जनआन्दोलन–२०४६ को उत्कर्षका प्रत्यक्षदर्शीहरूमध्ये एक हुनुहुन्छ, कियोको ओगुरा । उहाँले अङ्ग्रेजी भाषामा अनुसन्धानमूलक पुस्तक ‘Kathmandu Spring: The People’s Movement of 1990’ लेख्नुभएको छ । सन् २००१ मा प्रकाशित सो पुस्तकको नेपाली अनुवाद सन् २००४ मा हिमाल एसोसिएसनले प्रकाशन गर्यो । नेपाली भाषामा ‘जनता जागेका बेलाः जनआन्दोलन २०४६ को इतिहास’ नाम दिइएको सो पुस्तकको अनुवाद मोहन मैनाली, रीता र शिवमाया मैनालीले गर्नुभएको हो ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको बारेमा विदेशी नागरिकले लेखेको यो पुस्तक त्यो बेला निकै चर्चित पनि भयो । २९ वर्षदेखि नेपाल बस्दै आउनु भएकी ओगुराले केही वर्ष पहिले नेपालको नागरिकता पनि प्राप्त गर्नुभएको छ ।
जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा प्रस्तुत छ, ‘काठमाडौँ स्प्रिङ’ अर्थात् ‘जनता जागेका बेला’ पुस्तकका लेखक कियोको ओगुरासँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र गार्डिका बज्राचार्यले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालमा भएको २०४६ सालको आन्दोलनको समयमा तपाईं नेपालमै हुनुहुन्थ्यो ?
म आन्दोलनको अन्तिम एक हप्ता बाँकी हुँदा आएकी थिएँ । म पर्यटकको रूपमा नेपाल आएकीे थिएँ । त्यो बेला म जापानबाटै प्रकाशित हुने एउटा म्यागाजिनको सम्पादक थिएँ । नेपालमा ठुलो आन्दोलन भइरहेको थाहा पाएँ । त्यही भएर एक हप्ताको बिदा लिएर नेपाल आएकी थिएँ । आन्दोलनको अन्तिम हप्ताको आन्दोलन देखेँ ।
आन्दोलनकै समयमा किन आउनुभयो ?
मलाई एउटा ‘नन–फिक्सन’ किताब लेख्ने मन थियो । म मासिक पत्रिकाको सम्पादक भएकाले मसँग समय पनि थियो । त्यही बेला ठुलो आन्दोलन भएकाले किताब निकाल्ने सोचले आएँ । पहिलो पटक ‘टुरिस्ट’ को रूपमा आएको भएर एक हप्तामै फर्कें । त्यसपछि फेरि आएर ‘रिसर्च’ गरेर धेरै जनासँग कुरा गरेर उनीहरूको ‘टेस्टिमोनी’ को आधारमा कुनै ऐतिहासिक घटनाबारे किताब निकाल्ने सपना थियो । त्यस्तै किताबको लागि लेख्न सकिन्छ कि भनेर आएकी थिएँँ ।
आन्दोलन भइरहँदा तपाईं फिल्डमै हिँड्नु हुन्थ्यो ?
फिल्डमै हिँड्थेँ । म आएपछि पनि विभिन्न घटना भए । पाटन, कीर्तिपुरतिर जुलुसहरू निस्कन थाले । म लाजिम्पाटको एक होटलमा बसेकी थिएँ । आन्दोलन भइरहँदा कहिले कता कहिले कता हिँडिरहेकै हुन्थेँ ।
आन्दोलनमा महिलाहरू कत्तिको देखिन्थे ?
म कुनै पनि ठाउँमा महिला वा पुरुष भनेर त हेर्दिनँ तर आन्दोलनमा महिलाहरू पनि देखिन्थे । धेरै कुरा त बिर्सिसकेँ तर पाटनतिर, भित्री गल्लीतिर जुलुसहरू हुँदा महिलाहरू देखिन्थे । कतै चाहिँ जुलुसहरूलाई पानी खान दिने, खानेकुराहरू दिने गरेको पनि देखिन्थ्यो । आन्दोलनको बारेमा ‘क्युरिसिटी’ बढी थियो मलाई ।
त्यस्तो आन्दोलन देख्दा कस्तो लाग्थ्यो ?
त्यो एउटा ऐतिहासिक आन्दोलन हो । मलाई लागेको त्यो जनआन्दोलनको मुख्य विशेषता भनेको काठमाडौँ उपत्यकाकै स्थानीय समुदाय तहका मानिसहरू आन्दोलनमा धेरै निस्किएका थिए । डरभन्दा ‘क्युरिसिटी’ बढी थियो । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दा आन्दोलनमा बढी उत्रिए । त्यो आन्दोलनपछि परिवर्तनका लागि भनेर अरू थुप्रै खालका आन्दोलन भए । जनजाति, थारू, मधेशी समुदायलगायतले पनि आन्दोलन गर्न थाले । त्यो आन्दोलनपछि यस्तै धेरै परिवर्तनहरू हुँदै आएको छ ।
आन्दोलनको नेतृत्व गर्ने कस–कसलाई भेट्नुभयो ?
मैले गणेशमान सिंहलाई भेटेँ । त्यो आन्दोलनको सुप्रिम लिडर गणेशमान थिए । त्यही भएर उहाँलाई वीर अस्पतालमा गएर भेटेकी थिएँ । पछि किताब लेख्ने बेलामा त धेरै नेताहरूसँग भेटेर कुरा गरेकी थिएँ ।
किताब लेख्ने सोचेर आउनुभएको थियो तर किताब प्रकाशन हुँदा त आन्दोलन सकिएको १० वर्ष भइसकेको थियो नि ?
त्यो बेला म जापानमै सम्पादक थिएँ । त्यो भएर पूरा समय दिन सक्दिनथेँ । अर्को कुरा रिसर्च गर्न, मान्छेहरू भेट्न पनि समय लाग्यो । पछि नेपाल आएर त्रिभुवन विश्वविद्यालयको सिनासमा बसेर रिसर्च गरेँ । आन्दोलन भएका ठाउँहरू सिराहा, जनकपुर, झापा, मोरङको विराटनगर गएँ । काठमाडौँ उपत्यकामा कीर्तिपुर, भक्तपुरतिर पनि मान्छे भेट्नका लागि हिँडे । एक हजार जनाभन्दा बढी मानिसलाई भेटेर कुरा गर्न र त्यही कुराको आधारमा लेख्न पनि समय लाग्यो ।
‘काठमाडौँ स्प्रिङ’ अहिले सम्झिँदा के–कस्तो लाग्छ ?
धेरै कुरा बिर्सिसकेँ, पुरानो काम भयो । धेरै समय लगाएर लेखेको हो । घटनाको हिसाबले, राजनीतिक परिवर्तनको हिसाबले धेरै ठुलो घटनाक्रम हो, यो एउटा ऐतिहासिक हो । अरू आन्दोलनहरू पनि मैले नेपालमै बसेर हेरेकी छु । ‘नन–फिक्सन’ किताब लेख्ने रहर पनि थियो, त्यो पूरा भयो । तर, धेरै भएर होला, त्यो किताबमा भएका अथवा २०४६ सालको आन्दोलनको धेरै कुरा बिर्सिसकेँ । मलाई पुराना कुरा सम्झिरहनुभन्दा पनि नयाँ अब के गर्ने भन्नेतिर बढी सोच्नुपर्छ जस्तो लाग्छ ।
‘काठमाडौँ स्प्रिङ’ बाहेक नेपालका बारेमा अरू किताब पनि लेख्नुभएको छ ?
लेखेकी छु । २०६२/६३ सालको जनआन्दोलनको बारेमा पनि किताब लेखेकी छु । त्यो किताबमा पञ्चायतकालदेखि राजसंस्था गएको घटनासम्मको बारेमा लेखेकी छु । जापानी भाषामा भएको त्यो किताबमा त्यो एउटा आन्दोलनको मात्रै भन्दा पनि नेपालका मुख्य मुख्य ऐतिहासिक राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियाको बारेमा लेखेकी छु । नेपालका बारेमा अरू रिसर्च पेपर र रिसर्च आर्टिकलहरू धेरै छन् ।
अहिले के गर्दै हुनुहुन्छ ?
मैले अहिले पत्रकारिता र लेखनको काम छाडेकी छु । कतै मिडियामा नलेखेपछि म आफूलाई पूर्वपत्रकार भन्छु । हिजोआज लेख्न मन पनि लाग्दैन तर किताबहरू पढ्छु । केही वर्षअघि जापानमै गएर अकुपङ्चर विषय पढेँ, जापान सरकारबाटै लाइसेन्स लिएर नेपाल आएँ र नेपाल सरकारबाट पनि लाइसेन्स लिएर हाल अकुपङ्चर क्लिनिक खोलेकी छु । यो सेवाको लागि गरेको काम हो । व्यापारिक उद्देश्यले होइन ।
सन्धान, प्रकाशन मिति २०७८ चैत २६ गते शनिबार