यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ बताउनुहुन्छ । उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिआइक्यू) समुदायको क्षेत्रमा काम गर्नुभएको दुई दशकभन्दा बढी भइसकेको छ । २०५९ सालमा नील हिरा समाजसँग जोडिएकी उहाँ अहिले यही समुदायको अधिकारका लागि काम गर्ने संस्था ‘साहसिक कदम नेपाल’ रूपन्देहीकी अध्यक्ष हुनुहुन्छ । आफ्नो पहिचानको सङ्घर्षदेखि जिन्दगीका धेरै उकालीओराली पार गरेकी आनिकले एचआइभी एड्सलाई जित्नुभएको छ अनि उहाँ क्यान्सरसँग सङ्घर्ष गर्दै काम गरिरहनुभएको छ । आफ्नोे प्रेरणाको स्रोत आफ्नै समुदाय रहेको बताउने उहाँसँग आफ्नोे पहिचानमा चिनिन लागेपछि आफ्नै परिवारले बहिष्कार गरेको पीडा पनि छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि क्रियाशील आनिकसँग ‘सन्धान’ का लागि सम्झना विकले २०८१ साउन २९ गते रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–३ स्थित उहाँकै कार्यालयमा भेटेर कुराकानी गर्नुभएको थियो । कुराकानी आनिकको जीवनभोगाइका सङ्घर्ष, चुनौती र सफलतामा केन्द्रित थियो । प्रस्तुत छ, ‘सन्धान’ का लागि पत्रकार सम्झना विकले यमबहादुर राना अर्थात् आनिकसँग गर्नुभएको सोही कुराकानीको सार :
तपाईंको बाल्यकालको स्मरण गरिदिनुस् न !
मेरो बाल्यकालको नाम यमबहादुर राना हो । मेरो जन्म २०३८ साल माघमा साबिकको करहिया गाविस वडा नम्बर ८ ज्योतिनगर हालको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा भएको हो । मेरो बाल्यकाल निकै कष्टकर रूपमा बित्यो । मेरो बाबा भारतीय सेनामा हुनुहुन्थ्यो । उहाँका दुई श्रीमतीमध्ये मेरो आमा कान्छी हुनुहुन्थ्यो । म आमाबाबाको एक्लो सन्तान हुँ । निम्नमध्यम वर्गको परिवार भए पनि (मलाई) बोर्डिङ स्कुलमा पढाउनुभएको थियो । सानोमा उहाँहरूबाट पाउने माया पाएँ तर दिन सधैँ एकनास नहुने रहेछ । ११ वर्षको हुँदा आमाको काख छुट्यो । आमा बित्नुभयो । त्यसपछि बाबाको जेठी श्रीमती (सौतेनी आमा) सँग बसेँ । केही समय राम्रै व्यवहार भए पनि बिस्तारै उहाँको व्यवहारमा परिवर्तन हुँदै गयो । मेरो आमातर्फ म मात्र थिएँ भने सौतेनी आमातिर दुई छोरा र एक छोरी थिए । म एक्लो भएकाले उनीहरू सबै भएर मलाई हेप्थे । आमा बितेको छ महिना नबित्दै बाबालाई पक्षाघात भयो । उहाँ ओछ्यान पर्नुभयो । त्यसपछि त झन् ममाथि यातना नै सुरु भयो । ममाथि भएको शारीरिक, मानसिक यातनाको प्रत्यक्षदर्शी मात्र हुन सक्नुहुन्थ्यो बाबा । त्यति हुँदा पनि बुबाले १० कक्षासम्म बोर्डिङमै पढाइदिनुभयो । म घरमा एकदमै लजालु । नबोल्ने खालको थिएँ तर बाहिर साथीहरूसँग मिलनसार, ऊर्जाशील थिएँ । मेहनत गरेर पढ्थेँ । मेरा साथीहरू सबै केटीहरू नै थिए । मलाई सानैदेखि केटासँग साथी बन्न डर लाग्थ्यो ।
आफू पुरुषभन्दा फरक छु भन्ने अनुभूति कहिले भयो ?
मलाई कक्षा ८ मा पढ्दादेखि नै म अरूभन्दा फरक छु भन्ने लाग्थ्यो । किन यस्तो भएँ ? यस्तो हुनु भनेको के हो ? थाहा थिएन । फ्यामिली हेल्थ इन्टरनेशनल भन्ने संस्थामा काम गर्दा नील हिरा समाजको बारेमा थाहा पाएँ । त्यो समाजसँग नजिक हुन पाएँ र आफू को हुँ भन्ने थाहा भयो । त्यसैले अहिले म ट्रान्स महिला हुँ तर मैले सर्जरी गरेको छैन । मभित्र फेमिनिस्ट आइडोलोजी छ । मेरा छोरीहरूले मलाई आमा भनेर बोलाउँछन्, म आमा हुँ ।
तपाईं ट्रान्स महिलाको रूपमा कहिलेदेखि खुल्न थाल्नुभयो र खुलेपछिका चुनौती कस्ता थिए ?
म २०५४ सालमा पहिलो पटक समाजमा खुलेर बाहिर निस्किएँ । यो २६/२७ वर्षअघिको कुरा हो । म कक्षा १२ मा पढ्दै थिएँ । मैले आफ्नोे परिचय खुलाएको दिन आफ्नो घरमा बस्ने अन्तिम दिन भयो मेरो लागि । परिवारले मलाई घरबाट निकालिदिए । घरबाट निकालिएपछि समाजले त स्विकार्ने कुरै थिएन । म घरबाट निस्किएँ, मेरो कुनै गन्तव्य थिएन । कहाँ जाने ? कहाँ बस्ने ? के खाने ? केही अत्तोपत्तो थिएन । एक कप चिया र एक पिस पाउरोटी खाएर तीन दिन तीन रात बिताएको छु । तीन रात त म बुटवलको सडकमै सुतेँ । त्यसपछि एक जना साथीले मलाई बोलाउनुभयो, जहाँ म जस्तै धेरै साथीहरू रहेछन् । उनीहरूले नै मलाई बस्न–खान दिए । एउटा होटलमा भाँडा माझ्ने काम पनि गरेँ । कपडा पसलको कपडाको भारी बोक्ने, अरूको घरमा सरसफाइ गर्नेदेखि तीन वर्ष जति त यौन व्यवसाय पनि गरेँ । यौन व्यवसाय गर्नु मेरो बाध्यता थियो । यौन व्यवसाय गर्दा हरेक कदममा हिंसा खेप्न पर्यो, शारीरिक, मानसिक र भावानात्मक रूपमा । बाध्यताले ‘सेक्स वर्कर’ को काम गर्दा म एचआइभी सङ्क्रमित पनि भएँ । ‘सेक्स वर्कर’ को जीवन पनि सारै कष्टले बित्यो । अपमान र हेपाइ त कति भोगेँ कति !
केही वर्षपछि यो काम छोडेँ । जसले मलाई त्यस्तो काम छोडाउनुभयो, उहाँ अझै पनि मसँग हुनुहुन्छ, मेरो शुभचिन्तकको रूपमा । म उहाँको नाम गोप्य राख्न चाहन्छु । उहाँले मलाई त्यो दलदलबाट बाहिर निकालेर एउटा कोठा खोजेर राखिदिनुभयो । मलाई उहाँको मद्दत हुन्थेन भने म अहिले यस्तो अवस्था र जीवनशैलीमा हुने थिइनँ । उहाँले नै मलाई बुटवलको वुमन एक्टिङ टुगेदर फर चेन्ज (वाच) भन्ने संस्थामा काम लगाइदिनुभयो । यस संस्थाले एचआइभी एड्स रोकथामका लागि काम गर्ने गर्थ्याे ।
त्यति बेला एचआइभी एड्सलाई लिएर समाजमा ठुलै डर थियो । एड्स लागेकालाई दुव्र्यवहार गरिन्थ्यो । मलाई डाक्टरले स्वास्थ्यजाँचको रिपोर्ट दिँदा त हातमा नदिएर मेरो अगाडि फाल्दिएका थिए । त्यो भएपछि डाक्टर, नर्स र साथीहरू पनि मसँग डराए । सँगै बस्ने साथीले थाहै नदिई कोठा छोडेर गयो । औषधि लिन जाँदा पनि ढाँटेर जान्थेँ । तर, जस्तोसुकै अवस्थामा पनि आफूलाई टुट्न दिइनँ । आफ्नो जस्तै अवस्था अरूलाई नआओस् भनेर काम गरिरहेँ ।
अभियानको बारेमा कुरा गरौँ । तपाईंले कहिलेदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि काम गर्न थाल्नुभयो ? र, कसरी काम गरिरहनुभएको छ ?
मैले २०५९ सालदेखि काम गरेँ । त्यति बेला नील हिरा समाजसँग आबद्ध भएर काम गरेँ । २०७६ चैत ४ गते म अध्यक्ष रहने गरी ११ जना मिलेर ‘साहसिक कदम नेपाल’ नामक संस्था खोल्यौँ । संस्थामा लुम्बिनी प्रदेशभरिका तीन सय जना सदस्य हुनुहुन्छ । १० जना कर्मचारी हुनुहुन्छ भने बोर्डमा नौ जना सदस्य छौँ । हाम्रा मुख्य एजेन्डामा पहिचान, समावेशी, समानता र समता रहेका छन् । संस्था दर्ता गरेको लगत्तै कोरोनाकाल सुरु भयो । संस्थाको अफिस घरमै राखेर काम गरियो । यो मेरो घरबाटै सुरु गरेको संस्था हो । यो संस्था जन्माउनु मेरो सपना थियो । मेरो सपनामा मलाई साथ दिन अरू आउनुभयो । लकडाउनको समयमा हामीले खासै केही गर्न सकेनौँ । पछि युएन वुमनको सहयोग आयो । हामीले तिलोत्तमा नगरपालिकाभित्रका २५० जनालाई राहत वितरण गर्यौँ । दाल, चामल मात्र होइन, मोबाइल र सिम, ग्यास चुलो आदि जहाँ जे आवश्यक छ, त्यहीअनुसार सहयोग गर्यौँ । लकडाउनकै समयमा कति जना ट्रान्सजेन्डर साथीहरू घरबाट लखेटिए । कतिले आत्महत्या गर्नुभयो । साथीहरू डान्सबारमा नाच्थे । लकडाउन भएपछि बार चलेन भनेर निकालिए ।
मेरो मुख्य काम ‘एड्भोकेसी’ र शिक्षा हो । रूपन्देहीमा के परिवर्तन ल्यायाैँ भने हाम्रो समुदायका व्यक्तिहरूलाई केही छुटमा पढ्न पाउँने ब्यवस्था मिलाउँदै छाैं । एक जना बेलायतमा पढ्नका लागि पुगेकी छन् । एक जना काठमाडौँमा फेसन डिजाइनिङ पढ्दै छिन् । तिलोत्तमा नगरपालिकामै भएको क्रिमसन अस्पतालमा हामीलाई उपचार खर्चमा २० प्रतिशत छुटका लागि सम्झौता भइसकेको छ । यसरी हामीले हाम्रो समुदायका व्यक्तिहरूको आवश्यकता पहिचान गरी आवश्यकताअनुसार सहयोग र समन्वय गर्दै आएका छौँ ।
संस्थाले अरू के कस्ता कार्यक्रम गर्छ ?
पहिलो त ‘साइकोसोसल काउन्सिलिङ’ गर्छ । ‘मेन्टल हेल्थ’ मा पनि काम गर्छ । हरेक वर्ष गर्ने कार्यक्रम भनेको ‘मिस डायमन्ड नेपाल’ हो, जहाँ नेपालभरिका सबै ट्रान्स वुमन आउँछन् । हामी कुनै पैसा लिँदैनौँ । ‘मिस डायमन्ड नेपाल’ मा सुन्दरी प्रतियोगिता कम र उहाँहरूको व्यक्तित्व विकासमा बढी काम गर्छौं । ‘मेकअप आर्टिस्ट’, ‘डिजाइनर’ सबै हाम्रै समुदायका छन् । हाम्रो २०२२ को विजेता प्रनिशा थापा रोडिजको फाइनलमा टप ६ मा पुग्नुभएको थियो ।
विगत र वर्तमानलाई केलाउँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अवस्थामा कस्तो परिवर्तन आएको छ ?
अहिले त धेरै परिवर्तन आएको छ । हिजोको दिनमा खुलेर आउन नसक्नेहरू अहिले खुलेर आफ्नो पहिचान बताउन सक्ने भएका छन् । मेरा छोरीहरूले जिन्दगीमा धेरै राम्रो काम गरेका छन् तर परिवारले गर्ने तिरस्कार अझै पनि उस्तै छ । हिंसा, कुटपिट, बहिष्कार, बेरोजगार, नागरिकताको लागि सकस, नागिरकको दर्जा नपाउने जस्तो स्थिति पहिले पनि छ । मेरा धेरै छोरीहरू छन् । म उनीहरूलाई यहीँ पहिले आफूलाई चिन्न अनि आफ्नोेबारे बोल्न सक्ने हिम्मत राख्न सिकाउँछु । यो अन्तर्वार्तामार्फत पनि म मेरा छोरीहरूलाई यही भन्न चाहन्छु । हामीले आफ्नो लागि बोल्नुपर्छ । हामी पहिचान र स्वीकारको लडाइँमा छौँ भने पितृसत्तात्मक समाजसँग पनि जुध्दैछौँ । हामी को हौँ र हाम्रो पहिचान के हो भनेर हामीले समाजलाई बुझाउनुपर्छ । यसमा महिला र पुरुषको पनि सहयोग चाहिन्छ । सकारात्मक सोच राख्नुपर्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भन्नेबित्तिकै ‘यौन व्यवसाय गर्छन्’ भन्ने बुझाइ छ । कतिपय यस समुदायकै व्यक्तिले ‘जबर्जस्ती हामीलाई यौन पेसामा धकेल्ने गरिएको छ’ पनि भन्ने गरेका छन् । खास कुरा के हो ? यो समुदाय र यौन व्यवसायबारे के भन्नुहुन्छ ?
हामीलाई जहिले पनि रमाइलो गर्ने व्यक्तिको रूपमा मात्रै हेरिन्छ । समाजले हामीलाई राम्रो काम गर्न मौका नै दिँदैन । राम्रो भनिने काम जति महिला र पुरुषले मात्र गर्ने हो, हामीले चाहिँ शरीर बेच्ने भन्ने जुन भाष्य छ, त्यो एकदमै गलत छ । अवसर पाए हामी पनि कम छैनौँ । सम्मानजनक काम हामी पनि गर्न चाहन्छौँ तर खै कहाँ पाइन्छ ? राम्रो काम नपाएपछि जीवन धान्नकै लागि कतिपय यौन पेसामा लाग्न बाध्य भएको त सत्य हो । हाम्रो अवस्था र बाध्यता सबैले बुझ्न जरुरी छ ।
पहिचानमा आधारित नागरिकता बनाउन पनि समस्या छ कि के छ ?
समस्या भएको, शतप्रतिशत सत्य हो । मैले पनि आफ्नो नागरिकता बनाउन जाँदा धेरै दुःख पाएँ । मेरो पुरुषको नाममा नागरिकता २०६२ सालमै बनेको थियो । २०७० सालमा पहिचानसहितको नागरिकता बनाउन खोजेँ तर मलाई तेस्रो लिङ्गी हो भन्ने प्रमाण डाक्टरबाट ल्याउन भनियो । कहिले १० जनाको अगाडि नाङ्गिनुपर्छ, उनीहरूले तेस्रो लिङ्गी हो भनेपछि मात्र नागरिकता पाइन्छ, नत्र पाइँदैन भनियो । म त्यही बेला नेपाल हेल्थ रिसर्च काउन्सिल हुँदै गृह मन्त्रालय अनि सर्वोच्च अदालतसम्म गएँ । २०७० सालमै तत्कालीन ७५ वटै जिल्लाका सिडिओलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा केस (रिट) हालेँ । दुई वर्षको सङ्घर्षपछि २०७२ साल माघ १० गते सर्वोच्चको फैसला आयो । मैले केस जितेँ र पुरुष भएको ठाउँमा लिङ्ग ‘अन्य’ भएको नागरिकता बन्यो । नागरिकताको अधिकार आधारभूत र प्रमुख अधिकार हो ।
तपाईंको विचारमा उठाउनुपर्ने अरू मुद्दा पनि केही छन् कि ?
अर्को मुद्दा भनेको लिङ्ग परिवर्तनको हो । लिङ्ग परिवर्तन गर्ने हो भने २५–३० लाख रुपैयाँ लाग्छ । त्यति खर्च गर्ने क्षमता सबैको छैन । नेपालमा यस प्रकारको सर्जरीसम्बन्धी व्यवस्था छैन । कि थाइल्यान्ड कि भारत जानुपर्छ । त्यो खर्च कसले दिने ? यस्तै मुद्दाहरूमा काम गर्दै आएका छाैँ ।
राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि छ । बहस पनि भइरहेको छ । यो समुदायको सहभागिताको अवस्था कस्तो छ ?
प्रतिनिधित्व त शून्य छ । कुन ठाउँमा देख्नुभएको छ हाम्रो उपस्थिति ? हामीलाई प्रयोग मात्र गरिन्छ । बोल्नको लागि बोलिन्छ तर व्यवहारमा गरिँदैन । हामी परापूर्वकालदेखि नै सबैको प्रयोग गर्ने वस्तु मात्र भएका छौँ । चलचित्रमा प्रयोगकै कुरा गरौँ । चलचित्रमा हामीलाई हास्य पात्रको रूपमा राखिन्छ वा हिरो हिरोइनको मिलन गराइदिने रोलमा राखिन्छ, जहाँ हाम्रो हल्का प्रस्तुति देखाइन्छ । पुरुषहरूले एकदमै भद्दा मेकअप गरेको तथा छुट्टै खालको हाउभाउ गरेको भूमिकामा देखाएर हामीलाई मजाक बनाइन्छ । त्यसैले यस्तो चलचित्र नबनेकै राम्रो हुन्छ । चलचित्रका कथामा राख्ने भए हामीले समाज रूपान्तरणका लागि गरेको काम, हाम्रो सङ्घर्ष जस्ता कुराहरू आउनुपर्छ । सङ्घीय, प्रदेश, स्थानीय सरकारदेखि परिवारले समेत हामीलाई उपेक्षा गर्दै आएका छन् । यति हुँदाहुँदै पनि हाम्रो अविराम सङ्घर्षपछि अचेल केही सन्तोक मिल्न थालेको छ । लुम्बिनी प्रदेशले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका लागि निजामती सेवा ऐनमा एक प्रतिशत कोटाको व्यवस्था गरेको छ । (‘प्रदेश निजामती सेवा ऐन, २०८०’ मा ‘प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये उनान्पचास प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत’ मान्ने व्यवस्था गरी विभिन्न समूहका लागि प्रतिशत निर्धारण गरिएको छ । त्यसमध्ये यौनिक तथा अल्पसङ्ख्यकका लागि एक प्रतिशत कोटा छुट्याइएको छ । –सं.) हाम्रो छ वर्षको होमवर्क र एड्भोकेसीले यो कानुनमा लेखिन लागेको हो । यी खुसीका कुरा हुन् ।
जीवनमा फरक पहिचानले सिर्जना गरेका परिस्थितिको लामो अनुभव सँगाल्नुभएको छ । आउँदा दिनमा के कसरी अगाडि बढ्न चाहनुहुन्छ ?
मेरो जिन्दगीको कथा धेरै दुःखसुखले भरिएका छन् । आँसु, हाँसो कस्तो हुन्छ भोगेकी छु । तिरस्कार र सम्मानको स्वाद पनि पाइसकेको छु । सबैभन्दा ठुलो र महत्त्वपूर्ण कुरो कानुन बनाउनु रहेछ । कानुन छैन भने हुनुपर्ने काम पनि हुँदैन । त्यसैले म कानुन बनाउने ठाउँमा पुग्न चाहन्छु । त्यो भनेको संसद् हो । मेरो मिसन २०८४ को प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने छ । प्रदेश सांसद हुने मेरो सपना छ । अहिलेसम्म कुनै राजनीतिक पार्टीमा त छैन तर चाँडै कुनै एक पार्टीसँग जोडिने छु ।
तपाईं सक्रिय भएर समुदायको हकहितमा काम गर्दै आउनुभएको छ । क्यान्सरसँग पनि लडिरहनुभएको रहेछ । काम र स्वास्थ्यलाई सँगसँगै मिलाएर ल्याइरहनुभएको छ ? यस्तो कसरी सम्भव भयो ?
मलाई मेरो पोजेटिभ सोच भएकाले यो सम्भव भएको हो भन्ने लाग्छ । मैले त्यति बेला भयानक मानिएको एचआईभीलाई जितेँ । त्यति बेला पनि मैले केही गर्नु छ भनेर आफ्नो मनोबल उच्च राखेँ र मेरो समुदायको लागि केही गर्नुछ भन्ने सामूहिक भावनाले बाँचेँ । तीन वर्षदेखि घाँटीको क्यान्सरसँग पनि लडिरहेको छु । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार गराउँदै छु । नियमित फलोअपमा जान्छु । क्यान्सर रोगको उपचार गर्न आर्थिक रूपमा पनि गाह्रो हुन्छ तर म र मेरो कामलाई माया गर्ने पूर्वदेखि पश्चिमसम्मका धेरै जनाको आर्थिक र भावनात्मक सम्बन्धले म बलियो भएको छु र आफ्नो कामलाई पनि निरन्तरता दिइरहेको छु ।
परिवारसँगको सम्बन्ध अहिले कस्तो छ ?
बाबा र सौतेनी आमा बितिसक्नुभयो । दाइ र दिदी हुनुहुन्छ । दाइसँग बोलचाल भए पनि दिदीले अझै पनि स्वीकार गर्न सक्नुभएको छैन । जन्मघरको परिवारसँग जे जस्तो भए पनि मैले छुट्टै आफ्नोे परिवार बनाएकी छु । साहसिक कदम नेपाल सञ्चालन गरेकी छु । धेरै नानीहरू छन् । आमा बन्न पाएकी छु । नानीहरूले मलाई असाध्यै माया गर्छन् ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हाम्रा लागि अस्पताल, सार्वजनिक यातायात तथा सार्वजनिक शौचालयदेखि धेरै ठाउँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री हुनुपर्छ । बुटवलबाट काठमाडौँसम्मको यात्रामा दिसापिसाब नलागोस् भनेर खाना खान र पानी पिउनसमेत डराउनुपर्छ । अस्पतालमा हामीलाई राम्रोसँग व्यवहार गरिँदैन । एउटा घटना भन्छु, हाम्रो समुदायकै एक जना यौन व्यवसाय गर्नुहुन्थ्यो । उहाँ बिरामी हुँदा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले हामीलाई आकस्मिक वार्डको बेड दिन मानेन । हामीले आन्दोलन गर्नुपर्यो । यो देश हाम्रो पनि हो । हामी यहीँ जन्मिएका, यही देशका नागरिक हौँ तर हामीले नागरिक हुन सङ्घर्ष गरिरहेका छाैँ ।
त्यसैले म भन्छु, एक जना आनिक होइन म जस्तै हजारौँ आनिक बोल्नुपर्छ । अर्को कुरा, राज्य र दातृ निकायबाट आर्थिक सहयोग चाहिएको छ । पालिकाहरूले बजेट दिन्छन् तर रकम निकाल्ने प्रक्रिया साह्रै झन्झटिलो छ । त्यसैले हाम्रो समुदायलाई व्यक्तिगत जीवन निर्वाह गर्न होस् वा ‘एड्भोकेसी’ का लागि होस्, आर्थिक समस्या छ । सानो भए पनि निरन्तर चलिरहने बजेट भए काम गर्न पाइन्थ्यो भन्ने हो ।
प्रकाशन मिति : २०८१ कात्तिक २३ गते, शुक्रवार