सलिना चौधरी आफूलाई पारलैङ्गिक महिला (ट्रान्स वुमन) महिलाका रूपमा चिनाउन चाहनुहुन्छ । उहाँको जन्म २९ वर्षअघि दाङको साबिक त्रिभुवननगर नगर पञ्चायतमा भएको थियो । प्रजातन्त्र पुनर्वहालीपछि त्यसको नाम घोराही नगरपालिका राखिएको थियो । जन्मँदा छोराको रूपमा देखिएकी सलिनालाई १३–१४ वर्षको उमेरमा आफू अलि फरक छु कि भन्ने महसुस भयो । यसबाट सुरुमा त आफैँ अचम्ममा परेको स्मरण पनि उहाँले गर्नुभयो ।
सानैमा आमा बितेकी सलिना अलि फरक नै भएको कुरा हजुरबुबाले पहिल्यै चाल पाउनुभएको रहेछ तर पनि उहाँले कसैलाई केही भन्नु भएन । हजुरबुबाले उहाँलाई पछिसम्म निरन्तर माया र हौसला दिइरहनुभयो । घरमा जब सलिनाको फरक आनीबानी थाहा भयो, त्यसपछि बुबा र कान्छीआमाले भने हदैसम्म तिरस्कार गर्नुभयो ।
स्थिति असह्य हुँदै गयो । १२ कक्षा पढिसकेपछि सलिना रित्तो हात घर छोडेर हिँड्नुभयो । जीविकोपार्जनका लागि पराल बोक्ने, अर्काको खेतमा काम गर्ने, घर निर्माण गर्ने जस्ता अनौपचारिक श्रम क्षेत्रमा संलग्न हुँदै ट्युसन पढाउनेसम्मका काम गर्नुभयो । आफ्नो पढाइलाई स्नातक तहसम्म भए पनि अघि बढाउनुभयो । मितिनी नेपालमा आबद्ध भएर केही समय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका क्षेत्रमा काम गर्नुभयो ।
कामका सिलसिलामा उहाँले आफ्नो समुदायका मानिसको खोजी र घटना अध्ययन गर्नुभयो । आफू जस्ता धेरैले घरपरिवार र समाजबाट धेरै प्रकारका चुनौतीहरू झेलिरहेका रहेछन् भन्ने जानकारी थपिएपछि उहाँ गम्भीर हुनुभयो । आफूले आफ्नो घरपरिवार र समाजबाट झेल्नुपरेका धेरै प्रकारका चुनौतीहरूलाई उहाँले त्यति सजिलै भुल्न सक्ने कुरो पनि थिएन ।
सलिनाले आफ्नो समुदायका अरू धेरैले भोगिरहेको समस्याका विरुद्ध संस्था खोलेरै काम गर्ने अठोट गर्नुभयो । केही साथीसँग मिलेर उहाँले २०८० सालमा ‘फरक पहिचान समाज नेपाल’ नामक संस्था स्थापना गरेको पनि बताउनुभयो । सोही संस्थामार्फत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सचेतनामूलक कार्यक्रमका साथ समुदायका व्यक्तिलाई स्कुल जाने बेलादेखि नै आवश्यक सरसहयोग गर्न थाल्नुभयो ।
‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २९ वर्षीया सलिनाको जीवन अनुभवका साथै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अवस्था, चुनौती र सम्भावनाका बारेमा २०८१ पुसमा टेलिफोन कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, सोही कुराकानीमा आधारित सलिना चौधरीको स्वकथन :
म सलिना चौधरी । म पारलैङ्गिक महिला (ट्रान्स वुमन) लिङ्गी महिला हुँ । मेरो जन्म दाङको घोराही नगरपालिका वडा नम्बर ४ मा भएको थियो । यो ठाउँ अहिले उपमहानगरपालिका बनेको छ । म छोराको रूपमा जन्मिएँ तर उमेर बढ्दै जाँदा म केटाप्रति नै आकर्षित भएँ ।
जब म थाहा पाउने भएँ, त्यसयता मलाई किन केटा नै मन परेको होला भन्ने कुरा मनमा खेल्थ्यो । यस्तो के कारणले भएको होला भनेर सोचिरहन्थेँ । आफैँसँग अजिब महसुस गर्थें ।
एक दिन ख्यालठट्टैमा कुरा गर्दा साथीले मसँग कुनै एक जना केटीलाई इङ्गित गर्दै ‘मलाई त्यो केटी मन पर्छ’ भन्यो । त्यति नै बेला मैले पनि ‘मलाई त केटी हैन, केटा मन पर्छ’ भनेर सुनाएको थिएँ । त्यसरी पहिलो पटक साथीलाई आफ्नो भावना सुनाएँ ।
मैले १० कक्षामा पढ्ने बेलामा एक जना केटालाई चिठी लेखेर पनि पठाएँ । मलाई केटा मन पर्ने तर के कारणले मन परेको हो थाहा पाउँदिनथेँ ।
मैले १५ वर्षको हुँदा पद्मोदय पब्लिक नमुना विद्यालयबाट एसएलसी (हालको एसइई) पास गरेँ । एसएलसी पास भएपछि कम्प्युटर सिक्नका लागि घोराहीमै भिनाजु आफन्त पर्नेकोमा गएँ । त्यतिबेला म केटाहरूसँग मात्रै बोल्ने र जिस्कने गर्थें ।
मेरो त्यस्तो आनीबानी देखेर भिनाजुले मेरो घरमा भनिदिनुभएछ । मेरो आमा म सानै हुँदा बित्नुभएको । मलाई घरमा हजुरबुबाले ‘मलाई त पहिल्यै थाहा थियो, तिमी ‘मेहेरा’ हौ’ भन्नुभयो । ज्यूगनु चौधरी मेरो हजुरबुबा । चौधरी भाषामा पारलैङ्गिक महिला (ट्रान्स वुमन) लाई मेहेरा भनिन्छ ।
माइजूले पनि मलाई हजुरबुबाले जस्तै मेहेरा नै भन्नुभयो । हजुरबुबा र माइजूले मेरो भावना बुझ्नुभयो जस्तो लाग्यो । त्यतिबेला नै मैले हजुरबुबामार्फत आफू पारलैङ्गिक महिला (ट्रान्स वुमन) लिङ्गी रहेछु भन्ने थाहा पाएँ तर उहाँहरूले त्यो कुरा बाहिर आउन दिनुभएन ।
मेरो बानी व्यवहारका कारण धेरैले ममाथि शङ्का भने गर्थे । म सानैदेखि घरमा कुचो लाउने, लिप्ने, पोत्ने, खेत रोप्न जाने, केटीले गर्ने भनेर समाजले भनेको कामहरू गर्थें । मेरो बाबा पशु स्वास्थ्य अफिसमा काम गर्नुहुन्थ्यो । उहाँ धेरै कडा हुनुहुन्थ्यो । यो कुरा थाहा पाएपछि मलाई दुई घण्टा ट्वाइलेटमा थुनिदिनुभयो ।
म कम्प्युटर कक्षा जान्थेँ । बाबाले त्यो पनि रोक्दिनुभयो । कान्छीआमा पनि एकदमै कडा । कान्छीआमाले ‘तँ मेहेरा घरमा बस्न पाउँदैनस्’ भन्दै अनेक शब्दले गाली गर्ने गर्नुहुन्थ्यो । इज्जतै फाल्यो भनेर मलाई गाली गरिरहने ।
घरमा यो सबै घटना भएपछि हजुरबुबाले ‘तिमी जे जस्तो भए पनि ईश्वरको देन हौ, म लेखाउँछु, पढाउँछु’ भन्नुहुन्थ्यो । उहाँले ‘समाजमा राम्रो काम गर्नुपर्छ’ भन्दै सम्झाउने र हौसला बढाउने काम गर्नुभयो । घरमा हजुरबुबाले मात्र माया गर्नुहुन्थ्यो । त्यस कारण मात्र घरमा बस्न सकेको थिएँ ।
हजुरबुबा बाँचुन्जेल मलाई राम्रो पनि गर्नुभयो तर समाजमा भने ममाथि हिंसा हुन थाल्यो । कतै बाहिर गयो भने, केटाहरूले ‘यो त केटी जस्तो व्यवहार गर्छ । यो के हो ? कपडा खोलेर हेरौँ’ भन्ने, संवेदनशील अङ्गमा छुने गर्दथे ।
मैले एसएलसी दिएकै क्याम्पसमा नै प्लस टु (१२ कक्षा) पढेँ । त्यहाँ शिक्षकहरूबाट पनि हिंसा खेप्नुपर्यो । उहाँहरूले मलाई ‘कस्तो केटी जस्तो’ भन्ने गर्नुहुन्थ्यो । साथीहरू सबैबाट पनि हिंसा भोग्नुपर्यो तर पनि मैले पढाइलाई निरन्तरता दिएँ ।
म प्लस टु पढ्ने बेलासम्म हजुरबुबा हुनुहुन्थ्यो । हजुरबुबाले राम्रो गर्ने भएकाले अरूले नराम्रो व्यवहार गरे पनि मैले सहेर बसेँ । त्यतिबेलासम्म म जस्तो फरक लैङ्गिकता भएकालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनिन्छ भनेर पनि थाहा थिएन ।
जब २०७९ सालमा साउनमा हजुरबुबाको निधन भयो अनि म घर छोडेर निस्किएँ । घरमा बस्न सक्ने अवस्था भएन तर कहाँ जाने, के गर्ने, के खाने भन्ने केही योजना पनि थिएन । जुन किसिमको गालीगलौज, जुन किसिमको शब्दले ममाथि प्रहार हुन्थ्यो, त्यो सुन्न नपरोस् भन्ने सोचेर मात्रै म घरबाट निस्किएँ ।
मसँगै एक जना साथी पनि थियो । पुसको महिना थियो । साल अलि याद भएन । त्यतिबेला नेपाल बन्दहरू धेरै हुन्थ्यो । हामी गाडीमा चढेर दाङबाट बुटवल गयौँ । त्यहाँ गएपछि नेपाल बन्द भयो । गरी खानका लागि काम खोज्यौँ तर पाएनौँ ।
अब यहाँ बसेर हुँदैन भनेर काम खोज्न भैरहवा जाने भनेर बुटवलबाट हिँडेरै गयौँ । हिँड्दै गर्दा रात परेपछि एउटा घरको पिँढीमा रात काट्यौँ । बिहान भएपछि त्यो घरको आमाले हामीलाई सबै सोध्नुभयो । हामीले पनि सबै कुरा भन्यौँ । उहाँले हामीलाई खेतमा काम लगाउनुभयो ।
दुई दिन त्यहीँ खेतको काम गरेपछि दिनको तीन सय रुपियाँको दरले पैसा पायौँ । खान बाहिरै खाने तर सुत्नलाई जे भेटिन्छ, त्यसैमा चित्त बुझाउने गर्यौँ । परालमा पनि सुत्ने गरेर रात काट्यौँ ।
नजिकै अर्को ठाउँमा पराल बोक्ने काम पनि पायौँ । कामकै सिलसिलामा घर बनाउने एक जना मिस्त्री दाइसँग भेट भयो । त्यो दाइले आफूसँग ‘लेबर’ (श्रमिक) काम गराउन लग्नुभयो । त्यसपछि अलि राहत मिल्यो । अनि बस्नका लागि पनि उहाँले कोठा खोज्दिनुभयो ।
साथी ‘दुःख भयो’ भनेर घर फर्कियो । म चाहिँ फर्किनँ । त्यहीँ बसेर लेबरको काम गरिरहेँ । शङ्खनगरमै हुँदा तौलिहवामा रहेको एक बोर्डिङ स्कुलमा शिक्षकको लागि आवेदन खुल्यो । मैले पनि आवेदन दिएर लिखितमा नाम निकालेँ ।
लिखितमा नाम निकालेपछि कक्षा ‘प्राक्टिकल’ को लागि बोलाउनुभयो । म गएँ तर मलाई देखेर हो कि अरू कसैले भनिदिएर हो, ‘तपाईंलाई देखेर, तपाईंको बोलीले हाम्रो विद्यार्थी बिग्रिन्छन्, त्यसकारण कक्षामा प्राक्टिकलको लागि पठाउन सक्दैनौँ’ भने अनि म निरास भएर फर्किएँ ।

चार–पाँच वर्ष रूपन्देही जिल्लाको शङ्खनगर भन्ने ठाउँमै बसेँ । लेबर काम गर्ने र थोरै समय त्यहीँका सानासाना बच्चालाई ट्युसन पढाएँ । यस्तै काम गर्दै आर्थिक रूपमा अलि सहज भएपछि मैले स्नातक तह पढ्न थालेँ । दाङमै फर्केर महेन्द्र बहुमुखी क्याम्पसमा परीक्षा मात्रै दिने गरी भर्ना भएँ र परीक्षा दिएर स्नातकसम्मको अध्ययन पूरा गरेँ ।
मलाई लेबरको काम लगाउने त्यो मिस्त्री दाइले एकदम दुःखका बेलामा सहयोग गर्नुभयो । त्यसकारण दाइसँग अहिलेसम्म पनि राम्रो सम्बन्ध छ । उहाँको घरमा जाने आउने गर्छु ।
म दाङ जिल्लाको लमहीमा आएपछि ‘नराम्रो काम’ मा लाग्न बाध्य भएँ । यो कुरा खोलेर नभनौँ, आफैँ बुझ्नु होला । दुई तीन वर्ष ‘त्यही’ काम गरेँ ।
म यस समुदायको मानिस भनेर बाहिर खुलिसकेको अवस्थामा धेरै प्रकारका हिंसा खेप्नुपर्ने अवस्था भयो । कोठा नपाउने, बाटोमा हिँड्दा पनि नाना थरी टीकाटिप्पणी सुन्नुपर्ने । त्यस समयमा भोगेका कुराहरू अहिले सम्झँदा पनि गाह्रो हुन्छ । बोल्नका लागि झनै गाह्रो हुन्छ । विभिन्न प्रकारका हिंसा भए ।
गुन्डाहरूको डर पनि त्यस्तै हुन्थ्यो । पीडाहरू पनि त्यस्तै भएपछि ‘अब यो काम सधैँ गरेर हुँदैन’ भन्ने लागेर छोड्ने निर्णय गरेँ । छोडेँ पनि । मलाई सही बाटो देखाउने मान्छे पनि भएन । कमाउने बाटो पनि केही नभएपछि बाँच्नको लागि बाध्यात्मक अवस्थामा म त्यस्तो काममा फसेँ ।
दाङकै गढवाको एक जना समलिङ्गी महिलासँग साथीमार्फत मेरो चिनजान भयो । उहाँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हुनुहुँदो रहेछ । चिनजानको क्रममा उहाँले म पनि त्यही समुदायमा पर्ने कुरा बताउनुभयो । उहाँले एउटा संस्थाको बारेमा बताएर त्यसको सम्पर्क नम्बरहरू पनि दिनुभयो । त्यो मितिनी नेपाल भन्ने संस्था रहेछ ।
मितिनी नेपालले निकालेका किताबहरू र सम्पर्क नम्बर पनि दिनुभयो अनि ‘पढेलेखेको मान्छेले राम्रो काम गर्नुपर्छ’ भनेर मलाई सम्झाउनुभयो । उहाँले मलाई एउटा कार्यक्रममा पनि लैजानुभयो । त्यसरी म मितिनी नेपालमा आबद्ध भएँ । काठमाडौँमा पनि केही वर्ष बसेँ ।
मैले मितिनी नेपालका लागि लुम्बिनी प्रदेशमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको ‘केस स्टडी’ तयार गर्ने काम पनि गरेँ । यस समुदायका सबैखाले मानिसका समस्याहरू के के छन् ती सबै टिपोट गर्ने काम हुन्थ्यो । म काठमाडौँ आउनेजाने पनि गरिरहन्थेँ ।
मलाई ‘अब आफ्नै संस्था खोलेर समाजमा गएर काम गर्नुपर्छ’ भन्ने लागिरहन्थ्यो । जुन संस्थाले एनजिओ अथवा आइएनजिओहरूले जस्तो प्रायः सहरी क्षेत्रमा मात्र काम नगरेर ग्रामीण क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यो संस्थाले जनचेतनामूलक कार्यक्रम लिएर गाउँठाउँका हरेक परिवारमा पुग्नुपर्छ भन्ने मलाई लागिरहन्थ्यो ।
त्यही भएर काठमाडौँबाट फर्केर दाङ आएँ र २०८० सालमा संस्था खोलेँ । संस्था खोल्न पनि केही पैसा र साथीहरू चाहिन्थ्यो । एक जना वर्षा ठकुरी भन्ने साथीलाई पहिला भेटेँ अनि अरूसँग पनि भेट भयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायप्रति गलत नजरले हेर्ने समाजका मानिसहरूको सोच बदल्नुपर्छ भन्ने कुरा भयो ।
चार–पाँच जना साथीहरू मिलेर संस्था खोल्ने प्रक्रियामा पनि लाग्यौँ । आपसमा सल्लाह गरेर हामीले २०८० सालमा संस्था दर्ता गर्यौँ । संस्थाको विधान लेख्न लगाउनलाई पैसा नभएको हुनाले हामी आफैँले गुगलबाट हेरेर विधान बनाएका थियौँ । हाम्रो संस्थाको नाम ‘फरक पहिचान समाज नेपाल’ हो ।
अहिले संस्थाको अध्यक्षमा वर्षा ठकुरी हुनुहुन्छ । त्यसमा रासुका थापा, निर्जला घर्ती मगरलगायतका समाजमा नखुलेका अन्य साथीहरू पनि हुनुहुन्छ । म संस्थामा संस्थापक सल्लाहकार र कार्यकारी निर्देशक छु । संस्था दर्ता गर्नेबित्तिकै हामीले चार वटा जनचेतनामूलक कार्यक्रमहरू लगातार गर्यौँ ।
ती कार्यक्रममा अभिभावक, विद्यार्थी सबै सहभागी थिए । संस्थाको उद्देश्यअनुसार नै हामीले कार्यक्रम गर्न थाल्यौँ । मितिनी नेपालले पनि हामीलाई कार्यक्रम दिएको थियो । हामीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बालबालिका र उनीहरूका अभिभावक तथा लमही वडा नम्बर ६ का बासिन्दा तथा टोल विकास र वडाका जनप्रतिनिधिहरूसँग पनि कार्यक्रम गर्यौँ ।
कार्यक्रममा एलजिबिटिक्युआइप्लस भनेको के हो ? किन यस्तो बच्चा जन्मिन्छ ? यो प्राकृतिक देन हो कि के हो ? आदि बारेमा बुझाइएको थियो । गाउँमा अहिले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिस भनेको के हो भनेर बुझ्दैनन् अनि ‘छक्का’ ‘हिजडा’ मात्र बुझ्छन् र त्यही भनेर हेप्छन् ।
वास्तविक र वैज्ञानिक कुरा बुझाउन पनि जनचेतनामूलक कार्यक्रम गर्नु जरुरी थियो तर यस्तो कार्यक्रम गर्ने भनेपछि सहभागी नै नआउने । त्यही भनेको भएर हामीले पहिला संस्थाले कार्यक्रम गर्दैछ मात्र भनेर पनि बोलाउँथ्यौँ ।
कार्यक्रममा आएका कतिले त ‘के सोचेर आएको, कस्तो कार्यक्रम रहेछ’ भनेर नराम्रो गरी पनि भन्थे । केहीले ‘यो त छक्का हिजडाको कार्यक्रम हो,’ ‘यहाँ पो आएछौँ’ पनि भन्थे । अझै पनि गाउँठाउँमा हाम्रो समुदायसँग सम्बन्धित विषयको कार्यक्रम भनेर बोलाउँदा नआउने अवस्था पनि छ । त्यही भएर हामीले यो समुदायले गरेका राम्रा कामहरूको उदाहरण दिएर पनि बुझाउने गरेका छौँ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसले धेरै खालका दुःख, पीडा, हिंसाको सामना गर्न परिरहेको छ । त्यही भएर संस्थामा यस्ता ‘केस’ हरू धेरै आउने गर्छन् । तीमध्ये कोही घरबाट निकालिएका हुन्छन्, कोही जन्मदिने बुबा वा आफ्नै दाइबाट बलात्कारमा परेका हुन्छन् । कोही कुटिएका, परिवार र समाजबाट दुर्व्यवहार गरिएका हुन्छन् । पारलैङ्गिक महिलाहरू ‘केटाले धोका दियो’ भनेर आउनुहुन्छ ।
घरपरिवारका मानिसले जनचेतनाको कमीका कारण भूतप्रेत लाग्यो भनेर धामीकोमा लगेर तातो पन्युले डामेको घटनाका पीडित पनि हाम्रो संस्थामा आउनुहुन्छ । यी यस्ता समस्या लिएर आएपछि हामी पहिला घरपरिवारलाई सम्झाउने, बुझाउने गर्छौं किनकि पछि त उहाँ फेरि त्यही घरमै जानुपर्छ ।
आजसम्म हामीले ‘फरक पहिचान समाज नेपाल’ बाट जति पनि काम गरेका छौँ, जति जनालाई सम्झाएका छौँ, त्यो परिवारले गल्ती स्वीकार गर्दै आफूहरूले ‘नबुझेर त्यस्तो गरेको’ भन्नुहुन्छ । धेरै पटकको प्रयासमा उहाँहरूलाई बुझाउन सम्भव हुन्छ । हामीले जे काम गर्न खोजिरहेका थियौँ, त्यसको सकारात्मक प्रभाव परिरहेको छ ।
विद्यालयका शिक्षक तथा साथीहरूबाट पीडित भएको, हिंसा भोगेको केस पनि हामीकहाँ आउँछ । हामीले समाजमा कसैले पनि हिंसा भोग्नु नपरोस् भनेर काम गरिरहेका छौँ । कसैले कुनै ठाउँमा ‘केटाले केटी जस्तो व्यवहार गर्छ’ भन्यो भने हामी उहाँलाई भेट्नलाई जान्छौँ । उहाँहरूको क्रियाकलाप टाढाबाटै हेर्छौं, त्यति भएपछि हामीलाई थाहा हुन्छ ।
थाहा भएपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायसम्बन्धी किताबहरू पढ्न भनी छोड्दिन्छौँ । त्यसपछि उहाँहरू आफैँ हाम्रो अफिसमा आउनुहुन्छ । त्यसरी आफ्नो लैङ्गिकताको बारेमा अन्योलमा परेकालाई हामीले बुझाउने गर्छौं ।
विद्यालय पढ्ने अलि सानै उमेरका विद्यार्थीहरूलाई पढ्नका लागि पनि आवश्यक सहयोग गरिरहेका छौँ । उनीहरूको घरपरिवारमा गएर सम्झाउने, विद्यालयमा गएर शुल्क घटाउन आग्रह गर्ने र उनीहरूको लागि कापीकलमको व्यवस्थापन गरेर शिक्षाबाट वञ्चित नहुने अवस्था बनाइदिन्छौँ ।
अहिले हामीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेका छौँ । आर्थिकरूपमा संस्था बलियो हुने र नियमित अनि अलि धेरै कार्यक्रम गर्ने हाम्रो योजना छ । संस्थाबाट काम गर्नका लागि विभिन्न ठाउँमा आर्थिक सहयोगका लागि ‘प्रपोजल’ (प्रस्ताव) हाल्छौँ तर पाउन गाह्रो छ ।
स्थानीय तहसँग पनि प्रपोजल हालेर पाएको बजेटले काम गरिरहेका छौँ । आर्थिक अभावले गर्दा बाध्यात्मक अवस्थामा यौन पेसा गरिरहेका यो समुदायका व्यक्तिहरूलाई आयआर्जनका अरू कामतिर मोड्न खोजिरहेका छौँ । यसका लागि वातावरण तयार गर्ने कार्यक्रम गर्नुपर्छ भनेर पनि प्रयास गरिरहेका छौँ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको बारेमा हरेक व्यक्ति, परिवार र समाजले बुझ्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा काम गर्नका लागि खुलेका सङ्घसंस्थाले पनि सहरी क्षेत्रमा मात्र नभई गाउँठाउँका बस्ती तथा विद्यालयहरूसम्म पुगेर जनचेतना जगाउने र आवश्यक सहयोग गर्ने गर्नुपर्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय पनि महिला वा पुरुष जस्तै मान्छे हुन् । फरक भावना आउनु प्राकृतिक कुरा हो । त्यसैले आमाबुबा, परिवारका अन्य सदस्य र समाजले मानिसकै रूपमा व्यवहार गर्नुपर्छ । सबैभन्दा मुख्य कुरा आमाबुबाले छोरा वा छोरीलाई जस्तै सन्तान नै हुन् भनेर शिक्षादीक्षा तथा सबै ठाउँमा समान व्यवहार गर्ने र समान अवसर दिने गर्नुपर्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पर्ने व्यक्तिले घरपरिवारबाटै विभेद भोग्नु परेन भने अरूले पनि हेप्दैनन् । यसलाई हामीले जन्म दिएको र यो हाम्रै सन्तान हो भनेर आमाबुबाले सबैभन्दा पहिला बुझौँ । त्यसपछि परिवारका अन्य सदस्य र समाजले पनि मानवको रूपमा यो समुदायका व्यक्तिलाई हेर्नुपर्छ ।
प्रकाशन मिति : २०८२ बैशाख २८ गते, आइतवार