Home Photo Feature स्नातक तहमा दीक्षित हुँदाको रमाइलो सम्झना

स्नातक तहमा दीक्षित हुँदाको रमाइलो सम्झना

656
0

‘फोटो कथा’

महिलाले सार्वजनिक क्षेत्रमा गरेका परिवर्तनका प्रयास, विभिन्न आन्दोलन र योगदानलाई ‘सन्धान’ वेब पोष्ट मार्फत प्रकाशन/प्रसारण गरिँदै आएको छ । यस क्रममा हामीले ऐतिहासिक महत्वका तस्बिरहरूलाई ‘फोटो कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गर्दै आएका छौँ । यस शृङ्खलामा आज अधिकारकर्मी यशो कान्ति भट्टचनबाट प्राप्त एउटा तस्बिरलाई लिइएको छ ।

यशो कान्ति भट्टचन नेपालको आदिवासी जनजाति आन्दोलन र त्यो आन्दोलन भित्र पनि आदिवासी महिलाको सवालमा चार दशक भन्दा अघिदेखि क्रियाशील व्यक्तित्व हुनुहुन्छ । ऐतिहासिक थातथलो मुस्ताङ जिल्लाको थासाङको सौरु गाउं भएको वहाँको जन्म बाग्लुङमा भएको थियो । राजधानी काठमाडौँमा आएर उहाँले सेण्ट जोसेफ स्कूलमा ८ कक्षा सम्म, र नौ कक्षादेखि महेन्द्र भवन स्कुलमा पढ्ने अवसर पाउनु भयो । त्यहीँबाट २०३१ सालमा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या क्याम्पसमा पढ्न थाल्नुभयो र त्यहीँबाट आईए, स्नातक, स्नातकोत्तर तह र महिला विषयक अध्ययनमा पोष्ट ग्राजुयट डिप्लोमाको परीक्षा उत्तीर्ण गर्नुभयो ।

स्नातक तह पास गरेपछि त्रिभुवन विश्वविद्यालयबाट आयोजित दीक्षान्त समारोहमा उहाँले भाग लिनुभयो । त्यति बेला महिला साथीहरूसँग खिचिएको एउटा सामूहिक तस्बिरमा उहाँ देखिनुहुन्छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी संस्थापक सदस्य र सल्लाहकार, तथा हाल राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्तिसँग सोही तस्बिरका माध्यमबाट उहाँको व्यक्तिगत जीवन र तत्कालीन शैक्षिक तथा सामाजिक सन्दर्भलाई जोड्ने प्रयास गरिएको छ । प्रस्तुत छ, यशो कान्ति भट्टचनसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले कुराकानी गरी तयार गर्नुभएको ‘फोटो कथा’ :

पृष्ठभूमि

म जन्मेको जिल्ला त बागलुङ हो तर पढ्नकै लागि हामीलाई काठमाडौँ ल्याउनुभयो, आमा बाले । यो २०२६ सालतिरको कुरा हो । सात कक्षामा पढ्दै गर्दा काठमाडौँ ल्याएर पढाउन थाल्नुभयो । हाम्रो मूलघर थासाङ भए पनि बाजेबज्यै र आमाबुबा बागलुङमा बसाइँ सरेर स्थायी बसोबास गर्नुहुन्थ्यो । त्यसबेला बागलुङबाट तीन दिन हिँडेर पोखरा पुगेर पोखराबाट प्लेन चढेर काठमाडौँ आइपुगेको थिएँ ।

काठमाडौँ आएपछि बागलुङमा सात कक्षामा पढ्दै गरेकोलाई सेण्ट जोसेफ स्कूलमा पाँच कक्षामा भर्ना गर्दिनुभयो । पछि महेन्द्र भवन स्कुलमा नौ कक्षामा भर्ना गरिदिनुभयो । महेन्द्र भवन केटीहरू मात्रै पढ्ने स्कुल हो । त्यहीँ पढेर २०३१ सालमा एसएलसी पास गरेँ । मेरो बुबा ओमकारप्रसाद गौचन लामो समय राष्ट्रिय पञ्चायतको सदस्य, तथा राज्यमन्त्री हुनुभएको थियो भने समाजसेवी, फिलाटेलिक र थकाली भाषा तथा इतिहासको अध्येता पनि हुनुहुन्थ्यो । त्यही भएर हामी चार दिदीबहिनी र एक जना भाइ सबैलाई पढाउनुभयो । उहाँ २०४६ सालको जनआन्दोलनपछिको पहिलो आमनिर्वाचनमा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ पोहोर (२०८० भदौमा) बित्नुभयो ।

शिक्षा, समाज र मेरो सक्रियता

म एसएलसीपछि पद्मकन्या क्याम्पसमा भर्ना भएँ । हामी काठमाडाैँ महाबौद्ध र पछि ललितपुरको हरिहर भवनमा बस्थ्यौँ । पदम कन्या क्याम्पस काठमाडौँको बागबजारमा थियो । साझा बस चढेर क्याम्पस पुग्थ्यौँ । साझा बसभाडा २५ पैसा लाग्थ्यो । क्याम्पसमा आफ्नो थकाली समुदायका विद्यार्थी छन् कि भन्ने चासो लाग्थ्यो । मलाई पहिलादेखि नै आदिवासी जनजाति अझ थकाली समुदायको बारेमा चासो लाग्थ्यो । तर क्याम्पसमा आदिवासी जनजाति केटीहरूको सङ्ख्या कम हुन्थ्यो । मैले स्नातकोत्तर तह अध्ययन पुरा गर्दासम्म पनि थकाली समुदायका केटी त्यो क्याम्पसमा भेटिनँ । अलि पछि त हामी भन्दा पनि पछिल्लो पिँढीका बहिनीहरू आउन थाले । समकक्षी साथीहरूमा नेवार बढी हुनुहुन्थ्यो । काठमाडौँ नेवार समुदायको बाहुल्य रहेको ठाउँ भएर पनि होला । आदिवासी अन्य जातिका छात्राहरू फाट्टफुट्ट मात्र हुन्थे ।

म २०३४/३५ सालतिर पद्मकन्यामा होम साइन्स (गृहविज्ञान) विषय लिएर स्नातक तहमा पढ्थेँ । यो छात्राहरू मात्र अध्ययन गर्ने क्याम्पस हो । आजभन्दा ४५/४६ वर्षअगाडि अहिले जस्तो विद्यार्थी धेरै हुँदैनथे । विभिन्न कारणले गर्दा स्नातक तह सकिनेबित्तिकै दीक्षित हुन पाएको थिइनँ । २०३८ सालमा म स्नातकोत्तर तह पहिलो वर्ष पढ्न थालेपछि बल्ल स्नातक तहको दीक्षित भएँ । यो दीक्षान्त समारोहमा सहभागी हुने क्रममा लिइएको फोटो हो । अहिले जस्तो फोटो खिच्न सजिलो थिएन । दीक्षान्त समारोह भएकाले साथीसाथी मिलेर खिचेका थियौँ । दीक्षान्त समारोह दशरथ रङ्गशालामा भएको थियो । त्यहाँ दीक्षित हुनेहरू भरिभराउ हुन्थे । म २६ वर्षको थिएँ होला, दीक्षित हुँदा । दीक्षान्तमा गाउन र टोपी लाउने अनि फोटो खिच्ने रहर खुबै हुन्थ्यो । त्यो समयमा कलर फोटो हुँदैन थियो । सादा नै फोटो भए पनि खिचाउने रहर भने उस्तै हुन्थ्यो ।

दीक्षान्त समारोहमा दीक्षित साथीहरूसँग लिइएको फोटोमा भएकाहरू क्रमशः दायाँबाट निर्जा श्रेष्ठ, अनिता प्रधान, म, रविना वैद्य, रत्नबाबा तण्डुकार, जयन्ती गुरुङ हो । निर्जा श्रेष्ठको निधन भइसक्यो । पछाडि भएकोहरू समा शाही, जयन्ती प्रधान, निर्मला शर्मा, मीना शर्मा हुन् । उनीहरू हाल कोही विदेश, कोही स्वदेश मै छन् । अहिले त पढ्ने ठाउँमा, दीक्षान्त समारोहहरूमा छात्र र छात्रा बराबरी हुन्छन् । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह त अहिले पनि दशरथ रङ्गशाला मै हुन्छ । त्यो बेला केटीहरू एकदमै कम हुन्थे । २५ प्रतिशत जति हुन्थे कि ! म पढ्दा हाम्रो क्याम्पसमा स्नातकोत्तर तहमा १०८ जना विद्यार्थी थिए । त्यो बेला सारै रमाइलो थियो । परीक्षाफल प्रकाशित भएपछि क्याम्पसको भित्तामा टाँसेको हुन्थ्यो । जम्मा सात–आठ जना मात्रै पास हुन्थे । म राम्रै पढ्ने विद्यार्थी थिएँ । त्यसैले पास हुन्थेँ । त्यसरी पढ्दापढ्दै आदिवासी जनजाति आन्दोलनमा लागेँ । क्याम्पस पढ्दै गर्दा २०३४ सालमा थकाली युवा परिवार स्थापना गर्‍यौँ । म संस्थापक सचिव भएँ । जनजाति अधिकारको आन्दोलन त्यही बेला सुरु भयो भन्ने लाग्छ । त्यसपछि निरन्तर रुपमा आदिवासी जनजाति तथा जनजाति महिलाको अधिकारको आन्दोलनमा सक्रिय छु । आदिवासीको सामुहिक अधिकार, आदिवासी महिलाको अधिकार, भूमि, भूभाग तथा स्रोत माथि आदिवासीको संरक्षकत्व, जलवायु न्याय, लैङ्गिक न्याय लगायत अधिकारको आन्दोलनमा यसरी सक्रिय भएको चार दशकभन्दा बढी भयो ।

अहिले दीक्षान्त समारोहको त्यो फोटो हेर्दा याद भयो, त्यस बेला एमए पढौँला, जागिर खाउँला भन्ने सोच थियो । आदिवासी जनजातिको अधिकारको लागि जागिर नखाएर जीवनभर समय दिन्छु भन्ने सोच खासै थिएन । आफुले पढेका विषयहरू खुबै काम लाग्छ जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा पढाउने कुरा पढाएको रहेनछ, नपढाए पनि हुने कुरा धेरै पढाएछन् भन्ने लाग्छ । स्नातकोत्तर तहसम्मको अध्ययन गर्दा लैङ्गिक, आदिवासी, दलित, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको कुरा तथा भाषा, भुमि, संस्कृति, आत्मनिर्णय, पर्यायवरण आदिका अवस्था, सवाल, अधिकार, आन्दोलन आदि बारे पाठ्यक्रममा नाम निशाना हुँदैनथ्यो । यस्ता कुरा त पढेर होइन परेर सिकियो । त्यसबेला नै कक्षा कोठामा यस्ता सवालमा पढ्न, छलफल गर्न तथा अनुसन्धान गर्न पाएको भए कति अर्थपूर्ण हुन्थ्यो होला भन्ने लाग्छ ।

प्रकाशन मिति : २०८१ कात्तिक २८ गते, बुधवार