सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
सन् १९०८ मा आजकै दिन अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरू भेला भएर उचित काम, कामको पारिश्रमिक र मताधिकारको माग राख्दै र्याली निकाले । यसलाई श्रमिक महिलाहरूले आफ्नो अधिकारको माग राख्दै सङ्गठित रूपमा उत्रिएको विश्वकै पहिलो घटना मानिन्छ ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा ‘कन्फरेन्स अफ वर्किङ वुमन’ नामक सम्मेलन भयो । त्यसमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने प्रस्ताव आयो । महिलावादी जर्मन नागरिक क्लारा जेट्किनबाट आएको त्यो प्रस्तावमा विभिन्न देशका सहभागी एक सय महिलाले सर्वसम्मत सहमति जनाए ।
उक्त सहमतिपछि सन् १९११ को मार्च ८ तारिखमा डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्डलगायत देशमा श्रमिक महिला दिवस मनाइयो । त्यसपछि विश्वका अरू देशमा यो दिवस मनाउने लहर फैलिँदै गयो । यो वर्ष ११५औँ विश्व महिला दिवस हो । यस वर्ष विश्वका सबै महिला र बालिकाहरूका लागि अधिकार, समानता र सशक्तीकरणमा जोड दिइएको छ ।
नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि यो दिवस मनाउन थालियो । यस वर्षको नेपालको नारा ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ रहेको छ । कसैले ‘मार्च आठ’ त कसैले ‘आठ मार्च’ भन्दै श्रमिक महिला दिवस मनाउने गर्थे । पञ्चायतकालमा भने यसको दायरा सत्तानिकट महिलामा सीमित राख्न खोजियो । यसैले सर्वसाधारणका बिचमा भूमिगत राजनीति गर्नेहरूले यसलाई सामाजिक अभियानसँग जोड्थे र लुकीछिपी मनाउने गर्थे ।
प्रशासनको अगाडि विभिन्न बहाना बनाएर लुकीछिपी महिलाहरू मार्च ८ का दिनमा भेला हुन्थे । महिला सरोकारका विभिन्न विषय र नाममा गोष्ठी, कार्यक्रम गर्थे । कुनै कुनै वर्ष नाराजुलुस पनि गर्थे । त्यसरी कार्यक्रम र नाराजुलुस गर्दा महिलाहरू पक्राउसमेत पर्थे ।
पञ्चायतकालमा भूमिगत राजनीति गर्ने महिलाहरूले विभिन्न जिल्लामा यो दिवसलाई सामाजिक अभियानसँग जोडेर स्मरणीय पनि बनाए । २०४६ सालको जनआन्दोलनमा ८ मार्चको सन्दर्भलाई महिला नेताहरूले विशेष तरिकाले उपयोग गरेका थिए । त्यसबाट जनआन्दोलनमा थप उभार ल्याउन मद्दत पुगेको विचार र अनुभव कतिपयले साझा पनि गरे ।
नेपालमा विभिन्न कालखण्डमा भएका सामाजिक बेथितीविरुद्धका अभियान र राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूमा सहभागी मात्र होइन, नेतृत्वसमेत गरी योगदान पुर्याएका महिलाहरूको कमी छैन । कमी छ त महिलाका योगदानको उचित पहिचान र सही मूल्याङ्कनको । यही कुरालाई ध्यानमा राखेर ‘सन्धान’ ले महिलाका जीवनभोगाइबारेको सोधखोज, सङ्कलन, प्रस्तुति र दस्ताबेजीकरण गर्ने प्रयास गर्दै आएको त यहाँलाई थाहै छ ।
पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुनर्बहालीका लागि २०४६ सालमा भएको जनअन्दोलनका बारेमा २०७८ चैत २१ गतेदेखि खोजी सुरु गरिएको थियो । आन्दोलनमा महिलाको सहभागिता, नेतृत्व र योगदान के कसरी भयो र कस्तो अनुभव रह्यो भन्ने बारेमा कुराकानी गर्दा मार्च ८ का दिन श्रमिक महिला दिवस मनाउँदाका विविध प्रसङ्गहरू पनि आएका थिए ।
हामीले ८ मार्चसँग सम्बन्धित विषय, घटना र सन्दर्भमा पहिले भएका कुरालाई एकत्रित गरेका छौँ । अत्यावश्यक ठाउँमा थप कुराकानी गरी स्पष्ट पार्ने प्रयास गरेका छौँ । केही महिलासँग नयाँ कुराकानी पनि गरेका छौँ । यसरी सङ्कलन गरिएका जानकारीका आधारमा विभिन्न सामग्री तयार गरी ‘सन्धान’ अनलाइन र यसका सामाजिक सञ्जालहरूमा राख्ने निर्णय गरेका छौँ ।
यसै मेसोमा आज पहिलो दिन प्रस्तुत छ, नेपाली कांग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य कमलादेवी पन्त (स्वकथन, प्रकाशित/प्रसारित मिति २०८० माघ २० गते), पूर्वमन्त्री तथा राजनीतिकर्मी हिसिला यमी (२०८१ फागुन २२ गते कुराकानी गरिएको), राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा (अन्तर्वार्ता प्रकाशित/प्रसारित मिति २०७८ चैत २४) र राजननीतिकर्मी लीला कट्टेल कार्की (अन्तर्वार्ता प्रकाशित/प्रसारित मिति २०८१ साउन ७ गते) को ८ मार्चको संस्मरण :
जनआन्दोलनमा महिला दिवसको उपयोग

– कमलादेवी पन्त
म २०४५ सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएपछि २०४९ सालसम्म नै सभापति भइरहेँ । २०४६ सालको जनआन्दोलनमा पद्मकन्या क्याम्पसका साथै काठमाडौँका कन्या स्कुलहरूको ‘ह्यान्डिल’ गर्ने जिम्मा मेरो थियो ।
छात्राहरूलाई कसरी आन्दोलनमा हिँडाउने, कस्तो आन्दोलन गर्ने भन्ने हुन्थ्यो । मैले विभिन्न साथीहरूसँग छलफल गरेर योजना बनाएर काम गरेँ । यसमा साथीहरू मिलेर योजना बनाएरै काम गरेका थियौँ । हामीले फागुन २४ गते ८ मार्चमा विरोध कार्यक्रम गरेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका थियौँ ।
पक्राउ गर्ने भनिएका विद्यार्थीको नामको सूचीमा मेरो नाम सुरुमै थियो । मेरो नाम ‘ब्ल्याक लिस्ट’ मा थियो । मलाई जहाँ भेटे पनि प्रहरीले पक्राउ गर्ने अवस्था थियो । त्यतिबेला शैलेजा (आचार्य) दिदी घरमै नजरबन्दमा पर्नुभएको थियो । म ‘केन्द्रिय जनआन्दोलन एक्सन कमिटी’ को सदस्य पनि थिएँ ।
एक्सन कमिटीमा भएकाले म ‘अन्डरग्राउन्ड’ बसी पद्मकन्यामा पुगेर काम गर्दै र विरोधका कार्यक्रम गर्दै सेल्टर बसेको घरमा फर्किंदै गर्थें । कलेजभित्र गएपछि प्रहरी छिर्न पाउँदैनथे तर क्याम्पसको हाताबाहिर प्रहरीहरू ट्रक लिएर बस्थे । त्यसको कमान्डरमा महिला प्रहरी नै खटिएका हुन्थे । त्यही क्याम्पसको हाताबाहिर प्रहरीको कमान्डर बनेर आउने साथीको घर चाहिँ मेरो सेल्टर थियो ।
निरङ्कुशतन्त्रविरुद्धको आन्दोलनलाई अघि बढाउन हामी महिलाले नै केही न केही गर्नैपर्छ’ भन्ने निष्कर्ष निकालेर अरू दिनमा जस्तै महिला दिवसमा पनि विरोधका कार्यक्रम गरेका थियौँ । ४९ दिन चलेको जनआन्दोलनमा पद्मकन्या क्याम्पस प्रमुख डा. लीला के.सी., पार्टीका महिला नेताहरू मीना पाण्डे, सुप्रभा घिमिरे, अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डेलगायत हुनुहुन्थ्यो । साहित्यकार पारिजात पनि सहभागी हुनुहुन्थ्यो ।
जनआन्दोलनकै बिचमा महिला दिवस पनि परेको थियो । मलाई लाग्छ, त्यो वर्ष महिला दिवसको सन्दर्भलाई हामीले पुरापुर उपयोग गरेका थियौँ ।
राजतन्त्र कमजोर बनाउने हतियार थियो ८ मार्च

– हिसिला यमी
पञ्चायतकालको ८ मार्चको दुई वटा मुद्दा थियो । एउटा लैङ्गिक प्रश्न उठ्थ्यो, तर त्यो मिसनमा आधारित थियो, विशेष गरेर ‘लेफ्ट’ हरूमा । पार्टीहरूले त्यसलाई अनिवार्य गराउँथ्यो । किन गराउँथ्यो त भन्दा पञ्चायतकालमा मोर्चाहरूबाट मात्रै काम गर्न दिन्थ्यो । किनभने राजनीतिक पार्टीहरू त अवैध थियो ।
राजनीतिक पार्टीहरूका लागि पनि त्यो बेलाका मोर्चाहरू, जसलाई जबस भन्थ्यौँ, जनवर्गीय सङ्गठन (जबस) । जबसहरूले पार्टीकै एउटा अङ्गका रूपमा काम गर्थे । त्यो भएर सबै पार्टीहरूले त्यसरी गर्नुपर्छ भनेर रुचि पनि देखाउँथ्यो । गर्नुपर्छ भन्ने हुन्थ्यो ।
एकातर्फ लैङ्गिक प्रश्न थियो, हामी महिलाहरूले उठाउने कुरै भयो । त्यति मात्रै नभएर राजनीतिक पार्टीहरूले पनि यसलाई मिसनको रूपमा यस्ता मुद्दालाई लग्ने र गर्नुपर्छ भन्थे । त्यतिबेला बेग्लै रौनकता थियो । त्यसरी गर्दा हामीलाई फाइदा पनि थियो । हामी ‘पोलिटिसाइज्ड’ पनि हुन्थ्यौँ ।
आठ मार्चको सबैभन्दा उत्कृष्ट रूप त जनआन्दोलन पहिलोे (२०४६ सालको जनआन्दोलन) मा पद्मकन्या क्याम्पसमा गरिएको कार्यक्रम भयो । पद्मकन्या महिलाहरूको मात्रै कलेज थियो, अहिले पनि हो । त्यहाँ हामीले थाहा पाइपाई ८ मार्च मनाउन गएको ।
हामीले पद्मकन्या क्याम्पसमा गएर त्यो वर्ष कालोपट्टी बाँधेका थियौँ । त्यहाँ प्रहरी आएपछि भाग्न सक्ने मान्छेहरू भागे, नसक्ने मान्छेहरू पक्राउ परे । म त्यतिबेला गिरफ्तार भएको थिएँ ।
आखिरमा त्यो कस्तो भयो भने, ‘रसियन रिभोलुसन’ ले ८ मार्चपछि एउटा गति लिए जस्तै यहाँ (नेपालमा) पनि पहिलो ‘रिभोलुसन’ ले एउटा गति लियो । हामीले विरोधस्वरूप थाल ठटाउनेदेखि लिएर घरघरबाट बत्ती निभाउने, यी सब कुरा ८ मार्चकै क्रममा गरेको ।
किन गरेको भन्दा राजतन्त्रलाई कमजोर बनाउन । त्यसैले राजतन्त्रलाई कमजोर बनाउन पञ्चायतकालको ८ मार्चले काम गरेको थियो । त्यो बेला मार्च ८ एउटा कोसेढुङ्गाकै रूपमा थियो । हामीले हिंसाको विरुद्धमा आवाज उठायौँ ।
हिंसा पनि दुईखालको । एउटा चाहिँ राजसंस्थाबाट हुने हिंसा, जसमा बाहिरबाटै कसैले छुनै बोल्नै नसक्ने बेलामा नमितासुनिता हत्याकाण्डविरुद्ध बोल्यौँ । त्यो घटनाको उजागर गर्ने, त्यसविरुद्ध ओर्लने र त्यसकै रोहबरमा अप्रत्यक्षरूपमा राजतन्त्रको विरोध गर्ने काम गरियो । अर्को चाहिँ आमसमाजमा हुने महिला हिंसाविरुद्ध पनि बोल्थ्यौँ ।
हामीले ८ मार्चलाई नै केन्द्रित गरेर पत्रिका निकाल्थ्यौँ । कसैले कविता सङ्ग्रह निकाल्थ्यौँ । कसैले के निकाल्थ्यौँ । ८ मार्च एउटा बौद्धिक विकासको लागि पनि राम्रो माध्यम भएको थियो । लैङ्गिक सचेतनाको लागि पनि राम्रो हो । हिंसाको विरोधमा लड्नको लागि पनि राम्रो माध्यम बनाएका थियौँ ।
राजनीतिकरूपमा पनि राजतन्त्रको विरोधमा लड्ने अप्रत्यक्ष माध्यम थियो । विभिन्न दृष्टिकोणबाट हेर्दा पञ्चायतकालको ८ मार्च अहिलेको ८ मार्चभन्दा ‘भाइब्रेन्ट’ थियो ।
मार्च ८ त दशैँ आएभन्दा बढी हुन्थ्यो

– विष्णुमाया ओझा
हामी पञ्चायतकालमा मार्च ८ मनाउँथ्यौँ । मार्च ८ त दशैँ आएभन्दा पनि बढी हुन्थ्यो । दशैँको बरु हामीलाई मतलब हुँदैनथ्यो, मार्च ८ र मे १ (अन्तर्राष्ट्रिय श्रमिक दिवस) आयो भने एक महिनादेखि तयारी गर्थ्यौं ।
तयारीका बेला प्लेकार्ड बनाउने, नारा बनाउने, आर्थिक सहयोग उठाउने गर्थ्यौं । प्रचारप्रसार गर्ने, सहभागिताका लागि मान्छेहरूलाई बोलाउने र नारा जुलुस कार्यक्रम हुँदा पुलिसहरूसँग जुध्न पथ्र्यो ।
पुलिससँग जुध्ने भनेपछि मानिस उत्साहित हुँदो रहेछ । जब जब पुलिस आउँछ, मानिस उत्साहित हुने गर्थे । पुलिसले दमन गथ्र्यो । त्यो (२०४६ साल) आन्दोलनमा थुप्रै महिला र पुरुषहरू हुनुहुन्थ्यो ।
अजय सुमार्गी (व्यवसायी) को आमा कलावती पनि आन्दोलनमा आउनुहुन्थ्यो । म र कलावती गिरफ्तारीमा परेका थियौँ । म २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएँ । त्यही भएर मलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।
मलाई याद भएसम्म ३४/३५ सालतिर अलिअलि मनाउँथ्यौँ । तर २०३८ सालमा विशाल जुलुस निकालेको । हेटौँडाको कपडा उद्योगका महिलाहरू भएर मनाउँथ्यौ, मार्च ८ र मजदुर दिवस । त्यो बेला विशाल जुलुस निकालेका थियौँ हेटौँडामा ।
पहिलो चोटि कार्यक्रममा पुलिस आए पनि दमन गरेन तर पछि त जुलुसलाई प्रहरीले घेराबन्दी गरेछ । जुलुसलाई नै तितरबितर पार्ने, प्लेकार्डसहित हामीलाई समातेर लगेर दिनभरि राखेर छोड्यो ।
हाम्रो नारा ‘मजदुर महिलालाई सुत्केरी बिदा दे’, ‘कपडा उद्योगमा रातिको सिफ्टमा महिलालाई काममा लगाउन पाइँदैन’, ‘महिला दिवसमा महिलालाई बिदा दे’ भन्ने हुन्थ्यो त्यतिबेला । अलिपछि पोखरामा काठमाडौँका सुनिता, नमिता दिदीबहिनीको हत्या भएको खबर आयो । त्यसपछि हामीले ‘सुनितानमिताको हत्यारालाई कारबाही गर्’ भन्ने जस्ता नारा पनि लगाउँथ्यौँ ।
मार्च ८ मनाएकै साँझ पक्राउ परेर जेलमा

– लीला कट्टेल कार्की
म २०३६ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध भएँ । त्यतिबेला १० कक्षामा पढ्दै थिएँ । पञ्चायतकाल थियो । विद्यार्थी जीवनदेखि राजनीतिमा लागेर २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत भएँ ।
हामीले त्यतिबेला मार्च ८ को मौका छोपेर महिलाहरू भेला हुने र महिलाहरूको हकअधिकार प्राप्तिको लागि पञ्चायती व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने जस्ता कुरा गर्थ्यौं । त्यसो गर्दा प्रहरी प्रशासनले निगरानी गथ्र्यो ।
मलाई लाग्छ, झापामा २०३७ सालमा पहिलो पटक मार्च ८ मनाउन थालिएको हो । त्यसलाई निरन्तरता दिने क्रममा २०४० सालको मार्च ८ को दिन झापाको विभिन्न ठाउँ दमक, भद्रपुर, मेचीनगरमा मनाउने निर्णय भयो र त्यही अनुसार समूह विभाजन गरियो ।
कार्यक्रम गर्दागर्दै थाहा पाएर प्रहरीले लखेट्यो । कार्यक्रमस्थलबाट भाग्न सफल भएर साथीको कोठा (डेरा) मा पुगेर बस्यौँ तर बेलुका प्रहरी कोठामै पुगेर हामीलाई पक्राउ गर्यो । मसहित छ जना पक्राउ पर्यौँ। मलाई नौ महिना जेल राखेर बल्ल छोड्यो ।
मसँगै पक्राउ पर्ने पवित्रा निरौला दुई वर्षपछि मात्रै छुट्नुभयो । दुई जना पुरुष साथीहरू विष्णु खड्का र पदम बुढाथोकीलाई १८ दिन हिरासतमा राखेर छोड्यो । केही साथीहरूलाई झापाकै चन्द्रगढी जेलमा पनि लग्यो ।
प्रकाशन मिति : २०८१ फागुन २४ गते, शनिवार