– प्रज्ञा दाहाल
विश्वका विभिन्न मुलुकमा यतिबेला ‘गौरव महिना’ मनाइँदैछ । मूलतः ‘प्राइड मन्थ’ भनेर चिनिने यो उत्सव ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको जुन महिनामा मनाउने चलन रहिआएको छ । ‘प्राइड मन्थ’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि अति नै महत्त्वपूर्ण महिना हो । यसलाई एक प्रकारको उत्सवका रूपमा मनाउने गरिन्छ ।
जुन महिनालाई गौरवका रूपमा मनाउनाको उद्देश्य लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर र क्वेयर समुदायका मानिसहरूका उपलब्धिहरूको उत्सव मनाउने, उनीहरूको अधिकारको वकालत गर्ने र समानताको प्रवर्धन गर्ने हो । यसको इतिहास संयुक्तराज्य अमेरिकाको न्युयोर्क सहरसँग जोडिएको छ ।
सन् १९६९ जुन २८ मा न्युयोर्क सहरको ग्रिनविच भिलेजमा रहेको ‘स्टोनवाल इन’ नामक बार तथा मनोरञ्जनस्थलमा भएको विद्रोहको सम्झनामा ‘प्राइड मन्थ’ मनाउन थालिएको हो । यसै विद्रोहका उपलब्धिसँग जोडिएर अमेरिकाले सन् २००० यता दुई वटा औपचारिक घोषणा पनि गरेको छ ।
न्युयोर्कको एउटा बारमा भएका यस समुदायका केही व्यक्तिहरू र प्रहरीबिचको भिडन्तबाट सुरु भएको गौरव महिनाको इतिहास विश्वका धेरैजसो मुलुकमा फैलिँदै र आफ्नो उद्देश्यमा क्रमशः अघि बढ्दै आइरहेको छ ।
स्टोनवाल विद्रोह

तत्कालीन समयमा न्युयोर्क सहरसहित धेरैजसो सहरी क्षेत्रमा एलजिबिटिक्यु प्लस समुदायविरुद्ध भेदभावपूर्ण कानुनहरू बनाइएका थिए । अमेरिकाको अधिकांश भागमा समलैङ्गिकतालाई फौजदारी अपराधको रूपमा लिइन्थ्यो । समलिङ्गी बारहरूमा प्रहरीले छापा मार्न सामान्य घटना जस्तै थियो । यसखालको उत्पीडनको प्रतिक्रियामा अमेरिकाका विभिन्न स्थानमा अन्य विद्रोहहरू पनि भइरहेका थिए ।
समलैङ्गिक समुदायका सदस्यहरूलाई गरिँदै आएको उत्पीडनबाट मुक्तिको बाटोतर्फ उन्मुख गराउने र सामाजिकीकरण गर्ने विभिन्न ठाउँ बनाइएका थिए । यस्तै एउटा ठाउँ स्टोनवाल इन बार पनि थियो । त्यस्ता बारहरूमा प्रहरीले भने फौजदारी अपराध हुन सक्ने ठाउँ मानेर बारम्बार छापा माथ्र्यो ।
सन् १९६९ जुन २८ मा पनि प्रहरीले स्टोनवाल इनमा छापा मार्यो । एक हप्ताभित्र स्टोनवालमा छापा मारिएको त्यो दोस्रो पटक थियो । त्यो दिन प्रहरीले बार खाली गर्न बल प्रयोग गर्यो । बारका संरक्षकहरूलाई पक्राउ गर्यो । त्यति हुँदा पनि त्यहाँ रहेका ग्राहकको भिड तितरबितर भएन । उनीहरू विद्रोहको भावसहित प्रतिकारमा उत्रिए ।
आक्रोशित ग्राहकहरूले प्रहरीमाथि नै बोतल र फोहोर फ्याँक्न थाले । दुबै पक्षबिच भएको भिडन्त पाँच दिनसम्म जारी रह्यो । इतिहासकारहरूले उक्त घटनालाई सामाजिक र राजनीतिक भेदभावविरुद्धको स्वतःस्फूर्त विरोधको संज्ञा दिएका छन् । स्टोनवाल इनमा प्रहरी र समलिङ्गी अधिकारकर्मीहरूबिच भएको उक्त भिडन्तलाई ‘स्टोनवाल विद्रोह’ भनिन्छ ।
स्टोनवाल विद्रोह समलिङ्गी तथा समयौनिक अधिकार आन्दोलनलाई चिनाउने एउटा महत्त्वपूर्ण घटना हो । यो नै पहिलो घटना भने होइन । स्टोनवाल विद्रोहअघि नै समलिङ्गी अधिकारकर्मी समूहहरू अस्तित्वमा थिए । तर, उक्त विद्रोहले त्यसपछिका दिनहरूमा एल्जिबिटिक्युआइए प्लस समुदायमाथि हुने गरेको भेदभावका विरुद्घ लड्न राजनीतिक सक्रियताको लागि उत्प्रेरकको रूपमा काम गर्यो ।
स्टोनवाल विद्रोहअघि नै समलिङ्गी अधिकारकर्मी समूहहरू अस्तित्वमा आएका भए पनि स्टोनवालले समलिङ्गी मुक्ति मोर्चा र समलिङ्गी कार्यकर्ता गठबन्धन जस्ता प्रतिबद्ध समूहहरूका लागि बाटो बनायो । त्यसको एक वर्षपछि सन् १९७० जुन २८ मा न्युयोर्कमा नै स्टोनवाल विद्रोहको सम्झनामा ‘क्रिस्टोफर स्ट्रिट लिबरेसन डे मार्च’ को आयोजना गरियो । त्यसमा पाँच हजारभन्दा बढी प्रदर्शनकारीहरू सहभागी भए ।
उक्त प्रदर्शनलाई अमेरिकी इतिहासको पहिलो ‘गे प्राइड मार्च’ का रूपमा लिइन्छ । त्यसमा ‘मदर अफ प्राइड’ भनेर संसारभर चिनिएकी तथा न्युयोर्क एरिया बाइसेक्सुअल नेटवर्ककी संस्थापिका ब्रेन्डा होवार्डको सक्रिय सहभागिता थियो । उहाँकै सक्रियताका कारण उक्त प्रदर्शन एक हप्तासम्म चलेको मानिन्छ ।
प्रदर्शनले समलिङ्गीप्रतिको भेदभावपूर्ण व्यवहारविरुद्ध ऐक्यबद्धता प्रदर्शन गर्ने र स्टोनवाल इन घटनाको स्मरण गराउने काम गर्यो । उक्त घटनापश्चात् समलिङ्गी अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो । तिनै संस्थाहरूको वकालतले भेदभावपूर्ण सरकारी नीतिहरूमा परिवर्तन ल्याउन मद्दत गर्यो ।
नीतिगत परिवर्तनसँगै अमेरिकाका अन्य भूभाग र विश्वका अन्य मुलुकहरूमा प्राइड परेडको विस्तार पनि हुँदै गयो । सन् १९९९ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले जुन महिनालाई समलिङ्गी र समयौनिकहरूको महिना भनेर घोषणा गर्नुभयो । त्यसपछि सन् २०१६ मा राष्ट्रपति बाराक ओबामाले ‘स्टोनवाल राष्ट्रिय स्मारक’ को घोषणा गरी त्यसलाई थप महत्त्व प्रदान गर्नुभयो ।
स्टोनवाल विद्रोहको चर्चा गर्दैगर्दा त्यसको पृष्ठभूमिमा भएका घटनालाई पनि सम्झनुपर्ने हुन्छ । सन् १९६५ जुलाई ४ मा अमेरिकाको पेन्सिल्भेनियाको फिलाडेल्फियास्थित इन्डिपेन्डेन्स हलको अगाडि एउटा प्रदर्शन गरिएको थियो । त्यसमा समलिङ्गी र समलैङ्गिक कार्यकर्ताहरू सहभागी थिए । उनीहरूले एलजिबिटी समुदायको हक अधिकार सुनिश्चित गर्न र सरकारलाई दबाब दिन उक्त प्रदर्शन गरेका थिए ।
प्रदर्शनको आयोजना सन् १९६३ मा स्थापित इस्ट कोस्ट होमोफिल अर्गनाइजेसन नामक संस्थाका प्रतिनिधिहरू फ्रान्क केमेनी र बार्बरा गिटिङ्सको अगुवाइमा भएको थियो । सो संस्था अमेरिकी एलजिबिटिक्यु प्लस कार्यकर्ता समूहहरूको गठबन्धनको रूपमा स्थापित थियो ।
प्राइड मन्थ
एलजिबिटिक्युआइए प्लस तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको पहिचान, अस्तित्व, अधिकार, योगदान, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुति, यौन अभिमुखीकरण र यौन विशेषतालाई सम्मान गर्ने महिना हो, प्राइड मन्थ । यसले यस संसारमा सुरुदेखि नै अस्तित्वमा रहेका तर महिला र पुरुषभन्दा फरक प्रकृतिका भएकै कारण फरक खालको लैङ्गिक विभेदमा पारिएका समुदायभित्रका मानिसको सम्बन्धमा सरोकार राख्तछ ।
प्राइड मन्थले सबै व्यक्तिले कुनै पनि प्रकारको भेदभावविना समान अधिकार, सम्मान, सुरक्षा र मर्यादासहित बाँच्न पाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने मितिनी नेपालको भनाइ छ । मितिनी नेपाल लेस्बियन, बायसेक्सुअल र ट्रान्सजेन्डरको मुद्दामा काम गर्ने उद्देश्यले सन् २००५ मा स्थापित संस्था हो । यो लेस्बियन, बायसेक्सुअल र ट्रान्सजेन्डर आन्दोलनको अग्रणी संस्था हो ।
एलजिबिटिक्युआइए प्लस समुदायको समान हक अधिकारलाई सुनिश्चित गर्न, स्टोनवाल आन्दोलनको प्रगति र समुदायको सङ्घर्षको सम्मान गर्न पनि हरेक वर्ष जुन महिनामा प्राइड मन्थ मनाउने गरिन्छ । अहिले विश्वका एक सयभन्दा बढी देशमा ‘प्राइड मन्थ’ को आयोजना गरिन्छ ।
विश्वका अधिकांश मुलुकमा जुन महिनामा यो उत्सवको आयोजना हुने गरेको छ । केही मुलुकमा भने मौसमको अनुकूलतालाई हेरी अन्य महिनामा पनि यस खालको उत्सवको आयोजना हुने गरेको पाइन्छ । मौसमकै कारण एउटै मुलुकमा पनि भिन्नभिन्न सहरमा भिन्न समयमा ‘प्राइड मन्थ’ को आयोजना हुने गरेको पनि पाइन्छ ।
प्राइड मन्थ र नेपाल गौरव यात्रा

एलजिबिटिक्युआइए प्लस अधिकारको क्षेत्रमा नेपाललाई दक्षिण एसियाका देशहरूमध्ये बढी प्रगतिशील रहेको मानिन्छ । नेपालमा लैङ्गिक र यौनिक विविधतालाई कानुनी मान्यता छ । यहाँ नेपाल गौरव यात्राको संज्ञा दिएरै सन् २०१० देखि औपचारिक रूपमा प्राइड मन्थ पनि मनाउन थालियो ।
नेपालमा हरेक वर्ष जुन महिनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको मर्यादा, स्वीकृति र समान अधिकार प्रवर्धन गर्न प्राइड परेड, बहस एवं र्याली जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरिएको छ । इतिहासतिर फर्किएर हेर्दा सन् २००१ मा काठमाडौंँमा पहिलो पटक ‘प्राइड परेड’ आयोजना गरिएको देखिन्छ । त्यसमा झन्डै ५० मात्र सहभागी थिए ।
सहभागीमध्ये धेरैजसोले त्यतिबेला सामाजिक भेदभावको सिकार हुने डरले आफ्नो अनुहार लुकाउन गाईजात्रामा लगाइने जस्तै गरी जात्राको मास्क लगाएका थिए । त्यसरी सुरुआत गरिएको परेडमा पछि सहभागीको सङ्ख्या बढ्दै गयो । एक हजार पाँच सयभन्दा बढी मानिसहरू परेडमा सहभागी भए । त्यसमा स्थानीय मात्र नभई भारत, बेलायत, जर्मनी र जापानका मानिसहरू पनि सहभागी थिए ।
सहभागीहरूको भिडले काठमाडौँका सडकहरूमा पैदल मार्च गर्यो । प्रदर्शनीले एलजिबिटिक्युआइए प्लस समुदायका मानिसहरूलाई थप ऊर्जा दिँदै गयो । यसले जागरुकता मात्र फैलाएन, त्यो थप अधिकारका अवसरहरूको माग गर्ने दरिलो कडी पनि साबित भयो । त्यसपछिका वर्षहरूमा आयोजित प्राइड परेडहरूमा संविधान, ऐन, नीति, नियमहरूको परिवर्तनमा जागरुकता, स्वीकृति, मान्यता र समानताको माग जस्ता विषयहरूको उठान गरियो ।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १३ का दिन काठमाडौँको शान्तिबाटिकाबाट प्राइड परेड सुरु गरियो । २०८३ जेठ ३१ गते भएको उक्त परेड टुँडिखेलसम्म पुगेर अडियो । टुँडिखेलमा विभिन्न कार्यक्रममाझ समानता, समावेशीकरण र विविध यौनिकता र लैङ्गिक पहिचानको वकालत गर्दै समापन पनि गरियो ।





