Home Elaborations साधना प्रधान र कामाक्षादेवीः पहिलो सम्पादक महिला

साधना प्रधान र कामाक्षादेवीः पहिलो सम्पादक महिला

1336
0

आज चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका सन्दर्भमा ‘सन्धान’ ले नेपालका पहिलो दुई सम्पादक महिलालाई सम्झेको छ । उहाँहरू साधना प्रधान र कामाक्षादेवी हुनुहुन्छ । उहाँहरूले २००८ साल जेठमा ‘महिला’ नामक नेपाली भाषाको मासिक पत्रिका सम्पादन गर्नुभएको थियो । हालसम्मको खोजीअनुसार, यो पत्रिका नै नेपाली माटोमा महिलाहरूले सम्पादन गरेको जेठो पत्रिका हो । यसको प्रकाशन नेपाल महिला संगठनले गरेको थियो ।

ग्रीष्मबहादुर देवकोटाले लेख्नुभएको र साझा प्रकाशनले २०५१ सालमा प्रकाशन गरेको ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’ मा उल्लेख भएअनुसार, कुमारी साधना र कुमारी कामाक्षी (कामक्षादेवी) ले सम्पादन गर्नुभएको ‘महिला’ पत्रिका प्रकाशनको लक्ष्य यस्तो रहेको पाइन्छ– “राणाशाहीको कुचक्रले नै हाम्रो प्रगति बाँधिएको तर वास्तविक विश्लेषण गरी हेरे हामीलाई भन्न करै लाग्छ कि हाम्रो प्रगति रोकिनु हाम्रो खुट्टामा नेल ठोकिनु हाम्रो कमजोरी पनि त्यत्तिकै मात्रामा थियो । महान योजनामा स्त्री र पुरुष दुवैथरी उद्यत हुनुपर्दछ, दुवैथरीले हिस्सा लिनुपर्दछ । त्यसैले पुरुष जातिसंग हामी सहयोग माग्छौं । त्यो बृहत् क्षेत्रमा हामीहरूको एकता हुनुपर्दछ–एकता र समानता । ‘महिला’ले यही बुझी स्त्रीवर्गको विशेष समस्याबाहेक समाजको यो विस्तीर्ण समस्या बुझ्न र हल गर्नमा सक्दो मद्दत गर्ने अठोट गरेको छ ।”

प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर २०६० बैशाखमा राष्ट्रिय महिला आयोगमा साधना प्रधानलाई पहिलो सम्पादक महिलाका रूपमा सम्मान गरिएको थियो । त्यस कार्यक्रमको फोटोमा देखिनुभएकी राष्ट्रिय समाचार समितिका तत्कालीन पत्रकार निर्मला आचार्यसँग गरिएको कुराकानीमा आधारित यो स्मृति प्रस्तुत गर्दैछौँ । पत्रकार आचार्यले २०७३ सालमा समितिको महाप्रबन्धकबाट अवकाश प्राप्त गर्नुभएको हो ।

पहिलो सम्पादक महिला साधना प्रधानलाई सम्मान गर्न आयोजित कार्यक्रममा दायाँबाट क्रमशः साधना प्रधान, डा. दुर्गा पाेखरेल र साहना प्रधान ।
तस्विरहरुः सागर श्रेष्ठ

यो ऐतिहासिक फोटो हो । नेपालको पहिलो सम्पादक महिलाका रूपमा उहाँलाई हामीले सम्मान गरेका थियौँ । म त्यो बेला नेशनल युनियन अफ जर्नालिस्ट (एनयुजे) को केन्द्रीय सदस्य र एनयुजेकै महिला विभाग प्रमुख थिएँ । विभागकै पहलमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पुराना व्यक्तिहरूलाई सम्झिनुपर्छ भनेर उहाँलाई सम्मान गरिएको हो । सम्मानका लागि उहाँलाई लिन म र यशोदा तिम्सिना उहाँकै घर गोंगबु गएका थियौँ ।

सम्मान कार्यक्रम राष्ट्रिय महिला आयोगमा भएको थियो । त्यतिखेर आयोगका अध्यक्ष डा. दुर्गा पोखरेल र मैले सम्मान गरेका थियौँ । हामीले त्यो बेला ‘रिसर्च’ गर्दा उहाँ नै पहिलो हो भन्ने पायौँ । कामाक्षादेवी पनि हुनुहुन्थ्यो तर हामीले भेटेनौँ । यस्तो ऐतिहासिक व्यक्तित्व एक जनालाई भए पनि भेटेर सम्मान गर्न पाउनु मेरा लागि पनि गर्वको कुरो हो । यो फोटो कसले खिच्दिनुभएको हो, उहाँलाई धेरै धेरै धन्यवाद ! यो फोटोको बारेमा सम्झाएर यसको बारेमा लेख्नु मलाई राम्रो लाग्यो ।

सन्धान, प्रकाशन मिति २०७८ चैत १६ गते बुधवार


Previous article‘मनको दृष्टि र आत्मविश्वासले काम गर्न सकेको छु’ – सीता सुवेदी
Next articleमहिला दृष्टिकोणबाट २०४६ सालको जनआन्दोलन विशेष