ताप्लेजुङमा जन्मिएकी विमला सङ्ग्रौला पौडेल पढाइको सिलसिलामा झापा झर्नुभयो । उहाँको स्कुले जीवन झापामै बित्यो । खेलमा औधी रुचि राख्ने विमलाले त्यो बेला प्रचलित वीरेन्द्र शिल्ड (जिल्लास्तरीय) प्रतियोगितामा स्कुलबाट सहभागी भएर थुप्रै ट्रफी र प्रमाणपत्रहरू प्राप्त गर्नुभयो । सुरुसुरुमा भलिबल र दौड प्रतियोगितामा भाग लिएकी उहाँले २०४१/४२ सालमा फुटबल पनि खेल्न थाल्नुभयो । २०४३ सालमा भएको तेस्रो राष्ट्रिय फुटबल प्रतियोगितामा मेची अञ्चलको फुटबल टिमको नेतृत्व गर्दै औपचारिक रूपमा उहाँ फुटबल खेलाडी बन्नुभयो । महिला फुटबल संघकी पूर्व महासचिव विमला हाल नेपाल ओलम्पिक कमिटीको महिला समितिकी सचिव हुनुहुन्छ । उहाँसँग नेपालको फुटबलमा महिलाको स्थान, अवस्था र खेलाडी महिलाहरूका चुनौती र अवसरसँगै खेल क्षेत्रमा काम गरिरहँदाको अनुभवका बारेमा कुराकानी भयो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र मुकुन्द बोगटीले विमला सङ्ग्रौला पौडेलसँग गर्नुभएको कुराकानीमा आधारित कथनको सम्पादित अंश :
म खेलकुदमा लागेको २०३९/४० सालदेखि हो । १०-११ वर्षको हुँदादेखि खेल्थेँ । दौड र भलिबल प्रतियोगितामा धेरै पटक भाग लिएको थिएँ । झापामा भएको वीरेन्द्र शिल्ड प्रतियोगितामा भलिबल र दौडमा प्रथम भएको थिएँ । जिल्लास्तरीय प्रतियोगितामा दौडिँदा र भलिबल खेल्दा स्कुलको ड्रेस (फ्रक) लगाएरै खेल्थ्यौँ ।
फुटबल त्यसपछि मात्रै खेलेको हो । सुरुमा खेल्न थाल्दा फुटबल देखेर वा फुटबल हानेर अभ्यास गरेको होइन । मोजामा पुराना कपडा हालेर त कतै पराल हालेर बनाएको बल खेलेर ‘फुटबल’ खेल्न थालेको हो । केटाहरूले फुटबल खेलिराखेको त देखिन्थ्यो तर आफैँ चाहिँ खेल्न गएको थिइनँ ।
त्यतिबेला १४ अञ्चल थिए, त्यसै अनुसार अञ्चल–अञ्चलको टिम बन्थ्यो । मेची अञ्चलको टिम मेरै नेतृत्वमा बन्यो ।
महिला फुटबल प्रतियोगिता पनि हुन्छ रे भन्ने पनि सुनिएको थियो । तेस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता इलाममा हुने भएछ । यो २०४३ सालको कुरा हो । महिला फुटबल प्रतियोगिता हुने भनेपछि हौसिएँ । भलिबल र दौडमा जित्ने भएकाले मलाई फुटबल पनि खेल सक्छौ भनेर स्कुलबाट भनियो । त्यतिबेला १४ अञ्चल थिए, त्यसै अनुसार अञ्चल–अञ्चलको टिम बन्थ्यो । मेची अञ्चलको टिम मेरै नेतृत्वमा बन्यो । टिममा ४३ जना थियौँ । झापाको अनारमनी र सुरुङ्गा माध्यमिक विद्यालयका छात्रा विद्यार्थीलाई भेला पारेर टिम तयार गरिएको थियो । धेरै साथीहरूका अभिभावकलाई भेटेर ‘खेल्न पठाइदिनुस्’ भनेर कन्भिन्स गरेँ । तर, अहिले त्यतिबेला खेल्ने कोही पनि साथीहरू यस क्षेत्रमा छैनन् । यो भन्नुपर्दा दुःख लाग्छ ।
खेल्नका लागि सङ्घर्ष
आजभन्दा झन्डै चार दशकअघि छोरीलाई पढाउने चलन थिएन । त्यसमाथि पनि पढ्न पठाएकी छोरी खेल्न जानु, त्यो पनि हाफपेन्ट लगाएर ! छोरीमान्छेले त्यसरी खेल्न निस्किनु त झन् गाह्रो थियो । फेरि, अभ्यासका लागि खेल्ने बेलामा केटीहरू धेरै हुँदैनथ्यौँ । केटाहरूसँग खेल्नुपर्थ्याे । कट्टु लगाएर, त्यो पनि केटाहरूसँग खेल्ने ! घरपरिवार समाजले के भन्थ्यो भन्ने सम्झिँदा अहिले पनि मलाई गाह्रो भएर आउँछ ।
जसोतसो खेल्दै गयौँ । महिलाहरूको फुटबल पनि हुन्छ रे भन्ने मात्रै सुनेको । तर, त्यतिबेला राष्ट्रिय महिला फुटबल प्रतियोगिता इलाममै आयोजना गरिने भएछ । हामी खेल्न जाने भयौँ । मेचीको टिममा खेलाडी छनौट गर्न काठमाडौँबाट महेश्वर मुल्मी जानुभएको थियो । हामी ४३ जना छनौटमा परेका थियौँ ।
प्रतियोगिताको लागि भने हामीलाई तलतिर गोटी भएको फुटबल खेल्दा लगाउने जुत्ता दिइएको थियो । त्यो लगाएर खेल्न जानेनौँ, खाली खुट्टै खेलेर उपाधि जित्यौँ ।
वीरेन्द्र शिल्ड त जिल्लामै हुन्थ्यो । यसैले घरबाट जस्तै छेकबार भए पनि खेलमा भाग लिन जान्थ्यौँ, बेलुका घर फर्किन्थ्यौँ । खासै समस्या हुँदैनथ्यो । तर, फुटबल खेल्न इलाम जानुपर्ने भएपछि मलगायत सबैलाई निकै गाह्रो भयो । मैले धेरै साथीको घरमा गएर ती साथीहरूका बुबाआमालाई सम्झाएँ । तर, मेरो आफ्नै बुबाआमालाई सम्झाइदिने कोही भएनन् ।
जसोतसो मिलाएर प्रतियोगिताका लागि घरबाट हिँडेँ । हामीले जित्यौँ । मेरो नेतृत्वको टिमले राष्ट्रिय खेल खेलेर जितेपछि घर आउँदा फूलमालाले स्वागत हुनुपर्ने हो भन्ने कल्पना गरेको थिएँ । तर, त्यो मेरो लागि कल्पनाभन्दा बाहिरको कल्पना रहेछ । किनकि घरले खेल्न नदिँदा नदिँदै खेल्न हिँड्थेँ । त्यतिबेला पनि घरको अनुमति नलिइकनै खेल्न हिँडेकी थिएँ म ।
खाली खुट्टै गोल
राष्ट्रिय खेल खेले पनि कति साथीहरूसँग त फुटबल खेल्दा लगाउने ‘ट्र्याकसुट’ पनि थिएन । कति जनाले दाइहरूको ‘ट्र्याकसुट’ मागेर साइज घटाएर लगायौँ । कालो ‘क्यान्भास’ भन्ने जुत्ता हुन्थ्यो, हामीले त्यो भर्खरभर्खर लगाउन थालेका थियौँ । प्रतियोगिताको लागि भने हामीलाई तलतिर गोटी भएको फुटबल खेल्दा लगाउने जुत्ता दिइएको थियो । त्यो लगाएर सुरुमा त खेल्नै जानिएन । बल ‘थ्रोइङ’ गर्न, दौडिनसमेत नसकेपछि गुरुलाई हामीले ‘जुत्ता लाएर खेल्न जानेनौँ, खाली खुट्टै खेल्छौँ’ भनेर जुत्ता एकातिर फ्याँकेर खेल्यौँ । खाली खुट्टै खेलेर राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्यौँ । त्यो क्षण अहिले सम्झिँदा पनि गर्व लाग्छ ।
त्योभन्दा अघिल्ला दुई प्रतियोगिता बागमती अञ्चलले जितेको थियो । बागमती भनेको सुविधासम्पन्न ठाउँ भयो । त्यहाँका महिला खेलाडीले सुकिलोमुकिलो ‘ट्र्याक’ र फुटबल खेल्ने जुत्ता लगाएर अभ्यास गर्न पाउँथे । ‘डाइट’ खाएर अभ्यास गर्न पाउँथे । हामी भने मागेको ट्र्याक लगाएर खेल्न बाध्य मोफसलका खेलाडी महिलाहरू । महिला महिला भए पनि खेलाडी–खेलाडीबिच आकाश जमिनको फरक थियो । मलाई अहिले पनि याद छ ।
‘हाफपेन्ट’ लगाउँदाको लाज र डर
पहिलो पटक ‘हाफपेन्ट’ लगाएर खेल्दा आफैँलाई अफ्ठ्यारो भएको थियो । ‘हाफपेन्ट’ लगाएर निस्केपछि यताउता कतै नहेरी सिधै मैदानमा गएका थियौँ । खेल सकिएपछि कसरी घर जाने भन्ने हुन्थ्यो । घरपरिवार र आफन्तको डर सधैँ भइरह्यो । तर, त्यो डरलाई मैदानमा गुन्जिने ‘विमला हान् हान्’, ‘विमला जित् जित्’ भन्ने शब्दले हावामा उडाइदिन्थ्यो र आफूलाई मौन बनाइ दिन्थ्यो ।
हामीले जितेपछि जितको फोटो जताततै गयो । जितको चर्चा भयो भनेर खुसी हुन पाउनुभन्दा पनि ‘हाफपेन्ट’ लगाएको फोटो जताततै गयो भन्ने डर थियो । खेल जितेपछि हामीलाई फूलमाला लगाइदिएर ट्र्याक्टरमा राखेर घुमाइएको थियो । त्यो सम्झँदा मलाई अर्कै खालको आनन्द महसुस हुन्छ ।
दशरथ रङ्गशालामा आउँदा पनि हामीलाई गर्ने व्यवहार र बागमतीका खेलाडीलाई गर्ने व्यवहार फरक थियो ।
मनमा भने डरैडर ! खेल जितेर घर फर्कंदा लगाएको ‘ट्र्याकसुट’ झोलामा लुकाएर घर पुगेको थिएँ । घर पुग्दा त बुबाको गाली सुरु भयो । ‘तँलाई अब कसले बिहे गर्छ ? तँ यस्तो लुगा लगाएर खेल्ने ? तँ यसरी पढ्छेस् ?’ भन्नुभयो । मेरो आँखामा त्यो दृश्य र कानमा यी कुरा अहिले पनि घुमिरहन्छन् ।
खेलाडी बनेर काठमाडौँ आउँदा
इलाममा खेल जितेपछि हामीलाई काठमाडौँ बोलाइएको थियो । दशरथ रङ्गशालामा आउँदा पनि हामीलाई गर्ने व्यवहार र बागमतीका खेलाडीलाई गर्ने व्यवहार फरक थियो । तर पनि मलाई लाग्थ्यो, सगरमाथा चढ्ने धनले हैन बल र बुद्धिले हो । त्यही भएर बागमतीसँग खेलेर हामीले जित्छौँ भन्ने लाग्थ्यो ।
म पहिलेदेखि नै जिल्लास्तरीय दौडमा भाग लिन्थेँ र प्रतियोगिता जित्थेँ पनि । घोडा कुदाइ गरेर दौडिएर फुटबलमा कुनै अभ्यास नै नगरी फुटबल खेलाडी भएर काठमाडाैँसम्म आइपुग्नु हाम्रो लागि सामान्य थिएन । तर, ‘फुटबल खेल्ने भए घरमा छिर्न दिन्नँ’ भनेर बुबाले भनेपछि मामाघरमा बसेर पढ्दै गरेकी मेरा लागि बागमतीले गर्ने विभेद र व्यवहारले मन दुखे पनि मर्ममा ठेस पुर्याउन सकेन । बरु अगाडि बढिरहेँ । हाम्रो बोल्ने शैली उनीहरू (बागमती) को जस्तो नभए पनि, खेल्दा लगाउने कपडा राम्रो नभए पनि, हामी अनुशासित थियौँ । खेलमा अनुशासन महत्त्वपूर्ण हो भन्ने लाग्थ्यो । अहिले पनि लाग्छ ।
पुरुष फुटबलमा भन्दा महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा राम्रो गरिरहेको सबैले देखेकै कुरा हो । तर, महिला खेलाडीका लागि राज्यले लगानी नै गर्दैन ।
हामीलाई खेल्न काठमाडौँ बोलाइसकेपछि त कपडा र जुत्ता त राज्यले उपलब्ध गराउनुपर्ने हो भन्ने लाग्थ्यो । तर, दिइएको थिएन । मैले खेल खेलेर पहिलो पटक पाएको भनेको एकजोर ‘ट्र्याकसुट’ र एक हजार छ सय रुपैयाँ हो । त्यो मेची अञ्चल खेलकुद विकास समितिका अध्यक्ष नकुल शमशेर जबराले दिनुभएको थियो । उहाँले मलाई निकै अनुशासित खेलाडी भनेर हौसला पनि दिनुभएको थियो ।
सन् १९८६ (२०४३ साल) को कुरा हो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न हङकङ जाने अवसर आयो । म पनि छनौटमा परेको थिएँ । अघिल्लो दिनसम्म मेरो नाम थियो तर भोलिपल्ट अर्कै साथीको नाम देखेँ । त्यतिबेला थाहा पाएँ, मसँग ‘ट्र्याकसुट’ राम्रो भएन रे, म गाउँले भएँ रे ! एकमनमा साह्रै नरमाइलो लाग्यो, राज्यले दिनुपर्ने सुविधासमेत नदिएर ‘ट्र्याक’ राम्रो नभएको भनेर त्यतिबेला मलाई खेलबाट वञ्चित गरियो । तर, मैले हरेश खाइनँ । ‘राम्रो ड्रेस, राम्रो बुटले खेल जितिने होइन, मेहनत, अनुशासन र राम्रो खेल्न सक्नुपर्छ भन्ने आत्मविश्वास गुमाउनु हुँदैन’ भन्ने लाग्यो । त्यही भएर आजसम्म खेल क्षेत्रमै लागिरहेको छु ।
महिला फुटबलको सुरुवात
महिला फुटबल टिम पहिला पनि बनेको थियो तर अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा गणेश थापा आएपछि महिला फुटबललाई माथि उठाउने काम गर्नुभयो । उहाँ आएपछि नै आर्मी, पुलिस र एपीएफमा कुरा गरेर विभागीय टिममा महिला खेलाडीलाई राख्ने काम भयो । खेलेर पनि बाँच्न सकिन्छ, पढ्न सकिन्छ भन्ने आधार त्यसबाट तयार भयो ।
हुन त त्योभन्दा पहिला पनि खेलाडीका लागि रकम त विनियोजन हुँदोरहेछ तर त्यो हामी जस्तो गाउँका खेलाडीसम्म नपुग्ने रहेछ । फुटबलको महिला टिमका लागि भनेर रकम छुट्याउनै पर्ने रहेछ तर त्यसो नगरिँदो रहेछ । अहिले पनि त्यो अवस्था छ । खेल क्षेत्रको भ्रष्टाचार अहिले पनि त्यस्तै छ ।
एन्फाको महिला विभाग
नेपालमा २००८ साल (सन् १९५१) मा अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापना भयो । एन्फाको महिला विभाग पनि हुनुपर्छ भनेर दबाब दियाैँ । बल्लबल्ल महिला फुटबल संघ बन्यो । त्यसपछि महिला फुटबल खेलाडीका लागि थोरै भए पनि सकारात्मक प्रयास सुरु भएको मान्न सकिन्छ । अहिले काठमाडौँका विद्यालयहरूले राम्रा खेलाडीहरू छन् भने हामी होस्टेलमा राखेर पढाइदिन्छौँ भन्ने वातावरण तयार भएको छ । मैले पनि राम्रो फुटबल खेल्ने थुप्रै बहिनीहरूलाई विभिन्न स्कुलमा निःशुल्क पढाउनका लागि समन्वय र सहयोग गर्दै आएको छु । पहिलेदेखि नै रौतहट, दाङ, कैलाली, उदयपुरलगायत जिल्लामा महिला खेलाडी राम्रो भएको भन्ने थियो । अहिले काठमाडौँ जस्ता सहरमा भन्दा गाउँगाउँमा महिला खेलाडी निस्किने र उनीहरूलाई तयार गर्ने काम भइरहेको छ ।
राज्यले लगानी गर्दैन
नेपालको फुटबलमा हेर्ने हो भने महिला खेलाडीहरू अगाडि छन् । महिला फुटबलको अवस्था राम्रो छ । पुरुष फुटबलमा भन्दा महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा राम्रो गरिरहेको सबैले देखेकै कुरा हो । तर, महिला खेलाडीका लागि राज्यले लगानी नै गर्दैन ।
एन्फालगायत सहयोग गर्ने सङ्घसंस्थाले पनि पुरुष र महिलाको बिचमा विभेद गरिरहेका छन् । पुरुष खेलाडीलाई भन्नेबित्तिकै प्रायोजन गर्ने, भनेको सहयोग गर्ने बैङ्कहरू, महिला खेलाडीका लागि एउटा खेल ‘स्पोन्सर गर्दिनु’ भन्न पनि १० पटक पुग्नुपर्छ । कतिले १० हजार रुपैयाँ दिन लाग्यो भने पनि १० पटक बोलाएर झुलाउँछ । एन्फाले पनि विभेद गरिरहेको छ । पुरुष खेलाडी उत्पादन गर्न पुरुष खेलकुद एकेडेमी बनाइएको छ तर हामीले हजारौँ पटक भन्दा पनि महिला खेलाडीका लागि एकेडेमी बनाइएको छैन ।
खेलाडी राम्रा तर अवसर कम
महिला र पुरुष खेलाडीमा भएको लगानीदेखि वातावरण सबैमा विभेदको कुरा मैले अघि नै पनि भनेँ । यति हुँदाहुँदै पनि महिलाको खेल राम्रो छ भन्ने त देखिएकै छ । अझ राम्रो वातावरण हुने र लगानी गरिदिने हो भने महिलाले अहिलेको भन्दा पनि राम्रो खेलेर देशको नाम राख्छन् भन्नेमा म विश्वास गर्छु । सावित्री भण्डारी, अनिता बस्नेत आदिलाई नै हेरौँ न !
महिला खेलाडीमा लगानी गर्ने हो भने राष्ट्रिय झन्डा लिएर चाँडै विश्वकप खेल्ने क्षमता भएका खेलाडी नेपालमा छन् ।
अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडीहरूलाई राज्यले सम्मान दिनुपर्छ । नभए त अन्तर्राष्ट्रिय खेल जितेर प्रमाणपत्र ल्याएर र तक्मा थुपारेर, भोलिपल्टदेखि पैसा कमाउन अर्को काम खोज्न हिँड्नुपर्छ । यस्तो अवस्था आउँदा खेलाडीको मनोबल कस्तो हुन्छ ? यस्तै भएर कति जना राम्रा खेलाडी महिला विदेशिए । सजना (राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान सजना राना मगर) ले देश छोडेको यही भएर होइन ?
अहिले पनि राज्यमा बस्ने धेरैलाई लाग्छ, महिलाहरू बिहे गरेपछि बच्चा जन्माउँछन्, त्यसपछि खेल्न सक्दैनन् । यो सोचाइ गलत छ । विवाह र बच्चाले महिलालाई खेल खेल्न रोक्ने हैन । आत्मबल र आर्थिक कारणले रोक्ने हो । त्यसैले महिलाको आत्मबल जोगाइराख्न र उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने दायित्व राज्यको हो ।
फुटबल मात्रै नभएर हरेक खेलमा पुरुष खेलाडीका लागि जुन किसिमको तालिम, प्रशिक्षण, प्रतियोगितामा सहभागी हुने अवसर छ, महिलाको लागि त्यो छैन । महिला खेलाडीमा लगानी गर्ने हो भने राष्ट्रिय झन्डा लिएर चाँडै विश्वकप खेल्ने क्षमता भएका खेलाडी नेपालमा छन् ।
खेलाडीमा अनुशासन कम हुँदै
म लगभग चार दशकदेखि खेल क्षेत्रमा छु । पहिलेको तुलनामा अहिलेका खेलाडीहरूमा अनुशासन कम हुँदै गएको छ भन्ने मलाई लाग्छ । अहिलेका खेलाडीमा लगनशीलता र मेहनत कम छ । डिजिटल माध्यम (मोबाइल र इन्टरनेट) ले खेलाडीहरूलाई धेरै फरक बनाएको छ, बिगारेको छ । यसमा महिला पनि पर्छन् । बन्द प्रशिक्षणमा बसे पनि खेलाडीहरू मोबाइलमै झुन्डिरहेका हुन्छन् । यस्तो हुनुहुँदैन । त्यसमा प्रशिक्षकले कडाइ गर्न सक्नुपर्छ ।
भिडियाे हेर्नुहाेला
सन्धान प्रकाशन मिति : २०८० भदाै ६ गते, बुधवार