हामीलाई सरकारले पनि हेला गर्‍यो (भिडियाे सहित)

आवाज आ–आफ्नो

नेपालमा औसतभन्दा ज्यादै कम उचाइ भएका व्यक्तिहरूको विशेष पहिचान छ । उहाँहरूमध्ये केहीको सचेतना र सक्रियतामा २०६० सालमा नेपाल होचा पुड्का संघको स्थापना भयो । संस्थाका अध्यक्ष बिन्दा दुलालका अनुसार, हालसम्म संस्थामा होचा पुड्का भनेर दर्ता गर्न आउनेको सङ्ख्या साढे पाँच सय पुगेको छ । दैनिक दिनचर्याका धेरै कुरामा असहज हुने भएकाले उहाँहरूलाई अपाङ्गताभित्र राखिएको छ ।

संघका पूर्व सचिव तथा सदस्य सुनिता दवाडीले एक्लै काठमाडौँमा बसेर काम गर्न थालेको एक वर्षभन्दा बढी भयो । उहाँले संघकै सहयोगमा सिलाइबुनाइ र कम्प्युटर चलाउन सिक्नुभएको थियो । संघको सहयोगमा अरूले पनि कम्प्युटर चलाउन सिके । कतिपयलाई सिलाइकटाइको तालिम दिइयो । तालिममा सिप सिकाउन प्रयोगमा ल्याउने गरिएका उपकरणहरू भने अपाङ्गतामैत्री भएनन् । त्यही कारण होचा पुड्का संघमा आबद्ध भई तालिमसमेत लिएर काम गरिरहेकाहरूले थप कठिनाइको सामना गर्नुपर्‍यो ।

सामान्यतः घरदेखि कार्यालय र सार्वजनिक स्थानसम्मका ढोकाका चुकुलहरू भेट्न नसक्ने, आवतजावत गर्नुपर्दा धेरैजसो बसहरू अग्ला हुने भएकाले तिनमा चढ्न नसक्ने, कार्यस्थलमा पनि अग्लाइ भएका मानिसलाई लक्ष्य गरी बनाइएका अधिकांश पूर्वाधारमा बसेर र टेकेर काम गर्न असहज हुने, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था आदिका पूर्वाधार पनि अपाङ्गतामैत्री नभएकाले शिक्षा र सेवा लिन असहज हुने, लामो समयसम्म लगातार हिँड्न समस्या हुने जस्ता अनुभव ज्यादै कम उचाइ भएका व्यक्तिहरूको छ ।

औसतभन्दा ज्यादै कम उचाइ भएर संघमा आबद्ध र तालिम प्राप्त कामकाजी व्यक्तिहरूको भोगाइ कस्तो छ ? उहाँहरूसँग सरोकार राख्ने जल्दाबल्दा दैनन्दिन सवालहरू के हुन् ? यिनै प्रश्नको सेरोफेरोमा काम र पढाइका साथै घरभित्रदेखि समाजसम्म हरेक दिनजसो भोग्न परेका अपमान र हिंसालगायतका विषयमा ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८१ माघमा उहाँहरूसँग कुराकानी गर्नुभयो ।

काठमाडौंँको बागबजारस्थित नेपाल होचा पुड्का संघको कार्यालयमा पुगेर गरिएको सो भिडियो कुराकानीमा संघका संस्थापक कोषाध्यक्ष तथा पदासिन उपाध्यक्ष श्यामकुमार पण्डित क्षेत्री, कोषाध्यक्ष पार्वती ढकाल र सदस्यहरू सुनिता दवाडी, प्रेम नेपाली, फूलमाया गैरे, भीमबहादुर सुनार सहभागी हुनुहुन्थ्यो ।

सहभागीमध्ये अधिकांशको अहिलेसम्मको अनुभवको सार थियो– औसतभन्दा ज्यादै कम उचाइ भएकै कारण आफूले विभिन्न खालका अप्ठ्यारा भोग्नुपरेको त छँदैछ, त्यसमाथि थपिने सामाजिक लाञ्छना पनि अझै हट्न सकेका छैनन् । सरकारले पूर्वाधार सुधार र सचेतनाका लागि विशेष ध्यान दिइदिए, आफूले जानेको र सकेको काम गरेर खान अलि सहज हुन्थ्यो ।

प्रस्तुत छ, औसतभन्दा ज्यादै कम उचाइ भएका कामकाजी व्यक्तिहरू श्यामकुमार पण्डित क्षेत्री, पार्वती ढकाल, सुनिता दवाडी, प्रेम नेपाली, फूलमाया गैरे भीमबहादुर सुनारको आ–आफ्नो आवाज :

हाम्रो क्षमताअनुसार काम दिनुपर्‍यो भन्ने माग हो

– श्यामकुमार पण्डित क्षेत्री

मेरो नाम श्यामकुमार पण्डित क्षत्री हो । घर (काठमाडौँको) बौद्ध, सिमलटार । अहिले म ४६ वर्षको भएँ । नेपाल होचा पुड्का संघकोे उपाध्यक्ष हुँ । २०६० सालमा यो संघकोे स्थापना गर्दा म संस्थापक कोषाध्यक्ष थिएँ । यो संस्था खोल्दा हामी जस्ता मानिसहरू आक्कलझुक्कल मात्रै बाटोमा देखिन्थे । भेट्नै गाह्रो हुन्थ्यो । त्यो भएर संस्था खोल्नुपर्छ भन्ने सल्लाह भयो ।

हामी होचा पुड्काहरू मिलेर हामी जस्तैहरूको अधिकारका लागि काम गर्नुपर्छ भन्ने सोच थियो । मैले ‘वसन्त ऋतु’ भन्ने टेलिसिरियलमा खेलेको थिएँ । त्यसपछि अन्तर्वार्ता लिन एक जना पत्रकार आउनुभयो । उहाँले मलाई लोकनाथ ढकालसँग भेट्न सल्लाह दिनुभयो । उहाँले नै लोकनाथजी जमलको (राष्ट्रिय) नाचघरमा काम गर्ने पनि बताउनुभयो ।

म त्यति बेला नाचघरमा पुग्न सकिनँ र भेट हुन सकेन । पछि गाउँकै एक जना आफन्तको सहयोगमा नाचघर पुगेर लोकनाथ ढकाललाई भेटेँ । मैले भेटेर उहाँलाई संस्था खोल्ने प्रस्ताव राखेको थिएँ । हामीले संस्था खोल्नुपर्छ । अब आउने पिँढीलाई हामीलाई भन्दा सहज हुनुपर्छ भन्ने कुरा भयो । उहाँले तिमीहामी मात्र भएर हुँदैन । अरू मान्छेहरू पनि भेला पारौँ भन्नुभयो ।

खोज्दै जाँदा सात जनाको कार्यसमिति बनाएर संस्था खोल्याैँ । संस्था खोल्दा लोकनाथ ढकाल अध्यक्ष हुनुभयो र म कोषाध्यक्ष भएको कुरा त अघि पनि भनेँ । पहिल्यैदेखि नै होचा पुड्कालाई हेर्ने दृष्टिकोण फरक थियो । अहिले दृष्टिकोण अलि उदार भए पनि अवस्था उस्तै छ ।

गाडीमा चढ्दा हामी चढ्न सक्दैनौँ । कसैले दयामायाले हेर्छन् र सहयोग पनि गर्छन् तर बस्नलाई सिट दिँदैनन् । तल पनि माथि पनि समाउने ठाउँ नभएपछि, हामी च्यापिन्छौँ । सास फेर्न पनि गाह्रो हुने । धेरै किसिमका समस्या झेल्नुपर्छ । अहिले पनि यस्तै अवस्था छ ।

सरकारले हामीहरूका लागि केही पनि गरेको छैन । हामी जस्तो अपाङ्गता भएका, होचा र पुड्का भएका व्यक्तिलाई हामीले गर्न सक्ने खालको काम दिनुपर्‍यो । हामीप्रति गरिने व्यवहार सकारात्मक बनाउनका लागि समाजमा चेतना फैलाउनुपर्‍यो ।

तपाईंहरू यसरी मिडियाबाट आउनुहुन्छ । यो हाम्रो कुरा सरकारसम्म पुगोस् ! कम्तीमा सम्मानपूर्वक बाँच्ने अधिकार हामीलाई चाहियो । घरमा आमाबुबा, दाजुभाइ, दिदीबहिनीदेखि आफन्त, समाज र सरकारको पनि होचा हेला हुन हुन्छ त ? अनि त्यस्तो गर्ने भए हामीलाई जन्म किन दिएको त ?

गाँस, बास नै नहुनेलाई गाँस, बास पनि दिनुपर्‍यो । बाहिर कति देशमा भत्ता पनि दिन्छ रे ! हाम्रो देशको सरकारले दिएको छैन । हामीलाई ‘अपाङ्गता परिचयपत्र र मेडिकलको प्रमाणपत्र लिएर आउनू’ भनिन्छ । सबै लिएर जाँदा पनि ‘यो कुनै वर्गमा पर्दैन’ भनिन्छ ।

अपाङ्गता भएकाको पाँच वटा वर्ग ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ मध्ये हामी चाहिँ ‘ग’ वर्गमा पर्ने रहेछौँ । ‘ग’ वर्गमा पर्नेलाई पनि दुर्गम ठाउँमा भत्ता दिएको सुनेको छु तर काठमाडौँमा दिएको छैन । ‘क’ र ‘ख’ वर्गकाले पाएका छन् रे !

‘क’ मा ह्विलचेयरमा बस्ने र सुत्ने व्यक्ति मात्र पर्नुहुन्छ । ‘ख’ मा ह्विलचेयरमा मात्रै हिँड्ने व्यक्तिहरू पर्नुहुन्छ । ‘ग’ मा हामी जस्ता व्यक्ति पर्‍यौँ जस्तो लाग्छ तर हामीलाई नै थाहा छैन ।

पहिले चार फिटको उचाइलाई होचा पुड्का भनेर मान्यता दिइएको थियो । अहिले तीन फिटसम्मलाई मात्रै मान्यता दिएको छ । हामी सम्बन्धित ठाउँमा जान पनि सक्दैनौँ अनि हाम्रो कुरा कसले सुन्ने ? न त घरपरिवारले, न समाजले सुन्छ । न त सरकारले नै हाम्रा कुरा सुन्छ ।

हामीले आफ्नोअनुसार काम गर्न सक्छौँ । हामीले हाम्रो क्षमताअनुसार काम गर्न सक्छौँ, काम दिनुस् भनेको हो । यहाँ भाइबहिनीहरू स्नातक, डिग्री पढेका छन् त कसैले एसइई गरेका छन् । उचाइ पो कम भएको हो । उचाइ कम भएर पनि धेरै काम गर्न सकिन्छ । त्यसैले क्षमताअनुसार काम दिनुपर्‍यो भन्ने हाम्रो मुख्य माग यही हो ।

हामी होचा, पुड्का कति नै छौँ होला र ! त्यो आधिकारिक डाटा पनि सरकारसँग हुनुपर्छ, ७७ वटै जिल्लाको । अनि, हामीमा पनि एकता हुनुपर्‍यो । आत्मनिर्भर हुने प्रयास गर्नुपर्‍यो । म गर्न सक्छु भन्ने आँट हुनुपर्‍यो ।

साठी सालमा संस्था खोलेको अहिलेसम्म राम्रोसँग अघि बढ्नसकेको छैन । दुई–तीन वर्ष भयो, अलिअलि प्रगति हुँदै छ । बाहिरी जिल्लाबाट आउनेहरूले काठमाडौँमा संस्था खोलेको छ भन्ने थाहा पाएर ठुलो आशा लिएर आउनुहुन्छ तर उहाँहरूको आशा, अपेक्षाअनुसार गर्न सक्ने क्षमता नै छैन । उहाँहरूलाई खुलेर आफ्ना समस्याहरू सुनाएपछि कोही सुनेर झन् निराश हुनुहुन्छ ।

हामीले नाचगान गरेर, देउसीभैलोे जस्ता कार्यक्रमहरू गरेर बल्लतल्ल संस्था टिकाएका छौँ । हामीले अहिलेसम्म आइएनजिओ, एनजिओबाट सहयोग पाएका छैनौँ । तीन–चार ठाउँबाट यस्तो यस्तो सिप सिक्नू भनेर केही आर्थिक सहयोग आएको छ, त्यत्ति नै हो । त्यस कारणले अब सरकारले हाम्रो आवाज सुन्दिनुपर्‍यो ।

हाम्रो लागि गाँस, बास, कपास, सानो झुपडी, सानो घर हाम्रै लेबलकै बनाइदिनुपर्‍यो । सबै भाइबहिनी त्यहीँ बस्छन् । त्यहीँ पढ्छन्, खान्छन् । घरपरिवारबाट हेपिए पनि हामीले जसोतसो गरिरहेका छौँ ।

अब आउने पिँढीहरूले के गर्लान् त ? उनीहरू संस्था भनी आउँछन् तर हामी केही दिन सक्दैनौँ । राख्न खोज्छौँ, ठाउँ छैन । आफ्नो र साथीभाइहरूको गोजीबाट तिरेर कतिन्जेल साथीहरूलाई राख्ने ? यस्तो कुरामा सरकारले ध्यान दिनुपर्‍यो । सरकारले नजर लगाउनुपर्‍यो ।

हामी प्रस्ताव लिएर कतै गयौँ भने कस्तो पुड्के आयो, कस्तो कुरा गर्‍यो भनेर उनीहरूले ‘फेस टु फेस’ भन्न सक्दैनन् तर, लास्टमा कुरा काट्ने, यस्तालाई किन दिने भन्ने सोच छ । सरकारले हाम्रो इच्छा आङ्काक्षाहरू बुझेर, शिक्षालगायत योग्यता, क्षमता हेरेर रोजगारी दिनुपर्‍यो । हाम्रो लागि सरकारले गर्दिनुपर्‍यो । हामीले जे जस्तो काम जानेका छौँ । त्यहीअनुसार हामी काम गर्न तयार छौँ ।

गाडीमा चढ्न, ओर्लिन र सिट पाउनै गाह्रो

– पार्वती ढकाल

मेरो नाम पार्वती ढकाल हो । म नेपाल होचा पुड्का संघको कोषाध्यक्ष हुँ । म अहिले ३१ वर्षको भएँ । मेरो घर नुवाकोट हो । मेरा दाजु र दिदी हुनुहुन्छ तर उहाँहरू म जस्तो सानो हाइटका हुनुहुन्न । हामी तीन जना छौँ । बाहिर जस्तो नराम्रो व्यवहार घरमा कहिल्यै महसुस भएन । केही फरक हुँदैनथ्यो हामीमा ।

एसइईमा एउटा विषय लागेर पढाइ छोडेँ । त्यसपछि पढिनँ । एसइई परीक्षा दिन जाँदा ग्रुप–गुप्र मिलेर हेर्ने, जिस्क्याउने गर्थे । त्यस्तो भएपछि दिमाग नै पढाइभन्दा ‘कसले मलाई हेर्‍यो ?’, ‘के भन्यो ?’ भन्ने जस्तोमा जान्थ्यो । किन गिज्याएको होला ? म पनि मान्छे हुँ भन्ने सोचिन्थ्यो धेरै ।

स्कुल पढ्दा त साथीहरूले माया गर्थे र साथीहरूसँग हिँड्थेँ तर परीक्षा दिन अर्को ठाउँ जानुपर्दा निकै गाह्रो भयो । बस्ने ठाउँ पनि अग्लोअग्लो थियो ।

अहिले (काठमाडौँको) गोँगबुँमा बस्छु । गाउँघरमा हुँदा सबैभन्दा सानो हाइटको मान्छे मै थिएँ । त्यही भएर आफूलाई पनि अप्ठ्यारो लाग्ने । कतै हिँडे अरूले पनि जिस्क्याउँथे । मन लागेको ठाउँमा हिँड्न पनि नसकिने अवस्था हुन्थ्यो । म कामहरू पनि त्यति गर्न नसक्ने ।

अहिले काठमाडौँमा पनि गाउँकै जस्तो बाटोमा हिँड्दा फर्कीफर्की हेर्ने, जिस्क्याउने गर्छन् । अर्कोलाई कोट्याई कोट्याई हामीप्रति लक्षित गर्दै देखाउँछन् । त्यस्तो व्यवहार हुँदा म किन यस्तो भएको होला जस्तो लाग्छ । सानोदेखि ठुलोसम्मले त्यस्तै भन्छन् । बच्चाहरूले पनि हेर्ने अनि ‘पुड्की’, ‘हाम्रो जस्तै हाइट’ भनेर जिस्क्याउँछन् ।

गाउँमा भन्दा यहाँ काठमाडौँमा रमाइलो लाग्छ । यहाँ संस्थाबाट विभिन्न कार्यक्रममा सहभागी हुन्छौँ । आफू जस्तै अरू साथीहरू देख्दा पनि रमाइलो लाग्ने रहेछ । यहाँ कम्प्युटर तालिम, सिलाइकटाइको तालिमसँगै जनचेतनामूलक नाटकहरू पनि गर्छौं ।

हेटौँडाका साथै काठमाडौँका विभिन्न ठाउँहरूमा जस्तै; टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानीलकण्ठमा हामीले सडक नाटक गरेका छौँ । सडक नाटकमा मैले आमाको रोल पनि गरेको छु, फोहोर उठाउनेको पनि गरेको छु । अभिनयतिर पनि मेरो रुचि छ ।

यता गोँगबुँमा बस्न थालेपछि अफिसका लागि संघको अफिस बागबजार आउनुपर्छ । गाडीमा चढ्न र ओर्लिन गाह्रो हुन्छ । गाडी चढिसकेपछि अपाङ्ग सिट कसैले छोड्छन्, कसैले छोड्दैनन् । कहिले सिट नै पाइँदैन ।

अहिले ठुलो माइक्रो आएको छ । त्यसमा झन् गाह्रो छ । अरूले बोकेर बाहिर निकाल्नुपर्छ । समाउनको लागि पनि तल र माथि भेट्दैन । सिट पनि अग्लै हुन्छ । त्यस्तो बेलामा कोहीकोहीले सहयोग गर्नुहुन्छ । कोहीकोही त रिस उठ्दा हुन्छन् ।

हामीलाई जीविकोपार्जनका लागि सिलाइकटाइ अथवा कम्प्युटरसम्बन्धी तालिम भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । बाहिरको काम पनि गर्न सकिँदैन । अफिसहरूमा पनि काम पाइँदैन । सिलाइ पनि सजिलो त हुँदैन । मेसिन पनि अग्लो हुन्छ । मेसिनमा तल खुट्टा नपुगेर गाह्रो हुन्छ ।

बैङ्कमा जाँदा पनि हामी होचो मान्छेले देख्नै नसक्ने गरी अग्लो बनाइएको हुन्छ, कर्मचारी बस्ने ठाउँ । हस्पिटल जाँदा पनि बेडमा सुत्नुपर्‍यो भने गाह्रो हुन्छ, निकै अग्लो हुन्छ । त्यसकारण कुर्सीहरू हाम्रै साइजको हुनुपर्‍यो । डेस्कबेन्च पनि हाम्रै साइजको हुनुपर्‍यो । ढोका चुकुल पनि तल पनि हुनुपर्‍यो । सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने हो ।

काम गर्ने ठाउँ अपाङ्गतामैत्री भएनन्

– सुनिता दवाडी

मेरो नाम सुनिता दवाडी हो । म नेपाल होचा पुड्का संघको पहिले सचिव थिएँ, अहिले सदस्य हुँ । मेरो घर लमजुङ हो । म अहिले २५ वर्षको भएँ । म अहिले (काठमाडौँको) तारकेश्वर नगरपालिकामा बस्छु । म लमजुङबाट काठमाडौँ आएको एक वर्ष भयो । ममी बिरामी भएर छाउनी (वीरेन्द्र सैनिक) अस्पतालमा जँचाउन आएको थिएँ । त्यही क्रममा, नेपाल होचा पुड्का संघको अध्यक्षसँग कुरा भएको थियो । एक जना दिदीले सिलाइकटाइ तालिमबारे खबर गर्नुभयो र म आएँ ।

म घरमा हुँदा बाहिरको काम खासै गर्दिनथेँ । घरको मात्र काम गर्थें । मेरो दुई जना दादा र एक जना दिदी हुनुहुन्छ । परिवारमा म मात्र होचो पात्र हुँ । अरू सबै अग्लो कदको हुनुहुन्छ ।

म होचो भएका कारण भौतिकरूपमा हिँड्डुल गर्न मलाई गाह्रो हुन्छ । समाजबाट पनि हिंसा भोग्नुपर्छ । बाटोमा हिँड्दा ‘डल्ली आई’, ‘बामपुड्की आई’ भनेर मान्छेहरूलाई बोलाएर देखाउने र हाँस्ने गर्छन् । हामी हिँडेको देखेर यसरी हिँड्छ, उसरी हिँड्छ भनी कुरा काट्छन् । कहिले मान्छे नदेखेको जस्तो व्यवहार देखाइन्छ ।

पहिले मानिसहरूले यस्तो भन्दा हामी केही पनि प्रतिक्रिया दिँदैनथ्यौँ । चुप लागेर हिँड्थ्यौँ । त्यसविरुद्ध बोल्नुपर्छ भनेर बुझेकै थिएनौँ । अहिले रिस उठ्छ, बोल्छु । ‘किन यस्तो भनेको ?’ भनेर प्रतिकार गर्छु ।

मैले ‘म्यानेजमेन्ट’ विषयमा स्नातकसम्म पढेको छु । जागिर खान भनेर खोजियो, गइयो पनि तर काम गर्ने ठाउँ अपाङ्गतामैत्री भएनन् । हामी जागिरको लागि गयौँ भने पनि ‘तपाईंहरू जस्तोले गर्ने काम छैन’, ‘तपाईंहरूले गर्न सक्नुहुन्न’ भनिन्छ ।

यस्ता समस्याका बारेमा सरकारले नै बुझ्नुपर्छ । हाम्रो पहलहरू पनि सुन्दिन पर्‍यो । समुदायले पनि बुझिदिनुपर्छ । समाजका मानिसहरूले पनि हामी जस्ता मानिसमा यस्तो समस्या हुन्छ भनेर बुझिदिन पर्‍यो । ‘उनीहरू पनि अरू व्यक्तिभन्दा कम छैनन्’ र ‘उनीहरूले पनि गर्न सक्छन्’ भनेर जागिरका लागि राख्न सक्नुपर्‍यो ।

हामी सार्वजनिक गाडी सहजै चढ्न सक्दैनाैँ । गाडी पनि अपाङ्गतामैत्री हुनुपर्‍यो । विद्यालयमा डेस्क, बेन्च अग्लो हुने भएकोले कति साथीहरू स्कुल जान हिचकिचाउनुहुन्छ । त्यसकारण हाम्रो शारीरिक अवस्था अनुसारका डेस्क, बेन्च तथा भौतिक पूर्वाधार हुनुपर्छ हरेक ठाउँमा ।

मैले पढ्ने बेलामा पनि डेस्क, बेन्च अग्लै नै थियो । मलाई अगाडिको बेन्चमा राख्नुहुन्थ्यो । अगाडिको बेन्च पनि अग्लै हुन्थ्यो । विद्यालयबाट, सरहरूबाट मैले नराम्रो व्यवहार भोग्न परेन तर साथीहरूबाट अप्ठेरो महसुस हुन्थ्यो । साथीहरू हामीसँग हिँड्न हिचकिचाउने गर्थे । चिनजान गर्नसमेत अप्ठ्यारो मान्ने साथीहरू हुनुहुन्थ्यो ।

हामीलाई त खाना बनाउँदा ग्यासचुलो भेट्न पनि सम्भव हुँदैन । कोठाको साथै, ट्वाइलेट, बाथरूम जाँदा चुकुल माथि राखेको भएर भेट्नै सकिँदैन । कतै जानुपर्‍यो भने हामीलाई देखेर गाडी रोक्न खोज्दैन । सकेसम्म हामीलाई नचढाउँ जस्तो गर्छन् । जता पनि समस्या नै समस्या हुन्छ ।

अहिले कम्प्युटर सिक्दै छौँ । त्यहाँ क्लासमा पनि टेबुल, कुर्सीहरू अग्ला र ठुला छन् । धेरै चोटि ‘हामीलाई बस्नका लागि गाह्रो भयो, हामी बस्न मिल्ने कुर्सी, टेबल खोज्दिनू’ भनेको, सरले ‘सबैलाई पुर्‍याएर सकिँदैन’ भन्नुभयो । राम्रोसँग कम्प्युटर सिकियो र ठाउँ ठाउँमा जागिर पाउन सकियो भने जीविका चलाउन सजिलो हुन्थ्यो भन्ने लाग्छ ।

तर अरूको हेराइ फरक हुने रहेछ

– प्रेम नेपाली

म प्रेम नेपाली । म अहिले ३४ वर्षको भएँ । मेरो घर (कास्कीको) पोखरा हो । अहिले काठमाडौँको चाबहिलमा बस्छु । मेरो पाँच दाजुभाइ दिदीबहिनी हो । ठुलो दिदी बोल्नु हुन्न, उहाँको बोली आउँदैन । बहिनीको उचाइ सानो छ । उनी म जस्तै सानो, होचो छिन् ।

म काठमाडौँ आएको दुई महिना भयो । पोखरामा जागिर थिएन । घरमा पनि यत्तिकै बसेको थिएँ । त्यसले तनाव भइरहने । आफूले गर्न सकिने काम पाए गर्छु भनेर भनेर काठमाडौँ आएँ । आउनुअघि यो संस्थाको दिदीसँग पनि कुरा भएको थियो ।

म अहिले जागिर गर्दै कम्प्युटर सिक्दैछु । अहिले म ओजन डान्स क्लबमा रातमा नाच्ने काम गर्छु । दुई महिना भयो । अहिले काम गरिरहेको क्लबमा महिला धेरै । एक जना पुरुष र होचा पुड्का अलिक फरक मान्छे चाहिएको रहेछ । त्यसरी काममा लागेको थिएँ । तर, अरूले हामीलाई हेर्ने हेराइ फरक हुने रहेछ ।

मलाई काम चाहिएको छ । त्यसैले त्यस्ता कुरालाई अप्ठ्यारो मानेर पनि भएन । त्यसैले त्यस्तो अप्ठेरो मान्दिनँ । डान्सबारभित्र त राम्रै व्यवहार गर्नुहुन्छ । कोठामा चाहिँ अलि अप्ठेरो छ । हामी दुई जना बस्छौँ । मसँगै बस्ने भाइ पढ्छ । दुई जना बसेपछि अप्ठेरो सजिलो दुइटै हुने रहेछ । दुई जनाले रूम शेयर गर्दा रूम भाडा आधा–आधा हुन्छ ।

खाना पकाउँदा, लुगा धुँदा पनि शेयर हुन्छ । त्यसमा सजिलो भयो । मलाई कोठाको चुकुल लगाउँदा गाह्रो हुन्छ, माथिको लगाउन सक्तिनँ । मेरो साथी अग्लो छ, उसले माथिको चुकुल लगाउँछ र म चाहिँ तलको । माथिको चुकुल खोल्दा पनि साथीलाई भन्नुपर्छ । त्यति बेला उनले दिक्क माने जस्तो लाग्छ । यसरी सजिलो, अप्ठेरो दुवै छ ।

संस्थामा लागेर अगाडि बढ्ने भन्ने छ

– फूलमाया गैरे

मेरो नाम फूलमाया गैरे हो । म अहिले २२ वर्षको भएँ । मेरो घर धादिङ हो । हाल चाहिँ म (काठमाडौँको) टेकुमा बस्छु । म होचा पुड्का संस्थाको सदस्य हुँ । म यहाँ बुवासँग बस्छु । यसै संस्थामा लागेर अगाडि बढ्ने भन्ने छ । मैले सिलाइबुनाइ पनि यहीँ सिकेको हुँ । टोपी, भोटो, पेटिकोट सिलाउन सिकेँ ।

मैले कक्षा ११ सम्म गाउँमै पढेको हुँ । पढ्ने बेला पनि मेरो अवस्थाले गर्दा गाह्रो भयो । सबैभन्दा पहिला त मैले भनेको कुरा कसैले पनि बुझ्दैन । मैले केही समस्या राखेँ भने पनि अरूले केही बुझ्नु हुन्न । यस्तो हुँदा घर, परिवारबाट पनि हेला हुन्छ ।

धादिङमा एक जना दिदी लक्ष्मी ढुङ्गानाले यहाँको जानकारी दिएर भेटाउनुभएको हो । संस्थाका अध्यक्षसँग भेटेर म यहाँ आएको हो । मैले यहाँ कम्प्युटर पनि सिकेँ । त्यहाँबाट फोटोहरू राख्न सिकेँ । टाइपिङ सिकेँ । सामान्य कामहरू सिक्दै छु तर, बस्नको लागि कुर्सी अग्लो छ । कम्प्युटर चलाउन पनि अप्ठेरो हुन्छ । धेरै ठाउँमा समस्या हुन्छ । यस्तो भए पनि पहिले गाउँमा भएको बेलाभन्दा त अहिले यहाँ राम्रै भइरहेको छ ।

म डान्स गर्छु, दिदी गायक हो

– भीमबहादुर सुनार

मेरो नाम भीमबहादुर सुनार हो । म अहिले २५ वर्षको भएँ । मेरो घर (रूपन्देहीको) बुटवल हो । अहिले (काठमाडौँको) सामाखुसीमा दिदी र म बस्छौँ । काठमाडौँ आएको दुई वर्ष भयो । म डान्स गर्छु, दिदी गायक हो ।

दुई वर्षअघिसम्म म गाउँमै थिएँ । यस संस्थाको बिन्दा दिदीले बोलाएर यहाँ आएको । मैले प्लसटुसम्म पढेको छु । काठमाडौँ आएर पढिनँ । आएको दुई महिनापछि जागिर गर्न थालेको हुँ । हाम्रो संस्थाको दिदीले जागिरको लागि सहयोग गर्नुभएको थियो ।

धेरै ठाउँमा मैले जागिर खोजेँ र बल्लतल्ल डान्स बारमा मैले जागिर पाएर जीविकोपार्जन गरिरहेको छु । हामीलाई काम गर्ने ठाउँमा पनि कोही कोहीले राम्रो व्यवहार गर्नुहुन्छ भने कोही कोहीले नराम्रो गर्नुहुन्छ । कसैले डल्ले पनि भन्छन् त कसैले नामबाट बोलाउनुहुन्छ । मैले पारिश्रमिक समयमै पाएको छु । आफूले पाएको पारिश्रमिकबाट सन्तुष्ट पनि छु ।

भिडियाे कुराकानी हेर्नुहाेस्

https://youtu.be/QJRNsfbAv7I

प्रकाशन मिति : २०८२ जेठ ५ गते, साेमवार

 

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *