महिलावादीहरू एकजुट र समावेशी हुन आवश्यक (भिडियोसहित)

लैङ्गिक अध्ययन अन्तरक्रिया–२

“तपाईं हामी कहिलेसम्म चुप लाग्ने होला ?” नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो विषयमा प्रवचन दिँदै प्रा.डा. मिरा मिश्रले प्रश्न गर्नुभयो । उहाँले यौनजन्य हिंसाका चर्चित घटनामा भएका अनुभवका सन्दर्भमा २०८१ चैत १० गते काठमाडौँमा भएको एउटा अन्तरक्रियात्मक कार्यक्रममा यो प्रश्न उठाउनुभएको थियो ।

महिलावाद र नारीवादलाई पर्यायवाची जस्तै गरी प्रयोग गर्ने प्रा.डा. मिराले महिला अध्ययनको पठनपाठनको सुरुवाती कुरालाई जोड्दै भन्नुभयो, “त्यति बेला त्यो कार्यक्रम हाम्रो हो भन्ने पनि सबै महिलावादीलाई परेको थियो ।”

त्रिभुवन विश्वविद्यालयमा सन् १९९६ मा ‘महिला अध्ययन’ विषयमा पठनपाठन सुरु भएको थियो । त्यसले आफूलाई परिमार्जन गर्दै लैङ्गिक अध्ययन केन्द्रीय विभागको रूपमा पनि स्थापित गर्‍यो । नेपालको राजनीतिक आन्दोलनसँगै अघि बढेको महिलावादी आन्दोलनको प्रभाव स्वाभाविक रूपमा यहाँको उच्चशैक्षिक क्षेत्रमा पनि पर्‍यो ।

प्रा.डा. मिराका अनुसार, सुरु हुने क्रममा पद्मकन्या क्याम्पसभित्रका र बाहिरका नारीवादीहरूको बलियो सम्बन्धबाट त्यो विषयले उच्चशिक्षामा प्रवेश पाएको हो । अहिले जस्तो विभाजन, अन्योल, निरासा र छटपटीको अवस्था थिएन ।

महिलावादलाई समानताको कोणबाट सही ढङ्गले अघि बढाउन विभिन्न भूगोल, सामाजिक, सांस्कृतिक पृष्ठभूमि र पुस्ताका नेपाली महिलामा आएको परिवर्तनलाई आत्मसात गर्दै पुरुष संलग्नताका विषयमा पनि फराकिलो दृष्टिले छलफल चलाउनुपर्ने विचार प्रा.डा.मिराको थियो ।

अहिले देशमा देखिएको यौनजन्य हिंसाको व्यापकता, लैङ्गिक हिंसा, लैङ्गिकतामा आधारित हिंसा, महिलाविरुद्धका हिंसा जस्ता गम्भीर विषयमा महिलावादीहरू स्पष्ट हुनुपर्ने र एकजुट भएर पीडितलाई थप पीडा नहुने गरी कुरा उठाउनुपर्ने उहाँको विचार थियो । त्यसो गर्न सके मात्र लैङ्गिक समता र समानतामा आधारित न्यायपूर्ण समाज स्थापनाका लागि मद्दत पुग्ने उहाँको आशय थियो ।

प्रा.डा. मिराले यो पनि भन्नुभयो, “मलाई लाग्छ, महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सन्दर्भमा फेरि पनि ‘जेन्डर भायलेन्स अगेन्स्ट विमेन’ को कुरा पनि गर्नुपर्छ । महिलावादी आन्दोलनमा त्यो ‘भायलेन्स अगेन्स्ट विमेन’ को कुरा गर्नु पनि आफैँमा महत्त्वपूर्ण छ ।”

महिलावादले अब विविध विषयसितको महिलाको सम्बन्ध र तिनको अन्तरसम्बद्धता, घरघरमा अनिवार्य जस्तै गरी भित्रिएको वैदेशिक रोजगारी, त्यससँगसँगै आप्रवासन, रेमिटेन्स जस्ता विषयले महिलाहरूमा पारेको प्रभाव आदिका बारेमा महिलावादी कोणबाट सूक्ष्म दृष्टिले खोजी र विश्लेषण गर्दै सार्वजनिक गर्नुपर्ने कुरा पनि उहाँले अन्तरक्रियात्मक कार्यक्रममा उठाउनुभएको थियो ।

लैङ्गिक अध्ययन केन्द्रीय विभागसँगको सहकार्यमा द स्टोरी किचेनको अनलाइन माध्यम ‘सन्धान’ ले ‘नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो’ विषयमा नियमित अन्तरक्रियात्मक कार्यक्रम गर्दै त्यसबाट प्राप्त ज्ञानात्मक अन्तर्वस्तुलाई शृङ्खलाबद्ध गरी प्रकाशन–प्रसारण पनि गर्दै आएको छ ।

यसै क्रममा २०८१ चैतको दोस्रो साता विभागको पहलमा विश्वविद्यालय व्यवस्थापनका प्रतिनिधि, विभिन्न विभागका प्रमुखहरू र सरोकारवाला विभिन्न पक्षको सहभागितामा पहिलो छलफल कार्यक्रम गरियो । लैङ्गिक अध्ययनमा पनि विशेष गरी महिलाको जीवनभोगाइसँग जोडिएका विभिन्न विषयका सैद्धान्तिक र व्यावहारिक पक्षमा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नेपालमा महिलावादी आन्दोलनको अवस्था के छ, यसले उठाउनुपर्ने मुद्दाहरू के के देखापरेका छन्, यसका चुनौतीहरू के कस्ता छन् र अबको बाटो के कसरी तय गरिनुपर्छ भन्ने प्रश्नको सेरोफेरोमा बौद्धिक विमर्श चलेको थियो । त्यसका प्रमुख वक्ताहरूमा विभागकै प्रा.डा. मिराका साथै ‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सन्जोग ठकुरीप्रा.डा. बिन्दु पोखरेल हुनुहुन्थ्यो ।

‘सन्धान’ ले तीनै जना प्रमुख वक्ताले दिनुभएको मौखिक प्रस्तुतिको भिडियो रेकर्ड गरी त्यसैका आधारमा सहकार्यात्मक गृहकार्य गर्दै लिखित पाठ तयार गरेको हो । आजको शृङ्खलामा प्रस्तुत छ, प्रा.डा. मिरा मिश्रको प्रस्तुतिको भिडियोका साथमा सहकार्यात्मक लिखित पाठ :

हामी महिला, पुरुष र अन्य जोसुकै भए पनि महिलावादी हुँ भनेर भन्नलाई नडराऊँ र महिलावादी बन्नलाई पनि नडराऊँ । सुरुमै यो कुरा भन्दै म आफ्ना विचारलाई राख्न चाहन्छु । किनभने महिलावादी आन्दोलनको कुरा गर्नुपर्दा ‘महिलावाद’ शब्दसँग नै धेरै व्यक्तिलाई डर लाग्छ अनि उनीहरू यसबाट टाढा हुन खोज्छन् ।

महिलावाद भनेको पुरुष, महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि सम्पूर्णमा एक व्यक्तिको रूपमा बुझ्ने हो । उनीहरू सबैलाई व्यक्तिको रूपमा अघि बढ्न दिने हो । त्यो पनि लैङ्गिक समानताको आधारमा । त्यसभन्दा अरू कुरा केही पनि होइन । यसैले महिलावादसँग कुनै पनि व्यक्तिले डर मान्नु पर्दैन ।

सबैलाई समान हैसियतका व्यक्तिका रूपमा बुझिसकेपछि पो लैङ्गिक समानता हुन्छ । हामी बस्ने घर, परिवार, समाज र शैक्षिक संस्थाहरू सबै ठाउँ सबैलाई उत्तिकै सहज हुनुपर्छ । त्यहाँ सहजरूपमा तपाईं हामीलाई बस्ने र व्यावसायिक, संवेगात्मक र बौद्धिकरूपमा अघि बढ्दै जाने वा ‘ग्रो’ गर्ने ठाउँ हुनुपर्छ । त्यही महिलावादको भनाइ हो । त्यसै कारणले महिलावादसँग कसैले पनि डराउन पर्दैन जस्तो लाग्छ ।

डराउन किन पर्दैन भने महिलावाद भनेको पुरुषलाई घृणा गर्ने विषय पटक्कै होइन । वास्तवमा यो त पुरुषको पनि विषय हो । त्यसकारण यो कुरा सबै जनाले बुझ्नुपर्छ र पहिले आफूले राम्ररी बुझेर अरूलाई बुझाउनु पनि पर्छ ।

म आफूलाई महिलावादी र नारीवादी भन्छु । मेरो बुझाइमा महिलावादी र नारीवादी भन्नु एउटै कुरा हो । त्यसैले मैले यी शब्दलाई उस्ताउस्तै अर्थमा प्रयोग गर्छु । बोल्ने क्रममा कहिले महिलावादी त कहिले नारीवादी भन्छु होला तर यसको अर्थ एकै हो । यसमा स्पष्ट हुन आग्रह पनि गर्छु ।

महिलावादी आन्दोलनको कुरा गर्दा महिलावादी आन्दोलन आफैँ उब्जँदैन । यो आन्दोलनसँग धेरै कुरा जोडिएका हुन्छन् । सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनसँग यसको गहिरोे सम्बन्ध हुन्छ । त्यही कारण यो महिलावादी आन्दोलन पनि ऐतिहासिक रूपमा सामाजिक, राजनीतिक, आर्थिक व्यवस्था बदलिँदै जाँदा उब्जिँदै जान्छ र आन्दोलनको स्वरूप पनि बदलिँदै जान्छ ।

यहाँ महिलावादी आन्दोलनका सन्दर्भमा पनि यस्तै भएको हो । यसको स्वरूप पनि समय सँगसँगै बदलिँदै आएको छ ।

म सिधै महिलावादी आन्दोलनका चुनौतीहरूमा जाँदिनँ । किनकि म पहिला यसको परिवेशको बारेमा केही कुरा राख्छु । चुनौतीहरूलाई बुझ्न त्यहाँका परिवेशहरू बुझ्नुपर्छ । त्यसै कारणले सन् १९८० देखि १९९० को परिवेश महत्त्वपूर्ण छ । सन् १९८० को दशकले पछिल्ला महिलावादी आन्दोलन जल्दोबल्दो तरिकाले मुखरित हुने वातावरण तयार गरेको जस्तो लाग्छ ।

त्यसैले पनि सन् १९९० को दशक महिलावादी आन्दोलनलाई मुखरित हुन र विकास हुनका लागि एकदमै राम्रो समय थियो । त्यसको एक दशकपछि पनि त्यस्तै अवस्था देखिन्छ । अहिले आन्दोलन हाँक्न धेरै चुनौतीहरू छन् । चुनौतीका कुरा गर्नुअघि त्यो बेलालाई किन जल्दोबल्दो बेला भनेको होला भन्नेमा कुराकानी गर्नुपर्छ ।

चुनौतीभन्दा अगाडि आन्दोलनका मुख्य मुद्दाहरू के के थिए र हामीले के हासिल के गर्‍यौँ होला भन्ने कुरालाई १९९० सँग जोड्न खोजेको हो । त्यो बेलामा कोही सहभागी भएकाहरू हुनुहुन्छ भने अनुभव गरेर र पछिल्ला युवाले त्यो कुरा पढेर थाहा पाउनुहुन्छ । सन् १९९० ताका महिलावादी आन्दोलनमा महिला अधिकारका कुरा एकदमै उठ्यो । नागरिकताको अधिकार, सम्पत्तिको अधिकारलगायतका अन्य विभिन्न अधिकारका कुरा धेरै उठ्यो । अधिकार प्राप्तिको लागि सबै महिलावादीहरू मिलेर आवाज उठाएका थिए ।

त्यही बेलादेखि यौनिकतालाई फराकिलो किसिमले बुझ्न र बुझाउन थालिएको देखिन्छ । यसो भन्दै गर्दा त्यसअघि पनि लैङ्गिक र यौनिक विषयमा कुरा नै नभएको भने होइन । जे विषय पनि टुप्लुक्क त आएको हुँदैन । यसको लागि परिवेश तयार हुनुपर्छ । तर, त्यो बेलामा यो विषयलाई मुखरित हुने मौका मिल्यो ।

विशेषगरी महिलाको शरीरमा महिलाकै आफ्नो अधिकारको बारेमा कुरा आएको थियो । महिलाको शरीरको अधिकारको कुरा त्यति बेला पूर्णरूपमा नयाँ थियो । ‘माई बडी, माई राइट्स’ को कुरा अर्थात् ‘मेरो शरीर, मेरो अधिकार’ भन्ने अवस्था त्योभन्दा अगाडि थिएन जस्तो लाग्छ । गर्भपतनको अधिकारको कुरा पनि त्यति बेला यहाँ आयो । अनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको कुरा पनि आयो । यसरी लैङ्गिकता र यौनिकताका विषयहरू मुखरित हुनमा लिङ्गका आधारमा कसैलाई पनि विभेद गर्न पाइँदैन भन्ने आवाज उठाउन सन् १९९० मा जारी संविधानले ठाउँ बनाइदियो ।

त्यसो भन्ने कानुनी आधार बनेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका कुरा पनि आए । ‘एलजिबिटी’ का कुरा सन् १९९० पछि नै सुरु भएको हो । ‘ब्लु डाइमण्ड सोसाइटी’ को उदय पनि १९९० को संविधानपछि नै भएको हो ।

मलाई, तपाईंहरू कति जनालाई पनि अझ बढी चाख लाग्ने विषय भनेको उच्चशिक्षामा लैङ्गिक अध्ययनको सुरुवात पनि हो । नेपालको इतिहासमा पहिलो पटक आधिकारिक रूपमा महिला र जेन्डरका विषयले छुट्टै डिसिप्लिनको रूपमा विश्वविद्यालयमा प्रवेश पायो । त्यो भनेको हाम्रो लागि त्रिभुवन विश्वविद्यालयको ‘विमेन स्टडिज’ हो । यसको पढाइ सन् १९९६ मा सुरु भएको थियो । लैङ्गिक समानता प्राप्तिको लागि त्यो एउटा ठुलो उपलब्धि हो जस्तो लाग्छ ।

‘विमेन स्टडिज’ को साथसाथै सन् १९९० को दशकमा नेपालमा अरू कुरा पनि आए । जनजाति, दलित, मधेसी, मुस्लिम आदि महिलाका हक अधिकारका कुरा । तर, मधेसी महिलाका कुरा भने धेरै पछाडि आएको हो । दलित, जनजाति, मधेसी, मुस्लिम आदि महिलाहरूको अधिकारको कुरा पनि यसै आएको होइन । १९९० तिरै ‘इन्टरसेक्सनालिटी डिस्कोर्स’ को पनि सुरुवात भएको देखिन्छ । जनजाति महासङ्घ, दलित महासङ्घहरूको उदय यसैको परिणाम हो ।

त्यसरी नै महिलावादमा पनि महिलाभित्रका विविधतालाई हेर्ने, खोज्ने, बुझ्ने र विश्लेषण गर्ने प्रक्रियाको थालनी भएको देखिन्छ । त्यसै अन्तर्गत ‘मार्जिनलाइज्ड भर्सेस मेनस्ट्रिम’ भन्ने कुरा आयो । त्यसलाई हामीले अहिले सीमान्तकृत र मूलधारे महिलावादी भन्ने गरेका छौँ ।

सीमान्तकृत र मूलधारे भन्ने कुरा सन् १९९० को दशकमा जल्दोबल्दो रूपमा उठ्यो । यसैको परिणामस्वरूप महिलावादी आन्दोलनमा चिराचिरा पर्न लागेको पनि त्यही बेलादेखि जस्तो देखिन्छ । मूलधारे र सीमान्तकृत महिलावादीहरू बिचको लडाइँको सुरुवात १९९० तिर भएको थियो तर अहिले यो अझ चर्को भए जस्तो देखिन्छ ।

अहिले यो लडाइँ अनेक किसिमबाट चर्को भएको छ । अहिले धेरै महिलाहरूसँग आवाज उठाउने सामथ्र्य छ । आवाज उठेपछि सुनिन्छ र त्यो सुनिनु पनि पर्छ । अहिलेको सन्दर्भमा महिलाहरूले धेरै अधिकार पाइसके । पाउँदा पनि छटपटी छ । खासगरी महिलावादीहरू छटपटीमा परेको जस्तो देखिन्छ । धेरै अधिकारहरू प्राप्त गरे पनि पितृसत्ताको मार कम छैन । एक ठाउँमा कमजोर देखिए पनि अर्को ठाउँमा बलियो रूपमा देखा परिरहेकोे अवस्था छ ।

महिलावादी आन्दोलन र एकाडेमियाको अन्तरसम्बन्धको कुरा गर्नु पर्दा हाल यो सम्बन्ध कमजोर छ, जुन दुःखलाग्दो कुरा हो । सुरुवातमा यो सम्बन्ध बलियो थियो । यसको ऐतिहासिक पृष्ठभूमि केलाउँदा सन् १९९६ मा जुन बेला त्रिभुवन विश्वविद्यालय, पद्मकन्या क्याम्पसको गृहविज्ञान विभागमा ‘विमेन स्टडिज’ सुरु भयो । त्यो बेलामा पद्मकन्या क्याम्पसभित्रको गृहविज्ञानका थोरै ‘टिचर’ हरूले मात्र ‘विमेन स्टडिज’ सुरु गरेको पनि होइन, अन्य धेरै फरक पृष्ठभूमिका टिचरहरू पनि त्यसमा जोडिएका थिए ।

‘विमेन स्टडिज’ सुरु हुने क्रममा एकाडेमियाभित्रका नारीवादी र बाहिरका नारीवादीहरूको बलियो सम्बन्ध वा ‘लिङ्केज’ बाट त्यो विषयले उच्चशिक्षामा प्रवेश पाएको हो । यो हाम्रो महिलावादी आन्दोलनको प्रतिफल हो ।

हामीले दक्षिण एसियालाई हे¥यौँ भने पनि देख्छौँ, यस्ता खालका सबैजसो उच्चशैक्षिक कार्यक्रम महिलावादी आन्दोलनबाट नै आएका छन् । ‘महिला अध्ययन’ प्रतिको अपनत्वको कुरा गर्दा त्यति बेला त्यो कार्यक्रम हाम्रो हो भन्ने समान बुझाइ विश्वविद्यालयभित्रका महिलावादी र बाहिरका महिलावादी दुवैथरिको थियो । अहिले त्यस्तो खालको अपनत्वको भाव कायम छैन । ‘लिङ्केज’ पनि त्यति बलियो छैन । यसलाई अब कसरी बलियो बनाउन सकिन्छ भन्ने कुराको जिम्मेवारी हामी सबै महिलावादीहरूको काँधमा आएको छ ।

महिलावादी आन्दोलनमा पुरुषको संलग्नताको कुरा गर्नुपर्दा १९९० तिर यो कति महत्त्वपूर्ण हो भनेर सोचिएकै थिएन । पछि आएर मात्र महिलावादमा पुरुष संलग्नताको कुरा पनि मुखरित हुन थाल्यो ।

महिलावादमा पुरुषको संलग्नताको कुरा मुखरित भएर आउन थालेपछि महिलावादभित्र अब कसरी कुन ठाउँमा पुरुषलाई राख्ने भनेर पनि नारीवादीहरूमा छटपटी प्रस्ट देखिन्थ्यो । किनभने ‘फेमिनिस्ट’ भनेर पुरुषहरूलाई राखियो भने महिलावादमा पनि उनीहरूकै एजेन्डा माथि आउने पो हो कि ? फेरि पनि महिलाको लागि भनेर सुरुवात भएको नारीवाद, नारीवादी आन्दोलनहरूलाई पुरुषकै कुराले तल पार्ने, ओझेलमा पार्दिने हो कि ? भन्ने संशय थियो । साथै, ‘पुरुषहरू कहाँ नारीवादी हुन सक्छन् ?’ भन्ने खालको प्रश्न र त्यही खालको बुझाइ पनि केहीमा देखियो । यी सबै कुराको असरको रूपमा अहिले पुरुषहरूमा पनि छटपटी देखिन थालेको छ । छटपटीका विविध स्वरूपहरू छन् ।

‘हामी नारीवादी हुन चाहन्छम् तर हामीलाई कैयौँ किसिमका नारीवादीहरूले तिमीहरू नारीवादी होइनौ भनेर पन्छाउने गरेको छ’ भन्ने एक प्रकारको आवाज छ भने अर्को ‘तिमीहरू साइडमा बस, तिमीहरू पेरिफेरीमा बस्नुपर्छ’ भन्ने बुझाइ पनि छ । यीे बुझाइहरूले महिलावादमा पुरुषहरूलाई सामेल हुन गाह्रो पारेको छ ।

पुरुषमुखी समाजलाई कमजोर पार्न पितृसत्ताको चिरफार गर्ने, सूक्ष्म तरिकाले हेर्ने, त्यसलाई बुझ्ने अनि बुझाउने भन्ने नारीवादीहरूको मूल बुझाइ छ । यसको लागि पुरुषलाई पनि नारीवादी नभनीकन र नबनाईकन सुखै छैन । किनभने, हामीहरू एउटा वर्गलाई पाखा पारेर अगाडि बढ्नै सक्दैनौँ । एकथरीले मात्रै पितृसत्तालाई कमजोर बनाउन सक्दै सक्दैन ।

मलाई लाग्छ, त्यसकारणले पनि अबका दिनमा पुरुषलाई साथ लिएर महिलावादी आन्दोलनमा जाऊँ भन्ने विषयमा नारीवादीहरूमा बृहत् छलफल हुनुपर्छ । यस्तो आन्दोलनमा पुरुषलाई कसरी लिएर जाने, कुन तहमा लिएर जाने भन्ने कुरा छलफलको अर्को पाटो हुनसक्छ तर पुरुषको संलग्नताविना न्यायपूर्ण लैङ्गिक समाज अर्थात् ‘जेन्डर जस्ट सोसाइटी’ बन्ने वा बनाउने सम्भावना छैन । त्यसैले महिलावादी आन्दोलनमा पुरुष संलग्नताको कुरामा सबै जना स्पष्ट हुनु पर्छ जस्तो लाग्छ । त्यसैले पुरुषलाई पनि नारीवादी बन्न प्रेरित गरौँ भन्न नडराऊँ र बनाउन पनि नडराऊँ भन्न चाहन्छु ।

महिलावादी आन्दोलनले उठाउनुपर्ने अर्को विषय छ, वैदेशिक रोजगारी । अहिले कैयौँ महिलाहरू वैदेशिक रोजगारीमा जान्छन् । धेरै महिलाहरू घरमा बालबच्चा छोडेर गाँस, बास, कपासको लागि, परिवारको लागि घर छोडेर वैदेशिक रोजगारीमा गइरहेका छन् ।

अब उनीहरू मात्र होइन, साना साना उमेरका पुरुष, श्रीमान्‌हरू, बुबाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् । खास गरेर श्रीमान् विदेश गएका श्रीमतीहरूका बारे र आफैँ रोजगारीका लागि गएका महिलाहरू यी दुवै थरीका बारेमा कुराकानी गरौँ ।

यो वैदेशिक रोजगारी हाम्रो देशको अर्थतन्त्रको आधारै भइसक्यो । त्यसैले पनि महिलावादी आन्दोलनभित्र यसको गहिरो बहसको जरुरी देखिन्छ ।

अर्को मेरो मुख्य कुरा, महिलाविरुद्ध हुने गरेका हिंसा र दुर्व्यवहारका कुरा हुन् । यो ‘भायलेन्स’ एकातिर ‘अगेन्स्ट विमेन’, अर्कोतिर ‘अगेन्स्ट जेन्डर’ पनि हुन सक्छ । महिलावादी आन्दोलनमा यी दुवै इस्यु (मुद्दा) लाई सँगसँगै लिएर जानुपर्छ । किनकि महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध हुने हिंसा, जसलाइ ‘जेन्डर वेस्ड भायलेन्स भनिन्छ, र महिलाविरुद्ध मात्र गरिने हिंसा दुवैको महिलावादी आन्दोलनले सम्बोधन गर्न सक्नुपर्छ ।

तपाईं, हामी सबै जनाले हरेक दिन विभिन्न किसिमका ‘भायलेन्स’ का कुरा सुन्न परिरहेको छ । यस्तो कुरा सुन्नुपर्दा तपाईं, हामीमध्ये धेरै जनाको मनै विचलित भइरहेको हुन्छ । कहिले सानी बालिका बलात्कृत भएको खबर आउँछ भने कहिले शैक्षिक संस्था वा ‘एजुकेसन इन्स्टिच्युसन’ हरूमा वर्षौंदेखि यौनहिंसा भइरहेको छ भन्ने त कहिले काम गर्न गएको ठाउँमा यौनजन्य हिंसा भइरहेको भन्ने कुरा आउँछ ।

हामीले लिङ्गका आधारमा महिलामाथि भइरहेका थरीथरीका हिंसाका कुरा सुनिरहेका छौँ भनेपछि कसरी हामी चुप लागेर बस्ने ? यहाँ यस सवालमा नारीवादी आन्दोलनको के भूमिका हुनुपर्छ भन्ने कुरामा सोच्न जरुरी भइरहेको छ जस्तो देखिन्छ ।

यी सबै घटनाहरूबाट पहिला र दोस्रो पुस्ताका ‘फेमिनिस्ट’ हरू अलिकति विचलित भएका त छन् तर युवा पुस्ताका फेमिनिस्टहरू बढी विचलित देखिन्छन् । उनीहरूमा निराशा छ, रिस पनि छ । आवेग पनि छ । यो के भइराखेको होला भन्ने छ उनीहरूमा । अर्कोतिर केही उदार विचारधारा बोक्ने युवा पुरुषहरू पनि यस विषयमा विचलित देखिन्छन् ।

युवा पुस्तामा आएको यो परिवर्तन उनीहरूको हुर्काइसँग सम्बन्धित छ । मैले र मेरो छोरीले हुर्किएको वातावरण नै पूर्णरूपमा फरक छ । उसलाई मलाईभन्दा कैयौँ गुणा बढी स्वतन्त्रता थियो हुर्कन, बढ्न । अहिले ‘सबै जना समान हुन्, अनैतिक भयो भने बोलिहाल्नुपर्छ’ भन्ने किसिमबाट छोरीलाई हुर्काइरहेको अवस्था छ ।

घरपरिवारले छोरीहरूलाई पढाइदेखि खेलकुदसम्म जे कुरामा पनि ‘एक्सेल’ गर्न प्रेरित गरिराखेको छ । त्यसैले पनि आफ्नै आँखाअगाडि विभिन्न खालका यौनजन्य हिंसा भयो भने अहिलेका छोरीहरू ‘एकछिन पछाडि बोल्ने कि, अहिले बोल्ने कि, बोल्दै नबोल्ने कि’ भनेर चुप लाग्न सक्दैनन् । त्यही कारणले पनि युवा केटाकेटीहरू लैङ्गिक हिंसाका विरुद्ध मुखरित भएर अगाडि बढिरहेका छन् ।

अहिले बलात्कारका घटनाहरू मिडिया र सामाजिक सञ्जालमा एकदमै आइरहेका छन् । अहिले मैले उदाहरणका रूपमा पल (पूर्णबिक्रम) शाह र सन्दिप लामिछानेको केसलाई अगाडि ल्याएँ । किन ल्याएको भने, उनीहरूका घटना पत्रिकामा, सोसल मिडिया र सञ्जालमा कैयौँ पटकसम्म छाएको केस हो ।

पल शाह र सन्दिप लामिछानेको घटना हुँदा अरू त ‘विभाजित थिए नै, नारीवादीहरू पनि ‘विभाजित’ भएको देखिन्थ्यो । धेरै जनाले चिनेका, धेरै जनाले आशा गरेका, केही भइहाल्छ कि भन्ने खालका फेमिनिस्टहरूबाट अस्पष्ट खालका भाषाहरू बोलिए । अभियुक्तलाई ‘प्रोटेक्सन’ नै गरेका भाषाहरू पनि बाहिर आए । कति जनाबाट आवाज नै आएन ।

आवाज नआउनु भनेको निरपेक्ष रहनु हो । यस्तो खालको आवाजविहीनता वा ‘साइलेन्स’ हरू भइसकेपछि नारीवादी आन्दोलनमा ‘ब्याकल्यास’ सुरु हुन थाल्छ । यी घटनामा पनि पीडितको पक्षमा सही ढङ्गले नबोल्दाखेरि ‘ब्याकल्यास’ भयो । उल्टो पीडितलाई नै दोषी देखाउने ‘भिक्टिम ब्लेमिङ’ को अवस्था पनि उत्पन्न भयो । यो अनुचित हो । यसले महिलावादी आन्दोलनलाई बलियो बनाउनुको साटो कमजोर बनाउँछ ।

पहिलेका पुस्ताका महिलावादीहरू, जसले महिलाको जीवन उकास्न आफ्नो समय खर्चे, उनीहरूले पनि महिलावादी आन्दोलनमा योगदान नदिएको त होइन तर पल शाह वा सन्दिप लामिछाने आदिका घटनाहरूमा उनीहरू फरक तरिकाले प्रस्तुत भए । अहिलेको परिवर्तनशील सन्दर्भमा चुप लाग्दा र पीडककै पक्षमा बोलिदिँदा उनीहरूलाई ‘दिज्यू फेमिनिज्म’, ‘रोयल फेमिनिज्म’ को नाम र लेबलहरू दिनुपर्ने अवस्था आयो ।

अति भएपछि खासगरी युवा महिलाहरू पहिलो पुस्ता, दोस्रो पुस्तालाई यी लेबलहरू लगाउन बाध्य भएको देखिन्छ । यसबाट पहिलेका पुस्ताका महिलावादीले गरेका योगदानहरू पनि माटोमा मिलेर गए जस्तो भयो । यो सबैका लागि दुःखदायी अवस्था हो । त्यसै कारणले महिलाका खास खास मुद्दामा सबैले मिलेर बोलौँ । यौनजन्य हिंसा र लैङ्गिक हिंसा जस्ता खास मुद्दामा हामी सबै एकजुट हुन पर्छ ।

अहिले युवा महिलाहरू परिवर्तित भइरहेका छन् । यो कुरो सबैले बुझ्नुपर्‍यो । हामीभन्दा अगाडिका पुस्ताले त झनै बढी बुझ्नुपर्छ । उदाहरणको लागि, सन् २०२१ मा ‘विमेन मार्च’ भएको बेलाका व्यक्त भएका दुई अभिव्यक्तिहरू सुनेर पचाउन त के सुन्न मात्र पनि अघिल्लो पुस्तालाइ निकै गाह्रो भयो ।

पहिलो, ‘माइ भजाइना विल भोट यु आउट’ भन्ने वाक्यले कति मान्छेलाई, कैयौँ महिलावादीहरूलाई पनि असहज बनाउँछ । यस्ता वाक्यको प्रयोग गर्नु त कुरै छोडौँ, सुन्न पनि सहज छैन । यसले जुनसुकै विषयमा पनि बोल्न नडराउने महिलाहरू बन्दैछन् भन्ने झल्को दिन्छ ।

अर्को, एक मधेसी महिलाको भनाइ थियो– ‘हम अब सीता नही बनिङ्गे’ । यसको सङ्केत मधेसी समाजबाट पनि पितृसत्ताको विरोधमा बोल्ने युवा महिलाहरू तयार हुँदैछन् भन्ने पनि थियो । यसरी हाम्रो समाजमा परिवर्तन हुँदै आइरहेको छ । अब यहाँ तपाईं हामीले तिनै पुराना पुस्ताका कुरालाई निरन्तरता दिने, नयाँ पुस्ताका सोचविचारलाई थप्दै नलाने हो भने हामी असान्दर्भिक हुन्छौँ ।

मैले पनि आफूलाई परिवर्तन गर्दै नजाने हो भने म ‘जेन्डर स्टडिज’ पढाउनै योग्य हुँदिनँ । किनभने विद्यार्थीहरूले मेरो कुरालाई सान्दर्भिक ठान्दैनन्, त्यसलाई ‘रिलेट’ गर्नै सक्दैनन् । यसैले पनि अब हामीले नवीन सोचसहित मिलेर ‘युनाइटेड फेमिनिस्ट मुभमेन्ट’ अगाडि बढाउनु अति आवश्यक छ । किनकि हामीले अहिलेसम्म पाएका उपलब्धिलाई बचाउन पनि हामीहरू ‘युनाइटेड’ हुन आवश्यक छ । उमेर, लिङ्ग, लैङ्गिकता, यौनिकता, वर्ग, जात, धर्म, र क्षेत्रीयता, सबै खालका महिलावादीहरू अबका दिनमा एकजुट भएर अघि बढ्न आवश्यक छ ।

प्रा.डा. मिरा मिश्रको प्रस्तुतिको भिडियो

प्रकाशन मिति : २०८२ जेठ ९ गते, शुक्रवार

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *