Home Insight नेपालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला लेखराज्यलक्ष्मी

नेपालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला लेखराज्यलक्ष्मी

972
0

सन्दर्भ : एसइई –१

नेपालमा सुरुकै वर्ष अर्थात १९९० सालको एसएलसी परीक्षामा सम्मिलित हुन् सुर्वणकुमारी देवी । उनले आवेदन फाराम भरिन् तर परीक्षामा उपस्थित भइनन् । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सँग हालसम्म सुरक्षित रहेको मार्क लेजरको पुछारमा उनी गयल भएको उल्लेख छ । उनले दरवार हाइस्कुलबाट आवेदन फाराम भरिन् तर किन एसएलसी परीक्षामा सहभागी भइनन् दरबार हाइस्कुलका नियमित विद्यार्थी थिइन वा थिइनन् आदिका बारेमा थाहा हुन सकेको छैन ।

तर २०औँ शताब्दीको झण्डै पुछारमा विद्यालय तहको अन्तिम परीक्षामा महिलाको उपस्थिति हुनुलाई विरलै घटनाका रुपमा मात्र नभई निकै महत्वका साथ लिनुपर्दछ । उनको नाम सविनाकुमारी भनेर केही पुस्तकहरुमा उल्लेख भएको पाइन्छ । तर पनिकाको मार्क लेजरको प्रति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, ललितपुरमा परीक्षण गराउँदा त्यहाँ हस्तलेखनसम्बन्धीका विज्ञले सुर्वणकुमारी नै भएको ठहर्‍याएका छन् ।

२००२ सालमा बल्ल पहिलो महिला लेखराज्यलक्ष्मीले एसएलसी पुरा गरिन् त्यो पनि पहिलो श्रेणीमा । उनी प्राइभेट परीक्षार्थीको रुपमा सो परीक्षामा सहभागी भएकी थिइन् । उनी ब्रम्हशमशेकी पुत्री थिइन् ।

एसएलसी परीक्षामा पहिलोपटक महिला उत्तीर्ण भएपछि गोरखापत्रले २००३ साल वैशाख १८ गते नेपालको एसएलसी जाँच दिने सर्वप्रथम एउटी महिलाको नाम प्रथम श्रेणीमा देख्दा खुशी लागेको भनी सम्पादकीय छाप्यो ।

२००४ सालमा चार जना महिलाले सो परीक्षा उत्तीर्ण गरेका थिए । २००४ सालमा एसएलसी परीक्षा उत्तीर्ण लोकदर्शन बज्राचार्यले जीवनका पानाहरु (स्मरण) मा त्यो बेलाको रोचक प्रसङ्गलाई यसरी उल्लेख गरेका छन्, “पहिलोपटक नेपालमा ती महिलाले दरबार स्कुलको परीक्षा कक्षमा आउँदा बाटाभरी युवा लाइन बसी हेर्न आउँथे । तीमध्ये अंगुरबाबा जोशी उलिनकाठमा बसी छाता ओढी परीक्षास्थल दरबार स्कुलमा आउँथिन् । यसरी आउँदा अजिब खालको कौतुहलपुर्ण वातावरण सिर्जना हुन्थ्यो ।”

वि.सं. २००४ सालमा एस.एल.सी. उत्तीर्ण गर्ने महिलाहरू बाँयाबाट : भुवनेश्वरी प्रधान, साधना अधिकारी, सहाना प्रधान र अंगुरबाबा जाेशी ।
तस्विर सौजन्य : सुशीला श्रेष्ठद्वारा लिखित “सहाना प्रधान, स्मृतीका आँखीझ्यालबाट”

२००४ सालसम्ममा त कन्या शिक्षा क्रमिक रुपमा झाँगिन थालिसकेको थियो । ठिक एक वर्षपछि २००४ साल वैशाख १ गते गोरखापत्रले स्त्री शिक्षाबारे सम्पादकीय टिप्पणी छापेको थियो । त्यो समयमा कन्या शिक्षाका बारेमा नियमित रुपमा सम्पादकीय छाप्नु अलौकिक नै हुन्थ्यो । त्यो सम्पादकीय टिप्पणीले स्त्री शिक्षालाई प्रेरित गर्न खोजेको थियो ।

नोट : यो सामग्री प्रकृति अधिकारीद्वारा लिखित पुस्तक ‘राणाकालीन शिक्षा’ पहिलो संस्करण, २०७८ को पृष्ठ १२४ र १२५ बाट साभार गरिएको हो । पुस्तकमा ‘कन्या शिक्षा’ शीर्षकमा भएको सामग्रीको केही अंश लिएर यहाँ ‘नेपालमा पहिलोपटक एसएलसी उत्तीर्ण गर्ने महिला लेखराज्यलक्ष्मी’ शीर्षक राखिएको छ । प्रकाशनका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद !

सन्धान प्रकाशन मिति : २०७९ साउन ११ गते, बुधवार