरी भएको १५ दिनपछि आफैँ पकाउने, खाने गर्नुपर्थ्यो ।

दोस्रो छोरो बितेपछि श्रीमान्‌ले दोस्रो विवाह गर्नुभयो । श्रीमान्‌ले अर्को बिहे गरेको दिन म २२ दिनकी सुत्केरी थिएँ । २०२३ सालमा फेरि छोरो जन्मियो । उसलाई भने केही भएन । त्यसपछिका सन्तानहरू राम्रै भए । अहिले मैले जन्माएका चार भाइ छोरा र दुई छोरी छन् ।

पहिला बच्चा जन्माउँदा अहिले जस्तो हस्पिटल थिएनन्, घरमै जन्माएँ । बेथा लाग्दा पनि दिनभरि काम गर्नुपर्थ्यो । सुत्केरी हुने बेला सुँडेनीले ढाडमा मिचिदिन्थे । सुत्केरी भएको १५ दिनपछि आफैँ पकाउने, खाने गर्नुपर्थ्यो । सुत्केरी भएपछि नौ दिनमा नुहाउनुपर्थ्यो । त्यसरी नुहाएपछि बल्ल दुध खान पाइन्थ्यो । घिउ खान पनि नपाउने ।

सुत्केरीमा खाने भनेको ज्वानोको झोल हो । त्यहीसँग मात्रै भात खाएँ । सुत्केरी भएको छ महिना नहुँदै माइती जान हुँदैन भनिन्थ्यो । त्यहीमाथि माइती टाढा भएकोले ‘बच्चा बिरामी हुन्छ’ भनेर जान नदिने ।

श्रीमान् राजनीति गर्न कहिले कता कहिले कता हिँड्नुहुन्थ्यो । ससुरा पनि डुलिरहने भएपछि हामी सासूबुहारीले नै घरव्यवहारको काम धान्नुपर्‍यो । घरबाहिरको काम मैले गर्थें । भित्रको काम सासूले गर्नुहुन्थ्यो । हामीले उ बेलामा पहाडमा धेरै दुःख भोग्यौँ । बिहान ४ बजे उठ्नुपर्ने । समय हेर्ने घडी पनि नहुने । आकाशमा तारा हेरेर समय थाहा पाउँथेँ ।

दिनभरिको कामले अरू केही नभ्याउने । लुगाहरू रातिमा धुनुपर्थ्यो । दमेक बसुन्जेल काला गुन्यु लगाइयो । भान्सामा जाँदा धोती लगाउनुपर्थ्यो । पहिले खासै लुगा हुँदैनथे । बच्चाहरूलाई त्यही आफूले लगाउने धोतीमा सुताएँ । पिसाब फेरे भने चिसोमा आफू सुतेर ओबानोमा छोराछोरीलाई सुताउँथेँ । वर्षमा एक पटक गुन्यु पाइन्थ्यो । पछि कोराको कपडा हुन्थ्यो ।

घर बनाउन लागेका थियौँ । घरको जग थाप्ने बेलामा ससुराले ज्योतिषीलाई हेराउँदा ‘यो बुहारीबाट सन्तान जति पनि हुन्छन् तर अलि छिटै श्रीमती मरेर विदुर हुन्छ कि छोरो’ भनेर भन्दिएछन् । अनि, धुमधामसँग बाजा बजाएर श्रीमान्‌काे दोस्रो बिहे भयो । म धेरै रोएँ ।

घरमा मकै हुँदा भुटेर पटुकामा लिएर हिँड्ने, नहुँदा भोक लागे पनि पेट निचोरेरै बस्ने । माइतीबाट आमाले अलिअलि खानेकुराहरू र पैसा पठाइदिनुहुन्थ्यो । उ बेला त दुई–चार वटा मोहर भए चाहे जति खान पुग्थ्यो ।

श्रीमान्‌काे दोस्रो बिहेको बारेमा मेसो पाएको थिइनँ । घर बनाउन लागेका थियौँ । घरको जग थाप्ने बेलामा ससुराले ज्योतिषीलाई हेराउँदा ‘यो बुहारीबाट सन्तान जति पनि हुन्छन् तर अलि छिटै श्रीमती मरेर विदुर हुन्छ कि छोरो’ भनेर भन्दिएछन् । अनि, ससुराले श्रीमान्‌लाई बिहे गर्ने कुरा सुनाउनुभएछ तर श्रीमान् मान्नु भएन ।

ससुराले फेरि ‘तँ बा, म छोरो ?’ भनेर भन्नुभएछ । त्यसपछि धुमधामसँग बाजा बजाएर श्रीमान्‌काे दोस्रो बिहे भयो । म धेरै रोएँ । घरका काम सबै मैले गरेँ । विवाह गरेको केही समयपछि कान्छी माइत बसेर पढ्न थालिन् । म घरमै थिएँ । श्रीमान्‌ले मलाई पनि माया गर्नुहुन्थ्यो । बिहे गरेर ल्याएपछि दुईतिर बाँडिनुपर्ने भयो ।

श्रीमान्‌काे दोस्रो बिहे भएको दिन सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ । मेरो सुत्केरी शरीर, रगतको आहालमै थिएँ । त्यही पनि गाईवस्तु हेरेर बसेकी थिएँ । ढाँडमा बसेर वस्तु हेरेकी थिएँ । त्यहाँकै एक जना बुढीले मलाई ‘घर जा, अरूलाई पठाइदे’ भन्नुभयो ।

श्रीमान् राजनीति गर्नुहुन्थ्यो । हाम्रो घरमा मान्छेहरू आइरहन्थे । हाम्रो घरमा आएर नखाएको कांग्रेसका नेता नै छैनन् । आधारातमा उठेर पनि पकाएर ट्याक्टरभरिका मान्छेलाई खुवाएको छु ।

घरमा पुग्दा धान कुट्ने, जाँतो पिस्ने गरिरहेका रहेछन् । श्रीमान्‌काे विवाहको कुरा थाहा पाएँ । त्यसपछि मलाई त्यहाँ बस्नै मन लागेन । यस्तैमा एक दिन श्रीमान् आएर ‘बुबाले गर्दा विवाह गर्नुपरेको’ भनेर भन्नुभयो । म केही बोल्नै सकिनँ । बाहिर निस्केर रुन्थेँ । छोराछोरी कता गए होलान् भनेर अत्तालिन्थेँ । त्यस्तो पनि सहेँ । उपाय थिएन, नसहेर पनि के गर्नु र ?

दौरासुरुवाल कोट र कालो टाेपी लगाएका बिपी कोइराला (अगाडि) र बिपीभन्दा पछाडि दुर्गादेवीका श्रीमान् तिलकप्रसाद सापकोटा ।

श्रीमान् राजनीति गर्नुहुन्थ्यो । हाम्रो घरमा मान्छेहरू आइरहन्थे । दिनमा १२–१५ पटक चिया पकाउनुपर्थ्यो । खाना खानेलाई खाना पकाउनुपर्थ्यो । हाम्रो घरमा आएर नखाएको कांग्रेसका नेता नै छैनन् । श्रीमान् र उहाँका साथीहरू भूमिगत बस्दा पनि मान्छेहरू धनसारमा आएर लुकेर बस्थे । आधारातमा उठेर पनि पकाएर ट्याक्टरभरिका मान्छेलाई खुवाएको छु ।

पछिल्लो पटक कां‌ग्रेस नेता महेन्द्रध्वज जिसी ‍नवलपुर जिल्लामा जिल्लाको पार्टी सभापतिमा लड्दा पनि धेरै मान्छेलाई खाना खुवाएँ । पहिले पहिले नेपाली कांग्रेसका बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, शशाङ्क कोइराला, सुशील कोइरालादेखि लिएर रामवरण यादवलगायत ठुला नेताहरूलाई पनि घरमा खाना खुवाएको छु ।

विद्यार्थी सङ्गठन बनाउने बेलामा श्रीमान्‌ले शेरबहादुर देउवालाई नौ दिनसम्म घरमै लुकाएर राख्नुभयो । पछि श्रीमान्‌ले खर्च जोहो गरेर बिपी भएको ठाउँ बनारस लगेर जिम्मा लगाउनुभयो ।

श्रीमान् देश र जनताको सेवा गरेर हिँड्नुहुन्छ भन्ने लाग्थ्यो । त्यो भएर जति भए पनि मैले एक्लै गर्नुपरेको छ भनेर दुःख लागेन । नेताहरूलाई खाना पकाउन, खुवाउन मलाई कहिल्यै दुःख लागेन । मलाई कहिल्यै रिस उठेन । रिस उठ्दैनथ्यो ।

विद्यार्थी सङ्गठन बनाउने बेलामा श्रीमान्‌ले शेरबहादुर देउवालाई नौ दिनसम्म घरमै लुकाएर राख्नुभयो । पछि श्रीमान्‌ले नै खर्च जोहो गरेर बिपी भएको ठाउँ बनारस लगेर जिम्मा लगाउनुभयो । शेरबहादुर मेरो श्रीमान् बितेको बेलामा र वार्षिकीमा घरमा आउनुभएको थियो ।

श्रीमान्‌ले समाजसेवा नै राजनीति हो भन्नुहुन्थ्यो । सामाजिक काममा पनि श्रीमान्‌ले आफ्नै खल्तीबाट खर्च गर्ने । आफूसँग नभए ऋण खोजेर भए पनि काम गर्नुहुन्थ्यो । कसैको दुःख देख्न नसक्ने । अरूको ऋण पनि उहाँले नै तिरिदिने गर्नुहुन्थ्यो । राजनीतिमा लाग्दा श्रीमान्‌लाई यही १६ नम्बर वडामा नराम्ररी पिटेछन् । शरीरभरि रगत जमेको । उहाँलाई बाहिर जहाँ भेटे पनि पिट्थे । जेल परेपछि मात्र पिटाइ खानु भएन । भूमिगत राजनीति गर्दा ठुलो छोरा उहाँको पछि लागेर कहाँ गएको सबै थाहा पाउँथ्यो । प्रजातन्त्र आउने बेला त छोराहरूले पनि पिटाइ खाए । म साह्रै कष्ट काटेर बसेँ ।

दुर्गादेवी उहाँका श्रीमान् र परिवारका सदस्यहरू ।

राजनीतिकर्मी नेताको श्रीमती हुन गाह्रो रहेछ । मैले घर नसम्हालेको भए सबै बिग्रिन्थ्यो । महिला नेताहरू घरमा आउँदा ओहो महिला पनि नेता रहेछन् भन्ने लाग्थ्यो तर म त्यता राजनीतितिर लागिनँ ।

बहुदल र निर्दलको चुनावमा मैले बागलुङबाटै भोट दिएँँ । उ बेलामा भोट हाल्न जाँदा सबैलाई ट्याक्टरले बोकेर लाने, ल्याउने गर्थे । राजनीति के हो भन्नेबारे पछि थाहा पाएँ । त्यतिबेला पञ्चायत र बिपी कांग्रेस भन्ने थिए । ‘बाटैमा जोर किल्ला ठोकेको, तेजेन्द्रेले राजालाई रोकेको’ भनेर गीत गाउँथे ।

जनक हाइस्कुलमा गएका बेलामा २०४० चैतको १२ गते श्रीमान् फेरि पक्राउ पर्नुभयो । लुगा लिन भनेर उहाँलाई लिएर पुलिस पनि सँगै घरमा आएका थिए । ससुराले ‘छोरो लगिदिएर कसरी खाने ? हामीलाई पनि लैजानुस्’ भन्दा ‘पछि आउँला नि’ भन्दै गए ।

सङ्गठन विस्तार गर्ने, भेला हुने, भित्रभित्रै कूटनीति चलिरहन्थ्यो । कांग्रेसका नेता गिरिजाबाबु, सुशीलबाबु, गणेशमान सिंह, रामवरण यादव, शेरबहादुर देउवालाई लामो समय लुकाएर हाम्रो घरमा राख्यौँ । त्यतिबेला उहाँहरूलाई खाना खुवाउने मै हो ।

गैँडाकोटमा दराई र कुमाल बस्ती थियो । नेताहरू यहाँ आउँदा उहाँहरूले दराई र कुमाल भाषा नबुझ्ने । भाषा बुझाउन पनि उहाँहरूको साथमा मेरो श्रीमान् नभई हुँदैनथ्यो । त्यसरी हिँडेपछि कहिले त रातिको २–३ बजेतिर पनि घर आउनुहुन्थ्यो । म खाना बनाएर, आगो बालेर उहाँहरूलाई कुरेर बस्थेँ ।

बागलुङमा हाम्रो बसोबासको सबै व्यवस्था राम्रो थियो । त्यहाँ छोडेर गैँडाकोटमा आउँदा पहिले टिनले बारेको ठाउँमा बस्नुपरेको थियो । यसरी बस्दा सारै नराम्रो लाग्थ्यो । १५–१६ वटा गाई, भैँसी थिए । एक रुपैयाँमा एक माना दुध बेच्थ्यौँ । १६–१७ बिगाहा जग्गा थियो । धान उब्जाएर बेच्थ्यौँ । त्यहीँबाट आएको आम्दानीलाई श्रीमान्‌ले राजनीति र सामाजिक सेवामा समर्पित गर्नुभयो ।

सत्याग्रह आन्दोलनका बेला २०४२ सालमा पनि श्रीमान् नवलपरासी जेलमा पर्नुभयो । लोकतन्त्र प्राप्तिका लागि आन्दोलन भइरहँदा उहाँ काठमाडौँको पुतलीसडक क्षेत्रको जुलुसको नेतृत्व गर्नेमा हुनुहुन्थ्यो । पुलिसले हानेको अश्रुग्याँस नाक, मुखमा पर्दा उहाँ दमरोगले पीडित हुन थाल्नुभयो । पछिसम्म त्यसैले उहाँलाई गाह्रो बनायो ।

श्रीमान्‌काे ल्यापटप छ । कोरोनाकालमा त्यही हेरेर दुई बुढाबुढी बस्थ्यौँ । श्रीमान् बितेर गएपछि केही हेर्न र पढ्न जान्दिनँ । पढ्न पाएको भए अहिले एक्लै हुँदा केही पढेर, लेखेर बस्थेँ जस्तो लाग्छ ।

श्रीमान् बितेर रातो चुरा फाल्दाको दिन मलाई धेरै पीडा भयो । त्यस्तो होला भनेर कल्पना पनि गरेकी थिइनँ । श्रीमान् बितेपछिको दुःख पो दुःख रहेछ भन्ने लाग्छ । उहाँ नभएपछि सधैँ एक्लो महसुस हुन्छ तर पनि आफैँ सम्हालिन्छु ।

श्रीमान्‌काे ल्यापटप छ । कोरोनाकालमा त्यही हेरेर दुई बुढाबुढी बस्थ्यौँ । श्रीमान् बितेर गएपछि आफूले केही हेर्न र पढ्न जान्दिनँ । मैले सानैमा पढ्न पाएको भए अहिले एक्लै हुँदा केही पढेर, लेखेर बस्थेँ जस्तो लाग्छ ।

अगाडि पट्टि दायाँबाट दोस्रो दुर्गादेवी (रातो सारीमा) र उहाँका श्रीमान् र छोराछोरी सहित परिवारका सदस्यहरू ।

श्रीमान्‌काे राजनीतिमार्फत समाजसेवा गर्ने चाहना थियो । उहाँको चाहनालाई छोराछोरी कसैले सम्हाले हुन्थ्यो जस्तो लाग्छ तर अहिलेको अवस्थामा श्रीमान्‌ले गरेजस्तो राजनीति गर्न सहज छैन । एउटा बोले अर्को रिसाउने, अर्को बोले अर्को रिसाउने हुन्छ ।

सुरुबाटै शान्ति भएर, राम्रो व्यवहार गर्ने, रिसाउनुपर्ने ठाउँमा मात्रै रिसाउने, नत्र मिलाएर हाँसीबोली सरसल्लाह गरेर काम गर्ने हो भने राजनीति हुन्छ नत्र हुँदैन । एउटाले अर्काको कुरा सुन्न नसक्नेले केको राजनीति गर्नु र ?

मसँग अहिले माहिलो छोरा केशव छ । अरू बाहिर विदेशमा छन् । बाहिर भएका छोराछोरीे सबैले बिहान बेलुका फोन गर्छन्, पैसा चाहिए पठाइदिन्छन् । सबै कुरा ठिक छ । त्यही हो श्रीमान् जानुभयो । आत्मबल कमजोर भएको छ । सक्दा धेरै दुःख गरियो । अहिले जीवनचोला नै बदले जस्तै भयो ।

म गैँडाकोट आउँदा भर्खरै ३७–३८ वर्षकी थिएँ । बागलुङ (पहाड) को हावापानीबाट यहाँ (तराई) को हावापानीमा घुल्नै केही समय लाग्यो । यहाँ सुख्खा जमिन, पानीको अभाव, बस्ती कम थियो । रातिमा टुकी बाल्नुपर्थ्यो । स्यालहरू बेस्सरी कराउँथे । डर लाग्थ्यो । केही आदिवासी थारु समुदायका घर थिए ।

पहिले घरहरू टाढा टाढा थिए । हामी पनि खोरिया फाँडेर बसेका थियौँ । छिमेकी भने पनि काममा सघाउने भने पनि थारुहरू नै थिए । हामीलाई थारु भाषा बुझ्न पनि कठिनाइ भयो । यहाँ हामी बस्ने ठाउँ, टिनले बारेको सानो झुप्रो नजिकै इनार खन्नुभयो । त्यसले गर्दा पहाडमा भन्दा यहाँ बस्न अलि सजिलो भयो । हुन त यहाँ अहिले पनि स्यालहरू कराउँछन् तर बस्ती बाक्लो भएकाले डर लाग्दैन ।

अहिले गैँडाकोटको रूप सबै फेरिएको छ । नजिकै ठुला ठुला संस्थाहरू, नगरपालिका, सरकारी र निजी विद्यालयहरू, अस्पतालहरू, स्वास्थ्यचौकी, व्यापार व्यवसायहरू, खेती सिँचाइका लागि जयश्री खोलाको पानी नहर बनाई वितरण गरिएको छ । अहिले विजय विकास स्रोत केन्द्र, विजय एफएम, बिकु बचत संस्थाहरू भएको ठाउँ सबै जङ्गल थियो । यो ठाउँ गैँडाकोट यहाँ आइपुग्नुमा श्रीमान्‌काे अहम् भूमिका छ भन्ने मलाई लाग्छ ।

श्रीमान्‌ले जहिले पनि रातभरि डायरीमा कविता, चिठी, दैनिकीलगायत के के लेख्नुहुन्थ्यो । तर मलाई के लेख्नुभएको हो थाहा भएन, तैपनि सम्हालेर राख्थेँ । पछि २०७८ चैत २८ मा त्यही डायरीबाट ‘यात्रा निरन्तर’ भन्ने किताब निस्किएको छ ।

खेतीकिसानी, मेलापात, छोराछोरी, श्रीमान्‌काे राजनीतिमा सहयोग गर्दागर्दै यो उमेरमा आइपुगेँ । त्यो समय अहिले सम्झिँदा कसरी बिते, कसरी गरेँ होला जस्तो लाग्छ । अहिले त समय पनि अर्कै भइसक्यो । अहिले धेरै सहज छ । छोराछोरी पनि हुर्के । बिहेदान भयो । सबैले आफ्नो सुखमय जीवन बिताइरहेका छन् ।

मलाई भने अब घुमफिर गरौँ न भन्ने बेलामा श्रीमान् बितेर जानुभो । उ बेला विदेश भनेर डेनमार्क गएका हौँ । अब उहाँसँग घुमफिर गरेको सम्झना मात्रै बाँकी छ ।

बिरामी हुँदा पनि श्रीमान्‌ले अक्सिजन लगाएर पाठ गर्ने, भगवान्‌काे जल खाने गर्नुहुन्थ्यो । मुक्तिनाथ जाँदा पनि अक्सिजन लिएर गएका थियौँ । बद्री केदार, कुरुक्षेत्र, वैष्णवको मन्दिर, रामेश्वर, हरिद्वार गयौँ । तीर्थ, व्रत सबै ठाउँमा गरियो । कुरुक्षेत्रमा सुन गाडे छोराछोरी उज्याला हुन्छन् भनेर सुन भाँचेर पोखरीभित्र फालेर आएँ ।

श्रीमान्‌ले जहिले पनि रातभरि डायरीमा कविता, चिठी, दैनिकीलगायत के के लेख्नुहुन्थ्यो । तर मलाई के लेख्नुभएको हो थाहा भएन, मलाई केही सुनाउनु पनि हुँदैनथ्यो । तैपनि सम्हालेर राख्थेँ । म पढ्न नजान्ने भएर उहाँले के लेख्नुभएको त थाहा पाउँदिनथेँ । पछि २०७८ चैत २८ मा त्यही डायरीबाट ‘यात्रा निरन्तर’ भन्ने किताब निस्किएको छ ।

सेन्ट्रल अस्पतालमा चेकजाँच गर्छु र फर्किंदा ‘आस्कोट’ पनि किन्छु भनेर घरबाट निस्किनुभएको थियो । अस्पतालमै भर्ना गरेर राखे त्यो दिन । त्यसपछि उहाँसँग मेरो भेटै भएन ।

हैदरावाद, भारतका चिन्न जियर स्वामीद्वारा वैष्णव मन्त्रबाट दीक्षित हुनुहुथ्यो श्रीमान् । जीवनको उत्तरार्धमा उहाँलाई भेट्ने इच्छा गर्नुभयो । त्यसैले उहाँलाई अक्सिजन नै लगाएर भारत लग्यौँ । कोभिड–१९ महामारीको समय थियो । श्रीमान्‌लाई पनि कोरोना लाग्यो । दमले पनि झन् च्याप्यो ।

दुर्गादेवीका श्रीमान् तिलकप्रसादको पुस्तक यात्रा निरन्तर विमोचनका क्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादव (अगाडि सेतो कपडा र ढाका टोपीमा) तथा पछाडि पट्टि दुर्गादेवी लगायत उहाँको परिवार ।

गाह्रो भएपछि चितवनको भरतपुर सेन्ट्रल अस्पतालमा उपचार गराउँदा निको भयो तर अक्सिजन भने छुटाउनै नहुने भयो । नियमित अक्सिजन लगाइरह्यौँ तर खाना खाए पनि शरीर कमजोर हुँदै गयो । एक्कासि उहाँको सास बढ्यो । त्यसपछि सेन्ट्रल अस्पतालमा चेकजाँच गर्छु र फर्किंदा ‘आस्कोट’ पनि किन्छु भनेर घरबाट निस्किनुभएको थियो । अस्पतालमै भर्ना गरेर राखे त्यो दिन । त्यसपछि उहाँसँग मेरो भेटै भएन ।

प्रकाशन मिति : २०८२ बैशाख ३ गते, बुधवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *