Home Photo Feature सन्धान मोबाइल फोटो प्रतियोगिता : ‘फोटो कथा’ का सर्जकहरूसँग

सन्धान मोबाइल फोटो प्रतियोगिता : ‘फोटो कथा’ का सर्जकहरूसँग

650
0

यो ‘फोटो कथा’ हो ती सर्जकहरूको, जो ‘सन्धान’ को मोबाइल फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा ‘पपुलर च्वाइस’ विधामा विजेता बनेका थिए ।

‘सन्धान’ ले स्थानीय तह निर्वाचन २०७९ को विभिन्न प्रक्रियामा महिलाहरूको सहभागितालाई अभिलेखीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा आशिष गुप्ता पहिलो, सुरज कुमार भुजेल दोस्रो र स्मृति वाइ सी तेस्रो तथा पपुलर च्वाइस विधामा विजेता हुन सफल भएका थिए । के कुराले त्यस क्षणको फोटो खिच्न प्रेरित गर्‍यो ? प्रतियोगितामा भाग लिनुपर्छ भन्ने किन लाग्यो ? फोटोले के सन्देश दिन सक्ला ? यस्तै केही प्रश्नको सेरोफेरोमा प्रस्तुत छ, विजेताहरूसँग गरिएको कुराकानीमा आधारित ‘फोटो कथा’ :

शोक र सामाजिक नियमभन्दा मताधिकारको प्रयोग ठुलो

– आशिष गुप्ता (पहिलो पुरस्कार विजेता)

बधाई छ तपाईंलाई ! मोबाइल फोटो प्रतियोगिताबारे कसरी थाहा पाउनुभयो ?

धन्यवाद ! फोटो प्रतियोगिताको सूचना आउनुभन्दा पहिले नै ‘सन्धान’ अनलाइनको फेसबुक पेज मैले लाइक गरिसकेको थिएँ । त्यही भएर पेजमा फोटो प्रतियोगिताको सूचना देखेर थाहा पाएँ ।

फोटो प्रतियोगितामा सहभागिता जनाउनुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

‘सन्धान’ मा सूचना देखेपछि यस प्रकारको फोटो प्रतियोगितामा सहभागिता जनाउनुपर्छ भन्ने लाग्यो ।

घरबाटै यस्तै खालको फोटो खिच्छु भनेर जानुभएको थियो कि त्यहाँ गएपछि यो फोेटो खिच्नुपर्छ भन्ने लाग्यो ?

हामी फिल्डमा निस्कँदा नै नयाँ कुराहरू केही भेट्न सकिन्छ कि भनेर हेरिरहेका हुन्छौँ । कुनै पनि समाचार वा फोटोलाई नयाँ एङ्गलबाट दिनुपर्छ भन्ने लाग्छ । म टेलिभिजनमा पनि कार्यरत भएकाले अरू बेलामा पनि केही नयाँ कुरा देख्यो भने फोटो खिचिहालौँ भन्ने लाग्छ । त्यस्तै, नयाँ विषयवस्तु देखाऊँ भन्ने लाग्छ । त्यही सन्दर्भमा मतदान केन्द्रमा पुग्दा सामान्य अवस्थाभन्दा अलि फरक अवस्थामा रहनुभएकी एक महिला भोट हाल्न लाइनमा बसेको देखेँ र फोटो खिचेँ ।

मतदान केन्द्रमा अन्य महिलाहरू पनि थिए होलान्, तपाईंलाई उहाँकै फोटो लिनुपर्छ जस्तो किन लाग्यो ?

हाम्रो समाजमा श्रीमान्‌काे मृत्यु भएर कोरामा बसिरहेको महिला भोट हाल्न जानु ठुलो कुरा हो भन्ने लाग्यो । एक त पतिको निधनमा शोकको अवस्था, अर्को कोरामा बस्दा कहाँ जाने, कहाँ नजाने भन्ने एक खालको नियम जस्तै हुन्छ । तर उहाँले शोक र सामाजिक नियमभन्दा पनि आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ भन्ने आँट गर्नुभयो । यो ठुलो कुरा हो भन्ने लागेर मैले फोटो खिचेँ ।

यो फोटोले समाजमा कस्तो सन्देश दिन सक्ला ?

शोकको अवस्थामा पनि मतदान गर्न जानुपर्छ भनेर यसरी जाने उहाँ एउटा प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँको यो फोटोले मत हाल्न पाउने अधिकार ठुलो अधिकार हो भन्ने सन्देश दिएको भन्ने लाग्छ । जुनसुकै अवस्थामा पनि हामीले हाम्रो अधिकार प्रयोग गर्नुपर्छ, राम्रो जनप्रतिनिधि छान्ने हक हाम्रो हो, त्यसकारण मतदानको अधिकारको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश दियो होला ।

महिला दृष्टिकोणबाट यस्ता प्रतियोगिताहरू हुन कत्तिको आवश्यक छ र किन ?

महिलाको दृष्टिकोणबाट यस्ता प्रतियोगिताहरू समय समयमा हुन आवश्यक छ । यसले मानिसलाई ऊर्जा पनि प्रदान गर्छ । उदाहरणीय महिलाहरूको काम पनि बाहिर आउँछ । यसले समाजमा महिलाप्रति हेर्ने दृष्टिकोणमा पनि सकारात्मक सन्देश जान्छ ।

असमानता हटाए मात्र समृद्धि सम्भव

–सुरज भुजेल (द्वितीय पुरस्कार विजेता)

बधाई छ तपाईंलाई ! मोबाइल फोटो प्रतियोगिताबारे कसरी थाहा पाउनुभयो ?

धन्यवाद ! म पत्रकार भएकाले सामाजिक सञ्जालमा नजिक भएर पनि आफूलाई अद्यावधिक राख्छु । यसै सिलसिलामा ‘सन्धान’ को सामाजिक सञ्जालमार्फत मोबाइल फोटो प्रतियोगिताबारे थाहा पाएँ ।

फोटो प्रतियोगितामा सहभागिता जनाउनुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

म केही वर्ष अघिसम्म महिला र बालबालिकाको अधिकारका लागि गैरसरकारी संस्थामा पनि काम गर्थें । महिलाकै विषय भएकाले ‘सन्धान’ ले आह्वान गरेको सूचनाले मेरो ध्यान तान्यो । प्रतियोगितामा सहभागी हुन मन लाग्यो । ‘सन्धान’ को बारेमा वेबसाइटमा पढेँ अनि सकेसम्म फरक कोणबाट फोटो खिचेर प्रतियोगितामा सहभागी हुन्छु भन्ने लाग्यो ।

घरबाटै यस्तै खालको फोटो खिच्छु भनेर जानुभएको थियो कि त्यहाँ गएपछि यो फोेटो खिच्नुपर्छ भन्ने लाग्यो ?

म चेपाङ समुदायकै फोटो खिच्ने निधो गरेर त्यहाँ गएको थिएँ । म कर्मचारीका रूपमा निर्वाचनका लागि कैलाश गाउँपालिका वडा नम्बर ७ डुब्रे मतदान केन्द्रमा खटिएको थिएँ । त्यहाँ चेपाङ समुदायका महिलाहरू पनि धेरै आएका थिए । तीमध्ये पनि वृद्ध महिलाको फोटो खिच्नुपर्छ भन्ने लाग्यो र खिचेँ ।

मतदान केन्द्रमा अन्य महिलाहरू पनि थिए होलान्, तपाईंलाई उहाँकै फोटो लिनुपर्छ जस्तो किन लाग्यो ?

डुब्रे मतदान केन्द्रमा ७४ प्रतिशत जति मतदाता चेपाङ र बाँकी तामाङ समुदायका थिए । म स्थानीय निर्वाचन हुनुभन्दा दुई दिनअघि डुब्रे पुगेको थिएँ । चुनावको अघिल्लो दिन गाउँ घुमे । चेपाङहरूको जीवनशैली निकै कष्टकर रहेछ । वर्षेनी अनिकाल झेल्दै आएका रहेछन् । उब्जाउ ज्यादै कम हुने पाखो बारी रहेछ । घर पनि भन्नु मात्रै, कच्ची चिर्पट र खरका झुप्रा रहेछन् । १० जनासम्म सन्तान जन्माएका परिवार पनि भेटेँ । १६–१७ जना बालबच्चा जन्माएका ज्येष्ठ महिलाहरू पनि भेटेँ । बालबालिका कसैको पनि आङमा लुगा देखिएन । पेटभरी खान पाउने व्यवस्था आउँछ कि भन्ने आशाले चुनावमा भोट हाल्न पुग्दा रहेछन् । ज्येष्ठ नागरिकहरूलाई अब पाँच वर्षपछिको चुनावमा भोट हाल्न पाइने हो कि होइन भन्ने लाग्दो रहेछ । त्यसैले उमेर भएका धेरै मतदाता महिलालाई छोडेर ज्येष्ठ चेपाङ महिलाकै फोटो खिच्नुपर्छ जस्तो मलाई लाग्यो ।

यो फोटोले समाजमा कस्तो सन्देश दिन सक्ला ?

यसले मूल धारको राजनीति गर्ने र योजना निर्माण गर्ने व्यक्तिहरूलाई सीमान्तीकृत अवस्थामा बाँचिरहेका मतदाताको बारेमा केही गर्नुपर्छ भन्ने सन्देश दिन सक्छ । देशमा महिलाहरूका बिचमा पनि व्यापक असमानता छ र त्यसलाई हटाउन सके मात्र समृद्धि सम्भव छ भन्ने पनि सन्देश दिन सक्छ ।

क्याप्सन लेख्ने बेला तपाईंलाई यो फोटोले अरूको मन जित्न सक्ला भन्ने लागेको थियो ?

क्याप्सन लेख्दा उनीहरूसँगको भलाकुसारी सम्झिएँ । महिनौँसम्म गिठा भ्याकुर खाएर बाँच्दै आएको, घाँस काट्दा भिरबाट लडेर ज्यानै जान सक्ने अवस्थाको, घण्टौँसम्म गिठा पकाएर छाक टार्दै आएको आदि दैनिकीका पाटालाई मैले क्याप्सनमा समेट्ने प्रयास गरेँ । फोटो मात्रैले अरूको मन जित्ला भन्ने चैँ लागेको थिएन तर क्याप्सनमा झिनो आशा चाहिँ जोडिएको थियो ।

महिलाको दृष्टिकोणबाट यस्ता फोटो प्रतियोगिताहरू हुन कत्तिको आवश्यक छ र किन ?

महिलाको सवाललाई विभिन्न तरिकाले उठाउनका लागि यस किसिमका फोटो प्रतियोगिताहरू बेला बेलामा हुनु आवश्यक छ । सञ्चारमाध्यममा महिलाको सवाल र भनाइ ल्याउन यस किसिमका फोटो प्रतियोगिताहरू हुनुपर्छ । यसबाट महिलाहरूको सहभागिता देखिने गरी उनीहरूको विषय उठान गर्ने अवसर पनि मिल्छ ।

अशक्त र अपाङ्गता भएकालाई झनै गाह्रो

–स्मृति वाइ सी (तृतीय र पपुलर च्वाइस पुरस्कार विजेता)

बधाई छ तपाईंलाई ! मोबाइल फोटो प्रतियोगिताबारे कसरी थाहा पाउनुभयो ?

धन्यवाद ! मतदान केन्द्रमा गएको थिएँ । मोबाइल चलाएर बसिरहेको थिएँ । स्टोरी किचेनको पेजमा सूचना सेयर भएको देखेँ । विस्तृत बुझ्न भनेर ‘सन्धान’ को फेसबुक पेज पनि हेरेँ र प्रतियोगिताबारे थप थाहा पाएँ ।

फोटो प्रतियोगितामा सहभागिता जनाउनुपर्छ भन्ने किन लाग्यो ?

मतदान केन्द्रमा धेरै महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो । म आफू पनि महिला भएका कारण उहाँहरूको फोटो खिच्न पनि सजिलो भयो । र, म आफैँलाई पनि कस्तो फोटो खिच्दो रहेछु भन्ने लाग्यो । त्यसैले फोटाहरू खिचेँ र प्रतियोगिताका लागि पठाएँ ।

मतदान केन्द्रको माहोल कस्तो थियो, बताइदिनुस् न ?

मतदान केन्द्रको माहोल शान्तिपूर्ण थियो । मतदान केन्द्र सबैको घरछेउमा हुँदैन । टाढा हिँडेर पुग्नुपर्ने हुन्छ । मतदान स्थल पुगिसकेपछि पनि घाममा लाइन लागेर उभिन पर्ने थियो । यस्तो गर्मीमा साङ्ग मानिसलाई त गाह्रो हुन्छ अझ अशक्त र अपाङ्गता भएकालाई झनै कति गाह्रो होला भन्ने चर्चा पनि मतदान स्थलमा चलेको थियो ।

मतदान स्थल अपाङ्गतामैत्री थिएन । तर, मतदान गर्न अपाङ्गता भएका व्यक्तिहरू आइरहेको देखिन्थ्यो । अशक्त पनि आएका थिए । मलाई चाहिँ अपाङ्गतामैत्री नभएको ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूले कसरी मतदान गर्दा होलान् भन्ने लागिरहेको थियो । त्यही क्रममा एक जना बहिनी ह्विलचेयरमा आएर मतदान गर्ने ठाउँतिर जाँदै गरेको देखेँ । उनलाई ह्विलचेयरमा बसेर गेटबाट बाटो बनाउँदै अलि परबाट घुमाउँदै मतदान गर्ने ठाउँतिर जाँदै गरेको देखिरहेको थिएँ । यो फोटो खिच्नुपर्छ भन्ने लाग्यो । फोटो खिचेपछि उनीसँग कुरा पनि गरेँ । उनी पहिलो पटक मतदान गर्न आएकी रहिछन् ।

यो फोटोले कस्तो सन्देश दिन सक्छ भन्ने तपाईंलाई लाग्छ ?

यो फोटोले मतदान स्थल अपाङ्तामैत्री हुनुपर्छ भन्ने सन्देश दिन सक्छ । यो एउटा प्रतिनिधि फोटो हो भन्ने लाग्छ । त्यस्तै, मताधिकार ठुलो कुरा हो, जस्तोसुकै अवस्थामा पनि मतदान गर्न जानुपर्ने रहेछ, यो हाम्रो अधिकार हो भन्ने सन्देश पनि यसले दिन्छ जस्तो लाग्छ ।

यो फोटो तपाईंलाई विजयी होला जस्तो लागेको थियो ?

यस्तो त लागेको थिएन । विजेता हुन्छु नै भन्ने त सोचेको थिइनँ तर यो फोटो अलि फरक सन्देश दिने खालको छ भन्ने चाहिँ लागेको थियो ।

महिलाको दृष्टिकोणबाट यस्ता फोटो प्रतियोगिताहरू हुनु कत्तिको आवश्यक छ र किन ?

यस्ता फोटो प्रतियोगिताहरू समय समयमा हुनु आवश्यक छ । महिलाको दृष्टिकोणबाट महिलाहरूको फोटो खिचेर समाजमा अगाडि ल्याउनु राम्रो हुन्छ । अझ महिलाहरूबाटै खिचिएको महिलाहरूको कहानीसहितका प्रतिनिधि फोटाहरू अगाडि ल्याउनु जरुरी छ । यसबाट समाजमा अरूले पनि प्रेरणा लिन सक्छन् ।

प्रकाशन मिति : २०७९ असार २०, साेमवार ।