सन्दर्भ: नेपालको पहिलो महिला सङ्गठनको स्थापना
नेपाल महिलासंघको स्थापना र क्रियाशीलता विसं.२००४ सालतिरको कुरा हो, नेपाल महिलासंघको स्थापना गर्ने सम्बन्धमा मदनलोचनले कलकत्तामा गएर प्रेमबहादुर कंसाकार, कमरेड पुष्पलाल र अन्य भारत प्रभासमा रहेर काम गर्ने नेताहरूसँग सल्लाह गरी आउनुभयो । त्यति बेलाका अगुवा महिलाहरूले मतदानको अधिकारसमेत अन्य मौलिक नागरिक अधिकारलाई सदुपयोग गर्न संस्थागत अभियानको आवश्यकता महसुस गरिरहेका थिए । त्यही आवश्यकता र नेताहरूको समेत सल्लाह सुझाव अनुसार विसं.२००४ साल साउन २२ गते काठमाडौंको म्हेंपीमा वनभोज खाने निहुँमा करिब ४०–४५ जना सानो–ठूलो उमेरका महिलाहरूको भेला भयो ।
उक्त वनभोजमा सहभागी महिलाहरूबीचको छलफलले महिला संघको स्थापना गर्ने निर्णय गर्यो । सोही निर्णयमुताबिक पूर्ण गोपनीयता अपनाउँदै मंगलादेवी सिंहको अध्यक्षतामा ‘नेपाल महिला संघ २००४’ नामक संगठन स्थापना भयो । यो नेपालकै पहिलो महिला संगठन थियो । संगठनमा स्नेहलता महासचिव, श्रीमाया श्रेष्ठ कोषाध्यक्ष र कार्यकारिणी सदस्यहरूमा हीरादेवी कंसाकार यमी, चम्पादेवी (रजनी) बज्राचार्य, रामलक्ष्मी मानन्धर, तुलसादेवी सिंह, सहाना प्रधान आदि थिए ।साधारण सदस्यमा करिब ४०–४५ जना महिला थिए ।
कलकत्तामा रहेर नेपालको राजनीतिक, सामाजिक परिवर्तनका लागि काम गर्ने नेताहरूको सल्लाहअनुसार महिला संघको कार्यालय सहिद चिनियाँलाल सिंहको घरमा राख्ने निधो भयो । कार्यालय त्यहाँ राख्ने भएपछि त्यसको उद्घाटन पनि गर्नुपर्ने भयो । कार्यालय उद्घाटन गर्ने मितिको निर्णय भएपछि त्यसको जानकारी गराउँदै हिँड्ने काममा स्नेहलताले उल्लेख्य भूमिका निर्वाह गर्नु भएको सम्झना अहिले पनि गर्नु हुन्छ । अहिले जस्तो प्राविधिक सुविधा मात्रै हैन बाटो घाटो समेत राम्रो र सजिलो अवस्था नभएको त्यस समयमा कुनै पनि काम गर्न गाह्रो हुन्थ्यो । तर पनि आप्mनो उद्देश्यप्रति पूर्ण वफादार भएर काम गर्न कोही पनि पछि नपर्ने भएकोले प्रष्ट हुन्छ क्रान्तीप्रतिको प्रतिवद्धता । विसं. २००४ साउन २२ गते नेपाल महिलासंघको कार्यालय उद्घाटन गर्न भनी स्नेहलता ओन श्रेष्ठ, मंगलादेवी सिंह, श्रीमाया श्रेष्ठ, शान्ता श्रेष्ठ, तुलसीदेवी सिंह (सहिद चिनियाँलालकी धर्मपत्नी), मैयाँ प्रधान (सहिद चिनियाँलालकी बहिनी तथा भक्तबहादुरकी श्रीमती) मिठाई महर्जन, भानुदेवी, हीरादेवी यमी, चम्पादेवी बज्राचार्य, तीर्थ श्रेष्ठ (केदारमान व्यथितकी पत्नी), चन्द्रादेवी (शम्भुरामकी श्रीमती), नानु प्रधान, मैयाँ श्रेष्ठ, प्रतिमा वैद्य, मोहिनी अमात्य, गुनुबदन ताम्राकार, कृष्णकुमारी मानन्धर, प्रेमलता कंसाकार (प्रेमबहादुर कंसाकारकी बहिनी), डा.कोकिला वैद्य, सरोजिनी मानन्धर, नानीमैयाँ श्रेष्ठ, केशरी मानन्धरलगायत उपस्थित हुनुहुन्थ्यो । त्यस कार्यक्रममा नेपाली राष्ट्रिय कांगे्रस पार्टीको तर्फबाट सहयोग गर्न सहिद गंगालालका काँहिला भाइ देवीलाल र सहिद चिनियाँलालका छोरा मदनलोचन हुनुहुन्थ्यो । उक्त कार्यक्रमको सफलताका लागि हरेक क्षण सहयोग गर्नेमा देवीलाल श्रेष्ठ हुनुहुन्थ्यो ।
त्यस समयको राम्रो अनि अत्यन्त सकारात्मक कुरा के थियो भने राजनीतिक गतिविधिमा आबद्ध महिला तथा पुरुषहरूबीच पारिवारिक सम्बन्ध वा रगतको नाता भएजस्तै व्यवहारिक हिसाबले सबैले सबैलाई सहयोग गर्ने परिपाटी बसेको थियो । त्यसकारण महिलाका काममा सघाउने पुरुष साथीहरूसँग दाजु– बहिनीको जस्तो सम्बन्ध रहने गर्दथ्यो । महिलाका सामाजिक–राजनीतिक काममा सघाउँदै आएकोमा गर्व गर्दै मंगलादेवी सिंहले केदार श्रेष्ठलाई भाइ मानी तिहारमा टीका लगाइदिने गर्नुहुन्थ्यो ।
कार्यालय उद्घाटनका लागि सबैजना जम्मा भएपछि एउटा ठुलो कार्डबोर्ड पेपरमा नेपाल महिला संघको नाम लेखी उद्घाटन गर्ने तयारी भयो । उक्त कार्यक्रमका लागि जम्मा भएकाहरूमध्येबाट कसले कार्यक्रम उद्घाटन गर्ने भन्ने भयो । मंगलादेवी सिंह मुसुमुसु हाँसी मात्र राख्नुभएको थियो । उपस्थित भएकामध्ये धेरैको चाहना हसिनादेवी (सहिद गंगालालकी पत्नी) बाट उद्घाटन गराउने रहेकाले उहाँलाई बोलाएर ल्याउने भन्ने सल्लाह भयो । बोलाउन त बोलाउने तर बोलाउन को जाने ? भन्ने भएपछि सबैले हसिनाका देवर देवीलालतिर हेरेर बोलाएर ल्याउन भने । जवाफमा उहाँले, “मैले भाउजूको आँसु पनि हेर्न सक्दिन र बुबासँग भन्न पनि सक्दिन” भनेपछि स्नेहलताले ‘‘म गएर ल्याउँछु’’ भन्नुभयो । उहाँको भनाइ सुनेर उपस्थित सबैले हाँसोका साथ ‘आफूले नसक्ने काममा हात हाल्न मन लाग्छ भने जाऊ जाऊ’ भन्दै अविश्वासपूर्वक उहाँलाई जाने अनुमति दिई पठाए ।
त्यसपछि हाँस्दै स्नेहलता पनि हसिनादेवीकहाँ जाने भन्दै बाटो लाग्नुभयो । अघिपछि कहिल्यै पनि उज्यालोमा घरबाहिर ननिस्कने हसिनालाई कसरी कार्यक्रममा ल्याउने होला भन्ने सोच्दै जाँदा उहाँ निर्दिष्ट घरको ढोकाभित्र छिर्नेबित्तिकै हसिनादेवीसित भेट भयो । स्नेहलताले ‘म नेपाल महिला संघको कार्यालय उद्घाटनको कार्यक्रमका लागि तपाईंलाई लिन आएकी हुँ, तपाईं जानुहुन्छ कि जानुहुन्न ?’ भनेर सोध्दा हसिनादेवीले टाउको हल्लाएर ‘जान्छु’ भन्नुभयो । त्यसपछि बुबा भएको ठाउँमा अनुमति माग्न गएँ । म जाँदा बुबा तमाखु खाँदाखाँदै नली मुखैमा राखेर आँखा चिम्लीएर बसिरहनु भएको थियो । त्यो देखेपछि सँगै बसेकी उहाँकी दोस्री पत्नी (कान्छीमा) सँग कुरा गर्दैगर्दा बुबाका आँखा खुले । बुबाको आँखा खुलेको देखेपछि स्नेहलताले बुबासँग आफ्ना कुरा राख्नुभयो । सबै कुरा सुनिसकेपछि बुबाले पनि ‘हुन्छ लैंजाऊ’ भन्नुभयो । त्यसपछि हसिनादेवी र स्नेहलता सँगै सहिद चिनियाँलालको घर (जहाँ महिला संघको कार्यालय खोलिँदै थियो)मा आउनुभयो । उहाँहरू आएको देखेर सबैजना खुसी हुनुभयो । महिला संघको कार्यालय सहिद पत्नी हसिनादेवीबाट उद्घाटन भयो । उद्घाटन गर्ने क्रममा हसिनाले “माइला ! तिमीहरूसबै मिलेर यो संस्थामार्फत दाई (गंगालाल) को इच्छा पूरा गर्नुपर्दछ” भन्नुभयो । यो सुनेर ‘माइला’ भनेर सम्बोधन गरिएका कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ निकै भावुक हुनुभएको थियो । स्नेहलतालाई लाग्छ– आफूले जीवनमा जेजति गर्न सकियो, त्यो सबै काम अग्रजहरूको देन हो । त्यसमा (स्नेहलतालाई) आफ्ना दुईजना सहकर्मी –चिनियालाँलकी पत्नी तुलसीदेवी र सहिद गंगालालकी पत्नी हसिनादेवी– का क्रियाकलापबाट आफू असाध्यै प्रभावित भएको हुँदा अहिलेसम्म पनि सबैभन्दा बढी सम्झना उहाँहरूको आउने गर्दछ ।
महिलासंघको कार्यालय उद्घाटन गर्न हसिनादेवी आएको देखेर सहिद चिनियाँलालकी धर्मपत्नी तुलसीदेवी अत्यन्तै हर्षित देखिनुभयो । उहाँ हँसिलो मुद्रामा देखिएकीले नै त्यो दिनभन्दा पहिले कहिल्यै भेट नभएका दुई सहिद–पत्नीहरूमा एकआपसमा सधैँसधैँ भेट भैरहेको जस्तो व्यवहार देखियो । उहाँहरू दुई जना बीच त्यस्तो आत्मीय व्यवहार देख्दा त्यहाँ उपस्थित सम्पूर्ण सहभागीहरूले सुखद आश्चर्य महसुस गरेका थिए,कहिल्यै बिर्सन नसकिने यो प्रसङ्गले समान उद्देश्य बोकेर हिँड्नेहरूको विचार र व्यवहार पनि समान हुन्छ भन्ने देखिन्छ ।
कार्यालय उद्घाटनको काम सकेपछि हसिनादेवी घर फर्कन खोज्दा चिया नखाई नजानका लागि तुलसीदेवीले आग्रह गर्नुभयो । सबैजना चिया खाएर मात्र त्यहाँबाट जाने भनी बसे । तुलसीदेवीले कसौँडीमा चिया पकाई घरको छिँडीमा भर्याङमुनि राखेर काँसका केही कचौरा लिएर आई त्यसमा राखी बाँड्न थाल्नुभयो । संख्याका हिसाबले उपस्थित सबैलाई पुग्ने गरी कचौरा थिएनन् । त्यसैले पालो पर्खेर सबैले चिया खाइसकेर घर जाने बेलामा तुलसीदेवीले हसिनालाई ‘बेला बेलामा आउँदै गर्नु’ भन्नुभयो । ‘माइती पनि यहीँ नजिक भएकाले आउने बेलामा अलि छिटो आउने र यहाँ केही बेर बसेर माइत गएपनि हुन्छ’ भन्दा उहाँले पनि ‘हुन्छ’ भन्नुभयो । दुईजनाबीचको यो संवाद सुनेर उपस्थित सबैको मनमा संगठनबाट गाँसिएको सम्बन्ध कति बलियो हुँदो रहेछ भन्ने अनुभूति तरंगित भएको थियो । अहिले उमेर निकै छिप्पिएको भए पनि यो कुरा स्नेहलताको स्मरणमा अझसम्मताजै छ ।
महिलासंघको कार्यालयको उद्घाटन हुँदा दुवैजना सहिद पत्नीहरू (हसिनादेवी र तुलसीदेवी) मा एक प्रकारको उत्साह जागेको देख्नसकिन्थ्यो । उहाँहरू प्रस्ट विश्वास थियो– आफ्ना पतिहरूलाई सहिद बनाउनेलाई ठेगान लगाउनका लागि यो संस्था (महिला संघ)को अग्रणी भूमिका रहने छ । यसकै माध्यमबाट अन्यायी राणाशासकहरूसँग प्रतिशोध लिन सकिनेछ र घरबाहिरसम्म निक्लन नपाएका महिलाहरू यसै संस्थाका माध्यमबाट वा कामबाट नै आफ्ना अधिकारका बारेमा बुझ्न र अधिकार लिन सक्षम हुनेछन् । भर्खर–भर्खर १५ वर्ष लाग्नुभएकी स्नेहलतामा बालकको जस्तो चुलबुले स्वभाव र केही राजनीति बुझेको नाताले जे गर्न पनि तयार हुने बानी थियो । दुवैसहिद–पत्नीले कुरा गरिरहँदा उहाँलाई विशेष प्रसन्नता महसुस हुन्थ्यो । उहाँको विचार भने प्रस्ट थियो– त्यही समयमा अन्य उपस्थित महिलाहरूलाई संगठनको सदस्यता वितरण गरिएको थियो । त्यसको जगमा विकास भएको नेपालको महिला आन्दोलन विभिन्न चरण पार गरेरअहिले को अवस्थामा पुगेको हो । देशमा अहिलेसम्म महिलाका हक हितका पक्षमा जे जति काम भए ती सबैको आधार भनेको त्यै संगठन नै हो भन्नु अत्युक्ति हुँदैन ।
यो सामग्री शान्ताकुमारी बस्यालद्वारा लिखित ‘स्नेहलता : जीवनकथाका पानाहरू’ पुस्तकबाट साभार गरिएको हो । पुस्तकमा ‘नेपाल महिला संघको स्थापना र क्रियाशीलता’ शीर्षक रहेकोमा यहाँ शीर्षक परिवर्तन गरेर साभार गरिएको छ । साभारका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद ।
सन्धान प्रकाशन मिति : २०७९ साउन २२ गते, आइतवार